भोटेकोशी महाविनाशको ताण्डवले सिकाएका गम्भीर पाठहरू
हिमाली पर्यावरणीय अस्थिरता, सीमापार जल-कूटनीतिको खाँचो र डिजिटल पूर्वसूचनालाई उपेक्षा गर्ने प्रवृत्तिले निम्त्याएको मानवीय तथा भौतिक क्षति
तस्विरहरु: सामाजिक सञ्जाल
नेपालको उत्तरपूर्वी सिमानाबाट बग्ने भोटेकोशी नदीमा हालै सृजना भएको भयानक बाढी र त्यसले निम्त्याएको महाविनाश अकल्पनीय रहेको छ । दिनानुदिन मानवीय हताहतीको डरलाग्दो संख्या बढ्दो छ । ख्याल गर्नैपर्ने कुरा के हो भने यो दुर्दान्त अवस्था अचानक पैदा भएको मौसमी प्रकोप वा साधारण प्राकृतिक विपद् मात्र होइन। यो हाम्रो अदुरदर्शी विकास मोडल, सम्भावित प्रकोपबारे पूर्वानुमानको तयारी तथा सीमापार सूचना संयन्त्र बारेको कमजोरी, प्रविधिप्रति जनताको अविश्वास र राज्यको पूर्वतयारीबीचको खाडललाई झल्काउने एक निर्मम ऐना हो। यस महाविनाशले जलवायु परिवर्तनका असरहरुका कारण हिमाली पारिस्थितिकीय प्रणालीमा आएको गम्भीर फेरबदललाई पनि उजागर गरेको छ । त्यसबाहेक, अहिले सतहमा आएका घटनाक्रमहरुले आधुनिक प्रविधिको प्रयोग र त्यसलाई ग्रहण गर्न नसकिरहेको नागरिक चेतनाबीचको गहिरो विरोधाभासलाई पनि सतहमा ल्याइदिएको छ।
प्रकृतिको क्रूर रूप र क्यास्केडिङ हजार्डको यथार्थ
भोटेकोशी बेसिनमा देखिएको यो महाविनाश एकाएक आकाशबाट खसेको विपद् पटक्कै होइन । यो त श्रृंखलाबद्ध रूपमा जोडिएका बहुविपद् वा 'क्यास्केडिङ हजार्ड' को एक प्रत्यक्ष परिणाम हो। जलवायु परिवर्तनले निरन्तर ल्याइरहेको तीव्र तापक्रम वृद्धिका कारण नेपालका अधिकांश नदीहरुको मुहानको रुपमा रहेको माथिल्लो तटीय क्षेत्रमा रहेका हिमतालहरूको पग्लाइ र अस्थिरता डरलाग्दो रूपमा बढेको छ। वैज्ञानिकहरुले बारम्बार चेतावनी दिँदै आएको कुरा के हो भने, ‘संसारको तेस्रो छानो’ भनेर चिनिने तिब्बती क्षेत्रमा जलवायु परिवर्तनका असरका कारण तापक्रम अन्यत्रको तुलनामा अलि बढी नै बृद्धि भइरहेको छ । यसको सोझो अर्थ के हो भने, ती क्षेत्रहरुमा रहेका हिमताल तथा निरन्तर बनिरहेका सुप्राग्लेसियर लेकहरु भारी वर्षा नहुँदा पनि पग्लेर फुट्ने जोखिम निक्कै उच्च रुपमा बढेर गएको छ । जब कुनै पनि कारणले हिमताल फुट्छ वा माथिल्लो भागमा भारी वर्षा हुन्छ, त्यसले निम्त्याउने बाढी सामान्य पानीको बहावमा सीमित रहँदैन। त्यसमा ठूला पहिराहरू मिसिन्छन्, लेदोसहितको बाढी वा 'डिब्रिस फ्लो' बन्छ । त्यसको प्रवाह, वेग र प्रहारको तोड अरु सामान्य अवस्थाको बाढीभन्दा निक्कै तीब्र हुने गर्छ । त्यसले बाटामा भेटिएका सम्पूर्ण भौतिक संरचनाहरूलाई तासको घरझैं उडाउँदै ल्याउँछ।
