‘मध्यपूर्वका माओ’: जर्ज हब्बास र प्यालेस्टाइनी प्रतिरोधको गाथा
यो वर्ष प्यालेस्टाइनी क्रान्तिकारी नेता डा. जर्ज हब्बासको जन्मशताब्दी वर्ष हो। जर्ज हब्बास प्यालेस्टाइनी मुक्ति आन्दोलनका सर्वाधिक महत्वपूर्ण नेताहरूमध्ये एक थिए। एक समय उनको विचार र व्यक्तित्वले प्यालेस्टाइन, अरब जगत र इजरायल मात्र होइन, पूरा विश्वलाई नै प्रभावित पारेको थियो। जर्ज हब्बासको जीवन त्यस्तो क्यालिडोस्कोप (बहुरूपदर्शक यन्त्र) हो, जसमार्फत समग्र प्यालेस्टाइनको इतिहास, संस्कृति र राजनीतिका विविध आयामहरूलाई चिहाउन सकिन्छ।
पारिवारिक पृष्ठभूमि र अध्ययन
जर्ज हब्बासको जन्म १ अगस्ट १९२६ मा बेलायतको अधीनमा रहेको प्यालेस्टाइनको लिड्डा (लोड) शहरमा भएको थियो। उनको जन्म एक अर्थोडक्स क्रिश्चियन परिवारमा भएको थियो। उनका बुबा निकोलस हब्बास प्रतिष्ठित व्यापारी थिए भने आमाको नाम तुहफा थियो। हब्बास परिवारमा छ जना सन्तान थिए। उनको प्रारम्भिक शिक्षा पनि लिड्डामै भएको थियो। त्यसपछि उनले जाफाबाट माध्यमिक शिक्षा प्राप्त गरे। हब्बास १९४४ मा चिकित्सा शास्त्र अध्ययन गर्न लेबनानको बेरुतमा रहेको अमेरिकन युनिभर्सिटी अफ बेरुतमा भर्ना भए।
इजरायली कब्जा र सामुहिक निष्कासन
त्यसै बेला १९४८ मा इजरायलीहरूले प्यालेस्टाइनीहरूको भूमि कब्जा गर्दै उनीहरूलाई सामूहिक निष्कासन गरे। त्यो घटनालाई प्यालेस्टाइनीहरू ‘नक्बा’ भन्ने गर्छन्। नक्बाको अर्थ ‘प्रलय’ हुन्छ। इजरायलीहरूले करिब ५०० वटा प्यालेस्टाइनी गाउँ, बस्ती र नगरहरूलाई नष्ट गरी बेदखल गर्दै करिब १० लाख प्यालेस्टाइनीहरूलाई गाजा पट्टी, वेस्ट ब्याङ्क र छिमेकी अरब देशहरूतर्फ भाग्न बाध्य पारेका थिए।
जर्ज हब्बास पढाइ छोडेर स्वयंसेवा गर्न आफ्नो शहर लिड्डा फर्के। उनले एउटा मेडिकल क्लिनिकमा सहायकको रूपमा घाइतेहरूको उपचारमा सहयोग पुर्याउन थाले। जब उनी उपचारमा तल्लीन थिए, त्यसैबेला उनकी बहिनीको मृत्यु भएको खबर प्राप्त भयो, जो केही समयदेखि बिरामी थिइन्। उनले त्यसबेला चलिरहेको युद्धको परिस्थितिका कारण बहिनीलाई परम्परागत कब्रिस्तानसम्म पनि पुर्याउन पाएनन्। उनले आफ्नी बहिनीलाई घरकै नजिक गाडे।
इजरायलीहरूले उनकी बहिनीको चिहान फेरि खन्न आदेश दिए, ताकि त्यसमा कुनै हतियार लुकाइएको छ कि भनेर हेर्न सकियोस्। छिमेकी र जर्ज मिलेर चिहान फेरि खने, बहिनीको शव बाहिर निकाले र फेरि गाडे।
केही समयपछि इजरायली सुरक्षाकर्मीहरूले त्यो क्षेत्रमा खानतलासी गर्न थाले। इजरायलीहरूले उनकी बहिनीको चिहान फेरि खन्न आदेश दिए, ताकि त्यसमा कुनै हतियार लुकाइएको छ कि भनेर हेर्न सकियोस्। छिमेकी र जर्ज मिलेर चिहान फेरि खने, बहिनीको शव बाहिर निकाले र फेरि गाडे।
११ जुलाई १९४८ मा इजरायलीहरूले रामल्लाह र लिड्डा कब्जा गरेपछि त्यहाँ रहेका करिब ६० हजार प्यालेस्टाइनीहरूलाई निष्कासित गरे। लिड्डामा भएको इजरायली आक्रमणको नेतृत्व लेफ्टिनेन्ट कर्नेल मोसे दायनले गरेका थिए, जो पछि इजरायलका विदेश र रक्षा मन्त्री समेत बने। हब्बास र उनको परिवार सबैले आफ्नो घर छोडेर पैदलै हिँड्नुपर्यो। उनले बाटोमा पनि बिरामीहरूको उपचार जारी राखे। बाटोमा इजरायली गस्तीले उनीहरूलाई रोक्यो। उनका छिमेकीका छोराले आफूलाई खानतलासी गर्न दिन मानेनन्, उनलाई सबैका सामु गोली हानेर मारियो। नक्बाले जर्ज हब्बासको जीवनमा ठूलो प्रभाव पार्यो।
नक्बाको घाउबाट क्रान्तिको बाटोतिर
जर्ज हब्बास आफ्नो मेडिकल कलेजमा फर्के। उनले १९५१ मा स्नातक उत्तीर्ण गरे र त्यही कलेजमा पढाउन थाले। तर यो काममा उनको मन लागेन। उनले बेरुत छोडेर जोर्डनको राजधानी अम्मानतर्फ लागे, जहाँ उनले मेडिकल कलेजका दिनका मित्र डा. वादी हदादसँग मिलेर क्लिनिक खोले। त्यहाँ शरणार्थी र गरिबहरूको नि:शुल्क उपचार गरिन्थ्यो।
त्यतिबेला प्यालेस्टाइनमाथिको इजरायलको कब्जा र अरब देशहरूको हारले सम्पूर्ण अरब जगतमा ठूलो उथलपुथल मच्चिएको थियो। अरब देशहरूमा सैनिक विद्रोह, क्रान्ति र उच्चपदस्थ व्यक्तिहरूविरुद्ध हत्याका घटनाहरूको लहर सुरु भएको थियो।
उनको राजनीतिक सक्रियता बढिरहेको थियो। उनले चिकित्सकको पेसा छोडेर राजनीतिमा आउनुको कारणबारे स्पष्ट पार्दै भनेका थिए– "म बालरोग विशेषज्ञ हुँ। मलाई यो कामबाट अत्यन्त आनन्द मिलेको थियो। मलाई लाग्थ्यो, संसारकै सबैभन्दा राम्रो काम मसँग छ। तर मैले जुन निर्णय लिनुपर्यो, त्यो लिएँ र त्यसको मलाई कुनै पछुतो छैन... मानिसले आफ्ना भावनाहरूलाई यसरी दुई भागमा बाँड्न सक्दैन–एकातिर उपचार गर्ने र अर्कोतिर हत्या गर्ने। यस्तो बेला उसले आफैँलाई भन्नुपर्छ: कि यो, कि त्यो।"
