भोटेकोशी बाढीले निम्त्याएको महाविपत्ति
तस्विर: सामाजिक सञ्जाल
भदौ १० गते बिहान ९ बजेको आसपास भोटेकोशीमा आएको अप्रत्याशित बाढीले नेपालमा महाविनाशको ताण्डव मच्चाएको छ । त्यसले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रहरुमा भयानक भौतिक तथा मानवीय क्षति गरेको छ । गत साल पनि भोटेकोशीमै आएको बाढीले यस्तै विनाश गरेको थियो । तर यसपालिको महाविनाश पोहोरको तुलनामा निक्कै भयानक रहेको छ ।
जलवायु परिवर्तनले यतिखेर संसारभरि नै मौसमको प्याटर्नमा ठूलो उथलपुथल ल्याएको छ । वर्षा, वाढी पहिरोको परम्परागत तौरतरिकामा निक्कै ठूलो परिवर्तन आएको छ । दु:खको कुरा के छ भने त्यसलाई सामना गर्ने सवालमा हाम्रो सोच र तौरतरिकाहरु भने पुरानै ढर्राको रहँदै आएको छ ।
गतसाल भोटेकोशीमा आएको बाढीलाई भविष्यमा आउन सक्ने भयानक महाविपत्तिको पूर्वचेतावनीको रुपमा लिइनु जरुरी थियो । तर त्यो कुरामा ठूलो चुक भएको छ । त्यसैको परिणति अहिले भोटेकोशीमा अचानक आएको बाढीले विनाशको ताण्डव मच्चायो । अघिल्लो घटनाबाट पाठ सिकिएको भए र त्यसअनुसार पूर्वतयारीको कामहरु गरिएको भए सम्भवत: बाढीले यति भयानक क्षति गर्न सम्भव थिएन ।
भोटेकोशीमा अचानक आएको बाढीको ठोस कारण अहिलेसम्म खुलिसकेको छैन । तर यो बाढी सामान्य वा निरन्तरको वर्षाका कारण मात्र नभई निकै आकस्मिक रूपमा आएकोले हिमताल विस्फोटन (Glacial Lake Outburst Flood - GLOF) को आशङ्का गरिएको छ । भोटेकोशी नदीको उद्गमस्थल चीनतर्फको तिब्बत क्षेत्रमा कुनै हिमताल अचानक फुट्दा (हिमताल विस्फोटन हुँदा) यस्तो अस्वाभाविक र विशाल बाढी आएको बलियो आशङ्का छ।
खासगरी तिब्बत क्षेत्रमा भएको भारी वर्षा वा मौसमजन्य फेरबदलका कारण अचानक हिमपात पग्लिने क्रम तीव्र हुँदा पनि नदीमा पानीको बहाव एकैचोटि बढेर ठूलो ताण्डव मच्चिन पुगेको हुन सक्छ।
अघिल्लो वर्ष (सन् २०२५ को जुलाई महिनामा) पनि भोटेकोशी नदीमा यसैगरी अचानक भीषण बाढी आएको थियो। त्यसबेला जल तथा मौसम विज्ञान विभाग र इसिमोड (ICIMOD) को अध्ययनले चीनको तिब्बततर्फ पर्ने उपल्लो तटीय क्षेत्रमा हिमताल विस्फोटन (सुप्राग्लासीय ताल फुटेको - Supraglacial Lake Outburst) नै मुख्य कारण रहेको पुष्टि गरेको थियो।
जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा पग्लिरहेका हिमनदीहरूको सतहमा बन्ने यस्ता साना तथा अस्थायी तालहरू अत्यधिक तापक्रम वा पानीको दबाबले अचानक फुट्दा बिनाकुनै पूर्वचेतावनी ठूलो बाढी आउने गरेको वैज्ञानिकहरूको निष्कर्ष छ। अघिल्लो वर्षको सोही बाढीका कारण रसुवागढी नाका क्षेत्रमा निर्माणाधीन सुख्खा बन्दरगाह, कन्टेनरहरू र सीमावर्ती भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो।
यस वर्ष पनि ठीक त्यस्तै प्रकृतिको आकस्मिक बाढी दोहोरिन पुगेको छ । यसले हिमालयी क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको यस्ता विपद्को जोखिम र भयानकतालाई गम्भीर रुपमा लिनुपर्ने देखिन्छ ।
