फिडेल क्यास्ट्रो १०० वर्षमा: इतिहासले उनलाई निर्दोष सावित गरिसकेको छ!

 

समाजवाद नै जनता, उत्पीडित, शोषित र लुटिएकाहरूका लागि आशा, एक मात्र आशा र एक मात्र मार्ग हो र रहनेछ। समाजवाद नै एक मात्र विकल्प हो।”

–  फिडेल क्यास्ट्रो रुज

फिडेल क्यास्ट्रो रुजको जन्म १३ अगस्ट १९२६ मा भएको एक शताब्दीपछि पनि उनीप्रति लक्षित घृणामा खासै कमी आएको छैन। उनको मृत्यु भएको झन्डै दस वर्ष बितिसक्दा पनि उही शब्दावली उल्लेखनीय निरन्तरताका साथ दोहोरिइरहेको छ–  “तानाशाह”, “स्वेच्छाचारी शासक”, “सर्वसत्तावादी।” फिडेललाई बदनाम गरिन्छ, क्युबाली क्रान्तिलाई निन्दा गरिन्छ, त्यसका उपलब्धिहरूलाई अस्वीकार गरिन्छ वा असहज फुटनोटमा सीमित गरिन्छ, जबकि जनवरी १९५९ अघि अस्तित्वमा रहेको क्युबालाई योजनाबद्ध ढङ्गले दृष्टिबाट ओझेलमा पारिन्छ।

यस निरन्तरतामा एउटा स्पष्ट सत्य उजागर हुन्छ। पुँजीवादी संसारले हानिरहित भूतहरूसँग लड्न दशकौँ समय खेर फाल्दैन। फिडेलका शत्रुहरूका लागि असह्य बनेको कुरा केवल एक महान् क्रान्तिकारीको स्मृति मात्र होइन, बरु क्युबाली क्रान्तिले व्यवहारमै सिद्ध गरिदिएको सत्य हो: पुँजीवादी स्वामित्व शाश्वत वा स्थायी हुँदैन, साम्राज्यवादी प्रभुत्वलाई तोड्न सकिन्छ, र राजनीतिक सत्ता पुँजीको नाफाका लागि नभई श्रमजीवी जनताको आवश्यकता अनुसार समाजलाई पुनर्गठित गर्न दृढ संकल्पित शक्तिहरूको हातमा पुग्न सक्छ।

आफ्नो अदालतको बहसकै क्रममा फिडेलले त्यो ऐतिहासिक बयान दिएका थिए, जसको अन्तिम वाक्य उनको नामसँग सधैँका लागि जोडियो: मलाई दोषी ठहर गर्नुहोस्। यसले केही फरक पार्दैन। इतिहासले मलाई निर्दोष साबित गर्नेछ।”

२६ जुलाई १९५३ मा क्रान्तिकारी यात्राको सुरुवात भयो, जब २६ वर्षीय फिडेलको नेतृत्वमा युवा विद्रोहीहरूको एउटा समूहले फुल्हेन्सियो बातिस्ताको तानाशाहीविरुद्ध सान्तियागो दे क्युबास्थित मोन्काडा ब्यारेकमा आक्रमण गर्‍यो। सैन्य दृष्टिकोणबाट यो अभियान असफल भयो। पक्राउ परेपछि धेरै क्रान्तिकारीहरूको हत्या गरियो भने फिडेललाई गिरफ्तार गरी मुद्दा चलाइयो र जेल हालियो। तैपनि, मोन्काडा त्यो राजनीतिक प्रक्रियाको प्रस्थानविन्दु बन्यो जसले ६ वर्षभन्दा कम समयमै बातिस्ताको सत्ता ढालेर क्युबाको इतिहासको दिशा नै बदल्यो।

