राष्ट्रपति ट्रम्पको आत्मरति र चीन तथा रूसको धैर्यता
एआइको सहयोगमा तयार प्रतिकात्मक तस्विर
आर्थिक, सैनिक, प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध-विस्तारका दृष्टिबाट चीन र रूसले अमेरिकाको शीत युद्धको अन्त्यपछि कायम एकल वैश्विक प्रभुत्वलाई तोडिसकेका छन् । संयमित चीन र रूस ट्रम्प नेतृत्वको उदण्ड अमेरिकाको निमित्त पराजित गर्न नसक्ने चुनौती बनेका छन् ।
अमेरिकाले एकल ध्रुवीय वैश्विक हैसियत, जुन शीत युद्धको अन्त्यपछि स्थापित भएको थियो, लाई निरन्तरता दिन एउटा पागल सिंहजस्तै चौतर्फी हिंस्रक, घुसपैठ, प्रोक्सी राज्यहरूको उपयोग आदि कार्यनीति तथा रणनीतिहरू आक्रामकढङ्गले अवलम्बन गर्दै आइरहेको छ । त्यसले एक्काइसौँ शताब्दी खासगरेर, यसको दोस्रो दशकदेखि वैश्विक राजनीतिक शक्ति सन्तुलन पश्चिमी गोलार्द्धबाट पूर्वी गोलार्द्धतर्फ सरेको यथार्थतालाई आफ्नो एकल विश्व प्रभुत्वको सन्निकट अन्त्यको रूपमा बुझेर भरसक त्यसलाई रोक्ने अन्तिम प्रयत्न गर्दैछ । अमेरिकी साम्राज्यवादले उसको यो विघटनकारी अवस्थालाई रोक्ने आशाका साथ डोनाल्ड जे. ट्रम्प नाउँको एउटा पात्रलाई दोहोर्याएर ह्वाइट-हाउस प्रवेश गराएको छ ।
निश्चयै पनि यो कामको निमित्त एउटा गैर-राजनीतिक, हठी, सनकाह, आत्मरति वा आफ्ना सौन्दर्य र गुणमा मग्न रहने (narcissist), भ्रष्टतन्त्र (kleptocracy) मा विश्वास गर्ने व्यक्ति आवश्यक हुन्थ्यो । यी विशेषताहरूद्वारा लैश नभएको व्यक्तिले अमेरिकी साम्रज्यवादको अन्त्यको सँघारमा पुगेको एकल वैश्विक महाशक्तिको हैसियतलाई जोगाउन आवश्यक पर्ने नरसंहार, सैन्य हस्तक्षेप, सत्ता परिवर्तन, प्रोक्सी राज्यहरूलाई आफ्ना प्रतिस्पर्धी राष्ट्रहरूका विरुद्ध आक्रामक बन्न उक्साहट, जातीय सफाया यहाँसम्म कि आवश्यक परे आणविक हतियारहरूको प्रयोग र तेस्रो विश्वयुद्धको सुरुवात जस्ता गतिविधिहरू गर्न सक्दैनथ्यो । यस अर्थमा अमेरिकी साम्राज्यवादले यी विशेषताहरूद्वारा लैश डोनाल्ड जे. ट्रम्पलाई देशको कार्यकारी प्रमुख पुनः चयन गरेर सही काम गरेको छ । डोनाल्ड जे. ट्रम्प यस कामका लागि सबैभन्दा उपयुक्त पात्र हुन् र उनका गतिविधिहरूले यसलाई पुष्टि गरिरहेका छन् ।
तर के यसको अर्थ राष्ट्रपति ट्रम्प अमेरिकी एकल विश्वव्यवस्थाको अन्त्य र बहुध्रुवीय विश्वव्यवस्थाको औपचारिक घोषणाई रोक्न सफल हुनेछन् त ?
