प्रलय अहिले र त्यतिबेला
कृत्रिम बुद्धिमत्ता पुँजीवादको अन्तिम गन्तव्य हो
१.
अशुभ सङ्केतहरूको वर्षा जोडतोडले भइरहेको छ। सोच, नत्र डुब्छौ। आज्ञापालन गर, नत्र मर। माथि हेर, नत्र पछि छुट्छौ। अनि, त्यति नम्र नरहेका धम्कीहरूसँगै कृत्रिम बुद्धिमत्ताको युग आइपुगेको छ– एआई अर्थात् वास्तविक मूर्खता, वास्तविक महा-मूर्खता र आफैँलाई निरन्तर बढाउँदै जाने मूर्खताको युग। धत्तेरिका, मैले त यो सुरुआती अनुच्छेदमै दुईवटा ड्यास प्रयोग गरिसकेँ। भनिन्छ नि, यस्तो कुरा नै भित्री रहस्यको सङ्केत हो। त्यसैले, सायद यो निबन्ध मैले लेखेकै छैन। वास्तवमा यो एआईले लेखेको हो कि होइन, अनि म साँच्चिकै म नै हुँ कि होइन, वा केही हदसम्म मात्रै म हुँ– यो जाँच्न तपाईंले एआई एप नै प्रयोग गर्नुपर्ने हुन्छ। अब तपाईं आफ्नो अन्तर्ज्ञानमा भर पर्न सक्नुहुन्न। तपाईंले एप प्रयोग गर्नैपर्छ। अब एआईले एम ड्यासमाथि पनि आफ्नो स्वामित्व जमाइसकेको छ। त्यसो भए, भविष्यका पुस्ताले एमिली डिकिन्सन र एम ड्यासप्रतिको उनको प्रेमलाई कसरी बुझ्लान्? के उनलाई पनि मेसिनको आहार बनाइसकिएको छ? के भविष्यका पुस्ताले उनलाई कम माया गर्लान्? के हामीलाई बिस्तारै भाषाबाटै बाहिर धकेलिँदै छ? के अब यसको कुनै अर्थ बाँकी छ?
मानिस र भाषाबीचको आधारभूत सम्बन्धलाई भत्काउनु र त्यसको सारतत्त्व नष्ट गर्नु भनेको सामाजिक एकताका सबै आधारलाई कमजोर बनाउनु हो भन्ने मेरो विश्वास छ।
आस्थाभन्दा पनि लेखकको अहंकारसँग बढी सम्बन्धित कारणले गर्दा, म सधैँ सेन्ट जोनको गोस्पेलको पहिलो वाक्यप्रति मोहित हुँदै आएको छु: “शुरुमा वचन थियो, र वचन परमेश्वरसँग थियो, अनि वचन नै परमेश्वर थियो।” म यसलाई सत्य मान्छु। मानिस र भाषाबीचको आधारभूत सम्बन्धलाई भत्काउनु र त्यसको सारतत्त्व नष्ट गर्नु भनेको सामाजिक एकताका सबै आधारलाई कमजोर बनाउनु हो भन्ने मेरो विश्वास छ।
एआई साहित्यको संसारमा एक्कासि प्रवेश गरेको छ। यसले लेखक, प्रकाशक, साहित्यिक एजेन्ट, पाठक, समीक्षक, शिक्षक र विद्यार्थीहरु सबैलाई आफू उभिएको जमिन नै खुट्टामुनिबाट भासिँदै गएको अनुभूति गराएको छ। अब प्राध्यापकहरूले विद्यार्थीका असाइनमेन्टलाई अविश्वासका आँखाले हेर्नुपर्ने भएको छ। प्रकाशकहरूले नयाँ लेखकको मूल्याङ्कन सम्भावित अपराधस्थलको अनुसन्धान गरिरहेको जासुसले झैँ गर्नुपर्ने भएको छ। यसले पठन र सिकाइको प्रक्रियालाई कस्तो बनाउँछ भन्ने कुरा शब्दमा वर्णन गर्नै कठिन छ। बौद्धिक विमर्शमा संलग्न हुनुको आनन्द र चुनौतीको ठाउँ अब बन्द, विद्रूप र यान्त्रिक कुराले लिएको छ। यो त पशुका छाला काढेर तिनमा भुस भरी सजाइएका निर्जीव आकृतिहरूको कुनै ट्याक्सीडर्मीस्टहरूको सांग्रिला जस्तै हो, जहाँ कुनै समय जीवित रहेका सबै चिजको छाला काढेर तिनलाई भुस भरिएको छ। तिनका चम्किला तर नक्कली आँखामा अर्थपूर्ण चमक छ, र तिनीहरू बिना आँखा झिम्क्याई तपाईंलाई हेरिरहन्छन्। यो कसैलाई हेर्दै गर्दा, ‘के यो साँच्चिकै त्यही व्यक्ति हो, जसलाई मैले ठानेको छु?’ भनेर शङ्का लागेजस्तै हो। अथवा ऐनामा आफ्नो अनुहार हेर्दा आफ्नै प्रतिरूप देखिन्छ, तर त्यो वास्तवमा आफू होइन भन्ने थाहा हुँदाको अनुभूतिजस्तै हो।
समय बित्दै जाँदा, सायद हामीले त्यो ज्ञान पनि गुमाउनेछौँ। त्यसपछि हामी को हौँ भन्ने कुरा त परै जाओस्, हामी वास्तवमै अस्तित्वमा छौँ कि छैनौँ भन्नेसमेत थाहा पाउनेछैनौँ।
जब यस्तो अवस्था सिङ्गो समाजमा, सिङ्गो मानव प्रजातिमा आइपर्छ; जब हामी शताब्दियौँदेखि सिक्दै र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका सहज ज्ञान र अन्तर्बोधमाथि भरोसा गर्न सक्दैनौँ; जब हामी आफ्नै हृदय, आँखा र कानमाथि विश्वास गर्न सक्दैनौँ; जब सत्य र असत्य, आभासी र वास्तविकबीचको भिन्नता छुट्याउन सक्दैनौँ; जब समय नै खुम्चिएर भूत, वर्तमान र भविष्य एकअर्कामा मिसिन पुग्छन्; जब लाखौँ भाषा र संस्कृतिलाई एउटै लेदोमा पिसेर मिसाइन्छ; जब प्राचीन सामाजिक सम्झौता– त्यसका आफ्नै सीमा र कमजोरीहरू जे-जस्ता भए पनि– यसरी चकनाचुर पारिन्छ कि त्यसको मूल स्वरूपसमेत चिन्न सकिँदैन, तब के हामी आफूलाई सामूहिक मानसिक विक्षिप्ततातर्फ धकेलिरहेका छौँ?
यस्तो तर्क गर्दा म नयाँ र नबुझिने कुनै चिजको सामना गर्नुपर्दा अनिवार्य रूपमा उत्पन्न हुने नैतिक त्रासको सिकार भएको आरोप लाग्न सक्छ। औद्योगिक क्रान्ति वा कम्प्युटरको आगमनअघि पनि यस्तै आतङ्क फैलिएको थियो। प्रश्न के हो भने, के यो त्यति मात्रै हो? के हामी मानव ‘प्रगति’ को विकासक्रममा असहज सङ्क्रमणको एउटा चरणबाट मात्रै गुज्रिरहेका छौँ? कि यो वास्तवमै एउटा विनाशकारी विच्छेद हो?
एन्थ्रोपिक कम्पनीका युवा कर्मचारी ज्याकब कोक्सनले आफ्नो जागिर छाडे। उनले भने, मानव जातिलाई नै सम्भावित रूपमा विनाश गर्न सक्ने परियोजनामा काम गर्न उनको विवेकले अनुमति दिएन।
सायद यो गौरवशाली नयाँ प्रविधि निर्माण गरिरहेका मानिसहरूकै कुरा सुन्नुपर्छ। गत महिना, एन्थ्रोपिक कम्पनीका युवा कर्मचारी ज्याकब कोक्सनले आफ्नो जागिर छाडे। उनले भने, मानव जातिलाई नै सम्भावित रूपमा विनाश गर्न सक्ने परियोजनामा काम गर्न उनको विवेकले अनुमति दिएन। उनले आफ्नो कार्यस्थलको जुन चित्र प्रस्तुत गरे, त्यो केही हदसम्म स्टेरइड दिएको ‘म्यानह्याटन परियोजना’ जस्तै थियो। तर हामीलाई थाहै छ, यसपटक वैज्ञानिकहरूलाई मुख्यतः नाफा र ‘सबैभन्दा पहिले त्यहाँ पुग्ने’ होडले प्रेरित गरिरहेको छ। कोक्सनको राजीनामापछि जे भयो, त्यो बुझ्नै कठिन थियो। सबैभन्दा ठूला एआई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू एकअर्कालाई उछिन्दै आफूहरूलाई उदाङ्गो पार्ने ती सूचना सार्वजनिक गर्ने व्यक्तिसँग छलफल गर्न, असहमति जनाउन वा सहमति व्यक्त गर्न हतारिए। हाम्रा स्क्रिनहरूमा ती अर्बपति कुलीनहरूका भिडियो छ्यापछ्याप्ती देखिन थाले। उनीहरू गम्भीर र चिहानको सन्नाटाजस्तै चिसो स्वरमा हामीलाई बताइरहेका थिए– आफूहरूले अहिले अभिषेक गरेर देवत्व प्रदान गरिरहेको ‘मेसिन देवता’ ले मानव सभ्यताको अन्त्य गराउने सम्भावना निकै उच्च छ।
मानव प्रजातिमाथि आफ्नो अधिपत्य स्थापित गरिसकेपछि उनीहरूले हामीलाई आश्वस्त पारे– जोखिम न्यूनीकरण गर्न आफूहरूले सक्दो प्रयास गरिरहेका छन्। उनीहरूले सरकारसँग नियमन गरिदिन अपिल गरे। उनीहरूको यो गुहारमा कुनै किसिमको मानसिक विकृतिको सङ्केत थियो। त्यसमा केही अनौठो यौनिक उत्तेजनाको झल्को पनि थियो– मानौँ, ‘मलाई बाँध! मलाई नियन्त्रणमा राख!’ भन्ने खालको मनोवृत्ति। के यो त्यही हो, कि पुँजीवादको अन्तर्निहित प्रकृति नै यस्तो हो? बेलगाम लोभका अगाडि असहाय हुनु?
