क्युबाको इन्धन आपूर्तिमा अवरोधपछि अब खाद्यान्न आपूर्तिमाथि निशाना साध्दै अमेरिका

ट्रम्प प्रशासनले क्युबाको तेल पहुँचमा पहिले नै प्रतिबन्ध लगाइसकेको छ। अब यसले अमेरिकी कर्पोरेसनहरूबाट सामान नकिनेसम्म क्युबाली जनताको खाद्यान्न उत्पादन, प्रशोधन र आयात गर्ने क्षमतालाई लक्षित गर्दै उनीहरूलाई भोकमरीमा धकेल्ने प्रयास गरिरहेको छ।

क्युबाको आफ्नै खाद्यान्न उब्जाउने, प्रशोधन गर्ने र उपभोग गर्ने अधिकार अहिले घेराबन्दीमा छ।

जुलाई महिनामा, अमेरिकी विदेश मन्त्रालयले क्युबाविरुद्ध व्यापक आर्थिक प्रतिबन्धको घोषणा गर्‍यो। ऐतिहासिक रूपमा छुट पाउँदै आएका उद्योगहरूलाई समेत यस पटक लक्षित गरिएको छ। क्युबाको सरकारी आयातकर्ता (GECOMEX) र पोर्ट अपरेटर (GEMAR) लाई नियन्त्रण गर्दै तेस्रो मुलुकहरूबाट कृषिजन्य वस्तु तथा खाद्य प्रशोधन उपकरण खरिद गर्ने क्युबाली सरकारको क्षमतालाई सीमित पारिएको छ।

जुलाईको सुरुमा भ्रमण गरेको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले त्यहाँको परिस्थितिलाई ‘मौन गाजा’ (Silent Gaza) को संज्ञा दिएको थियो।

यो कदम क्युबाविरुद्ध अमेरिकाले महिनाौँदेखि लगाएको तेल नाकाबन्दीको पृष्ठभूमिमा भइरहेको छ, जसले आधारभूत सरसफाइ र खाद्य सुरक्षामा बाधा पुर्‍याएर आम जनताको जीवन कष्टकर बनाएको छ भने क्युबाली अस्पतालहरूमा कैयौँ बिरामीको ज्यान लिइसकेको छ। जुलाईको सुरुमा भ्रमण गरेको अमेरिकी संसदीय प्रतिनिधिमण्डलले त्यहाँको परिस्थितिलाई ‘मौन गाजा’ (Silent Gaza) को संज्ञा दिएको थियो।

यस परिस्थितिलाई हेर्दा, अमेरिका अझै पनि क्युबाको ठूला व्यापारिक साझेदारहरूमध्ये एक हो र उसले गत वर्ष ८२ करोड ८० लाख डलरभन्दा बढीका सामान निर्यात गरेको थियो भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ। आफूले व्यापार गरिरहेको देशमाथि नै प्रतिबन्ध लगाउनुको यो विरोधाभास पछाडि साम्राज्यवाद जत्तिकै पुरानो रणनीति लुकेको छ। अमेरिका क्युबालाई खाद्यान्न र अन्य केही छनोट गरिएका सामानहरू बेच्न पूर्ण रूपमा तयार छ, तर त्यो व्यापारमा उसले आफ्नो एकाधिकार कायम गर्न चाहन्छ।

अनुपालनको दुःस्वप्न

दशकौँदेखि क्युबाविरुद्धका अमेरिकी प्रतिबन्धहरूले खनिज र पर्यटनजस्ता नियन्त्रित उद्योगहरूलाई लक्षित गर्दै आएका छन्, जुन  क्षेत्रहरु क्युबाली सरकारका लागि वैदेशिक मुद्राका महत्त्वपूर्ण स्रोत हुन्। यस अवधिमा, अमेरिकाले क्युबामा केही सामान आयात गर्ने निकायहरूमाथि प्रतिबन्ध लगाउन रोकेको थियो, किनकि ती कारोबारहरूबाट विदेशी मुद्रा देश बाहिर जाने गर्दथ्यो जुन प्रायः अमेरिकी कम्पनीहरूलाई पूर्ण र अग्रिम भुक्तानीका रूपमा प्राप्त हुन्थ्यो।

