विज्ञानको मापदण्ड र मार्क्सवाद: वस्तुनिष्ठता, पुनरावृत्ति र मिथ्याकरणीयताको प्रश्न

विज्ञानलाई बुझ्ने द्वन्द्वात्मक दृष्टिकोण

के मार्क्सवाद विज्ञान नै हो ? शीर्षकमा लेखेपछि त्यस लेखमाथि भिन्न भिन्न प्रतिक्रियाहरू आएका छन् । सामाजिक सञ्जाल र अनौपचारिक कुराकानीमा केही महत्त्वपूर्ण प्रश्नहरू र आलोचना प्राप्त भएका छन् । साथी अनिता पण्डितले मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो भनेर दायित्वबोधमै प्रतिवाद/प्रतिरक्षा लेख्नुभएको छ । साथी सत्यजीतले मार्क्सवादलाई ‘अकाट्य विज्ञान’  भनेर लेख्नुभएको लेख पनि दायित्वबोधमा प्रकाशित छ ।

मूल लेखमा मार्क्सवादका चार विशेषता उल्लेख गर्दै यसलाई ‘समाज बुझ्न र बदल्न द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्ने विधि’ भनेर परिभाषित गरिएको थियो । साथीहरूले आफ्नो विचार राख्ने क्रममा यसमा कुनै विमती वा थप व्याख्या राख्नुभएको मैले पाएको छैन । यसले मार्क्सवादका मौलिक विशेषताहरूप्रति हाम्रो समान बुझाइ रहेको प्रष्ट पार्छ ।

दोस्रो विश्वयुद्धको समाप्ति पछि विज्ञान शब्दको अर्थ फेरियो र यो शब्दले अहिले मार्क्स–एङ्गेल्सको समयको अर्थ दिदैन, यस अर्थमा आज मार्क्सवादलाई विज्ञान भन्न सकिदैन  भन्ने मूल लेखको दावी हो ।

आलोचक मित्रहरूले मार्क्स–एङ्गेल्सका  लामा लामा उद्धरणहरू  राखेर उनीहरूले विज्ञानलाई कसरी लिन्थे र उनीहरूको जोड विज्ञानमा किन थियो भन्ने बुझाउन प्रयत्न गर्नु भएको छ । मार्क्सले आफ्नो विधिलाई विज्ञान (science/Wissenschaft) भन्थे भन्नेमा कुनै शङ्का नै छैन । मूल लेखमै यसबारेमा आवश्यक चर्चा परिसकेकै छ ।  दोस्रो विश्वयुद्धको समाप्ति पछि विज्ञान शब्दको अर्थ फेरियो र यो शब्दले अहिले मार्क्स–एङ्गेल्सको समयको अर्थ दिदैन, यस अर्थमा आज मार्क्सवादलाई विज्ञान भन्न सकिदैन  भन्ने मूल लेखको दावी हो ।

समयक्रम सँगै शब्दहरूको अर्थ फेरिन सक्छ भन्न एउटा उदाहरण हेरौँ । वि.सं. ६५१ देखि ६६२ बीचका शिलालेखहरूमा त्यतिबेलाका नेपालका लिच्छवि राजा शिवदेव प्रथमका प्रभावशाली र प्रमुख सहायकका रूपमा अंशुवर्माको उल्लेख पाइन्छ । ती शिलालेखहरूमा अंशुवर्मालाई ‘सामन्त’ र ‘महासामन्त’  भन्ने पदवीले विभुषित गरेको देखिन्छ । अर्थात् हाम्रो इतिहासको कुनै कालखण्डमा ‘सामन्त’  भन्नु निकै ठूलो प्रशंसा थियो । तर आज हाम्रो जनबोलीमा सामन्त शब्द शोषकसँग जोडिएर आउँछ र यसले गालीको अर्थ दिन्छ ।

मार्क्सवाद मान्ने आलोचक मित्रहरू समाज परिवर्तनशील छ भन्ने मान्नुहुन्छ नै ! अनि समाजको इतिहास भित्र मानिसहरूको भाषाको इतिहास पनि त पर्छ होला ! त्यस अर्थमा भाषा फेरिन्छ होला, शब्द र तिनका अर्थहरू पनि फेरिन्छन् होला ! यस कारण मार्क्सको समयमा विज्ञानको अर्थ जे थियो, आज पनि त्यही छ कि त्यो अर्थ फेरियो भन्ने मुख्य प्रश्न हो ।  साथीहरूलाई मेरो सरल प्रश्न छ - के आज पनि विज्ञान शब्दको त्यही अर्थ लाग्छ जुन ‘विज्ञान भैरव तन्त्र’ नामक साधना-ग्रन्थको रचना कालमा लाग्थ्यो ? विज्ञान (Science) शब्दको अर्थ र प्रयोगमा पछिल्लो पटक आएको फेरबदल कहिले थियो ?  मूल लेखको दावी छ - दोस्रो विश्वयुद्धपछि सम्पूर्ण रूपमा  विज्ञान शब्दको अर्थ फेरियो ।

 अम मूल लेखको दावी नदोहोर्‍याइ सिधै आलोचनाहरूमा प्रवेश गर्नेछु ।

विज्ञानको विशेषतामाथि थप चर्चा

मैले विज्ञानको आजको परिभाषालाई असाध्यै साँघुरो बनाएँ वा गलत परिभाषा गरेँ भन्ने साथीहरूको आलोचना छ । आज विज्ञानको सर्वमान्य परिभाषा छैन -  यो सत्य हो । अझ उत्तरआधुनिक विद्वानहरू त कुनैपनि अवधारणाको एउटा मात्रै वा सर्वमान्य परिभाषा हुनै सक्दैन भन्छन् । साथीहरूले उदाहरण वा प्रमाणहरू उल्लेख नगरी मूल लेखले विज्ञानको विशेषताहरूलाई ठिक सँग पक्रिएन भनेर दावी गर्नु भएको छ । यो आलोचनाको सत्यता जाँच्न लेखमा उल्लेख गरिएको विज्ञानको विशेषताहरूलाई फर्किएर हेरौँ ।

पहिलो विशेषता र यसको आलोचना

विज्ञान अवलोकनयोग्य र मापनयोग्य तथ्याङ्कमा आधारित हुन्छ र यो तथ्याङ्कलाई वस्तुनिष्ठता र अन्तरवैयक्तिक अनुभूति (Objectivity & Intersubjectivity)ले प्रमाणित गर्नु पर्छ । तर यसको अर्थ यस्ता तथ्याङ्कहरू मात्रै विज्ञानका लागि पर्याप्त हुन्छन् भन्ने होइन,  जरुरी हुन्छन् भन्ने हो । अर्थात् यस्ता तथ्याङ्कमा आधारित नहुने हो भने कुनै पनि अध्ययन अनुसन्धान विज्ञान हुन सक्दैन । तर यस्ता तथ्याङ्कहरूको चाङले मात्रै विज्ञान बनाउँदैन । यसरी आएका तथ्याङ्कहरूलाई जब स्थापित वा उपलब्ध वैज्ञानिक निष्कर्षहरूले व्याख्या गर्न सक्दैनन्, त्यस पछि विज्ञानमा थप काम सुरु हुन्छ । आलोचक मित्रहरूले सैद्धान्तिक भौतिक शास्त्रको उदाहरण दिएर विज्ञानको यो विशेषतालाई चुनौती दिन खोज्नु भएको हो भने भनिहालौँ, सैद्धान्तिक भौतिक विज्ञान पनि अवलोकन र मापनबाट आएका वस्तुनिष्ठ तथ्याङ्कहरूमा नै आधारित हुन्छ ।

तथ्याङ्कमा आधारित नहुने हो भने कुनै पनि अध्ययन अनुसन्धान विज्ञान हुन सक्दैन । तर यस्ता तथ्याङ्कहरूको चाङले मात्रै विज्ञान बनाउँदैन । यसरी आएका तथ्याङ्कहरूलाई जब स्थापित वा उपलब्ध वैज्ञानिक निष्कर्षहरूले व्याख्या गर्न सक्दैनन्, त्यस पछि विज्ञानमा थप काम सुरु हुन्छ ।

