स्वर्गको राजसी सफर

एकादेशमा एउटा अति मोटा मूर्ख राजा थिए । उनको मन्त्री दुब्लो र साह्रै चतुर थियो। मौका पाउनेबित्तिकै मन्त्री आफ्नो चलाखीले राजालाई प्रभाव पार्ने गर्थ्यो र छिटै नै उसले राजाको पूरा विश्वास जित्यो ।

राजाले बारम्बार मन्त्रीलाई सोध्ने गर्थे- "तिमी मलाई छोडी अन्त त पक्कै जाँदैनौ नि ?" र, मन्त्री जहिले पनि जवाफ दिन्थ्यो- "असम्भव प्रभु ! जहाँ हजूर होइबक्सन्छ, चाहे यो लोकमा, चाहे स्वर्गलोकमा, चाहे नरकलोकमा, म हजूरको साथ छोड्ने छैन ।" यो सुनी राजा खुशी हुन्थ्ये ।

एक साँझ राजा नदी किनारतिर घुमेर आफ्नो दरवारतिर फर्कदैं थिए  । सदा झैं मन्त्री पनि उनीसँगै थियो । अकस्मात् नजिकको जङ्गलमा तिनले फ्याउराहरू कराएका सुने । राजालाई खुल्दुली भयो । उसने मन्त्रीतिर फर्केर सोधे- "हैन, हाम्रा कानले सुन्ने गरी यो विघन फ्याउराहरू किन कराएका ?"

मन्त्रीले जवाफ दियो- "प्रभु ! यसपाला उधम जाडो छ । बिचरा फ्याउराहहरूका न्याना लुगा छैनन् । ती हजूरसँग कम्बल माग्दैछन् ।"

"ए त्यसो पो ?" राजाले भने- "तिमी कति बुद्धिमान् छौ, फ्याउराको बोली पनि बुझ्ने ! हैन, तिनले कम्बल किन पाएनछन् त ?"

"यसको बन्दोबस्त मिलाउने हाकिमको दोष हो प्रभु !" त्यस अफिसरसँग बैरभाव भएकोले उसले यो जवाफ दियो ।

"कत्रो बदमासी ! हाम्रा प्यारा फ्याउरालाई कम्बल नदिने हाम्रै हाकिम ? ठीक छ, त्यो अफिसरलाई एउटै कम्बलमा बेरेर समुद्रमा फ्याँकीदिनु । अनि एक सय थान कम्बल किनेर हाम्रा प्यारा फ्याउराहलाई बाँडिदिनु", राजाले आज़ा दिए ।

राजाको आज्ञा पालन गर्न मन्त्री हिँडी पनि हाल्यो । तर उसले राजाको आज्ञाको पहिलो कुराको मात्र पालना गर्यो। उसले त्यो अफिसरलाई समुद्रमा फ्याँक्यो र राजाको दुकीबाट फ्याउरालाई कम्बल किन्न चाहिँदो रूपियाँ झिक्यो। तर उसले के कम्बल किन्थ्यो र ! झिकेको जति रूपियाँ आफ्नै खल्तीमा हाल्यो ।

अर्को साँझ पनि राजाले फ्याउराहरू कराएका सुने । उनी छक्क परे र सोधे - "फेरि के भयो र यिनीहरु कराएका ?"

"प्रभु ! हजूरको जय होस् भनी कराएका हुन्", मन्त्रीले हाँस्दै जवाफ दियो ।

"वाह वाह ! मेरो जस्तो बुद्धिमान मन्त्री अरू कुन राजाको होला ? तिमी मलाई छोडी अन्त त जाँदैनौ ?" राजाले खुसी हुँदै सोध्यो ।

मन्त्रीले आश्वासन दियो - "जान्नँ, कतै जान्नँ । स्वर्गमा भए पनि, नरकमा भए पनि, हजूरसँगै बस्छु ।"

राजा खुशी भए, तर उनको खुशी धेरै बेर टिकेन । अचानक एउटा बँदेलको बच्चा जङ्गलबाट फुत्कियो । निस्कियो । राजाले कहिल्यै बँदेल देखेका थिएनन् । "बाफ रे, बाफ !" उनी चिच्याए - "के जन्तु हो त्यो ?"

"त्यो के जन्तु थियो, मन्त्रीलाई थाहा थियो । तर शान्त स्वरमा उसले जवाफ दियो - "यो हजूरको एउटा हात्ती हो । हात्तीको हेरचाह गर्ने अफिसरले यसलाई खुवाउन हेलचक्र्याइँ गरेकोले यसको यो अवस्था भएको हो, प्रभु !"