जब कुनै पनि कारणले हिमताल फुट्छ वा माथिल्लो भागमा भारी वर्षा हुन्छ, त्यसले निम्त्याउने बाढी सामान्य पानीको बहावमा सीमित रहँदैन। त्यसमा ठूला पहिराहरू मिसिन्छन्, लेदोसहितको बाढी वा 'डिब्रिस फ्लो' बन्छ । त्यसको प्रवाह, वेग र प्रहारको तोड अरु सामान्य अवस्थाको बाढीभन्दा निक्कै तीब्र हुने गर्छ ।
यस प्रकारका बहुविपद्को जोखिमलाई मूल्याङ्कन नगरी हाम्रा नदी करिडोरहरूमा गरिने भौतिक विकासले विपद्लाई झनै निम्त्याउने काम गरिरहेको छ। नदीको प्राकृतिक बहाव क्षेत्रलाई वेवास्ता गर्दै साँघुरो बनाएर बनाइएका नदीहरु, कमजोर भौतिक संरचनाहरू, सडकहरू र जलविद्युत् आयोजनाहरूले पानीको वेगलाई रोक्न सक्दैनन् । उल्टै तिनै संरचनाहरू भत्किएर थप विनाशकारी छालहरू सिर्जना गर्छन्। त्यसैले, पूर्वाधार डिजाइन गर्दा नै सम्पूर्ण नदी बेसिनको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राखेर 'मल्टी-हजार्ड' जोखिम मूल्याङ्कन अनिवार्य रुपमा गरिनुपर्छ भन्ने पाठ यस महाविनाशले सिकाएको छ।
सीमापार सहकार्य र 'रियल-टाइम' सूचना आदानप्रदानको अपरिहार्यता
भोटेकोशी नदीको उद्गम स्थल र माथिल्लो तटीय भूभाग तिब्बत (चीन) मा पर्छ। यसको अर्थ नेपालमा बग्ने यो नदीको पानीको स्रोत र त्यहाँ हुने सम्भावित हलचलमाथि हाम्रो प्रत्यक्ष भौगोलिक नियन्त्रण हुँदैन। त्यसमाथि थप, ती क्षेत्रहरुमा स्वयं चीनकै पनि मानवीय पहुँच र नियन्त्रण निक्कै न्युन मात्रामा रहेको छ । माथिल्लो क्षेत्रमा हुने हिमताल विस्फोट, भारी वर्षा वा पहिरोका कारण नदीमा अचानक आउने बाढीले तल्लो तटीय क्षेत्रमा ताण्डव मच्चाउने घटनाक्रमहरुले बारम्बार देखाइसकेको छ । यस अवस्थामा सबैभन्दा जरुरी र अनिवार्य कुरा यस किसिमको महाविपत्तिको बारे बेलैमा थाहा पाउन आवश्यक प्राविधिक जोहो तथा सीमापार सूचना संयन्त्रलाई बलियो बनाउनुपर्ने देखिन्छ ।
यस पटकको महाविपत्तिले नेपालसँगसँगै चीनमा समेत गरेको क्षतिले यस किसिमको आकस्मिक प्रकोपको पूर्वानुमान, घटनाको निरन्तर आँकलन एवं निगरानी र त्यसँग सामना गर्ने सवालमा नेपाल–चीन दुवैको तयारी पर्याप्त नरहेको देखाएको छ ।
यस पटकको महाविपत्तिले नेपालसँगसँगै चीनमा समेत गरेको क्षतिले यस किसिमको आकस्मिक प्रकोपको पूर्वानुमान, घटनाको निरन्तर आँकलन एवं निगरानी र त्यसँग सामना गर्ने सवालमा नेपाल–चीन दुवैको तयारी पर्याप्त नरहेको देखाएको छ । त्यस दिशामा गम्भीर तयारी हुनु जरुरी देखिएको छ । बाढी आइसकेपछि पनि नेपाल र चीनबीच प्रभावकारी 'रियल-टाइम' अर्थात् वास्तविक समयमा सूचना आदानप्रदान गर्ने कूटनीतिक र प्राविधिक संयन्त्र बलियो भएको भए, बाढी बस्तीमा प्रवेश गर्नुभन्दा घण्टौं अगाडि नै तल्लो तटीय क्षेत्रलाई सचेत गराउन सकिन्थ्यो। तर, अहिलेको यो घटनाले नेपाल र छिमेकी देशहरूबीच नदी बेसिन व्यवस्थापन र जल-कूटनीतिको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको देखाएको छ। नदीको सिमाना हुँदैन, त्यसैले विपद् व्यवस्थापनमा पनि राजनीतिक सिमानाभन्दा माथि उठेर द्विपक्षीय तथा क्षेत्रीय सहकार्यको एक स्थायी संस्थागत फ्रेमवर्क तयार गर्नु अपरिहार्य देखिन्छ ।