त्यतिबेला प्यालेस्टाइनमाथिको इजरायलको कब्जा र अरब देशहरूको हारले सम्पूर्ण अरब जगतमा ठूलो उथलपुथल मच्चिएको थियो। अरब देशहरूमा सैनिक विद्रोह, क्रान्ति र उच्चपदस्थ व्यक्तिहरूविरुद्ध हत्याका घटनाहरूको लहर सुरु भएको थियो। त्यही परिस्थितिमा इजिप्टमा राजा फारुकलाई तख्तापलट गर्दै गमाल अब्दुल नासेर सत्तामा पुगे। सिरियामा बाथ पार्टीको गठन भयो। जर्ज हब्बासले डा. वादी हदादसँग मिलेर ‘अरब नेसनलिस्ट मुभमेन्ट’ (एएनएम) गठन गरे।
त्यो अरब राष्ट्रवादको युग थियो। इजिप्ट र सिरियाबीच एकीकरण भई ‘युनाइटेड अरब रिपब्लिक’ बन्यो। तर यो धेरै दिनसम्म टिक्न सकेन। सिरियामा १९६१ मा सैनिक विद्रोह भएपछि यो सङ्घको विघटन भयो। संयुक्त गणतन्त्रको विघटनपछि सिरियाको बाथ पार्टीको सत्ताले नासेरसमर्थकहरूमाथि दमन सुरु गर्यो। नासेरवादीहरूले बाथ सत्ताविरुद्ध विद्रोहको प्रयास गरे, जुन असफल भयो। जर्ज हब्बासलाई त्यो विद्रोहको मतियार भएको भन्दै मृत्युदण्डको सजाय सुनाइयो। उनी त्यसबेला भूमिगत थिए। यस्तो उथलपुथलको समयमा उनले हिल्डा हब्बाससँग विवाह गरे, जो उनकी नातेदार थिइन्। १९६४ मा जर्ज हब्बास सिरियाबाट आफ्नो ज्यान जोगाउँदै लेबनान आइपुगे। लेबनानको राजधानी बेरुतबाट उनले आफ्नो राजनीतिक गतिविधि जारी राखे।
संयुक्त गणतन्त्रको विघटनपछि सिरियाको बाथ पार्टीको सत्ताले नासेरसमर्थकहरूमाथि दमन सुरु गर्यो। नासेरवादीहरूले बाथ सत्ताविरुद्ध विद्रोहको प्रयास गरे, जुन असफल भयो। जर्ज हब्बासलाई त्यो विद्रोहको मतियार भएको भन्दै मृत्युदण्डको सजाय सुनाइयो।
१९६० को दशक प्यालेस्टाइनीहरू आफ्ना मुक्तिका लागि लड्न अग्रसर भएको समय थियो। अरब लिगको सहयोगमा १९६४ मा 'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन' (पिएलओ) को गठन भएको थियो। पिएलओका अध्यक्ष अहमद शुकिरी थिए। त्यस्तै, अर्को प्रभावशाली सङ्गठन 'फतह' यासेर अराफातको नेतृत्वमा १९६५ मा गठन भएको थियो।
अरब राष्ट्रवाददेखि मार्क्सवादसम्मको यात्रा
१९६७ मा भएको अरब-इजरायल युद्धमा अरब देशहरूको नराम्ररी हार भयो। अरबहरूले पूर्वी जेरुसेलम, वेस्ट ब्याङ्क (पश्चिमी तट), सिरियाको गोलन हाइट्स र इजिप्टको सिनाई प्रायद्वीप गुमाउनुपर्यो। यसले गर्दा जर्ज हब्बास आफ्नो अरब राष्ट्रवादको अवधारणामा शङ्का गर्न थाले। प्यालेस्टाइनी जनताको मुक्तिका लागि अरब राष्ट्रवाद मात्र अपर्याप्त रहेको र त्यसका लागि वैज्ञानिक समाजवादको विचार आवश्यक रहेको निष्कर्षमा उनी पुगे। जसका कारण हब्बास मार्क्सवाद र लेनिनवादतर्फ अगाडि बढ्न थाले। उनले आफ्नो सङ्गठन 'एएनएम' लाई विघटन गरेर 'पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन' (पिएफएलपी) गठन गरे। मार्क्सवादतर्फ हब्बासको आकर्षण स्वाभाविक पनि थियो, किनभने त्यो समयको युवा पुस्ता माओ त्से तुङ, चे ग्वेभारा र फ्रान्ज फेननबाट अत्यधिक रूपमा प्रभावित थियो।
जर्ज हब्बासको पृष्ठभूमि र उनले रोजेको जीवनमा ठूलो अन्तरविरोध थियो। उनी उच्च क्रिश्चियन परिवारमा जन्मेका थिए, तर उनी बहुसङ्ख्यक मुस्लिम रहेको प्यालेस्टाइनीहरूको मुक्तिका लागि लडिरहेका थिए। त्यस्तै, उनी बुर्जुवा परिवारबाट आएका थिए, तर मजदुर-किसानको मुक्तिका लागि लड्ने मार्क्सवादी पार्टीको नेतृत्व गर्दै थिए। यिनै विरोधाभासहरूबारे चर्चा गर्दै जर्ज हब्बासले जवाफ दिएका थिए– "म आफ्नो वैचारिक रूपान्तरण र राष्ट्रिय पहिचानबीच कुनै विरोधाभास देख्दिनँ। मेरो अरब राष्ट्रवाद, म इसाई हुनु, मेरो इस्लामिक सांस्कृतिक विरासत र मेरो प्रगतिशील मार्क्सवादबीच पूर्ण सामञ्जस्य छ। म संस्कार र बौद्धिक दृष्टिले मार्क्सवादी तथा वामपन्थी हुँ। इस्लामिक विरासत मेरो वैचारिक संरचनाको अभिन्न आधार हो। इस्लाम अरब राष्ट्रवादको सबैभन्दा महत्त्वपूर्ण अवयव हो, र अरब राष्ट्रवाद मेरो अस्तित्वको अभिन्न हिस्सा हो।"
जर्ज हब्बास उच्च क्रिश्चियन परिवारमा जन्मेका थिए, तर उनी बहुसङ्ख्यक मुस्लिम रहेको प्यालेस्टाइनीहरूको मुक्तिका लागि लडिरहेका थिए। त्यस्तै, उनी बुर्जुवा परिवारबाट आएका थिए, तर मजदुर-किसानको मुक्तिका लागि लड्ने मार्क्सवादी पार्टीको नेतृत्व गर्दै थिए।
पिएफएलपीले इजरायलविरुद्ध परम्परागत युद्ध लडेर जित्न नसकिने निष्कर्ष निकाल्दै गुरिल्ला युद्ध लड्नुपर्ने निर्णय गर्यो। यसले प्यालेस्टाइनी र अरब मुलुकका युवाहरूलाई आफ्नो क्याम्पमा गुरिल्ला युद्धको तालिम दिन थाल्यो। अरू प्यालेस्टाइनी सङ्गठन (जस्तै अराफातको फतह) को विपरीत यसले सैन्य तालिमका साथै राजनीतिक रूपमा पनि आफ्ना कार्यकर्ताहरूलाई प्रशिक्षित गर्थ्यो। त्यसका लागि कार्यकर्ताहरूको सावधानीपूर्वक जाँचबुझ गरेपछि मात्र आफ्नो सङ्गठनमा भर्ना लिइन्थ्यो।