क्युबामा सञ्चालित खनिज उद्योग र होटेल शृङ्खलाहरू जटिल नियमनकारी वातावरणमा काम गर्न अभ्यस्त छन् (यस क्षेत्रका अधिकांश ठूला कम्पनीहरूजस्तै)। यी प्रायः सार्वजनिक रूपमा कारोबार नहुने साना व्यवसायहरू पनि हुने गर्छन्। तर क्युबाभित्र भित्रिने र बाहिरिने लगभग हरेक वस्तुको भौतिक आयात र निर्यातमा सहजीकरण गर्ने 'GECOMEX' 'GEMAR' लाई अमेरिकी विदेश मन्त्रालयले नियन्त्रणमा लिनुले उत्पादन तथा शिपिङ कम्पनीहरूका लागि अनुपालन सम्बन्धी जोखिम बढाएको छ। यो आफैँमा एउटा ठूलो तनाववृद्धि हो।

यदि 'GECOMEX' ले उपकरण आयात गर्न सकेन भने, यसका सहायक कम्पनीहरूले गहुँ र सिमीजस्ता कृषिजन्य वस्तुहरूलाई प्रभावकारी रूपमा प्रशोधन गर्न सक्दैनन्, जसले गर्दा अन्ततः क्युबाली परिवारसम्म पुग्ने आधारभूत खाद्यान्नमा कमी आउँछ।

उदाहरणका लागि, स्विट्जरल्यान्डको औद्योगिक कम्पनी 'बूह्लर ग्रुप' (Bühler Group) ले क्युबालाई अन्न पिसानी गर्ने उपकरण बिक्री गरेमा अब अनुपालनको जोखिम सामना गर्नुपर्ने हुन्छ। दाल सफा गर्ने र वर्गीकरण गर्ने मेसिनरी बेच्न सक्ने तेस्रो मुलुकको कम्पनीको अवस्था पनि उस्तै छ। यदि 'GECOMEX' ले उपकरण आयात गर्न सकेन भने, यसका सहायक कम्पनीहरूले गहुँ र सिमीजस्ता कृषिजन्य वस्तुहरूलाई प्रभावकारी रूपमा प्रशोधन गर्न सक्दैनन्, जसले गर्दा अन्ततः क्युबाली परिवारसम्म पुग्ने आधारभूत खाद्यान्नमा कमी आउँछ।

पोर्ट अपरेटर 'GEMAR' विरुद्धको प्रतिबन्ध झनै प्रत्यक्ष छ, जसले उनीहरूलाई डकिङ (प्रस्थान र अवतरण) शुल्क भुक्तानी गर्ने जुनसुकै शिपिङ कम्पनीका लागि अनुपालनको जोखिम सिर्जना गर्दछ। 'हापाग-लोयड' (Hapag-Lloyd) 'सीएमए सीजीएम' (CMA CGM) जस्ता कम्पनीहरूले क्युबामा आफ्ना सेवाहरू स्थगित गरेपछि हवानाका लागि पठाइएका सात हजारभन्दा बढी कन्टेनरहरू अहिले क्यारिबियन क्षेत्रभरि थन्किएका छन्। त्यसैले, तेस्रो मुलुकहरूद्वारा क्युबामा खाद्यान्न आयात गर्न दिने मानवीय छुटहरू भए तापनि, प्रतिबन्धको यो नयाँ शृङ्खलाले त्यस्ता ढुवानीहरूलाई गम्भीर रूपमा बाधा पुर्‍याउन सक्छ।

‘खाद्यान्न एउटा भयानक कमजोरी हो जुन औपनिवेशिक र साम्राज्यवादी इतिहासद्वारा क्युबामाथि लादिएको थियो। पूरै देशलाई उखुबारीमा परिणत गरिएको थियो।’

