पश्चिमले आफ्नो पतन आफैं निम्त्याएको छ
एक्लो, आत्ममुग्ध सभ्यतामा परिणत भएको पश्चिम
हाम्रो संसार विभाजनहरूले भरिएको छ। तर सबैभन्दा ठूलो विभाजन भनेको विश्वको १२ प्रतिशत जनसंख्या बसोबास गर्ने पश्चिम र बाँकी ८८ प्रतिशत जनसंख्या बसोबास गर्ने पश्चिमबाहिरको संसारबीचको विभाजन हो। जब पश्चिमले ऐनामा आफूलाई हेर्छ, उसले आफूलाई पृथ्वीको सबैभन्दा सद्गुणी सभ्यताका रूपमा देख्छ, आफ्ना नागरिकहरूको हेरचाह गर्ने र उदारतापूर्वक तथा निःस्वार्थ भावले संसारलाई अझ राम्रो बनाउने सभ्यताका रूपमा। तर जब बाँकी विश्वले पश्चिमलाई हेर्छ, उनीहरू एउटा उत्तेजित, हिंसात्मक सभ्यता देख्छन्, जसले पछिल्ला केही दशकमा अन्य कुनै पनि सभ्यताभन्दा बढी अनावश्यक युद्धहरूमा निर्दोष मानिसहरूको हत्या गरेको छ। त्यसो भए सत्य कहाँ छ?
बौद्धिक इमानदारी र गहिरो आत्मसमीक्षामा गर्व गर्ने सभ्यताका लागि विडम्बनापूर्ण कुरा के हो भने, पश्चिम आफ्नो निरन्तर हस्तक्षेपका कारण कसरी र किन यति गलत दिशामा गयो भन्ने विषयमा निकै कम आत्मसमीक्षा भएको छ।
दुःखको कुरा, तथ्यांकले झूट बोल्दैन। शीतयुद्धको अन्त्यपछि विश्वले शान्तिको लाभांश प्राप्त गर्ने अपेक्षा गरिएको थियो। तर त्यसयता पश्चिम एकपछि अर्को दुस्साहसपूर्ण अभियानमा संलग्न हुँदै आएको छ। यसको परिणाम विनाशकारी भएको छ। ब्राउन विश्वविद्यालयको वाट्सन स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सअन्तर्गतको ‘कस्ट अफ वार’ परियोजनाले अनुमान गरेअनुसार, सन् २००१ देखि २०२३ सम्म ९/११ पछिका युद्धहरूमा प्रत्यक्ष हिंसाका कारण कम्तीमा ९ लाख ४० हजार मानिस मारिएका छन्। त्यसबाहेक रोग, कुपोषण आदिजस्ता सहायक कारणबाट थप ३६ लाखदेखि ३८ लाख मानिसको अप्रत्यक्ष रूपमा मृत्यु भएको छ। यीमध्ये धेरै युद्ध पश्चिमले सुरु गरेका थिए।
बौद्धिक इमानदारी र गहिरो आत्मसमीक्षामा गर्व गर्ने सभ्यताका लागि विडम्बनापूर्ण कुरा के हो भने, पश्चिम आफ्नो निरन्तर हस्तक्षेपका कारण कसरी र किन यति गलत दिशामा गयो भन्ने विषयमा निकै कम आत्मसमीक्षा भएको छ। सुरुमा अफगानिस्तानमा गरिएको हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनअनुसार कानुनी र उचित थियो, जसको आधार संयुक्त राष्ट्र सुरक्षा परिषद्को २० डिसेम्बर २००१ को प्रस्ताव १३८६ थियो। तर अल-कायदाका आतंकवादीहरूलाई आश्रय दिएको तालिबान सरकारलाई हटाइसकेपछि अफगानिस्तानबाट कसरी बाहिरिने भन्ने कुनै रणनीति पश्चिमसँग थिएन। बरु, ऊ अफगानिस्तानमा २० वर्षसम्म बसिरह्यो। अन्ततः अफगान जनतालाई तालिबान सरकारबाट उद्धार गर्न गएको पश्चिमले उनीहरूलाई फेरि तालिबान सरकारकै अधीनमा फर्काइदियो। र ती २० वर्षमा युद्धमा मारिएका सैनिकहरूबाहेक १ लाखभन्दा बढी अफगान नागरिक मारिए वा घाइते भए। यो अविश्वसनीय विपत्तिका लागि पश्चिममा कसैलाई पनि जवाफदेही बनाइएको छैन।