तर चाँडै नै पिएफएलपीमा विग्रह र टुटफुट सुरु भयो। १९६८ मा जर्ज हब्बासलाई सिरिया सरकारले आफ्नो देशमा आउन निमन्त्रणा दियो। यो उनलाई फसाउन गरिएको चालबाजी थियो। उनलाई सिरियामा गिरफ्तार गरियो। उनले सिरियाको सबैभन्दा कुख्यात जेलमा १० महिना बिताउनुपर्यो, जहाँ उनलाई निकै मानसिक यातना दिइयो। तर हब्बासले यो समय मार्क्स, एंगेल्स, लेनिन, माओ र हो ची मिन्हका पुस्तकहरूको गहन अध्ययन गरेर बिताए। जसले गर्दा उनले मार्क्सवादको राम्रो ज्ञान प्राप्त गरे।
यसै समयमा पिएफएलपीका नेता अहमद जिब्रिलले सङ्गठनबाट विद्रोह गर्दै आफ्नो अलग्गै समूह 'पिएफएलपी-जनरल कमान्ड' गठन गरे। स्मरणीय छ कि अहमद जिब्रिल सिरियाली सेनाका पूर्व क्याप्टेन थिए र उनको विद्रोहको पछाडि सिरियाली सरकारकै हात थियो।
जर्ज हब्बासले जोर्डनमा रहेका पिएफएलपीका गुरिल्ला शिविरहरूमार्फत इजरायलविरुद्ध सङ्घर्ष सुरु गरे। त्यसबेला इजरायलको अधीनमा रहेको प्यालेस्टाइनमा प्रतिरोध आन्दोलन बिस्तारै बढ्न थालेको थियो।
नोभेम्बर १९६८ मा वादी हदाद र उनका केही साथीहरूले सिरियाली प्रहरीको पोसाक लगाएर, जेलबाट अदालत लगिँदै गरेको जर्ज हब्बासको काफिलामाथि आक्रमण गरी उनलाई छुटाए। त्यसपछि उनलाई सुरक्षित रूपमा लेबनान पुर्याए।
पिएफएलपीमा टुटफुटको शृङ्खला त्यतिमै रोकिएन। पिएफएलपीका अर्का नेता नायेफ हावातमेहले जर्ज हब्बासलाई सुधारवादी भएको आरोप लगाउँदै विद्रोह गरे र अर्को सङ्गठन बनाए। त्यो सङ्गठनको नाम 'डेमोक्र्याटिक फ्रन्ट फर द लिबरेसन अफ प्यालेस्टाइन' (डीएफएलपी) थियो।
जर्ज हब्बासले जोर्डनमा रहेका पिएफएलपीका गुरिल्ला शिविरहरूमार्फत इजरायलविरुद्ध सङ्घर्ष सुरु गरे। त्यसबेला इजरायलको अधीनमा रहेको प्यालेस्टाइनमा प्रतिरोध आन्दोलन बिस्तारै बढ्न थालेको थियो। जोर्डनमा पिएलओ, फतह लगायतका समूहहरू पनि सक्रिय थिए। जोर्डनमा प्यालेस्टाइनी विद्रोहहरूको समानान्तर सत्ता चल्न सुरु भएको थियो।
त्यसैबेला कारामेहमा इजरायली सेनालाई यासेर अराफातको फतह समूहका सैनिकहरूले पराजित गरेपछि प्यालेस्टाइनी विद्रोहीहरूको प्रतिष्ठा झन् बढेको थियो। यो कुरा जोर्डनका राजा हुसेनलाई मन परेको थिएन। अझ त्यसमाथि हब्बासले जोर्डनको हासेमाइट राजवंशलाई सत्ताच्युत गर्न विद्रोहको आह्वान गरेका थिए। यही बेला इजरायलकी प्रधानमन्त्री गोल्डा मायरले एउटा अन्तर्वार्ताका क्रममा भनिन्– "प्यालेस्टाइनी भन्ने कुनै चिज नै थिएन। उनीहरूको अस्तित्व नै थिएन।" यसले प्यालेस्टाइनीहरूको आक्रोश एकदमै बढाइदियो। पिएफएलपीले सारा संसारलाई प्यालेस्टाइनीहरू अस्तित्वहीन छैनन् र उनीहरूको अस्तित्व छ भन्ने बोध गराउने विचार गर्यो।
कारामेहमा इजरायली सेनालाई यासेर अराफातको फतह समूहका सैनिकहरूले पराजित गरेपछि प्यालेस्टाइनी विद्रोहीहरूको प्रतिष्ठा झन् बढेको थियो। यो कुरा जोर्डनका राजा हुसेनलाई मन परेको थिएन।
जब प्यालेस्टाइनको आवाज विश्वमञ्चमा विस्फोट भयो
हुन त यसभन्दा अगाडि पनि पिएफएलपीले विमान अपहरण गरेको थियो, जसमा प्रख्यात प्यालेस्टाइनी महिला गुरिल्ला लैला खालिद सामेल थिइन्। वादी हदादको नेतृत्वमा पिएफएलपीले विमान अपहरणको रणनीति तय गर्यो, जसअन्तर्गत विमान अपहरण गर्ने तर यात्रुहरूलाई कुनै हानि नपुर्याउने भन्ने थियो।
१९७० सेप्टेम्बर ६ देखि ९ तारिखको बीचमा पिएफएलपीका गुरिल्लाहरूले ४ वटा बोइङ जेटहरू अपहरण गरे। पाँचौँ अपहरणको प्रयास असफल भयो र अपहरणकारीलाई सुरक्षाकर्मीले मारे। अपहरण गरिएकामध्ये ३ वटा विमानलाई जोर्डनको डाउसन फिल्ड हवाई अखडामा ल्यान्ड गराइयो भने एउटालाई इजिप्टको कायरो विमानस्थलमा अवतरण गराइयो। यी विमानहरूमा ३०० भन्दा बढी यात्रुहरू थिए। यी यात्रुहरूमध्ये इजरायली र अमेरिकीहरूबाहेक अरू सबैलाई रिहा गरियो।
जोर्डनको डाउसन विमानस्थलमा रहेका ३ वटा विमानहरूलाई विश्वभरका पत्रकारहरूसामु विस्फोट गराएर ध्वस्त पारियो। इजिप्टमा पुर्याइएको विमानलाई पनि त्यसरी नै बमले उडाइयो। विमानमा बन्धक बनाइएका बाँकी यात्रुहरूलाई युरोपमा गिरफ्तार गरिएका पिएफएलपीका कार्यकर्ताहरूको रिहाइको बदलामा मुक्त गरियो, जसमा लैला खालिद पनि थिइन्।
जोर्डनको डाउसन विमानस्थलमा रहेका ३ वटा विमानहरूलाई विश्वभरका पत्रकारहरूसामु विस्फोट गराएर ध्वस्त पारियो। इजिप्टमा पुर्याइएको विमानलाई पनि त्यसरी नै बमले उडाइयो।

