वाद, विचारधारा र पथबारे
सामान्यतः सार्वभौम विचारशृङ्खलालाई वाद र विशिष्ट विचारशृङ्खलालाई विचारधारा भन्ने गरिन्छ। जसलाई, अर्थात् वादलाई अंग्रेजीमा इजम (Ism) र विचारधारालाई थट (Thought) भन्दछन्। राजनीतिक विचारशृङ्खलाको अर्थमा यहाँ वस्तुतः चिन्तनधारा भनेर बुझिन्छ। त्यसर्थमा अर्थराजनीतिको खास तात्पर्य Idiology नभएर Thought हुने गर्छ। वास्तवमा Idea को नेपाली अर्थ उपाय तथा Idiology को अर्थ उपायशास्त्रसम्म होला न कि विचारशृङ्खला। अत: विचारशृङ्खलाको नेपाली अर्थ चिन्तनधारा (Thought) नै हुन आउँछ। यद्यपि अग्रजहरुले बोली र व्यवहारमा चिन्तनधाराको ठाउँमा विचारधारा पदावली प्रयोग गरिआएका हुँदा विचारधारा पदावलीलाई चिन्तनधाराको पर्याय मान्नुपर्ने हुन्छ।
जीवनमा वाद र विचारधारा मानिसको विश्वदृष्टिकोण अभिव्यक्त गर्ने सैद्धान्तिक आधार हुन्। जसलाई, अर्थात् मानिसको विश्वदृष्टिकोण (Out look) लाई दर्शन (Philoshophy) भनिन्छ। दर्शनशास्त्रको प्रयोगक्षेत्र प्रकृति, समाज र मानवीय चिन्तनवारे अध्ययन, अण्वेशण र संश्लेषण कार्य हो। जसले, जीवन र जगत अथवा वस्तु र घटनालाई हेर्ने, बुझ्ने र बदल्ने कायदा उपलब्ध गराउँछ।
दर्शनवारे केही कुरा
दर्शन वैज्ञानिक र अवैज्ञानिक दुई प्रकारका हुन्छन्। अवैज्ञानिक दर्शन अन्तर्गत लोक बाहिरको अलौकिक सत्ता मान्ने अद्यात्मवाद तथा चेतना प्राथमिक मान्ने आदर्शवाद/ प्रत्ययवाद पर्दछन्। वैज्ञानिक दर्शन अन्तर्गत पदार्थ प्राथमिक मान्ने भौतिकवादी द्वन्दवाद पर्दछ।
पदार्थ र चेतना सम्बन्धमा सुरुमा ब्रम्हाण्ड, आकाशगंगा र सौरपरिवार हुँदै पृथ्वी, आगो, हावा र पानी उत्पति भएका हुन्, जुन सर्वथा पदार्थ हुन्। तिनै पदार्थहरुको संयोजित विकास प्रक्रियाद्वारा वनस्पति र जीवको उत्पति भएको हो। जीवहरुमध्ये मानिस एक हो। दर्शनको भाषामा मानिस पनि वस्तु अथवा पदार्थ नै हो। अत: पदार्थ प्राथमिक र चेतना द्वितियकको भौतिकवादी बुझाई नै विज्ञानसंगत ठहर्छ।
जस्तो कि महिलाको डिम्ब र पुरुषको शुक्राणु संयोजनबाट गर्भाधान हुन्छ। ती डिम्ब र शुक्राणु पदार्थ हुन् न कि चेतना। जब सजातीय पदार्थ डिम्ब र शुक्राणु संयोजनबाट गर्भाधान हुन्छ, भ्रूण बन्छ। त्यस भ्रूणमा जीवको प्राकृतिक ऊर्जा विकसित हुन्छ। जब शिशु जन्मन्छ, क्रमश: उसले प्राकृतिक, पारिवारिक हुँदै सामाजिक चेतना हासिल गर्छ। अत: मानिसको नानी निर्माण, जन्म र हुर्काइ प्रक्रिया सम्बन्धले पदार्थ प्राथमिकता स्पष्ट पार्छ।