यस्ता खाले उपायहरूले संयुक्त राज्य अमेरिकाको 'अधिकतम दबाब' रणनीतिको पछाडि रहेको नरसंहारकारी मनसायलाई छर्लङ्ग पार्छन्,’ ग्लासगो विश्वविद्यालयकी प्रोफेसर तथा 'वी आर क्युबा! हाउ अ रिभोलुसनरी पिपुल ह्याभ सर्भाइभ्ड इन अ पोस्ट-सोभियत वर्ल्ड' कि लेखक हेलन याफे भन्छिन्। ‘खाद्यान्न एउटा भयानक कमजोरी हो जुन औपनिवेशिक र साम्राज्यवादी इतिहासद्वारा क्युबामाथि लादिएको थियो। पूरै देशलाई उखुबारीमा परिणत गरिएको थियो।’

क्युबाली कृषिका उतारचढावहरू

क्रान्तिलगत्तै, क्युबाली सरकारले साना किसानका धेरै खेतहरू स्वतन्त्र छाड्दै ठूला कृषि फार्म, बगान र जमीन्दारका सम्पत्तिहरू राष्ट्रियकरण गर्‍यो। विशेष अवधि (Special Period - सोभियत सङ्घको विघटनपछिको समय) मा, फिदेल कास्ट्रोले क्युबाको तेस्रो कृषि सुधार कानुन पारित गरे, जसले उपयोगको अधिकार मार्फत सहकारी र पारिवारिक किसानहरूलाई थप जग्गा बाँडफाँड गर्‍यो। यसले सरकारको कृषि उत्पादनलाई विकन्द्रीकृत गर्दै आयातमा निर्भर सरकारी फार्महरूलाई सहकारी उत्पादनका आधारभूत एकाइहरूमा परिणत गर्‍यो।

किसान-देखि-किसान सञ्जालले २ लाखभन्दा बढी कृषक परिवारहरूलाई कृषि-पारिस्थितिक विधिहरूमा तालिम दियो,’ दिगो कृषि प्रणाली र खाद्य सम्प्रभुताको वकालत गर्ने क्यारिबियन एग्रोइकोलोजी इन्स्टिच्युट (CAI) की मार्गरिटा फर्नान्डेज भन्छिन्। विशेष अवधिमा हवानाभरि सहरी बगैँचाहरू (organopónicos) फस्टाए, जसबाट राजधानीमा उपभोग हुने ५० प्रतिशतभन्दा बढी फलफूल र तरकारीहरू त्यहीँ उब्जाइएको अनुमान क्युबाली सरकारले गरेको थियो।

खाद्य अधिकारका अभियन्ता पिटर रोसेट आफ्नो पुस्तक 'द ग्रिनिङ अफ द रिभोलुसन' मा तर्क गर्छन् कि यो ‘विश्वको इतिहासमा परम्परागत कृषिबाट वैकल्पिक, अर्ध-जैविक कृषिमा भएको सबैभन्दा ठूलो रूपान्तरणको प्रयास थियो।’

केही समयका लागि क्युबा जीवाश्म इन्धन-पछिको कृषि कस्तो हुन सक्छ भन्ने कुराको विश्वव्यापी प्रतीक बन्यो,’ फर्नान्डेज भन्छिन्।

यस आन्दोलनको उत्कर्षका बेला, सन् २००० को दशकको मध्यतिर, क्युबामा उपभोग हुने कुल क्यालोरीको ३५ देखि ४० प्रतिशत आन्तरिक कृषिबाटै प्राप्त हुन्थ्यो। तर, ह्युगो चावेजको नेतृत्वमा भेनेजुएलासँग क्युबाले घनिष्ठ व्यापारिक साझेदारी विकास गरेपछि अन्ततः विशेष अवधि समाप्त भयो। क्युबाले पुनः औद्योगिकीकृत कृषिलाई सम्भव बनाउने तेल र इन्धनमा पहुँच प्राप्त गर्‍यो।

‘कृषि-पारिस्थितिकीलाई खाद्य प्रणालीको आधारका रूपमा पूर्ण रूपमा कहिल्यै संस्थागत गरिएन। यसको सट्टा, यसलाई केवल एक आपतकालीन विकल्पका रूपमा हेरियो।’

