शाही सत्ता र दलीय विसंगतिका विरुद्ध सतिसाल बनी खडा अटल नागरिक विवेक
सडकबाट सत्तालाई खबरदारी: नागरिक आन्दोलनमा डा. देवेन्द्रराज पाण्डेको प्रेरणादायी नेतृत्व
नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेका बारेमा चर्चा गर्दा हामीले सन्दर्भहरुलाई जोडेर सम्झनुपर्ने हुन्छ । उहाँ उच्च मध्यम वर्गबाट आउनुभएको थियो र नेपाल सरकारको सचिव पदबाट राजीनामा दिएको व्यक्तित्व हुनुहुन्थ्यो। त्यस्तो पृष्ठभूमिबाट आएर उहाँ २०४६ सालदेखि नै नेपालको नागरिक आन्दोलनमा पूर्ण रूपमा समर्पित भएर लाग्नुभयो। विसं २०४६ को आन्दोलनमा डा. मथुराप्रसाद श्रेष्ठ र डा. देवेन्द्रराज पाण्डे नागरिक आन्दोलनका लागि प्रेरणाका स्रोत नै हुनुहुन्थ्यो।
उहाँहरुको त्यही योगदानको कदर गरेर २०४६ सालको परिवर्तनपछि गठित अन्तरिम सरकारमा उहाँहरूलाई मन्त्रीसमेत बनाइएको थियो । त्यसबेला डा. देवेन्द्रराज पाण्डेलाई अर्थमन्त्री र डा. मथुराप्रसाद श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाइएको थियो।
२०४६ सालको आन्दोलनमा उहाँहरूको मुख्य देन नागरिक आन्दोलनलाई प्रदान गर्नुभएको कुशल नेतृत्व थियो । त्यसबेला एकातर्फ राजनीतिक दलहरू थिए भने अर्कोतर्फ नागरिक आन्दोलन । पञ्चायतविरोधी अभियानको रुपमा दुवै आन्दोलन सँगसँगै अगाडि बढिरहेको थियो। राजनीतिक दलहरूको आन्दोलन बेलाबेलामा सेलाउने गर्थ्यो, तर दलहरूको आन्दोलन शिथिल हुँदा पनि नागरिकहरूको आन्दोलन भने सधैँ जीवित र जाज्वल्यमान रहन्थ्यो। नागरिक आन्दोलनले नै त्यसबेला आन्दोलनलाई बचाएको थियो र अन्ततः यसरी नै त्यो आन्दोलन सफल भएको थियो।
अलोकप्रिय बनेको दल र २०६३ को आन्दोलनताका नागरिक सडक संघर्षको अपरिहार्यता
विसं २०४६ को आन्दोलनमा उहाँहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभयो । तर आन्दोलनको सफलतापछि राजनीतिक सत्तामा स्थापित हुन पुगेका राजनीतिक दलहरू जिम्मेवारी निर्वाह गर्नबाट नराम्ररी चुके । दलहरू आफ्नै कमीकमजोरीहरुका कारण क्रमशः अलोकप्रिय बन्दै गए र अलोकप्रियताको पराकाष्ठामा पुगे। विसं २०६२/०६३ को बिन्दुमा पुग्दा त दलहरुको अलोकप्रियताले सम्पूर्ण सीमा नै नाघिसकेको थियो । कतिसम्म भने तत्कालीन राजा ज्ञानेन्द्रले लोकतन्त्रको अपहरण गरी शाही शासन लादेको विरुद्ध राजनीतिक दलहरूले डाक्दा सडकमा जनता आउने स्थिति नै रहेन, जनताले दलहरूलाई पत्याउनै छाडेका थिए।
लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प भनेको सुधारिएको र सच्याइएको लोकतन्त्र मात्रै हो भन्ने दृढ विश्वासका साथ विसं २०६२/०६३ को बेलामा नागरिक आन्दोलन पुनः सुरु भएको थियो।