अफगानिस्तानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुसार कानुनी भए पनि सन् २००३ को मार्चमा इराकमाथि गरिएको आक्रमण गैरकानुनी थियो। संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले साहसपूर्वक त्यसलाई गैरकानुनी घोषणा गरेका थिए र सत्य बोलेवापत बुश प्रशासनबाट उनले प्रताडना खेप्नुपर्यो। यहाँ पनि एउटा गैरकानुनी युद्धमा ठूलो संख्यामा निर्दोष नागरिकहरूले ज्यान गुमाए। तर, पश्चिमी जनमतले अनिच्छापूर्वक भए पनि त्यो युद्ध गैरकानुनी र अनावश्यक थियो भनेर स्वीकार गरिसक्दा पनि कसैलाई जवाफदेही बनाइएको छैन।
गद्दाफीलाई सत्ताबाट हटाएको १० वर्षपछि, सन् २०२० मा लिबियाको जीडीपी घटेर ४७ अर्ब डलरमा पुग्यो। प्रतिव्यक्ति जीडीपी पनि घटेर ६.७ हजार डलरमा झर्यो। लाखौँ सामान्य लिबियालीहरू सुरक्षित र स्थिर जीवनबाट उठाएर नरकमा पुर्याइए। पश्चिमले उनीहरूसँग कहिल्यै माफी मागेन।
लिबियामा असफल हस्तक्षेपप्रति पश्चिमको प्रतिक्रिया झन् बढी निर्मम थियो। वी केम. वी सअ. हि डाइड. (We came. We saw. He died) २० अक्टोबर २०११ मा गद्दाफी मारिएपछि तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले गर्वका साथ यस्तै भनेकी थिइन्। तर गद्दाफी जीवित रहँदा अधिकांश लिबियालीहरूले, विशेषगरी सन् १९९० को दशकदेखि, सभ्य जीवन बिताइरहेका थिए। त्यो अवधि तुलनात्मक राजनीतिक स्थिरता र आर्थिक वृद्धिको समय थियो। कुनै युद्ध वा द्वन्द्व थिएन। प्रत्येक लिबियाली परिवारले राज्यबाट व्यापक कल्याणकारी सुविधा पनि पाउँथ्यो। सन् १९९० मा ३१ अर्ब अमेरिकी डलर रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०१० मा बढेर ७५ अर्ब डलर पुगेको थियो। सन् २०१० मा लिबियाको प्रतिव्यक्ति जीडीपी ११.६ हजार डलर थियो, जुन अफ्रिकामै सबैभन्दा उच्च थियो। गद्दाफीलाई सत्ताबाट हटाएको १० वर्षपछि, सन् २०२० मा लिबियाको जीडीपी घटेर ४७ अर्ब डलरमा पुग्यो। प्रतिव्यक्ति जीडीपी पनि घटेर ६.७ हजार डलरमा झर्यो। लाखौँ सामान्य लिबियालीहरू सुरक्षित र स्थिर जीवनबाट उठाएर नरकमा पुर्याइए। पश्चिमले उनीहरूसँग कहिल्यै माफी मागेन।
मानवअधिकार उल्लङ्घनबारे फैसला सुनाउँदा पश्चिमले अपनाउँदै आएको स्पष्ट दोहोरो मापदण्डले उसको नैतिक श्रेष्ठताको दाबीलाई अझ कमजोर बनाएको कुरा पनि पश्चिमलाई थाहा छैन।
