वाम एकताको अपरिहार्यता र अनिवार्य सर्तहरु

एआइ निर्मित तस्विर ।

मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा  आयोजित कार्यक्रममा एउटै मञ्चमा केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल देखिएपछि धेरै वामपन्थी कार्यकर्तामा उत्साह जागेको छ। सामाजिक सञ्जालमा फेरि वाम एकताको बहस सुरु भएको छ। कतिपयले यसलाई २०७४ सालको जस्तै नयाँ राजनीतिक यात्राको संकेतका रूपमा समेत व्याख्या गरिरहेका छन्।

वामपन्थी आन्दोलनलाई माया गर्ने जोकोहीका लागि यो स्वाभाविक भावनात्मक प्रतिक्रिया हुन सक्छ। तर, भावना र राजनीतिक यथार्थ एउटै कुरा होइनन्। अहिलेको अवस्थामा सबैभन्दा ठूलो प्रश्न "वाम एकता हुन्छ कि हुँदैन?" भन्ने होइन। बरु प्रश्नहरु हुन् - कस्तो वाम एकता? कसका लागि वाम एकता? र, कसको नेतृत्वमा वाम एकता?

नेपालमा वामपन्थी आन्दोलन इतिहासदेखि नै बलियो सामाजिक आधार भएको आन्दोलन हो। २०६४ सालको संविधानसभा निर्वाचनमा वामपन्थी दलहरूले संयुक्त रूपमा करिब ५० प्रतिशत मत प्राप्त गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि त्यो मत झन्डै ४८ प्रतिशत थियो। संसदमा उनीहरूको उपस्थिति दुईतिहाइ नजिक पुग्यो। २०७९ सालको निर्वाचनमा पनि वामपन्थी दलहरूको मत हिस्सा करिब ४१.५ प्रतिशत कै हाराहारीमा थियो। पछिल्लो २०८२ को  निर्वाचनमा भने बामपन्थीहरुलाई जम्मा २१.५ प्रतिशत मात्र मत प्राप्त भएको छ। यसको अर्थ नेपाल वैचारिक रूपमा वामपन्थका लागि उर्वर भूमि थियो। अहिले निकै कमजोर अवस्थमा भएपनी फेरी ब्युँतने सम्भावना अझै पनि छ।

तर, यति बलियो जनाधार भएको आन्दोलन आज किन रक्षात्मक अवस्थामा पुगेको छ? यसको उत्तर बाहिर होइन, वाम आन्दोलनकै नेतृत्वभित्र खोज्नुपर्छ।

पछिल्ला डेढ दशकमा वामपन्थी दलहरू नामले कम्युनिस्ट रहे, व्यवहारले होइन। वर्गीय राजनीति कमजोर बनाइयो, अवसरवाद संस्थागत गरियो, सिद्धान्तलाई सत्ता समीकरणको भर्‍याङ बनाइयो। पार्टीहरू विचारले होइन, व्यक्तिले चल्न थाले। आन्तरिक लोकतन्त्रको ठाउँमा गुटबन्दी आयो। आलोचनालाई आत्मसमीक्षाको अवसर होइन, दुश्मनीका रूपमा हेरियो। समाजवादको बहस गर्ने नेताहरू आफैं राज्यसत्ताको विशेषाधिकारमा रमाउन थाले।

सबैभन्दा ठूलो विडम्बना के रह्यो भने कम्युनिस्ट पार्टीभित्र नै कम्युनिस्ट संस्कृति हराउँदै गयो। जनताको नाममा राजनीति गरियो, तर जनताबाट दूरी बढ्दै गयो। श्रमिक, किसान, विद्यार्थी र निम्नवर्गसँगको सम्बन्ध क्रमशः कमजोर बन्यो। पार्टीहरू आन्दोलनका विद्यालय हुन छाडेर चुनावी मेसिन बन्न पुगे। कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने परम्परा हरायो। त्यसको सट्टा टिकट, पद, मन्त्रालय र शक्ति बाँडफाँट नै राजनीतिको केन्द्र बन्यो।

यही कारणले आज जनताले विकल्प खोजे। बामपन्थीहरु प्रतिको विश्वास, भरोसा र आत्मियता आम जनमानसमा कमजोर बन्यो। आफ्नो आस्थाको धरोहर मान्दै आएको पार्टी र नेताप्रतिको बितृष्णा अकल्पनीय रुपमा बढ्यो ।

यसैले अहिले चुनाव हारेपछि मात्रै फेरि "वाम एकता" को नारा उठाउनु पर्याप्त छैन। यदि यो केवल चुनावमा हरिएको पीडा बिर्साउने उपाय हो भने त्यसले आन्दोलनलाई बचाउँदैन। यदि यो विगतका निर्णय, अनियमितता वा विवादबाट आफूलाई जोगाउने राजनीतिक सुरक्षा कवच बनाउने प्रयास हो भने त्यो झन् घातक हुनेछ।

