माकुरो र झिँगा

विल्हेम लिब्कनेख्त (१८२६–१९००) उन्नाइसौं शताब्दीका एक प्रमुख जर्मन समाजवादी नेता, क्रान्तिकारी पत्रकार तथा जर्मनीको सामाजिक जनवादी पार्टी (SPD) का संस्थापकहरूमध्ये एक थिए। उनी कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सका नजिकका सहयोगी तथा समकालीन थिए। मजदुर वर्गका महान् नेता लिब्कनेख्तले आफ्नो सम्पूर्ण जीवन मजदुर वर्गको क्रान्तिकारी सङ्घर्ष र समाजवादका लागि समर्पित गरेका थिए । रूपकात्मक कथा  (Political Parable) "माकुरो र झिँगा" मा उनले मजदुर वर्ग र पुँजीपति वर्गबीचको सम्बन्धलाई अत्यन्तै उत्कृष्ट ढङ्गले उजागर गरेका छन् ।

दायित्वबोध

 

तपाईंहरू सबै त्यो ठूलो भुँडी भएको, रौँले भरिएको र चिसो शरीरयुक्त कीरासँग राम्ररी परिचित हुनुहुन्छ । यो कीराले सकेसम्म दिनको उज्यालोबाट टाढा आफ्नो त्यो घातक जालो बुन्ने गर्दछ; जहाँ भोकले व्याकुल, अदूरदर्शी र असावधान झिँगा फस्छ र अन्ततः समाप्त हुन्छ। यो भद्दा जनावरका आँखाहरू गोलाकार र चम्किला हुन्छन् तथा यसका लामा र पातला खुट्टा अगाडिको भागतिर मोडिएका हुन्छन्, जसले गर्दा यसलाई शिकार समात्न र च्यापेर मार्न ठूलै सहयोग पुग्छ। यो दुष्ट र भद्दा जनावर अरू कोही नभई माकुरो नै हो।

त्यो चुपचाप र निश्चल भएर आफ्नो ओडारमा बसिरहन्छ, आफ्नो शिकार जालोमा फस्ने प्रतीक्षा गर्छ वा निर्बल झिँगालाई फसाउन तथा निर्दयी ढङ्गले अठ्याउनका लागि घातक जालका धागोहरू बुनिरहन्छ। यो घृणित जीव आफ्नो जालोमा कुनै पनि प्रकारको कमी नहोस् भन्नका लागि आफ्नो अधिकांश समय खर्च गर्छ। आफ्नो कला र परिश्रमको प्रयोग उसले जालो बुन्नका लागि गर्छ ताकि शिकार कुनै पनि हालतमा त्यसको बन्धनबाट मुक्त हुन नसकोस्। सुरुमा यसले एउटा धागो फाल्छ, त्यसपछि दोस्रो, तेस्रो र क्रमशः अझ धेरै धागोहरू फिँजाउँछ। यसले तेर्सो र ठाडो धागोहरूलाई खिच्दै प्रत्येक धागोलाई अर्को धागोसँग बलियोसँग गाँस्छ ताकि मृत्युको छटपटीमा रहेको शिकारको छटपटाहटले गर्दा जालो न टुटोस् र क्षतिग्रस्त नहोस्।

अन्ततः जालो तयार हुन्छ, जाल बिछिन्छ र उम्केर जाने कुनै पनि बाटो बाँकी रहँदैन। माकुरो आफ्नो ओडारभित्र जान्छ र कुनै त्यस्तो सोझा-साझा झिँगाको प्रतीक्षा गर्छ जो भोकले व्याकुल भएर खानाको खोजीमा जालो नजिक आइपुगोस्। धेरैबेर कुर्नु पर्दैन, झिँगा चाँडै नै आइपुग्छ। आफ्नो खोजीमा यताउता भौंतारिँदै गरेका बिचरा झिँगा अचानक अगाडि फैलिएका धागोहरूसँग ठोकिन्छ र तिनमा नराम्ररी अल्झिन्छ; ऊ त्यो कसिलो बन्धनबाट छुटिन खोज्छ तर असफल हुन्छ।