एउटा कुरा के पक्का हो भने जलवायु परिवर्तनलाई हामीले रोक्न सक्दैनौ । हामीले गर्न सक्ने भनेको पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाएर त्यसको क्षतिलाई कम गर्ने तथा त्यसअनुकूल आफूलाई बाँच्न सिकाउने हो । त्यसका लागि तत्कालै गर्नुपर्ने काम भनेको बाढीको स्रोत चीनतर्फको तिब्बत क्षेत्रमा हुने भएकाले सीमापार जलविज्ञान (Transboundary Hydrology) र मौसमको रियल-टाइम डेटा आदानप्रदान गर्ने भरपर्दो संयन्त्रको निर्माण हो । अघिल्लो वर्ष नै यसबारे द्विपक्षीय उच्च तहमा कुराकानी भए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन दुवै देशका तर्फबाट ढिलासुस्ती भयो। फलत: यस पटकको महाविनाशलाई कम गर्ने दिशामा बेलैमा केही गर्न सकिएन ।
जलवायु परिवर्तनका असरका कारण भौतिक पूर्वाधारका परम्परागत सोच र मान्यताहरुमाथि पुनर्विचार गर्नु जरुरी भइसकेको छ । खासगरी नदी किनारका जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा वा भन्सार तथा सुख्खा बन्दरगाहजस्ता संरचना तयार पार्दा जलवायुजन्य जोखिम (Climate Resilience) लाई पूर्ण रूपमा बेवास्ता गरिँदै आएको छ। 'रिभर्स ट्रेन्च' वा तटबन्धलगायतका स्थायी प्रतिरक्षात्मक संरचना बनाउने कार्यलाई गम्भीरतापूर्वक लिन सकिएको छैन । फलत: यस्ता अप्रत्याशित रुपमा आइलाग्ने बाढीले गर्ने क्षतिको घनत्व निक्कै बेसी हुने गरेको छ ।
सीमावर्ती नदीहरूको भौगोलिक बनावटका कारण नेपालले आफ्नो भूभागबाट मात्र चाहेर पनि माथिल्लो तटीय क्षेत्रमा संरचनात्मक सुरक्षाका काम गर्न सक्दैन। यसका लागि चिनियाँ पक्षसँग बलियो कूटनीतिक पहल र संयुक्त अध्ययन जरुरी छ । यस दिशामा जसमा नेपालको कूटनीतिक संयन्त्रले पर्याप्त तत्परता देखाउनु अपरिहार्य भइसकेको छ ।
अहिलेको हाम्रो दु:खान्त भनेको विपद् व्यवस्थापनमा 'प्रि-एम्प्टिभ' (पूर्वसक्रिय) सोचको अभाव देखिन्छ । नेपालमा विपद् आएपछि उद्धार र राहत बाँड्ने प्रवृत्ति हाबी छ, तर विपद् आउनै नदिने वा त्यसको प्रभाव न्यूनीकरण गर्ने प्रतिरक्षात्मक नीति (Proactive Disaster Risk Reduction) बनाउने दिशामा गम्भीर पहल हुन सकेको देखिन्न । वास्तवमा, भोटेकोशीमा आएको अघिल्लो वर्षकै बाढी एउटा 'वेक-अप कल' (चेतावनी) थियो, तर त्यसलाई गम्भीर रुपमा नलिइँदा मुलुकले आज फेरि अझ ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको छ। यसले विपद रोकथाम र पूर्वाधार व्यवस्थापनको सवालमा नीति निर्माता र राज्यका निकायहरूको गम्भीर उदासीनतना र लापर्वाहीलाई उदाङ्गो बनाएको छ।
तिब्बती सम्मेलन स्थगितको अस्पष्ट कारण र नेपालको कूटनीतिक बाध्यता
सुनसरीको साम्प्रदायिक तनावले उठाएको प्रश्न र भूराजनीतिक चुनौती
बढ्दो वेर्टर प्रभावको सङ्क्रमण
नौ बुँदे कागज र मिटरब्याजको अर्थ-राजनीति
सालिकमाथिको प्रहार कि स्मृतिमाथिको वर्गीय युद्ध?
त्रिपुरेश्वरको सडकमा जलेको ‘आशा’ र हाम्रो राज्यको ‘कायरता’
वाम एकताको अपरिहार्यता र अनिवार्य सर्तहरु
प्रतिक्रिया