आर्थिक अवस्था समय-समयमा सुधार हुँदै जाँदा नीति निर्माताहरू प्रायः पुनः परम्परागत औद्योगिक कृषितातर्फ फर्किए,’ फर्नान्डेज भन्छिन्। ‘कृषि-पारिस्थितिकीलाई खाद्य प्रणालीको आधारका रूपमा पूर्ण रूपमा कहिल्यै संस्थागत गरिएन। यसको सट्टा, यसलाई केवल एक आपतकालीन विकल्पका रूपमा हेरियो।’

विशेष अवधिअघि नै बाली र पशुपालनको उत्पादनमा वास्तवमा गिरावट आइरहेको थियो। ८० को दशकको उत्तरार्धमा, क्युबाको औद्योगिक कृषि प्रणालीका कारण माटो अत्यधिक कडा हुनुका साथै यसको उर्वराशक्तिमा गम्भीर ह्रास आयो, जसले गर्दा उखुबाहेकका कृषि उत्पादनको उपज घट्न पुग्यो

उत्पादनमा गिरावट र वर्तमान सङ्कट

अमेरिकाले गत जनवरीमा भेनेजुएला सरकार नियन्त्रणमा लिएर वर्तमान सङ्कट निम्त्याउनुअघि पनि विगत केही वर्षदेखि उत्पादन घटिरहेको थियो। सन् २०१८ देखि २०२३ को बीचमा धानजस्ता मुख्य बालीको आन्तरिक उत्पादन ५० प्रतिशतभन्दा बढीले घट्यो। विश्व खाद्य कार्यक्रमको अमेरिकी सम्बद्ध निकायको अनुमानअनुसार क्युबाले अहिले आफ्ना ७० देखि ८० प्रतिशत आवश्यकता पूरा गर्न कृषि आयातमै निर्भर हुनुपरेको छ।

यो ठूलो गिरावट जस्तो नलाग्न सक्छ, तर सबै क्यालोरीहरू समान हुँदैनन् भन्ने कुरा सम्झनु महत्त्वपूर्ण छ। ऐतिहासिक रूपमा, क्युबा फलफूल र तरकारीको मामिलामा ९० प्रतिशत आत्मनिर्भर रहँदै आएको छ, जुन भिटामिन र फाइबरले भरपूर हुन्छन् तर तिनमा प्रोटिन धेरै कम हुन्छ। तर क्युबाले अहिले आफूले उपभोग गर्ने कुखुराको मासुको १ प्रतिशतभन्दा पनि कम उत्पादन गर्छ, र यसको सुँगुरको मासु (पार्क) उद्योग भर्खरै धरासयी भएको छ।

सहकारी र पारिवारिक किसानहरूले अहिले क्युबाको लगभग ६९ प्रतिशत कृषि योग्य जमिन व्यवस्थापन गर्छन्, यद्यपि ती सबै दिगो कृषि अभ्यासमा संलग्न छैनन्। धेरै अझै पनि पेट्रोल र डिजेलबाट चल्ने सिँचाइ विधिहरूमा निर्भर छन्।

स्थिति झनै बिगार्दै, वर्तमान तेल नाकाबन्दीले आन्तरिक कृषि उत्पादन ६० प्रतिशतले घटाएको अनुमान संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले जुन महिनाको प्रतिवेदनमा गरेका छन्। ‘रासन कार्ड अब नाममात्रको भएको छ,’ हेलन याफे भन्छिन्। जुलाईको प्रतिबन्धले यसलाई अझ बढावा दिने सम्भावना छ।

सहकारी र पारिवारिक किसानहरूले अहिले क्युबाको लगभग ६९ प्रतिशत कृषि योग्य जमिन व्यवस्थापन गर्छन्, यद्यपि ती सबै दिगो कृषि अभ्यासमा संलग्न छैनन्। धेरै अझै पनि पेट्रोल र डिजेलबाट चल्ने सिँचाइ विधिहरूमा निर्भर छन्। अनि जीवाश्म इन्धनका उप-उत्पादनहरूको सट्टा जैविक मल र जैविक किटनाशकको प्रयोग व्यापक भए तापनि, ती प्रयोगशालाबाट टाढाका खेतसम्म बिग्रनुअघि नै पुर्‍याउन जीवन्त कल्चरहरू वितरण गर्न स्थिर यातायात प्रणालीमा निर्भर हुन्छन् । जुन अमेरिकाको क्रूर ऊर्जा नाकाबन्दीका कारण लगभग असम्भव छ।