उसको शिकार भयभीत हुन्छ र आफूमाथि मडारिएको सङ्कट देखेर झिँगा काम्न थाल्छ। कसिलो गरी बाँधिएको धागोबाट आफूलाई मुक्त गराउन ऊ अनेक प्रयास गर्छ तर बन्धनबाट छुट्ने चाहना गर्दागर्दै उसकी सम्पूर्ण शक्ति ती निष्फल कोसिसहरूमै समाप्त हुन्छ।

माकुरोले आफ्नो शिकार फसेको देख्नैसाथ आफ्नो ओडारबाट बाहिर निस्किन्छ र रगत पिउन लोभिएको डरलाग्दो रूपमा आफ्ना मोडिएका पञ्जाहरू सहित बिस्तारै अगाडि बढ्छ। हतारिनुपर्ने कुनै आवश्यकता छैन किनकि त्यो भयानक जीवले  एकपटक जालमा परिसकेपछि त्यो अभागी कीरा उम्केर कहीँ जान सक्दैन भन्ने राम्ररी जान्दछ । ऊ नजिक आउँछ, आफ्ना ठूला र भावशून्य आँखाहरूले शिकारलाई एकटकले हेर्छ र त्यसको अवस्थाको मूल्याङ्कन गर्छ। उसको शिकार भयभीत हुन्छ र आफूमाथि मडारिएको सङ्कट देखेर झिँगा काम्न थाल्छ। कसिलो गरी बाँधिएको धागोबाट आफूलाई मुक्त गराउन ऊ अनेक प्रयास गर्छ तर बन्धनबाट छुट्ने चाहना गर्दागर्दै उसकी सम्पूर्ण शक्ति ती निष्फल कोसिसहरूमै समाप्त हुन्छ।

आफ्ना प्रयासहरूमा असफल भएको र निराश बनेको झिँगालाई त्यो जालोले झनै कसेर च्याप्छ र माकुरो अझ नजिक आइपुग्छ। माकुरोको जालोबाट छुट्ने प्रत्येक कोसिसमा झिँगा झनै बलिया र सूक्ष्म धागोहरूमा अल्झिन्छ तथा नयाँ धागोहरूमा फस्छ। अन्त्यमा विरोध गर्ने सम्पूर्ण शक्ति गुमाएर थकानले चूर र स्याँ स्याँ गर्दै गरेको ऊ, आफ्ना शत्रु, विजेता एवम् डरलाग्दो माकुरोको चंगुलमा फसेर उसैबाट दयाको आशा गर्न थाल्छ।

त्यो भयानक जीव आफ्ना रौँले ढाकिएका खुट्टा फैलाउँछ र झिँगालाई आफ्नो प्राणघातक चंगुलमा कस्छ। यसपछि उसले आफ्नो कमजोर शिकारको डरले काँपिरहेको शरीरलाई टोक्छ, चुस्छ र निचोर्छ– एकपटक, दुईपटक, तीनपटक। उसले आफ्नो खूनी तिर्खा नमेटिँदासम्म चुसिरहन्छ ।

त्यसपछि त्यो भयानक जीव आफ्ना रौँले ढाकिएका खुट्टा फैलाउँछ र झिँगालाई आफ्नो प्राणघातक चंगुलमा कस्छ। यसपछि उसले आफ्नो कमजोर शिकारको डरले काँपिरहेको शरीरलाई टोक्छ, चुस्छ र निचोर्छ– एकपटक, दुईपटक, तीनपटक। उसले आफ्नो खूनी तिर्खा नमेटिँदासम्म चुसिरहन्छ । त्यसपछि ऊ त्यो झिँगालाई त्यहीँ छोडिदिन्छ, जुन पूर्ण रूपमा मरिसकेको चाहिँ हुँदैन। ऊ फेरि फर्कन्छ र रगत चुस्छ। यसरी ऊ तबसम्म धाइरहन्छ, जबसम्म त्यस झिँगाको सम्पूर्ण रगत तथा पौष्टिक रस चुसेर त्यस अभागी झिँगालाई पूर्ण रूपमा खोक्रो बनाउँदैन। कहिलेकाहीँ बिचरा झिँगाको मृत्यु हुन धेरै लामो समय लाग्छ।