यहाँनिर प्रष्टता के जरुरी छ भने प्राथमिक र द्वितियक मूल्यलाई प्रधान र गौणको अथवा प्रधान र सहायकको अर्थमा बुझ्नु हुँदैन। किनभने, प्राथमिक र द्वितियकले कुन पहिलो र कुन दोस्रो अथवा कुन व्यापक र कुन सीमित भन्ने जनाउँछ, तर प्रधान र गौणले कुन मुख्य र कुन सहायक, अझ गौण भन्नाले त नभए पनि हुने अर्थ दिन्छ।
परन्तु, भौतिकवादले पदार्थ प्राथमिक भन्नुको तात्पर्य पदार्थ यसकारण पहिलो कि यो अनादि र अनन्त एवं सर्वव्यापक छ, भनिएको हो। र, चेतना द्वितियक भन्नुको अर्थ चेतना दोस्रो, जसको आदि र अन्त छ, सीमित र नाशवान छ, भनिएको हो। जसको अर्थ पदार्थ प्रधान र चेतना सहायक अर्थात् गौण किमार्थ हुँदैन।
अत: ब्रम्हाण्डको पृथ्वी जगतमा जीवनको अस्तित्वयताका सन्दर्भमा, जोसेफ स्टालिनद्वारा पदार्थ र चेतना आपसवीच पूरक हुन्, भन्ने निरुपण नै वैज्ञानिक संश्लेषण ठहर्छ। भौतिकवादीहरु यसरी तथ्यको आधारमा सत्य अण्वेषण गर्ने विश्वदृष्टिकोणको पक्षधरता लिन्छन्।
वाद र विचारधारा निर्माण परम्परा
मानिसको चिन्तनद्वारा निर्मित वाद त्यो हो, जसले मुख्यतः दर्शन, राजनीतिक अर्थशास्त्र र सत्तावारे सार्वभौम विचारशृङ्खला अभिव्यक्त गरेको वा गर्ने होस् र विचारधारा त्यो हो, जसले निश्चित विशिष्टताको विचारशृङ्खला अभिव्यक्त गरेको वा गर्ने होस्।
उदाहरणका लागि मार्क्सवाद- लेनिनवादको तेस्रो आयाम माओको विचारशृङ्खलालाई सार्वभौम मान्नेहरुले माओवाद भन्ने गर्दछन्, तर माओ परिभाषित तेस्रो विश्वमा प्रयोग भएको वा हुने विशिष्ट विचारशृङ्खला मान्नेहरुले माओ विचारधारा भन्ने गर्दछन्। उत्तरकोरियास्थित जुछे विचारधारालाई पनि त्यहाँको विशिष्टताकै स्तरमा बुझ्ने गरिन्छ। यद्यपि आत्मनिर्भर राष्ट्रिय अर्थराजनीतिको विचार साम्राज्यवाद विरुद्ध सार्वभौम छ। परन्तु, पुँजीवादको साम्राज्यवादमा पतनको लेनिन शृङ्खलामा जुछे विचारधारालाई लेनिनवादकै पूरकका रुपमा बुझ्नु पर्दछ।
फेरि पनि, राजकीय चिन्तनधारा बन्नलाई विशिष्ट स्तरकै भए पनि त्यसले समाजविज्ञानको तीन संघटक अंग- दर्शन, राजनीतिक अर्थशास्त्र र सत्तावारे मौलिक योगदान गरेको हुनु पर्दछ। मुख्यतः मार्क्सवादको विकासमा माओ त्सेतुङ र विशेषतः कोरियाली प्रयोगमा किम ईल सुङले आफ्नो विशिष्टतामा त्यसरी मौलिक योगदान गरेका छन्।
जहाँसम्म "पथ" को कुरा छ, चिन्तनधाराको तीनवटै संघटक अंगमा नभएर कुनै एक वा दुई अंगमा मौलिक योगदान सुरु गरेको रहेछ भने त्यस्तो विचारशृङ्खलालाई पथ भन्ने गर्दछन्। त्यसको अर्थात् पथको तीनवटै संघटक अंगमा विकास हुन सक्दा विशिष्टस्तरको रहेछ भने विचारधारा तथा सार्वभौमस्तरको रहेछ भने त्यसले वादको हैसियत ग्रहण गर्ने स्वत: स्पष्ट छ।