उदाहरणका लागि,

१८८२ मा खगोल शास्त्री सिमोन न्यूकम्वले अवलोकनका क्रममा बुध ग्रहले सूर्यलाई परिक्रमा गर्ने कक्षमा प्रत्येक १०० वर्षमा ४३ आर्कसेकेण्डका दरले परिवर्तन आइरहेको भेटे । यो बुधको प्रत्येक कक्ष (orbit) मा  यो फरक १ डिग्रीको तीस हजार भागको एक भाग जति मात्रै थियो अर्थात् यो असाध्यै सानो थियो । तर त्यसपछिको ५० वर्षसम्म खगोलशास्त्रमा यो समस्या न्युटनका सिद्धान्तले हल गर्न नसकेको समस्याका रूपमा रह्यो ।स्थापित सिद्धान्त र अवलोकनको बिचमा रहेको यही भिन्नतामा उभिएर आइन्स्टाइनले १९१५ मा सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरे । यो सिद्धान्तका अनुसार न्युटनले भनेजस्तो गुरुत्वाकर्षण कुनै बल होइन, बरु दिक्-काल (space-time) ले पदार्थ कसरी चल्ने (गति लिने) भन्ने निर्धारण गर्छ र पदार्थले आफू वरिपरि दिक्-काललाई कसरी बाङ्गिने भन्ने तय गर्छ । यो सिद्धान्तले बुध ग्रहको गतिमा आएको अन्तर लाई एकदम ठीक ढङ्गले व्याख्या गर्‍यो । तर सँगै यो व्याख्याका अनुसार अत्यन्तै ठूलो पदार्थको नजिकै प्रकाश समेत बाङ्गिनु पर्थ्यो । सन् १९१९ भन्दा अगाडि यो दावीको परीक्षण नै हुन सकेको थिएन । यसैकारण त्यस समय यो सिद्धान्तको सत्यतामा भौतिक विज्ञानका अध्येताहरू बिचमै संशय कायम थियो । सन् १९१९ मे २९ को सूर्य ग्रहणको समयमा  बेलायती खगोलशास्त्री आर्थर एडिङ्टनले सूर्यको वरिपरि प्रकाश बाङ्गिएको तस्बिर खिचेर देखाएपछि अर्थात् अवलोकनले प्रमाणित गरेपछि मात्रै यो सर्वमान्य सिद्धान्तका रूपमा प्रमाणित भयो ।

आज सबएटोमिक कणहरूको व्यवहारलाई Quantum Physics ले सफलतापूर्वक व्याख्या गर्छ भने गुरुत्वाकर्षण र ब्रह्माण्डीय स्तरका घटनाहरूलाई आइन्स्टाइन सामान्य सापेक्षतावादको सिद्धान्तले सफलतापूर्वक व्याख्या गर्छ। तर अत्यन्त साना आकारका र अत्यधिक गुरुत्व भएका अवस्थाहरूमा यी दुई सिद्धान्तले सही व्याख्या गर्दैनन् । यस्तो अवस्था समेतको व्याख्या गर्न सक्ने गरी यी सिद्धान्तहरूलाई एकीकृत गर्नु आज सैद्धान्तिक भौतिक शास्त्रको मुख्य चुनौती हो । यसका लगी गणितीय आधारमा उभिएर स्ट्रिङ थ्योरी (String theory) जस्ता हाइपोथेसिसहरू छन् । तर प्रयोग र  अवलोकनमा उभिएर यिनलाई न  प्रमाणित गर्न सकिएको छ न खण्डन नै । अर्थात् यिनको सत्यता जाँच्न आज हामीसँग कुनै विधि छैन । त्यसैले यस्ता प्रस्तावहरू वैज्ञानिक अनुसन्धानका विषय त हुन् तर स्थापित वैज्ञानिक सिद्धान्तका रूपमा स्वीकार गरिएका छैनन् ।

आज कसैले विज्ञान अवलोकन र मापनयोग्य तथ्याङ्कहरूमा आधारित छ भन्ने विषयमा समेत संशय गर्छ भने त्यो संशय वस्तुनिष्ठ हुँदैन ।

यसरी अवलोकन र मापनयोग्य तथ्याङ्क यस्तो आधार हो जसले विज्ञानलाई एकातिर ‘साइन्स फिक्सन’ बाट र अर्कातिर छद्मविज्ञान (pseudoscience) बाट अलग्याउँछ । यसर्थ आज कसैले विज्ञान अवलोकन र मापनयोग्य तथ्याङ्कहरूमा आधारित छ भन्ने विषयमा समेत संशय गर्छ भने त्यो संशय वस्तुनिष्ठ हुँदैन ।

उसो भए के अवलोकन र मापनयोग्य तथ्याङ्कहरूले मात्रै कुनै दावीलाई  वैज्ञानिक प्रमाणित गर्न सक्छ ?  उदाहरणका लागि पोलिग्राफ टेस्टलाई लिऔँ । आजको आधुनिक पोलिग्राफ मेसिनले मानिसको श्वासप्रश्वासको प्रक्रिया (Breathing Patterns), मुटु र रक्तसञ्चारको गतिविधि (Cardiovascular Activity), छालाको विद्युतीय सक्रियता (Electrodermal Activity) र सूक्ष्म शारीरिक हलचल (Somatic Movement) को नाप लिन्छ। यो नाप सही नै हुन्छ तर यसकै आधारमा उक्त मानिसले साँचो बोलिरहेको छ अथवा छैन भन्ने निर्क्योल गर्न सकिँदैन । अझ यसो भनौँ उक्त मानिसले साँचो अथवा झुटो बोलिरहेको हुनसक्ने सम्भावनाको समेत सही निर्क्योल गर्न सकिँदैन । यस्तो किन हुन्छ ? यो मेसिनले झुटो अथवा भर गर्न नसकिने अङ्क दिने भएका कारण होइन ।  पोलिग्राफ मेसिनले लिने मापहरूमा साँचो अथवा झुटो बोल्दा कस्तो फेरबदल आउँछ भन्न कुनै वस्तुनिष्ठ आधार नभएकाले यस्तो हुन्छ । अर्थात् श्वासप्रश्वासको प्रक्रियामा फेरबदल आयो भन्न वस्तुनिष्ठ ढङ्गले सकिन्छ तर त्यो फेरबदल झुट बोलेका अथवा नबोलेका कारण आयो भनेर भन्न कुनै वस्तुनिष्ठ आधार छैन ।  यसै कारण संसारका धेरै देशहरूमा पोलिग्राफ टेस्ट अवैध र केही देशहरूमा अभियुक्तको अनुमतिमा मात्रै यस्तो जाँच गर्न पाइन्छ ।