त्यस्तो विषम परिस्थितिमा फेरि नागरिक आन्दोलनको खाँचो र औचित्य देखापर्यो । नागरिक अधिकारका लागि हिजो लडेका हामीहरु अब चुपचाप बसेर भएन, यदि यस्तै रहिरह्यो भने नेपालको लोकतन्त्र नै कता पुग्छ भन्ने चिन्ता भयो। लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प भनेको सुधारिएको र सच्याइएको लोकतन्त्र मात्रै हो भन्ने दृढ विश्वासका साथ विसं २०६२/०६३ को बेलामा नागरिक आन्दोलन पुनः सुरु भएको थियो।
त्यो बेलामा म आफैँ पनि उहाँहरूसँगै थिएँ। कृष्ण पहाडी पनि सँगै हुनुहुन्थ्यो, अनि नागरिक आन्दोलनका अरू थुप्रै अगुवाहरू– प्राध्यापक कृष्ण खनालदेखि लिएर डा. महेश मास्के, डा. सुन्दरमणि दीक्षित, प्राडा पिताम्बर शर्मा, खगेन्द्र सङ्ग्रौलालगात हामी थुप्रै जना आन्दोलनमा सँगै थियौं।
राजनीतिक दलहरुलाई जनताले पत्याउन छोडेका र दलहरूले बोलाउँदा समेत जनता सडकमा नआउने त्यो जटिल स्थितिमा नागरिक आन्दोलनले नै जनतालाई सडकमा आउन आह्वान गर्यो। त्यसबेला राजधानीको रत्नपार्कदेखि लिएर कुनै पनि सडकमा आउन जनतालाई अनुमति थिएन, सबै क्षेत्र प्रतिबन्धित थिए। तर, त्यही बेला "रत्नपार्क हाम्रो हो, सार्वभौमसत्ता जनतामा निहित छ" भन्ने नारासहित सडक नागरिक आन्दोलन सुरु भयो। यो विसं २०६२ साल असारको कुरा थियो।
सुरुमा हामीलाई लागेको थियो– सबै कुरा प्रतिबन्धित छ, त्यसैले धेरै मानिस आउन सक्दैनन् होला, हदै भए ५०, ६० वा सय जना मात्रै उपस्थिति होलान्। तर, उपस्थितिको सङ्ख्या सोचेभन्दा कैयौँ गुणा बढी भयो र गिरफ्तारी पनि त्यही अनुसार भयो। डा. देवेन्द्रराज पाण्डेले त्यतिखेर नागरिक आन्दोलनको अगुवाइ गर्नुभएको थियो र हामी पनि सँगै थियौँ। आन्दोलनमा हामीलाई पक्राउ गरिए पनि सरकारले एक दिनभन्दा बढी थुनामा राख्नै सकेन। सरकारमाथि यति ठूलो जनदबाब पर्यो कि हामीलाई छोड्न उनीहरू बाध्य भए।
त्यसको भोलिपल्टै नागरिक आन्दोलनको बैठक बस्यो र अब सानोतिनो होइन, अलि विशाल किसिमको आन्दोलन गरौँ भनेर एउटा कार्यक्रम तय गर्यो । नयाँ बानेश्वरमा आयोजित त्यो कार्यक्रमको स्वरूप कस्तो थियो भने– सबै राजनीतिक दलका नेताहरूलाई भुइँमा बसाउने र नागरिक अगुवाहरूले मञ्चबाट उहाँहरूलाई "तपाईंहरूले कहाँनिर भूल गर्नुभयो, कहाँ गल्ती भयो र अब के सच्याउनुपर्छ" भनेर प्रस्टसँग बोल्ने।
दलहरूले मात्रै भन्दा मानिसहरू आउने स्थिति नरहेको हुनाले हामीहरूले जनतालाई आव्हान गर्दै हिँड्यौँ– "दलहरूले गल्ती गरेका हुन्, तर अब एकचोटी यिनीहरूलाई माफी दिऔँ। दलहरूको विकल्प राजा हुन सक्दैन, त्यसकारण यो त्रुटिलाई क्षमा गरौँ।" देशव्यापी रूपमा चलेको यो अभियानमा पनि मूल अगुवाइ डा. देवेन्द्रराज पाण्डेले नै गर्नुभएको थियो।
त्यो कार्यक्रम भव्य रूपमा सफल भयो। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायत सबै प्रमुख पार्टीका शीर्ष नेताहरू त्यतिखेर त्यहाँ उपस्थित हुनुभयो र नागरिक अगुवाहरूको कुरा ध्यान दिएर सुन्नुभयो। उहाँहरूले पछाडि आफ्नो गल्ती सच्याउँछौँ भनेर सार्वजनिक रूपमा घोषणासमेत गर्नुभयो।