डिजिटल चेतावनी र मानवीय उपेक्षाको विडम्बना
यस महाविनाशको सबैभन्दा पीडादायी र गम्भीर पक्ष भनेको सरकारले प्रविधिको प्रयोग गरेर बाढीबारे दिएको चेतावनीलाई वेवास्त गर्दा भोग्नुपरेको भारी मानवीय क्षति हो। बाढी शुरु हुनेबित्तिकै सरकारले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै जोखिम क्षेत्रका नागरिकहरूको मोबाइल फोनमा छ लाखभन्दा बढी एसएमएस पठाएर सुरक्षित स्थानमा जान चेतावनी जारी गरेको जानकारी सार्वजनिक भएको छ। आपत्कालीन अवस्थामा यो एक द्रुत र सराहनीय कदम थियो। तर, विडम्बनाको कुरा, जनसंख्याको ठूलो हिस्साले त्यो डिजिटल चेतावनीलाई गम्भीरतापूर्वक लिएन, थाहा पाएर पनि आवश्यक सावधानी अपनाउने, बेलैमा सुरक्षित स्थानतिर उक्लिने काम गरिएन ।
मानिसहरूले बाढी आउने सरकारी चेतावनीलाई हल्का रूपमा लिए, बाढीको जोखिमलाई न्यून आँकलन गरे र पहिले पहिलेको जस्तो हल्का–फुल्काखालको बाढी मात्रै आउने सोचेर आफ्नो दैनिक जीवनमा नै व्यस्त रहे। प्रत्यक्षदर्शीहरूका अनुसार, जबसम्म पानी घरभित्र पस्न थालेन वा आँखाले नै महाविनाशको डरलाग्दो रूप प्रत्यक्ष देखेन, तबसम्म धेरैले घर छाड्ने तयारी गरेनन्।
अहिले सार्वजनिक भइरहेका बाढीबाट जोगिएका मानिसहरुको भनाइले प्रष्टै रुपमा के देखाइरहेको छ भने मानिसहरूले बाढी आउने सरकारी चेतावनीलाई हल्का रूपमा लिए, बाढीको जोखिमलाई न्यून आँकलन गरे र पहिले पहिलेको जस्तो हल्का–फुल्काखालको बाढी मात्रै आउने सोचेर आफ्नो दैनिक जीवनमा नै व्यस्त रहे। प्रत्यक्षदर्शीहरूका अनुसार, जबसम्म पानी घरभित्र पस्न थालेन वा आँखाले नै महाविनाशको डरलाग्दो रूप प्रत्यक्ष देखेन, तबसम्म धेरैले घर छाड्ने तयारी गरेनन्। कतिपयले सम्पत्ति बचाउने कोशिश गर्दा बेलैमा जोखिम क्षेत्रबाट आफूलाई सुरक्षित स्थानतिर लैजाने समयनै पाउन सकेन ।
सार्वजनिक जानकारीअनुसार बाढीको गति ५५ किलोमिटर प्रतिघण्टा रहेको थियो । सबैभन्दा तीब्र गतिमा दौडन सक्ने फुटबल खेलाडी एम्बाप्पे अधिकतम ३८ किलोमिटर प्रतिघण्टा दौडन सक्ने रेकर्ड छ । एउटा सामान्य वयस्क नेपालीले औसत रुपमा ९ देखि ११ किलोमिटर दौडन सक्छ भनिन्छ । यस आधारमा भन्दा अनियन्त्रित रुपमा उर्लेको बाढी संघारमै आइपुगेपछि प्राय: कसैले पनि भाग्ने मौका नै पनि पाएनन् । यस पटकको महाविपत्तिमा ज्यान जोगाउन सफल केही प्रत्यक्षदर्शीहरुले बताएअनुसार बाढी आउँदैछ भन्ने कुरालाई हल्काफुल्का रुपमा लिएर नटेर्ने मात्र