यी कुलीन अर्बपतिहरूले मानव जातिको विनाशसम्बन्धी आफ्नै आख्यानलाई साँच्चिकै विश्वास गरेको देखिन्छ। कम्तीमा, उनीहरूले पृथ्वीका दुर्गम कुनाहरूमा पानी, खाद्यान्न र गोलीगट्ठाले भरिएका भूमिगत सुरक्षित आश्रयस्थलहरू बनाएर राखेका छन्। तर मानव जातिको विनाश उनीहरूले हामी बाँकी मानिसहरूलाई बेचिरहेको कुरा होइन। (डोनाल्ड ट्रम्प र प्रविधिमा राज्यको हस्तक्षेप नचाहने स्वतन्त्रतावादीहरू त यसलाई खुलेआम झुटो हौवा भन्छन्।) प्रगति, गौरव र मानवजातिको कल्याण नै उनीहरूको प्रचारको मूल सार हो। उनीहरूमध्ये एक, पालान्टिरका पिटर थिल त आलोचकहरू र नियमनको माग गर्नेहरूलाई नै ‘एन्टिक्राइस्ट’ भन्नेसम्म पुगेका छन्, जसले सैतानसँग साँठगाँठ गरिरहेको छ भन्ने उनको आरोप छ। यसरी उनले स्वतः आफ्नो कम्पनी र त्यसका महत्त्वाकाङ्क्षाहरूलाई दैवी हैसियत प्रदान गरेका छन्। (हो, तिनै व्यक्ति, जसलाई मानव जाति जीवित रहनुपर्छ भन्ने आफूलाई लाग्छ कि लाग्दैन भनेर सोध्दा उनले चर्चित रूपमा ‘अँऽऽ...’ भन्ने जवाफ दिएका थिए र त्यसपछि अक्मकाउदै अस्पष्ट रूपमा बोल्न थालेका थिए।)
एआई उद्योगले अहिले नै पुर्याइरहेको वास्तविक र विनाशकारी क्षतिबारे अन्य आवाजहरू उठ्दा तिनलाई जानाजानी बेवास्ता गरिन्छ र बहसबाट बाहिर धकेलिन्छ।
अन्ततः यो कोलाहल प्रविधि क्षेत्रका भित्री मानिसहरूलाई परिचित वैचारिक विभाजनका रेखाहरूमा गएर थामियो– विनाशको आशङ्का गर्नेहरू, प्रविधिको तीव्र विकासलाई अझ तीव्र बनाउनुपर्ने पक्षधरहरू र संशयवादीहरू। तर एआई उद्योगले अहिले नै पुर्याइरहेको वास्तविक र विनाशकारी क्षतिबारे अन्य आवाजहरू उठ्दा तिनलाई जानाजानी बेवास्ता गरिन्छ र बहसबाट बाहिर धकेलिन्छ।
रोचक कुरा के छ भने, अरू केही सूचना सार्वजनिक गर्ने व्यक्तिहरूको तुलनामा यी कुलीन अर्बपतिहरू ज्याकब कोक्सनप्रति निकै सहज देखिन्छन्। सिग्नल फाउन्डेसनकी वर्तमान अध्यक्ष मेरिडिथ ह्विटेकरको पक्षमा भने उनीहरू यसरी उभिएनन्। अमेरिकी ड्रोनका लागि मेशिन भिजन प्रविधि निर्माण गर्ने सम्झौताको विरोध गरेपछि उनले सन् २०१९ मा गुगलबाट राजीनामा दिएकी थिइन्। सात वर्षपछि एआई उद्योग र हतियार उद्योगबीचको यही गठजोड हामी सबैले स्पष्ट रूपमा देख्न सक्छौँ। (यस सन्दर्भमा, फेब्रुअरीमा दक्षिणी इरानको मिनाबस्थित बालिका विद्यालयमाथि अमेरिकाले गरेको दोहोरो आक्रमणलाई सम्झौँ, जसमा १२० जना स्कुले बालबालिकासहित १५६ जनाको मृत्यु भएको थियो। कसैले त्यो आक्रमण गरेको नै थिएन भने माफी माग्ने कुरा पनि भएन। मेसिनले योजना बनाएर गरिने हत्यामा अपराधबोध हुँदैन। गाजामा हमासका लडाकुहरूविरुद्ध इजरायलले चलाएको लक्षित हत्याको अभियानमा प्रयोग गरिएका ‘ल्याभेन्डर’, ‘गोस्पेल’ र ‘वेयर’ज ड्याडी?’ नामका एआई प्रणालीका हकमा पनि यही कुरा लागू हुन्छ। मानवअधिकारसम्बन्धी प्रतिवेदनअनुसार, ती प्रणालीले लक्ष्य पहिचान गर्ने र निगरानी गर्ने क्रममा आधारभूत लक्ष्यका रूपमा सम्बन्धित व्यक्तिको पारिवारिक घरलाई लिने गरेका थिए।)
ह्विटेकर र गेबरुका ठोस र विशिष्ट आरोपहरूले एआईका वैज्ञानिकबाट आलोचक बनेका जेफ्री हिन्टन वा ज्याकब कोक्सनजस्ता सर्वनाशको भविष्यवाणी गर्नेहरूभन्दा यी कुलीन अर्बपतिहरूलाई बढी किन चिन्तित बनाउँछन्?
