भोटेकोशी बाढी प्रभावितहरूको मनोभावना

विपदले परेका आघात र अन्योलले मानिसहरू भावशून्य महसुस गर्ने, घटना पत्याउन नसक्ने र निर्णय लिन कठिनाइ हुने अवस्थाबाट गुज्रिन्छन्। तीव्र मानसिक पीडा आइपर्न सक्छ। डर, आतङ्क र शोकको भावना उत्पन्न हुन्छ। दीर्घकालीन मानसिक स्वास्थ्य असर तथा क्लिनिकल समस्याहरू: बाँचेका व्यक्तिहरूमध्ये करिब एक तिहाइमा 'पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर', डिप्रेसन र गम्भीर चिन्ता जस्ता दीर्घकालीन समस्याहरू देखिन्छन्। ट्रिगरले चैनको सास फेर्न दिँदैन। स्थिरताको अभाव र दैनिक जीवनचर्यामा अवरोध, घरबास गुम्नु र सामाजिक सहयोग प्रणाली भत्किनुले भावनात्मक तनावलाई झन् बढाउँछ। यी मनोसामाजिक भावहरूबाट मानिसहरू गुज्रिरहेका हुन्छन्।

अहिले भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रका बासिन्दाका दिनचर्याहरू यस्तै छन्। हालसालै पनि लगातार तीन-चार दिनको वर्षाले नेपालका पर्वत, मनाङ लगायत नवलपरासी आदि क्षेत्रमा बाढीले घरबार, पुल बगाउनुका साथै जनजीवन अस्तव्यस्त बनाएको छ।

सबै स्थानका बाढीको क्षतिको अवस्था उस्तै नहुन सक्छ तर प्रभावितहरूको मनोभावना भने उस्तै गरी भत्किएको छ।

यो वर्ष हाम्रो देश अघिल्ला वर्षहरूको तुलनामा बाढीमय बन्यो; अझ भनौँ महाविपत्तिकै सामना गर्नुपर्‍यो देशले। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको हिउँपहिरो सायद नेपालीहरूले देखेको पहिलो विनाशकारी थियो होला। यो भोटेकोशी बाढीले रसुवा र नुवाकोटका कयौँ बस्ती र मानव क्षति गरायो कि यहाँका बाढीबाट बाँचेका बासिन्दाहरू पनि अन्योल र शोकमा छन्।

महाविपत्तिका खबरहरू समाचारहरूमा मात्र हेर्ने, सुन्नेभन्दा पनि प्रभावितहरू रहेका होल्डिङ सेन्टर तथा बस्तीमै गएर उनीहरूका मनस्थिति पनि बुझ्ने अवसर मिलेको थियो। विपत्ति सामना गरिरहेको अवस्थाका प्रभावितहरूको अनुहार नै कसरी हेर्ने होला भन्ने भइरहेको थियो। तर यथार्थमा त्यस्तो त होइन। मानिसहरू जस्तोसुकै परिस्थितिबाट पनि बाहिर आउने कोसिस गर्ने भएर नै मानिसको इतिहास सङ्घर्षको इतिहास हो। प्राकृतिक विपत्तिलाई लगभग अब स्वीकारेको अवस्था छ मानिसले।

केही पीडाहरू उनीहरूकै शब्दबाट प्रस्तुत गर्न खोजिएको छ। बाढीबाट पाँच मिनेटको अन्तरले बाँचेका एक युवा भन्छन्: "दस वर्ष रसुवापारि चाइना बसेर बजारमा पाँचतले घर बनाएको थिएँ। जीवनगुजारा सहज भइरहेको थियो। तर यो हिमाली महाबाढीले क्षणभरमै घर उचालेर बगाएर पो लग्यो। धन्न बा-आमा भाग्न भ्याउनुभयो, बुबा त सिकिस्त हुनुहुन्छ, उहाँको अपरेसन छ।" उनी आफ्नो श्रीसम्पत्ति गुमाएकोमा मात्र दुःखी छैनन्, चाइनापट्टि काम गर्दाका हितैषी र आँट र साहस दिने साथी बाढीले गुमाएकोमा पनि अत्यन्त दुःखी छन्। बेत्रावतीतिर सहज तरिकाले होटेल व्यवसाय गर्दै स्थानीय स्तरमा सफल युवा व्यवसायी बनेका अर्का युवा होटेल भवनसहित आफ्नो बाबु गुमाएको पीडाले टोलाइरहन्छन्।

विद्यालयमा कयौँ साना कलिला बालबालिकासहित विद्यालय नै बगाएको पीडा अभिभावकहरूमा असह्य छ। बाढीबाट बल्लबल्ल बाँच्नेहरूको पीडा अकल्पनीय छ। भन्छन्: "मान्छे त बाँचियो तर ती रहर, सपना, पैसा, आम्दानीका बाटाहरू सबै बन्द भए।"

