देवीप्रसाद चट्टोपाध्याय: भारतको भौतिकवादी दार्शनिक परम्पराको पुनःखोज

देवीप्रसाद चट्टोपाध्याय (१९१८–१९९३) को महत्त्वपूर्ण कृति ‘भारतीय दर्शनमा के जीवित र के मृत छ?’, जस ले सन् २०२६ मा ५० वर्ष पूरा गर्दैछ,  ले भारतीय दर्शनको परिदृश्यमा एक विशिष्ट स्थान ओगट्छन्। उनी मुख्य रूपमा मार्क्सवादी दृष्टिकोणबाट यस परम्पराको निरन्तर समीक्षा गर्ने प्रयासका लागि चिनिन्छन्। अविभाजित बंगालको एक प्रतिष्ठित परिवारमा जन्मिएका उनले शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सन् १९३९ मा दर्शनशास्त्र विषयमा ब्याचलर अफ आर्ट्स (अनर्स) र सन् १९४२ मा दर्शनशास्त्रमै मास्टर अफ आर्ट्स दुवैमा कलकत्ता विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेका थिए।

चट्टोपाध्यायको सबैभन्दा महत्त्वपूर्ण योगदान प्राचीन भारतीय दार्शनिक परम्पराभित्रको भौतिकवादी धारालाई उजागर र दस्तावेजीकरण गर्नुमा निहित छ, जसले भारतलाई केवल एक आध्यात्मिक सभ्यताको रूपमा मात्र प्रस्तुत गर्ने एकांगी दृष्टिकोणलाई चुनौती दियो।

उनको बौद्धिक यात्रा प्रेसिडेन्सी कलेजबाट सुरु भई कलकत्ता विश्वविद्यालयमा निरन्तर अघि बढ्यो, जहाँ उनले सर्वपल्ली राधाकृष्णन र सुरेन्द्रनाथ दासगुप्ता जस्ता प्रख्यात दार्शनिकहरूबाट अध्ययन गरे। यी विद्वानहरू ती आदर्शवादी परम्पराका पर्याय थिए, जसको पछि चट्टोपाध्यायले आलोचनात्मक विश्लेषण गरे। उनले कलकत्ताको सिटी कलेजमा लेक्चररको रूपमा आफ्नो अध्यापन यात्रा सुरु गरे र भारत तथा विदेशका विभिन्न स्थानहरूमा व्यापक व्याख्यान भ्रमणहरू गर्दै विवेक र वैज्ञानिक चेतनाका एक सशक्त पक्षधरका रूपमा आफूलाई स्थापित गरे।

चट्टोपाध्यायको सबैभन्दा महत्त्वपूर्ण योगदान प्राचीन भारतीय दार्शनिक परम्पराभित्रको भौतिकवादी धारालाई उजागर र दस्तावेजीकरण गर्नुमा निहित छ, जसले भारतलाई केवल एक आध्यात्मिक सभ्यताको रूपमा मात्र प्रस्तुत गर्ने एकांगी दृष्टिकोणलाई चुनौती दियो।

यस कृतिको केन्द्रीय अवधारणा परम्परागत रूपमा भारतका सबैभन्दा प्राचीन दार्शनिक ग्रन्थ मानिने वेदहरूभन्दा पहिले नै एक प्रकारको प्रोटो-मेटेरियलिज्म (प्रारम्भिक भौतिकवाद) विद्यमान रहेको बारे थियो।

उनको पहिलो प्रमुख कृति ‘लोकायत: प्राचीन भारतीय भौतिकवादको अध्ययन’ले लोकायत वा चार्वाक भौतिकवादी दर्शनको इतिहासलाई व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने एक अग्रणी प्रयासको प्रतिनिधित्व गर्‍यो। यस कृतिको केन्द्रीय अवधारणा परम्परागत रूपमा भारतका सबैभन्दा प्राचीन दार्शनिक ग्रन्थ मानिने वेदहरूभन्दा पहिले नै एक प्रकारको प्रोटो-मेटेरियलिज्म (प्रारम्भिक भौतिकवाद) विद्यमान रहेको बारे थियो।

उनले पछिल्लो वैदिक समाजको पशुपालक र पितृसत्तात्मक ढाँचाको विपरीत लोकायत कालको समाज मौलिक रूपमा कृषिप्रधान र मातृसत्तात्मक रहेको तर्क प्रस्तुत गरे। चट्टोपाध्यायले दार्शनिक विकास र वैचारिक संघर्षको एक ऐतिहासिक बाटो रेखांकित गरे, जसमा मूल लोकायत दर्शनलाई प्रारम्भिक वैदिक विचारले विस्थापित गर्‍यो, र त्यो विचार स्वयं पछि विकसित वेदहरू र त्यसपछि उपनिषदहरूमा रूपान्तरित भयो।

