लाल सामुराईको अवसान

लाल झण्डाको छत्रछायाँमा हुर्किएको विद्रोही जीवन: कोजो ओकामोतो, जापानी रेड आर्मी र एक युगको अन्त्य

बीसौँ शताब्दीको उत्तरार्धमा सिङ्गो विश्व क्रान्तिकारी उभार, वैचारिक मन्थन र भूराजनीतिक उथलपुथलले रङ्गिएको थियो । त्यसै समयको सेरोफेरोमा जापानको एक सामान्य परिवारमा हुर्किएका एक युवाले आफ्नो देशको सीमा र सुविधा पूर्ण जीवनलाई पछाडि छाडेर मध्यपूर्वको बलौटे मैदानमा प्यालेस्टाइनी मुक्तिका लागि बन्दुक उठाए। जापानको वामपन्थी विद्यार्थी आन्दोलनको रापतापबाट हुर्किएर विश्वक्रान्तिको अनौठो र विद्रोही यात्रामा होमिएका तिनै अन्तर्राष्ट्रियतावादी योद्धा कोजो ओकामोतोको ७८ वर्षको उमेरमा लेबनानको राजधानी बेरुतमा निधन भएको छ। सन् १९७२ को विख्यात लोड एयरपोर्ट आक्रमणदेखि लिएर इजरायली कारावासको १३ वर्षे कठोर यातना, लेबनानको राजनीतिक शरण र जीवनको उत्तरार्धसम्मको एकान्तबास– ओकामोतोको यो सम्पूर्ण जीवनयात्रा कुनै फिल्मी कथाभन्दा कम रोमाञ्चक र त्रासदीपूर्ण छैन।

आफ्नो जीवनको अधिकांश समय मध्यपूर्वका क्रान्तिकारी शिविर र भूमिगत डेराहरूमा बिताएका ओकामोतोको अवसानसँगै बीसौँ शताब्दीका 'लाल सामुराई'हरूको एक अध्याय सदाका लागि बन्द भएको छ । ती ‘लाल सामुराई’हरुले भाषा, भूगोल र संस्कृतिको पर्खाललाई पन्छाउँदै संसारको जुनसुकै कुनामा भएको अन्यायविरुद्ध हतियार उठाउनुलाई आफ्नो परम कर्तव्य ठानेका थिए। इजरायली जेलमा भोगेका अकल्पनीय शारीरिक पीडादेखि लिएर प्यालेस्टाइनी जनताले दिएको 'अहमद अल-याबानी' (जापानबाट आएका अहमद) सम्मको सम्मानले तिनै लाल सामुराईमध्येका एक कोजो ओकामोतोको जीवनलाई एउटा जिउँदोजाग्दो किम्बदन्तीमा परिणत गरिदिएको छ। यो लेख तिनै विद्रोही योद्धा कोजो ओकामोतोको जीवन, सङ्घर्ष, त्याग र अन्तर्राष्ट्रियवादलाई अङ्गाल्ने एक युगको विधिवत अवसानको दस्तावेज हो।

प्रारम्भिक जीवन र राजनीतिक चेतनाको उठान

कोजो ओकामोतोको जन्म सन् १९४७ मा जापानको कुमामोतो शहरमा भएको थियो। उनका बुबा यासुओ ओकामोतो स्कुलका अवकाशप्राप्त प्रिन्सिपल र समाजसेवी थिए भने आमा पनि स्कुलकी शिक्षिका थिइन्। आमाको मृत्यु सन् १९६६ मा भएको थियो। ओकामोतो दम्पतिका ६ जना सन्तान थिए। तीमध्ये दुई जना महत्त्वपूर्ण छन्– कोजो र उनका दाजु ताकेशी। कोजो परिवारमा सबैभन्दा कान्छा थिए।

जापानी रेड आर्मीको उदय र विदेशमा तालिमको खोजी

सन् ६० को दशक चिनियाँ सांस्कृतिक क्रान्ति, क्युबाली क्रान्ति, भियतनामी मुक्ति सङ्घर्ष अनि माओ, चे र क्यास्ट्रोको दशक थियो। यो लहरबाट संसारभरका युवाहरू प्रभावित थिए। सन् ६० को दशकमा जापानमा विशाल र प्रभावशाली कम्युनिस्ट विद्यार्थी आन्दोलन चलिरहेको थियो। यो आन्दोलन मुख्यतः दोस्रो विश्वयुद्धपछिको जापानको राजनीतिक व्यवस्था जापानमा रहेका अमेरिकी सैन्य अखडाहरुको विरोधमा सञ्चालन भइरहेको थियो। त्यही आन्दोलनमा सक्रिय कम्युनिस्ट लिगको एउटा समूहले ५ सेप्टेम्बर १९६९ मा तत्काल सशस्त्र क्रान्ति गर्न सिमोयी ताकायाको नेतृत्वमा रेड आर्मी फ्याक्सन (सेकिगुन) गठन गरेको थियो। सङ्गठन स्थापना भए लगत्तै यसले सशस्त्र कारबाही सुरु गर्न थालिहाल्यो। यसले प्रहरी चौकीहरूमा पेट्रोल बम प्रहार गर्ने जस्ता काम गर्न थाल्यो। विद्यार्थीहरूले विश्वविद्यालयका प्रयोगशालाहरूमा घरेलु बमहरू बनाउने र भण्डारण गर्ने गर्थे। रेड आर्मी फ्याक्सनले जापानको डाइबोसात्सु पहाडमा रहेको रिसोर्टमा आफ्ना कार्यकर्ताहरूलाई गुरिल्ला तालिम दिन थाल्यो। यो तालिमको सुइँको पाएर प्रहरीले सो स्थानमा छापा मारेर ५३ जना कार्यकर्तालाई गिरफ्तार गर्‍यो।