आफ्नो अदालतको बहसकै क्रममा फिडेलले त्यो ऐतिहासिक बयान दिएका थिए, जसको अन्तिम वाक्य उनको नामसँग सधैँका लागि जोडियो: मलाई दोषी ठहर गर्नुहोस्। यसले केही फरक पार्दैन। इतिहासले मलाई निर्दोष साबित गर्नेछ।” ती तानाशाही अदालतसमक्ष एक युवा क्रान्तिकारीका विद्रोही शब्दहरू थिए, तर तिनले अझ गहिरो भावना व्यक्त गरेका थिए: क्युबाली जनता अब वैदेशिक प्रभुत्व र पुँजीवादी शोषणको सिकार मात्र बनेर बस्दैनन्, बरु आफ्नै इतिहासका सचेत निर्माता बन्नेछन् भन्ने दृढ विश्वास।

बातिस्ताको सट्टा उही सामाजिक व्यवस्थाको अझै 'सभ्य' व्यवस्थापक आएको भए, वासिङ्टनलाई त्यसले खासै फरक पार्ने थिएन। पुँजीवादी हित र अमेरिकी प्रभुत्व सुरक्षित भएसम्म तानाशाही आफैँमा संयुक्त राज्य अमेरिकाका लागि कहिल्यै चिन्ताको विषय थिएन।

जनवरी १९५९ को विजय केवल एउटा सरकारको ठाउँमा अर्को सरकार आउनु मात्र थिएन। यदि बातिस्ताको सट्टा उही सामाजिक व्यवस्थाको अझै 'सभ्य' व्यवस्थापक आएको भए, वासिङ्टनलाई त्यसले खासै फरक पार्ने थिएन। पुँजीवादी हित र अमेरिकी प्रभुत्व सुरक्षित भएसम्म तानाशाही आफैँमा संयुक्त राज्य अमेरिकाका लागि कहिल्यै चिन्ताको विषय थिएन।

क्रान्तिले मौलिक रूपमै फरक काम गर्‍यो। भूमिसुधारले ठूला जमिन्दारहरूलाई प्रहार गर्‍यो। राष्ट्रियकरणले विदेशी एकाधिकार र क्युबाली पुँजीपति वर्गलाई चुनौती दियो। अर्थतन्त्रका मुख्य क्षेत्रहरूलाई क्रमिक रूपमा पुँजीवादी स्वामित्वबाट मुक्त गरियो। क्युबाले अमेरिकाप्रति आर्थिक र राजनीतिक रूपमा बाँधिएको निर्भरताको साङ्लो तोड्यो र समाजवादी निर्माणको बाटो खोल्यो। वास्तविक परिवर्तन र उथलपुथल त यहाँ थियो।

क्रान्तिभन्दा अघि, क्युबा औपचारिक रूपमा स्वतन्त्र भए पनि आर्थिक रूपमा पराधीन थियो। विदेशी पुँजीमा अत्यधिक निर्भर अर्थतन्त्रमा चिनी उद्योगको दबदबा थियो। ठूला-ठूला मौजाहरुसँगै ग्रामीण भेगमा चरम गरिबी व्याप्त थियो। हवानालाई क्यासिनो, विलासी होटल, वेश्यावृत्ति र संगठित अपराधको चमकदमकमार्फत विदेशी संसारसामु प्रस्तुत गरिन्थ्यो, जबकि त्यस बाहिरी तामझामको पछाडि अर्को क्युबा उभिएको थियो– बेरोजगारी, निरक्षरता, दयनीय आवास व्यवस्था र गहिरो वर्गीय असमानताले ग्रस्त क्युबा।

बातिस्ताले पुँजीवादी सम्पत्ति र अमेरिकी प्रभुत्वको रक्षा गरे; जबकि क्रान्तिले ती दुवैलाई चुनौती दियो।

बातिस्ताले राजनीतिक विरोधीहरूलाई यातना दिए र हत्या गरे, तर पनि वासिङ्टन उनको मित्र बनिरह्यो। निर्णायक प्रश्न कहिल्यै पनि अमूर्त “लोकतन्त्र” थिएन। त्यो त वर्ग-हित थियो। बातिस्ताले पुँजीवादी सम्पत्ति र अमेरिकी प्रभुत्वको रक्षा गरे; जबकि क्रान्तिले ती दुवैलाई चुनौती दियो।