प्रयोग परम्परा
उपरोक्त वाद, विचारधारा वा पथको सामाजिक जीवनमा प्रयोग परम्परा विचारकको दृष्टिकोण संश्लेषणबाट निसृत हुने गरेका छन्। सुरुमा एक व्यक्ति विचारक अथवा चिन्तकको विचार अथवा चिन्तन अरुमाथि लागू गर्दै र अरुतिर विस्तार हुँदै जान सक्छ। कतिपय विचार ग्राह्य हुन्छन् त कतिपय अग्राह्य, कतिपय विचार न्यायपूर्ण हुन्छन् त कतिपय अन्यायपूर्ण। एउटा पक्षलाई न्यायपूर्ण लागेको विचार अर्को पक्षलाई अन्यायपूर्ण लाग्न वा ठहर्न सक्छ। जे होस्, विचारले क्रमश: समुह हुँदै संगठित शक्तिको रुप लिने गर्छ।
त्यस्तो संगठित शक्तिले आफ्नो विचार अरुमाथि लागू गर्ने उद्योगकै कारण युद्धहरु भड्किने गर्दछन्। अत: न्यायपूर्ण वा अन्यायपूर्ण हुन सक्दछन्, तर भयानक युद्धहरुको स्रोत विचार/ दृष्टिकोण हुने गर्दछ। विचार/ दृष्टिकोण त्यो शक्ति हो, जसले मानिसलाई र उसको संगठनलाई एकाग्र तुल्याउँछ र तुल्याइनु पनि पर्छ। किनभने, मानिस उसको निश्चित विचार/ दृष्टिकोणद्वारा निर्देशित हुन्छ र हुनु पनि पर्छ।
भूमण्डलीकरण प्रेरित नेपाली समाजमा अनेक वाद र विचारहरु रहँदै आएका छन्। जसले मानिसको हेर्ने दृष्टिकोण, बुझ्ने धारणा र व्यवहार गर्ने तरिका निर्माण गरेका हुन्छन्। त्यसमध्ये उदाहरणका रुपमा केहीको चर्चा गरौं।
व्यक्तिवाद: जसले आफु बाहेक अरु कसैलाई देख्दैन। किनभने, त्यसले आफुलाई प्रधान र अरुलाई गौण ठान्छ। त्यो आत्मकेन्द्रित (आफू केन्द्रित) हुन्छ, त्यसले वस्तु जगतको ख्याल राख्दैन। त्यसैले व्यक्तिवादी मानिस उठ्न नसक्नेगरी खाल्डोमा जाकिन्छ।
स्थानीयतावाद: जसले आफ्नो स्थानीयतालाई मात्र देख्छ। तर, दुनियाँ त्यस विपरीत हुन्छ र स्थानीयतावादी मानिस दुनियाँ समाजबाट एक्लिन्छ। क्षेत्रीयतावाद पनि स्थानीयतावादकै निरन्तरता हो। परन्तु, कुनै स्थान वा क्षेत्र पिछडिएको वा पछि पारिने वा अन्यायमा पर्ने समस्या छ भने त्यो स्थान वा क्षेत्रको न्यायका लागि संघर्ष जायज ठहर्छ।
अन्धजातिवाद: जसले आफ्नो जातजातिलाई मात्र प्रधान तथा अरुलाई गौण माने अनावश्यक देख्दछ, अरु जातजातिमाथि राजनीतिक, आर्थिक, साँस्कृतिक भेदभाव गर्दछ। परिणामस्वरुप अन्ध- जातवादी मानिसले समग्र न्यायको नेतृत्व दिन सक्दैन। परन्तु, उत्पीडन विरुद्धको जातजातीय मुक्ति आन्दोलन भने प्रगतिशील ठहर्छ।
पुरुषसत्तावाद: जसले पुरुषलाई पहिलो र महिलालाई दोस्रो दर्जाको देख्दछ। वास्तविकता त्यस विपरीत हुनाले पुरुषसत्तावादी दृष्टिकोण घोर अन्यायपूर्ण ठहर्छ।