सन् २०२० मा सिलिकन भ्यालीमा वरिष्ठ प्राविधिक पदमा कार्यरत अत्यन्त थोरै अश्वेत महिलामध्ये एक टिम्निट गेबरुलाई गुगलले बर्खास्त गर्दा पनि यी कुलीन अर्बपतिहरूको समर्थनको कुनै अभियान चलेन। उनले सहलेखन गरेको एउटा अनुसन्धानपत्र फिर्ता लिन अस्वीकार गरेकी थिइन्। उक्त अनुसन्धानपत्रले गुगललगायतका कम्पनीले प्रयोग गर्ने विशाल भाषा मोडेल (एलएलएम) हरूलाई तालिम दिँदा पर्ने वातावरणीय लागत उजागर गरेको थियो। साथै, ती मोडेलले आफूभित्र समाहित गरेका तथ्याङ्कबाट श्वेत सर्वोच्चतावाद र स्त्रीद्वेषलाई कसरी बढावा दिन्छन् र पुनरुत्पादन गर्छन् भन्ने पनि देखाएको थियो। उनले चेतावनी दिएकी थिइन्– यी मोडेलहरूको आकार र क्षमता बढ्दै जाँदा यस्ता विकृतिहरू झन् तीव्र हुनेछन् र तिनको लेखाजोखा तथा परीक्षण गर्न झन् कठिन हुनेछ। अर्की अनुसन्धानकर्ता अबेबा बिरहानेको अनुसन्धानले पनि उनका निष्कर्षलाई थप बल दिएको थियो। बिरहानेले “On Hate Scaling Laws for Data-Swamps” अर्थात् ‘घृणाको विस्तारसम्बन्धी नियमहरू : तथ्याङ्कका दलदलहरूमा’ शीर्षकको एउटा अनुसन्धानपत्र सहलेखन गरेकी थिइन्।
ह्विटेकर र गेबरुका ठोस र विशिष्ट आरोपहरूले एआईका वैज्ञानिकबाट आलोचक बनेका जेफ्री हिन्टन वा ज्याकब कोक्सनजस्ता सर्वनाशको भविष्यवाणी गर्नेहरूभन्दा यी कुलीन अर्बपतिहरूलाई बढी किन चिन्तित बनाउँछन्? सायद यसको कारण के हो भने, विशाल आतसबाजी प्रदर्शनले वातावरणमा रोमाञ्च र सनसनी थपेजस्तै, हिन्टन र कोक्सनका चेतावनीहरूले पनि यस्तै वातावरण सिर्जना गर्छन्। अन्ततः तिनले यी कुलीन अर्बपतिहरूको शक्ति प्रदर्शनलाई नै थप बल पुर्याउँछन्। उनीहरूका कम्पनीहरू चाँडै नै सार्वजनिक सेयर निष्कासनमार्फत सेयर बजारमा प्रवेश गर्ने तयारीमा छन्, र त्यसबेला यो कुरा उनीहरूका लागि निकै फाइदाजनक साबित हुनेछ। ती कम्पनीहरूको बजार मूल्याङ्कन उनीहरूका मोडेलहरू कति परिष्कृत छन् भन्ने कुरामा निर्भर हुनेछ अनि एआईमा आधारित हतियार प्रणालीहरूको हकमा, ती कति घातक छन् भन्ने कुरामा।
*
मानवजातिको जीवन र मृत्युको अधिकार आफ्नै हातमा रहेको दाबी गर्ने यी अर्बपतिहरू आखिर को हुन्? उनीहरूले आफूलाई मानव प्रजातिबाट र हामीले आफ्नो घर भन्ने गरेको यस ग्रहबाट समेत अलग गरिसकेको आभास दिन्छन्। के उनीहरू स्याटर हुन्– आधा मानव, आधा मेसिन? आउनुहोस्, उनीहरूलाई ‘साइक्लोप्स’ भनौँ– एकवचनमा साइक्लोप्स, बहुवचनमा साइक्लोप्सेस। यी ग्रीक र रोमन पौराणिक कथाका विशालकाय, एक आँखे, गुफामा बस्ने गोठालाहरू हुन्। (एक्काइसौँ शताब्दीमा भने उनीहरूका गुफाहरू विलासी छन् र उनीहरूका भेडाहरू मानव हुन्।)
मानवजातिको जीवन र मृत्युको अधिकार आफ्नै हातमा रहेको दाबी गर्ने यी अर्बपतिहरू आखिर को हुन्? उनीहरूले आफूलाई मानव प्रजातिबाट र हामीले आफ्नो घर भन्ने गरेको यस ग्रहबाट समेत अलग गरिसकेको आभास दिन्छन्। के उनीहरू स्याटर हुन्– आधा मानव, आधा मेसिन?
उनीहरूलाई एउटै अस्तित्वका रूपमा कल्पना गर्नुहोस्। एउटा उत्परिवर्तन। साइक्लोप्सेसको एउटै टाउको छ र निधारको बीचबाट केही दायाँतिर एउटा फिक्का रङको, नझिम्किने आँखा छ। त्यसले साधारण मानिसहरूलाई घृणामिश्रित दृष्टिले हेर्छ र तिनमा त्यही मात्र देख्छ, जुन खनिजले भरिएको वनमा खानी खन्नेहरूले देख्छन्, वा विशाल नदीमा बाँध बनाउनेहरूले देख्छन्– उत्खनन गर्न, सञ्चय गर्न र बजारमा बेच्न सकिने एउटा स्रोत। भाडमा जाओस् वन! भाडमा जाओस् नदी! भाडमा जाओस् मानव!
तर हालै हामीले सिनेमाका पर्दामा देखेको मौन र भद्दा साइक्लोप्सभन्दा फरक, साइक्लोप्सेसको घाँटीबाट धेरैवटा शरीरहरू निस्किएका छन्। ती शरीरहरू आपसमा झगडा गरिरहेका देखिन्छन् र उनीहरूबीच मेलमिलाप छैन भन्ने आभास दिन्छन्। तर जब अन्त्यकालको कुरा आउँछ– अझ सटीक रूपमा भन्नुपर्दा, नाओमी क्लाइन र एस्ट्रा टेलरको उत्कृष्ट नयाँ पुस्तकको शीर्षक सापटी लिएर भन्दा, ‘अन्त्यकालीन फासीवाद’ को कुरा आउँछ– तब उनीहरूबीच स्पष्ट रूपमा एकता देखिन्छ।
उद्योगलाई नजिकबाट नियाल्ने धेरै मानिसहरूलाई साइक्लोप्सेसको सर्वनाशसम्बन्धी उन्माद एउटा पूर्वनियोजित नाटकीय प्रदर्शनजस्तो लागेको थियो। यसको उद्देश्य दिनप्रतिदिन आक्रोशित र बेचैन हुँदै गएको जनतालाई एआई कम्पनीहरू अमेरिकी अर्थतन्त्रका लागि कति केन्द्रीय, महत्त्वपूर्ण, अपरिहार्य र उल्ट्याउन नसकिने हैसियतका छन् भन्ने विश्वास दिलाउनु थियो। साथै, अमेरिकी जनताको सुरक्षा र भविष्यका लागि पनि यी कम्पनीहरू उत्तिकै अपरिहार्य छन् भन्ने देखाउनु थियो।
नियमनको माग गर्नु भनेको यस उद्योगलाई राज्यसँग जोड्ने प्रयास हो, सरकार र यी निगमहरूबीचको सम्बन्धमा उज्यालो छिर्न सक्ने अन्तिम सानो चिरासमेत बन्द गर्ने प्रयास। यी कुलीन अर्बपतिहरूको आशा छ कि नियमनको यो आलिङ्गनले उनीहरूलाई अत्यन्तै आवश्यक परेको निर्बाध अधिकार प्रदान गर्नेछ। किनभने उनीहरूलाई चाहिने धन, जमिन, पानी र ऊर्जाको विशाल परिमाण सरकारले मात्र उपलब्ध गराउन सक्छ। स्पष्ट शब्दमा भन्नुपर्दा, उनीहरू वास्तवमा सरकारबाट आफ्नै नियमन आफैँ गर्ने अनुमति चाहन्छन्। अर्थात्, नियन्त्रण आफ्नो हातबाट नछाडीकन वैधता प्राप्त गर्ने चाहना।
यस्तो सूक्ष्म र जटिल चालबाजी कबुकी नाटककै शैलीमा मञ्चन गर्नुपर्छ। यसका लागि एउटा खलनायक चाहिन्छ, एउटा काल्पनिक भयको पात्र, जसलाई देखाएर दिनप्रतिदिन बेचैन हुँदै गएको जनतालाई र ट्रम्प प्रशासनजति सहजै आफ्नो वशमा नआउन सक्ने सम्भावित भावी सरकारहरूलाई समेत तर्साउन सकियोस्।
मञ्चको बायाँतर्फबाट चीनको प्रवेश हुन्छ
उदीयमान चीनको खतराबाट अमेरिकालाई जोगाउने नाममा साइक्लोप्सेसले अमेरिकी सरकारलाई यस्ता घातक स्वचालित हतियार प्रणालीहरू उपलब्ध गराउने प्रस्ताव गर्छ, जसको कल्पनासमेत अन्य देशहरूले गर्न सक्दैनन्। साथै, विज्ञानले अहिलेसम्म नचिनेका प्रयोगशालामा विकसित भाइरस र जैविक हतियारहरूको काल्पनिक संसार पनि उसले प्रस्तुत गर्छ। देशभित्रका असन्तुष्ट जनतालाई नियन्त्रणमा राख्न र उनीहरूलाई आफ्नो अनुकूल बनाउन अमेरिकालगायत उसका मित्रराष्ट्रका सरकारहरूलाई निगरानी तथा अनुहार पहिचान गर्ने प्रणालीहरू उपलब्ध गराउने प्रस्ताव पनि उसले गर्छ। यी प्रणालीहरूले इजरायलको ‘पेगासस’ जासुसी सफ्टवेयरलाई समेत खेलौनाजस्तो देखाइदिने वाचा गर्छन्। बदलामा उसले पुँजीको निर्बाध प्रवाह र आफ्ना विशाल डेटा केन्द्र तथा सुपर कम्प्युटर सञ्चालन गर्न आवश्यक पर्ने जति पनि जमिन, पानी र ऊर्जा प्राप्त गर्ने प्रत्याभूति माग्छ।