उनको विश्लेषण समाजशास्त्रीय ढाँचामा आधारित थियो, जसले विचारको इतिहासमा भएका यी विकासहरू सामाजिक व्यवस्थामा आएका परिवर्तनहरूसँग, विशेष गरी शुद्रहरूमाथि ब्राह्मणहरू (द्विजहरू) को प्रभुत्व रहेको जात व्यवस्थाको सुदृढीकरणसँग जोडिएका थिए भन्ने मान्यता राख्दथ्यो।

यो विश्लेषणलाई सन् १९७६ मा प्रकाशित उनको दोस्रो प्रमुख कृति ‘भारतीय दर्शनमा के जीवित छ र के मृत छ’ मा अझ बढी परिष्कृत र विस्तृत बनाइयो। ‘लोकायत’ मा बसालिएको जगमा निर्माण गरिएको भए तापनि यस पुस्तकले एक विशिष्ट विधि शास्त्रीय दृष्टिकोण प्रस्तुत गर्‍यो।

चट्टोपाध्यायले प्राचीन भारतीय दार्शनिक शास्त्रार्थहरूमा रहेका द्वन्द्वात्मक तत्वहरूको परीक्षण गर्दै पूर्व पक्ष (प्रारम्भिक दृष्टिकोण) र सिद्धान्त पक्ष (स्थापित निष्कर्ष) को परम्परालाई रेखांकित गरे। उनले यस विधिलाई प्राचीन ग्रीसको द्वन्द्ववादसँग तुलना गर्दै के तर्क गरे भने, थिसिस, एन्टी-थिसिस र संश्लेषण सिन्थेसिसको ग्रीक क्रमिक विकासको विपरीत भारतीय ढाँचामा विचारहरूको गतिशील विकासका लागि संयन्त्रको अभाव थियो, जसको परिणामस्वरूप प्रायः एउटा सम्प्रदायले अर्को सम्प्रदायलाई पूर्ण रूपमा पराजित गर्दथ्यो।

उनको विचारमा, आदर्शवादको विजयले शोषक वर्गको सत्ता सुदृढीकरणलाई प्रतिबिम्बित गर्‍यो र युरोपको जस्तै हुन सक्ने ऐतिहासिक विकासको मार्गबाट पछाडि हट्ने मोडलाई चिन्हित गर्‍यो।

उनले  यही ढाँचाको प्रयोग गरी आदर्शवादी वेदान्त पद्धतिद्वारा भौतिकवादी दर्शनहरूको पराजयले बौद्धिक र सामाजिक गतिहीनता निम्त्याउँदै गहिरो र नकारात्मक प्रभाव पारेको तर्क प्रस्तुत गरे। उनको विचारमा, आदर्शवादको विजयले शोषक वर्गको सत्ता सुदृढीकरणलाई प्रतिबिम्बित गर्‍यो र युरोपको जस्तै हुन सक्ने ऐतिहासिक विकासको मार्गबाट पछाडि हट्ने मोडलाई चिन्हित गर्‍यो।

सन् १९७७ मा प्रकाशित उनको तेस्रो प्रमुख कृति प्राचीन भारतमा विज्ञान र समाज सँगै चट्टोपाध्यायको अनुसन्धान दर्शनशास्त्रबाट अघि बढेर विज्ञान र प्रविधिको इतिहाससम्म विस्तार भयो। यो कृति मुख्यतया चरक संहिता र सुश्रुत संहितामा प्रस्तुत गरिए अनुसारको चिकित्सा विज्ञानमा केन्द्रित थियो।

उनको दृष्टिकोणको एउटा मुख्य विशेषता वैज्ञानिक विचारहरूलाई तिनका भौतिक तथा प्रविधिक जगहरूबाट अलग गर्न अस्वीकार गर्दै विज्ञान र प्रविधिलाई जानाजानी एकीकृत गर्नु थियो। उनले  पछि शुल्व सूत्रहरूमा सुरक्षित गरिएका प्रारम्भिक वैज्ञानिक तथा गणितीय सीपहरूको उत्पत्ति सिन्धु घाटी सभ्यताको पक्का इट्टा उद्योगसम्म जोडे। उनको  विश्लेषणले प्राचीन चिकित्सा ग्रन्थहरू दैवीय ज्ञान भन्दा पनि प्राकृतिक जगतको भौतिकवादी र अनुभवात्मक अवलोकनमा आधारित थिए भन्ने कुरा प्रमाणित गर्‍यो।