यो उदाहरणले बताउँछ, विज्ञान त्यस्ता अवलोकन र मापनयोग्य तथ्याङ्कहरूमा मात्रै आधारित हुन्छ जुन वस्तुनिष्ठ छ । यो वस्तुनिष्ठता(objectivity) भनेको के हो ? लेनिन ‘मटेरियलिज्म एन्ड एम्पिरियो-क्रिटिसिज्म’ (Materialism and Empirio-criticism (१९०९)) को परिच्छेद २.४ मा  द्रष्टा (subject) मा भर नपर्ने र मानव, मानवता वा मानवजाति (humanity) माथि निर्भर नहुने सत्यलाई वस्तुगत सत्यभन्छन् । अर्थात् वस्तुनिष्ठता मानिसको भावना वा इच्छा आदिमा निर्भर गर्दैन । त्यसो भए आलोचक साथीहरूले उल्लेख गर्नुभएको लेनिनका विचारहरूबाट भिन्न “सर्वहारा वर्गको पक्षमा गरिने हस्तक्षेपले मात्रै कायम हुने” वस्तुनिष्ठताको स्रोत के हो त ?  यसको स्रोत सम्भवतः जर्ज लुकासका प्रारम्भिक विचारहरू हुन् । जर्ज लुकासले आफ्नो पुस्तक ‘हिस्ट्री एण्ड क्लास कन्सियसनेस’ (History and class Consciousness) मा यसबारे विस्तार पूर्वक लेखेका छन् । लुकासको यो पुस्तक १९२३ मा प्रकाशित हुँदा लेनिन गम्भीर बिरामी थिए । उनले लुकासको यो पुस्तकको आलोचना गर्न भ्याएनन्। तर लुकासमा यो अवधारणा अलि अगाडिबाटै थियो भन्ने देखिन्छ । अनि लुकासको मार्क्सवादलाई  लेनिनले सन् १९२० मै शब्दजाल मात्रै (purely verbal) भएको भनेर आलोचना गरेका छन् । पछि लेनिनका अन्य अनुयायीहरूले पनि लुकासको यो अवधारणा वस्तुनिष्ठ होइन, आत्मनिष्ठ भयो भनेर खण्डन गरे । यो अवधारणाको सबैभन्दा बलियो खण्डन भने लुकास आफैंले गरेका छन् । सोही पुस्तकको १९६७ को संस्करणको भूमिका लेख्दै उनले यस मामिलामा  आफूबाट आदर्शवादी दार्शनिक त्रुटि भएको’ स्वीकारेका छन् ।

लेनिन Materialism and Empirio-criticism (१९०९) को परिच्छेद २.४ मा  द्रष्टा (subject) मा भर नपर्ने र मानव, मानवता वा मानवजाति (humanity) माथि निर्भर नहुने सत्यलाई वस्तुगत सत्यभन्छन् । अर्थात् वस्तुनिष्ठता मानिसको भावना वा इच्छा आदिमा निर्भर गर्दैन । त्यसो भए आलोचक साथीहरूले उल्लेख गर्नुभएको लेनिनका विचारहरूबाट भिन्न “सर्वहारा वर्गको पक्षमा गरिने हस्तक्षेपले मात्रै कायम हुने” वस्तुनिष्ठताको स्रोत के हो त ? 

अव एकपटक मूल लेखमा फर्कौँ । विज्ञानको विशेषताबारे कुरा गर्दै गर्दा लेखमा वस्तुनिष्ठता कायम गर्नका लागि वैज्ञानिक प्रयोगहरूमा  व्यक्तिगत वा सांस्कृतिक पूर्वाग्रहहरूलाई कम गर्ने प्रयास  हुन्छ भन्ने उल्लेख  गरिएकै छ ।

मूल लेखमा व्यक्त भएको विज्ञानमा वस्तुनिष्ठता कायम गर्न सचेत मानवीय हस्तक्षेप हटाउनुपर्छ भन्ने विचारलाई आलोचक साथीहरूले ‘निष्क्रिय अवलोकन’ को अर्थमा ग्रहण गर्नुभएको छ । अनि यसको प्रतिवाद गर्दै कृषि-विज्ञान, चिकित्सा-विज्ञान लगायतका विज्ञानका अनेकौँ शाखाहरूमा मानवीय हस्तक्षेप हुन्छ भन्नुभएको छ ।

तर मूल लेखमा ‘सचेत मानवीय हस्तक्षेप’लाई मार्क्सवादको सन्दर्भमा परिभाषित गरिएको थियो । अर्थात् वर्ग पक्षधरता र क्रान्तिकारी सक्रियता व्यक्त गर्ने अर्थमा ‘सचेत मानवीय हस्तक्षेप’को प्रयोग भएको थियो । अनर्थ लाग्ला कि भनेरै मूल लेखमा चिकित्सा विज्ञानमा हुने मानवीय हस्तक्षेप किन मार्क्सवादी ‘सचेत मानवीय हस्तक्षेप’ बाट भिन्न छ भनेर उल्लेख गरिएको थियो । यति हुँदा हुदैँ पनि वस्तुनिष्ठ बनाउनका लागि वैज्ञानिक प्रयोगहरूबाट  ‘सचेत मानवीय हस्तक्षेप’ हटाउने कुराको साथीहरूले मनोगत अर्थ लगाउनु भयो र यसलाई ‘निष्क्रिय अवलोकन’को अर्थमा ग्रहण गर्नुभयो । यस क्रममा देखिएको मनोगतवाद आफैमा विज्ञानकै स्तरको वस्तुनिष्ठता  समाज-विज्ञानमा कायम गर्न नसकिएको एक उदाहरण हो ।

अव एकपटक वैज्ञानिक प्रयोगहरूमा वस्तुनिष्ठताका लागि यस्तो आग्रह पूर्वाग्रहहरूलाई हटाउने वा कम गर्ने प्रयास नगर्दा के हुन्छ भन्ने एउटा उदाहरण हेरौँ । आइन्स्टाइनले १९१५ को आफ्नो सामान्य सापेक्षतावादको सिद्धान्तका समिकरणहरूलाई प्रयोग गर्दै गर्दा के देखे भने गुरुत्वका कारण कि यो ब्रह्माण्ड फैलदैँ छ अथवा खुम्चँदै छ । तर ब्रह्माण्ड स्थिर रहन्छ भन्ने उनको दार्शनिक मान्यताका कारण आफ्नै समीकरणले दिएको परिणाम स्वीकार गर्न सकेनन् र १९१७ मा त्यसलाई ‘सच्याउन’  एउटा cosmological constant लाई आफ्नो समीकरणमा थपे । तर जब १९२९ मा अवलोकनले ब्रह्माण्ड फैलिरहेको प्रमाणित गर्‍यो, उनले आफ्नो समीकरण फेरि सच्याए । वैज्ञानिक दृष्टिबाट हेर्दा आँखै अगाडि उपस्थित सत्यलाई पनि दार्शनिक मान्यताका कारण स्वीकार गर्न नसकेको कुरालाई उनले जीवनकै भयङ्कर भूलभनेका छन् । 

यस्ता अरू थप उदाहरण दिन सकिन्छ,  जसले किन वैज्ञानिक प्रयोगहरूमा वस्तुनिष्ठता कायम गर्न व्यक्तिगत वा सांस्कृतिक पूर्वाग्रहहरूलाई कम गर्ने प्रयासगरिन्छ भन्ने प्रमाणित गर्छ  । अपनि कसैलाई आफ्ना आग्रह र पक्षधरता सहित नै वस्तुनिष्ठ तथ्य देखे भइहाल्यो नि भन्ने लागेको छ भने उनीहरूलाई आइन्स्टाइनको जीवनकै भयङ्कर भूल पुनः एकपटक सम्झन अनुरोध छ ।

वैज्ञानिक दृष्टिबाट हेर्दा आँखै अगाडि उपस्थित सत्यलाई पनि दार्शनिक मान्यताका कारण स्वीकार गर्न नसकेको कुरालाई आइन्स्टाइनले जीवनकै भयङ्कर भूलभनेका छन् । 

विज्ञानको दोस्रो  विशेषतामाथीको आलोचना

अव आजको विज्ञानको थप अर्को विशेषतामा चर्चा गरौँ । पुनरावृत्ति अर्थात् उही  विधिको प्रयोग गर्दा उस्तै नतिजा प्राप्त हुनु वैज्ञानिक विधिको अर्को विशेषता हो ।मूल लेखमै भूगर्भविज्ञान र उद्विकासको उदाहरण राखेर पुनरावृत्तिको अर्थ तथ्यहरूको पुनरावृत्ति होइन, बरु उही विधि प्रयोग गर्दा उस्तै र एकरूप नतिजाहरू निस्कनु हो भनेर भनिएकै छ । यसका बाबजुद आलोचक मित्रहरूले यो विज्ञानको आधारभूत विशेषता होइन भन्न भूगर्भ विज्ञान मौसम विज्ञान वा जेनेटिक्स जस्ता विज्ञानका शाखाहरूमा यो विशेषता लागू हुँदैन भन्नु भएको छ ।  के भूगर्भ विज्ञान (Geology) वा मौसम विज्ञान (Climatology ) जस्ता विज्ञानका शाखाहरूमा यो विशेषता साँच्चै लागू हुँदैन त ? एउटा उदाहरण हेरौँ  !

