दमनको स्वतन्त्रताको उद्गम

चीनमा अफिममाथि प्रतिबन्ध लगाइएको थियो।

बेलायती व्यापारीहरूले भारतबाट अफिम तस्करी गरेर चीन भित्र्याए। उनीहरूको अथक प्रयासका कारणले गर्दा हिरोइन र  मर्फिनको  जननी अफिममा निर्भर चिनियाँहरूको संख्या तीव्र रूपमा बढ्यो। जसले झूटा सुखको प्रलोभन देखाएर उनीहरूका जीवनहरू बर्बाद पारिदियो।

तस्करहरू चिनियाँ अधिकारीहरूबाट भोग्नुपरेका अवरोधहरूप्रति वाक्कदिक्क भइसकेका थिए। बजारको विकासका लागि खुला व्यापार आवश्यक थियो, र खुला व्यापारले युद्धको माग गर्‍यो।

उदार स्वभावका भनिएका विलियम जार्डिन सबैभन्दा शक्तिशाली लागूऔषध तस्करमध्ये एक थिए। अझ विडम्बनापूर्ण कुरा, उनी मेडिकल मिसनरी सोसाइटीका उपाध्यक्षसमेत थिए–जसले उनैले बेचेको अफिमका पीडितहरूलाई उपचार प्रदान गर्दथ्यो।

लन्डनमा जार्डिनले युद्धका पक्षमा अनुकूल वातावरण निर्माण गर्न सर्वाधिक प्रभावशाली केही लेखक तथा पत्रकारहरूलाई नियुक्त गरे। उनीहरूमध्ये सर्वाधिक बिक्री हुने पुस्तकका लेखक स्यामुएल वारेन पनि थिए। यी सञ्चारकर्मीहरूले ‘स्वतन्त्रता’को नारालाई झन्डाको टुप्पोसम्मै पुर्‍याए। खुला व्यापारको सेवामा अभिव्यक्ति स्वतन्त्रता–चीनको निरंकुशताको चुनौती दिँदै जेल, यातना र मृत्युसमेतको जोखिम मोल्ने इमानदार नागरिकहरूको ‘बलिदान’को महिमामण्डन गर्दै बेलायती जनमतमाथि पर्चा र लेखहरूको वर्षा भयो

उचित वातावरण तयार भएपछि, आँधीबेहरी मच्चियो। अफिम युद्ध केही अवरोधहरूका साथ १८३९ देखि १८६० सम्म चल्यो।

समुद्रकी स्वामिनी, नार्को महारानी

मानिसहरूको बिक्री बेलायती साम्राज्यको सबैभन्दा मुनाफादायक व्यवसाय थियो। तर सबैलाई थाहा छ, सुख सधैँ टिक्दैन। तीन शताब्दीको समृद्धिपछि बेलायती राजसत्ताले दास व्यापारबाट हात झिक्नुपर्‍यो, र त्यसपछि लागुऔषधको व्यापार साम्राज्यवादी वैभवको सबैभन्दा आकर्षक आम्दानीको स्रोत बन्न पुग्यो।

महारानी भिक्टोरिया चीनका बन्द ढोकाहरू तोड्न बाध्य भइन्। रोयल नेभीका जहाजहरूमा, क्रिष्टका मिसनरीहरू खुला व्यापारका योद्धाहरूमा सामेल भए। उनीहरूको पछिपछि व्यापारी जहाजहरूको बेडा आयो–जुन जहाजहरूले कुनै समय काला अफ्रिकीहरूलाई दास बनाएर ओसार्थे, ती जहाजहरू अब विषले भरिएका थिए।

अफिम युद्धको पहिलो चरणमै बेलायती साम्राज्यले हङकङ टापुमाथि कब्जा जमायो। रंगीन व्यक्तित्वका गभर्नर सर जोन बाउरिङले घोषणा गरे:

खुला व्यापार नै जिसस क्राइस्ट  हो, जिसस क्राइस्ट  नै स्वतन्त्र व्यापार हो।”

यहाँ चीन थियो

आफ्नो सीमाबाहिर चिनियाँहरूले खासै व्यापार गर्दैनथे र युद्ध गर्ने बानी पनि उनीहरूलाई थिएन।

व्यापारी र योद्धाहरूलाई हेय दृष्टिले हेरिन्थ्यो। उनीहरूले भेटेका अङ्ग्रेज र थोरै युरोपेलीहरूलाई उनीहरू ‘बर्बर’ भन्थे।

र त्यसैले जे हुनैपर्ने थियो, त्यही भयो। संसारकै घातक युद्धपोतहरूको बेडा र एउटा मात्र गोला प्रहार गरेर सैन्य पङ्क्तिमा उभिएका दर्जनौँ शत्रु सैनिकलाई छेड्न सक्ने मोर्टारहरूको सामना गर्दा चीन पराजित भएर पतन हुनैपर्थ्यो।