पछिल्ला ग्रन्थहरूमा चिकित्सा विज्ञान र चिकित्सक देवताहरू अश्विनहरूको भएको क्रमिक अवनति कुनै मनमानी सांस्कृतिक परिवर्तनको परिणाम थिएन, बरु यो पुरोहित तथा प्रभुत्वशाली वर्गहरूको सामाजिक वर्चस्व बढ्दै गएको अभिव्यक्ति थियो भन्ने उनको तर्क थियो। श्रम नगर्नेहरूलाई श्रमजीवी जनताभन्दा माथि विशेषाधिकार दिने यो सामाजिक पुनर्संरचनाले वैज्ञानिक अनुसन्धानको प्रतिकूल वैचारिक वातावरण सिर्जना गर्‍यो। उनको  विचारमा, यसले चिकित्सा मात्र नभई सम्पूर्ण ज्ञानको प्रगतिलाई कुण्ठित बनायो र भारतको ऐतिहासिक विकासमा बाधा पुर्‍याउने विज्ञानविरोधी विचारलाई अझ बलियो बनायो।

पछिल्ला ग्रन्थहरूमा चिकित्सा विज्ञान र चिकित्सक देवताहरू अश्विनहरूको भएको क्रमिक अवनति कुनै मनमानी सांस्कृतिक परिवर्तनको परिणाम थिएन, बरु यो पुरोहित तथा प्रभुत्वशाली वर्गहरूको सामाजिक वर्चस्व बढ्दै गएको अभिव्यक्ति थियो भन्ने उनको तर्क थियो।

चट्टोपाध्यायको विद्वत्ताको समकालीन सान्दर्भिकता प्रायः आधुनिक भारतका वैचारिक संघर्षहरूको सन्दर्भमा फेला पर्छ। उनका कृतिहरूलाई अन्धविश्वास, रूढिवाद तथा साम्प्रदायिकताको चुनौती सामना गर्न बलियो बौद्धिक आधार प्रदान गर्ने कृतिका रूपमा हेरिन्छ। साथै, भारतको अतीतलाई एकरूप र गौरवशाली वैदिक युगका रूपमा आदर्शीकरण गर्ने व्याख्याहरूको प्रतिवाद गर्दै उनका कृतिहरूले इतिहास र भौतिकवादी दृष्टिकोणमा आधारित वैकल्पिक आख्यान प्रस्तुत गर्छन्। विवेक र भौतिकवादको परम्परालाई अगाडि सारेर, उनका लेखनहरुले धर्म र विवेक तथा आदर्शवाद र भौतिकवादबीचको दीर्घकालीन प्रतिस्पर्धालाई उजागर गर्दै धर्मनिरपेक्ष र लोकतान्त्रिक मूल्यहरूको रक्षामा एक महत्त्वपूर्ण स्रोतको रूपमा काम गर्छन्।

केही विद्वानहरूको तर्कमा उनले ऐतिहासिक भौतिकवादलाई कतिपय अवस्थामा अत्यधिक योजनाबद्ध र रूढ ढङ्गले प्रयोग गरेका छन्।

उनको अध्ययनको व्यापक दायराका बाबजुद, चट्टोपाध्यायको कार्यविधि र निष्कर्षहरू आलोचनाको विषय बनेका छन्। केही विद्वानहरूको तर्कमा उनले ऐतिहासिक भौतिकवादलाई कतिपय अवस्थामा अत्यधिक योजनाबद्ध र रूढ ढङ्गले प्रयोग गरेका छन्। यस क्रममा प्राचीन भारतीय दर्शनका जटिल, विविधतापूर्ण र निरन्तर परिवर्तनशील परम्पराहरूलाई भौतिकवादी पक्ष र आदर्शवादी ब्राह्मणवादी रूढिवादबीचको वर्गसंघर्षको कठोर द्वैध संरचनामा जबर्जस्ती सीमित गरिएको उनीहरूको भनाइ छ।

यस व्याख्यात्मक ढाँचालाई केही विद्वानहरूले निश्चित अवधि वा धाराहरूलाई ‘आदिम साम्यवाद’ वा प्रारम्भिक भौतिकवादका उदाहरणका रूपमा अत्यधिक रोमान्टिकीकरण गरेर निष्पक्ष इतिहास लेखनसँग सम्झौता गरेको रूपमा हेरेका छन्। यसबाहेक, उनको विश्लेषणले भारतीय दर्शनका आध्यात्मिक वा तत्वमीमांसीय आयामहरू, जस्तै आत्मा, चेतना र कर्मका भूमिकाहरूलाई उपेक्षा गर्ने प्रवृत्ति राख्छ, जुन धेरै परम्पराहरूका अभिन्न अंग हुन् र जहाँ दर्शनको आध्यात्मिक अन्वेषणसँग अन्तर्सम्बन्ध स्थापित हुन्छ भन्ने आलोचकहरूको भनाइ छ

तथापि, चट्टोपाध्यायको व्यापक बौद्धिक कृतित्व भारतीय दर्शनमा भौतिकवादको अध्ययनका लागि आज पनि एउटा आधारभूत सन्दर्भका रूपमा रहेको छ र यो प्राज्ञिक सहभागिता तथा आलोचनात्मक बहस दुवैको विषय बनिरहेको छ।

स्रोत: काउन्टरकरेन्ट

अनुवाद: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्