काग र कागहरु…
एआइको सहयोगमा निर्मित प्रतीकात्मक तस्विर
(१)
सडकभरी सुरक्षाकर्मी राखेर
वा सुरक्षाकर्मीले घेरिएर
साइरन र सिट्ठीको आवाजले
सर्वसाधारणलाई आतङ्कित पारेर
आफूलाई भिआईपी वा भिभिआईपी ठान्नेहरु जस्तै लाग्छ
मलाई यी काग र कागका बथानहरु।
(२)
शनिबारको विहान
मासु काटेर बाँकी रहेका
अलिकति पित्त, घुसौटो, छाला
र फोहोर टाँसिएका नङ्ग्राका केही टुक्राहरु
अलिकति बोसो, राजखानी, रौं टाँसिएको छाला
र फोहोर टाँसिएका आन्द्राका केही टुक्राहरु
सर्वसाधारण जनताका क्षतविक्षत सपनाहरु जस्तै
जब म भान्सासँगैको छतको प्यारापिटमा राखिदिन्छु
ठिक त्यसैगरी, अर्थात्
भिआईपी वा भिभिआईपीका उपस्थितिमा जस्तै
एकाएक हल्ला गर्छन्
र "काऽआ, काऽआ, काऽआ…" गरेर कराउन थाल्छन्
कर्कस आवाजमा, काला कागहरु
लाग्छ साईरन र सिट्ठीहरु बज्न थालेको छ
र सर्वसाधारणहरु माथि जाइलाग्न थालेका छन् 'सुरक्षाकर्मी'हरु।
(३)
जम्मा हुन्छन् काला कागहरु मासुका टुक्राका वरिपरी
घेर्छन् एकले अर्कोलाई
र घेरिन्छन् एकबाट अर्को
अलमलिन्छन्
घरको छतको चेपमा
आफ्ना बच्चा कोरल्न ओथारो बस्दै गर्दा
तल छतको भूइँमा छरिएको
चामल खान ओर्लिएका परेवाहरु
र घबराउछन्
घरको छानाको रङ्गीन जस्तापाता अड्याउन राखिएको
ट्रसको प्वालभित्र आफूलाई सुरक्षित ठानेर
त्यही प्वालमा भित्र र बाहिर गर्दै
जिस्किरहेका भंगेराका जोडीहरु।
(४)
छिरल्लिए होचो पर्खालमा राखिएका मासुका टुक्राहरु
र फोहोर भयो प्यारापिटको माथिल्लो सतह
आखिर काग काग नै हुन्
नसुध्रनु कुनै अचम्म होइन
अघि मासु खान झुम्मिएका कागहरु हेरेँ मैले
सबभन्दा सुरक्षित
कुनै भिआईपी वा भिभिआईपी झैँ लाग्ने
मुली चाहिँ
तल बारीमा फालिएको मरेको मुसा च्यापेर उडेको देखियो
अलि परको छतमा रहेको
कालो पानी ट्याङ्कीमाथि गएर बस्यो
र कुहिएर गन्हाएको मुसा लुछ्न थालेको देखियो
उसको नियति देखेर, टाढाबाट
घिनाउनु सिवाय अरु केही गर्न सकिएन
छिरल्लिएका अरु काला कागहरु
बारीको कुनातिर
आफ्ना कद र थुतुनोको पहुँच बमोजिम
अर्थात्, आफ्नो बल र सामर्थ्य अनुसार
आलो र सुक्दै गरेका कुकुरका विष्टाहरुलाई घेरेर
एकले अर्कोलाई लखेट्दै गरेको पनि देखियो
तिनीहरुको नियति देखेर, अनायासै
फिस्स हाँस्नु सिवाय अरु केही गर्न सकिएन।
(५)
आखिर काग काग नै हुन्
नसुध्रिनु कुनै अचम्म थिएन
काग मान्छे बन्ने चक्करमा नफस्नु कुनै अचम्म थिएन
तर जब कुनै शक्तिशाली मान्छे, कागले जस्तै
मरेर कुहिएको मुसा च्यापेर उडान भरिरहेको देख्छु
तर जब कोही चाकरीबाज
वा आफूलाई केही बाँधिएको ठान्ने मानिसहरु
काला कागहरु जस्तै
फोहोरलाई रुङेर आफु हुनुको परिचय धानिरहेको देख्छु
म सोच्ने गर्छु र एकोहोरो सोचिरहेको हुनेछु-
आखिर मानिस मानिस नै हुन्
नसुध्रिएसम्म, वास्तवमा त्यो अचम्म नै हुनेछ
र त्यस्तो अचम्म देखेर
हामी सधैँ आश्चर्यचकित भइरहेको नै हुनेछौं
र हामीलाई आश्चर्य लागिरहकै हुनेछ।
***
२०८३ भदौ २८
प्रतिक्रिया