तर, जबसम्म झिँगाको शरीर वा उसको लासजस्तो देहमा चुस्न मिल्ने अलिकति पनि रगत बाँकी रहन्छ, तबसम्म यो पिशाचले त्यसलाई आफ्नो नजरबाट ओझल हुन दिँदैन। यसले आफ्नो शिकारको प्राण लिन्छ, आफ्नै शक्ति बढाउँछ, त्यसको रगत पिउँछ र यसलाई फ्याँकी दिन्छ। जब त्यसमा केही पनि बाँकी रहँदैन, तब ती बिचरा झिँगा– मरेको, चुसिएको, सुकेको र एउटा तिनकाभन्दा पनि हलुका भएको अवस्थामा जालोबाट बाहिर फ्याँकिन्छ। हावाको पहिलो झोक्का आउँछ र त्यसलाई धेरै टाढा उडाएर लैजान्छ, अनि यसरी सबै समाप्त हुन्छ।

माकुरो आफ्नो ओडारमा सन्तुष्ट भएर फर्किन्छ। ऊ आफूबाट र यो संसारबाट धेरै खुसी हुन्छ। उसलाई यो संसारमा अहिले पनि भलाद्मी मानिसहरूको गुजारा चल्न सक्छ भन्ने कुराले आनन्द लाग्छ ।

शहर र गाउँका मजदुर तथा मेहनतकसहरू हो! तिमीहरू नै त्यो झिँगा हौ, जसलाई चुसिएर कुल्चिइन्छ। तिमीहरू नै निलिन्छौ र तिमीहरूको रगतमा नै अरूहरू जीवित छन्। हे दास मानिसहरू हो! उत्पीडित जनसमुदाय र औद्योगिक मजदुरहरू हो! बौद्धिक वर्ग हो! काँपिरहेका युवा युवतीहरू र आफ्ना अधिकारका लागि लड्न हिच्किचाउने कमजोर तथा पददलित पीडित नारीहरू हो! सिपाहीहरू तथा युद्ध पिपासुहरूका भाग्यहीन शिकारहरू हो! तिमीहरू सबै जो गरिब र दुखी छौ, जब तिमीहरूमा चुस्नका लागि केही पनि बाँकी रहँदैन, तब तिमीहरू सबैलाई उठाएर फ्याँकिइन्छ। तिमीहरू जो सबै कुरा उत्पादन गर्छौ, तिमीहरू जो देशको मुटु, दिमाग र जीवनशक्ति हौ, र तिमीहरू सबै जसलाई आफ्ना मालिकको आज्ञाकारी बनेर कुनै कुनामा चुपचाप एक दुखी मृत्यु मर्नु बाहेक अरू कुनै अधिकार प्राप्त छैन। यद्यपि तिमीहरूको रगत-पसिना र मेहनत, चिन्तन र जीवनको प्रयोगले नै तिनीहरूलाई धनवान र शक्तिशाली बनाउँछ, तिनीहरू नै हुन् तिमीहरूका मालिक-उत्पीड़क र निर्दयी, घिनलाग्दा माकुरोहरू।

ती सबै माकुरा हुन् जो अरूको भरमा जीवित रहन्छन्, जो हामीलाई खुट्टाले कुल्चिन्छन्, जो हाम्रा पीडामा खिल्ली उडाउँछन् र हाम्रा निष्फल प्रयासहरू देखेर मुस्कुराउँछन्।

माकुरो भनेको मालिक, पुँजीपति, शोषक, सट्टेबाज, धनवान, भ्रष्टाचारी, धर्मगुरु, महन्त– सबै किसिमका परजीवी, अल्छी, निरङ्कुश व्यक्तिहरू हुन्, जसको दबाबमा हामी तड्पिन्छौँ, कष्ट झेल्छौँ; जनविरोधी कानुन बनाउनेहरू हुन् जसले हामीलाई सताउँछन्; र दुष्ट अत्याचारीहरू हुन् जसले हामीलाई गुलाम बनाउँछन्। ती सबै माकुरा हुन् जो अरूको भरमा जीवित रहन्छन्, जो हामीलाई खुट्टाले कुल्चिन्छन्, जो हाम्रा पीडामा खिल्ली उडाउँछन् र हाम्रा निष्फल प्रयासहरू देखेर मुस्कुराउँछन्।