यसै सन्दर्भमा जर्ज हब्बासले भनेका थिए– "जब हामी कुनै विमान अपहरण गर्छौँ, त्यसको प्रभाव युद्धमा सय जना इजरायलीलाई मार्नुभन्दा पनि बढी हुन्छ। दशकौँसम्म विश्व जनमत न त प्यालेस्टाइनीहरूको पक्षमा थियो, न त विपक्षमा। विश्वले त हामीलाई पूर्णतः बेवास्ता गरेको थियो। कम्तीमा अहिले भने संसारले हाम्रो बारेमा कुरा गर्न थालेको छ।"
यो घटनाले पहिलेदेखि नै तनावपूर्ण रहेको जोर्डन र प्यालेस्टाइनी समूहहरूबीचको सम्बन्ध झन् बिगारेर लग्यो। १९७० सेप्टेम्बर महिनामा जोर्डन सरकारले प्यालेस्टाइनी शिविरहरूमाथि सैन्य कारबाही सुरु गर्यो। प्यालेस्टाइनीहरूको समर्थनमा सिरियाले आफ्ना सैनिकहरूसमेत पठायो। तर पश्चिमा देश, इजरायल र पाकिस्तानको सहयोगमा जोर्डानी सेनाले प्यालेस्टाइनी विद्रोही समूहहरूलाई पराजित गर्यो। यो सङ्घर्ष छिटपुट रूपमा १९७१ जुलाईसम्म चलेको थियो। अन्ततः जोर्डन आफ्नो देशबाट प्यालेस्टाइनी समूहहरूलाई बाहिर लखेट्न सफल भयो। यो क्रममा हजारौँ प्यालेस्टाइनीहरूको मृत्यु भयो। त्यसपछि प्यालेस्टाइनी समूहहरू लेबनानतर्फ लागे।
यो घटनापछि प्यालेस्टाइनीहरूले बदला लिनका लागि 'ब्ल्याक सेप्टेम्बर' नामक सङ्गठन निर्माण गरे। जसले १९७१ नोभेम्बरमा इजिप्टको राजधानी कायरोमा जोर्डनका प्रधानमन्त्री वासिफ अल-तालको हत्या गर्यो। त्यस्तै, १९७२ मा जर्मनीको म्युनिकमा भएको ओलम्पिकमा १० जना इजरायली खेलाडी र पदाधिकारीहरूको हत्या गर्यो।
लेबनानमा आफ्नो आधार क्षेत्र सारे पनि हब्बासको विद्रोह जारी रह्यो। उनकै प्रेरणा र अग्रसरतामा पिएफएलपी केवल प्यालेस्टाइनीका लागि मात्र नभई विश्वभरका लडाकुहरू, क्रान्तिकारीहरू र साम्राज्यवादविरोधीहरूको सम्पूर्ण पुस्ताका लागि जुझारूपन, अन्तर्राष्ट्रियतावाद र स्वाभिमानको पाठशाला बन्यो। जापानी रेड आर्मी, जर्मनीको रेड आर्मी फ्र्याक्सन, तमिल विद्रोहीहरू र 'कार्लोस द ज्याकल' लगायतका विश्वका तमाम क्रान्तिकारी समूहहरू तालिमका लागि पिएफएलपीको शिविरमा पुग्ने गर्थे।
हब्बासकै प्रेरणा र अग्रसरतामा पिएफएलपी केवल प्यालेस्टाइनीका लागि मात्र नभई विश्वभरका लडाकुहरू, क्रान्तिकारीहरू र साम्राज्यवादविरोधीहरूको सम्पूर्ण पुस्ताका लागि जुझारूपन, अन्तर्राष्ट्रियतावाद र स्वाभिमानको पाठशाला बन्यो।
पिएफएलपीले इजरायल र उसका समर्थक देशहरूविरुद्ध सनसनीखेज आक्रमण जारी राख्यो। यस क्रममा विमान अपहरणको सिलसिला जारी रह्यो। त्यस्तै, जापानी रेड आर्मीको सहयोगमा पिएफएलपीले १९७२ मा इजरायलको 'लोड' विमानस्थलमा आक्रमण गर्यो, जसमा २६ जनाको मृत्यु भएको थियो।
यी आश्चर्यजनक आक्रमणहरू र विमान अपहरणको सिलसिलाका कारण जर्ज हब्बास र पिएफएलपीको चर्चा संसारभर हुन थाल्यो। उनलाई 'मध्यपूर्वको चे ग्वेभारा' समेत भन्न थालियो। एक पटक विदेशी पत्रकारले हब्बासलाई सोधेका थिए– "के तपाईँ मध्यपूर्वको चे ग्वेभारा हो?" उनले जवाफ दिएका थिए– "म मध्यपूर्वको माओ त्से तुङ बन्न रुचाउँछु।"
सन् १९७० को सेप्टेम्बरमा प्यालेस्टाइन मुक्ति सङ्गठन (पिएलओ) को केन्द्रीय समितिले पिएफएलपीको सदस्यता निलम्बन गरिदिएको थियो। त्यस्तै सोभियत संघ र चीन सरकारले पनि पिएफएलपीलाई 'विमान अपहरण'को कार्यनीति परित्याग गर्न सुझाव दिएको थियो। सन् १९७२ मा पिएफएलपीले विमान अपहरणको रणनीति परित्याग गरेको घोषणा गर्यो। तर विमान अपहरणको रणनीति सञ्चालन गर्ने पिएफएलपीका नेता वादी हदादले सङ्गठनको यो निर्णय मान्न इन्कार गरे। त्यसपछि उनलाई पिएफएलपीले निष्कासन गर्यो। पछि उनले आफ्नै अलग सङ्गठन 'पिएफएलपी-इओ' (Popular Front for the Liberation of Palestine – External Operations) बनाए र आफ्नो अभियान जारी राखे।
एक पटक विदेशी पत्रकारले हब्बासलाई सोधेका थिए– "के तपाईँ मध्यपूर्वको चे ग्वेभारा हो?" उनले जवाफ दिएका थिए– "म मध्यपूर्वको माओ त्से तुङ बन्न रुचाउँछु।"
१९७४ मा यासेर अराफात नेतृत्वको पिएलओले १० बुँदे प्रस्ताव अगाडि सार्यो। जसअन्तर्गत इजरायलसँग संवादमार्फत दुई राज्यको स्थापना गर्ने कुरा समावेश थियो। यो रणनीतिको पछाडिको कारण १९७३ को अरब-इजरायल युद्ध थियो। यो युद्ध पछि इजिप्ट र इजरायलबीच १९७४ मा सिनाई प्रायद्वीपबारे भएको सैनिक सम्झौता थियो। यो सम्झौता अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको पहलमा भएको थियो। यही पृष्ठभूमिमा यासेर अराफातले इजरायलसँग प्यालेस्टाइनी राज्यको सहअस्तित्वको कुरा उठाएका थिए।
जर्ज हब्बासले 'दुई राष्ट्र'को अवधारणालाई अस्वीकार गर्दै ऐतिहासिक प्यालेस्टाइनको भूभागलाई अलग-अलग इजरायली र प्यालेस्टाइनी राज्यमा विभाजन गर्नुको सट्टा एउटा एकीकृत, एकल र लोकतान्त्रिक राज्यको वकालत गरेका थिए– यस्तो राज्य, जहाँ अरब र यहुदीहरू समान राजनीतिक तथा नागरिक अधिकारसहित एकसाथ रहन सकून्।