१९औ शताब्दीका भूगर्भविद्हरूले युरोप र उत्तर अमेरिकाका ठूला ठूला  हिमनदी पग्लिएपछि बाँकी रहेका भौतिक प्रमाणहरू अध्ययन गरेर त्यस क्षेत्रमा विगतका कम्तीमा ४ वटा भिन्न भिन्न हिमयुग पत्ता लगाए । हिमनदीले थुपारेका ढुङ्गा र माटो (Moraines), त्यस क्षेत्रका जमिनका तहहरूको अध्ययन (Stratigraphy), हिमनदीले चट्टानमा कोरेका डोबहरू (Glacial Striations) र त्यस क्षेत्रमा सजिलै नभेटिने विशाल चट्टानहरू (Erratics) को अध्ययन गरेर उनीहरू यस्तो निष्कर्षमा पुगेका थिए । तर त्यस बेलामा हामीलाई कुन हिमयुग कहिले कति समयका लागि थियो भन्ने थाहा थिएन ।  (आज पनि यिनै / यस्तै भौतिक प्रमाणहरूको आधारमा भूगर्भविद्हरू यो ठाउँमा कुनै समय हिउँको विशाल पत्र/थुप्रो थियो भन्ने निर्क्योल निकाल्न सक्छन् । ) अर्को महत्त्वपूर्ण प्रश्न ती हिमनदी किन थिए र किन पग्लिए भन्ने थाह थिएन ।

खगोलीय चालका कारण पृथ्वीमा  पर्ने सूर्यको प्रकाशमा आउने सानो फेरबदलले  पृथ्वीको गर्मी महिनामा तापक्रम घट्ने र जाडो महिनामा परेको हिउँ पग्लन नपाउने हुँदा कसरी हिउँको मात्र बढ्दै जान्छ र अन्ततः पृथ्वीमा हिमयुग आउँछ भन्ने पत्ता लगाउन मिलानकोविचलाई  झन्डै ३० वर्ष लाग्यो

१८६० को दशकमै जेम्स क्रोलले पृथ्वीको कक्षीय परिवर्तनले पृथ्वीमा ल्याउने जलवायु परिवर्तनका कारण  हिमयुगहरू आएको भनेर एउटा लेख प्रकाशित गरिसकेका थिए । तर क्रोलको सिद्धान्तमा केही गल्तीहरू थिए । सन् १९११ मा  गणितज्ञ मिलुतिन मिलानकोविचले जर्मन मौसमविद् भ्लादिमिर कोपेनको सहयोगमा क्रोलको सिद्धान्तका कमजोरीहरूमा काम सुरु गर्दा पृथ्वीको खगोलीय चालहरूको समय अवधि (Eccentricity एक लाख वर्ष, Obliquity ४१ हजार वर्ष र Precession २६ हजार वर्ष ) हामीलाई थाहा भइसकेको थियो ।

खगोलीय चालका कारण पृथ्वीमा  पर्ने सूर्यको प्रकाशमा आउने सानो फेरबदलले  पृथ्वीको गर्मी महिनामा तापक्रम घट्ने र जाडो महिनामा परेको हिउँ पग्लन नपाउने हुँदा कसरी हिउँको मात्र बढ्दै जान्छ र अन्ततः पृथ्वीमा हिमयुग आउँछ भन्ने पत्ता लगाउन मिलानकोविचलाई  झन्डै ३० वर्ष लाग्यो । तर त्यस समय यो गणितीय मोडल मात्रै थियो ।

जब १९७६ मा समुद्रको पिँधको माटो र  फोरामिनिफेरा भनिने प्राचीन समुद्री जीवको अवशेषको अध्ययन भयो त्यसले, हिमयुगसम्बन्धी मिलानकोविचको सिद्धान्तलाई वैज्ञानिक रूपले प्रमाणित गर्‍यो  । यसबाट प्रस्टै देखिन्छ कि भूगर्भ विज्ञानमा भौतिक प्रमाणहरूको स्थिरताले निष्कर्षलाई पुनरावृत्त गर्न सघाउँछ । ठिक त्यसै गरी वैज्ञानिक ढङ्गले पुष्टि भएका  गणितीय तथ्यहरूका कारण मौसम विज्ञानमा  पुनरावृत्ति सम्भव हुन्छ ।

विज्ञानको तेस्रो विशेषतामाथिको  आलोचना

विज्ञानको अर्को विशेषता मिथ्याकरणीय (Falsifiability) तिर जाऔँ । मेरो लेखमा जम्मा एकपटक मात्रै उल्लेख भएको र कुनै उदाहरण वा थप व्याख्या नभएको  यसलाई मैले  विज्ञानको मुख्य चरित्रको रूपमा पेस गरेकोभनिएको छ ।  आलोचक साथीहरूले मेरो कुरा मेरै लेख बाट बुझेका हुन्थे भने मैले मार्क्सवादलाई विज्ञान होइन भन्न प्रस्तुत गरेको वस्तुनिष्ठता वा पुनरावृत्तिलाई विज्ञानको मुख्य चरित्र मान्ने थिए । म आफैं भने प्रयोगसिद्ध आधार (Empiricity) विज्ञानको मुख्य र आधारभूत चरित्र हो भन्ने ठान्दछु । यसैकारण मैले  विज्ञानका विशेषताबारे उल्लेख गर्दै गर्दा यसलाई सबैभन्दा पहिला उल्लेख गरेको थिए । असाथीहरूले मेरो लेख बाहेक अन्यत्र कहाँबाट मेरो कुरा पत्ता लगाउनु भएको होला ?

यो विशेषताले भन्छ - कुनै पनि दावी वैज्ञानिक हुन त्यसलाई गलत पुष्टि गर्ने आधार हुनु पर्छ ।   माथि नै उदाहरणका रूपमा आइसकेको छ कि बुध ग्रहले सूर्यलाई परिक्रमा गर्ने क्रममा  न्युटनका नियमहरूले निर्धारित गरेभन्दा थोरै फरक भेटिएकै कारण हामीले न्युटनका नियमहरूको सीमा थाहा पायौं र आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्त प्रतिपादित भयो । आइन्स्टाइनको यो सिद्धान्तले दावी गरेकै मात्रामा सूर्यको नजिकैबाट आउने प्रकाश बाङ्गिएको हुँदैनथ्यो भने यो सिद्धान्त पनि गलत हुन्थ्यो ।

विज्ञानले मिथ्याकरणको अवधारणालाई त्याग गरेको छैन बरु व्यवहारिक र समृद्ध बनाएको छ अनि आफ्नो विधिलाई समेत थप समृद्ध र विश्वासिलो बनाएको छ । यस सन्दर्भमा मित्रहरूको आलोचना किन कार्ल पपरमै अड्किएका होला ?

मूल लेखमा मिथ्याकरणलाई मैले कार्ल पपरसँग जोडेको छैन ।  यस्तो किन गरिएको हो भने पपरको यो अवधारणा माथि केही महत्त्वपूर्ण आलोचनाहरू भकाएछन् । ती आलोचनाहरू पछि मिथ्याकरणको अवधारणामा पनि व्यापक परिवर्तनहरू आएका छन् । इम्रे लकातोस (Imre Lakatos) ले यो अवधारणामा महत्त्वपूर्ण सुधार गरे । त्यसपछि अवलोकनबाट भेटिएका भिन्नताहरूलाई सम्भाव्यतामा बुझ्ने बेसियन (Bayesian) अवधारणा प्रचलित भयो । आजभोलि भने अनेकौँ प्रकृतिका रेन्डमाइज्ड कन्ट्रोल टेस्ट (Randomized controlled test) जस्ता आफ्नो सिद्धान्त गलत साबित हुन सक्ने स्पष्ट र मापनयोग्य परीक्षणहरू पहिले नै तय गर्ने प्रचलन छ । यसरी विज्ञानले मिथ्याकरणको अवधारणालाई त्याग गरेको छैन बरु व्यवहारिक र समृद्ध बनाएको छ अनि आफ्नो विधिलाई समेत थप समृद्ध र विश्वासिलो बनाएको छ । यस सन्दर्भमा मित्रहरूको आलोचना किन कार्ल पपरमै अड्किएका होला ?