सन् ६० को दशकमा जापानमा विशाल र प्रभावशाली कम्युनिस्ट विद्यार्थी आन्दोलन चलिरहेको थियो। यो आन्दोलन मुख्यतः दोस्रो विश्वयुद्धपछिको जापानको राजनीतिक व्यवस्था जापानमा रहेका अमेरिकी सैन्य अखडाहरुको विरोधमा सञ्चालन भइरहेको थियो।

जापानमा सहज रूपमा काम गर्न सम्भव नरहेको बुझेर यो सङ्गठनले विदेशमा तालिमको अवसर खोजी गर्न थाल्यो। यही परिवेशमा सिमोयी ताकायाले विमान अपहरणको योजना बनाए। तर यो कारबाही हुनुभन्दा ठीक अगाडि सिमोयी ताकाया गिरफ्तार भए । फलत: उनी यो अपहरणमा सहभागी हुन सकेनन्।

१५ मार्च १९७० मा तरवार र घरेलु बम बोकेका रेड आर्मी फ्याक्सनका ९ जना कार्यकर्ताहरूले जापानको आन्तरिक उडानमा रहेको बोइङ ७२७ प्लेनलाई अपहरण गरे। उनीहरूले त्यो प्लेनलाई क्युबातर्फ लैजान पाइलटहरूलाई आदेश दिए। प्लेनमा क्युबासम्म पुग्ने तेल नरहेको जानकारी चालक दलले दिएपछि त्यसलाई जापानको फुकुओका हुँदै दक्षिण कोरिया पुर्याइयो, जहाँ बन्धक बनाइएका यात्रुहरूलाई रिहा गरियो। अनि चालक दलसहित त्यो प्लेन उत्तर कोरिया पुग्यो। उत्तर कोरिया पुगेपछि अपहरणकारीहरूले त्यो प्लेनलाई छाडिदिए र चालक दल रिहा भए। उत्तर कोरियाले रेड आर्मी फ्याक्सनका कार्यकर्ताहरूलाई आफ्नो देशमा राजनीतिक शरण दियो। रेड आर्मी फ्याक्सनका कार्यकर्ताहरू उत्तर कोरियामै स्थायी रूपमा बसे। यो प्लेन अपहरण गर्ने ९ जना अपहरणकारीमध्ये एक कोजो ओकामोतोका आफ्नै दाजु  ताकेशी ओकामोतो पनि थिए।

रेड आर्मी फ्याक्सनको बाँकी समूह सुलियो मोरीको नेतृत्वमा क्रियाशील रह्यो। यसले आक्रामक ढङ्गले आफ्ना कारबाहीहरू बढाउन थाल्यो। विदेशमा गएर अन्तर्राष्ट्रिय क्रान्तिकारी सङ्घर्षमा लाग्न चाहने रेड आर्मी फ्याक्सनका सदस्यहरू महिला नेत्री फुसाको शिगेनोबुको नेतृत्वमा अलग भए। यो समूह जापान छाडेर मध्यपूर्वतर्फ लाग्यो। त्यस बेला मध्यपूर्व विश्वभरिका क्रान्तिकारीहरूका लागि विश्वविद्यालयजस्तै बनेको थियो। विश्वभरका क्रान्तिकारीहरू गुरिल्ला तालिम लिन त्यहाँ पुग्ने गर्थे। जापान छाडेर मध्यपूर्वतर्फ लाग्ने समूहले आफूलाई जापानी रेड आर्मी भन्न थाल्यो।

विदेशमा गएर अन्तर्राष्ट्रिय क्रान्तिकारी सङ्घर्षमा लाग्न चाहने रेड आर्मी फ्याक्सनका सदस्यहरू महिला नेत्री फुसाको शिगेनोबुको नेतृत्वमा अलग भए। यो समूह जापान छाडेर मध्यपूर्वतर्फ लाग्यो। त्यस बेला मध्यपूर्व विश्वभरिका क्रान्तिकारीहरूका लागि विश्वविद्यालयजस्तै बनेको थियो।

उता जापानभित्रै बसेर सङ्घर्ष गर्ने समूहले अर्को माओवादी समूह रेभोल्युसनरी लेफ्ट फ्याक्सनसँग एकता गरेर युनाइटेड रेड आर्मी  बनायो। यो समूह आन्तरिक विग्रह र प्रहरी दमनका कारण समाप्त भयो। युनाइटेड रेड आर्मीले सन् १९७१ मा टोकियोमा भएको एउटा बैंक डकैती तथा थुप्रै प्रहरी चौकीहरूमाथि बम विस्फोट र आक्रमणहरू गरेको थियो। फलस्वरूप, टोकियो महानगर प्रहरीले शहरका केही निश्चित क्षेत्रहरूमा रेड आर्मीका सदस्यहरू लुक्ने ठेगाना र बम कारखानाहरू पत्ता लगाउन खोजीका लागि घरदैलो अभियान सुरु गर्‍यो।