पश्चिमले यति धेरै निर्दोष नागरिकमाथि स्पष्ट रूपमा थोपरेको पीडा र दुःखप्रतिको यो निर्मम उदासीनताले आफूलाई स्वभावतः सद्गुणी सभ्यता ठान्ने पश्चिमको आत्मविश्वासलाई कमजोर बनाउँछ। मानवअधिकार उल्लङ्घनबारे फैसला सुनाउँदा पश्चिमले अपनाउँदै आएको स्पष्ट दोहोरो मापदण्डले उसको नैतिक श्रेष्ठताको दाबीलाई अझ कमजोर बनाएको कुरा पनि पश्चिमलाई थाहा छैन।
दशकौँदेखि पश्चिमले यातना घृणित कार्य हो र विभिन्न मानवअधिकारसम्बन्धी महासन्धिहरूद्वारा यसलाई निषेध गरिएको छ भन्दै आएको थियो। वास्तवमा, पश्चिमले १० डिसेम्बर १९८४ मा पारित संयुक्त राष्ट्रसंघको यातनाविरुद्धको महासन्धिलाई मानवअधिकारको दिशामा भएको ठूलो प्रगतिका रूपमा लिएको थियो। मे १९८८ मा उक्त महासन्धिलाई अनुमोदनका लागि अमेरिकी सिनेटसमक्ष प्रस्तुत गर्दै राष्ट्रपति रोनाल्ड रेगनले त्यसो गर्नुले “आजको संसारमा दुर्भाग्यवश अझै व्याप्त रहेको घृणित अभ्यास, यातनाप्रति संयुक्त राज्य अमेरिकाको विरोधलाई स्पष्ट रूपमा अभिव्यक्त गर्ने” बताएका थिए। तर जब बुश प्रशासनले ग्वान्तानामोमा यातनाको अभ्यास पुनः सुरु गरेर आधुनिक विकसित राष्ट्रहरूमध्ये पहिलो बन्यो, युरोपमा मानवअधिकारका तत्कालीन रक्षकहरूले बुश प्रशासनको निन्दा गर्न मात्र असफल भएनन्। उनीहरूले मानिसहरूलाई अपहरण गरेर यातना वा दुर्व्यवहारको उच्च जोखिम भएका देशहरूमा पठाउने विभिन्न “रेन्डिसन” कार्यक्रममार्फत उक्त यातनामा सहयोग र सहजीकरणसमेत गरे।
मानवअधिकारका विषयमा पश्चिमको दोहोरो मापदण्ड युक्रेन र गाजामा निर्दोष नागरिकहरूको मृत्यु हुँदा पश्चिमले व्यक्त गरेको परस्परविरोधी प्रतिक्रियाबाट अझ स्पष्ट रूपमा उजागर भएको छ। युक्रेनमा निर्दोष युक्रेनी नागरिक वा बालबालिका मारिँदा धेरै पश्चिमी नेताहरूले उचित रूपमा नैतिक आक्रोश व्यक्त गरे। अगस्ट २०२५ मा रुसी क्षेप्यास्त्र र ड्रोनले किभमा गरेको आक्रमणपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लेयेनले भनिन्, “रुसको निरन्तर बमबारीको अर्को रातले नागरिक पूर्वाधारमा प्रहार गर्यो र निर्दोष मानिसहरूको ज्यान लियो।” त्यसबेला विदेश मामिला तथा सुरक्षा नीतिका लागि युरोपेली संघकी उच्च प्रतिनिधि काजा कालासले भनिन्, “रुसले फेरि एकपटक जानाजान युक्रेनी नागरिकहरूलाई निशाना बनायो र उनीहरूको हत्या गर्यो।” जुलाई २०२४ मा रुसी क्षेप्यास्त्र आक्रमणबाट किभस्थित ओख्मातदित बाल अस्पतालका बालबालिकासहित नागरिकहरू मारिएपछि राष्ट्रपति जो बाइडेनले ती आक्रमणलाई “रुसको क्रूरताको भयावह सम्झना” भन्दै रुसले “युक्रेनी नागरिकहरूलाई निशाना बनाएको” बताए। बाल अस्पतालमाथि भएको त्यही आक्रमणको प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री किएर स्टार्मरले “निर्दोष बालबालिकामाथि आक्रमण” लाई “सबैभन्दा घृणित कार्य” भने। पश्चिमी नेताहरूले व्यापक रूपमा यी हत्यालाई अत्याचार र युद्ध अपराधका रूपमा वर्णन गरे। तर गाजाको द्वन्द्वमा बालबालिकासहित त्यसभन्दा कैयौँ गुणा बढी निर्दोष नागरिक मारिँदा भने तिनै पश्चिमी नेताहरू गाजाका विषयमा प्रायः मौन रहे।
