पृथ्वीनारायण शाह, गोर्खाको कज्याइँ र नेपाल राष्ट्र बैंकको गभर्नर

कुरो उहिलेकै हो। गोर्खाका राजा पृथ्वीनारायण शाहलाई काजी छान्न बडो सकस परिरहेको थियो। उनी विराज बखेती र कालु पाँडे मध्ये कसलाई कज्याइँ दिने भन्ने कुरामा दोधारमा थिए। पृथ्वीनारायण शाहलाई मन परेको त विराज बखेती नै थिए, तर उनले कसलाई कज्याइँ दिनु ठीक होला भनेर देशभित्र र बाहिर समेत सोधे। देशभित्र र बाहिरबाट आएको जवाफबाट आश्चर्यचकित हुँदै उनी भन्छन्- "मलाई आश्चर्य लाग्यो, तर दुनियाँ जसदेखि राजी रहन्छन्, उसैलाई कज्याइँ दिनू भन्ने शास्त्रमा पनि लेखिएको छ। दुनियाँ बुझी हेरुँ भनी बुझ्दा, दुनियाँलाई पनि कालु पाँडेकै चाह रहेछ। बाइसी चोबीसीमा पनि त्यही चाह रहेछ, र कालु पाँडे काजी भए घा-घरेस बलियो राख्न्याछ भन्ने सल्लाह दिए। ज्यादा बुद्धि कालु पाँडेकै ठहर्यो र उसलाई कज्याइँ भएको हो।"
अहिले नेपालमा नेपाल राष्ट्र बैंकको गभर्नर कसलाई नियुक्त गर्ने भन्ने ठूलो सकस परेको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको अवधि चैत २४ गते सकिएको थियो। कानुन अनुसार, उनको पदावधि सकिनु एक महिना अघिनै नयाँ गभर्नर नियुक्त भइसकेको हुनुपर्थ्यो। दुई तिहाइ बहुमत प्राप्त डबल इन्जिनको ओली-देउबा सरकारले अथक मेहनत गर्दा समेत गभर्नर छान्न सकेका छैनन्। हुन त सरकारले गभर्नर छनौटको लागि अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा छनौट समिति पनि बनाएको थियो। तर छनौट समितिमाथि कामको बोझ यति पर्यो कि गभर्नरको नाम सिफारिस गर्नु त कहाँ हो कहाँ, एउटा पनि बैठक नबसी यो छिन्नभिन्न भयो। समितिका सदस्य विजयनाथ भट्टराई र विश्व पौडेलले राजीनामा दिए।
हरेक हप्ता जसो गभर्नरको लागि छिचिमिरा किरा जस्तै केही नामहरू हावामा उड्न थाल्छन्, र केही दिनपछि लगत्तै हराउने पनि गर्छन्। सुरुमा नबिल बैंकका कार्यकारी निर्देशक रहेका ज्ञानेन्द्र ढुंगानाको चर्चा थियो। उनले आफ्नो पदबाट राजीनामा समेत दिए। केही दिनपछि उनको चर्चा हराएर गयो। डेपुटी गभर्नर निलम ढुंगानाको चर्चा समेत चल्न थाल्यो। तर गभर्नर पद नेपाली कांग्रेसको भागमा परेको हुनाले उनी यो रेसबाट सुरुमै व्यवहारिक रूपमा आउट भइन्। त्यसपछि चर्चामा आए राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट। उनले गभर्नर बन्न आफ्नो पदबाट राजीनामा समेत दिए। तर उनको राजीनामा स्वीकृत गर्न कामु गभर्नर निलम ढुंगानाले इन्कार गरेकी छन्। उनी डा. भट्टको राजीनामामाथि गजर्धम्म परेर बसेकी छिन्। साथै, डा. भट्टको नियुक्तिको औपचारिक प्रक्रिया शुरू नै नभई उनीविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ। अब त्यसपछि गभर्नर छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नेपाली कांग्रेसका सभापति देउवाले हरियो झण्डा देखाउँछन्। उनले पनि तत्काल गभर्नर छनौट समितिबाट राजीनामा दिन्छन्। तर उनी विरुद्ध फेरि अदालतमा निवेदन पर्छ। धन्न सर्वोच्च अदालतले त्यो निवेदनलाई दरपिठ गरिदियो। नेपालमा अहिले नयाँ गभर्नर छनौटको नाममा जे रमिता देखिँदैछ, त्यो भारतीय टिभी सिरियल क्युकी सास भी कभी बहु थी लाई पनि माथ गर्ने खालको छ। हरेक दिन एउटा नयाँ सस्पेन्स।
अब यो दृश्य देख्दा नेपालको सरकार र हाम्रा शीर्षस्थ नेताहरूले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सक्लान् जस्तो लाग्दैन। बरु अब राष्ट्र बैंकको गभर्नरको लागि कुन व्यक्ति ठीक होला भनेर हाम्रा छिमेकी देशहरूको राय लिनु उपयुक्त हुन्छ होला। भारत र चीन गभर्नरमा कुन व्यक्तिसँग कम्फर्टेबल फिल गर्छन् भनेर सोध्नु उचित हुन्छ होला। यसको लागि भारतका प्रधानमन्त्री मोदीजी र चीनका राष्ट्रपति सी जिनपिङको सुझाव लिँदा राम्रो हुन्छ। अझ यो मामिलामा हाम्रो आकाशे छिमेकी अमेरिकाको राय लिन पाए झन राम्रो हुन्थ्यो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अचेल विश्वभर शान्ति स्थापना गर्ने अभियानमा छन्। भर्खरै उनले भारत र पाकिस्तानको युद्ध पनि रोक्न सफल भए। उनलाई पनि हाम्रो राष्ट्र बैंकको गभर्नरमा कसलाई नियुक्त गर्दा बेस होला भनेर सोध्न सकिन्छ।
विदेशी नेताहरु संग यो कुरामा सुझाव लिँदा किंचित अप्ठ्यारो मान्नुपर्दैन। अप्ठ्यारो पर्दा आफ्ना छिमेकीसँग सल्लाह लिनु नेपालमा परापूर्वकालदेखि नै चलिआएको चलन रहेको हुनाले यसलाई अन्यथा नठानौं। यसले हाम्रो राष्ट्रवादमा किंचित पनि ठेस लगाउँदैन। किनकि हाम्रा राष्ट्र निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहले समेत गोर्खाको कज्याइँ कसलाई दिन उपयुक्त हुन्छ भनेर सोधेका थिए। अब नेपालको इतिहासमा पृथ्वीनारायण शाहभन्दा ठूलो राष्ट्रवादी को होला र? फेरि खजांचीभन्दा त काजी नै ठूलो पद हो नि।

बन्धक विवेक र अन्धभक्तिको उत्सव

हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

सिन्डिकेटको पुनरागमन कि प्रविधिको प्रतिरोध?

भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

गुमनाम प्राज्ञको महाप्रस्थान

भिजिट भिसाको व्यथा र सिंगापुरमा भ्रष्टाचारको कथा

कान र मुटु नभएको गधाको कथा

प्रतिक्रिया