संविधानवाद: जसले संविधान बमोजिम व्यवहारको दृष्टिकोण राख्दछ। परन्तु, संविधान भनेको समाज सापेक्ष गतिशील दस्तावेज हो, भन्ने यथार्थ स्वीकार नगर्नू संविधानवादमा निहित यथास्थितिवादी समस्या हुन्छ।
समाजवाद: समाजवादका मान्यतागत प्रकारहरु विभिन्न छन्। त्यसमध्ये वैज्ञानिक समाजवादले श्रमिकवर्ग, लिङग र जातजातिको पक्षमा यावत अन्तर्विरोधहरुको हल गर्दछ। र, बाह्य साम्राज्यवाद विरोधी हुनाले त्यसले देशभक्तिपूर्ण अडान राख्दछ। फेरि पनि नेपालमा समाजवादका लागि मुख्यतः नेपाल पढ्ने सिद्धान्त अख्तियार गर्नु पर्ने हुन्छ।
नामाकरण परिपाटी
वाद र विचारधाराको नामाकरण दुई प्रकारले गर्ने गरिएको छ। त्यसमा पहिलो, कुनै पनि वैज्ञानिक खोज अनुसन्धानकर्ता टोली नेताको नामबाट (उपलब्ध) नयाँ विचारको नामाकरण परिपाटी छ। सो अनुरुप भौतिकवादी दर्शन, पुँजीवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको एकीकृत खोज मार्क्सवादको खोजकर्ता कार्ल मार्क्सको जातिनामबाट मार्क्सवाद, त्यसको दोस्रो आयाममा विकास तथा प्रयोगकर्ता लेनिनको नामबाट लेनिनवाद तथा जनयुद्धकालीन नेपालमा पार्टी प्रमुख क. प्रचण्डको नामबाट मालेमा र प्रचण्डपथ नामाकरण आदि।
दोस्रो, जुछे विचारधारा, गोन्जालो विचारधारा तथा चार्बाक दर्शन। जुन खोजकर्ता व्यक्तिको सट्टा अरु नै नामबाट नामाकरण गरिएका छन्।
अन्त्यमा, नेपाली राजनीतिमा कतिपयले नितान्त हचुवा तरिकाले वाद वा विचारधाराको जसरी प्रयोग गर्दैछन्, तिनीहरुको वाद-चरित्र व्यक्तिवाद, कठमुल्लावाद, टप्परटुइँयावाद अनि भँडुवा विकासवाद प्रतीत् हुन्छ। त्यसबाट जिम्मेवार समाजको रक्षा जिम्मेवार नेपाली नागरिकको कर्तव्य बनेको छ। यही कर्तव्य पालनाका दौरान प्रस्तुत आलेख तयार गरिएको हो, भनी लेखक निवेदन गर्दछ।
(लेखक पूर्वमन्त्री गोपाल किराती नेपाली कम्युनिस्ट पार्टी, केन्द्रीय कार्य संयोजन समितिका सदस्य हुन्।)
इरानलाई आणविक हतियार निर्माणको संघारतर्फ धकेलिँदैछ
पुष्पलालका रचनाहरू : नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक जग र क्रान्तिकारी दि…
सुमित सरकार : भारतका अनेक इतिहासका इतिहासकार
ल्याटिन अमेरिकाको ‘एङ्ग्री टाइड’को कुरूपता
अक्टोबर ७ बाट इजरायलको नरसंहार, विस्थापन र कब्जा शुरु भएको होइन
नक्सलबारीपछि: साठी वर्षको सशस्त्र संघर्षको वास्तविक विरासत के रह्यो?
फिडेल क्यास्ट्रो १०० वर्षमा: इतिहासले उनलाई निर्दोष सावित गरिसकेको छ!
प्रतिक्रिया