यसलाई सरल र स्पष्ट भाषामा भन्दा, कुरा केही यस्तो हुन्छ: हामी आफूलाई मानव चेतनाको विकासको सबैभन्दा उन्नत बिन्दुका रूपमा प्रस्तुत गर्नेछौँ र सीमाविहीन मानव ज्ञानको व्यवस्थापक तथा वितरक बन्नेछौँ। तर वास्तविकतामा, हामी नक्साको आकार लिनेछौँ। हामी आफूलाई आफ्नो राष्ट्र, त्यसको अर्थतन्त्र, गुप्तचर सञ्जाल र सुरक्षा संयन्त्रसँग यसरी गाँस्नेछौँ कि तपाईंले हामीलाई आफैँबाट छुट्याउन सक्नुहुनेछैन। हाम्रो बैंक खातामा थुप्रिएको धनबाहेक अरू कुनै भिन्नता देखिनेछैन। बदलामा, हामी चन्द्रमा र बाह्य अन्तरिक्षमा उपनिवेश स्थापना गर्ने आफ्नो अभियान पूरा नगरेसम्म तपाईंले हामीलाई नियमन गरिरहेको नाटक गर्न सक्नुहुन्छ। कुनै सीमा छैन, कुनै भय छैन। त्यसपछि तपाईंले दयापूर्वक हामीलाई चढ्न दिएको भर्याङ हामी आफैँले लात्ताले हानेर हटाइदिनेछौँ। तपाईंको ठाउँमा अर्को कोही राख्नुपर्ने आवश्यकता पनि हामीलाई पर्नेछैन। तपाईंको अस्तित्व नै रहनेछैन। हामी तपाईंका जनता, सहर, सञ्चार प्रणाली, वित्तीय प्रणाली, अदालत, सेना र प्रहरी चलाउनेछौँ। हामीले चलाएनौँ भने चीनले चलाउनेछ।
हामी आफूलाई मानव चेतनाको विकासको सबैभन्दा उन्नत बिन्दुका रूपमा प्रस्तुत गर्नेछौँ र सीमाविहीन मानव ज्ञानको व्यवस्थापक तथा वितरक बन्नेछौँ। तर वास्तविकतामा, हामी नक्साको आकार लिनेछौँ। हामी आफूलाई आफ्नो राष्ट्र, त्यसको अर्थतन्त्र, गुप्तचर सञ्जाल र सुरक्षा संयन्त्रसँग यसरी गाँस्नेछौँ कि तपाईंले हामीलाई आफैँबाट छुट्याउन सक्नुहुनेछैन।
अमेरिकामा आधारित प्रमुख एआई निगमहरूले सरकारसँग नियमनको माग गर्नुको अर्को उद्देश्य साना प्रतिस्पर्धीहरूका लागि बाटो बन्द गर्नु पनि हो। ताकि एआईसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूमा हस्ताक्षर हुने बेला र त्यस्ता सन्धिहरू हुनैपर्छ– प्रतिस्पर्धामा सहभागी हुन मैदानमा उत्रने अवसर केवल उनीहरूलाई नै प्राप्त होस्, अर्थात् ती सीमित सङ्ख्याका ‘नियमन गरिएका’ निगमहरूलाई मात्रै।
निगम र राष्ट्रबीचको विलय प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। एआई विज्ञान नयाँ हुन सक्छ, तर यसलाई हामीमाथि लाद्ने तरिका भने उपनिवेशवाद जत्तिकै पुरानो छ। भारतसँग कुनै कम्पनीको उपनिवेश बन्नुपरेको ऐतिहासिक अनुभव छ। र हो, त्यतिबेला पनि भारतका शासक वर्गले उनीहरूलाई भित्र्याएका थिए, जसरी अहिले अमेरिकाका शासकहरूले गरिरहेका छन्। अन्ततः इस्ट इन्डिया कम्पनीलाई बेलायती राजमुकुटको अधीनमा ल्याइएको थियो। तर अहिले, निश्चय नै, यसको ठीक उल्टो भइरहेको छ। भारतको ठूलो हिस्सा पूर्वाधार दुईवटा कर्पोरेट समूह– अडानी समूह र रिलायन्स समूहको स्वामित्वमा छ। यी दुवै समूह एआईको महासागरमा हाम फाल्न तम्तयार छन्।
साइक्लोप्सेस अमेरिकी राज्यसत्तामाथि नै कब्जा जमाउने तयारीमा छ। पालान्टिरका प्रमुख कार्यकारी अधिकृत एलेक्स कार्प भन्छन्, “मेरो विचारमा पालान्टिर, अमेरिका र विश्वका लागि केन्द्रीय जोखिम भनेको प्रतिगामी सोच हो, जसले हाम्रा संस्थाहरूलाई भ्रष्ट र खोक्रो बनाइरहेको छ।” पालान्टिरको बजार मूल्य वास्तविकताभन्दा बढी भएको सुझाव दिने विश्लेषकहरूसँग उनी रिसाएका थिए। (मेरो भनाइको अर्थ, कुनै देवताको ‘मूल्याङ्कन’ गर्ने आँट तपाईं कसरी गर्न सक्नुहुन्छ र?) त्यसपछि उनले आफ्नो विशिष्ट, धनी मानिसको शीतल हास्यबोध प्रदर्शन गर्दै थपे, “हामीलाई धोका दिन खोज्ने विश्लेषकहरूमाथि ड्रोनबाट फेन्टानिल मिसाइएको पिसाब छर्कने, त्यो पनि हल्का मात्रामा, भन्ने विचार मलाई निकै मन पर्छ।”
अनि, अहिले ओपनएआईका साम अल्टम्यानको यो चर्चित भनाइ पनि छ। एआईले मानवजातिलाई नर्कतर्फ जाने छोटो बाटोमा डोर्याइरहेको हुन सक्ने कुरा स्वीकार्दै उनी भन्छन्, “... तर त्यतिन्जेल गम्भीर स्तरको मेसिन लर्निङ प्रयोग गरेर उत्कृष्ट कम्पनीहरू स्थापना हुनेछन्।” अथवा, मार्क आन्ड्रिसनको यो भनाइ कस्तो लाग्छ? उनी प्रविधिको विकासलाई जति सक्दो तीव्र बनाउनुपर्ने कट्टर पक्षधर हुन्, ट्रम्पसँग उनको अत्यन्तै घनिष्ठ राजनीतिक सामीप्य छ र उनको बौद्धिक क्षमता पनि ट्रम्पकै जस्तो असाधारण छ भन्ने भान पर्छ। उनी भन्छन्, “प्रविधिले अज्ञातका शक्तिहरूमाथि हिंस्रक आक्रमण गर्नुपर्छ, ताकि तिनलाई मानिससामु झुक्न बाध्य पार्न सकियोस्... हामी पीडित होइनौँ; हामी विजेता हौँ।”
२.
प्रलयका अनेक रूप छन्, र त्यससँगै आउने दुःखकष्टका विभिन्न स्वरूपसँग मानिसहरू जुधिरहेका छन्। एउटा हो, मानवजाति नै लोप हुने भयावह आख्यान। अर्को त्यस्तो सम्भावना हो, जहाँ हामीभन्दा बढी बुद्धिमान कुनै प्रजातिले हामीलाई आफ्नो अधीनमा राख्छ। (यसका परिणाम बुझ्न हामीसँगै यस ग्रहमा बसोबास गर्ने अन्य प्रजातिहरूमाथि हामीले के गरेका छौँ भन्ने कुरा सम्झे पुग्छ। त्यसो गर्दा त मानवजातिको लोपसमेत सकारात्मक विकल्पजस्तो लाग्न थाल्छ।)
त्यसपछि प्रविधिको संसारबाहिरका मानिसहरूको चिन्ता छ– एआई उद्योगको कार्बन उत्सर्जनबाट विक्षिप्त बनेका जलवायु परिवर्तनविरोधी अभियन्ताहरू; सामूहिक बेरोजगारी र भविष्य नै अन्धकार देख्ने विद्यार्थी तथा श्रमिकहरू; अनि म आफैँजस्ता कलाकार, सङ्गीतकार र लेखकहरू। हामीलाई आफ्नो शरीरभित्र धड्किरहेको मुटु नै तानेर बाहिर निकाल्ने र सामाजिक नियन्त्रणका फलामे धागाहरूलाई एउटै कसिलो, यान्त्रिक मुठ्ठीमा गाँस्ने कुनै सेन्ट्रीफ्युगल मन्थनले हामीलाई तानिरहेको अनुभूति हुन्छ।
हामीले कस्तो प्रतिक्रिया जनाउने हो? नियमनको माग गरेर? फ्रान्सिस फोर्ड कोपोलाको अपोकलिप्स नाउ– त्यसमा समावेश जातिवादी रूढ धारणासहित– लाई समेत समसामयिक घटनाबारेको वृत्तचित्रजस्तो देखाइदिने उद्योगलाई आखिर कसरी अनुशासनमा राख्न सकिन्छ?