झिँगा भनेको गरिब मजदुर र मेहनतकश हो, जसले मालिकहरूद्वारा बनाइएका निर्दयी कानुनहरूका सामु झुक्नुपर्छ, किनकि बिचरा मजदुर साधनहीन हुन्छ र उसले आफ्ना परिवारका लागि छाकटार्ने व्यवस्था पनि मिलाउनुपर्छ। ठूला उद्योगका मालिक माकुरो हो, जसले प्रत्येक मजदुरबाट प्रतिदिन हजारौँ रुपैयाँको मुनाफा कमाउँछ र मजदुरलाई १२ देखि १४ घण्टा दैनिक काम गरेवापत पेट पाल्नका लागि जम्मा ४०– ५० रुपियाँ मात्र दिन्छ।

झिँगा खानीमा काम गर्ने मजदुर हो, जसले खानीको सास फेर्नसमेत गाह्रो हुने वातावरणमा काम गरेर आफ्नो जीवन बिताउँछ, र जो पृथ्वीको गर्भबाट खनिज पदार्थ निकाल्छ तर त्यसलाई आफ्नै उपभोगमा ल्याउन सक्दैन। माकुरो चाहिँ सेयर होल्डर (शेयरधनी) महाशय हो, जसले आफ्ना सेयरको मूल्य दोब्बर र तेब्बर भएको देख्छ तर मजदुरहरूबाट उनीहरूको श्रमको फल खोस्छ, र जब मेहनत गर्ने मजदुरहरूले ज्याला थोरै मात्रै बढाउने माग गर्छन्, तब ऊ ती विद्रोहीहरूलाई गोली हानेर उडाउन सेना बोलाउँछ।

गरिब बुबाआमा माकुरो होइनन्, जो परिस्थितिवश आफ्ना बालबच्चाहरूको बली दिन विवश हुन्छन्। माकुरो त आजको समाजको त्यस्तो खराब अवस्था हो, जसले उनीहरूलाई आफ्ना स्वाभाविक भावनाहरू बिर्सन र आफ्नो परिवार आफैँ नष्ट गर्न बाध्य पार्छ।

त्यो बालक झिँगा हो, जसलाई सानै उमेरमा बाँच्नका लागि कारखाना, कार्यशाला र घरहरूमा कडा परिश्रम र गुलामी गर्न बाध्य पारिन्छ। गरिब बुबाआमा माकुरो होइनन्, जो परिस्थितिवश आफ्ना बालबच्चाहरूको बली दिन विवश हुन्छन्। माकुरो त आजको समाजको त्यस्तो खराब अवस्था हो, जसले उनीहरूलाई आफ्ना स्वाभाविक भावनाहरू बिर्सन र आफ्नो परिवार आफैँ नष्ट गर्न बाध्य पार्छ।

झिँगा जनताका ती सोझी छोरी हुन्, जो इमानदारीपूर्वक आफ्नो जीविका कमाउन चाहन्छिन्, तर उनले तबसम्म काम पाउँदिनन् जबसम्म उनले आफ्ना मालिक वा फ्याक्ट्री म्यानेजरको कुत्सित चाहनासामू आफूलाई समर्पण गर्दिनन्; जसले उनको उपभोग गर्छ र त्यसपछि कलंकबाट बच्नका लागि– जुन कहिलेकाहीँ बच्चाको भारसँगै आइपर्छ– उनलाई हृदयहीनता र निर्ममतापूर्वक जागिरबाट निकालिदिन्छ।

माकुरो ठूला घरको घमण्डी छाडा ठिटो हो, अल्छी र आवारा हो– जसले अनेकौँ सोझा-सादा नयाँ युवतीहरूलाई फुसल्याउँछ र आफ्नो भड्किलोपनले फसाउँछ, बेइजत गर्छ र हिलोमा घिसार्छ। जो धेरैभन्दा धेरै महिलाहरूको इज्जत नष्ट गर्नुलाई नै आफ्नो सम्मान ठान्छ।

माकुरा देशका ती महाशयहरू हुन् जसले गरिब किसानहरू, मेहनतकशहरू र दैनिक मजदुरहरूलाई एक क्षण पनि आराम नगरी काम गर्न विवश पार्छन्, ताकि उनीहरू आफ्नो जीवन विलासिता र शानशौकतका साथ बिताउन सकून्...