त्यसैले कम्युनिस्ट-विरोधी भाष्यहरूबाट क्रान्ति-पूर्वको क्युबाको वास्तविकतालाई गायब पारिनुपर्छ। जब त्यो पुरानो चित्रलाई पुनः अगाडि ल्याइन्छ, तब मुख्य प्रश्नहरू पन्छाउनै नमिल्ने गरी खडा हुन्छन्: १९५९ पछि कसले आफ्ना जमिन, एकाधिकार, विशेषाधिकार र राजनीतिक सत्ता गुमाए? र कसले विद्यालय, अस्पताल, जमिन, सामाजिक अधिकार र सार्वभौमसत्ता प्राप्त गरे?

यसपछि भएका उपलब्धिहरू न त कुनै चमत्कार थिए, न त कुनै एक असाधारण नेताले माथिबाट उपहार स्वरूप दिएका नै थिए। ती त सत्ता परिवर्तनकै जगमा अडिएका थिए। व्यापक निरक्षरतालाई लगभग उन्मूलन गरियो। शिक्षा एक सार्वभौम सामाजिक अधिकार बन्यो। देशभरि फैलिएको सार्वजनिक स्वास्थ्य प्रणाली निर्माण गरियो। क्युबाले आफ्नो आकारको देशका लागि पत्याउनै नसकिने स्तरमा चिकित्सक, शिक्षक, वैज्ञानिक, इन्जिनियर र अन्य पेशेवरहरूको पुस्ता तयार गर्‍यो। महिलाहरू ठूलो सङ्ख्यामा आर्थिक, राजनीतिक र सामाजिक जीवनमा प्रवेश गरे, जबकि विज्ञान, संस्कृति र खेलकुद जनताका व्यापक सर्वसाधारणका लागि खुला गरियो।

क्युबाको अनुभवले अझ महत्त्वपूर्ण कुरा के देखायो भने: निजी नाफा सर्वोच्च मापदण्ड रहन छाडेपछि समाजले पुँजीवादले प्रायः बेवास्ता गर्ने आवश्यकताहरू पूरा गर्न विशाल मानवीय तथा भौतिक स्रोतहरू परिचालन गर्न सक्छ।

समाजवादले अन्तर्विरोध, गल्ती वा नोकरशाहीका विकृतिहरू समाप्त गरेन। कुनै पनि गम्भीर कम्युनिस्टले त्यसो भएको दाबी गर्नेछैन। क्युबाको अनुभवले अझ महत्त्वपूर्ण कुरा के देखायो भने: निजी नाफा सर्वोच्च मापदण्ड रहन छाडेपछि समाजले पुँजीवादले प्रायः बेवास्ता गर्ने आवश्यकताहरू पूरा गर्न विशाल मानवीय तथा भौतिक स्रोतहरू परिचालन गर्न सक्छ।

क्युबाली अन्तर्राष्ट्रियतावाद यो नयाँ सामाजिक नैतिकताको सबैभन्दा उत्कृष्ट अभिव्यक्तिमध्ये एक बन्यो। यसमा चे ग्वेभाराले 'नयाँ मानव'को निर्माणबारे बोलेका कुराको झल्को देख्न सकिन्छ: व्यक्तिगत प्रतिस्पर्धा र निजी सम्पत्ति थुपार्ने प्राणी होइन, बरु सामूहिक सङ्घर्ष, भ्रातृत्व र समाजवादी निर्माणको सचेत सहभागी।

सन् १९६० को विनाशकारी भूकम्पपछि क्युबाली स्वास्थ्यकर्मीहरू चिली पुगे र त्यसको तीन वर्षपछि नयाँ स्वतन्त्र बनेको अल्जेरिया पुगे। त्यसपछिका दशकहरूमा डाक्टर, नर्स, शिक्षक र अन्य विशेषज्ञहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाभरि फैलिए; प्रायः ती ठाउँहरूमा पुगे जहाँबाट पुँजीपतिहरूले कुनै नाफा कमाउन सक्ने सम्भावना देखेका थिएनन्।