तर जर्ज हब्बास नेतृत्वको पिएफएलपीले यो प्रस्तावको कडा विरोध गर्यो। उनले इजरायलको अस्तित्वलाई स्वीकार गर्न इन्कार गर्दै त्यो प्रस्तावलाई ठाडै अस्वीकार गरे। जर्ज हब्बासले 'दुई राष्ट्र'को अवधारणालाई अस्वीकार गर्दै ऐतिहासिक प्यालेस्टाइनको भूभागलाई अलग-अलग इजरायली र प्यालेस्टाइनी राज्यमा विभाजन गर्नुको सट्टा एउटा एकीकृत, एकल र लोकतान्त्रिक राज्यको वकालत गरेका थिए– यस्तो राज्य, जहाँ अरब र यहुदीहरू समान राजनीतिक तथा नागरिक अधिकारसहित एकसाथ रहन सकून्।
त्यस्तै, जर्ज हब्बासले सशस्त्र सङ्घर्षमार्फत प्यालेस्टाइनको ऐतिहासिक भूमि पूर्ण रूपमा मुक्त गर्नुपर्छ भनेर पैरवी गरे। हब्बासले उनकै भाषामा "प्यालेस्टाइनको हरेक मिलिमिटर भूमि मुक्त गर्ने" अडान राखे। यही अडानको पक्षमा उनले 'अस्वीकारवादी मोर्चा' (Rejectionist Front) गठन गरे। जसमा पिएफएलपी, पिएफएलपी-जिसी, अरब लिबरेसन फ्रन्ट र प्यालेस्टाइन पपुलर स्ट्रगल फ्रन्ट रहेका थिए। पिएफएलपीले आफूलाई पिएलओको कार्यकारी समितिबाट अलग गर्यो। पिएफएलपीले अस्वीकारवादी मोर्चाको नेतृत्व गरे तापनि यसका अन्य सदस्यहरू भने अन्य अरब देशहरूका इसारामा चल्ने कठपुतलीहरू मात्र थिए। त्यसैले यसले खासै गति लिन सकेन।
त्यसैबेला १९७५ मा लेबनानका विभिन्न धार्मिक सम्प्रदायहरूबीच गृहयुद्ध सुरु भयो। यो युद्धमा प्यालेस्टाइनी समूहहरू पनि तानिए। चाँडै नै यो गृहयुद्ध विस्तार हुँदै छिमेकी देशहरूसमेत यसमा सहभागी हुन थाले। इजरायलले पनि प्यालेस्टाइनीहरूमाथि आक्रमण गर्ने मौका देखेर लेबनानको गृहयुद्धमा हस्तक्षेप गर्यो। किनभने प्यालेस्टाइनीहरूले लेबनानको भूमिबाट उत्तरी इजरायलमा आक्रमण गर्ने गर्थे। त्यही बेला सन् १९७८ मा इजरायल र इजिप्टबीच 'क्याम्प डेभिड सम्झौता' भयो। यसले गर्दा सबैभन्दा शक्तिशाली अरब देशसँगको सम्भावित युद्धको डरबाट इजरायल मुक्त भयो र उसले प्यालेस्टाइनी प्रतिरोधलाई कुल्चिने स्वर्ण मौका पायो। १९८२ मा इजरायली सेनाले लेबनानको राजधानी बेरुतलाई घेराबन्दी गर्यो। यो इजरायलले कुनै पनि अरब राष्ट्रको राजधानीमाथि गरेको पहिलो घेराबन्दी थियो। उक्त घेराबन्दी ८८ दिनसम्म चल्यो। यस अवधिभर बेरुतमाथि स्थल, समुद्र र हवाई मार्गबाट निरन्तर बमबारी गरियो। अन्ततः अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपपछि यसको अन्त्य भयो।
सन् १९७८ मा इजरायल र इजिप्टबीच 'क्याम्प डेभिड सम्झौता' भयो। यसले गर्दा सबैभन्दा शक्तिशाली अरब देशसँगको सम्भावित युद्धको डरबाट इजरायल मुक्त भयो र उसले प्यालेस्टाइनी प्रतिरोधलाई कुल्चिने स्वर्ण मौका पायो।
अमेरिकाको मध्यस्थतामा भएको सम्झौताअनुसार सन् १९८२ सेप्टेम्बरमा अध्यक्ष यासेर अराफातसहित प्यालेस्टाइन मुक्ति सङ्गठन (पिएलओ) का १४,००० भन्दा बढी लडाकु तथा नेताहरू पानीजहाजमार्फत बेरुतबाट बाहिरिए। सन् १९८२ को लेबनान युद्धपछि उनीहरूले आफ्नो मुख्य आधार तथा मुख्यालय ट्युनिसियाको ट्युनिसमा सारे। जर्ज हब्बास पिएलओको टोलीसँगै बेरुतबाट निस्किए, तर उनी ट्युनिसियातर्फ लागेनन्। पिएफएलपीको टोली सिरियाको बन्दरगाहमा उत्रियो र उनीहरू सिरियामै रहे– ताकि इजरायलविरुद्ध उसको सीमावर्ती देशमा रहेर सङ्घर्ष जारी राख्न सकियोस्। जर्ज हब्बास दमास्कसमा पिएफएलपीको हेडक्वाटर बनाएर बसे।
हब्बास बनाम अराफात: दुई बाटा, एउटै मुक्ति
सन् ६० र ७० को दशकमा प्यालेस्टाइनी मुक्ति आन्दोलनको नेतृत्वका मुख्य दाबेदार दुई जना व्यक्तिहरू थिए– जर्ज हब्बास र यासेर अराफात। यी दुवै व्यक्तिको व्यक्तित्व एक-अर्काको विपरीत थियो। जर्ज हब्बास पेसाले चिकित्सक थिए भने यासेर अराफात इन्जिनियर।
अराफात अस्थिर थिए भने हब्बास आफ्नो अडानमा दृढ थिए; अराफात सिद्धान्तहीन र अवसरवादी थिए भने हब्बास सिद्धान्तनिष्ठ थिए; अराफात छलकपटपूर्ण थिए भने हब्बास पारदर्शी थिए; अराफात बनावटी हुँदा हब्बास निष्कपट थिए; अराफात अनेकौँ नाटकीय चटक गर्न सक्थे तर हब्बास गरिमापूर्ण थिए; अराफात विलासितापूर्ण जीवन बिताउँथे भने हब्बास सादा जीवन बिताउन अभ्यस्त थिए।

सन् ६० र ७० को दशकमा प्यालेस्टाइनी मुक्ति आन्दोलनको नेतृत्वका मुख्य दाबेदार दुई जना व्यक्तिहरू थिए– जर्ज हब्बास र यासेर अराफात। यी दुवै व्यक्तिको व्यक्तित्व एक-अर्काको विपरीत थियो।
६० र ७० को दशकमा प्यालेस्टाइनी युवाहरू र शरणार्थीहरूमाझ जर्ज हब्बास अत्यधिक लोकप्रिय थिए। तर पनि प्यालेस्टाइनी मुक्ति आन्दोलनका मुख्य नेता बन्न यासेर अराफात सफल भए। यसको पछाडि चारित्रिक विशेषताका अलावा अरू केही महत्वपूर्ण सामाजिक-राजनीतिक कारणहरू पनि थिए।