कडा परिश्रम गरेर खेत जोत्नेहरू हो! तिमीहरू झिँगा हौ। तिमीहरू धनी जग्गाधनीहरूका लागि जमिन जोत्छौ, अन्न रोप्छौ तर काट्न पाउँदैनौ, फल उम्रार्छौ तर स्वाद लिन सक्दैनौ। माकुरा देशका ती महाशयहरू हुन् जसले गरिब किसानहरू, मेहनतकशहरू र दैनिक मजदुरहरूलाई एक क्षण पनि आराम नगरी काम गर्न विवश पार्छन्, ताकि उनीहरू आफ्नो जीवन विलासिता र शानशौकतका साथ बिताउन सकून्; जबकि उनीहरू प्रत्येक वर्ष लगानको दर बढाउँदै लैजान्छन् र इमानदारीपूर्वक गरिएको परिश्रमको मूल्य बलपूर्वक घटाउँदै जान्छौ।

हामी सबै गरिब र सोझा-सादा मानिसहरू झिँगा हौँ, जो युगौँदेखि बलिदानको वेदीका खुड्किलाहरूमा काँपिरहेका छौँ, हामी पुजारीहरूको सरापबाट त्रसित रहेका छौँ, हामी– जो आपसमा लड्दै आएका छौँ, एक-अर्कालाई दबाउँदै आएका छौँ, हामी– जो अत्याचारीहरूलाई अन्यायबाट प्राप्त फलको आनन्द लिन दिँदै आएका छौँ, किनकि हामीहरूको बुद्धि धार्मिक उपदेशहरूको प्रभावले विवेकहीन भइसकेको छ। माकुरा कालो कपडा ओढेका धूर्त र लोभी आँखाहरू भएका पादरीहरू हुन्, जो विश्वास गर्ने मानिसहरूको सोझो दिमागमा पतनतर्फ लैजाने शिक्षा भरिदिन्छन्, उनीहरूमा आज्ञाकारी र सेवक भइरहने भावनाको पोषण गर्छन्, जसले आत्मालाई विषालु बनाउँछन् र सारा देशलाई बर्बाद गरिदिन्छन्, जसरी पोल्याण्डमा भएको थियो।

माकुरा कालो चश्मा लगाएका धूर्त र लोभी आँखाहरू भएका पादरीहरू हुन्, जो विश्वास गर्ने मानिसहरूको सोझो दिमागमा पतनतर्फ लैजाने शिक्षा भरिदिन्छन्, उनीहरूमा आज्ञाकारी र सेवक भइरहने भावनाको पोषण गर्छन्, जसले आत्मालाई विषालु बनाउँछन् र सारा देशलाई बर्बाद गरिदिन्छन्...

संक्षेपमा भन्नुपर्दा, दलित, शोषित र पीडित भएका सबै मानिसहरूलाई झिँगा भनिएको छ, जबकि माकुरो भनेको नीच सट्टेबाज, निरङ्कुश तानाशाह वा हामीले जुनसुकै नामले पुकारे पनि हरेक घृणा गर्न योग्य वस्तुको सङ्केत हो।

कुनै समय यो माकुरो ठूलाठूला भवनहरू, सामन्ती राजदरबारहरू र जमिन्दारीहरूमा आफ्नो जालो बुन्थ्यो। अहिले यसले आफ्ना लागि ठूलाठूला औद्योगिक नगरहरू र वर्तमान समयका धनी इलाकाहरू रोज्न मन पराउँछ। मुख्यतया तपाईंले यिनलाई ठूला सहरहरूमा भेट्टाउनुहुन्छ, तर यो साना सहर र गाउँहरूमा पनि बसोबास गर्छ। यो प्रत्येक त्यस्तो ठाउँमा रहन्छ जहाँ शोषण मौलाउँछ; जहाँ मेहनतकश, निर्धन सर्वहारा, साना कामदार, दैनिक मजदुर र ऋणको भारले दबिएका मानिसहरू यी साहुमहाजनहरूको असीम लोभ र निष्ठुरताको शिकार बन्छन्।