निरन्तर संशय वैज्ञानिक विधिको प्राण हो भन्ने विषयमा भने साथीहरूले कुनै आलोचना गर्नु भएको छैन ।

अब  कुन तथ्यमा उभिएर ‘विज्ञान बुझ्ने’ साथीहरूले आजको विज्ञानका यी विशेषताहरूले न्यूटेनियन मेकानिक्स बाहेक अरूलाई समेट्दैन भन्ने दावी गर्नु भएको होला ? र त्यो दावी गरिरहँदा उहाँहरू उक्त लेखमै व्यक्त विज्ञान सम्बन्धी अवधारणामा आधारित हुनुभएको होला ?

साथीहरूले विज्ञानको केही सरलीकृत परिभाषा गर्ने प्रयत्न गर्नु भएको छ । उदाहरणका लागि एउटा परिभाषा यस्तो छ - विज्ञान भनेको मानवीय चेतनाले यथार्थ जान्नु हो । चेतना र यथार्थको सम्बन्ध छ भन्ने कुरा सही छ । तर कविता वा उपन्यास पढेर समेत हाम्रो चेतनाले यथार्थ थाहा पाउँछ ।कविता वा उपन्यास पढ्नु विज्ञान होइन ।

त्यस्तै अर्को एउटा परिभाषा यस्तो छ - विज्ञानको उद्देश्य यथार्थताको वस्तुगत अध्ययन गर्नु हो ।  यो परिभाषा पढेपछि म विज्ञान र खोज पत्रकारिताबिचको अन्तर खुट्याउन प्रयत्न गर्दै छु ।

समाज विज्ञान किन विज्ञान होइन ?

अव एक छिन ‘समाज-विज्ञान’ तिर केन्द्रित होऔँ । यसमा दुई प्रश्नहरू छन् । पहिलो, के समाज-विज्ञान पनि विज्ञान हो ? दोस्रो, के मार्क्सवाद समाज-विज्ञान हो ? समाज-विज्ञान भनेकै के हो भनेर परिभाषित नगरी यी प्रश्नहरूमा पस्न सकिँदैन ।

आलोचक मित्रहरूले समाज-विज्ञानको बुझिने परिभाषा दिनुभएको छैन भन्ने मेरो दावी छ । समाज विज्ञानलाई ‘समाजको वैज्ञानिक अध्ययन गर्ने विधि’ भनेर परिभाषित गर्ने हो भने, हामीलाई सुरूमा ‘विज्ञान’को त्यस्तो परिभाषा चाहिन्छ जो समाज-विज्ञान भन्ने पदावली बाट स्वतन्त्र होस् ।  आलोचक मित्रहरूले ‘विज्ञान’को परिभाषामा समाज-विज्ञान मिसाउने र समाज-विज्ञानको परिभाषामा ‘विज्ञान’ मिसाउने गर्नाले दुवै परिभाषा अस्पष्ट भएको छ । 

समाज विज्ञानलाई ‘समाजको वैज्ञानिक अध्ययन गर्ने विधि’ भनेर परिभाषित गर्ने हो भने, हामीलाई सुरूमा ‘विज्ञान’को त्यस्तो परिभाषा चाहिन्छ जो समाज-विज्ञान भन्ने पदावली बाट स्वतन्त्र होस् । 

समाज विज्ञान ‘मानिसहरूको व्यवहार, मानिसहरू बिचको आपसी सम्बन्ध र मानिस रहने संस्थाहरूको व्यवस्थित अध्ययनको विधा’  हो ।  तर यो परिभाषा पनि सर्वमान्य परिभाषा होइन। समाज-विज्ञानको परिभाषा सर्वमान्य नहोस् भन्नका लागि उत्तरआधुनिकतावादीहरूो महत्वपूर्ण योगदान त छ नै । यसबाहेक व्यक्तिहरूको सोचाइबाट स्वतन्त्र अस्तित्वमा  समाज, संस्थाहरू र सामाजिक नियमहरूको उपस्थिति छ कि छैन भन्ने विषयमा समाज विज्ञानका दार्शनिकहरू बिचमा मतभेद छ । यसले पनि समाज विज्ञानको परिभाषामा भिन्नता ल्याउँछ ।

समाज-विज्ञानका अध्येताहरूले प्रयोग गर्ने विधिलाई आधारभूत रूपमा दुई प्रकारमा विभाजित गर्न सकिन्छ । पहिलो,  सर्भे, गणना वा नियन्त्रित प्रयोगहरू मार्फत पर्याप्त तथ्याङ्कहरू जुटाएर तिनको तथ्याङ्क शास्त्रीय विश्लेषण गर्ने (Quantitative Approach) । दोस्रो, अध्ययन गरिरहेकै समाजको सदस्य जस्तै भएर उनीहरूको रीतिथिति चालचलन संस्कृति आदिको अवलोकन गर्ने, निश्चित समूहका अन्तर्वार्ताहरू गर्ने, भाषा/साहित्य/ऐतिहासिक अभिलेखहरू आदिको अध्ययन गर्ने (Qualitative Approach) । सामान्यतया समाज-विज्ञानका अनुसन्धाताहरूले यी दुवै विधिको उचित प्रयोग एकैसाथ गरिरहेका हुन्छन् । यी विधिबाट समाज अध्ययन गर्दै गर्दा त्यो अध्ययनले तीन मुख्य चुनौतीहरूको सामना गर्नु पर्छ ।

पहिलो, अध्येता स्वयं पनि समाजकै हिस्सा भएकाले उसले सामाजिक यथार्थलाई आफ्ना आग्रह र मान्यताहरूबाट स्वतन्त्र रहेर वस्तुनिष्ठ रूपमा अवलोकन गर्न र निष्कर्ष निकाल्न कति सक्षम हुन्छ भन्ने विषयमा सधैँ प्रश्न रहन्छ । कतिपय विद्वानहरू त यसबाट समाजको व्याख्या नै हुँदैन, समाजप्रति अध्येताको बुझाइ व्यक्त हुन्छ भन्ने मत समेत राख्छन् ।

कुनै पनि समाजमा मानिसहरूको व्यवहार, तिनको आपसी सम्बन्ध र संस्थाहरूको चरित्रलाई मानिसको स्वतन्त्र इच्छाले पार्ने  प्रभाव कति हो  ? अनि मानिसका स्वतन्त्र इच्छाहरू भन्दा बाहिर  समाजको ऐतिहासिक अवस्था र अवस्थितिले  यसलाई कुन सीमासम्म निर्धारण गर्छ ? 