कुनै स्पष्ट सैद्धान्तिक अडान नभएका अराफातले आफ्नो मोर्चामा उदारवादी, राष्ट्रवादी र इस्लामिक– सबै धारलाई सहजै समेट्न सके । जबकि यस्तो गर्नु हब्बासका लागि असम्भवजस्तै थियो। हब्बास प्यालेस्टाइनी मुक्तिको कुरा मात्र गर्दैनथे, उनी प्यालेस्टाइनी मुक्तिलाई अरब जगतको मुक्तिसँग पनि जोडेर हेर्थे। जसले गर्दा अरब देशका शासकहरू हब्बाससँग सशङ्कित थिए। उनीहरूले हब्बासको साटो अराफातलाई बलियो बनाउनु श्रेयस्कर ठाने।
धनी अरब देशका शासकहरूले अराफातलाई प्रचुर आर्थिक सहयोग दिए, जसले गर्दा उनले पिएलओमार्फत संरक्षकत्वको यस्तो सञ्जाल बनाउन सके। जसबाट उनलाई प्यालेस्टाइनीहरूमाझ एउटा ठूलो आधार इलाका निर्माण गर्न सम्भव भयो। उनको सङ्गठनले प्यालेस्टाइनी शरणार्थी शिविरहरूमा स्कुल, अस्पताल र निजामती सेवाको सञ्जाल चलाएको थियो।
हब्बास प्यालेस्टाइनी मुक्तिको कुरा मात्र गर्दैनथे, उनी प्यालेस्टाइनी मुक्तिलाई अरब जगतको मुक्तिसँग पनि जोडेर हेर्थे। जसले गर्दा अरब देशका शासकहरू हब्बाससँग सशङ्कित थिए।
त्यस्तै, अर्को मुख्य कारण थियो अरब राष्ट्रहरूको अमेरिकासँगको बदलिँदो सम्बन्धअनुसार आफूलाई ढाल्न सक्नु। अरब राष्ट्रहरूको अमेरिकासँग सम्बन्ध सुधार भएपछि अराफातले पनि त्यसैअनुसार युद्धको साटो कूटनीतिक समाधानको बाटो अपनाए।
जतिसुकै मतभेद भए पनि यी दुवैको एक-अर्काप्रतिको सम्मान कायम थियो। सन् १९८३ मा अल्जेरियाको राजधानी अल्जियर्समा प्यालेस्टाइन नेसनल काउन्सिलको बैठक भएको थियो। सबै नेताहरू बैठकमा उपस्थित थिए।
त्यसैबेला स्ट्रोकले ग्रस्त भएका जर्ज हब्बास बैसाखीको सहारामा बिस्तारै मिटिङ हलमा प्रवेश गरे। मिटिङ हल दशकौँ युद्ध लडेका अनुभवी योद्धाहरूले भरिएको थियो। सबैले उठेर हब्बासको स्वागत गरे। अराफातले हब्बासलाई अँगालो मारेर उनलाई उनको कुर्सिसम्म पुर्याए।
यो मिटिङ पिएलओले लेबनानमा रहेको आफ्नो अन्तिम आश्रयस्थलसमेत गुमाएपछि आफूलाई एक्लिएको महसुस गरिरहेको परिवेशमा भइरहेको थियो। पिएलओले त्यतिबेला अरब राष्ट्रहरू र इजरायलबीच हुनसक्ने वार्तामा आफूलाई कसरी सहभागी बनाउने भन्नेबारे सोचिरहेको थियो। त्यसबारे अराफातको मुख्य तर्क थियो– यदि भविष्यमा हुने वार्तामा प्यालेस्टाइनीहरू स्वयंलाई एउटा पक्षका रूपमा स्थापित गर्न सकेनन् भने, त्यतिबेला विश्वका दुई प्रमुख महाशक्ति अमेरिका र सोभियत सङ्घले प्यालेस्टाइनीहरूको प्रतिनिधित्व वा सहमतिबिनै एउटा ऐतिहासिक सम्झौता अघि बढाउनेछन्।
हब्बासले आफ्नो कुरा राख्न सुरु गरे। अराफातको यथार्थवादसँग धेरैजना सहमत थिए। अराफातको प्रतिबद्धतामाथि हब्बासलाई कुनै शङ्का थिएन, तर उनी त्यस प्रस्तावप्रति सशङ्कित थिए। उनले अत्यन्त प्रभावशाली भाषण दिए। हब्बासको तर्क थियो– प्यालेस्टाइनीहरूले आफ्ना शत्रुहरूबाट स्वीकृति पाउन हात फैलाएर याचना गर्नु हुँदैन। वार्तामा समावेश हुने प्यालेस्टाइनीहरूको अति-उत्सुकताको मूल्य उनीहरूको राष्ट्रिय अधिकारको क्रमशः हुने सम्झौताका रूपमा धेरै ठूलो चुकाउनुपर्नेछ। उनका शब्दहरूले सभाहलभित्र मात्र होइन, त्यसबाहिर पनि गहिरो प्रभाव पारे। मानिसहरू आफ्नो स्थानबाट उठेर उभिए। हब्बासले उनीहरूको सपनालाई अभिव्यक्ति दिएका थिए। तर त्यस दिन बहुमतले व्यावहारिकताको नयाँ युगका लागि नयाँ रणनीति आवश्यक रहेको भन्दै अराफातको प्रस्ताव पारित गर्यो।
अराफातको प्रतिबद्धतामाथि हब्बासलाई कुनै शङ्का थिएन, तर उनी त्यस प्रस्तावप्रति सशङ्कित थिए। उनले अत्यन्त प्रभावशाली भाषण दिए। हब्बासको तर्क थियो– प्यालेस्टाइनीहरूले आफ्ना शत्रुहरूबाट स्वीकृति पाउन हात फैलाएर याचना गर्नु हुँदैन।
सन् १९८८ मा निर्वासनमा रहेको प्यालेस्टाइनी संसद् मानिने 'प्यालेस्टाइन राष्ट्रिय परिषद'ले इजरायलसँगै एउटा छुट्टै प्यालेस्टाइनी राज्य स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गर्दा हब्बास त्यस उत्सवमा सहभागी भएनन्। हब्बास आफ्नो अडानबाट पछि हटेनन्। उनी निरन्तर आलोचनात्मक र आसन्न खतराप्रति सचेत गराउने चेतावनीको आवाजका रूपमा रहिरहे।
अन्ततः उनले सन् १९९३ मा प्यालेस्टाइन मुक्ति सङ्गठन र इजरायलबीच भएको 'ओस्लो सम्झौता'को समेत विरोध गरे। तर यी विरोधका बाबजुद पनि अराफातप्रतिको उनको विरोध कहिल्यै व्यक्तिगत रहेन। जब २००२ मा इजरायलले अराफातको रामल्लाहस्थित कार्यालयलाई घेराबन्दी गर्यो, हब्बासले अराफातप्रति ऐक्यबद्धता प्रकट गरे। जब अराफातको मृत्यु भयो, उनले गहन शोक व्यक्त गरे।