त्यसपछि नागरिक आन्दोलन झन्झन् फैलँदै गयो। दलहरूले मात्रै भन्दा मानिसहरू आउने स्थिति नरहेको हुनाले हामीहरूले जनतालाई आव्हान गर्दै हिँड्यौँ– "दलहरूले गल्ती गरेका हुन्, तर अब एकचोटी यिनीहरूलाई माफी दिऔँ। दलहरूको विकल्प राजा हुन सक्दैन, त्यसकारण यो त्रुटिलाई क्षमा गरौँ।" देशव्यापी रूपमा चलेको यो अभियानमा पनि मूल अगुवाइ डा. देवेन्द्रराज पाण्डेले नै गर्नुभएको थियो।
डा. पाण्डेको चारित्रिक दृढता र सामूहिक निर्णयको शैली
हामीले विशेष रूपमा ध्यान दिनुपर्ने कुरा के हो भने, डा. पाण्डे एउटा उच्च मध्यमवर्गीय तथा दरबारसँग निकटता रहेको पारिवारिक पृष्ठभूमिबाट आउनुभएको थियो। त्यस्तो कुलीन पृष्ठभूमिबाट आएको मानिस लोकतन्त्रको पक्षमा मात्र हैन, समावेशी गणतन्त्रको पक्षमा पनि दृढतापूर्वक उभिनुभयो। उहाँको सबैभन्दा ठूलो योगदान र विशेषता नै एकपटक पक्षमा उभिएपछि जिन्दगीभर त्यसमै अडिग रहने थियो।

निर्धारित समय अर्थात् २०६७ जेठ १४ गतेभित्र संविधान बनाएर जारी गर्नुपर्छ भनेर नागरिक आन्दोलनद्वारा नयाँ वानेश्वरमा आयोजित धर्ना कार्यक्रममा डा. पाण्डे
वास्तवमै उहाँले आफूले लिएको अडान र पक्रेको बाटोबाट कहिल्यै डगमगाउनुभएन। आफूले सुरुमा लिँदै आएको अडानमा जीवनपर्यन्त कायम रहनुभयो। जनलोकतान्त्रिक गणतन्त्रको अडान, संघीयताको अडान, समावेशिता र समताको अडान तथा लोकतान्त्रिक समाजवादको अडान– यी सबै कुरामा उहाँ सधैँ अटल रहनुभयो। यसरी उहाँले अडान लिन सक्नुको मूल कारण उहाँको व्यक्तिगत चारित्रिक र मनोवैज्ञानिक बनावटको परिणाम हो भन्ने मलाई लाग्छ । पञ्चायतको बेलामा पनि उहाँलाई खेद्ने काम लगातार भइरहेको थियो। सूर्यबहादुर थापा प्रधानमन्त्री भएको पालामा उहाँले "यस्तो-यस्तो काम गर्न पाइँदैन" भनेर अडान लिनुभएको थियो। त्यही अडानका कारण उहाँ अर्थसचिवको रूपमा रहन सक्ने स्थिति रहेन र राजीनामा दिनुभएको थियो। उहाँको त्यही पृष्ठभूमिबाट नै यस्तो दृढ अडान लिने स्वभाव विकास भएको जस्तो मलाई लाग्छ। उहाँकै परिवारबाट अर्को कोही मानिस त्यसरी दृढतापूर्वक उभिएको देखिँदैन, उहाँ मात्रै त्यसरी उभिनुभएको पाइन्छ।
कुलीन पृष्ठभूमिबाट आएको डा. देवेन्द्रराज पाण्डे लोकतन्त्रको पक्षमा मात्र हैन, समावेशी गणतन्त्रको पक्षमा पनि दृढतापूर्वक उभिनुभयो। उहाँको सबैभन्दा ठूलो योगदान र विशेषता नै एकपटक पक्षमा उभिएपछि जिन्दगीभर त्यसमै अडिग रहने थियो।
त्यसो त नागरिक आन्दोलनको अगुवाइ उहाँ एक्लैले मात्रै गर्नुभएको पक्कै होइन । त्यसबेला यो सबै काम गर्ने एउटा टिम नै थियो । त्यसबेला नागरिक आन्दोलनलाई संयोजन गर्ने काममा डा. पाण्डे, कृष्ण पहाडी र म संयोजनकर्ताको रूपमा थियौँ। त्यसपछि कार्यालय सञ्चालन गर्ने जिम्मेवारीमा विमल अर्याल, अनिल भट्टराईहरू हुनुहुन्थ्यो। त्यसबाहेक हामीसँगै प्राध्यापक कृष्ण खनाल, डा. महेश मास्के लगायत थुप्रै साथीहरु पनि टीममा नै हुनुहुन्थ्यो। यसैगरी, विभिन्न क्षेत्रबाट आउनुभएको व्यक्तित्वहरू पनि नागरिक आन्दोलनमा हुनुहुनुथ्यो। यसरी हामी सबै मिलेर त्यो आन्दोलन सञ्चालन गरेका थियौँ।