हैन, कतिपय मानिसहरु त बाढीको फोटो-भिडियो खिच्ने लोभमा नदीको पुलमा बसेर मोबाइल रेकर्डिङ गर्नतिर लागे । उर्लिएर आएको बाढीले उनीहरुलाई सिनित्तै बगाएर लग्यो । यो प्रवृत्तिले के प्रष्ट पार्छ भने, हामीसँग प्रविधि त छ, मोबाइल र एसएमएसको पहुँच पनि छ, तर प्राप्त सूचनालाई जीवनरक्षाका निम्ति तुरुन्त प्रयोग गर्ने नागरिक संस्कार, व्यावहारिक ज्ञान र मनोवैज्ञानिक तयारीको ठूलो अभाव छ। सूचना पाउनु मात्र पर्याप्त नहुँदो रहेछ; त्यो सूचनाप्रति विश्वास जगाउने र त्यसको पालना नगर्दा हुने भयानक परिणामबारे समाजलाई पहिल्यै सचेत गराउने बलियो सामाजिक परिपाटीको खाँचो हुँदो रहेछ।
यस पटकको महाविपत्तिमा ज्यान जोगाउन सफल केही प्रत्यक्षदर्शीहरुले बताएअनुसार बाढी आउँदैछ भन्ने कुरालाई हल्काफुल्का रुपमा लिएर नटेर्ने मात्र हैन, कतिपय मानिसहरु त बाढीको फोटो-भिडियो खिच्ने लोभमा नदीको पुलमा बसेर मोबाइल रेकर्डिङ गर्नतिर लागे । उर्लिएर आएको बाढीले उनीहरुलाई सिनित्तै बगाएर लग्यो ।
नदी किनारका बस्ती र पूर्वाधार विकासको आत्मसमीक्षा
भोटेकोशी करिडोरका विभिन्न स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू, व्यापारिक केन्द्रहरू र होटल तथा पर्यटनसम्बन्धी संरचनाहरू यस बाढीको मुख्य निशानामा परे। नेपालीमा चर्चित भनाइ नै के छ भने बाह्र वर्षमा खोलो फर्कन्छ । सम्भवत: अहिलेको बाढी प्रकरणमा नदीले आफ्नो पुरानो बहाव क्षेत्र खोज्ने क्रममा समेत किनारमा बनेका संरचनाहरूलाई भग्नावशेषमा परिणत गरिदियो। नेपालमा नदी किनारका जग्गाहरूमा अतिक्रमण गर्ने, मापदण्ड विपरीत घर तथा भौतिक संरचनाहरू बनाउने प्रवृत्ति व्यापक रूपमा मौलाएको छ। यो महाविपतले त्यसबारे गम्भीर पुनरावलोकन गरिनुपर्ने आवश्यकता देखाएको छ ।
नेपालमा नदी किनारका जग्गाहरूमा अतिक्रमण गर्ने, मापदण्ड विपरीत घर तथा भौतिक संरचनाहरू बनाउने प्रवृत्ति व्यापक रूपमा मौलाएको छ। यो महाविपतले त्यसबारे गम्भीर पुनरावलोकन गरिनुपर्ने आवश्यकता देखाएको छ ।
प्रशासनिक उदासीनता वा नियमनको अभावले गर्दा जोखिमयुक्त क्षेत्रहरूमा मानिसहरूको बसोबास बाक्लो हुँदै गएको छ, जसले सामान्य बाढीलाई समेत ठूलो मानवीय र आर्थिक दुर्घटनामा बदल्दिने गरेको छ। अबको दिनमा सरकार र स्थानीय निकायले नदी करिडोर र जोखिमयुक्त क्षेत्रहरूमा अनियन्त्रित रूपमा बस्ती बसाउने प्रवृत्तिलाई कूटनीतिक तथा कानुनी रूपमा पूर्णतया रोक लगाउनुपर्छ। दीर्घकालीन योजना अन्तर्गत जोखिमयुक्त बस्तीहरूलाई सुरक्षित र उच्च स्थानमा स्थानान्तरण गर्ने बोल्ड नीति कार्यान्वयन गर्नैपर्छ।
प्रतिकार्यभन्दा बेसी पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचना प्रणालीको विस्तार