दोस्रो, अध्ययन गर्दै गर्दा  सोही अध्ययनका कारणले समेत समाज फेरिरहेको हुन्छ । यसले समाज विज्ञान र यसका निष्कर्षहरूले समाजको व्याख्या गर्ने सन्दर्भमा  बेग्लै चुनौतीहरू सिर्जना गर्छ ।

तेस्रो, कुनै पनि समाजमा मानिसहरूको व्यवहार, तिनको आपसी सम्बन्ध र संस्थाहरूको चरित्रलाई मानिसको स्वतन्त्र इच्छाले पार्ने  प्रभाव कति हो  ? अनि मानिसका स्वतन्त्र इच्छाहरू भन्दा बाहिर  समाजको ऐतिहासिक अवस्था र अवस्थितिले  यसलाई कुन सीमासम्म निर्धारण गर्छ ?  यी दुई प्रश्नका बिचमा सधैँ अन्तरविरोध रहन्छ । यसको कुनै निश्चित सीमारेखा छैन ।

उसो त विज्ञानमै पनि कहिलेकाहीँ भिन्न भिन्न वैज्ञानिकहरूले एउटै कुराको भिन्न भिन्न व्याख्या गर्न सक्छन् । उदाहरणका लागि वायुको गुणस्तर जाँच गरेर त्यसको आधारमा दिने सुझावका विषयमा वातावरणविद्हरूका बीचमा भिन्नता हुनसक्छ र यसमा अध्ययनका लागि आएको लगानीको स्रोत देखि उनीहरुको व्यक्तिगत र साँस्कृतिक मान्यताहरूसम्मका धेरै कुरा जिम्मेवार  हुन सक्छन् । यहाँ वायुको गुणस्तर जाँच गर्दा भने सबै वातावरणविद्हरूले हावामा कार्वन-डाइ-अक्साइड (CO2) अथवा अरू कुनै ग्यासको मात्रा समान अंकमा निकाल्छन् । अर्थात् वैज्ञानिक विधिले दिने परिणाम समान हुन्छ अनि त्यसका आधारमा गरिने व्याख्या अवस्तुनिष्ठ वा असमान र स्वार्थ्यप्रेरित हुनसक्छ । 

तर समाजविज्ञानको हकमा  स्वतन्त्र इच्छा र समाजको ऐतिहासिक अवस्थितिको बीचमा हुने अन्तरविरोधले  ल्याउने प्रभाव यो भन्दा भिन्न छ । यहाँ व्याख्या मात्रै होइन, व्याख्याका लागि आवश्यक  परिणामहरू नै पनि भिन्न हुन्छन्/हुनसक्छन्  । उदाहरणका लागि आन्दोलनका नेतृत्वमा रहेको मानिसको भूमिकाको प्रश्न यही स्वतन्त्र इच्छासँग सम्बन्धित प्रश्न हो जसले परिणाम नै भिन्न ल्याउँछ र भिन्न परिणामका भिन्न भिन्न व्याख्याहरू हुन्छन् । मानिसको इच्छा वा सोचाइ कसरी समाजको वास्तविकता बन्छ भन्ने अर्को उदाहरण रोबर्ट के. मर्टनको 'स्वत: सिद्ध हुने भविष्यवाणी' (self-fulfilling prophecy) र यसमा भएका/ गरिएका सामाजिक प्रयोगहरूमा देख्न सकिन्छ।

  अब तपाई आइन्स्टाइनको ‘जीवनकै गम्भीर भूल’ को उदाहरण दिएर विज्ञानमा पनि वैज्ञानिकको व्यक्तिगत वा सांस्कृतिक पूर्वाग्रहहरू पूर्ण रूपमा हटाउन सकिँदैन र समाज विज्ञानमा पनि यसलाई कम गर्न प्रयत्न गरिएकै हुन्छ भन्न सक्नु हुन्छ । विज्ञानले पनि गतिमै भएको वस्तुको अध्ययन गर्ने हो यसर्थ समाज गतिमा हुने भएकैले समाज-विज्ञान विज्ञान नहुन मिल्दैन भन्न सक्नुहुन्छ । यी दुई पक्षको मात्रात्मक भिन्नता समाज-विज्ञान र विज्ञानमा कति हुन्छ भन्नेमा पनि बहस गर्न सकिएला । तर समाजको अवस्था र गतिलाई स्वतन्त्र इच्छाले कति प्रभाव पार्छ र समाजको ऐतिहासिक अवस्थितिले यसलाई कति निर्धारण गर्छ भन्ने विषयमा प्रत्येक समाजमा हुने अन्तरविरोध समाज-विज्ञान विज्ञान होइन भन्न पर्याप्त छ । सामान्य रूपमा व्यक्त गर्दा  अध्ययनको Qualitative Approach र यी तिन चुनौतीहरूका कारण समाज विज्ञानलाई माथि चर्चा गरिएको विशेषताहरू सहितको विज्ञानको परिभाषा भित्र राख्न नसकिएको हो  ।

अव मार्क्सवाद समाज विज्ञान हो कि होइन भन्ने प्रश्नमा बीचार गरौँ । मार्क्सवाद समाज विज्ञानको  परिभाषामा भनिएजस्तो  जस्तो  समाज अध्ययनको विधा मात्रै होइन । यो समाज बदल्ने प्रयत्न र औजार समेत हो । मूल लेखमा मार्क्सवादका आधारभूत विशेषताहरूमै यसको उल्लेख भइसकेको छ । यस अर्थमा आज समाज-विज्ञानले मार्क्सवादबाट धेरै कुरा सिकेको भए पनि मार्क्सवाद समाज विज्ञान भने होइन । तपाई माथि दिइएको समाज विज्ञानको परिभाषा बुर्जुवा परिभाषा हो भन्ने दावी गर्न सक्नुहुन्छ । अनि समाज विज्ञान भनेको समाजको अध्ययन गर्ने र बदल्ने ज्ञान समेत हो पनि भन्न सक्नुहुन्छ । यसले मार्क्सवादलाई समाज-विज्ञान बनाउन सक्छ, तर आजको अर्थमा विज्ञान भने बनाउँदैन ।

यस बाहेक मूल लेखमा मार्क्सले उनको समयको समाज-विज्ञानले अपेक्षा गर्ने तटस्थता र नैतिक मूल्यका आधारमा समाजको नियम बनाउने वा व्याख्या गर्ने प्रयत्नको आलोचना गरेको कुरा उल्लेख भैसकेको छ । आलोचक मित्रहरूले ‘बुर्जुवा’ भनिरहेको आजको समाज-विज्ञानमा पनि यो चरित्र कायम छ र अझ बलशाली भएको छ । यस विषयमा आलोचक मित्रहरू र म एकै ठाउँमा छौ भन्ने मेरो अनुमान छ ।

सत्य पत्ता लगाउने विधि : ‘विज्ञान मात्र’ कि ‘विज्ञान पनि’?

आलोचक साथीहरूको मूल लेखमाथि अर्को एउटा महत्त्वपूर्ण प्रश्न छ : कुनै कुरा विज्ञान नै होइन भने त्यसलाई किन पछ्याउने ? विज्ञान बाहेकको अरू कुनै सिद्धान्तले पनि आजको युगमा पथ प्रदर्शन गर्न सक्छ ? सत्यसम्म पुग्ने एक मात्रै मार्ग विज्ञान हो र विज्ञान बाहेक सत्यको नजिक पुर्‍याउने अरू कुनै यस्तो मार्ग छैन भन्ने मान्यतामा यो प्रश्न उभिएको छ । विज्ञानले भरपर्दो कुरा बताउँछभन्नु र विज्ञानले मात्र भरपर्दो कुरा बताउन सक्छभन्नु - यी दुई फरक दावी हुन् । पहिलो दावी सही छ, तर पहिलोले  दोस्रो दावीलाई स्वतः प्रमाणित गर्दैन ।

विज्ञान र त्यसैको जगमा उभिएको प्रविधिले मानव सभ्यतालाई दिएको योगदानमा कुनै शङ्का वा संशय गर्नुपर्ने छैन । तर वैज्ञानिकतावादको केन्द्रीय दावी अर्थात् जे-जति सत्य छन् त्यो सबै विज्ञानले र विज्ञानले मात्रै पत्ता लगाउन सक्छ, वा सक्नुपर्छभन्ने दावी भने गलत र आलोचना योग्य छ ।