वाम एकताको आधार डर होइन, दर्शन हुनुपर्छ। एकताको आधार सत्ता होइन, कार्यक्रम हुनुपर्छ। एकताको आधार नेताको सुविधा होइन, जनताको आवश्यकता हुनुपर्छ।

२०७४ सालको एकता किन टिकेन भन्ने प्रश्नको इमानदार उत्तर नदिई फेरि अर्को एकताको नारा लगाउनु इतिहास दोहोर्‍याउनु मात्र हुनेछ। त्यो बेला जनताले दुईतिहाइ नजिकको जनादेश दिएका थिए। तर त्यो जनादेश समाजवाद निर्माणको दिशामा प्रयोग भएन। बरु सत्ता संघर्ष, अहंकार, अविश्वास र व्यक्तिकेन्द्रित राजनीतिले त्यो अवसर समाप्त गरिदियो। त्यसको मूल्य अहिले सम्पूर्ण वाम आन्दोलनले चुकाइरहेको छ।

आज फेरि चार नेताहरू एउटै मञ्चमा उभिनु सकारात्मक संकेत हो । हो, संवाद हुनुपर्छ। सहकार्य पनि हुनुपर्छ। राष्ट्रिय मुद्दामा साझा धारणा पनी बन्नुपर्छ। तर, त्यसलाई तत्काल पार्टी एकताको उद्घोष मान्नु हतार हुनेछ।

किनभने समस्या संगठनको संरचनामा भन्दा नेतृत्वको राजनीतिक संस्कृतिमा छ। जबसम्म पुरानो शैली बदलिँदैन, नयाँ एकताले पनि पुरानै परिणाम दिन्छ।

नेपालमा फेरि बलियो वाम आन्दोलन निर्माण गर्ने हो भने सबैभन्दा ठूलो त्याग अहिलेका शीर्ष नेताहरूले गर्नुपर्छ। यो कुरा धेरैलाई कठोर लाग्न सक्छ, तर आन्दोलनको भविष्यका लागि आवश्यक छ। नयाँ पुस्तालाई ठाउँ नदिई पुरानै अनुहारले फेरि आन्दोलनको नेतृत्व गर्ने हो भने जनताले त्यसलाई नयाँ सुरुआतका रूपमा स्वीकार गर्ने सम्भावना अत्यन्त न्यून छ।

इतिहासमा कुनै पनि आन्दोलन व्यक्तिभन्दा ठूलो हुन्छ। नेता आउँछन्, जान्छन्। तर, विचार बाँच्छ। यदि विचार बचाउने हो भने नेतृत्व परिवर्तन अपरिहार्य हुन्छ। आजको पुस्ताले पुराना नेताहरूप्रति सम्मान राख्न सक्छ तर उनीहरूलाई काँधमा बोकेर आफ्नो भविष्यको जिम्मा लगाउन  सक्दैन।

त्यसैले, अहिलेका शीर्ष नेताहरू आन्दोलनप्रति साँच्चै इमानदार हुने हो भने सबैभन्दा ठूलो योगदान फेरि अध्यक्ष बन्ने लालसा देखाएर होइन, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर गर्नुपर्ने हुन्छ। उनीहरू अभिभावकको भूमिकामा बस्न सक्छन्, मार्गदर्शक बन्न सक्छन्, तर आन्दोलनको अग्रपंक्तिमा उही अनुहार देखिने अवस्थाको अन्त्य नयाँ ढगले नेपालमा बामपन्थी आन्दोलन फेरी माथी उठाउने पहिलो सर्त हुनुपर्छ।

फेरिपनि सबैले के हेक्का राख्नु जरुरि हुन्छ भने  नेपालमा वाम आन्दोलन समाप्त भएको छैन। यसको सामाजिक आधार अझै बलियो नै छ। तर, त्यो आधारलाई पुनः विश्वासमा बदल्न नाराले पुग्दैन। त्यसका लागि आत्मसमीक्षा, वैचारिक पुनर्निर्माण, संगठनात्मक सुधार, नैतिक राजनीतिक संस्कृतिको पुनर्स्थापना र नेतृत्वमा पुस्तान्तरण आवश्यक छ।

यदि वाम एकताको अर्थ केवल चुनाव जित्ने गणित हो भने त्यसको आयु फेरि छोटै हुनेछ। तर, यदि वाम एकताको अर्थ उत्पीडित वर्गको मुक्ति, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, उत्पादनमुखी अर्थतन्त्र र जनउत्तरदायी राज्य निर्माणको साझा अभियान हो भने त्यस्तो एकताको आवश्यकता आज पनि छ, भोलि पनि रहनेछ।

तर, यो यात्राको पहिलो पाइला विचारको नवीकरण र नेतृत्वको पुस्तान्तरण हुनुपर्छ । उही अनुहार, उही शैली र उही राजनीतिक संस्कृतिबाट वाम आन्दोलनको पुनर्जागरण सम्भव छैन ।