अनुमानहरू फरक-फरक छन्, तर पक्षधरहरू तर्क गर्छन् कि कृषि-पारिस्थितिकी अभ्यासहरू विस्तार गर्नाले कृषि आयातमाथिको निर्भरता ३५ देखि ४० प्रतिशतले घटाउन सकिन्छ। अन्यको अनुमान छ कि यसले क्युबामा उपभोग हुने कुल क्यालोरीको ७० प्रतिशतसम्म धान्न सक्छ। यसले कृषि व्यापार घाटा घटाउन पनि मद्दत गर्नेछ, जसलाई 'CAI' जस्ता संस्थाहरूले उच्च खाद्य सम्प्रभुताको मार्गमा बाधकका रूपमा हेर्छन्। विदेशी कृषि आयातमा क्युबाको खर्च सन् २०२४ मा २.७ अर्ब डलर थियो, जसमा मासु ($४५८ मिलियन) र खाद्यान्न/अन्न ($१७७ मिलियन) को वर्चस्व थियो।

क्युबाले उत्तरतर्फको एक आक्रामक छिमेकीको सामना पनि गर्नुपरिरहेको छ, जसले उनीहरूको स्वतन्त्र व्यापार गर्ने र इन्धन प्राप्त गर्ने क्षमतालाई मात्र सीमित गरिरहेको छैन, तर आफ्ना विद्यमान बजारहरूको कडा रक्षा पनि गरिरहेको छ।

स्थानीय उपभोगका लागि खाद्यान्न उब्जाउने जुनसुकै प्रयासको अमेरिकी कृषि लबीले विरोध गर्दछ,’ याफे भन्छिन्।

नियतवश अस्वस्थ बनाइएको बजार

क्युबाले आयात गर्ने खाद्यान्नमध्ये ४० करोड ३० लाख डलर संयुक्त राज्य अमेरिकाबाट, ३२ करोड ८० लाख डलर अर्जेन्टिनाबाट र २८ करोड २० लाख डलर ब्राजिलबाट आउँछ। तर फेरि पनि, सबै क्यालोरीहरू समान हुँदैनन्। क्युबाले आफ्नो ८५ प्रतिशत गहुँ क्यानडाबाट र  सायद सबैभन्दा महत्त्वपूर्ण — ८० प्रतिशत कुखुराको मासु संयुक्त राज्य अमेरिकाबाट आयात गर्छ।

क्युबाली आहारमा फ्रोजन कुखुराको मासु सबैभन्दा सुलभ र किफायती पशुजन्य प्रोटिन हो। फिलिपिन्स र चीनजस्ता अत्यधिक जनसङ्ख्या भएका देशहरूलाई पछाडि पार्दै क्युबा विगत १० वर्षभन्दा बढी समयदेखि अमेरिकी कुखुराको मासु निर्यातका लागि शीर्ष पाँच ठूला बजारहरूमध्ये एक रहँदै आएको छ। गत वर्ष, संयुक्त राज्य अमेरिकाले क्युबामा २९ करोड ८० लाख डलर बराबरको कुखुराको मासु निर्यात गरेको थियो, जसमध्ये लगभग सबै जमेको कुखुराको मासु थियो।

फिलिपिन्स र चीनजस्ता अत्यधिक जनसङ्ख्या भएका देशहरूलाई पछाडि पार्दै क्युबा विगत १० वर्षभन्दा बढी समयदेखि अमेरिकी कुखुराको मासु निर्यातका लागि शीर्ष पाँच ठूला बजारहरूमध्ये एक रहँदै आएको छ।

पछिल्लो प्रतिबन्धले कृषि व्यापारको सन्तुलनलाई संयुक्त राज्य अमेरिकाको पक्षमा अझ बढावा दिने अपेक्षा गरिएको छ।