इतिहासले माग गर्दा त्यो अन्तर्राष्ट्रियतावादले हतियार पनि उठायो। अङ्गोलामा, क्युबाली अन्तर्राष्ट्रियतावादीहरूले औपनिवेशिक कब्जा जमाउन, खानी खोस्न वा क्युबाली कर्पोरेसनहरूका लागि छुट प्राप्त गर्न एटलान्टिक पार गरेका थिएनन्; बरु रङ्गभेदी दक्षिण अफ्रिकाद्वारा समर्थित आक्रमणविरुद्ध लडिरहेका जनतालाई सहयोग गर्न गएका थिए। हवानाबाट हजारौँ किलोमिटर टाढा एउटा यस्तो सङ्घर्षमा उनीहरूको रगत बग्यो, जसको धक्का अङ्गोला र नामिबियादेखि रङ्गभेदको मूल जगसम्मै महसुस गरिएको थियो।

साम्राज्यवादका अक्टोपस जस्ता हातहरू ल्याटिन अमेरिका र त्योभन्दा धेरै टाढासम्म फैलिएका छन् । जसले सधैँ “स्वतन्त्रता” को भाषा बोल्दै पूरै देशहरूलाई सैन्य अड्डा, एकाधिकार, वित्तीय दबाब र राजनीतिक हस्तक्षेपको घेरामा बाधेको छ।

यहाँ साम्राज्यवादसँगको तुलना यति स्पष्ट छ कि यो लगभग निर्मम देखिन्छ। अमेरिकी साम्राज्यवादको ऐतिहासिक पदचापहरू कु, आक्रमण, छद्म युद्ध, हत्याका अभियानहरू, प्रतिक्रियावादी तानाशाही र आत्मसमर्पण गर्न अस्वीकार गर्ने जनताको आर्थिक घाँटी थिच्ने घटनाहरूले भरिएका छन्। यसका अक्टोपस जस्ता हातहरू ल्याटिन अमेरिका र त्योभन्दा धेरै टाढासम्म फैलिएका छन् । जसले सधैँ “स्वतन्त्रता” को भाषा बोल्दै पूरै देशहरूलाई सैन्य अड्डा, एकाधिकार, वित्तीय दबाब र राजनीतिक हस्तक्षेपको घेरामा बाधेको छ।

क्युबाले तिनै हातहरू काटिदिने 'अक्षम्य अपराध' गर्‍यो।

छ दशकभन्दा बढी समयदेखि संयुक्त राज्य अमेरिकाले बहादुर क्युबाली जनतामाथि आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दी लाद्दै आएको छ। पूरै समाजलाई थकाउने, कठिनाइहरू सिर्जना गर्ने र भित्रैबाट क्रान्तिको पराजयका लागि अनुकूल वातावरण तयार पार्ने उद्देश्यले रचिएको आर्थिक युद्धको यो एउटा नरसंहारक नीति हो। राष्ट्रपतिहरू फेरिए, रणनीतिहरू बदलिए र विशेष व्यवस्थाहरू कहिले कडा त कहिले खुकुलो बनाइयो, तर तिनीहरूको रणनीतिक उद्देश्य भने अपरिवर्तित रह्यो।