साइक्लोप्सेस भनेको कर्नेल कर्ट्ज हो, युद्धका क्रूरताबाट विक्षिप्त बनेको, उमेर ढल्कँदै गरेको पूर्वमरिन सैनिक, जसले आफ्नो उन्मत्त, रगतले लतपतिएको र लागूपदार्थको नशामा डुबेको साम्राज्य तथा त्यहाँका स्थानीय बासिन्दामाथि शासन गर्छ। जोसेफ कोनराडको अफ्रिकाबाट कोपोलाको भियतनाममा सारिएको हार्ट अफ डार्कनेसको संसारमा ऊ विराजमान छ। आफ्नो सहकर्मी मरिन सैनिकको विद्रोह अन्त्य गर्न पठाइएको युवा सैनिक अधिकृतलाई अमेरिकी सेनाको उच्च कमान्डले दिएको आदेशमा कुनै अस्पष्टता छैन: “अत्यन्तै कठोर पूर्वाग्रहका साथ समाप्त पार।” अर्थात्, कुनै दया वा हिचकिचाहट नराखी निर्ममतापूर्वक उसको अन्त्य गर।
त्यसो भए हाम्रो नारा के हुनुपर्छ? ‘अत्यन्तै कठोरतापूर्वक नियमन गर!’ सायद। यद्यपि, यसको वास्तविक अर्थ के हो वा व्यवहारमा यो कस्तो देखिन्छ भन्ने कुरा मलाई इमानदारीपूर्वक थाहा छैन।
यो सन् २००४ को सुनामी आउनुअघिको क्षणजस्तै लाग्छ। सम्झनुहुन्छ, थाइल्यान्ड र इन्डोनेसियामा समुद्रको पानी तटबाट पछाडि हटेको थियो। मानिसहरू एकाएक देखापरेको माइलौँसम्म फैलिएको स्वच्छ समुद्री तटको अद्भुत दृश्य हेर्न दौडिएका थिए। तर उनीहरूलाई थाहा थिएन, समुद्रको निकै टाढा पानीको एउटा विशाल पर्खाल उठिरहेको छ, जो केही बेरमै आएर उनीहरूमाथि बज्रिनेछ। अहिले हामी पनि त्यही क्षणमा छौँ। मूर्खताको एउटा विशाल पर्खाल हामीलाई निल्न आइपुग्न लागेको छ।
तपाईंले चाहेको शैलीमा एक मिनेटमै उपन्यास लेखिदिन सक्छन् र तपाईंले रोजेको जुनसुकै भाषामा अनुवाद गरिदिन सक्छन्। तपाईंका चलचित्र सम्पादन गर्न, सङ्गीत सिर्जना गर्न, अनुसन्धान गर्न र कानुनी कागजातको मस्यौदा तयार पार्न सक्छन्। चिकित्सा क्षेत्रमा तिनले गर्न सक्ने काम चमत्कारभन्दा कम छैन।
चम्किलो बालुवामा छरिएका लोभलाग्दा टुक्राहरूको लहरले हामीलाई समुद्रभित्र झन्झन् गहिराइतिर तानिरहेको छ। तिनले जादुमयी खजाना, रत्नजडित समुद्री शङ्ख र रहस्यमय महलहरू देखाउँछन्, जसले अनन्त हनिमुन अर्थात् प्रेममय मधुयामको वाचा गर्छन्। अथवा, तपाईंलाई मन पर्छ भने ‘मनीमुन’ अर्थात् पैसाको मधुयामकै वाचा गरौँ। ती शङ्खहरू टिप्नुहोस् र तिनले तपाईंका लागि के-कस्ता चमत्कार गर्न सक्छन् भनेर दङ्ग पर्नुहोस्। तर तिनको वास्तविकता जनाउने कुरूप नाम हो– ‘उपभोक्ता एप्लिकेसनहरू’। ती तपाईंकी आमा, प्रेमी वा प्रेमिका, मनोपरामर्शदाता अथवा चिकित्सक बन्न सक्छन्। तपाईंले चाहेको शैलीमा एक मिनेटमै उपन्यास लेखिदिन सक्छन् र तपाईंले रोजेको जुनसुकै भाषामा अनुवाद गरिदिन सक्छन्। तपाईंका चलचित्र सम्पादन गर्न, सङ्गीत सिर्जना गर्न, अनुसन्धान गर्न र कानुनी कागजातको मस्यौदा तयार पार्न सक्छन्। चिकित्सा क्षेत्रमा तिनले गर्न सक्ने काम चमत्कारभन्दा कम छैन। (तर यसले गरिबहरूलाई हैजा, मलेरिया र क्षयरोगबाट, अथवा भोक र गरिबीकै कारण मर्नबाट रोक्नेछैन।) तिनले तपाईंको फोनमार्फत तत्काल न्याय, शिक्षा र लोकतन्त्रसमेत उपलब्ध गराउने वाचा गर्छन्। तपाईंको रुचि उल्टो दिशामा छ भने, तिनले तपाईंको नाजी सलामलाई अझ चुस्त बनाउन र तपाईंको हातमा मानसिक रूपमा चल्ने एउटा चेन स अर्थात् विद्युतीय आरा थमाउन पनि सक्छन्। आखिर, यति धेरै सुविधा भएपछि मन नपर्ने के छ र? यसको प्रतिरोध कसरी गर्न सकिन्छ? अनि किन गर्ने?
एआई र अधिनायकवादबारे यति धेरै चर्चा भइरहँदा पनि, के यो सत्य होइन र कि हाम्रा केही उत्कृष्ट र अत्यन्तै प्रिय फासीवादविरोधी युट्युबरहरू तथा अथक अभियन्ताहरू, विशेषगरी भारतमा एआईका कट्टर समर्थक छन् र उनीहरूका च्यानलका सामूहिक सदस्य सङ्ख्या करोडौँमा छ? अथवा, सुक्खा जमिनमा पानी परेजस्तै हामीमाझ आइपुगेको मोदी सरकारविरुद्धको जेन–जी ‘कक्रोच’ विद्रोह सबैभन्दा रमाइला, व्यङ्ग्यात्मक र परम्पराविरोधी एआई भिडियोहरूमार्फत अघि बढेको थिएन र?
हो, त्यस्तै भएको थियो।
तर जब जोखिमको आकलनले वास्तविक खतरा देखाउँछ, तब स्वतन्त्रताको त्यो झ्याल एकै क्षणमा जोडले बन्द हुन सक्छ। म यो लेखिरहँदा, दिल्लीमा ‘कक्रोच’ विरोध प्रदर्शनको दोस्रो चरण भनिएको आन्दोलन चलिरहेका बेला, मेरो छिमेकमा इन्टरनेट सेवा बन्द गरिएको छ। कश्मीर र मणिपुरजस्ता राज्यहरूमा भएका अन्य विरोध प्रदर्शनका क्रममा पनि भारत सरकारले महिनौँसम्म इन्टरनेट बन्द गर्ने आदेश दिएको थियो।
उपनिवेशवाद सधैँ चम्किला उपहार बोकेर आउँछ। तर एआई यस्तो प्रकारको उपनिवेशवाद हो, जसको कल्पनासमेत हामीमध्ये थोरैले मात्र गर्न सक्छौँ। यो पुँजीवादको अन्तिम गन्तव्य हो।
साइक्लोप्सेसले आफ्नो रगतविहीन बाहुमा भर्खरै शैशवावस्थामा रहेको ‘मेसिन देवता’ लाई उचालेर राखेको छ र हामीलाई उसका सामु नतमस्तक हुन आमन्त्रण गरिरहेको छ। उसमाथि विश्वास गर्नुहोस्, आफ्नो सर्वस्व उसलाई सुम्पनुहोस् र बदलामा उसले तपाईंलाई आफ्नो चकाचौंधपूर्ण तमासा देखाउनेछ।
उपनिवेशवाद सधैँ चम्किला उपहार बोकेर आउँछ। तर एआई यस्तो प्रकारको उपनिवेशवाद हो, जसको कल्पनासमेत हामीमध्ये थोरैले मात्र गर्न सक्छौँ। यो पुँजीवादको अन्तिम गन्तव्य हो।
साइक्लोप्सेस आफूले सामान्यतः लुकाएर राख्ने कुरा पनि खुलेआम भन्न हिचकिचाउँदैन।
यहाँ फेरि पालान्टिरका अध्यक्ष पिटर थिलको भनाइ सुनौँ:
“सुरुमा हाम्रो संस्थापक दृष्टिकोण भनेको प्रविधिको प्रयोग गरेर सिङ्गो विश्वलाई बदल्ने, विश्वको मौद्रिक प्रणालीलाई उलटपुलट पार्ने भन्ने थियो... हामीले कहिल्यै चुनाव जित्न सक्ने थिएनौँ, किनभने हामी अत्यन्तै सानो अल्पसङ्ख्यामा छौँ। तर सायद तपाईंले आफूहरूसँग कहिल्यै सहमत नहुने मानिसहरूलाई निरन्तर बुझाइरहनु, उनीहरूसँग बिन्ती गर्नु र अनुनयविनय गरिरहनु नपरी एकतर्फी रूपमा नै विश्व बदल्न सक्नुहुन्छ।”
अब इजरायली प्रविधि कम्पनी क्याटो नेटवर्क्सका प्रमुख कार्यकारी अधिकृत श्लोमो क्रेमरको भनाइ पनि सुनौँ: “संबिधानको पहिलो संशोधनलाई सुरक्षित राख्नकै लागि अब त्यसलाई सीमित गर्ने समय आएको छ... हामीले सबै सामाजिक सञ्जालसहितका प्लेटफर्महरूमाथि नियन्त्रण गर्नुपर्छ। अनलाइनमा आफ्ना विचार व्यक्त गर्ने प्रत्येक व्यक्तिको प्रामाणिकतालाई क्रमबद्ध रूपमा मूल्याङ्कन गर्नुपर्छ र त्यस मूल्याङ्कनका आधारमा उनीहरूले के भनिरहेका छन् भन्ने कुरामाथि नियन्त्रण कायम गर्नुपर्छ।”
यो हकदाबी, यो सम्पत्ति, यो शक्ति र यो अहङ्कार उनीहरूलाई भगवानले दिएका होइनन्। यो सबै उनीहरूले हामीबाट खोसेका हुन्।
तपाईंले गर्नुपर्ने एउटै काम हो– आफ्नो आत्मालाई डिजिटल स्वरूपमा रूपान्तरण गरेर तथ्याङ्कमा परिणत गर्न अनुमति दिनु। त्यसपछि तपाईंभित्र जे बाँकी रहनेछ, त्यो मानव फोहोर र लेदो मात्र हुनेछ।
३.