घर र परिवार संयोगले बाँचेका तर दुखजिलो गरेर खेतीकिसानी गर्दै जीविकोपार्जन गरिरहेका महिला भन्छिन्: "बाढीको भङ्गालोले खेत बगायो तर निम्नवर्गीय मान्छे, यहाँ बसेर अब भविष्य नै छैन। बालबच्चा पढाउनै पर्यो, यस्तो छिन्नभिन्न भएको बस्तीमा छोराछोरी राखेर पढाउन र उनीहरूको भविष्य उज्ज्वल बनाउने हाम्रो सपना पूरा हुनै सक्दैन। बाढीले कति विद्यालय र बालबालिका बगायो। हामी बाँचेकाको मनमा पनि हाम्रा बालबालिका विद्यालयमा नै महाविपत्तिमा परे भने भन्ने डरले सताइरहन्छ। अब हामी सहज ठाउँमा या विदेश नगए हाम्रो भविष्य छैन।"

एक महिला भन्दै थिइन्: "हामी त सुरक्षित रह्यौँ तर विदेशमा रहेका परिवारका पुरुषहरू अब म नेपाल जान्न पो भन्न थालेका छन्।"

रसुवा– एक सानो हिमाली जिल्ला। तिब्बती भाषामा रसुवाको अर्थ भेडा चर्ने ठाउँ हुँदो रहेछ। यस भेगको पनि आफ्नै इतिहास होला। यहाँ जनसङ्ख्या त्यस्तै पैँतालीस हजारको हाराहारीमा छ। यता बेत्रावतीबाट वारि र पारि रसुवा र नुवाकोटका जनसङ्ख्या आफूलाई दुवै ठाउँको हो भन्ने पनि सोच्दा हुन्। त्यसैले त रसुवा उत्तरगया पैरेबेँसीका प्रभावित परिवारहरू स्थानीय सरकारले उनीहरूलाई नुवाकोटको सुरक्षित स्थानमा आफ्नो समुदायलाई स्थानान्तरण गरोस् भन्ने माग राखिरहेका रहेछन्। उनीहरू भन्छन्: "दस वर्षमा तीन-चार पटक विपदबाट पीडित भइसकियो। अब त कमसेकम हाम्रो पुस्ताले सय वर्ष सुरक्षित भएर बस्न पाओस्।" उनीहरू भन्छन्: "अब रसुवावासीले विस्तारै आफ्नो थलो छोड्छन् होला।"

तर सबैतिरका बासिन्दाको भावना एउटै छैन। स्याफूबेँसीमाथिका समुदायहरू गाउँ नै खाली गरेर अन्त कतै बसे पनि आफ्नो भाषा, रहनसहन, प्राकृतिक वातावरण नै नमिल्ने भएकोले आफ्नै गाउँमा फर्कन चाहन्छन्। सरकारलाई उनीहरूको आग्रह छ कि उनीहरूलाई आफ्नो गाउँमा नै बस्ने व्यवस्था मिलाइयोस्।

स्थानीय जनप्रतिनिधिहरू आफ्नो क्षेत्रका बाढी प्रभावित बासिन्दाहरू, अझ विशेष गरेर बालबालिकाहरू नजाऊन् भन्ने मान्यता राख्दछन्। उनीहरूको भनाइ छ कि प्रभावित समुदायलाई सुरक्षित स्थानमा सारेर आफ्नै जिल्लामा बस्ने वातावरण मिलाउनु नागरिक जिम्मेवारी पनि हो।

रसुवा जिल्ला अब व्यापारिक हब बन्नेछ चीनसँगको व्यापार र अन्य कारणले पनि भनेर आफ्नो गाउँठाउँमा व्यापार व्यवसायलाई बढाउँदै लगेका एक स्थानीय व्यापारी भन्छन्: "अर्बौँको कारोबार हुने, हजारौँले रोजगारी पाएको थलो बाढीले क्षणभरमै स्वाहा बनाइहाल्यो। हामी प्रभावित भएनौँ भनेर मन बुझाएर कसरी बस्न सकिन्छ र?"