राजालाई साह्रै रिस उठ्यो । उनले त्यस अफिसरलाई तुरुन्त मार्नू भन्ने आज्ञा दिए । अनि उनले चाहिए जति रूपियाँ लिएर त्यस हात्तीलाई राम्ररी खुवाउने व्यवस्था गर्नु भनेर मन्त्रीलाई अह्राइए ।

मन्त्रीले पनि राजाको ढुकुटीबाट ठूलो रकम निकाल्यो र आफूकहाँ थन्क्यायो ।

एक महिना बित्यो । एक साँझ मन्त्रीलाई सँगै लिएर राजा घुमेर फर्कंदै थिए, उसले फेरि बँदेल देखे । छक्क परेर उनले मन्त्रीलाई सोधे - "हामीले अस्ति देखेको हात्ती यही हो ? किन यो अझै पनि उस्तै छ हँ ?"

बुद्धिबङ्गरासम्म देखिने गरी हाँस्दै मन्त्रीले भन्यो- "त्यो हात्ती त अहिले प्रभुजतिकै मोटो छ । यो त प्रभुको भान्छाघरको खानेकुरा खाँदा-खाँदा सप्रेको मुसो हो । भान्साकोठे कति को बेकम्मा रहेछ, यसैबाट थाहा हुन्छ, प्रभु !"

राजाको डल्लो अनुहार खुर्सानी जस्तै रातो भयो । आँखा पल्टाउँदै उनले भने- "कस्तो हालत यो ?! मेरो भान्साकोठेको हेलचक्र्याइँले मूसोले मेरो खानेकुरा खान्छ ।"

रातको खाना पकाइसकेपछि त्यस भान्साकोठेलाई तुरुन्त झुन्ड्याउनु भन्ने आज्ञा राजाले दिए ।

त्यस साँझ त्यो भान्साकोठे सुटुक्क मन्त्रीकहाँ गयो र उसलाई निक्कै ठूलो रकम घुस दियो । आफ्नो ज्यान बचाइदिए राजाले खाने खास खास परिकार एक भाग मन्त्रीकहाँ पठाइदिने बाचा पनि उसले गर्‍यो ।

मन्त्री खुसी भयो । उसले भान्साकोठेलाई भन्यो– ‘हेर अब मेरो जिम्मा भयो तिमीले धन्दा मान्नु पर्दैन ।’

मध्य रातमा जब भान्साकोठेलाई झुण्डयाउने तयारी भएथ्यो, त्यहीबेला ‘पख ! पख !’ भनेर चिच्याउँदै मन्त्री त्यहाँ पुग्यो ।

अनि राजातिर फर्केर उसले भन्यो - "प्रभु ! मैले भखरै पात्रो हेर्दा थाहा पाएँ- अहिले यो मध्यरातको बेला साह्रै असल साइत छ । यस बेला भुण्डिई मर्ने मानिसले स्वर्गमा सोझै ठाउँ पाउँछ । प्रभु, अहिले भान्छाकोठेलाई भुण्ड्याउनुको अर्थ ऊ सोझै स्वर्ग पुग्छ । त्यसैले उसलाई दण्ड दिनु हुँदैन, त्यो त उसलाई इनाम सरह हुन्छ । यस्तो बदमासलाई हामीले किन स्वर्ग पठाउनु ?"

मन्त्रीलाई छक्क पार्दै राजा खुशीले उफ्रे र भने- "ठीक, ठीक ! कहिलेदेखिको स्वर्ग हेर्ने मेरो धोको छ ! भान्साकोठेलाई हैन, तुरुन्तै मलाई झुण्ड्याओ । मैले स्वर्ग देखने भएँ अब । तर एकछिन पख...."

मन्त्रीतिर फर्कदै उनले भने- "तिमीले धेरै पटक जहाँ पनि मेरो साथै बस्ने प्रतिज्ञा गरेका छौ । अब म स्वर्ग जान्छु । तिमी अघि लाग । ए पहिले यिनलाई भुण्ड्याओ !"

त्रासले हक्कनबक्क भएको मन्त्रीले केही बोल्नु अघि नै सिपाहीहरूले उसको घॉटीमा पासो हालिदिए र उसलाई तुर्लुङ्ग पारिदिए । सिपाहीहरुले आफ्नो आज्ञा त्यति चाँडो मानेकोमा राजा खुशी भए ।

मन्त्रीलाई यसरी अगाडी बाटो लगाएपछि, झुण्ड्याउने मान्छेले राजालाई पनि भुण्ड्यायो । राजाले चाहेको पनि त्यही थियो ।

तर तिनले स्वर्ग देखे त ? खै, त्यो मलाई थाहा भएन ।

साभार : एसियाली लोक कथा