आफ्नो ‘मेसिन देवता’ लाई प्रशिक्षित गर्न साइक्लोप्सेसले मानव सभ्यताले अहिलेसम्म हासिल गरेका सम्पूर्ण उपलब्धिहरूलाई निर्दयतापूर्वक उत्खनन गरेर सञ्चय गर्नुपर्छ। हजारौँ वर्षको अवधिमा हामी लाखौँ मानिसको संयुक्त श्रमबाट हासिल भएका सञ्चित उपलब्धिहरू– साहित्य, कला, सङ्गीत, गणित, चेस, शैक्षिक अनुसन्धान, सबै कुरा– लाई ठूलो परिमाणमा कम्पनीहरूको स्वामित्वमा हस्तान्तरण गर्न ऊ चाहन्छ। यसले यो ज्ञान आफ्नो नियन्त्रणमा सञ्चित गर्नेछ, त्यसलाई नियन्त्रण गर्ने, शुद्धीकरण गर्ने, राजनीतिक स्वार्थअनुसार ढाल्ने र कसले त्यसमा पहुँच पाउने तथा कसले नपाउने भन्ने निर्णय गर्ने उपायहरू खोज्नेछ। अनि त्यसका लागि कति मूल्य चुकाउनुपर्नेछ? यसलाई मानव प्रयत्नको इतिहास र स्वयं सभ्यताको निजीकरण तथा निगमकरण भनौँ। तपाईंले गर्नुपर्ने एउटै काम हो– आफ्नो आत्मालाई डिजिटल स्वरूपमा रूपान्तरण गरेर तथ्याङ्कमा परिणत गर्न अनुमति दिनु। त्यसपछि तपाईंभित्र जे बाँकी रहनेछ, त्यो मानव फोहोर र लेदो मात्र हुनेछ। औद्योगिक प्रदूषित अवशेष।
यहाँ साम अल्टम्यानको अर्को भनाइ छ: “हामी यस्तो भविष्य देख्छौँ, जहाँ बुद्धिमत्ता बिजुली वा पानीजस्तै एउटा आधारभूत उपयोगिता हुनेछ र मानिसहरूले हामीबाट मिटरका आधारमा त्यसलाई किन्नेछन्।”
तर के त्यो साँच्चिकै उनीहरूले बेच्न पाउने सम्पत्ति हो?
म पनि ती लाखौँ लेखकहरूमध्ये एक हुँ, जसका पुस्तकहरू एन्थ्रोपिकले अनुमति नलिई आफ्नो एलएलएमलाई प्रशिक्षित गर्न प्रयोग गरेको छ। यसै विषयमा परेको सामूहिक मुद्दाको परिणामस्वरूप, मलाई एउटा सूचना प्राप्त भयो। त्यसमा क्षतिपूर्तिस्वरूप प्रत्येक पुस्तकका लागि केही हजार डलरजति दिएर मामिला टुङ्ग्याउने प्रस्ताव गरिएको थियो। यी पुस्तकहरू लेख्न मैले जीवनभरका अनुभव खर्च गरेकी छु र प्रत्येक पुस्तक लेख्न कैयौँ वर्ष लगाएकी छु। सूचनामा कम्पनीले ती पुस्तकहरू पाइरेटेड पीडीएफ राख्ने दुईवटा वेबसाइटबाट डाउनलोड गरेको उल्लेख छ। तर त्यसैमा “एन्थ्रोपिकले आफूले कुनै गलत काम नगरेको दाबी गर्छ” पनि भनिएको छ। त्यसले मलाई एउटा दाबी नम्बर र पिन कोड उपलब्ध गराएको छ। यो त मलाई थाहै नदिई मेरो शरीरका अङ्गहरू झिकेर लगिएजस्तै हो। अब मेसिनलाई मेरो लेखनबाट प्रशिक्षित गरिसकिएको छ। मलाई डर छ, अब चाँडै नै मैले दशकौँको मेहनत लगाएर आफ्नै विशिष्ट भाषा र लेखनशैली निर्माण गरेको छु, त्यही भाषामा आफ्नै शैलीमा लेख्दा पनि मलाई यो मेरो लेखनजस्तो सुनिँदैन भनिनेछ। बरु यो त एआईले लेखेको हो भनिनेछ। अब मैले जीवनभर के गर्ने? आफ्नै लेखनशैलीबाटै पन्छिँदै हिँड्ने? नयाँ भाषा खोज्ने? यसलाई के भन्ने– हृदयको खनन? मस्तिष्कको खनन? जीवनको खनन?
मलाई डर छ, अब चाँडै नै मैले दशकौँको मेहनत लगाएर आफ्नै विशिष्ट भाषा र लेखनशैली निर्माण गरेको छु, त्यही भाषामा आफ्नै शैलीमा लेख्दा पनि मलाई यो मेरो लेखनजस्तो सुनिँदैन भनिनेछ। बरु यो त एआईले लेखेको हो भनिनेछ। अब मैले जीवनभर के गर्ने?