प्रहरीको तीव्र दबाब र लगातारको निगरानीका कारण युनाइटेड रेड आर्मीका ठूलो सङ्ख्याका कार्यकर्ताहरू जापानको पहाडी क्षेत्रमा शरण लिन पुगे। फेब्रुअरीको मध्यसम्ममा प्रहरीले उनीहरूको एउटा सानो समूहलाई करुइजावाको पहाडी रिसोर्टमा घेराबन्दीमा पारेको थियो। युनाइटेड रेड आर्मीका पाँच जना सदस्यहरूले एक पहाडी लजमा शरण लिए र त्यहाँकी एक महिला कर्मचारीलाई बन्धक बनाए। १२ सय प्रहरीको फौजले नौ दिनसम्म उनीहरूलाई घेराबन्दी गरेको थियो। युनाइटेड रेड आर्मीले यसको प्रतिरोध गर्दा दुई जना प्रहरी र एक गाउँलेको मृत्यु भएको थियो। अन्ततः उनीहरू जीवितै पक्राउ परे। यस घेराबन्दीको अन्तिम दिनको झडपलाई जापानका सबै टेलिभिजन च्यानलहरूले प्रत्यक्ष प्रसारण गरेका थिए, जसलाई अभूतपूर्व रूपमा ९८.२ प्रतिशत दर्शकहरूले हेरेका थिए।

युनाइटेड रेड आर्मीका पाँच जना सदस्यहरूले एक पहाडी लजमा शरण लिए र त्यहाँकी एक महिला कर्मचारीलाई बन्धक बनाए। १२ सय प्रहरीको फौजले नौ दिनसम्म उनीहरूलाई घेराबन्दी गरेको थियो। युनाइटेड रेड आर्मीले यसको प्रतिरोध गर्दा दुई जना प्रहरी र एक गाउँलेको मृत्यु भएको थियो।

कोजो ओकामोतोका दाजु ताकेशी जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयमा पढ्थे। कोजो भने आफ्नै जिल्लाको कागोसिमा विश्वविद्यालयमा कृषिविज्ञान पढ्थे। उनी पनि त्यस बखत जापानमा चलिरहेको विद्यार्थी आन्दोलनमा संलग्न थिए। उनले आफ्ना दाजुको सिफारिसमा रेड आर्मी फ्याक्सनका मान्छेहरूसँग भेट्न थालेका थिए। त्यसै क्रममा उनले टोकियोमा दाजु ताकेशी र रेड आर्मीका अन्य सदस्यहरूसँग पनि भेटे। यो प्लेन अपहरणभन्दा ठीक अगाडिको घटना थियो।

प्यालेस्टाइनी सङ्गठनसँग सामीप्य र लेबनान यात्रा

सन् १९७१ को अन्त्यतिर रेड आर्मी फ्याक्सनले कोजो ओकामोतोलाई आफ्नो विश्वविद्यालयमा सो सङ्गठन र प्यालेस्टाइनको पि.एफ.एल.पी. (PFLP) को सम्बन्धबारे बनाइएको चलचित्र– "रेड आर्मी र पि.एफ.एल.पी. द्वारा विश्वयुद्धको घोषणा" (Declaration of World War by the Red Army and PFLP) प्रदर्शन गर्न हलको व्यवस्था गर्नका लागि अनुरोध गर्दै फोनमार्फत सम्पर्क गर्‍यो। रेड आर्मी फ्याक्सन र जर्ज हब्बासले नेतृत्व गरेको प्यालेस्टाइनी मार्क्सवादी सङ्गठन पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइन (पि.एफ.एल.पी.) बीच सम्पर्कको सुरुवात सन् १९७० मै भइसकेको थियो। त्यसबेलानै रेड आर्मीका एक जना सदस्य बेरुत पुगेका थिए।

सन् १९७१ मा केही रेड आर्मीका सदस्यहरू अरब छापामारहरूसँगै थिए ।सोही समयमा एक जापानी स्वतन्त्र चलचित्र निर्माताले ती दुई समूहको सहकार्यको बारेमा एउटा चलचित्र बनाएका  थिए। "रेड आर्मी र पि.एफ.एल.पी. द्वारा विश्वयुद्धको घोषणा" नामक यो चलचित्र सन् १९७१ मा रेड आर्मीका सदस्यहरू र पि.एफ.एल.पी. का एक भ्रमणकारी प्रतिनिधिद्वारा जापानका विश्वविद्यालयहरूमा प्रदर्शन गरिएको थियो। ओकामोतोले यो चलचित्र आफ्नो विश्वविद्यालयमा प्रदर्शन गर्ने व्यवस्था मिलाए, साथै रेड आर्मी र पि.एफ.एल.पी. का एक जना सदस्यको रेखदेख  पनि गरे।

सन् १९७१ को सेप्टेम्बरमा कोजो ओकामोतोलाई जापानी रेड आर्मीले सैन्य तालिम लिनका लागि लेबनान जाने प्रस्ताव गर्‍यो। उनले यसलाई स्वीकार गरे। युनाइटेड रेड आर्मीको सफाया भएलगत्तै उनलाई तत्काल जापान छाडेर लेबनान जान रेड आर्मीले आदेश दियो। आफ्नो गन्तव्य कसैले पछायाउन नसकून् भनेर ओकामोतो क्यानाडा, अमेरिका र पश्चिम युरोपको घुमाउरो बाटो हुँदै बेरुत पुगे। बेरुतमा उनले त्यहाँ रहेका जापानी रेड आर्मीका सदस्य सुयोसी ओकुडाइरालाई सम्पर्क गरे। उनले कोजोलाई तालिमका लागि बेरुतबाहिर लगे, जहाँ उनको भेट अरू जापानीहरूसँग भयो। तीमध्ये यासुकी यासुदा र अर्का एक जना जापानी पनि थिए। उनीहरूलाई सैन्य तालिमका लागि शरीरलाई अभ्यस्त बनाउन  दुई हप्तासम्म शारीरिक अभ्यास गराइयो। त्यसपछि उनीहरूलाई पि.एफ.एल.पी. को क्याम्पमा ७ हप्तासम्म हतियार र विस्फोटक पदार्थसम्बन्धी तालिम दिइयो। यो मोर्चाबन्दी युद्धबारेको तालिम थिएन।  उनीहरूलाई व्यक्तिगत हतियार सञ्चालनसम्बन्धी तालिम दिइएको थियो। तालिम लिने टोलीमा जम्मा ४ जना मात्र सदस्य थिए, त्यसैले ओकामोतो र उनको टोलीले पाएको तालिम एकदमै घनीभूत र निजी प्रकारको थियो।

