नीतिकथा

यो कथा सुन। तिमीहरू सबै शान्त होऊ र ध्यान दिएर सुन।

पशुपन्छीहरू श्रेष्ठताको उपाधिका लागि आपसमा बहस गरिरहेका छन्।

छलफलमा पहिलो वक्ताका रूपमा अघि सर्दै, आफ्ना दाह्री र आँखीभौंहरू टल्काउँदै, र आफ्नो सिउर अनि कत्लाहरू चम्काउँदै ड्रागनले भन्यो: म नै यी अन्नामी जाति*को आदि-पूर्वज हुँ, जसको कोखबाट धेरै प्रख्यात वीर-योद्धाहरूको जन्म भएको छ।

झीङ्गेमाछा: मित्र, तिमी पक्कै जिस्कँदै छौ। मेरो भाग्य अन्नामीहरूको भन्दा कयौँ गुणा राम्रो छ। मेरो शरीर हेर। यो त ईश्वरको इच्छाले बाङ्गिएको हो, जबकि तिम्रा सन्तानहरू भने कर र बेगारको भारीले आफ्नो ढाड बंग्याउन विवश छन्।

भेडा:  तिम्रा कुरा सुन्दा मलाई दुःख लाग्यो । सत्य त के हो भने, अन्नामीहरू खरायो र खरायोका छाउरा जस्तै हुन्। तिमीलाई थाहै छ, मेरो ऊन वर्षमा एकपटक मात्र काटिन्छ, तर यी अभागीहरूलाई भने फ्रान्सेलीहरूले हरेक ऋतुमा छाला काढ्ने गर्छन्

गोरु: अनि कुरा यत्तिमा मात्र टुङ्गिँदैन। म त अझ साहस गरेर भन्छु, अन्नामीहरूको अवस्था गाईवस्तुको भन्दा पनि बढी दयनीय छ। हाम्रो छाला चम्किलो छ, पेटभरि घाँस छ र ताडका पात आकारका करङहरू छन्; तर कम्तीमा हामी उनीहरूभन्दा बढी स्वतन्त्रता उपभोग गर्छौँ भनेर गर्व त गर्न सक्छौँ।

कटाक्षपूर्ण मुस्कानका साथ गँगटोले भन्यो: फ्रान्सेलीहरूका हरेक सनकसामु झुक्ने र विरोधको एउटा शब्द सम्म नबोली उनीहरूको सेवामा गरिब दासका रूपमा आत्मसमर्पण गर्ने यी अन्नामीहरूभन्दा त हामी स्पष्ट रूपमा श्रेष्ठ छौँ।

सर्प: मेरा दिदीबहिनीहरू, तिमीहरू व्यङ्ग्य गरिरहेका छौ। आऊ, उदात्त भावनाको मैदानमा कसले जित्छ हेरौँ! म जित्छु कि त बुद्धको जस्तो ओठ र सरीसृपको जस्तो मुटु बोकेका ती फ्रान्सेलीहरू जित्छन्, जसलाई अन्नामीहरूले आफ्नो देशमा स्वागत गरेर भित्र्याएका छन्?

हात्ती: अन्नामीहरूले अनजानमा गरेका गल्ती र त्रुटिहरूको प्रायश्चित अनन्तकालसम्म गरिरहनेछन्। आफ्ना पुर्खाका चिहानहरू कुल्चिन उनीहरूले नै हात्तीलाई आफ्नो देशमा हुले अनि आफ्नो देशमा शासन गर्ने अधिकार फ्रान्सेलीहरूलाई सुम्पिदिए।

इल माछा: अन्नामीहरूको बारेमा सोच्दा मलाई दुःख लाग्छ। महमा झिँगा लोभिएझैँ उनीहरू पैसाको प्रलोभनमा पर्छन्। यी दासहरूलाई आफ्ना लागि खोक्रा कुलीन उपाधि हासिल गर्न अपमानित र बेइज्जत हुनुपरे पनि केही फरक पर्दैन।

मुसा: मेरो जातिका जीवहरूलाई हेर, हाम्रा आफ्नै छाला (विशेषता र पहिचान) छन्। तर अन्नामीहरू अब आफ्नो देशको बारेमा सोच्दैनन्। धन-सम्पत्ति र वस्तुहरूको मोहमा अन्धो भएर उनीहरू आफ्नो जातिको विनाश र मातृभूमिको सर्वनाशलाई निष्फिक्री भई हेरिरहन्छन्।

भाले: म त कौसीको राजकुमार हुँ। म आफ्ना प्रजासँग मेलमिलापपूर्वक बस्छु र स्वादिलो तथा मिठो खानेकुराका लागि हामी कहिल्यै लड्दैनौँ, जसरी अन्नामीहरू केही पैसाका लागि लड्ने गर्छन्

माछा: पानी र म एक-आपसमा खुसी छौँ, र एक दिन यस्तो आउनेछ, जब म ड्रागनमा रूपान्तरित भएर परीहरूको दरबारमा उडेर पुग्नेछु।  तर अन्नामीहरूको कुरा गर्ने हो भने, उनीहरू विद्रोह गर्ने हिम्मतै नगरी हात जोडेर घुँडा टेक्दै आफ्नो सम्पूर्ण जीवन दासतामै बिताउँछन्।

भ्यागुतो: साथीहरू, सबै कुराको विचार गर्दा, हामी वास्तवमै अन्नामीहरूप्रति दया गर्छौँ भने, आउ, उनीहरूलाई सहायता गरौँ।  हामी तुच्छ भ्यागुताहरू आफ्ना ट्वार्र ट्वार्र आवाज र गनगनले आकाशलाई सम्म पगाल्न सफल हुन्छौँ, तर आकाश भने बिना कुनै कारण उनीहरूको प्रार्थनाप्रति बहिरा बनेर उनीहरूको अस्तित्व सदाका लागि मेटिन दिन्छ? उनीहरूले आफ्ना हृदय र शक्तिहरूलाई एकजुट बनाए, उनीहरू देशभित्र र बाहिर एकजुट भए भए भने, फ्रान्सेलीहरू विचलित हुनेछन्, डराउनेछन् र उनीहरूलाई उनीहरूको स्वतन्त्रताको अधिकार फिर्ता दिन बाध्य हुनेछन्।

हे अन्नामीहरू, सधैँ सम्झिराख कि एकता नै बल हो!

सन् १९२५

(अनुवाद: फरेन ल्याङ्ग्वेजेज प्रेस, पेरिस, २०२१)

अन्नामी जाति (Annamite race) भन्नाले मुख्यतया दक्षिणपूर्वी एसियामा, विशेष गरी भियतनाम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको ऐतिहासिक र मानवशास्त्रीय (anthropological) वर्गीकरणलाई जनाउँछ ।

 

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्