करेन हाओले आफ्नो धारिलो र खुकुरीको धारजस्तै तीक्ष्ण पुस्तक एम्पायर अफ एआई मा जमिन र प्राकृतिक स्रोतहरूको जारी निर्बाध लुटपाटको वर्णन गरेकी छन्। साथै, गरिब देशका श्रमिकहरूलाई भोकै मर्नुपर्ने तहको ज्यालामा काम गर्न बाध्य पारेर ‘डेटा सङ्कलक’ बनाइँदै छ, ताकि साइक्लोप्सेसका सपना जीवित रहून्। यी कम्पनीहरू र तिनका सय अर्ब डलरका सुपर कम्प्युटरहरूको विशाल ऊर्जा भोक मेटाउन पर्याप्त पानी वा बिजुली उपलब्ध हुने सम्भावना कम छ। त्यसैले साइक्लोप्सेसले निजी आणविक ऊर्जा केन्द्र स्थापना गर्न र सुरक्षा मापदण्डहरू खुकुलो पार्न आक्रामक रूपमा लबिङ गरिरहेको छ। वैकल्पिक उपायका रूपमा, नखिइने ऊर्जा स्रोतहरू विकास गर्न विशेषगरी आणविक फ्युजन ऊर्जा उत्पादन गर्न अर्बौँ डलर खन्याइँदै छ, ताकि डेटा केन्द्रहरूलाई बाह्य अन्तरिक्ष वा चन्द्रमामा सार्न सकियोस्।
यता, हाम्रो प्यारो तर जीर्ण पुरानो पृथ्वीमा भारत सरकारले अझ धेरै ऊर्जा खपत गर्ने डेटा केन्द्रहरू स्थापना गर्न स्वागतका हात फैलाएको छ। विशाखापट्टनममा मात्रै गुगलको १५ अर्ब डलरको हबसमेत गरी छवटा डेटा केन्द्र स्थापना गर्ने योजना छ। तिनलाई वातावरणीय प्रभावको लगभग शून्य अनुगमनमै स्वीकृति दिइँदै छ, मानौँ ती केवल भवन वा गोदाम मात्र हुन्। भारत र अमेरिकाबीच यसको लामो परम्परा छ– ‘तिमीहरूका फोहोर, विषाक्त उद्योग र विष भरिएको प्याला हामीलाई देऊ। हामी तिनलाई जतन गरेर राख्नेछौँ।’ अमेरिकामा जस्तै भारतमा पनि प्रस्तावित ‘गोदाम’ वरपर बसोबास गर्ने दसौँ हजार मानिसको पानी र हावा विषाक्त हुन नदिन अभियन्ताहरू आफ्नो ज्यान जोखिममा राखेर सङ्घर्ष गरिरहेका छन्।
मानिसहरूलाई यसरी एकअर्काविरुद्ध उभ्याउने चाल यति पुरानो हो कि मध्याह्नको चर्को घाममा कुहिरहेको लासबाट आउने दुर्गन्धजस्तै गन्हाउँछ। भारतको दक्षिणी राज्य केरलामा पनि यस्तै परिदृश्य देखेपछि मैले एउटा कुरा सिकेँ– हरेक कुरालाई ‘वामपन्थ’ वा ‘दक्षिणपन्थ’ को ध्रुवीकरणकारी दृष्टिकोणबाट मात्र हेर्नु सधैँ उपयोगी हुँदैन।
अमेरिकामा डेटा केन्द्रविरोधी अभियन्ताहरूलाई यस्ता विशाल संरचना निर्माण गर्ने काम पाएका निर्माण श्रमिकहरूविरुद्ध उभ्याइँदै छ। स्थानीय समुदायको पक्षमा सङ्घर्ष गरिरहेका यी अभियन्ताहरूलाई विदेशी पैसामा चल्ने देशद्रोही, आतङ्कवादी वा वामपन्थी अतिवादीको संज्ञा दिइन्छ। उनीहरूमाथि देशभक्त अमेरिकी कम्पनीहरूमा काम गर्ने इमानदार र मेहनती अमेरिकी श्रमिकहरूको रोजगारी खोसिरहेको आरोप लगाइन्छ। मानिसहरूलाई यसरी एकअर्काविरुद्ध उभ्याउने चाल यति पुरानो हो कि मध्याह्नको चर्को घाममा कुहिरहेको लासबाट आउने दुर्गन्धजस्तै गन्हाउँछ। भारतको दक्षिणी राज्य केरलामा पनि यस्तै परिदृश्य देखेपछि मैले एउटा कुरा सिकेँ– हरेक कुरालाई ‘वामपन्थ’ वा ‘दक्षिणपन्थ’ को ध्रुवीकरणकारी दृष्टिकोणबाट मात्र हेर्नु सधैँ उपयोगी हुँदैन।
अब एउटा सानो कथा सुनौँ। यो कथा समय र स्थान दुवैका हिसाबले अहिलेको परिस्थितिभन्दा निकै टाढाको हो, तर यसले वर्तमानका लागि अझै पनि महत्त्वपूर्ण पाठ सिकाउँछ।
सन् १९५० को दशकको उत्तरार्धमा केरलको पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित कम्युनिस्ट सरकारले गरेका सुरुआती काममध्ये एउटा थियो राज्यको उत्तरी भागमा, कोझिकोड सहरभन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने चालियार नदीको किनारमा रेयन कपडा उत्पादन गर्ने कारखाना स्थापना गर्न एउटा ठूलो निगमलाई आमन्त्रण गर्नु। उद्योगपतिले कारखानाले तीन हजार रोजगारी सिर्जना गर्ने वाचा गरे। त्यसको बदलामा उनले कच्चा पदार्थ, विद्युत् र पानीमा सरकारी अनुदान मागे। नजिकैका वनबाट उसलाई बाँस प्रतिटन एक रुपैयाँमा उपलब्ध गराइयो, जबकि बाँस काटेर जीविका चलाउने मजदुरहरूले, जसमध्ये अधिकांश आदिवासी थिए उनीहरुले एउटै बाँसको घना किन्न पनि एक रुपैयाँ तिर्नुपर्थ्यो।
कारखानाले उत्पादन सुरु गरेपछि एकै दिनमा कोझिकोड सहरका सबै बासिन्दाले खपत गर्नेभन्दा बढी पानी प्रयोग गर्न थाल्यो। त्यसपछि कारखानाबाट निस्कने विषाक्त फोहोर सिधै नदीमा मिसाइन्थ्यो। नदीको तल्लो तटीय क्षेत्रमा रहेको सहरको पानी प्रदूषित भयो। माछाहरू मर्न थाले। हजारौँ मछुवाराहरूले आफ्नो जीविकोपार्जन गुमाए। उपलब्ध सबै बाँस सकिएपछि कारखानाले युकलिप्टसको प्रयोग गर्न थाल्यो। त्यसका लागि घना र पुराना वनका एकपछि अर्को क्षेत्रका रूख काटेर सखाप पारिए र त्यहाँ एउटै प्रजातिको युकलिप्टस रोपियो। हजारौँ वनवासी तथा बाँस र बेतका सामग्री बनाउने कामदारले आफ्नो जीविका गुमाए। तर कारखानाका तीन हजार मजदुरले भने सङ्गठित भएर ट्रेड युनियन बनाए र समृद्ध जीवन बिताउन थाले।
तर समय बित्दै जाँदा कारखानाबाट निस्कने विषाक्त धुवाँले मजदुरहरूमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग फैलिन थाले। क्षतिपूर्ति माग गर्दै उनीहरू हडतालमा उत्रिए। उद्योगपतिले निजी क्यान्सर अस्पताल बनाइदिए। लडाकु स्वभावका कारखाना मजदुरहरूले तलब वृद्धि र अन्य सुविधा माग गर्दै धर्ना दिए र तालाबन्दी गरे। उनीहरूले आफ्ना लागि सानातिना तर क्रमिक उपलब्धिहरू हासिल गरे र फेरि काममा फर्किए।
केही वर्षपछि युकलिप्टसको बगान पनि हरायो। कारखाना बन्द भयो। राम्रो ट्रेड युनियनको संरक्षणमा रोजगारी पाएका मजदुरहरू कारखाना पुनः सञ्चालन गर्न माग गर्दै भोक हडतालमा बसे। तर कारखाना फेरि कहिल्यै खुलेन।
भारतको विशाल जनसङ्ख्या साइक्लोप्सेसको अतृप्त भोकका लागि डेटाको विशाल भोज हो। दुर्गम गाउँ र साना सहरमा बस्ने अत्यन्त गरिब मानिसहरूलाई खोतलेर निकाल्न सकिने हरेक प्रकारका सूचना उपलब्ध गराउन बाध्य पारिँदै छ।
यो एउटा गम्भीर दुविधा हो–झन्डै अस्तित्वकै चुनौती भन्न सकिने दुविधा–जसको सामना संसारभरिका ‘डेटा सङ्कलन गर्ने’ श्रमिकहरूले पनि गरिरहेका छन्।
भारतको विशाल जनसङ्ख्या साइक्लोप्सेसको अतृप्त भोकका लागि डेटाको विशाल भोज हो। दुर्गम गाउँ र साना सहरमा बस्ने अत्यन्त गरिब मानिसहरूलाई खोतलेर निकाल्न सकिने हरेक प्रकारका सूचना उपलब्ध गराउन बाध्य पारिँदै छ। निर्माणस्थल र कारखानामा काम गर्ने मजदुरहरूले टाउकोमा क्यामेरा जडान गरेर काम गर्नुपर्छ, ताकि कृत्रिम बुद्धिमत्ताले उनीहरूका चालढाल र गतिविधिलाई चोरेर विश्लेषण गर्न सकोस् र ती विवरणका आधारमा चाँडै उनीहरूकै ठाउँ लिन आउने रोबोटहरूलाई प्रशिक्षित गर्न सकोस्। मजदुरहरूलाई थाहा छ उनीहरू आफ्नै चिहान खन्दै छन्। तर उनीहरूले अस्वीकार गर्न सक्दैनन्, किनभने उनीहरूको ठाउँ लिन असङ्ख्य मानिसहरू पर्खिरहेका छन्। एकपटक उनीहरूको रोजगारी गुमेपछि, सीमित प्राकृतिक स्रोतसाधन उपभोग गर्ने तर समाजमा कुनै योगदान नगर्ने मानिसहरूलाई फासीवादीहरूले दिने वर्गीकरणअनुसारका ‘अतिरिक्त मानिसहरू’ का लाखौँको सङ्ख्यालाई संसारले के गर्नेछ? यस्ता मानिसहरूलाई फासीवादीहरूले लामो समयदेखि आफ्नै ढङ्गका नरसंहारकारी योजनाहरूमा समेट्दै आएका छन्।
साइक्लोप्सेस–अथवा गिल डुरानले आफ्नो सोही शीर्षकको पुस्तकमा भनेझैँ ‘नर्ड राइख’–कहिलेकाहीँ अर्को बाटो अपनाउने प्रलोभनमा पनि परेको छ। उसले कहिले अँगाल्ने, कहिले त्याग्ने गर्दै सार्वभौम आधारभूत आय (Universal Basic Income–UBI) को अवधारणासँग खेलिरहेको छ। तर अरूको पैसाले, आफ्नै पैसाले होइन। कति राम्रो! कति पुँजीवादविरोधी! बरु उसले दुई वर्षजति मासिक सार्वभौम आधारभूत आयमा आफ्नो गुजारा चलाएर हेरे कसो होला? ‘अत्यन्त कठोरतापूर्वक नियमन गरौँ’ भन्ने कार्यक्रमको पहिलो कदम सायद यही हुनुपर्छ।
यसलाई अभिलेखमै स्पष्टसँग राखौँ: यदि सम्पत्ति अझ समान रूपमा वितरण गरिएको हुन्थ्यो भने संसारका सबै मानिसले आजै, अहिल्यै सार्वभौम आधारभूत आय पाउन सक्थे। त्यसका लागि पृथ्वीलाई विनाश गर्नुपर्दैन। अनि अर्को कुरा, यो आधारभूत आय कसले वितरण गर्नेछ? को यसको हकदार हो र को होइन भन्ने निर्णय कसले गर्नेछ? म त केवल प्रश्न गरिरहेकी छु। कमरेड श्लोमो क्रेमरकै विचारलाई अझ विस्तार गर्ने हो भने, मानिसहरूलाई जाति, जात, धर्म, लिङ्ग, राजनीतिक विचार र आज्ञाकारिताको स्तरका आधारमा क्रमबद्ध गर्न सकिएला नि, होइन?