कोजो ओकामोतोलाई जापानी रेड आर्मीले सैन्य तालिम लिनका लागि लेबनान जाने प्रस्ताव गर्‍यो। उनले यसलाई स्वीकार गरे। युनाइटेड रेड आर्मीको सफाया भएलगत्तै उनलाई तत्काल जापान छाडेर लेबनान जान रेड आर्मीले आदेश दियो।

गुरिल्ला तालिमको अन्तिम हप्तातिर मात्र ओकुडाइराले ओकामोतोलाई इजरायलको तेल अविव मा रहेको लोड एयरपोर्ट आक्रमणको योजनाबारे बताए। ओकामोतोले त्यो आक्रमणमा सहभागी हुन मन्जुर रहेको जवाफ दिए। पि.एफ.एल.पी. को क्याम्पमा अरू केही दिन तालिम जारी रह्यो। तालिम सकिएपछि जापानी रेड आर्मीका यी ३ जना कार्यकर्ताहरू आफ्नो मिसनतर्फ लागे। यो टोलीमा थिए– कोजो ओकामोतो, सुयोसी ओकुडाइरा र यासुकी यासुदा। लेबनानबाट सिधै इजरायल जान सम्भव थिएन, त्यसैले उनीहरू पश्चिम युरोपतर्फ लागे। जर्मनीको फ्राङ्कफर्ट पुगेपछि उनीहरूले नक्कली पासपोर्ट प्राप्त गरे। त्यसपछि उनीहरू रोम पुगे र रोममा एउटा आलिशान होटलमा बसे। भोलिपल्ट उनीहरूको कोठामा चेक-निर्मित एसल्ट राइफल, गोलीहरू र चिनियाँ ग्रिनेडहरू आइपुगे। रोम आएको तीन दिनपछि ओकामोतोको समूह हतियारहरू आफ्नो झोलामा प्याक गरेर रोमदेखि जापानको टोकियो जाने एयर फ्रान्सको फ्लाइटमा चढ्यो। यो प्लेन इजरायलको तेल अविव हुँदै टोकियो जाने जाने वाला थियो । प्लेन तेल अविवमा रोकिने वाला थियो।

कोजो ओकामोतोले इजरायलको मिसनमा जानुभन्दा ठीक अगाडि डायरीमा लेखेका थिए– "मलाई चेरीका फूलहरू असाध्यै मन पर्छन्... मानिसहरूले बीस वर्षदेखि डीडीटी (कीटनाशक) प्रयोग गरेर यो संसारलाई दूषित बनाउँदै आएका छन्... म एउटा अत्यन्त महत्त्वपूर्ण काममा निस्कँदै छु।"

तीनै जनाले व्यापारीको जस्तै पोसाक लगाएका थिए। उनीहरूले आइरन गरिएको प्यान्ट, सेतो सर्ट र टाई लगाएका थिए। उनीहरू प्लेनमा एकसाथ समूहमा बसेका थिए– जसरी सामान्यतया जापानी पर्यटक र व्यापारीहरू बस्ने गर्छन् । कोजो ओकामोतोले इजरायलको मिसनमा जानुभन्दा ठीक अगाडि डायरीमा लेखेका थिए– "मलाई चेरीका फूलहरू असाध्यै मन पर्छन्... मानिसहरूले बीस वर्षदेखि डीडीटी (कीटनाशक) प्रयोग गरेर यो संसारलाई दूषित बनाउँदै आएका छन्... म एउटा अत्यन्त महत्त्वपूर्ण काममा निस्कँदै छु।"

लोड एयरपोर्ट आक्रमण र ऐतिहासिक गिरफ्तार

प्लेन इजरायलको लोड एयरपोर्ट (हालको बेन-गुरियन अन्तर्राष्ट्रिय एयरपोर्ट) मा ल्यान्ड गरेपछि यी तीनै जना जापानी रेड आर्मीका सदस्यहरूले आफ्नो पासपोर्ट देखाएर एयरपोर्टको अध्यागमन सहज रूपमा पार गरे। उनीहरू आफ्नो सामान लिन कन्वेयर बेल्टमा आफ्ना ब्यागहरूको प्रतीक्षा गर्न थाले। त्यसै समयमा कोजो ओकामोतोले एयरपोर्टको बाथरुममा गएर पासपोर्टमा रहेको आफ्नो तस्बिर च्याते। कन्वेयर बेल्टबाट आफ्नो ब्याग लिएपछि यी ३ जना यात्रुहरू  अरू  यात्रुझैँ  भन्सारतिर लागेनन्। उनीहरूले आफ्ना ब्यागहरू खोले र त्यसबाट स्वचालित राइफलहरू निकालेर एयरपोर्टको टर्मिनलमा आफ्ना वरिपरि रहेका यात्रीहरूमाथि अन्धाधुन्ध फायरिङ र ग्रिनेडहरू प्रहार गर्न थाले।