पश्चिमको नैतिक विश्वसनीयतालाई गाजाले जति क्षति पुर्याएको छ त्यति अरू कुनै पनि एकल घटनाले पुर्याएको छैन। आधुनिक मोबाइल फोनहरू सर्वव्यापी बनेसँगै गाजामा लाखौँ निर्दोष प्यालेस्टिनी नागरिकले भोगेको पीडा हामीले आफ्नै आँखाले देखेका छौँ। पश्चिमबाहिर बस्ने विश्वको ८८ प्रतिशत जनसंख्याले पनि गाजाका विषयमा पश्चिमको चर्को मौनता सुनेका छन्। भारतीय उपन्यासकार तथा द वर्ल्ड आफ्टर गाजा का लेखक पंकज मिश्रले जनवरी २०२५ मा भनेका थिए, “गाजाले अमेरिकी संस्था, पश्चिमी संस्था र अन्तर्राष्ट्रिय संस्थाहरूलाई यस हदसम्म क्षति पुर्याएको छ, जुन यसअघिको कुनै युद्ध वा कुनै द्वन्द्वले पुर्याएको थिएन।” बुकर पुरस्कार विजेता भारतीय उपन्यासकार अरुन्धती रोयले अझ स्पष्ट शब्दमा भनेकी छन्, “गाजाको भग्नावशेषमुनि प्यालेस्टिनीहरूको शव मात्र छैन, त्यहाँ पश्चिमी उदार लोकतन्त्रको शव पनि छ।”
पश्चिमको नैतिक विश्वसनीयतालाई गाजाले जति क्षति पुर्याएको छ त्यति अरू कुनै पनि एकल घटनाले पुर्याएको छैन। आधुनिक मोबाइल फोनहरू सर्वव्यापी बनेसँगै गाजामा लाखौँ निर्दोष प्यालेस्टिनी नागरिकले भोगेको पीडा हामीले आफ्नै आँखाले देखेका छौँ।
तर पश्चिमका बाह्य हस्तक्षेप र नीतिहरू विनाशकारी भए पनि धेरै प्रभावशाली पश्चिमी चिन्तक र राजनीतिज्ञहरू आफूलाई यस सोचबाट सान्त्वना दिन्छन् कि आन्तरिक रूपमा भने उनीहरूका समाजहरू अझै पनि विश्वमै उत्कृष्ट प्रदर्शन गर्ने समाज हुन्। तत्कालीन युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलले १३ अक्टोबर २०२२ मा भनेका थिए, “युरोप एउटा बगैँचा हो। हामीले एउटा बगैँचा निर्माण गरेका छौँ। यहाँ सबै कुरा चल्छ। राजनीतिक स्वतन्त्रता, आर्थिक समृद्धि र सामाजिक एकताको जुन उत्कृष्ट संयोजन मानवजातिले निर्माण गर्न सकेको छ, त्यो यही हो … बाँकी संसारको अधिकांश भाग जंगल हो, र त्यो जंगलले बगैँचामाथि आक्रमण गर्न सक्छ।”
आधुनिक र विकसित पश्चिमी समाजमा बस्ने मानिसहरूले अझै पनि ग्लोबल साउथका आफ्ना समकक्षीहरूको तुलनामा राम्रो जीवनस्तर उपभोग गरिरहेका छन् भन्नेमा कुनै प्रश्न छैन। पश्चिमका वर्तमान नागरिकहरू उनीहरूका पुर्खाहरूले निर्माण गरेका विवेकपूर्ण र सुदृढ सार्वजनिक नीतिका लाभग्राही हुन्। तर उनीहरूले आफ्ना भावी पुस्ताका लागि के छोडेर जाँदैछन्? के युरोप र उत्तर अमेरिकाका भावी पुस्ताले पनि उत्तिकै राम्रो जीवन बिताउन पाउनेछन्? अथवा उनीहरूले जीवनस्तरमा निरन्तर गिरावट देख्नुपर्नेछ?