अथवा भारतीय सरकारले यसमा सहयोग गर्न सक्छ। हालै भारतमा सम्पन्न मतदाता नामावलीको विशेष सघन पुनरावलोकनका क्रममा १३ करोड मानिसको नाम हटाइएको छ। यो देशको जनसङ्ख्याको झन्डै दश प्रतिशत हो। निकै ठूलो हिस्सा। मानिसहरूलाई छानिछानी हटाउने एउटा सभ्य तरिका! उनीहरू सार्वभौम आधारभूत आय त परै जाओस्, कुनै पनि अधिकारका हकदार हुने छैनन्। असमजस्ता राज्यमा तीमध्ये केही मानिसलाई आफूजस्तै मानिसहरूलाई थुनेर राख्न बनाइने विशाल हिरासत केन्द्रहरूको निर्माणमा मजदुरका रूपमा खटाइएको छ। सरकारले आफ्ना नागरिक छान्छ। साइक्लोप्सेसले सरकारलाई नियन्त्रण गर्छ। कस्तो मिलेको व्यवस्था!
निश्चय नै, कम्पनीहरूले डेटाको मूल्य तिर्नुपर्छ। तर के हामी अब यही बिन्दुमा आइपुगिसकेका छौँ? के प्रलयको सेयर पाउनु नै अब हाम्रो एकमात्र विकल्प हो?
त्यसपछि आउँछ सदाशयताले प्रेरित लोकतान्त्रिक समाजवादी विकल्प। बर्नी स्यान्डर्स चाहन्छन् कि जनताले–कम्तीमा उत्तर अमेरिकी जनताले–कृत्रिम बुद्धिमत्तासम्बन्धी कम्पनीहरूको प्रत्यक्ष स्वामित्व प्राप्त गरून्। उनले सबैभन्दा ठूला एआई कम्पनीका सेयरमा एकपटकका लागि ५० प्रतिशत कर लगाएर स्वतन्त्र निगरानीमा रहने एउटा सार्वभौम सम्पत्ति कोष स्थापना गर्ने प्रस्ताव गरेका छन्। भनिन्छ, यो कोषको मूल्य झन्डै सात ट्रिलियन डलर हुनेछ। त्यसबाट हरेक वर्ष सयौँ अर्ब डलर अमेरिकी नागरिकलाई प्रत्यक्ष रूपमा वितरण गर्न सकिनेछ; साथै स्वास्थ्य सेवा, आवास र शिक्षा कार्यक्रमहरूमा पनि खर्च गर्न सकिनेछ। (फेरि पनि, यी खर्बौँ डलर पहिल्यै अस्तित्वमा छन्। अभाव राजनीतिक इच्छाशक्तिको हो। त्यसो भए बदलिने के हो?) तर यो लोकतान्त्रिक समाजवादी विकल्पमा समेत दक्षिणी गोलार्द्धका भारत, अफ्रिका र दक्षिण अमेरिकाबाट डेटा सोसिनेछ, जबकि नाफा भने उत्तरी गोलार्द्धमै थुप्रिनेछ।
निश्चय नै, कम्पनीहरूले डेटाको मूल्य तिर्नुपर्छ। तर के हामी अब यही बिन्दुमा आइपुगिसकेका छौँ? के प्रलयको सेयर पाउनु नै अब हाम्रो एकमात्र विकल्प हो?
*
कृत्रिम बुद्धिमत्ताले मानिसका लागि के गर्न सक्छ र के गर्न सक्दैन भन्ने विषयमा यति धेरै बहस भइरहेका बेला, यसले मानिसलाई के गरिरहेको छ भन्ने विषयमा भने अत्यन्तै कम चर्चा हुन्छ। विभिन्न अध्ययनहरूले कृत्रिम बुद्धिमत्ता र मानिसको संज्ञानात्मक क्षमतामा आउने ह्रासबीच सम्बन्ध रहेको चेतावनी दिएका छन्। कृत्रिम बुद्धिमत्ताको वृद्धि हुँदै जाँदा मानवीय बुद्धिमत्ता पनि सोही अनुपातमा ओरालो लाग्ने सङ्केत देखिन्छ। सायद प्रयोगविहीन हाम्रा मस्तिष्कहरू खुम्चिँदै जानेछन्, हाम्रा टाउका साना हुँदै जानेछन् र हाम्रा औँलाहरू लहरा जस्ता तरंगित हुने प्रॉम्प्ट टेन्टाकलमा परिणत हुनेछन्।
कृत्रिम बुद्धिमत्ताको विजय मानवीय अस्तित्वमाथिको अपराध हुनेछ। यसले हाम्रा मस्तिष्कलाई फर्मालिनमा डुबाएर सिसीभित्र बन्द गर्नेछ। हामीले चिनेको संसारलाई यसले नष्ट गर्नेछ।
हामीमध्ये जसले फरक किसिमको संसारमा आफ्नो जीवन बिताइसकेका छौँ, हामीलाई थाहा छ हामीले के गुमाउँदै छौँ। तर अब वयस्क बन्न लागेको पुस्ताको के होला? के त्यसको आफ्नै भाषा, आफ्नै विचार र आफ्नै दुःख हुनेछ? के उसलाई प्रयास गर्ने अधिकार हुनेछ? लड्ने? असफल हुने? अपूर्ण रहने? आफ्नै तरिकाले गणितको कुनै समीकरण हल गर्दा वा आफ्नै सिर्जनाका रूपमा कला, साहित्य अथवा सङ्गीत रच्दा, ती जतिसुकै अपूर्ण किन नहोऊन्, अनुभव हुने असह्य पीडा र परमानन्दको महसुस गर्न सक्ला??
कृत्रिम बुद्धिमत्ताको विजय मानवीय अस्तित्वमाथिको अपराध हुनेछ। यसले हाम्रा मस्तिष्कलाई फर्मालिनमा डुबाएर सिसीभित्र बन्द गर्नेछ। हामीले चिनेको संसारलाई यसले नष्ट गर्नेछ। यसलाई अघि बढाउने र यसबाट नाफा कमाउने मानिसहरूलाई यो कुरा थाहा छ। त्यसैले उनीहरूले अर्को लोकमा पलायन हुने बन्दोबस्तसमेत मिलाइसकेका छन्।
कुलीन अर्बपतिहरू युद्धका रेखाहरू ठूलो स्वरमा, गर्वका साथ कोर्दै छन्: यो हामी र उनीहरूबीचको लडाइँ हो। साइक्लोप्सेस फस्टाउन मानवताको अन्त्य हुनुपर्ने सम्भावनालाई उनीहरू कुनै हिचकिचाहटविना प्रस्तुत गर्छन्। यसको प्रतिरोध गर्न उठिरहेको युवा पुस्ताले यो कुरा बुझेको छ। मलाई थाहा छ, यसै निबन्धको सुरुमा मैले ‘अत्यन्त कठोरतापूर्वक नियमन गरौँ’ भनेकी थिएँ। तर ती एआई कम्पनीहरूका बारेमा वास्तवमा म जे भन्न चाहन्छु, त्यो हो–अत्यन्त कठोरतापूर्वक उन्मूलन गरौँ।
Source: https://www.equator.org
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
कसैलाई के कुराले मार्क्सवादी बनाउँछ?
माकुरो र झिँगा
चियाको इतिहासभित्र लुकेको स्वाद, सत्ता र साम्राज्यको कथा
पाउलो फ्रेरेका विचारहरू आज पनि उत्तिकै शक्तिशाली छन्
पश्चिमले आफ्नो पतन आफैं निम्त्याएको छ
रूपक समग्रताको रूपमा वा सामाजिक सञ्जाल हाम्रो रूपकको रूपमा
हो ची मिन्ह: स्वतन्त्रताको खोजदेखि साम्राज्यवादको पराजयसम्म
प्रतिक्रिया