सन् १९७३ को अरब-इजरायल युद्ध र त्यसपछिको इजिप्ट-इजरायल शान्ति सम्झौता, सन् १९७९ को इरानको इस्लामिक क्रान्ति तथा यासेर अराफातको कूटनीतिक समाधानतर्फको जोडले मध्यपूर्वको परिस्थिति फेरिँदै गयो। त्यसपछि हेजबुल्लाह र हमासको उदयसँगै जर्ज हब्बासको पिएफएलपीको प्रभाव बिस्तारै घट्न थाल्यो। शीतयुद्धको समयमा पिएफएलपीको मुख्य सहयोगकर्ता सोभियत सङ्घ थियो। सोभियत सङ्घको विघटनपछि पिएफएलपीले आफ्नो प्रमुख सहयोगकर्ता गुमायो। तर जर्ज हब्बासको प्यालेस्टाइन मुक्तिप्रतिको प्रतिबद्धतामा कुनै कमी आएन। उनले अराफातसँगै पहिलो इराक युद्धका बेला सद्दाम हुसेनको समर्थन गरे।
शीतयुद्धको समयमा पिएफएलपीको मुख्य सहयोगकर्ता सोभियत सङ्घ थियो। सोभियत सङ्घको विघटनपछि पिएफएलपीले आफ्नो प्रमुख सहयोगकर्ता गुमायो। तर जर्ज हब्बासको प्यालेस्टाइन मुक्तिप्रतिको प्रतिबद्धतामा कुनै कमी आएन।
उनले सन् १९९३ मा इजरायलसँग अराफातले गरेको अन्तरिम सम्झौतालाई पनि अस्वीकार गरे, जसले वेस्ट ब्याङ्क (पश्चिम किनारा) र गाजा क्षेत्रमा स्वायत्त प्यालेस्टाइनी सरकार गठन गर्ने बाटो खोलेको थियो। अराफातले प्यालेस्टाइनीहरूलाई पूर्ण स्वतन्त्रता अब छिट्टै प्राप्त हुन लागेको छ भन्ने भ्रममा पारेको दाबी गर्दै हब्बास त्यहाँ जानसमेत अस्वीकार गरे।
उनले भनेका थिए– "प्यालेस्टाइनीहरूले यो यथार्थ स्वीकार गर्नैपर्छ कि उनीहरूका सन्तानले प्यालेस्टाइनलाई आफ्नो घर भन्न पाऊन् भनी इजरायलीहरुभन्दा लामो समयसम्म टिकिरहन उनीहरूले आफ्नो सम्पूर्ण जीवन सङ्घर्षमै बिताउनुपर्ने हुन सक्छ; र उनीहरूका मागहरू कहिल्यै नबदलिने र अटल छन् भन्ने कुरा विश्वलाई निरन्तर सम्झाइरहनुपर्छ।"
उनले एक पटक भनेका थिए– "मलाई पूर्ण विश्वास छ– यदि ६० लाख प्यालेस्टाइनीहरूले 'हामीलाई आत्मनिर्णय मात्र चाहिन्छ' भनेर अडिग रहे भने उनीहरूले यो अधिकार अवश्य पाउनेछन्। कल्पना गर्नुहोस् त! ६० लाख मानिसहरूले दिनदिनै, हरपल 'हामीलाई आत्मनिर्णय चाहिन्छ, आत्मनिर्णय चाहिएको छ' भनेर दृढतापूर्वक आवाज उठाइरहेका छन् र हरेक तरिकाले त्यो सङ्कल्प व्यक्त गरिरहेका छन्। म यसको परिणाममा अति स्पष्ट छु कि हामी सफल हुनेछौँ। किन नहुनु?"
उनी आफ्नो संगठनको ठाउँ खोसेकोमा हमास र हिज्बुल्लाहजस्ता इस्लामिक सङ्गठनप्रति आलोचनात्मक थिएनन्। बरु, उनले समर्थन नै गर्थे। उनी भन्ने गर्थे– "हामीले कोसिस गर्यौँ। उनीहरूलाई पनि प्रयास गर्ने मौका दिऊँ। अब उनीहरूको पालो हो।"
इजरायल र यासेर अराफातले नेतृत्व गरेको 'प्यालेस्टाइन अथोरिटी' बीचको वार्ता प्रक्रिया गतिरोधको अवस्थामा फस्न थालेको थियो। त्यसैबेला इजरायलसँगको सम्झौताको विरोध गर्ने हमास र इस्लामिक जिहादजस्ता समूहहरूको दबदबा बढ्न थाल्यो। जर्ज हब्बासको मार्क्सवादी सङ्गठन पिएफएलपी भने बिस्तारै सीमान्तकृत बन्न थाल्यो। तर पनि उनी आफ्नो संगठनको ठाउँ खोसेकोमा हमास र हिज्बुल्लाहजस्ता इस्लामिक सङ्गठनप्रति आलोचनात्मक थिएनन्। बरु, उनले समर्थन नै गर्थे। उनी भन्ने गर्थे– "हामीले कोसिस गर्यौँ। उनीहरूलाई पनि प्रयास गर्ने मौका दिऊँ। अब उनीहरूको पालो हो।"
सन् १९९२ मा उनलाई दोस्रो मस्तिष्कघात भयो। यसले उनलाई अझ थला पार्यो । शारीरिक अवस्थाले साथ नदिएपछि उनी आफ्नो पद छोड्न चाहन्थे। तर उनका साथीहरू तयार थिएनन्; किनभने जर्ज हब्बासको नामको ठुलो महत्व प्यालेस्टाइन र विश्वभर थियो। यो गुमाउन उनीहरू चाहँदैनथे। उनी जसोतसो राजनीतिमा सक्रिय नै रहे। सिरियाको राजधानी दमास्कसमा रहेको उनको हेडक्वाटरमा प्यालेस्टाइनको तस्बिर र मुस्लिमहरूको पवित्र स्थान 'जेरुसेलमको डोम अफ रक' को हातले बुनेको चित्र सजाइएको हुन्थ्यो।
जर्ज हब्बासले सन् २००० मा पिएफएलपीको महासचिव पदबाट राजीनामा दिए। औपचारिक पदमा नरहे पनि हब्बास प्यालेस्टाइनमा दोस्रो इन्तिफादा सुरु हुँदा त्यसलाई मार्गनिर्देश गर्न सक्रिय थिए। जर्ज हब्बास जीवनको अन्तिम समयसम्म प्यालेस्टाइनको मुक्तिका लागि सक्रिय रहे। उनको इमानदारी र वैचारिक प्रतिबद्धतामा कुनै कमी आएन।
प्यालेस्टाइनी मुक्ति आन्दोलनका शीर्षस्थ नेता भएर पनि उनी एकदमै सादा जीवन बिताउँथे। उनले जोर्डनमा महिनाको ३०० डलरभन्दा बढी पेन्सन लिन अस्वीकार गरे। हब्बासको जीवनको अन्त्यतिर धनी प्यालेस्टाइनीहरूले 'प्यालेस्टाइनी र अरब क्रान्तिका नायक यसरी गरिबीमा नमरून्' भनेर उनलाई पैसा दिने योजना बनाए। तर हब्बासले त्यो योजनालाई अस्वीकार गरिदिए। उनले आफ्नो आत्मजीवनी लेख्ने कार्यमा अनुसन्धान सहयोगी राख्न पैसा दिने प्रस्ताव पनि स्वीकार गरेनन्। जीवनको अन्तिम समयमा हब्बास जोर्डनमा बस्थे, जहाँ उनका दुई छोरी र नातिनातिना थिए। त्यहीँ २६ जनवरी २००८ मा हृदयघातका कारण ८१ वर्षको उमेरमा जर्ज हब्बासको निधन भयो।