नाकाबन्दी न त कुनै अमूर्त अवधारणा हो, न त हरेक समस्याबाट उम्कने बहाना नै। यसका असरहरू क्युबाका अस्पताल, कारखाना, विद्युत् गृह र घर-घरसम्म पुग्छन्। यसले वित्तीय पहुँच, औषधि, प्रविधि, इन्धन, मेसिनरी र स्पेयर पार्ट्स प्राप्त गर्न बाधा पुर्‍याउँछ।  यसको सीमापार प्रभावले क्युबाबाट हजारौँ किलोमिटर टाढा रहेका बैङ्क, जहाज कम्पनी र व्यापारिक प्रतिष्ठानहरूलाई समेत धम्काउँछ। यसपछाडिको गणित जति क्रूर छ, त्यति नै सरल पनि छ: जीवनलाई यति धेरै असह्य बनाइदेऊ कि जे कुरा आक्रमण, तोडफोड र राजनीतिक अलगावबाट हासिल हुन सकेन, त्यो कुरा सायद जनताको पीडाले पूरा गरिदेओस्।

तर मार्क्सवादीहरूलाई क्युबाको हरेक कठिनाइलाई नाकाबन्दीको टाउकोमा मात्र हाल्नुपर्ने आवश्यकता छैन। नोकरशाही कमजोरीहरू, योजनामा भएका त्रुटिहरू, प्रभावहीन कदमहरू, निम्न उत्पादकत्व र अन्य आन्तरिक विरोधाभासहरू अस्तित्वमा थिए र तिनको सामना गरिनुपर्छ। समाजवादी निर्माण केवल प्रशंसाका भरमा अघि बढ्दैन, र कमजोरीहरू सुधार्ने उद्देश्यले गरिने आलोचना अपरिहार्य हुन्छ। तर त्यसको ती व्यक्तिहरूको “आलोचना” सँग कुनै सम्बन्ध छैन, जसका लागि क्युबाको हरेक समस्याको एउटै पूर्वनिर्धारित समाधान हुन्छ: समाजवादलाई समाप्त पार्ने, पुँजीवादी सम्पत्तिको पुनर्स्थापना गर्ने र टापुलाई पुनः अमेरिकी पुँजीको काखमा फर्काउने।

साम्राज्यवादले क्युबाली क्रान्ति पनि सोभियत संघको भग्नावशेषभित्रै पुरिने अपेक्षा गरेको थियो। तीन दशकभन्दा बढी समय बितिसक्दा पनि उनीहरू अझै पर्खिरहेका छन्।

सोभियत संघ र पूर्वी युरोपमा समाजवादको प्रतिक्रान्तिकारी पतनसँगै क्रान्तिको सबैभन्दा कठोर ऐतिहासिक परीक्षा सुरु भयो। क्युबाले रातारात आफ्ना मुख्य आर्थिक सम्बन्धहरू गुमायो र विनाशकारी 'विशेष अवधि' मा प्रवेश गर्‍यो। उत्पादन ठप्प भयो, इन्धनको अभाव भयो, यातायात व्यवस्था बिग्रियो र दैनिक उपभोग्य वस्तुको अभाव झन् गहिरियो। वासिङ्टन, मियामी र धेरैजसो पुँजीवादी सञ्चारमाध्यमहरूले क्रान्तिको शोक सन्देश लेख्न थाले। तर त्यो हतारो साबित भयो।

क्युबाली जनताले ठूलो त्याग र बलिदान सहे, तर पुँजीवादको पुनर्स्थापना हुन दिएनन्। विश्वकै सबैभन्दा शक्तिशाली साम्राज्यवादी राष्ट्रबाट मात्र ९० माइल टाढा रहेको र आफ्नो अधिकांश अर्थतन्त्र अडिएको अन्तर्राष्ट्रिय आर्थिक ढाँचाबाट अचानक वञ्चित भएको एउटा सानो समाजवादी देश अझै अटल उभिरह्यो। साम्राज्यवादले क्युबाली क्रान्ति पनि सोभियत संघको भग्नावशेषभित्रै पुरिने अपेक्षा गरेको थियो। तीन दशकभन्दा बढी समय बितिसक्दा पनि उनीहरू अझै पर्खिरहेका छन्।