नागरिक आन्दोलनलाई अगुवाइ गर्ने सन्दर्भमा डा. पाण्डेको एउटा राम्रो बानी के थियो भने– उहाँ सधैँ सबैको राय माग्नुहुन्थ्यो, सबैको कुरा सुनेपछि मात्र अन्तिम निर्णय गर्नुहुन्थ्यो। उहाँमा सामूहिक निर्णयलाई स्वीकार गर्ने सुन्दर चरित्र देखिन्थ्यो। एक्लैले निर्णय गर्ने भन्ने कुरा त्यतिखेर कहिल्यै थिएन; पहिला सबैको राय के छ भनेर सोध्नुहुन्थ्यो र सबैको कुरा सुनिसकेपछि मात्र नागरिक आन्दोलनको तर्फबाट निर्णय लिइन्थ्यो।
त्यस आन्दोलनपश्चात् नागरिक आन्दोलनको स्वरूप कस्तो भयो भने, संविधानसभा अगाडि गएर पनि हामीले निरन्तर दबाब दिनुपर्छ भन्ने निष्कर्षसहित हामीले विभिन्न दवाबमूलक कार्यक्रमहरू अगाडि बढाएका थियौँ। कतिसम्म भने संविधानसभा भवन अगाडि नै पाँच दिनसम्म "त्यहीँ सुत्ने, त्यहीँ उठ्ने र आन्दोलन गर्ने" भनेर हामीले विशेष कार्यक्रम समेत सञ्चालन गर्यौँ।
उहाँमा सामूहिक निर्णयलाई स्वीकार गर्ने सुन्दर चरित्र देखिन्थ्यो। एक्लैले निर्णय गर्ने भन्ने कुरा त्यतिखेर कहिल्यै थिएन; पहिला सबैको राय के छ भनेर सोध्नुहुन्थ्यो र सबैको कुरा सुनिसकेपछि मात्र नागरिक आन्दोलनको तर्फबाट निर्णय लिइन्थ्यो।
त्यसै गरी माइतीघर मण्डलामै धर्ना कार्यक्रमहरु गरेर त्यहाँ कैयौँ दिनसम्म रात पनि बिताएका थियौँ। यसरी हामीले विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्दै लग्यौँ र देशमा गणतन्त्र स्थापना नभएसम्म यस्तै अभियानहरूमा निरन्तर अगाडि बढिरह्यौँ।
गणतन्त्रपछिको निराशा
तर गणतन्त्र आइसकेपश्चात् पनि राजनीतिक दलहरूको रवैयामा खासै परिवर्तन आएन । त्यसबाट उहाँ (डा. देवेन्द्रराज पाण्डे) निकै निराश बन्दै जानुभयो। "यिनीहरूलाई सम्झाएर वा भनेर अब केही हुँदैन" भन्ने खालको एक प्रकारको निराशाजनक मानसिकता उहाँमा छाउन थाल्यो। त्योभन्दा पछाडि पनि आन्दोलन सक्रिय रहनुपर्थ्यो र अगाडि बढाइरहनुपर्थ्यो, तर उहाँ त्यो कुरामा तयार हुनुभएन।
गणतन्त्र आइसकेपश्चात् पनि राजनीतिक दलहरूको रवैयामा खासै परिवर्तन आएन । त्यसबाट उहाँ (डा. देवेन्द्रराज पाण्डे) निकै निराश बन्दै जानुभयो। "यिनीहरूलाई सम्झाएर वा भनेर अब केही हुँदैन" भन्ने खालको एक प्रकारको निराशाजनक मानसिकता उहाँमा छाउन थाल्यो।
त्यसबीच, आन्दोलनभित्रै पनि उहाँका केही रवैयाका कारण साथीहरूबीच मनोमालिन्य उत्पन्न हुने स्थिति आयो। उदाहरणका लागि, कृष्ण पहाडीजी उहाँसँग रिसाएर "म अब आन्दोलनमा आउँदिन" भन्दै आन्दोलनमा आउन छाड्नुभयो। अर्को पटक डा. महेश मास्के पनि उहाँसँग रुष्ट हुनुभयो। उहाँमा एक प्रकारको "यो नागरिक आन्दोलन भनेको मेरो मात्रै हो" भन्ने जस्तो अहङ्कार झल्किन थाल्यो।