टर्मिनलबाट बाहिर दौडिँदै गएर धावनमार्गमा रहेका प्लेनहरूमाथि ग्रिनेड प्रहार गरिरहेका तेस्रो सदस्यलाई इजरायलीहरूले पक्रन सफल भए। जापानी रेड आर्मीले गरेको यो घातक आक्रमणमा दुई मिनेटभन्दा कम समयभित्रै २६ जनाको हत्या भयो र ८० जनाभन्दा बढी घाइते भए।

एयरपोर्टमा रहेका इजरायली सुरक्षाकर्मीहरूले पनि उनीहरूमाथि फायरिङ गर्न थाले। इजरायली सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई जना रेड आर्मीका सदस्यको मृत्यु भयो।टर्मिनलबाट बाहिर दौडिँदै गएर धावनमार्गमा रहेका प्लेनहरूमाथि ग्रिनेड प्रहार गरिरहेका तेस्रो सदस्यलाई इजरायलीहरूले पक्रन सफल भए। जापानी रेड आर्मीले गरेको यो घातक आक्रमणमा दुई मिनेटभन्दा कम समयभित्रै २६ जनाको हत्या भयो र ८० जनाभन्दा बढी घाइते भए। मारिनेहरूमा प्युर्टो रिकोका १७ जना क्रिश्चियन तीर्थयात्री, वरिष्ठ इजरायली वैज्ञानिक, पर्यटक र एयरपोर्टका कर्मचारी थिए।

यो आक्रमणको क्रममा रेड आर्मीका सुयोसी ओकुडाइरा र यासुकी यासुदाको मृत्यु भयो भने कोजो ओकामोतो घाइते अवस्थामा जीवितै गिरफ्तार भए। इजरायलले लोड एयरपोर्ट आक्रमणको बदला दुई महिनापछि लेबनानको राजधानी बेरुतमा पि.एफ.एल.पी. का प्रवक्ता एवं प्रख्यात प्यालेस्टाइनी लेखक घसान कनाफानी लाई कार बम आक्रमणमा मारेर लियो।

इजरायली अदालतमा बयान र कठोर कारावास

कोजो ओकामोतोमाथि इजरायलको अदालतमा लोड एयरपोर्ट आक्रमणको अभियुक्तका रूपमा मुद्दा चल्यो। उनलाई इजरायलमा राजनीतिक आतङ्कवादअन्तर्गत सैन्य आक्रमण गरेको आरोप लगाइयो। कोजो ओकामोतोले यो आक्रमण आफूले गरेको स्वीकार गर्दै अदालतमा भाषण दिए। उनले सर्वप्रथम आफूले आधुनिक राज्यको न्याय प्रणालीलाई मान्यता नदिने घोषणा गरे र यो मुद्दा आफ्ना लागि केवल सर्वहारा वर्गको पुँजीपति वर्गविरुद्धको क्रान्तिको प्रचारप्रसारको मञ्चबाहेक अरू केही नभएको बताए।

त्यसपछि उनले तेस्रो विश्वका जनताद्वारा सञ्चालित विश्वव्यापी क्रान्तिको सिद्धान्त प्रस्तुत गर्दै भने कि त्यस्तो क्रान्ति भियतनामी जनता, अरब जनता र अमेरिकी अश्वेत समुदायले पहिले नै लडिरहेका छन्। उनका अनुसार यो राज्य–राज्यबीचको युद्ध होइन, बरु एउटा क्रान्तिकारी युद्ध हो, जसमा पुँजीवादी समाजको पक्षमा उभिने साधारण मानिसहरू पनि निर्ममतापूर्वक मारिनेछन्। उनले थपे– "हामी रेड आर्मीका लडाकुहरूले के गरेका थियौँ भन्ने कुरा संसारले बुझेन। तर जति-जति नरसंहारहरू जारी रहनेछन्, उति-उति संसारले हाम्रो युद्धको वास्तविक अर्थ बुझ्दै जानेछ। अब रेड आर्मीका लडाकुहरू विश्वव्यापी क्रान्तिमा सहभागी भइसकेका छन्। यदि प्रदूषणबाट पीडित पुँजीवादी समाजका बासिन्दाहरू पनि यस आन्दोलनमा जोडिए भने, क्रान्ति आधा सम्पन्न भइसकेको ठहरिनेछ।"

कोजो ओकामोतोले यो आक्रमण आफूले गरेको स्वीकार गर्दै इजरायली अदालतमा भाषण दिए। उनले सर्वप्रथम आफूले आधुनिक राज्यको न्याय प्रणालीलाई मान्यता नदिने घोषणा गरे र यो मुद्दा आफ्ना लागि केवल सर्वहारा वर्गको पुँजीपति वर्गविरुद्धको क्रान्तिको प्रचारप्रसारको मञ्चबाहेक अरू केही नभएको बताए।

ओकामोतोले आफ्नो मन्तव्यको अन्त्य न्यायपूर्ण हिंसा र त्यसबाट पीडित हुनेहरूको मृत्युलाई जोड्ने अत्यन्तै रोमान्टिक बिम्ब प्रस्तुत गर्दै गरे– "म सानो हुँदा मानिसहरू मरेपछि तारा बन्छन् भनेर मलाई भनिएको थियो। मैले त्यसलाई वास्तवमै विश्वास गरेको थिएनँ, तर त्यो कल्पनाको सौन्दर्यलाई महसुस गर्न सक्थेँ। हामी तीन जना रेड आर्मीका लडाकुहरू मरेपछि ओरायन (Orion) नक्षत्र बन्न चाहन्थ्यौँ। अनि हामीद्वारा मृत्यु वरण गरेका सबै मानिसहरू पनि यही आकाशका ताराहरू बन्नेछन् भन्ने सोच्दा मेरो मन शान्त हुन्छ। क्रान्ति जति-जति अगाडि बढ्दै जान्छ, त्यति-त्यति आकाशका ताराहरू पनि थपिँदै जानेछन्!"