यही पृष्ठभूमिमा फिडेल क्यास्ट्रोको कद पूर्ण रूपमा छर्लङ्ग हुन्छ। क्युबाली क्रान्ति कुनै एक जना व्यक्तिको काम थिएन। क्रान्तिहरू सर्वसाधारण जनताद्वारा, सङ्गठित सङ्घर्षमार्फत र ठोस ऐतिहासिक परिस्थितिहरूमा निर्माण हुन्छन्। तर फिडेलको असाधारण भूमिकालाई अस्वीकार गर्नु त्यति नै हास्यास्पद हुनेछ, जति क्रान्तिलाई केवल उनको व्यक्तित्वमा सीमित गर्नु।

उनी बीसौँ शताब्दीको क्रान्तिकारी आन्दोलनका महान् नायकहरूमध्ये एक बने। इतिहासले उनलाई कुनै रहस्यमय विशेषता प्रदान गरेका कारण होइन, बरु उनको जीवन नै त्यो क्रान्तिसँग अभिन्न रूपमा जोडियो जसले बातिस्ताको सत्ता ढाल्यो, क्युबाली पुँजीपति वर्ग र अमेरिकी साम्राज्यवादको सामना गर्‍यो, असाधारण परीक्षाहरूमा समाजवादी सत्ताको रक्षा गर्‍यो र क्यारिबियनको एउटा सानो टापुलाई विश्वभर उपनिवेशवाद, रङ्गभेद र साम्राज्यवादी प्रभुत्वविरुद्ध लडिरहेका जनताको पक्षमा उभ्यायो।

निर्णायक ऐतिहासिक प्रश्न त्रुटिहरू भए वा भएनन् भन्ने होइन, बरु कुन वर्गको हितका लागि लडाइँ लडिएको थियो, कुन सत्ताको रक्षा भइरहेको थियो र क्युबाली समाज कुन दिशातर्फ अघि बढ्न सङ्घर्षरत थियो भन्ने हो।

न त फिडेललाई कुनै सन्त वा भगवानका  रूपमा ढाल्नुपर्ने नै आवश्यकता छ। मार्क्सवादलाई सन्तहरूसँग कुनै लेनादेना हुँदैन। उनले गल्तीहरू गरे; क्रान्तिले गल्तीहरू गर्‍यो। नीतिहरूमा सुधार गरियो, प्रयोगहरू असफल भए र कहिलेकाहीँ विरोधाभासहरूलाई कम आँकियो। निर्णायक ऐतिहासिक प्रश्न त्रुटिहरू भए वा भएनन् भन्ने होइन, बरु कुन वर्गको हितका लागि लडाइँ लडिएको थियो, कुन सत्ताको रक्षा भइरहेको थियो र क्युबाली समाज कुन दिशातर्फ अघि बढ्न सङ्घर्षरत थियो भन्ने हो।

यो प्रश्न आज पनि उत्तिकै निर्णायक छ।

क्युबाले गम्भीर कठिनाइहरूको सामना गरिरहेको छ। अभाव, मुद्रास्फीति, बसाइँसराइ, जीर्ण पूर्वाधार र लामो समयसम्म हुने लोडसेडिङले त्यहाँका जनतालाई ठूलो सास्ती दिएको छ। अघिल्ला दशकका महान् उपलब्धिहरू वर्तमानका समस्याहरूको विकल्प हुन सक्दैनन्। समाजवादी सत्ताले यी विरोधाभासहरूको सामना गर्नुपर्छ, योजना निर्माणमा सुधार गर्नुपर्छ, श्रमजीवी जनताको पहलकदमीलाई अघि बढाउनुपर्छ र पुँजीवादी पुनर्स्थापनातर्फ लैजाने हरेक बाटोको प्रतिरोध गर्नुपर्छ।

र यहाँ फेरि, वर्गीय रेखा प्रष्ट देखिन्छ। वासिङ्टनले क्युबामा कुनै 'अझ राम्रो' समाजवाद चाहेको होइन। यसले केवल प्रशासनिक सुधारको माग गरिरहेको छैन। यसको उद्देश्य १९५९ को परिवर्तनलाई उल्ट्याउनु हो: पुँजीवादी सम्पत्ति, पुँजीपति वर्गको सत्ता र क्युबालाई पुनः अमेरिकी साम्राज्यवादको आर्थिक र राजनीतिक प्रभाव क्षेत्रमा फर्काउनु।