पछि उहाँमा देखापरेको त्यो रवैयाका कारण नागरिक आन्दोलनमा थपिन चाहने धेरै नयाँ मानिसहरू पनि वञ्चित भए। जस्तै– दमननाथ ढुङ्गानाजी आउन चाहनुहुन्थ्यो तर डा. पाण्डे उहाँलाई समेट्न तयार हुनुभएन। उहाँको हाराहारीको मान्छे आयो भने आफू पछाडि परिन्छ भन्ने भावले हो वा अन्य कुनै कारणले हो, उहाँ पटक्कै तयार हुनुभएन। पद्मरत्न तुलाधरजस्ता व्यक्तित्वहरू पनि जोडिन आउँदै हुनुहुन्थ्यो, तर उहाँ त्यसतर्फ पनि त्यति ध्यान दिनुहुन्नथ्यो।
त्यस्तो किसिमको एकांकी रवैयाले गर्दा नागरिक आन्दोलन जुन रूपमा फैलिनुपर्थ्यो र शक्तिशाली हुनुपर्थ्यो, त्यो हुन सकेन। यो उहाँको एक प्रकारको कमजोर पक्ष अवश्य थियो। तर उहाँको योगदानको तुलनामा ती ती कमजोरीहरु गौण थिए । हरेक मानिसमा केही न केही कमजोरी हुने कुरा शाश्वत सत्य नै रहेको पृष्ठभूमिमा त्यसलाई मात्रै आधार बनाएर उहाँको समग्र मूल्याङ्कन गर्नु ठीक हुँदैन । व्यक्तिको योगदानलाई समग्रतामा हेर्नुपर्छ । यस आधारमा भन्दा, समग्रमा डा. पाण्डे जुन निष्ठाका साथ जिन्दगीभर आन्दोलनमा होमिनुभयो र जीवनपर्यन्त त्यसमा अडीग रहनुभयो, त्यो नै सबैभन्दा ठुलो कुरा हो।
बाह्रबुँदे सहमति र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने पहल
नागरिक आन्दोलन भर्खरै सुरु हुँदै थियो र काठमाडौंमा मात्र होइन, देशका अन्यत्र पनि यो चारैतिर चर्कदै गएको थियो। त्यही बेला प्राध्यापक कृष्ण खनाल र मैले आपसमा सल्लाह गर्यौँ– "अब हामीले माओवादी र यी दलहरूलाई जोड्नका लागि केही न केही भूमिका खेल्नुपर्छ।"
हामी दुई जना यो कुरामा पूर्ण रूपमा सहमत भयौँ र डा. देवेन्द्रराज पाण्डेकहाँ गएर यो प्रस्ताव राख्नुपर्छ भनेर सल्लाह गरेसँगै उहाँकहाँ पुग्यौँ। हामीले उहाँलाई कुरा राख्यौँ र उहाँ पनि यसमा सहमत हुनुभयो।
त्यसपछि हामी माओवादीसँग कुराकानी गर्न भारत जाने कुरा भयो। तर, उहाँहरू भारतमा ठ्याक्कै कुन ठाउँमा बस्नुभएको छ भन्ने हामीलाई थाहा थिएन। त्यसैले, माओवादीसँग नजिकको सम्पर्कमा रहनुभएका नारायणकाजी श्रेष्ठलाई सम्पर्क गरेर मैले ठाउँको बारेमा सोधेँ– "तपाईंलाई ठाउँ थाहा छ? भेटघाट गराउन सक्नुहुन्छ?" उहाँले "म पनि जाँदै छु, भेटघाट गराउन सक्छु" भन्नुभयो। त्यसपछि नागरिक आन्दोलनका टोलीलाई माओवादीसँग भेटघाट मिलाउने जिम्मेवारी मैले लिएँ।
त्यसपछि हामी तीन जना– प्राध्यापक कृष्ण खनाल, म र डा. देवेन्द्रराज पाण्डे भारततर्फ लाग्यौँ। डा. देवेन्द्रराज पाण्डेले "म आफ्नै ढङ्गले आउँछु" भन्नुभयो, हामीले पनि "ठीक छ" भन्यौँ। हामी पुग्दा उहाँ (डा. पाण्डे) माओवादीसँग कुराकानी गर्ने ठाउँमा पहिल्यै पुगिसक्नुभएको थियो। म र कृष्ण खनालजी अर्को प्लेनमा गएका थियौँ।