प्रचलित दार्शनिक शब्दावलीमा दोस्रो दावीलाई "वैज्ञानिकतावाद" (scientism) भनिन्छ । अर्थात् विज्ञान नै होइन भने मार्क्सवादलाई कसरी पथप्रदर्शक सिद्धान्त भन्न र मान्न सकिन्छ भन्ने  प्रश्न यही वैज्ञानिकतावादमा उभिएको छ । यही प्रस्ट पारौँ - यो वैज्ञानिकतावादी प्रवृत्ति सँग असहमत हुनु भनेको विज्ञान अथवा वैज्ञानिक विधिले प्रमाणित तथ्यहरू स्वीकार नगर्नु होइन । विज्ञानको विधि प्रयोग गरेर सत्य पत्ता लगाउने प्रयत्नको आलोचना पनि होइन । विज्ञान र त्यसैको जगमा उभिएको प्रविधिले मानव सभ्यतालाई दिएको योगदानमा कुनै शङ्का वा संशय गर्नुपर्ने छैन । तर वैज्ञानिकतावादको केन्द्रीय दावी अर्थात् जे-जति सत्य छन् त्यो सबै विज्ञानले र विज्ञानले मात्रै पत्ता लगाउन सक्छ, वा सक्नुपर्छभन्ने दावी भने गलत र आलोचना योग्य छ ।

एकपटक वैज्ञानिकतावादको केन्द्रीय दावीलाई नै विज्ञानको कसीमा जाँचेर हेरौँ । किनभने, निरन्तरको संशय (Continuous Scepticism) विज्ञानको एउटा आधारभूत विशेषता हो । हजारौँ हरिया सुगाहरूको अवलोकन गरेर विज्ञानको विधिले भन्न सक्छ कि सुगाको रङ हरियो हुन्छ । तर जब कसैले एउटा मात्रै  चम्किलो पहेँलो रङको ल्युटिनो सुगा अथवा  सेता रङका एल्विनो सुगा वा निलो रङको सुगा भेट्टाउँछ, सुगाको रङ हरियो हुन्छभन्ने ‘वैज्ञानिक निष्कर्ष’  फेरिन्छ । ठिक यसरी नै विज्ञान बाहेकको  त्यस्तो कुनै ज्ञान प्राप्तिको विधि भेट्टाउन सकिन्छ जसले दिने निष्कर्षको सत्यतामा संशय नहोस् ?

प्राचीनकालदेखिनै गणित सत्य अन्वेषणको विज्ञान भन्दा बेग्लै विधि थियो ।

यसका लागि एकपटक गणित (Mathematics) लाई  हेरौँ । म्याथमेटिक्स शब्दको ऐतिहासिक जरा पनि भारोपेली मूल रूप *mendh सम्मै पुग्छ जसको अर्थ सिक्नु भन्ने हुन्छ । संस्कृत शब्द मेधाको स्रोत पनि यही हो । पारसी (Zoroastrian) धर्मको पवित्र ग्रन्थ अवेस्ताका देवता अहुर माज्दामा आएको माज्दा शब्दको स्रोत पनि यही हो जसको अर्थ ज्ञान/महाज्ञानी  हुन्छ ।  यही स्रोतबाट ग्रिक शब्द माथेमा (máthēma) बन्यो जसको अर्थ अध्ययन हुन्थ्यो । अनि माथेमा बाट बनेको ग्रिक शब्द ‘माथेमातिकोस’( Mathēmatikós) को अर्थ सिकाइ प्रति समर्पित भन्ने हुन्थ्यो । आजको Mathematics शब्द यही ‘माथेमातिकोस’ बाट बनेको हो ।  अर्थात् प्राचीनकालदेखिनै गणित सत्य अन्वेषणको विज्ञान भन्दा बेग्लै विधि थियो ।

समय क्रममा यो शब्दको अर्थ फेरिँदै गयो र आज यसलाई मात्रा(quantity), संरचना(structure), दिक्/स्थान (space), र परिवर्तन (change)का ढाँचाहरू (patterns)को अध्ययनभनेर परिभाषित गरिन्छ । अमूर्त स्वरूप/ढाँचाहरू (Forms) को अध्ययन भन्ने अर्थमा यसलाई Formal science पनि भनिन्छ । अनि गणितका तिन आधारभूत विशेषता छन् जसले गणितलाई विज्ञानबाट अलग बनाउँछ ।

पहिलो, गणित स्वयं सिद्ध भनिने अवधारणाहरू (axioms) वा परिभाषा (definitions) बाट सुरु हुन्छ र निगमनात्मक तर्क (deductive reasoning) को विधिमार्फत्  प्रमेय र निष्कर्षहरू (theorems and conclusions) निकालिन्छन् ।

दोस्रो,  कुनै गणितीय प्रमेय आफ्नो स्वयं सिद्ध अवधारणा र तर्कका नियमहरूको आधारमा प्रमाणित भएपछि यसलाई प्रत्यक्ष अवलोकन वा प्रयोगले गलत साबित गर्न सक्दैन ।  

तेस्रो, अझ गणितले अमूर्त संरचना ढाँचा वा सम्बन्धहरूको समेत अध्ययन गर्न सक्छ ।

तपाई पृथ्वीमा अथवा सुन्तलामा यस्ता थुप्रै त्रिभुजहरू बनाउन सक्नु हुन्छ जसका तीन कोणहरूको योगफल १८० डिग्री हुँदैन । तर यसले युक्लिडियन ज्यामितिका त्रिभुजका तीन कोणहरूको योगफल १८० डिग्री हुन्छ भन्ने प्रमेयलाई गलत साबित गर्दैन बरु तपाइको त्रिभुजलाई युक्लिडियन होइन भन्छ ।

इतिहासमा स्वयं सिद्धलाई ‘स्वतः प्रमाणित सत्य’ मान्ने परम्परा थियो, तर आधुनिक गणितमा तिनलाई अनिवार्य रूपमा स्वयं प्रमाणित हुनुपर्छ वा भौतिक रूपमा सत्य हुनै पर्छ भन्ने पनि मानिँदैन।

त्यसो भए स्वयंसिद्ध भनिएका गणितीय मान्यताहरूलाई के ले प्रमाणित गर्छ त ? केहीले पनि गर्दैन । इतिहासमा स्वयं सिद्धलाई ‘स्वतः प्रमाणित सत्य’ मान्ने परम्परा थियो, तर आधुनिक गणितमा तिनलाई अनिवार्य रूपमा स्वयं प्रमाणित हुनुपर्छ वा भौतिक रूपमा सत्य हुनै पर्छ भन्ने पनि मानिँदैन। यिनीहरूलाई  कुनै गणितीय प्रणालीका प्रारम्भिक मान्यता (assumptions) का रूपमा मात्रै स्वीकार गरिन्छन् । गणितीय प्रणालीभित्र कुनै मान्यता स्वयं सिद्ध हुनका लागि आन्तरिक सुसंगतता (consistency) आवश्यक र पर्याप्त हुन्छ अर्थात् एउटै गणितीय प्रणालीको अर्को कुनै स्वयं सिद्ध मान्यतासँग त्यो विरोधाभासी नहुन पर्छ ।

यसरी अवलोकन वा प्रयोगहरूबाट आएका वस्तुगत तथ्यहरूले प्रमाणित अथवा अप्रमाणित नगर्ने हुनाले गणित विज्ञान होइन । तर गणित विज्ञान हुनु वा नहुनुले गणितको महत्वलाई कम गर्दैन ।

कुनै विषय विज्ञान नहुने बित्तिकै त्यो अवैज्ञानिक हुदैन । गणित मात्रै होइन, सौन्दर्यशास्त्र, तर्कशास्त्र वा साहित्य जस्ता अनेकौँ विज्ञानेतर (non-science) विषय छन् जो विज्ञान होइनन् तर हाम्रो जीवनमा तिनको महत्त्वपूर्ण भूमिका छ ।

यसले बताउँछ कि कुनै विषय विज्ञान नहुने बित्तिकै त्यो अवैज्ञानिक हुदैन । गणित मात्रै होइन, सौन्दर्यशास्त्र, तर्कशास्त्र वा साहित्य जस्ता अनेकौँ विज्ञानेतर (non-science) विषय छन् जो विज्ञान होइनन् तर हाम्रो जीवनमा तिनको महत्त्वपूर्ण भूमिका छ ।

