कविताको मृत्यु

गीतहरू हरेक याममा गाइन्छन्,

तर समयकै गीतहरू गाइन्छन् ।

समय अँध्यारोले निसास्सिएको बेला

उत्सव गाइँदैन, अँध्यारोकै गीत गाइन्छन् ।

 

साथी !

तिमी कुन यामको गीत गाइरहेका छौ ?

कुन समयको राग अलापिरहेका छौ ?

देखिरहेका छौ ?

तिमी उभिएकै भूगोलअघि

समय कस्तो चीत्कार गरिरहेछ !

सुनिरहेका छौ ?

तिमी बाँचिरहेकै युगअघि

समय कुन क्रन्दन बोलिरहेछ !

 

तिमी अँध्यारोमा बसेर,

अँध्यारो समयका आवाजहरू

सहजै किनाराकृत गर्दै,

कुन मायावी स्वैरकाल्पनिक युग

बाँचिरहेका छौ ?

 

तिमीलाई लाग्छ—

म जीवन र जगतको भव्य चिन्तन गरिरहेछु,

साथी ! त्यो चिन्तन हुँदै होइन,

समयचेतको लज्जास्पद मृत्यु हो !

 

किन समेटिँदैनन् तिम्रा कवितामा—

सडकका चीत्कारहरू ?

मान्छेले चुहाइरहेका रगतका आँसुहरू ?

युगमा छरिएका निर्दयी बादलहरू ?

उज्यालो छोप्ने अँध्यारा त्रासदीहरू ?

सपना खोस्ने, जीवन लुट्ने हिटलरी परेडहरू ?

 

कतिन्जेल बस्छौ

कवितामा जून र ताराका उपमा खोज्दै,

फूल र सुवासका गजल गाउँदै ?

जहाँ प्रेम फुल्नै पाउँदैन,

प्रतिकूल वातावरणले निमोठिदिन्छ अंकुरणमै,

तिमी कल्पना गर्छौ कस्तो प्रेमको फेन्टासी ?

मग्न हुन्छौ कुन प्रेमको दिवास्वप्नमा ?

 

तिमी देख्दैनौ वर्तमानको ऐनामा

धाराप्रवाह समयको आँसु,

अघाउँछौ केवल अतीतकै गौरवगानमा !

 

याद गर—

समयसँगको बेखबरी

आफ्नै युगको घाउप्रति घात गर्नु मात्रै होइन,

वर्तमानको अस्तित्वमा

आफ्नै अस्तित्व मृतप्रायः हुनु हो,

असान्दर्भिक हुनु हो ।

 

साथी !

असान्दर्भिक हुनु चेतनाको मृत्यु हुनु हो,

चेतनाको मृत्यु,

भौतिक मृत्युभन्दा भयानक मृत्यु हो,

जसले तिमीलाई राखिदिन्छ ज्युँदो लास बनाएर

समयको कठघरामा !

 

समयको ऐनामा आफ्नो अनुहार नदेख्नेहरू,

किमार्थ अटाउँदैनन्

इतिहासको गौरवमय दस्तावेजमा ।

 

साथी !

कुन स्वप्निल दुनियाँको

रङ्गीन आत्मरतिमा रमाइरहेका छौ ?

हेर त,

समयचेतको पोस्टमार्टममा

तिम्रो कलमले मृत्युवरण गरिसक्यो,

समयचेतको परीक्षणमा

तिम्रो कविता मृत घोषित भइसक्यो !

२०८३-३-२७