त्यहाँ पुगेर हामीले माओवादी पक्षसँग गम्भीर कुराकानी गर्यौँ। दलहरूले संविधानसभा मान्ने सर्तमा माओवादीले पनि लोकतान्त्रिक गणतन्त्र ल्याउने र बहुदलीय प्रतिस्पर्धा स्वीकार गर्ने कुरामा हामीले उहाँहरूलाई सहमत गरायौं। हामीलाई लागेको थियो– यो कुरा मिल्न धेरै समय लाग्छ होला, तर दुई-तीन घण्टाको कुराकानीमै त्यो विषय मिल्यो। माओवादीले "यदि दलहरू संविधानसभामा सहमत हुन्छन् भने हामी बहुदलीयतामा जान तयार छौँ" भन्ने कुरा राखे।
कुराकानी टुङ्गिएपछि हामी फर्कियौँ। कुराकानी लामो होला भनेर हामीले प्लेनको टिकट अलिक पछाडिको समयको लिएका थियौँ, तर कुरा छिटै फत्ते भएकाले खनालजी र म दुई दिनसम्म दिल्लीमै घुम्यौँ। त्यसपछि हामी स्वदेश फर्कियौँ र यता राजनीतिक दलहरूसँग कुराकानी अगाडि बढायौँ। दलहरूले पनि संविधानसभा मान्ने कुरामा सहमति जनाए।
नागरिक आन्दोलनले उहाँ (डा. देवेन्द्रराज पाण्डे) सहित हामी सबै मिलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र माओवादी तथा राजनीतिक दलहरूलाई जोड्नका लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने अवसर पाएका थियौँ।
दलहरु र माओवादीबीच दिल्लीमा बहुचर्चित 'बाह्रबुँदे सहमति' त्यसैको परिणाम स्वरूप तय भएको थियो।
यसरी नागरिक आन्दोलनले उहाँ (डा. देवेन्द्रराज पाण्डे) सहित हामी सबै मिलेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र माओवादी तथा राजनीतिक दलहरूलाई जोड्नका लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने अवसर पाएका थियौँ। यो वास्तवमै एउटा ऐतिहासिक घटना हो।
माओवादीप्रतिको आशाले निम्त्याएको निराशा
माओवादीप्रति डा. पाण्डेको आशा धेरै नै ज्यादा थियो। मैले त सुरुदेखि नै भनेको थिएँ– "माओवादीलाई उनीहरूको सीमाभित्र रहेर बुझ्नुहोस् है, नत्र धेरै निराश हुनुपर्ला।" सत्तामा आइसकेपछि उनीहरूले नेपालमा के-के नै उलटफेर गर्छन् भन्ने खालको अति उच्च आशा उहाँमा थियो।
मैले माओवादीलाई नजिकबाट चिनेको हुनाले धेरै आशा पनि राखिनँ र धेरै निराश पनि भइनँ; किनभने धेरै आशा राख्यो भने नै पछि धेरै निराशा हुन्छ। तर, डा. पाण्डेले माओवादीप्रति यथार्थभन्दा धेरै बढी आशा राख्नुभएको थियो, र जब उनीहरूले पछि सोचेजस्तो केही काम गरेनन्, तब उहाँ त्यो अति बढी आशाका कारण निकै धेरै निराश हुनुभयो।
सत्तामा आइसकेपछि माओवादीहरूले नेपालमा के-के नै उलटफेर गर्छन् भन्ने खालको अति उच्च आशा उहाँमा थियो।
वास्तविकता के पनि हो भने माओवादीले जनतालाई निराश पारेको चाहिँ हो। देशमा गणतन्त्र घोषणा भइसकेपछि र पहिलोपटक सत्तामा आउँदा माओवादीले धेरै ठुला कामहरू गर्न सक्थ्यो; तर त्यतिखेर उनीहरूले अपेक्षित काम नगरेर आम जनतालाई निराश पारेको चाहिँ सत्य हो।
डा. पाण्डेकाे महाप्रस्थान (आर्यघाट, पशुपतिनाथ): २०८३ साउन १ गते । तस्विर: सीताराम भट्टराई
वर्तमान सन्दर्भमा सशक्त नागरिक आन्दोलनको खाँचो
अहिले पनि देशमा सशक्त नागरिक आन्दोलनको खाँचो उत्तिकै छ; किनकि राजनीतिक दलहरू अझै पनि आफ्नो मूल लक्ष्यबाट बाटो बिराएको स्थितिमा छन्। उनीहरूले गर्नुपर्ने काम नगर्ने र गर्न नहुने कामहरू धेरै गरिरहेको अवस्था छ।
