अँध्यारो समयमा

जसको आकार स्थिर छैन

रङ पनि उडेको छ

 

पहिले यो रातो थियो

पछि कालो वा सेतो भयो

अरु रङको पनि हुन सक्थ्यो

तर जे थियो– अस्तित्वमा थियो

 

यो गोलो थियो

यो चेप्टो थियो

वा अरु आकारको पनि हुनसक्थ्यो

जे जस्तो भए पनि पृथ्वीमा यो थियो

अचेल म सपनामा देख्छु यसलाई

आकारहीन

रंगहीन

भावहीन

 

सायद यो ईश्वर हो

सायद यो शैतान हो

अथवा ती दुवैको वारिस– नयाँ वादशाह

के यो दन्त्यकथा हो ?

के यो मिथक हो ?

के यो कला हो ?

के यो ब्रम्ह हो ?

कि यो भ्रम हो ?

 

कविताले विश्वसनीयता गुमाएको

अँध्यारो समयमा

केही पनि स्थिर र मूर्त हुँदैन ।