हाम्रो देशको विपद् व्यवस्थापन प्रणाली अझै पनि 'प्रतिकार्य' (Response) मा बढी केन्द्रित छ, अर्थात् विपद् आइसकेपछि हेलिकप्टर पठाउने, राहत बाँड्ने र उद्धार गर्ने कार्यलाई मुख्य उपलब्धि मान्ने परम्परागत परिपाटी अझै विद्यमान छ। निश्चय पनि यो जरुरी छ । तर, भोटेकोशीको महाविनाशले हामीलाई राज्यको मुख्य प्राथमिकता विपद् आएपछि गर्ने उद्धारमा मात्र होइन, जोखिमको पूर्वपहिचान, पूर्वतयारी र समुदायस्तरको सचेतना अभिवृद्धिमा हुनुपर्छ भन्ने यो सिकाएको छ।
मोबाइलमा आउने एसएमएस मात्रै सबैका लागि प्रभावकारी नहुन सक्छ। त्यसैले, नदी किनारका बस्तीहरूमा स्थानीय भाषामा साइरन बज्ने प्रणाली, स्पिकरबाट तत्काल घोषणा हुने प्रविधि र समुदायस्तरमा आधारित पूर्वसूचना प्रणाली (Community-Based Early Warning System) को विस्तार गरिनुपर्छ। प्रविधिलाई केवल केन्द्रीय तहको सूचना प्रसारणमा मात्र सीमित नराखी गाउँ-गाउँका घरटोलसम्म जोड्न सक्नुपर्छ। साथै, नियमित रूपमा विद्यालय र समुदायस्तरमा पूर्वाभ्यास (Mock Drill) सञ्चालन गरी बाढीको पूर्वसूचना पाउँदा नागरिकले किन त्यसलाई गम्भीर रुपमा लिनु पर्छ र थप कस्तो कदम चाल्नुपर्छ भन्ने व्यावहारिक सिकाइ दिनु अपरिहार्य भएको छ।
सरकारको डिजिटल चेतावनीलाई जनताले बेवास्ता गर्नु र राज्यले पनि सूचना पठाउने मात्रै हैन, स्थानीय स्रोत व्यक्तिहरु परिचालन गर्ने संयन्त्र निर्माण गरेको हुन नसक्नु ठूलो कमजोरी रह्यो । यसबाट पाठ सिक्नु जरुरी भएको छ ।
महाविनाशले दिएको चेतावनी
भोटेकोशी महाविनाशको ताण्डव प्रकृतिले हामीलाई दिएको एक गम्भीर चेतावनी हो। यसले हामीलाई सिकाएको छ कि भौतिक विकासको दौडमा प्रकृतिका नियमहरूलाई मिच्दा र जोखिमको पूर्वसूचनालाई हल्का रूपमा लिँदा त्यसको मूल्य नागरिकले आफ्नो रगत र पसिनाबाट चुकाउनुपर्छ। सरकारको डिजिटल चेतावनीलाई जनताले बेवास्ता गर्नु र राज्यले पनि सूचना पठाउने मात्रै हैन, स्थानीय स्रोत व्यक्तिहरु परिचालन गर्ने संयन्त्र निर्माण गरेको हुन नसक्नु ठूलो कमजोरी रह्यो । यसबाट पाठ सिक्नु जरुरी भएको छ । भविष्यमा यस्ता महाविनाशहरूबाट बच्नका लागि सीमापार कूटनीतिक सहकार्य, बहुविपद्को वैज्ञानिक मूल्याङ्कन, नदी करिडोरको कडा नियमन र नागरिक तहसम्म पुग्ने व्यावहारिक पूर्वसूचना तथा सचेतना प्रणालीलाई एकसाथ अगाडि बढाउनुको अर्को विकल्प छैन।
जर्दानो ब्रूनो: ब्रह्माण्डको अनन्तता खोज्ने विद्रोही चिन्तकको गाथा
फिडेल क्यास्त्रो: एक क्रान्तिकारीको जीवन, विचार र आत्मसंघर्ष
‘मध्यपूर्वका माओ’: जर्ज हब्बास र प्यालेस्टाइनी प्रतिरोधको गाथा
प्रेमचन्दका फाटेको जुत्ता
क्युबामाथि अमेरिकी नाकाबन्दीको मूल्य
रुवान्डा नरसंहारको अन्तरकथा
लाल सामुराईको अवसान
प्रतिक्रिया