इजरायलको अदालतले कोजो ओकामोतोलाई हतियार बोकेको, हतियार प्रयोग गरेको र गैरकानुनी सङ्गठन (पि.एफ.एल.पी.) को सदस्य भएको तीन वटा अभियोगमा दोषी ठहराउँदै आजीवन कारावासको सजाय दियो। उनी त्यसबेला जम्मा २४ वर्षका मात्र थिए। उनलाई छुटाउनका लागि जापानी रेड आर्मी र पि.एफ.एल.पी. ले प्रयास जारी राखेका थिए। सन् १९७३ को जुलाईमा जापानी रेड आर्मी र पि.एफ.एल.पी. ले नेदरल्यान्ड्सको आम्स्टर्डमबाट टोकियोतर्फ उडेको जापान एयरलाइन्सको प्लेनलाई अपहरण गरे। यो प्लेन युएईको दुबईमा ल्यान्ड गराइयो। अपहरणकर्ताहरूले इजरायल सरकारसँग कोजो ओकामोतोको रिहाइको माग गरे। इजरायलले यो माग पूरा गर्न अस्वीकार गर्‍यो। यो प्लेनलाई सिरियाको राजधानी दमास्कस हुँदै लिबियाको त्रिपोली पुर्याइयो। अपहरणकर्ताहरूले सबै यात्रुहरूलाई रिहा गरे अनि प्लेनलाई विस्फोट गराएर ध्वस्त पारिदिए।

कोजो ओकामोतो १३ वर्षको कठोर जेल सजाय भोगेपछि अहमद जिब्रिलको नेतृत्वमा रहेको पि.एफ.एल.पी.-जि.सी. (PFLP-GC) द्वारा मध्यस्थता गरिएको एक ऐतिहासिक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत सन् १९८५ मा रिहा भए।

ओकामोतो इजरायलको जेलमा लामो समयसम्म बसे। उनलाई जेलमा कठोर यातना दिएर निकै कष्टकर अवस्थामा राखिएको थियो। उनलाई जेलको कालकोठरीमा राखिएको थियो।

कोजो ओकामोतो १३ वर्षको कठोर जेल सजाय भोगेपछि अहमद जिब्रिलको नेतृत्वमा रहेको पि.एफ.एल.पी.-जि.सी. (PFLP-GC) द्वारा मध्यस्थता गरिएको एक ऐतिहासिक बन्दी आदानप्रदान सम्झौताअन्तर्गत सन् १९८५ मा रिहा भए। यो सम्झौता 'जिब्रिल सम्झौता'का नामले प्रख्यात छ। सन् १९८२ को लेबनान युद्धका क्रममा अहमद जिब्रिल नेतृत्वको पि.एफ.एल.पी.-जि.सी. समूहले ३ जना इजरायली सैनिकलाई युद्धबन्दी बनाएको थियो। सन् १९८५ मा पि.एफ.एल.पी.-जि.सी. र इजरायलबीच युद्धबन्दी साटासाट गर्ने सम्झौता भयो।

यो रिहाइ सम्झौताअन्तर्गत इजरायलले बन्दी बनाइएका आफ्ना ३ जना सैनिकहरूको साटो १,१५० जना प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्‍यो। कोजो ओकामोतो पनि यही समूहसँगै रिहा भए। यो बन्दी साटासाट सम्झौता प्यालेस्टाइनी आन्दोलनका लागि महत्त्वपूर्ण सिद्ध भयो । किनकि रिहा गरिएकाहरूमध्ये शेख अहमद यासिन पनि थिए । तिनै अहमद यासिनले पछि हमासको स्थापना गरे । रिहाइमा परेका  जियाद अल-नखालाले पछि गएर प्यालेस्टाइनी इस्लामिक जिहादको नेतृत्व गर्न पुगे। सो बन्दी आदानप्रदानमा रिहा भएकाहरूमध्ये धेरैजसो पछि इजरायली आधिपत्यविरुद्ध चलेको पहिलो इन्तिफादा  आन्दोलनका प्रमुख व्यक्तित्वहरू बने।

जेलमुक्तिको सङ्घर्ष र 'अहमद अल-याबानी' बनेका ओकामोतो

कोजो ओकामोतो इजरायली जेलबाट रिहा भएपछि लिबिया र सिरिया हुँदै लेबनान पुगे। इजरायली जेलमा १३ वर्षसम्म बस्दा उनको शारीरिक अवस्था अत्यन्त दयनीय बनेको थियो। उनी जिउँदो लासजस्तै देखिन्थे। उनले इजरायली कारावासमा अवर्णनीय यातना भोगेका थिए। खाना खाने बेलामा उनको हात पछाडि हत्कडी लगाइन्थ्यो, जसले गर्दा उनले कुकुरले जसरी भुइँमा राखिएको खाना खानुपर्थ्यो। फलस्वरूप, उनले जेलबाट रिहा भएको लामो समयपछिसम्म पनि खाना खाँदा टेबलमा निहुरिएर र जिब्रोले चाटेर खाने गर्थे। ओकामोतो लेबनान फर्केपछि त्यहाँको बेक्का उपत्यकामा रहेको जापानी रेड आर्मीको क्याम्पमा बस्न थाले।