आज पनि पश्चिमको जनसंख्याको ठूलो हिस्साले आफ्नो जीवनमा सुधार होइन, अधोगति अनुभव गरिरहेको छ।
सर्वेक्षणहरूले देखाउँछन् कि अधिकांश पश्चिमी जनसंख्या आफ्ना छोराछोरी र नातिनातिनीहरूले आफूहरूले पाएको जत्तिकै राम्रो जीवन बिताउनेछन् भन्नेमा विश्वस्त छैनन्। जनवरी २०२५ मा गरिएको प्यु सर्वेक्षणले देखाएअनुसार युरोपका साथै अमेरिका र क्यानडाका ७५ प्रतिशतभन्दा बढी उत्तरदाताले आफ्ना छोराछोरी आर्थिक रूपमा आफ्ना अभिभावकभन्दा कमजोर अवस्थामा रहने विश्वास व्यक्त गरेका थिए।
वास्तवमा, आज पनि पश्चिमको जनसंख्याको ठूलो हिस्साले आफ्नो जीवनमा सुधार होइन, अधोगति अनुभव गरिरहेको छ। ब्रुकिङ्स इन्स्टिच्युसनले मे २०२६ मा प्रकाशित गरेको प्रतिवेदनमा भनिएको छ, “सन् २०२४ मा अमेरिकाका ४५.५ प्रतिशत घरपरिवारले जीवनका आधारभूत खर्च धान्न पर्याप्त आम्दानी गर्न सकेनन्। सन् २०१४ यताका लगभग हरेक वर्ष ४० प्रतिशतभन्दा बढी अमेरिकी घरपरिवारले आफ्नो गुजारा चलाउन संघर्ष गरेका छन्।” प्रतिवेदनले थपेको छ, “जबसम्म ज्यालामा उल्लेखनीय वृद्धि हुँदैन, वर्तमान जीवनयापन लागत कहिल्यै पनि वहनयोग्य हुने छैन। तथ्यहरूले देखाउँछन् कि सन् १९७९ देखि २०२५ सम्म अमेरिकी उत्पादकत्व झन्डै दोब्बर भए पनि औसत प्रतिघण्टा ज्याला केवल ३४ प्रतिशतले बढेको छ। अर्को शब्दमा, उत्पादकत्वबाट प्राप्त लाभले पुँजीका मालिक र सबैभन्दा बढी आम्दानी गर्ने अमेरिकीहरूको हातमा सम्पत्ति केन्द्रित गरेको छ; व्यापक रूपमा ज्याला वृद्धि गराउनुको सट्टा यसले मध्यम वर्गलाई खोक्रो बनाएको छ।”
पश्चिमका अधिकांश मानिसले आफ्ना असफल बाह्य भू–राजनीतिक अभियान र आफ्नै जनसंख्यामा व्याप्त आन्तरिक निराशाबीच कुनै सम्बन्ध देख्दैनन्। वास्तवमा, यी दुई कुरा आपसमा जोडिएका छन्।
एङ्गस डिटन र एनी केसले डेथ्स अफ डेस्पेयर मा अमेरिकाले “निराशाका कारण हुने मृत्यु” को महामारी सामना गरिरहेको तथ्य दस्तावेज गरेका छन् अर्थात् मध्यम उमेरका गैर-हिस्पानिक श्वेत अमेरिकीहरूमा लागुऔषधको अत्यधिक सेवन, आत्महत्या र मदिराका कारण हुने मृत्यु। उनीहरूले लेखेका छन्, “४५ देखि ५४ वर्ष उमेरका श्वेत पुरुष र महिलामा निराशाका कारण हुने मृत्यु सन् १९९० मा प्रति एक लाख ३० बाट बढेर सन् २०१७ मा प्रति एक लाख ९२ पुगेको थियो। अमेरिकाका हरेक राज्यमा ४५ देखि ५४ वर्ष उमेरका श्वेत नागरिकमा आत्महत्याबाट हुने मृत्युको दर सन् १९९९–२००० र २०१६–१७ को बीचमा बढेको थियो। दुई राज्यबाहेक सबै राज्यमा मदिराजन्य कलेजो रोगबाट हुने मृत्युको दर बढेको थियो। र हरेक राज्यमा लागुऔषधको अत्यधिक सेवनबाट हुने मृत्युको दर बढेको थियो।”