अनुपालनसम्बन्धी जोखिमका कारण क्युबासँग भइरहेको २७ करोड ८० लाख क्यानाडेली डलर बराबरको कृषि व्यापारलाई निरन्तरता दिइरहनुमा क्यानाडाली कृषि व्यवसायले खासै फाइदा देख्ने सम्भावना छैन। यिनै जोखिमका कारण डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध भएको अमेरिकी खरिदकर्तालाई बिक्री गर्न बाध्य पारेर एउटा प्रमुख खानी कम्पनीलाई समेत संकटग्रस्त अवस्थामा पुर्‍याइसकिएको छ। तुलनात्मक रूपमा, क्यानडाले सन् २०२४ मा १०० अर्ब क्यानेडियन डलरभन्दा बढीको कृषि व्यापार गरेको थियो, जसको ६२ प्रतिशत संयुक्त राज्य अमेरिकासँग थियो।

यदि तपाईं तेस्रो मुलुक हुनुहुन्छ र प्रतिबन्धित पक्षलाई सामान वा सेवाहरू आपूर्ति गर्नुहुन्छ भने, तपाईं आफैँ पनि प्रतिबन्धमा पर्न सक्नुहुन्छ,’ क्युबासँग सम्बन्धित अमेरिकी कानुन र नियमहरूमा विशेषज्ञता हासिल गरेका प्रसिद्ध अधिवक्ता रोबर्ट म्युज स्पष्ट पार्छन्। ‘त्यसपछि तपाईंलाई सामान वा सेवाहरू आपूर्ति गर्ने जो कोहीलाई पनि प्रतिबन्ध लगाउन सकिन्छ... र यो क्रम यसरी नै चल्दै जान्छ।’ 'हेल्म्स-बर्टन एक्ट' (Helms-Burton Act) को 'शीर्षक III' (Title III), जसले क्युबाली क्रान्तिका क्रममा जफत गरिएका सम्पत्तिहरूमा कारोबार गरेमा निजी कम्पनीहरूविरुद्ध मुद्दा चलाउन ढोका खोल्छ, सिद्धान्ततः यसलाई असीमित रूपमा विस्तार गर्न सकिन्छ।

संयुक्त राज्य अमेरिकाको बजारमा पहुँच बनाउने चाहनाबाहेक, कम्पनीहरूले यी अनावश्यक अनुपालन जोखिमहरूविरुद्ध विद्रोह नगर्नुको कम्तीमा एउटा अर्को कारण छ: ‘अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली र अमेरिकी डलरको सर्वोच्चताले कम्पनीहरूलाई प्रतिवाद गर्नबाट रोक्छ,’ हेलन याफे भन्छिन्। डलरमा हुने कारोबारहरू, जसले विश्व व्यापारको ठूलो हिस्सा ओगट्छन्, तिनलाई अमेरिकी बैंकिङ प्रणालीमार्फत नै फर्छ्यौट गर्नुपर्ने हुन्छ।

अमेरिकाले क्युबामा निर्यात गर्ने खाद्यान्नको मात्रा जति बढ्दै जान्छ, क्युबाली सरकारमाथि अमेरिकाको दबाब दिने क्षमता पनि त्यति नै बढ्दै जान्छ,’ म्युज भन्छन्।

यसले क्युबाका लागि सहज व्यापारिक साझेदारका रूपमा एउटा मात्र देश बाँकी राख्छ: त्यही देश जसले अहिले उसको सरकार ढाल्ने प्रयास गरिरहेको छ। ‘द्वितीयक प्रतिबन्ध (प्रतिबन्धित पक्षसँग कारोबार गर्ने तेस्रो पक्षमाथिको प्रतिबन्ध) मार्फत अमेरिकाले पुनर्संरचना गर्न खोजिरहेको 'नयाँ क्युबा' मा अमेरिकी कम्पनीहरू नै प्राथमिकतामा परेका लगानीकर्ता हुनेछन्,’ म्युज भन्छन्।

संयुक्त राज्य अमेरिकासँग निर्भरता र असमान विनिमयको सम्बन्धमा बाँधिएको ग्वाटेमालेजस्ता ल्याटिन अमेरिकी देशहरूको ढाँचामा क्युबालाई ढाल्नु नै ट्रम्प प्रशासनको अन्तिम महत्त्वाकाङ्क्षा देखिन्छ। यस बृहत् रणनीतिमा कृषिको भूमिकाबारे बोल्दै, ‘अमेरिकाले क्युबामा निर्यात गर्ने खाद्यान्नको मात्रा जति बढ्दै जान्छ, क्युबाली सरकारमाथि अमेरिकाको दबाब दिने क्षमता पनि त्यति नै बढ्दै जान्छ,’ म्युज भन्छन्।