त्यसैले त फिडेलले अझै पनि यति धेरै घृणा र शत्रुता उत्पन्न गराउँछन्।

वास्तविक शत्रु बिरानका एक जना दाह्रीवाल क्रान्तिकारी कहिल्यै थिएनन्। वास्तविक शत्रु त क्युबाली क्रान्तिको उदाहरण थियो र अझै पनि छ: यो प्रमाण कि शोषक वर्गले सत्ता गुमाउन सक्छ, पुँजीवादी सम्पत्ति कब्जा गर्न सकिन्छ, साम्राज्यवादलाई चुनौती दिन सकिन्छ र साना अनि उपेक्षित मानिएका जनताले शक्तिशालीहरूले आफ्ना लागि तय गरिदिएको स्थान अस्वीकार गर्न सक्छन्।

क्यास्ट्रोको तानाशाही” का बारेमा दिइने अनन्त उपदेशहरूका पछाडि लुकेको सत्य यही हो। श्रमिकहरूले १९५९ भन्दा अघि क्युबा के थियो भनेर सोध्नुहुँदैन। कुन वर्गले आफ्नो सम्पत्ति र विशेषाधिकार गुमाए, वासिङ्टनले किन बातिस्तालाई अँगालो हाल्यो तर क्रान्तिकारी क्युबालाई नष्ट गर्न खोज्यो, वा अमेरिकी सरकारका पुस्ताहरूले क्यारिबियनको एउटा सानो टापुलाई किन यति धेरै असह्य शत्रु ठाने भनेर उनीहरूले प्रश्न गर्नुहुँदैन।

सबैभन्दा मुख्य कुरा, उनीहरूले सबैभन्दा खतरनाक प्रश्न सोध्नुहुँदैन: यदि श्रमद्वारा सिर्जित अपार उत्पादक शक्तिहरू समाजको सम्पत्ति सिर्जना गर्नेहरूकै स्वामित्वमा भए र ती मुट्ठीभर मानिसलाई धनी बनाउनुको साटो मानवीय आवश्यकताहरू पूरा गर्न सङ्गठित गरिए भने मानवजातिले के-कस्ता उपलब्धि हासिल गर्न सक्छ?

मार्क्सले त्यो समाजको मौलिक विरोधाभासलाई उजागर गरेका थियो, जहाँ सम्पत्ति सिर्जना गर्नेहरूले नै त्यसमाथि अधिकार पाउँदैनन्। क्युबाले त्यो सिद्धान्तलाई केवल पानाहरूमा सीमित नराखी त्यो धरातलमा उतार्ने साहस गर्‍यो, जहाँ हरेक क्रान्तिकारी प्रश्नको अन्तिम फैसला हुन्छ: सत्ताको प्रश्न।

फिडेल क्यास्ट्रोले इतिहाससामु त्यो प्रश्न खडा गर्न मद्दत गरे।

जब उनी मोन्काडाको आक्रमणपछि बातिस्ताको अदालतअगाडि उभिए र इतिहासले आफूलाई निर्दोष साबित गर्नेछ भनेर घोषणा गरे, तब न त उनी स्वयंलाई, न त उनका न्यायाधीशहरूलाई नै त्यसपछि के-के हुनेछ भन्ने कुराको पूर्ण ज्ञान थियो। बातिस्ताको पतन हुनेछ। प्लाया गिरोन (bay of pigs) मा भाडाका सैनिकहरू पराजित हुनेछन्। क्युबाले आफ्नो क्रान्तिलाई समाजवादी क्रान्तिका रूपमा घोषणा गर्नेछ। क्युबाली अन्तर्राष्ट्रियतावादीहरूले अफ्रिकामा रङ्गभेदी शक्तिहरूको सामना गर्नेछन्। ज्ञान र भ्रातृत्वबाहेक अन्य कुनै हतियार नबोकेका डाक्टर र शिक्षकहरूले महाद्वीपहरू पार गर्नेछन्। सोभियत संघ बिलाएर जानेछ तर समाजवादी क्युबा भने अटल रहिरहनेछ।