पश्चिमका अधिकांश मानिसले आफ्ना असफल बाह्य भू–राजनीतिक अभियान र आफ्नै जनसंख्यामा व्याप्त आन्तरिक निराशाबीच कुनै सम्बन्ध देख्दैनन्। वास्तवमा, यी दुई कुरा आपसमा जोडिएका छन्। अनावश्यक बाह्य हस्तक्षेपमा खेर फालिएको धन र स्रोत आफ्नै जनसंख्याका लागि अझ राम्रोसँग खर्च गर्न सकिन्थ्यो। इराक युद्धबारे नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिट्जले लेखेका थिए, “युद्धमा खर्च गरिएको रकमको छ भागको एक भागले मात्रै पनि अमेरिकाले लाभ कटौती नगरी वा योगदान बढाएबिना आफ्नो सामाजिक सुरक्षा प्रणालीलाई आधा शताब्दीभन्दा बढी समयका लागि सुदृढ आधारमा राख्न सक्थ्यो।”
अहिलेसम्म प्रस्तुत गरिएका तर्कसँग पश्चिमका केही विवेकशील मानिसहरू सहमत हुन सक्छन्– ग्लोबल साउथमा पश्चिमले गरेका धेरै हस्तक्षेप अनावश्यक र विनाशकारी थिए भन्ने कुरा उनीहरूले स्वीकार गर्न सक्छन्। तर युक्रेन युद्धले पनि पश्चिमी भू–राजनीतिक अक्षमता प्रतिबिम्बित गर्छ भन्ने कुरामा उनीहरू कुनै पनि हालतमा सहमत हुने छैनन्। रुसले युक्रेनमाथि गरेको आक्रमण गैरकानुनी थियो भन्नेमा कुनै प्रश्न छैन। हजारौँ निर्दोष मानिसहरूको ज्यान गएकोमा रुस निन्दाको भागीदार छ।
तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमले रुसमाथि प्रतिबन्ध लगाउँदा विश्वको ८५ प्रतिशत जनसंख्याले त्यसको अनुसरण गरेन भन्ने तथ्यलाई उसले ध्यानै दिएन। किन? के यसले ग्लोबल साउथमा नैतिक इमानदारीको कमीलाई प्रतिबिम्बित गर्छ? अथवा यसले चतुर भू–राजनीतिक मूल्यांकनलाई प्रतिबिम्बित गर्छ? ब्राजिल, चीन, भारत, इन्डोनेसिया र दक्षिण अफ्रिकाजस्ता देशहरूले रुसमाथि प्रतिबन्ध नलगाउनुको अर्थ उनीहरूले रुसी आक्रमणको समर्थन गरेका थिए भन्ने होइन। यसले युक्रेन युद्ध “बिनाकारण भड्काइएको” थियो र युक्रेनमाथिको आक्रमणका लागि रुस मात्रै दोषी थियो भन्ने पश्चिमको दाबीलाई उनीहरूले अस्वीकार गरेको संकेत गरेको थियो।
यी नेताहरूलाई के थाहा छैन भने, युक्रेन युद्धलाई वर्णन गर्न “बिनाउक्साहट” शब्द प्रयोग गर्दा उनीहरूले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाजस्ता विवेकशील नेताहरू सहित ग्लोबल साउथका देशहरूको बौद्धिक क्षमताकै अपमान गरिरहेका छन्।