जहाँसुकै होस्– सहर होस् वा गाउँ, प्रत्येक ठाउँमा हामी यी बिचरा कीराहरूलाई आफ्ना शत्रुको जालोमा फसेको र बाहिर निस्कने निष्फल प्रयास गरिरहेको पाउँछौँ। हामी देख्छौँ कि कसरी तिनीहरूभित्रैबाट खोक्रो हुँदै जान्छन्, शिथिल बन्छन् र मर्छन्।

शताब्दीयौंदेखि निर्बल, भयभीत झिँगा र रगतका प्यासी, निर्दयी माकुरोबीचको यो लडाइँमा कति धेरै दुःखद घटनाहरू घटिसकेका छन्।

हामीले झिँगा र माकुरोको यो सङ्घर्षलाई ध्यानपूर्वक हेर्नुपर्छ, यसका भित्री कुराहरू बुझ्नुपर्छ, शत्रुहरूले हामीलाई अठ्याउनका लागि बनाएका जालहरू बुझ्नुपर्छ र उनीहरूको षड्यन्त्रप्रति सतर्क रहनुपर्छ।

यो दुःख, पीडा तथा क्लेशको रक्तरञ्चित इतिहास हो। यसलाई अब फेरि किन दोहोर्‍याउनु? जो बितिसक्यो, त्यो मरिसकेको छ; हामी आज र आउने भविष्यको कुरा गरौँ।

हामीले झिँगा र माकुरोको यो सङ्घर्षलाई ध्यानपूर्वक हेर्नुपर्छ, यसका भित्री कुराहरू बुझ्नुपर्छ, शत्रुहरूले हामीलाई अठ्याउनका लागि बनाएका जालहरू बुझ्नुपर्छ र उनीहरूको षड्यन्त्रप्रति सतर्क रहनुपर्छ। सबैभन्दा ठूलो कुरा त हामी सबै एक हुनुपर्छ। हामीलाई फसाएर राखेको त्यो जालो तोड्नका लागि एक्लाएक्लै हुँदा हामी धेरै कमजोर छौँ। हामी हाम्रा सिक्रीहरू चुँडालौँ, आफ्ना शत्रुहरूलाई उनीहरूको गोप्यस्थानबाट तानेर ल्याऔँ र हरेक ठाउँमा तर्कबुद्धिको प्रखर प्रकाश फैलाऔँ, ज्ञानको विस्तार गरौँ ताकि भविष्यमा यो निकृष्ट जीवले अन्धकारमा आफ्ना चालहरू चल्न नसकोस्।

हे झिँगाहरू हो! यदि तिमीहरू चाहन्छौ, यदि तिमीहरूमा दृढ सङ्कल्प छ भने तिमीहरू अजेय बन्न सक्छौ। माकुरोहरू आज पनि शक्तिशाली छन् भन्ने यो साँचो हो तर उनीहरूको सङ्ख्या निकै कम छ। हे झिँगाहरू हो! तिमीहरू दुर्बल र तुच्छ भए पनि सङ्ख्याका हिसाबले तिमीहरू एक विशाल फौज बराबर हौ। तिमीहरू नै जीवन हौ, तिमीहरू नै संसार हौ– साँच्चै नै तिमीहरू चाहन्छौ, तिमीहरू एकताबद्ध हुन्छौ भने तिमीहरूले हावाको एकै झोक्काले, आफ्ना पखेटाको फट्फटाहटले ती सारा भयानक तारहरू चुँडाउन सक्छौ र आफू कैद भएको, जहाँ निराश भएर तिमीहरू लडिरहेका छौ र भोकै मर्छौ, ती जालाहरूलाई तहस-नहस पार्न सक्छौ। यदि तिमीहरूमा अठोट छ भने तिमीहरू दरिद्रता र दासतालाई बितेका दिनहरूको कुरा बनाउन सक्छौ।

त्यसैले, चाहना राख्न सिकौँ!

Marxists.org बाट अनुदित

अनुवाद एवं प्रस्तुति: चन्द्र खाकी

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्