उनले इजरायली कारावासमा अवर्णनीय यातना भोगेका थिए। खाना खाने बेलामा उनको हात पछाडि हत्कडी लगाइन्थ्यो, जसले गर्दा उनले कुकुरले जसरी भुइँमा राखिएको खाना खानुपर्थ्यो। फलस्वरूप, उनले जेलबाट रिहा भएको लामो समयपछिसम्म पनि खाना खाँदा टेबलमा निहुरिएर र जिब्रोले चाटेर खाने गर्थे।

सन् १९९७ मा लेबनान सरकारले कोजो ओकामोतोसहित ५ जना जापानी रेड आर्मीका सदस्यहरूलाई जाली पासपोर्ट प्रयोग गरेको र अवैध रूपमा बसोबास गरेको अभियोगमा गिरफ्तार गर्‍यो। अदालतमा ओकामोतोले आफ्नो परिचय अरब प्रतिरोध योद्धाका रूपमा दिएका थिए। अदालतले उनीहरूलाई ३ वर्षको जेल सजाय सुनायो। सजाय समाप्त भएपछि उनीहरूलाई जापानको अनुरोधमा प्रत्यर्पण गर्न लागिएको थियो। लेबनान सरकारले ४ जना रेड आर्मीका सदस्यहरूलाई जापानसमक्ष सुपुर्दगी गरिदियो। तर कोजो ओकामोतोलाई जापान सुपुर्दगी गर्ने निर्णयको विरोधमा प्यालेस्टाइनी समूहहरू, बुद्धिजीवीहरू र वकिलहरूले ठूलो अभियान चलाए। उनको रक्षाका लागि हप्तौँसम्म व्यापक आन्दोलन चल्यो। बाध्य भएर लेबनान सरकारले ओकामोतोको सुपुर्दगी रद्द गरिदियो। प्यालेस्टाइनीहरूको सङ्घर्षमा उनले गरेको योगदानलाई मान्यता दिँदै लेबनान सरकारले उनलाई राजनीतिक शरण दियो। यसरी लेबनानबाट राजनीतिक शरण पाउने पहिलो व्यक्ति कोजो ओकामोतो बने।

कोजो ओकामोतोलाई जापान सुपुर्दगी गर्ने निर्णयको विरोधमा प्यालेस्टाइनी समूहहरू, बुद्धिजीवीहरू र वकिलहरूले ठूलो अभियान चलाए। उनको रक्षाका लागि हप्तौँसम्म व्यापक आन्दोलन चल्यो। बाध्य भएर लेबनान सरकारले ओकामोतोको सुपुर्दगी रद्द गरिदियो।

सन् २००० यता कोजो ओकामोतोको संरक्षण र रेखदेख पि.एफ.एल.पी. ले गर्न थाल्यो। प्यालेस्टाइनी प्रतिरोध आन्दोलनमा पि.एफ.एल.पी. को प्रभाव घट्दै गए पनि उसले आफ्नो सहयोद्धाप्रतिको कर्तव्य कहिल्यै बिर्सेन। कोजो ओकामोतोले इस्लाम धर्म अपनाए र उनको नाम अहमद राखियो। उनलाई प्यालेस्टाइनीहरूले प्रेमपूर्वक 'अहमद अल-याबानी' भन्ने गर्थे। अहमद उनको इस्लामिक नाम थियो भने 'याबानी'को अर्थ 'जापानबाट आएको' भन्ने हुन्थ्यो।

जापान र इजरायलद्वारा अत्यधिक खोजिएका ओकामोतो पि.एफ.एल.पी. को सुरक्षामा बसेका थिए। ओकामोतो बेरुतको दक्षिणी उपनगरमा एकान्त र सादगीपूर्ण जीवन बिताउँथे। दैनिक जीवनका आवश्यक कामहरूमा सहयोग गर्ने केही निकट कमरेडहरूको सानो समूहले उनको हेरचाह गर्थ्यो। उनी निश्चित समयमा खाना खान्थे र आफ्नो अधिकांश समय टम एन्ड जेरी कार्टुन हेरेर बिताउँथे। उनका सहयोगीहरूले उनलाई दिनको ३ पटक गरी ८ वटा चुरोटको बन्डल उपलब्ध गराउने गर्थे (पछिल्लो समयमा ओकामोतोले चुरोट खान छाडेका थिए)। उनी प्रायः सार्वजनिक कार्यक्रमहरूमा देखा पर्दैनथे।

जापान र इजरायलद्वारा अत्यधिक खोजिएका ओकामोतो पि.एफ.एल.पी. को सुरक्षामा बसेका थिए। ओकामोतो बेरुतको दक्षिणी उपनगरमा एकान्त र सादगीपूर्ण जीवन बिताउँथे। दैनिक जीवनका आवश्यक कामहरूमा सहयोग गर्ने केही निकट कमरेडहरूको सानो समूहले उनको हेरचाह गर्थ्यो।

अन्तिम सार्वजनिक उपस्थिति र एक युगको अवसान

कोजो ओकामोतो सन् २०२२ को मे ३० का दिन लोड एयरपोर्ट आक्रमणको ५०औँ वार्षिकोत्सव मनाउन बेरुतमा आयोजित एक समारोहमा उपस्थित भएका थिए। उनले सातिला शरणार्थी शिविरमा रहेका आफ्ना जापानी रेड आर्मीका सहयोद्धा लडाकुहरूको चिहानमा पुष्पहार अर्पण गरे। उनी दुर्बल देखिन्थे र उनको ढाड केही कुप्रो परेको देखिन्थ्यो। घाँटीमा प्यालेस्टाइनी केफियेह स्कार्फ ओढेका ओकामोतोले मुस्कुराउँदै काँपिरहेका हातले पि.एफ.एल.पी. का समर्थकहरूलाई विजयको सङ्केतस्वरूप औँलाले 'भी' (V) चिन्ह देखाएका थिए।