युक्रेन युद्धलाई वर्णन गर्न पश्चिमका कति धेरै नेताहरूले “बिनाउक्साहट” भन्ने शब्द प्रयोग गरेका छन् भन्ने कुरा वास्तवमै चकित पार्ने खालको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले २४ फेब्रुअरी २०२२ मा भनेका थिए, “रुसी सेनाले कुनै उक्साहटबिना, कुनै औचित्यबिना, कुनै आवश्यकताबिना युक्रेनका जनतामाथि क्रूर आक्रमण सुरु गरेको छ।” त्यही समयतिर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसको कदमलाई “स्वतन्त्र र सार्वभौम युरोपेली देशमाथिको क्रूर र बिनाउक्साहटको आक्रमण” भनेका थिए। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका थिए, “आज हामी एउटा बदलिएको संसारमा ब्युँझिएका छौँ। रुसले युक्रेनको सार्वभौमसत्तामाथि क्रूर र बिनाउक्साहटको आक्रमण सुरु गरेको छ।” जी–७ का नेताहरूले सामूहिक रूपमा रुसको कदमलाई “युक्रेनको लोकतान्त्रिक राज्यमाथिको यो बिनाउक्साहट र पूर्णतः अनुचित आक्रमण” भनेर वर्णन गरेका थिए।
यी नेताहरूलाई के थाहा छैन भने, युक्रेन युद्धलाई वर्णन गर्न “बिनाउक्साहट” शब्द प्रयोग गर्दा उनीहरूले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाजस्ता विवेकशील नेताहरू सहित ग्लोबल साउथका देशहरूको बौद्धिक क्षमताकै अपमान गरिरहेका छन्। उनले मे २०२२ मा युक्रेन युद्धबारे अझ सूक्ष्म दृष्टिकोण प्रस्तुत गर्दै भनेका थिए, “पुटिनले युक्रेनमाथि आक्रमण गर्नु हुँदैनथ्यो। तर दोषी पुटिन मात्र होइनन्। संयुक्त राज्य अमेरिका र युरोपेली संघ पनि दोषी छन्। युक्रेनमाथि आक्रमण हुनुको कारण के थियो? नाटो? त्यसो भए संयुक्त राज्य अमेरिका र युरोपले भन्नुपर्थ्यो– ‘युक्रेन नाटोमा सामेल हुने छैन।’ त्यसो गरेको भए समस्या समाधान हुन्थ्यो।”
हालैका भू–राजनीतिक घटनाक्रमबारे पश्चिम र बाँकी विश्वबीच रहेको धारणाको यो ठूलो खाडल आश्चर्यजनक पनि छ र विरोधाभासपूर्ण पनि। सिद्धान्ततः हाम्रो संसार साँघुरिँदै गएको छ। आज हामीसँग मानव इतिहासको कुनै पनि अघिल्लो समयभन्दा बढी सूचना उपलब्ध छ, आफ्नै मोबाइल फोनमार्फत समेत। तर हामीले एउटै हालैका घटनाहरूलाई प्रत्यक्ष देख्दा पनि पश्चिमका धारणा र बाँकी विश्वका धारणा दुई फरक ब्रह्माण्डमा अस्तित्वमा रहेजस्ता देखिन्छन्। अझ चकित पार्ने कुरा त के हो भने, अधिकांश पश्चिमी नेता र विश्लेषकहरू विश्वको बहुसंख्यक जनसंख्याको समर्थन र विश्वास उनीहरूले गुमाइसकेको तथ्यप्रति पूर्णतः अनभिज्ञ देखिन्छन्। यही कारण भारतीय विदेशमन्त्री एस. जयशंकरले जून २०२२ मा व्यक्त गरेका यी शब्दहरू ग्लोबल साउथमा निकै प्रभावशाली ढंगले प्रतिध्वनित भए: “कतै न