सन् १८६० मा बन्दरगाह र सहरहरू ध्वस्त पार्दै बेलायतीहरू फ्रान्सेली सेनासहित बेइजिङ प्रवेश गरे। उनीहरूले समर प्यालेस लुटे र भारत तथा सेनेगलबाट भर्ती गरिएका आफ्ना औपनिवेशिक सेनाहरूलाई बचेका कुराहरू आफैँ लैजान छुट दिए।

मन्चु राजवंशको शक्तिको केन्द्र रहेको त्यो दरबार वास्तवमा एउटै दरबार थिएन, ताल र बगैँचाहरूका बीचमा रहेका २०० भन्दा बढी आवास र पगोडाहरूको विशाल परिसर थियो– स्वर्गजस्तै। विजेताहरूले सबैथोक लुटे, साँच्चै सबैथोक: फर्निचर र पर्दाहरू, जेडका मूर्तिहरू, रेशमी पोसाकहरू, मोतीका हारहरू, सुनका घडीहरू, हीराका बाला... लुटपाट र आगलागीबाट जोगिएको भने केवल पुस्तकालय, एउटा दूरबिन र ७० वर्षअघि बेलायतका राजाले चीनलाई उपहार दिएको एउटा राइफल मात्र थियो।

त्यसपछि उनीहरूले लुटिएका भवनहरूमा आगो लगाए। कैयौँ दिन र रातसम्म आगोका ज्वालाले धर्ती र आकाशलाई राताम्मे पारे, र जे जति थियो त्यो सबै सखाप भएर शून्य भयो।

लुटी

शाही दरबार जलाउन आदेश दिने लर्ड एल्गिन आठ जना रातो पोसाक लगाएका भरियाले बोकेको पालकीमा चढेर र ४०० घोडसवारको सुरक्षा घेराबीच बेइजिङ पुगे। यही लर्ड एल्गिन, पार्थेननका मूर्तिहरू बेलायती संग्रहालयलाई बेच्ने लर्ड एल्गिनका छोरा थिए। उनले लुटपाट र आगलागीबाट जोगाइएको सम्पूर्ण दरबारको पुस्तकालय त्यही बेलायती संग्रहालयलाई दान गरे–त्यसै कारणले त्यो पुस्तकालय जोगाइएको थियो।

त्यसको केही समयपछि अर्को दरबार, बकिङ्घममा, महारानी भिक्टोरियालाई पराजित राजाको सुन र जेथडको राजदण्डका साथै युरोपको पहिलो पेकिनिज कुकुर उपहारस्वरूप प्रस्तुत गरियो। त्यो सानो कुकुर पनि युद्धको लुटको हिस्सा थियो। त्यसको नाम राखियो ‘लुटी’।

सभ्य राष्ट्रहरूको समुदाय’मा चीनलाई सामेल गराउने काम यति महँगो साबित भएकाले चीन आफ्नै जल्लादहरूलाई क्षतिपूर्तिस्वरूप ठूलो रकम तिर्न बाध्य भयो। त्यसपछि चीन छिट्टै अफिमको प्रमुख बजार र ल्यान्काशायरमा उत्पादित कपडाको सबैभन्दा ठूलो खरिदकर्ता बन्यो।

उन्नाइसौँ शताब्दीको सुरुआतमा चिनियाँ कारखानाहरूले संसारभर उत्पादन हुने सबै निर्मित वस्तुमध्ये एक-तिहाइ उत्पादन गर्थे। तर उन्नाइसौँ शताब्दीको अन्त्यसम्म आइपुग्दा त्यो हिस्सा ६ प्रतिशतमा झरिसकेको थियो।

त्यसपछि चीनमाथि जापानले आक्रमण गर्‍यो। विजय हासिल गर्न उसलाई धेरै कठिनाइ भएन। देशलाई लागुऔषधको नशामा डुबाइएको थियो, अपमानित गरिएको थियो र तहसनहस पारिएको थियो।

प्राकृतिक विपद्

पाइला र आवाजहरूविहीन सुनसान मरुभूमि, जहाँ हावाद्वारा उडाइएको धुलोबाहेक अरू केही थिएन।

धेरै चिनियाँहरू भोक मेटाउन अरूलाई मार्नु वा भोकले आफैँ मर्ने दिन कुर्नुभन्दा आफैँ झुन्डिएर आत्महत्या गर्छन्।

लन्डनमा अफिम युद्धमा विजयी भएका बेलायती व्यापारीहरूले  चाइना फेमिन रिलिफ फन्ड स्थापना गर्छन्।

यो परोपकारी संस्थाले विधर्मी राष्ट्रमा पेटको बाटो हुँदै धर्मप्रचार गर्ने वाचा गर्छ: जिससले पठाएको भोजन स्वर्गबाट वर्षिनेछ।

सन् १८७९ मा, लगातार तीन वर्षसम्म वर्षा नभएपछि, चीनको जनसंख्या डेढ करोडले घटिसकेको थियो।

श्रोत: Mirrors: Stories of Almost Everyone

 

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्