प्रेम
अलमित्राले भनिन्, “हामीलाई प्रेमका बारेमा केही भन।”
उनले आफ्नो शिर उठाएर मानिसहरूतिर दृष्टि दौडाए र त्यहाँ एक किसिमको निःशब्दता छायो। गम्भीर स्वरमा उनले भने,
जब प्रेमले तिमीलाई बोलाउँछ, त्यसैको पछि-पछि हिँड, यद्यपि उसका बाटाहरू अप्ठ्यारा र कठिन छन्।
र जब उसका पखेटाहरूले तिमीलाई छोप्न थाल्छन्, आत्मसमर्पण गरिदेऊ, यद्यपि उसका प्वाँखहरूमा लुकेको छुरीले तिमीलाई घाइते पार्न सक्छ।
जब उसले तिमीसँग कुराकानी गर्छ, उसमाथि विश्वास गर, यद्यपि उसको स्वरले तिम्रा सपनाहरूलाई हुरीले बगैँचालाई उजाड बनाइदिए जसरी नै नष्ट गर्न सक्छ ।
किनकि प्रेमले जसरी तिमीलाई मुकुट पहिर्याउँछ त्यसरी नै तिम्रो वध पनि गर्नेछ; जसरी त्यो तिम्रो विकासमा सहयोगी छ, त्यसरी नै तिम्रो निम्ति बाधक पनि बन्नेछ। जुन प्रकारले त्यो माथि उक्लिएर घाममा लहराइरहेका तिम्रा कोमलाङ्गी हाँगाहरूलाई चुम्छ, त्यसैगरी तल ओर्लेर माटोमा जेलिएका तिम्रा जराहरूलाई हल्लाएर झकझकाइदिन्छ।
अन्नको बालालाई चुटेझैँ त्यसले तिमीलाई आफूभित्र समेट्छ।
तिम्रो आवरण हटाउनका लागि त्यसले तिमीलाई कुट्छ।
भुसबाट अलग गर्नका लागि त्यसले तिमीलाई छाँट्छ ।
तिमीलाई मिहीन हुने गरी पिस्छ।
अति नै लचिलो नभएसम्म त्यसले तिमीलाई मुस्छ, र त्यसपछि आफ्नो पवित्र अग्निको भेंट चढाइदिन्छ ताकि तिमी ईश्वरको पवित्र भोजनको पवित्र रोटी बन्न सक।
प्रेमले तिम्रो निम्ति यो सब कुरा यसकारण गर्नेछ ताकि तिमी आफ्ना हृदयका रहस्यहरूलाई जान्न सक र त्यो ज्ञानद्वारा परम जीवनको हृदयको सुबासको एक अंश बन्न सक।
तर तिमीले डरका कारण खालि प्रेमको शान्ति र सुखमात्रै खोज्यौ भने, यो नै उचित हुनेछ कि तिमी आफ्नो नग्नता छोपेर प्रेमको कठिन तपस्याबाट अलग भएर त्यस्तो ऋतुहीन संसारमा जाऊ जहाँ न त तिमी पूर्ण रूपले हाँस्न सक्छौ, न त पूर्ण रूपले रुन नै ।
प्रेमले जेजति दिन्छ, त्यो आफ्नै तर्फबाट दिन्छ र जेजति लिन्छ, त्यो पनि आफ्नैबाट लिन्छ।
न त प्रेमको कसैमाथि आधिपत्य नै हुन्छ, न त त्यो कसैको अधिकारमा नै रहन्छ।
किनकि प्रेम आफैँमा पूर्ण र पर्याप्त छ।
जब तिमी प्रेम गर्छौ, तब यो कदापि भन्नु हुँदैन कि “ईश्वर मेरा हृदयमा हुनुहुन्छ,” बरु यो भन कि “म ईश्वरको हृदयमा छु।”
अनि यो कहिल्यै नसोच कि तिमी प्रेमको गतिलाई नियन्त्रण गर्न सक्छौ, किनकि प्रेमले तिमीलाई योग्य ठान्यो भने त्यसले नै तिम्रो मार्ग र गतिलाई निर्देशित गर्नेछ।
स्वयंको परिपूर्तिको अतिरिक्त प्रेमको अरू कुनै पनि अभिलाषा हुँदैन।
फेरि पनि प्रेम गर्दागर्दै तिमी मनमा केही कामनाहरू राख्न चाहन्छौ भने, यस्ता कामनाहरू राखः
पग्लेर त्यो बग्ने नदीको स्रोतजस्तै बन्नू जसले रातको समयमा आफ्नो मधुर गीत सुनाउने गर्छ।
अतिशय कोमलता र संवेदनशीलताको पीडालाई गहिरो रूपमा महसुस गर्नू।
स्वयं आफ्नै प्रेमको बोधले घाइते बन्नू र स्वेच्छापूर्वक तथा प्रसन्नतासाथ प्रेमको रगत बगाउनू।
उज्यालो तर्फ उडान भर्दै गरेको हृदय लिएर बिहान जाग्नू र प्रेमले पूर्ण रूपमा परिपूर्ण भएर बितेका प्रत्येक दिनप्रति कृतज्ञ हुनू।
दिउँसोको समयमा विश्राम गर्नु र प्रेमको उन्माद तथा आनन्दबारे मनन गर्नू।
साँझ पर्दा कृतज्ञताले भरिएको मन लिएर घर फर्किनु र आफ्नो प्रियजनका लागि हृदयमा प्रार्थना गर्दै ओठमा प्रशंसाको गीत सजाएर निदाउनू।
The Prophet बाट अनुदित
प्रतिक्रिया