अहिले जनताको आशा नयाँ आएको पार्टी रास्वपातर्फ पनि छ । उक्त पार्टीले लगभग दुई तिहाइको बहुमत ल्याएको स्थिति छ र जनताको ठुलो अपेक्षा पनि उसैमाथि छ। तर, ती अपेक्षा कति पूरा हुने हुन्, त्यसको कुनै ठेगान छैन। त्यसैले, यो वर्तमान परिस्थितिमा पनि सडकमा शक्तिशाली नागरिक आन्दोलन हुनु अति आवश्यक छ।
त्यस्तो सशक्त नागरिक आन्दोलन तयार पार्नका लागि हामीले त्यतिखेर कुनै नौलो कसरत गरेका थिएनौँ, केवल विभिन्न क्षेत्रका नागरिक अगुवाहरूलाई एक ठाउँमा समेटेका थियौँ। चाहे वकिलहरूको तर्फबाट होस्, प्राध्यापकहरूको तर्फबाट होस्, गैरसरकारी संस्थाका क्षेत्रबाट होस्, वा महिला अधिकारकर्मीहरूको तर्फबाट होस्– समाजका सबै फाँटमा रहेका प्रतिष्ठित अगुवाहरूलाई हामीले नागरिक आन्दोलनमा सरिक गराएका थियौँ र उनीहरूलाई गोलबन्द गर्ने काम गरेका थियौँ। यसरी सबै क्षेत्रका शक्तिहरू छरिएर नरही एकताबद्ध भएका कारण नै त्यसबेला आन्दोलन शक्तिशाली बन्न सकेको थियो।
अहिले पनि जनताको मर्म र भावना बुझ्ने मुद्दाहरू बोकेर सडकमा जान सकियो भने नागरिक आन्दोलन फेरि पनि वृहत् बन्न र सफल हुन सक्छ।
त्यसबेला जनताको मन छुने मुद्दा लिएर हामी सडकमा गएका थियौँ। अहिले पनि जनताको मर्म र भावना बुझ्ने मुद्दाहरू बोकेर सडकमा जान सकियो भने नागरिक आन्दोलन फेरि पनि वृहत् बन्न र सफल हुन सक्छ। पक्कै पनि, जनताको मन छुने मुद्दाहरू परिस्थिति अनुसार घरिघरि परिवर्तन भइरहन्छन्, जसप्रति नागरिक आन्दोलनले विशेष ध्यान दिनैपर्छ।
अहिलेको सन्दर्भमा, जुनसुकै दलले गल्ती गरेको होस्– नागरिक आन्दोलन पूर्ण रूपमा गैरदलीय र निष्पक्ष हुनुपर्छ, यो कुनै पनि विशेष दलको दलाली वा झण्डा बोक्ने जस्तो हुनु हुँदैन। कुनै पनि दलले जनविरोधी वा गलत काम गर्दा त्यसको विरोधमा आलोचनात्मक ढङ्गले खरो रूपमा प्रस्तुत हुन सक्यो भने मात्र आन्दोलन सफल हुने सम्भावना बन्छ।
अर्को मुख्य कुरा, सधैँ विसं २०६२/०६३ सालको जस्तै राजनीतिक परिस्थिति सधैँ एकैनासले रहिरहँदैन। त्यतिखेर सबैजसो दलहरूका गतिविधिप्रति जनतामा चरम निराशा छाएको थियो, त्यसैले सबै दलका कार्यकर्ता र आम जनता पनि स्वतस्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका थिए। अहिलेको अवस्था अलि फरक हुन सक्छ, किनकि अहिले दलका मान्छेहरू त्यति सजिलै सडकमा नआउन पनि सक्छन्; त्यसैले त्यतिखेर जस्तो व्यापक जनसमर्थन र सहभागिता अहिले नै नदेखिन पनि सक्छ।
तर पनि, हामीले जनताको मन छुने सही मुद्दाहरू पहिचान गरेर अगाडि बढ्यौँ र समाजका सबै फाँट तथा क्षेत्रका मान्छेहरूलाई समेट्न सक्यौँ भने, वर्तमान समयमा पनि नागरिक आन्दोलनलाई फेरि एकपटक उत्तिकै बलवान र शक्तिशाली बनाउन सकिन्छ।