यसो हुन अब कदापि सम्भव छैन । पुँजीवादको असमान विकासको आधारभूत नियम मुताबिक एक्काइसौँ शताब्दीको दोस्रो दशकदेखि चीन र रूस अमेरिकाको एकल वैश्विक प्रभुत्वको निमित्त अभेद्य चुनौती बनेर खडा भएका छन् । आर्थिक, सैनिक, प्राविधिक र अन्तर्राष्ट्रिय सम्बन्ध-विस्तारका दृष्टिबाट चीन र रूसले अमेरिकाको शीत युद्धको अन्त्यपछि कायम एकल वैश्विक प्रभुत्वलाई तोडिसकेका छन् । संयमित चीन र रूस ट्रम्प नेतृत्वको उदण्ड अमेरिकाको निमित्त पराजित गर्न नसक्ने चुनौती बनेका छन् ।
त्यसका बावजुद राष्ट्रपति ट्रम्प चीन र रूसको आर्थिक प्रगतिका जराहरू काट्न, विश्वव्यापी रूपमा तीव्ररूपमा विस्तार हुँदै गइरहेको तिनीहरूको प्रभावहरूको घाँटी निमोठ्न, सैन्य एवं प्रविधिको विकास र विस्तारलाई नियन्त्रण गर्न प्रयत्नरत छन् । प्रोक्सी युक्रेनलाई नेटोद्वारा रूसका विरुद्ध युद्ध गर्न उक्साउने; सिरियामा सत्ता परिवर्तन; आफ्नो प्रोक्सी स्टेट इजरायलमार्फत् गाजामा जातीय सफाया; २० लाख मानिसहरूलाई उनीहरूको भूमिबाट विस्थापन; अन्तर्राष्ट्रिय सहयोग निकायहरूमाथि प्रतिबन्ध लगाएर गाजामा भोकमरी पैदा गर्ने र त्यसलाई युद्ध हतियारको रूपमा उपयोग गर्ने; गाजामाथि अधिग्रहण गर्ने; इजरायलसित मिलेर इरानमाथि पटकपटक सैन्य आक्रमण गर्ने; इरानी पोर्टहरूमाथि प्रतिबन्ध लगाउने; ग्रिनल्याण्ड अधिग्रहणको अडान, जननिर्वाचित राष्ट्रपति निकोलस मदुरोको गुण्डागर्दी शैलीमा अपहरण गरी त्यहाँको तेलमाथि कब्जा; क्युबामाथि नाकाबन्दीहरू र कब्जाको योजना; रूस र चीन विरुद्ध प्राथमिक र द्वितीय नाकाबन्दीहरू; स्टेट अफ हर्मुज र खर्ग आइल्यान्ड कब्जाको योजना आदि कदमहरूलाई त्यसै सन्दर्भमा बुझ्नुपर्दछ ।
चीन र रूसले यी क्षेत्रहरूमा अमेरिकाले अवलम्बन गरेका यी नीतिहरूको प्रत्यक्षरूपले प्रतिकार नगरेको कुरालाई राष्ट्रपति ट्रम्पले रूस र चीनलाई पछि हटाउन आफू सफल भएको महशुस गरेको हुन सक्दछ । आत्मरति वा आफ्नै सौन्दर्य र गुणमा मग्न रहने राष्ट्रपति ट्रम्पबाट योभन्दा अर्को कुराको अपेक्षा पनि गर्न सकिन्न ।
चीन र रूस विश्वशक्ति राष्ट्रहरू हुनुका बावजुद तिनले संयुक्त राष्ट्रसङ्घको घोषणापत्र र शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तहरू अनुकूल छिमेकी र मित्रराष्ट्रहरूसित सम्बन्ध कायम गर्दछ । त्यस परिप्रेक्षमा आफ्ना कतिपय हितहरूमाथि असर पर्ने बित्तिकै तिनीहरूमाथि दबाब सिर्जना गरेर आफ्ना स्वार्थहरूलाई सुरक्षित गर्ने भन्ने हुँदैन । चीन र रूसले अमेरिकी साम्राज्यवादद्वारा सिर्जित यी समस्याहरूका विरुद्ध आक्रामक बाटो अपनाउनुका विपरीत त्यसबाट पन्छिने नीति अवलम्बन गर्दै आएका छन् । रूस र चीनका यस प्रकारका नीतिहरूले तात्कालिक रूपमा उनीहरूले ती मुलुकहरूमा आफ्ना स्वार्थहरूको संरक्षण गर्न नसकेको जस्तो देखिए पनि दीर्घकालीन दृष्टिले ती मुलुकहरूसितको सम्बन्धमा तिनीहरू अरू बढी सुरक्षित छन् । यो स्थितिलाई रूस र चीनको पराजय र आफ्नो विजय ठान्ने राष्ट्रपति ट्रम्पको संश्लेषण आत्मरतिको पराकाष्ठा हो । अमेरिकी साम्राज्यवादले डोनाल्ड ट्रम्पमार्फत् आफ्नो एकल वैश्विक प्रभुत्वलाई निरन्तरता दिन जतिसुकै कडा मिहिनेत गरेपनि त्यसले बहु-ध्रुवीय विश्व परिस्थितिको विधिवत उदयलाई रोक्न सक्ने छैन । अमेरिकी शासकहरूले चीन र रूसको यो धैर्यतालाई पराजय वा मुर्दा-शान्ति मान्ने गल्ती नगरून् । जुन क्षण अमेरिकी शासकहरूका हस्तक्षेपकारी गतिविधिहरू तिनीहरूका राष्ट्रिय सुरक्षामा प्रत्यक्ष खतरा बनेको तिनीहरूले महशुस गर्नेछन् त्यो क्षण विश्वमा प्रलय आउनेछ । त्यतिबेला अमेरिकी शासकहरू र तिनका दलालहरूले पछुताउने समय पनि पाउने छैन ।
घुँडा टेक्न अस्वीकार गर्ने पुस्ता: जेन जी वर्गीय संघर्ष हो
तपाईंसँग आफ्नो भन्ने केही हुनेछैन: रेन्टियर पुँजीवादको युग
कक्रोच लोकतन्त्र: निशस्त्र र खतरनाक
राष्ट्रियता: नेपालको सन्दर्भमा
डिजिटल फासीवाद: पुँजीवादको उच्चतम चरण
बाजजस्तो ट्रम्प र डरपोक युरोपेली नेताहरू
मार्क्सवादलाई विज्ञान भन्नुको तात्पर्य के हो?
प्रतिक्रिया