यसले प्रतिबन्धहरूको यो पछिल्लो शृङ्खलालाई स्पष्ट पार्न मद्दत गर्न सक्छ। बन्दरगाह उद्योग र आयातकर्ताहरूलाई लक्षित गर्दै मानवीय छुटहरूलाई भने कायम राखेर, संयुक्त राज्य अमेरिकाले क्युबामा आन्तरिक खाद्य उत्पादन र खाद्यान्न आयात ह्वात्तै घटाउँदा पनि आफूले खाद्यान्न आयातमा रोक नलगाएको दाबी गर्न सक्छ।

यसको प्रभाव विद्यमान खाद्य अभावका कारण अझ धेरै गुणा बढेको छ। क्युबाले आफ्नो आयातित खाद्यान्नको १६ प्रतिशत अमेरिकाबाट प्राप्त गरिरहेको हुन सक्छ, तर यदि तपाईंले बाँकी ८४ प्रतिशतलाई ध्वस्त पारिदिनुभयो भने अब त्यहाँ ठूलो विपत्ति सिर्जना हुन्छ,’ म्युज भन्छन्।

अहिलेका लागि, विश्वका अधिकांश देशहरू क्युबासँगको व्यापार जारी राखेर अमेरिकी बजार, भुक्तानी र क्रेडिट प्रणालीहरूमा आफ्नो पहुँचलाई जोखिममा पार्न तयार छैनन्। तैपनि, इरान युद्धसँग सम्बन्धित व्यापारिक अवरोधहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिकाको अस्थिर व्यापार नीति र एकपक्षीय प्रतिबन्ध प्रणालीमाथि दबाब बढ्दै जाँदा वैकल्पिक मार्गको माग पनि लगातार बढिरहेको छ।

यदि क्युबासँग व्यापार गर्नका लागि बाँकी विश्व बाँकी नै रहने हो भने, यो समृद्ध हुन सक्छ,’ याफे भन्छिन्।

बैंकिङ, खनिज र पर्यटन क्षेत्रमा लगाइएका प्रतिबन्धहरूले क्युबालाई अझ दिगो कृषि मोडलमा रूपान्तरण हुनका लागि आवश्यक पर्ने विदेशी मुद्राबाट वञ्चित गराएका छन्।

अमेरिकी सरकारले 'हेल्म्स-बर्टन एक्ट' को असीमित पहुँच र डलरको प्रभुत्वको फाइदा उठाउँदै यति कडा नियमनकारी वातावरण र प्रतिबन्ध प्रणाली सिर्जना गरेको छ कि कुनै पनि विवेकशील व्यक्ति वा संस्थाले यसको उल्लङ्घन गर्ने साहस गर्दैन। साथै, यसको तेल नाकाबन्दीले औद्योगिक कृषि मोडलमार्फत खाद्य सम्प्रभुता हासिल गर्न लगभग असम्भव बनाएको छ, जसले गर्दा क्युबा सस्तो प्रोटिनका लागि अमेरिकी कृषि व्यवसायमा निर्भर हुन पुगेको छ।

यसैबिच, बैंकिङ, खनिज र पर्यटन क्षेत्रमा लगाइएका प्रतिबन्धहरूले क्युबालाई अझ दिगो कृषि मोडलमा रूपान्तरण हुनका लागि आवश्यक पर्ने विदेशी मुद्राबाट वञ्चित गराएका छन्। अर्को शब्दमा भन्नुपर्दा, संयुक्त राज्य अमेरिकाले क्युबाली सरकारलाई ढाल्न र देशलाई अमेरिकी निजी स्वामित्वका लागि खुला गर्न खोजिरहँदा, उसले खाद्यान्नको पहुँचलाई आफ्नो अन्तिम दबाबको हतियारको रूपमा प्रयोग गरिरहेको छ।

Source: https://jacobin.com

 

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक सम्पत्ति चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्