इतिहासले पुँजीवादी अदालतले जस्तो फैसला सुनाउँदैन। न त यसले क्रान्तिकारीहरूलाई उनीहरूका हरेक गल्तीबाट पूर्ण सफाइ नै दिन्छ। यसको फैसला त उनीहरूले कुन वर्गको हितका लागि लडे, कस्ता शत्रुहरूको सामना गरे, कस्ता परिवर्तनहरू हासिल गर्न मद्दत गरे र उनीहरूको सङ्घर्षले भावी पुस्ताका लागि कस्ता सम्भावनाका ढोकाहरू खोलिदियो भन्ने आधारमा कोरिने गर्छ।

इतिहासले पुँजीवादी अदालतले जस्तो फैसला सुनाउँदैन। न त यसले क्रान्तिकारीहरूलाई उनीहरूका हरेक गल्तीबाट पूर्ण सफाइ नै दिन्छ।

त्यो मापदण्ड अनुसार, फिडेलले आफ्ना न्यायाधीशहरूलाई दिएको चुनौतीले धेरै पहिले नै आफ्नो जवाफ पाइसकेको छ।

त्यसैले, उनको जन्मशताब्दी न त केवल अतीतको सम्झनामा हराउने माध्यम हुनुपर्छ, न त एक क्रान्तिकारीलाई हानिरहित काँसको सालिकमा परिणत गर्ने अवसर नै। फिडेल कुनै सङ्ग्रहालयमा थन्किने नाम होइनन्, उनी त शोषण र मुक्ति, साम्राज्यवाद र सार्वभौमसत्ता, अनि पुँजीवाद र समाजवादबिचको सङ्घर्षको जीवन्त इतिहासका अङ्ग हुन्।

उनको जन्मको एक सय वर्षपछि पनि, ६ दशकभन्दा बढी समयदेखि क्युबालाई घुँडा टेकाउन खोजिरहेको विशाल साम्राज्यवादी शक्तिले अझै आफ्नो उद्देश्य हासिल गर्न सकेको छैन। यो टापु क्यासिनो, ठूला सामन्ती जमिनहरू र विदेशी मालिकहरूको पुरानो क्युबामा फर्किएको छैन। कष्ट, विरोधाभास र असाधारण समयसम्म चलिरहेको क्रूर आर्थिक घेराबन्दीका बाबजुद पुँजीवादको पुनर्स्थापना हुन सकेको छैन।

पुँजीपति वर्गको निरन्तर घृणाको कारण यही हो। अनि श्रमिक वर्ग र विश्वका जनताका लागि पाठ पनि यही हो।

फिडेल क्यास्ट्रोलाई बातिस्ताका अदालतहरूले दोषी ठहर गरे, साम्राज्यवादले उनको शिकार गर्न खोज्यो र दशकौँसम्म यसका दलालहरूले उनलाई बदनाम गरे। उनको जन्मको एक शताब्दी बितिसक्दा पनि, उनले आफ्नो जीवन समर्पित गरेको उद्देश्य अझै अधुरै छ, तर क्युबाली भूमिमा त्यो सङ्घर्षरत र जीवन्त छ। त्यो महान् व्यक्तित्व अब हामीमाझ रहेनन्, तर जसले उनलाई बनायो र जसलाई बनाउन उनले मद्दत गरे त्यो क्रान्ति अझै कायम छ र निरन्तर रहिरहनेछ।

इतिहासले उनलाई निर्दोष साबित गरेको छ!

Source: https://www.idcommunism.com

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक सम्पत्ति चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्