कतिपयले नागरिक आन्दोलनलाई हाँक्ने सवालमा अगुवाहरुको प्रतिष्ठाले महत्त्व राख्ने कुरा गर्ने गर्छन् । तर मेरो विचारमा आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्वको निर्माण भनेको मूलतः कामले पैदा हुने कुरा हो। काम गर्दै जाँदा नाम नचलेको मानिस पनि परिचित बन्दै जान्छ। कतिपयले "पहिले नै नाम चलेको नायक खोजी गर्नुपर्छ" भन्ने सोच राख्छन्, तर त्यो गलत हो। नायक भनेको पहिल्यै बनेर तयार रहेको हुँदैन, आन्दोलन आफैँले नै नायक जन्माउने हो। यदि सधैँ पहिल्यै निर्माण भइसकेका नायक मात्रै खोजेर हिँड्ने हो भने त सधैँ कसैको पछि लाग्नुपर्ने बाध्यता सिर्जना हुन्छ, जुन व्यावहारिक होइन। यद्यपि, विसं २०६२/०६३ को समयमा जस्तै कहिलेकाहीँ स्वतःस्फूर्त रूपमा त्यस्ता व्यक्तित्वहरू फेला पनि पर्छन्।
आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्वको निर्माण भनेको मूलतः कामले पैदा हुने कुरा हो। काम गर्दै जाँदा नाम नचलेको मानिस पनि परिचित बन्दै जान्छ। कतिपयले "पहिले नै नाम चलेको नायक खोजी गर्नुपर्छ" भन्ने सोच राख्छन्, तर त्यो गलत हो।
तर, अहिले "त्यतिकै नाम चलेका मानिसहरू अहिले छैनन्" भनेर हात बाँधेर बस्ने हो भने नागरिक आन्दोलन अगाडि बढ्न सक्दैन। अहिले पनि नयाँ युवा पुस्ताले आ-आफ्नो ठाउँबाट सक्दो प्रयास गरिरहेका छन्, जे भनिएको छ त्यो गरेर देखाउन खोजिरहेका छन्। तर, उनीहरूले गरेका त्यस्ता प्रयासहरूमा कहाँनिर केही कमजोरी वा त्रुटिहरू रहे, त्यसको गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता छ। नागरिक आन्दोलन किन अहिले सोचेजस्तो विशाल र प्रभावकारी हुन सकेको छैन र यसलाई कसरी देशव्यापी बनाउन सकिन्छ भन्ने कुराको खोजी गर्नै पर्छ।
मूल कुरा के हो भने, लोकतन्त्र र नागरिक अधिकारको लागि हरहमेशा नागरिक आन्दोलन जीवित र सशक्त रहनु जरुरी छ । सबैले मनन गर्नुपर्ने कुरा के हो भने नागरिक आन्दोलन हाम्रै हो, यो अझ बढी शक्तिशाली हुनुपर्छ । राजनीतिक दलहरूले आफ्नो बाटो बिराए, जनहितविपरीत काम गरे भने उनीहरूलाई सही बाटोमा ल्याउन, पाठ सिकाउन र सजाय दिन यो आन्दोलन फेरि पनि गतिशील भएर अगाडि बढ्नुपर्छ भन्ने हामीलाई अझै पनि गहिरो रूपमा लाग्छ।
(२०४६ सालको तथा २०६२–६३ को नागरिक आन्दोलनताका डा. पाण्डेसँगै सहकार्य गरेका नागरिक अगुवा श्याम श्रेष्ठसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेख । सबै तस्विरहरु: चन्द्र खाकी)
(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
अमेरिकी आधिपत्य र पुँजीवादी संकट: नयाँ विश्व व्यवस्थामा समाजवादी विकल्पको अनि…
पहेँलो राक्षसको सहर
अमेरिकाले पराजित भएको स्वीकार गर्न नसकेको युद्ध
ढोँगी बहुपक्षीयतावादको दोबाटोमा क्युबा
सपनाको मृत्यु र फासीवादी उन्माद
लोकरञ्जक, सम्मोहनकारी र चामत्कारिक नेतृत्वले अगुवाइ गर्ने मध्यमवर्गीय सामाजिक …
क्षितिज पारिको यात्री: इब्न बतुताको अविस्मरणीय विश्व-परिक्रमा
प्रतिक्रिया