कतै युरोपले यस्तो मानसिकताबाट बाहिर निस्कनुपर्छ कि युरोपका समस्याहरू संसारका समस्या हुन्, तर संसारका समस्याहरू युरोपका समस्या होइनन्।” त्यसको एक वर्षपछि, फेब्रुअरी २०२३ मा तत्कालीन जर्मन चान्सलर ओलाफ शोल्जले जयशंकरको “कुरा सही हो” भनेर स्वीकार गरे। ल्याटिन अमेरिका, अफ्रिका र एसियाका देशहरूतर्फ संकेत गर्दै शोल्जले थप भने, “संयुक्त रूपमा अघि बढ्नका लागि आधारभूत पूर्वसर्तका रूपमा हामीले यी देशका हित र सरोकारलाई समग्र रूपमा सम्बोधन गर्नुपर्छ।”
आफूले बाँकी संसार गुमाइसकेको कुरा स्वीकार गर्न पश्चिमले गरेको अस्वीकार वास्तवमै आत्मवञ्चनाको एउटा विशाल अभ्यास हो। पश्चिम अझै पनि आफूलाई पृथ्वीको सबैभन्दा सद्गुणी सभ्यता भएको विश्वास गरिरहन चाहन्छ।
संयुक्त राज्य अमेरिका र युरोपबीच बढ्दै गएको मतभेदका बाबजुद, चीनका विषयमा दुवैको साझा चिन्ता छ र उनीहरूले कुनै न कुनै रूपमा चीनलाई रोक्ने र एक्ल्याउने प्रयास गर्नेछन्। तर त्यसो गर्दा उनीहरूले पाउने परिणाम के हुनेछ भने, बाँकी संसारले उनीहरूलाई बेवास्ता गर्नेछ र चीनसँग आफ्नो सम्बन्ध र सहकार्य निरन्तर अघि बढाइरहनेछ। त्यसैले चीनलाई एक्ल्याउनुको सट्टा पश्चिम आफैंलाई संसारबाट अलग्याउने अवस्थामा पुग्नेछ।
अन्ततः, आफूले बाँकी संसार गुमाइसकेको कुरा स्वीकार गर्न पश्चिमले गरेको अस्वीकार वास्तवमै आत्मवञ्चनाको एउटा विशाल अभ्यास हो। पश्चिम अझै पनि आफूलाई पृथ्वीको सबैभन्दा सद्गुणी सभ्यता भएको विश्वास गरिरहन चाहन्छ। यो आत्मवञ्चना जति लामो समयसम्म कायम रहन्छ, पश्चिमलाई त्यति नै बढी यस्तो एक्लो र आत्ममुग्ध सभ्यताका रूपमा हेरिनेछ, जो आफ्नै संसारमा मग्न छ र विश्वको बहुसंख्यक मानवजातिले उसलाई कसरी हेर्छ भन्नेबारे अनभिज्ञ छ। पश्चिम र बाँकी संसारबीचको यो खाडललाई प्रभावकारी ढंगले र शीघ्र सम्बोधन गरिएन भने, संसार अझ बढी अशान्त र संकटपूर्ण बाटोतर्फ अघि बढ्नेछ।
Source: https://iai.tv/
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
रूपक समग्रताको रूपमा वा सामाजिक सञ्जाल हाम्रो रूपकको रूपमा
हो ची मिन्ह: स्वतन्त्रताको खोजदेखि साम्राज्यवादको पराजयसम्म
भोटेकोशी महाविनाशको ताण्डवले सिकाएका गम्भीर पाठहरू
जर्दानो ब्रूनो: ब्रह्माण्डको अनन्तता खोज्ने विद्रोही चिन्तकको गाथा
फिडेल क्यास्त्रो: एक क्रान्तिकारीको जीवन, विचार र आत्मसंघर्ष
‘मध्यपूर्वका माओ’: जर्ज हब्बास र प्यालेस्टाइनी प्रतिरोधको गाथा
प्रेमचन्दका फाटेको जुत्ता
प्रतिक्रिया