“घर सुरक्षित स्थानमै रहे पनि ती घरबाट काममा निस्केकाहरू हराए, विलीन भए। कोही त बाढी हेरेर आउँछु भनेर छेउछाउमा पुगेकाहरूलाई पनि बाढीले सोहोरेर लग्यो। हाम्रो प्राकृतिक विपत्तिप्रति गम्भीर नहुने र रमिता हेर्ने बानीप्रति पनि गम्भीर हुनुपर्छ।” स्थानीय शिक्षक यस्तै गुनासो गर्दै थिए।

प्रभावित किशोर-किशोरीहरू टोलाएका छन्। पढ्न मन छैन, खोलामा त्यति धेरै मानिस बगाएको छ भन्छन्। उनीहरू थप्छन्, “त्यहाँ पुरिएका मानिस कति होलान्, आत्माले दुःख दिन्छ हामीलाई।”

कोही रुँदारुँदा थाकेका आँखाहरू लिएर बसेका छन्। कोही-कोहीले आफूलाई सम्हालेर आफ्ना प्रियजन गुमाए पनि “हामी तत्काल नातागोताको सहारा लिन्छौँ र बाँच्न र बाँचेका सन्तानका लागि काम खोज्न निस्कन्छौँ, होल्डिङ सेन्टरमा मात्रै बसेर हाम्रो गुजारा चल्दैन” भनेर विपद्को सदमाबाट बाहिर निस्कन खोज्दै छन्।

कतै होल्डिङ सेन्टरमा बसेका प्रभावितहरूलाई विभिन्न संस्थाले दिएको मनोसामाजिक परामर्श पनि त्यति उपयुक्त लागिरहेको छैन। उनीहरू आएर डायरी अगाडि राखेर सोधिएका प्रश्नहरूले प्रभावितलाई झन्झट र जवाफ दिँदादिँदा वाक्क पनि लागेको छ। प्रभावितहरूलाई उनीहरूकै लयमा रहन दिँदै बिस्तारै आघातबाट बाहिर निस्कन सहयोग गरिदिनुपर्छ भन्छिन् एक सामाजिक अभियन्ता।

चाइनातिर गएर जीविकोपार्जनमा सहज भएका कयौँ मजदुरहरूलाई बाढीले बगायो। संयोगवश बाँचेकाहरू यसो पनि भन्दा रहेछन्: “अबको केही समयमा रसुवा चाइनाको हुन्छ भन्ने लाग्थ्यो हामीलाई।” उनका अनुसार रसुवा जिल्लाका जनताका लागि चाइना छिर्ने पासको सहुलियत नै अरूलाई भन्दा फरक थियो।

भूकम्पपछिको पुनर्निर्माण र जलविद्युत् आयोजनाहरूको लस्करले यहाँका बासिन्दालाई एक प्रकारले आर्थिक उपार्जन र भौतिक विकास हुन्छ भन्ने ढुक्क रहेछ। बाढी त पोहोर-परार पनि आइरहने तर यस्तो भीषण बाढी आउँछ भनेर नपत्याएर, बाढी हेर्न गएर पनि धेरैको ज्यान गएको छ भन्छन् बाढीबाट बाँच्नेहरू। आफ्नो घरबार, पिता नै बाढीले बगाएका एक युवक भन्छन्: “जिन्दगीमा एउटा सिकाइ त भयो कि खोला छेउछाउ घरजग्गा जोड्नु हुँदैन रहेछ भन्ने, तर मानव इतिहास नै नदीकिनाराबाटै भएको भन्ने पनि त छ।” उनी थप्छन्, “प्रकृतिसँग मानिसको केही नलाग्ने रहेछ, मानिसले जति प्रगति गरे भने पनि।”

राहतका प्याकेजहरू त सहज हुने सम्पूर्ण केन्द्रमा आएका रहेछन्। चामल एउटै परिवारमा सात बोरासम्म, ग्यास छ-सात वटासम्म पनि जम्मा भएका रहेछन्। तर बिग्रिएर जाने, खाद्यान्न मात्रै थुप्रिने तर अन्य स्रोतसाधन, बस्ने ठाउँ, आम्दानी गर्ने रोजगारीका कामहरू नहुँदा भने ती जम्मा भएका राहत पनि बेच्न खोज्ने परिवारहरू पनि भेटिए।

भोटेकोशी बाढीले बस्ती उजाड मात्र पारेको छैन, २० देखि ४० वर्षमुनिका धेरै युवा जनशक्तिहरू सोहोरेर लगेको छ भन्दै भक्कानिन्छन् आफ्ना दुई छोराहरू बाढीले गुमाएका एक शिक्षक।

अर्का एक प्रभावित, विशेष गरेर रसुवा जिल्लाप्रति नेतृत्व उदासीन रहेको हो कि भनेर प्रश्न गर्छन्। विपत्तिमा सर्वसाधारणलाई यस्तो लाग्नु सामान्य नै पनि होला।

अब प्राकृतिक विपत्तिको शोकलाई चेतनामूलक कार्यक्रम र सरकारको दीर्घकालीन सुरक्षित बसाइसम्बन्धी नीतिले सम्बोधन गर्दै अगाडि बढ्नुको विकल्प छैन।