सि जिनपिङ र जो बाइडेनबीचको शिखर वार्ता: सम्बन्ध सुधारमा पहल

चीनका राष्ट्रपति सि जिनपिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीचको बहुप्रतिक्षित शिखर वार्ता सम्पन्न भएको छ। अमेरिकाको सान फ्रान्सिस्को शहरको नजिकै भएको सो वार्ता सम्पन्न भएको हो।

चीनिया राष्ट्रपति सि जिनपिङ अमेरिकामा भैरहेको एपेक सम्मेलनमा सहभागी हुने क्रममा सान फ्रान्सिस्को पुगेका हुन्। सि जिनपिङको यो अमेरिका यात्रा ६ वर्षको अन्तराल पछि भएको हो।

चीनिया र अमेरिकी राष्ट्रपति बीच चार घण्टासम्म वार्ता चलेको थियो। यो वार्ताको क्रममा मुख्य मुद्दाहरु फेन्टानिल रसायन नियन्त्रण, आर्टिफिशियल इंटेलिजेंस, जलवायु परिवर्तन, पश्चिम एशिया (मध्यपूर्व भनेर चिनिने) र ताइवानको मामिलाबारे छलफल भएको थियो।

अमेरिकी राष्ट्रपति बाइडेनले चीनले ताइवानको वरिपरि ठूलो सैनिक तैनाती गरेकोमा विरोध गरेका थिए। त्यस्तै उनले ताइवानको निर्वाचन प्रक्रियालाई सम्मान गर्न अनुरोध गरेका थिए। जवाफमा राष्ट्रपति सीले ताइवान चीनको अभिन्न अंग भएकोमा कुरा बताएका थिए। अमेरिकाले ताइवानलाई हतियार उपलब्ध गराउने काम बन्द गर्न अनुरोध गरेका थिए। सी जिनपिङ्गका अनुसार अमेरिकाले चीनको शान्तिपूर्ण एकीकरणलाई समर्थन गर्नुपर्छ। चीनको एकीकरण अपरिहार्य छ र यो रोकिनेवाला छैन। 

वार्ताको क्रममा राष्ट्रपति बाइडेनले सी जिनपिङ्गलाई इरानमाथिको आफ्नो प्रभाव प्रयोग गरेर इरानले आफ्ना छद्म शक्तिहरुको प्रयोग गरेर इजरायल-हमास युद्धलाई क्षेत्रिय युद्धको रुपमा फैलिनबाट रोक्न अनुरोध गरे।

शिखर वार्ता पछि प्रतिक्रिया दिदै अमेरिकी राष्ट्रपति बाइडेनले भने– 'मेरो सी जिनपिङ्गसंग राम्रो कुराकानी भयो। मैले ताइवानको मामिलाबारे अमेरिकाको अडान दोहराउदै भनें कि यो बदलिने वाला छैन। मलाई लाग्छ हामीले एक अर्कालाई बुझ्नु सबै भन्दा जरुरी छ। यहा एउटा नेता अर्को नेतासंग कुरा गरिरहेको छ त्यसैले हामीहरु बीच कुनै गलतफहमी हुन सक्दैन। हामीले यो तय गर्नु पर्ने छ कि हाम्रो प्रतिस्पर्धा संघर्षमा नबद्लियोस्।'

अमेरिकासंगको सम्बन्ध बारे सी जिनपिङले भनेका छन्– 'चीन न त उपनिवेशवादको बाटोमा हिँड्छ न कुनै देशसंग निहुँ खोज्ने कुरामा विश्वासस राख्छ। अमेरिकालाई दबाउने र उसको ठाउँ लिने कुनै इच्छा चीनको छैन। संसार यति ठूलो छ कि यहाँ दुईवटै महाशक्ति अट्न सक्छ। हाम्रो देश अमेरिका भन्दा फरक छ तर हामी यहि भिन्नताका साथ पनि अगाडि बढ्न सक्छौं। चीन र अमेरिका जस्ता दुई ठूला देशहरु एक अर्का बाट टाढिनु कुनै विकल्प हुन सक्दैन। दुई देश बीचको संघर्ष र टकरावको खतरनाक परिणाम हुनसक्छ।'

चीन र अमेरिकी राष्ट्रपति बीच भएको शिखर वार्तामा दुई वटा कुरामा सहमति भएको छ। पहिलो हो अहिले अमेरिकामा महामारीको रुपमा फैलिएको लागु पदार्थ फेन्टानिल बनाउन प्रयोग हुने रसायनहरुको निर्माण र प्रसारमा चीनले नियन्त्रण गर्ने। र अर्को हो चीनियाँ र अमेरिकी सेनाबीच प्रत्यक्ष सम्बन्धको पुनर्बहाली। २०२२ मा अमेरिकी संसदकी सभामुख नान्सी पलोसीको ताइवान भ्रमण पछि दुई देशका सेना बीचको सिधा सम्बन्ध विच्छेद भएको थियो।

Title Photo: https://www.thinkchina.sg

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।