यो विजयको सङ्केत कुनै मामुली अभिवादन मात्र थिएन । यो युवावस्थामा आफ्नो घर, परिवार र देश परित्याग गरेर प्यालेस्टाइनको मुक्तिका लागि जीवनभर लडेका योद्धाको आफ्नो आस्था र विश्वासप्रतिको अथक प्रतिबद्धता थियो। यो उनको अन्तिम सार्वजनिक उपस्थिति थियो। कोजो ओकामोतो प्यालेस्टाइनको मुक्तिका लागि आफ्नो अन्तिम दिनसम्म प्रतिबद्ध थिए। उनले एक पटक भनेका थिए– "मैले मेरो युवावस्था प्यालेस्टाइनी मुद्दामा समर्पित गरेँ। जबसम्म उत्पीडन कायम रहन्छ, प्रतिरोध अधिकार मात्र होइन, कर्तव्य पनि हो।"

तस्विर: द वाशिङ्टन पोष्ट

घाँटीमा प्यालेस्टाइनी केफियेह स्कार्फ ओढेका ओकामोतोले मुस्कुराउँदै काँपिरहेका हातले पि.एफ.एल.पी. का समर्थकहरूलाई विजयको सङ्केतस्वरूप औँलाले 'भी' (V) चिन्ह देखाएका थिए।

२३ जुलाई २०२६ मा पि.एफ.एल.पी. ले कोजो ओकामोतोको ७८ वर्षको उमेरमा निधन भएको जानकारी दियो। पि.एफ.एल.पी. का अनुसार दीर्घरोगबाट पीडित ओकामोतोको निधन लेबनानको राजधानी बेरुतको दाहिया उपनगरमा भएको थियो। यो स्थान लेबनानी प्रतिरोध आन्दोलन 'हिजबुल्लाह'को गढ मानिन्छ।

ओकामोतोको मृत्युमा सबै प्यालेस्टाइनी समूहहरूले शोक व्यक्त गरे। पि.एफ.एल.पी. ले उनको मृत्युमा वक्तव्य जारी गर्दै भन्यो– "ओकामोतोको जीवन प्यालेस्टाइनी मुक्तिको उद्देश्यप्रतिको सङ्घर्षमा दशकौँसम्म रणभूमिमा दिएका अथाह त्याग र बलिदानहरूले चिनिएको थियो। उनले कहिल्यै आफ्नो सिद्धान्तमा सम्झौता गरेनन्, न त कुनै कठिनाइमा विचलित नै भए; बरु अन्तिम समयसम्म आफ्ना आदर्श र सिद्धान्तप्रति अडिग र दृढ रहे।"

कोजो ओकामोतोको जीवन राजनीतिक प्रतिबद्धता, व्यक्तिगत त्याग र बीसौँ शताब्दीका उथलपुथलपूर्ण क्रान्तिकारी वैचारिक सङ्घर्षको एक अभूतपूर्व उदाहरण हो। जापानको विद्यार्थी आन्दोलनदेखि मध्यपूर्वको सशस्त्र प्रतिरोधसम्मको उनको यात्राले राष्ट्रिय सीमाभन्दा माथि उठेको राजनीतिक निष्ठालाई उजागर गर्छ।

त्यस्तै हमासले पनि जापानी क्रान्तिकारी कार्यकर्ता ओकामोतोको निधनप्रति गहिरो शोक व्यक्त गर्दै भनेको छ– "उनको जीवनयात्राले मानवता, न्याय र उच्च नैतिक मूल्यहरूको मूर्त रूप धारण गरेको थियो। प्यालेस्टाइनी मुक्ति सङ्घर्ष तथा प्यालेस्टाइनी जनताको अधिकारको पक्षमा उनले देखाएको समर्पित, अविचल र अथक योगदानको उच्च प्रशंसा गर्दै उनी स्वतन्त्रताको दीपस्तम्भ तथा अन्याय र निरङ्कुश शक्तिहरूविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा सधैँ स्मरणीय रहनेछन्।"

कोजो ओकामोतोको जीवन राजनीतिक प्रतिबद्धता, व्यक्तिगत त्याग र बीसौँ शताब्दीका उथलपुथलपूर्ण क्रान्तिकारी वैचारिक सङ्घर्षको एक अभूतपूर्व उदाहरण हो। जापानको विद्यार्थी आन्दोलनदेखि मध्यपूर्वको सशस्त्र प्रतिरोधसम्मको उनको यात्राले राष्ट्रिय सीमाभन्दा माथि उठेको राजनीतिक निष्ठालाई उजागर गर्छ। जीवनको उत्तरार्धमा अनेकौँ शारीरिक यातना, लामो कारावास र एकान्तवास भोगे तापनि उनले आफ्ना क्रान्तिकारी आदर्श र उत्पीडित जनताप्रतिको ऐक्यबद्धतालाई कहिल्यै त्यागेनन्। कोजो ओकामोतोको निधनसँगै सशस्त्र विद्रोहमार्फत क्रान्ति गर्ने र आफ्नो देशमा मात्र होइन संसारभर कतै अन्याय-अत्याचार भए त्यसको प्रतिरोध गर्न भाषा, संस्कृति, धर्म र भूगोलको बन्धनलाई अस्वीकार गरी आफ्नो जीवनको पर्वाह नगरी लड्न जाने अन्तर्राष्ट्रियतावादी पुस्ताको अवसान भएको छ।

अलविदा लाल सामुराई!

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्