प्राणी जगतमा थुप्रै प्राणीहरू छन् जसका आँखामा रङ्ग छुट्याउन  दुइ प्रकारका कोषिकाहरू मात्रै हुन्छन् । हामी मानिससँग यस्ता तीन प्रकारका कोषिकाहरू छन् । यसकारण हाम्रा लागि  रङहरूको यत्रो विशाल संसार छ । अझ चराहरूसँग त यस्ता कोषिकाहरू चार प्रकारका हुन्छन् ।  दु:खको कुरा, वैचारिकीमा विविधताको यस्तै विशालता र यसले सिर्जना गर्ने सौन्दर्य नेपाली वामपन्थी/मार्क्सवादीहरूको एउटा हिस्साको मस्तिष्कमै छैन । यसकारण हामी की वैज्ञानिक देख्छौ कि अवैज्ञानिक । अनि हाम्रो मनोगतवाद कति प्रबल छ भने मूल लेखमै पथप्रदर्शक सिद्धान्त मानिएको मार्क्सवादलाई अवैज्ञानिक प्रमाणित गर्न खोजियो भनेर प्रतिवाद भैरहेको छ ।

विज्ञान नहुँदैमा मार्क्सवादलाई पथप्रदर्शक सिद्धान्त मान्न नहुने कुनै कारण छैन । आज पनि यस समाजलाई बुझ्न र बदल्ने सपनाका लागि मार्क्सवाद सबैभन्दा बलियो सिद्धान्त हो । तर यो विज्ञान भने होइन ।

दु:खको कुरा, वैचारिकीमा विविधताको यस्तै विशालता र यसले सिर्जना गर्ने सौन्दर्य नेपाली वामपन्थी/मार्क्सवादीहरूको एउटा हिस्साको मस्तिष्कमै छैन ।

समाज-विज्ञान शब्दमै विज्ञान छ भनेर तर्क गर्न सकिन्छ । गणितलाई formal Science नै भन्छन् भनेर तर्क गर्न सकिन्छ । तर नाममा विज्ञान हुनु र यथार्थमा विज्ञान हुनुका बिच त्यति नै अन्तर छ जति नेपालका पार्टीहरूका नाममा कम्युनिस्ट हुनु र ती पार्टीहरू यथार्थमा कम्युनिस्ट हुनका बिचमा छ ।

वैज्ञानिकतावादको खिर : सत्य नजिक नपुगिएला भन्ने पिर

अव एकपटक अर्को एउटा प्रश्नमा विचार गरौँ । यस्तो किन भएको होला कि हामीकहाँ वेददेखि मार्क्सवादसम्म सबै सबैलाई विज्ञान प्रमाणित गर्नु परेको होला ? यसको जरा विज्ञानसँग सम्बन्धित प्राविधिक विद्यामा देखिएको आशक्तिबाट बुझ्न सकिएला । स्कुलका विद्यार्थीका सपना सोध्दा डाक्टर, इन्जिनियर वा यस्तैहरू पेसा बताउने र समाजशास्त्र वा राजनीतिशास्त्र जस्ता मानविकी सङ्काय सम्बन्धित पेशाहरूमा अरुचि देखाउने परिस्थिति अझै विद्यमान छ । पश्चिमा समाजले विज्ञान र वैज्ञानिक प्रयोगहरूबाट आर्थिक समृद्धि र हैकम हासिल गर्‍यो भन्ने जुन बुझाइ हाम्रो चिन्तनमा हावी भयो,  यसले हाम्रो सामाजिक मनोविज्ञानमा गहिरो लघुताभास सिर्जना गरेको छ । यसले हाम्रा सामाजिक आदर्शहरूलाई नजानिकनै पश्चिम प्रेरित गरिरहेको छ । सम्भवतः यसै लघुताभासले दक्षिण एसिया मै सदगुरू जस्ता पण्डाहरूदेखि क्रान्तिकारी मार्क्सवादीहरू समेतलाई आफ्नो सोच्ने तरिकालाई विज्ञान भन्न प्रेरित गरेको छ ।

पश्चिमा समाजले विज्ञान र वैज्ञानिक प्रयोगहरूबाट आर्थिक समृद्धि र हैकम हासिल गर्‍यो भन्ने जुन बुझाइ हाम्रो चिन्तनमा हावी भयो,  यसले हाम्रो सामाजिक मनोविज्ञानमा गहिरो लघुताभास सिर्जना गरेको छ ।

मूल लेख प्रकाशित भएपछि एउटा खेमाका मित्रहरूका आलोचना र एक स्तरको बहस अपेक्षित नै थियो । यस क्रममा देखिएको आक्रोश र आक्षेपहरूले भने आजको क्रान्तिकारी आन्दोलनलाई धेरै ठिक दिशामा लैजाँदैनन् । तर यो आक्रोश र आक्षेपहरू अकारण देखिएको छैन । जुनसुकै समाजले नयाँ विचार ग्रहण गर्दा ऐतिहासिक भौतिकवादी विकास क्रममा समाजको  स्थान र अवस्थितिकै आधारमा गर्छ । यस्तो हुँदैन थियो भने इतिहासले दिएको वस्तुगत परिस्थितिको जगमा उभिएर मात्रै  नयाँ इतिहासको निर्माण हुन्छ, मानिसको मनोगत चाहनाले मात्रै हुँदैन भनेर मार्क्सले जोड दिनुपर्ने थिएन ।

हाम्रो समाजको एउटा हिस्साको संस्कृतिमा भक्तिमार्ग गहिरो जरा गाडेर बसेको थियो । यस कारण जब हामीले मार्क्सवाद ग्रहण गर्‍यौं, एक अर्थमा मार्क्सवादको पनि भक्त भयौं । हाम्रा कम्युनिस्ट पार्टीहरूमा समेत नेताहरूको देवत्वकरण भयो । यस्तो ऐतिहासिक परिस्थितिमा उभिएको समाजका सदस्य भएकाले आफ्ना पूर्वनिर्धारित मान्यताहरू प्रतिको संशय र आलोचनामा यत्तिको आक्षेप र आक्रोश स्वभाविक छ । तर नयाँ वाम आन्दोलनको कार्यभार उठाउन सक्षम पुस्ता निर्माण गर्ने हो भने हामीले हाम्रो आलोचनाको संस्कृतिमा पनि एकपटक गम्भीर विमर्श गर्न जरुरी छ ।

यति सबै पछि पनि आज मार्क्सवाद विज्ञान नै हो भन्ने दावी र जिरह गर्न सकिन्छ । तर यसका लागि विषयगत आन्तरिक अनुशासनसहित  व्यवस्थित (systematic) तवरले  गहन र गहिरो (rigorous) अध्ययन नै विज्ञान हुनका लागि पर्याप्त हुन्छ भनेर पुग्दैन । हुन त इतिहासको कुनै कालमा यत्ति विशेषता  विज्ञान हुनका लागि पर्याप्त मानिन्थ्यो र थियोलोजी जस्ता विषयहरू समेत विज्ञान मानिन्थ्यो । तर आज यस्तो दावी गर्ने हो भने फरक फरक अध्ययन-अनुसन्धान विधि भएका समाज-विज्ञान र माथि उल्लेख गरिएको विज्ञान दुवैलाई समेट्ने विशेषताहरू सहितको यस्तो परिभाषा बनाउन जरुरी छ जसले आलोचक मित्रहरूको दावी पनि पुष्टि होस्, र अविज्ञान/छद्म विज्ञानलाई  विज्ञानबाट अलग्याउन पनि सकियोस् । यस्तो नगर्दासम्म मार्क्सवाद वर्गीय समाजका अन्तरनिहित  सत्यहरू पत्ता लगाउने र समाज बदल्न सघाउने उत्तम औजार त रहिरहन्छ तर त्यो विज्ञान हुँदैन ।

अन्तिममा केही अग्रज साथीहरूले मलाई मेरो अध्ययनको सीमा विस्तार गर्न अनुरोध गर्नुभएको छ । मलाई मेरो अज्ञानताको विशालताको बोध छ र म मेरो अध्ययन बढाउन निरन्तर प्रयत्नशील छु । बहसमा सहभागी सबैप्रति कृतज्ञ छु ।

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्