दोस्रो इन्तिफादाका क्रममा इजरायलले जर्ज हब्बासका उत्तराधिकारी पिएफएलपीका महासचिव अबु अलि मुस्तफाको हत्या गर्यो। पिएफएलपीले त्यसको बदला लिँदै इजरायलका पर्यटन मन्त्री रेहाभाम जिभीलाई जेरुसेलममा हत्या गर्यो। यो प्यालेस्टाइनीहरूले अहिलेसम्म इजरायलको नेतृत्व तहमा गरेको सबैभन्दा घातक हमला थियो। त्यसपछि इजरायलले पिएफएलपीका अर्का महासचिव अहमद सदातलाई गिरफ्तार गर्यो। उनी अहिलेसम्म इजरायली जेलमै छन्।
अहिले पनि पिएफएलपीले जर्ज हब्बासले देखाएको सङ्घर्षको बाटो परित्याग गरेको छैन। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अप्रत्याशित आक्रमणमा समेत पिएफएलपी सामेल थियो।
जर्ज हब्बासले प्यालेस्टाइन मुक्तिका लागि जीवनभर सङ्घर्ष गरे। प्यालेस्टाइनी मुक्ति आन्दोलनले कुन बाटो लिनुपर्छ भनेर अर्का नेता यासेर अराफातसँग ठूलठूला सैद्धान्तिक र वैचारिक सङ्घर्ष गरे। अहिले मध्यपूर्वको अवस्था हेर्दा जर्ज हब्बासले कल्पना गरेको बाटो सही साबित हुने सम्भावना बढ्दै गइरहेको छ। जर्ज हब्बासले भनेका थिए– "प्यालेस्टाइनको मुक्तिको बाटो अरब देशहरूका राजधानी हुँदै अगाडि बढ्छ।" जसको अर्थ हुन्छ: प्यालेस्टाइनको मुक्ति अरब राष्ट्रहरूको मुक्तिसँग जोडिएको छ। अरब राष्ट्रहरूमा क्रान्ति भएमा मात्र प्यालेस्टाइनले मुक्ति पाउनेछ। अमेरिका र इजरायल समर्थक दलाल अरब शासकहरूलाई अरबी जनताहरूले सत्ताच्युत नगरुन्जेलसम्म प्यालेस्टाइन मुक्त हुनेछैन। इजरायलले गाजामा पचासौँ हजार प्यालेस्टाइनीहरूको नरसंहार गर्दा समेत तमासा हेरेर बस्ने र परोक्ष रूपमा इजरायललाई सघाउने अरब शासकहरूलाई अरबका जनताले विद्रोहमार्फत फ्याँकेपछि मात्र प्यालेस्टाइन स्वतन्त्र हुनेछ।
जर्ज हब्बासले प्यालेस्टाइन मुक्तिका लागि जीवनभर सङ्घर्ष गरे। प्यालेस्टाइनी मुक्ति आन्दोलनले कुन बाटो लिनुपर्छ भनेर अर्का नेता यासेर अराफातसँग ठूलठूला सैद्धान्तिक र वैचारिक सङ्घर्ष गरे। अहिले मध्यपूर्वको अवस्था हेर्दा जर्ज हब्बासले कल्पना गरेको बाटो सही साबित हुने सम्भावना बढ्दै गइरहेको छ। जर्ज हब्बासले भनेका थिए– "प्यालेस्टाइनको मुक्तिको बाटो अरब देशहरूका राजधानी हुँदै अगाडि बढ्छ।"
त्यस्तै, जर्ज हब्बासले 'दुई-राष्ट्र सिद्धान्त' को आजीवन विरोध गरे। उनले प्यालेस्टाइनको ऐतिहासिक भूमिमा स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको पैरवी गर्थे– जहाँ अरब, मुसलमान र यहुदी समान हैसियतमा रहन सकून् र त्यो देश प्रजातान्त्रिक होस्।
दुई-राष्ट्रको अस्वीकारदेखि हब्बासको विरासतसम्म
इजरायलले ओस्लो सम्झौतापछि दुई राष्ट्रको स्थापनाको सम्भावनालाई निमोठ्दै जान थालेको छ। उसले गाजा पट्टीलाई तहसनहस पार्यो र वेस्ट ब्याङ्कलाई पनि बिस्तारै हडप्दै लगिरहेको छ। अहिले त प्रस्ट रूपमा प्यालेस्टाइनी राज्यको सम्भावनालाई खुलेआम अस्वीकार गर्न थालेको छ। यस्तो परिस्थितिमा अब इजरायल र प्यालेस्टाइन दुई राष्ट्र होइन, बरु प्यालेस्टाइनी र यहुदी समावेश भएको एउटा साझा राष्ट्रतर्फ सोच्ने सम्भावना बढ्न थालेको छ।
जर्ज हब्बास केवल एक क्रान्तिकारी नेता मात्र नभई प्यालेस्टाइनी स्वाभिमान, सिद्धान्तनिष्ठा र अविचलित सङ्घर्षका प्रतीक थिए। उनले अङ्गीकार गरेको वैचारिक स्पष्टता, एकीकृत प्रजातान्त्रिक राज्यको परिकल्पना र अरब जनताको क्रान्तिमार्फत मुक्तिको बाटो आजको जटिल मध्यपूर्वी राजनीतिमा झन् सान्दर्भिक बन्दै गएको छ। ओस्लो सम्झौताको विफलता र दुई-राष्ट्र सिद्धान्तको सङ्कटले उनको दूरदर्शितालाई सिद्ध गरेको छ। जर्ज हब्बासले प्यालेस्टाइनीहरूलाई भन्ने गर्थे– "विद्रोह गर! तिमीहरूसँग गुमाउनका लागि आफ्ना जन्जिर र शरणार्थी शिविरका पालहरूबाहेक केही पनि बाँकी छैन!" प्यालेस्टाइनीहरू अझै पनि त्यही विद्रोहको बाटोमा यात्रारत छन्।
(यो लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, लेखकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक सम्पत्ति चोरी मानिनेछ । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
प्रेमचन्दका फाटेको जुत्ता
क्युबामाथि अमेरिकी नाकाबन्दीको मूल्य
रुवान्डा नरसंहारको अन्तरकथा
लाल सामुराईको अवसान
शाही सत्ता र दलीय विसंगतिका विरुद्ध सतिसाल बनी खडा अटल नागरिक विवेक
अमेरिकी आधिपत्य र पुँजीवादी संकट: नयाँ विश्व व्यवस्थामा समाजवादी विकल्पको अनि…
पहेँलो राक्षसको सहर
प्रतिक्रिया