डिकेन्सको अ टेल अफ टु सिटिजको कथा अनि नेपाली कांग्रेस र एमालेको व्यथा
प्रख्यात उपन्यासकार चार्ल्स डिकेन्सले अ टेल अफ टु सिटिज नामक कालजयी उपन्यास लेखेका थिए। यस उपन्यासको मूल विषय असमानता र राजनीतिक उथलपुथलले चिराचिरा परेको समाजमा क्रान्ति, रूपान्तरण, बलिदान र पुनरुत्थान हो। फ्रान्सेली क्रान्तिअघि र त्यसका क्रममा लन्डन र पेरिसलाई पृष्ठभूमि बनाएर लेखिएको यस उपन्यासले व्यक्ति र समग्र समाजले कसरी गहिरो पुनर्जन्मको अनुभव गर्न सक्छन् भन्ने कुरा केलाउँछ। चरम अन्याय र उत्पीडनले परिवर्तनको जायज मागलाई जन्म दिन सक्छ, तर त्यही संघर्ष बदला, हिंसा र आतंकमा पनि परिणत हुन सक्छ भन्ने कुरा उपन्यासले देखाउँछ। डिकेन्सले फ्रान्सेली क्रान्तिलाई हिंसात्मक र विनाशकारी पुनर्जन्मका रूपमा चित्रण गरेका छन्। पुस्तौँदेखि क्रूर सामन्ती अभिजात वर्गको उत्पीडनमा पिल्सिएका फ्रान्सेली किसानहरू आफ्ना उत्पीडकहरूलाई सत्ताच्युत गर्न विद्रोहमा उत्रिन्छन्। आतंकको शासनकालमा भएको भयावह रक्तपात र निरंकुशताको डिकेन्सले निन्दा गरे पनि, न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्ट पुरानो व्यवस्थाको विनाश आवश्यक थियो भन्ने दृष्टिले उनी क्रान्तिलाई हेर्छन्। तर यस उपन्यासको केन्द्रमा डिकेन्सको चासो मानवीय रूपान्तरण र नैतिक छनोटमा छ, जसले एक समय मूल्यहीन ठानिएको जीवनलाई समेत अर्थपूर्ण बनाउँछ। त्यसैले उपन्यासले के संकेत गर्छ भने समाज क्रान्तिमार्फत रूपान्तरण हुन सक्छ, तर वास्तविक पुनरुत्थान बदला लिएर होइन, करुणा, बलिदान र पुरानो व्यवस्थाको भग्नावशेषबाट अझ राम्रो समाज निर्माण गर्ने क्षमतामार्फत सम्भव हुन्छ।
पुस्तौँदेखि क्रूर सामन्ती अभिजात वर्गको उत्पीडनमा पिल्सिएका फ्रान्सेली किसानहरू आफ्ना उत्पीडकहरूलाई सत्ताच्युत गर्न विद्रोहमा उत्रिन्छन्। आतंकको शासनकालमा भएको भयावह रक्तपात र निरंकुशताको डिकेन्सले निन्दा गरे पनि, न्यायपूर्ण समाज निर्माणका लागि भ्रष्ट पुरानो व्यवस्थाको विनाश आवश्यक थियो भन्ने दृष्टिले उनी क्रान्तिलाई हेर्छन्।
यस उपन्यासको सुरुवाती हरफलाई अविस्मरणीय मानिन्छ। यति शक्तिशाली सुरुवात सायदै कुनै उपन्यासको होला। डिकेन्स लेख्छन्—त्यो समय उत्कृष्टतम समय थियो, त्यो समय निकृष्टतम समय थियो; त्यो विवेकको युग थियो, त्यो मूर्खताको युग थियो; त्यो आस्थाको युग थियो, त्यो अविश्वासको युग थियो; त्यो प्रकाशको ऋतु थियो, त्यो अन्धकारको ऋतु थियो; त्यो आशाको वसन्त थियो, त्यो निराशाको शीतकाल थियो। चार्ल्स डिकेन्सले आफ्नो प्रसिद्ध उपन्यास अ टेल अफ टु सिटिज मा विस्फोटक उथलपुथल र निर्णायक छनोटको युगलाई चित्रण गर्न ती अमर शब्दहरू लेखेका थिए।
आज ती शब्दहरू नेपालको राजनीतिक भूकम्पलाई बुझ्ने सबैभन्दा सशक्त दृष्टिकोण बनेका छन्। जेन–जी नेतृत्वका विद्रोहहरूले ल्याएको उथलपुथलपछि अघि बढिरहेको नेपालका दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा (एमाले) डिकेन्सले चित्रण गरेको जस्तै एउटा निर्णायक दोबाटोमा उभिएका छन्। एउटाले आन्तरिक पुनर्जागरणको बाटो रोजेको छ भने अर्को दुस्वप्नजस्तै बनेको विगतलाई जिद्दीपूर्वक समातेर बसेको छ।
जेन–जी नेतृत्वका विद्रोहहरूले ल्याएको उथलपुथलपछि अघि बढिरहेको नेपालका दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा (एमाले) डिकेन्सले चित्रण गरेको जस्तै एउटा निर्णायक दोबाटोमा उभिएका छन्।
गत वर्षको भदौ २३–२४ मा भएको जेन–जी विद्रोहले आँधीहुरीले झैँ धेरै कुरा बढारेर लग्यो। ज्वालामुखी विस्फोटले झैँ धेरै कुरा जलाएर खरानी बनायो। नजल्नुपर्ने कुराहरू पनि जले। तर त्यसको मारमा तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेस बढी परे। आफूलाई सर्वशक्तिमान ठान्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीले अपमानजनक रूपमा राजीनामा दिएर हेलिकप्टर चढी बालुवाटारबाट भाग्नुपर्यो। तर यो आक्रोशको सबैभन्दा बढी मार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भोग्नुपर्यो। पाँच पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवा र उनकी पत्नी आरजुलाई भिडले घरमै पसेर निर्घात कुटपिट गरी घाइते बनायो। उपचारका लागि उनी केही समय विदेशतर्फ लागे।
त्यसको लगत्तै नेपाली कांग्रेसमा आफूलाई पुनर्गठन र नवीकरण गर्ने प्रयास सुरु भयो। विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा कांग्रेसमा युवाहरूको नेतृत्व आयो। भलै, नेपाली कांग्रेसले फागुन २१ मा भएको चुनावमा राम्रो प्रदर्शन गर्न सकेन, तर यस पार्टीमा सुधारका संकेतहरू निरन्तर देखिँदै आएका छन्। अझ अहिले असोजमा भएको महाधिवेशनबाट गगन थापालगायत युवाहरूको आशालाग्दो टोली नेतृत्वमा आएको छ। यसैबीच, देउवा पक्षधरहरूको समूह कांग्रेसबाट अलग्गिँदै छ। यसले नेपाली कांग्रेसको पुनर्जागरण अभियानमा कुनै असर पार्ने सम्भावना देखिँदैन। अहिले नेपाली कांग्रेसले लिएको बाटो हेर्दा आगामी स्थानीय र प्रदेश सभाका चुनावमा यसले राम्रै प्रदर्शन गर्न सक्ने सम्भावना देखिन्छ।
यसको ठीक विपरीत, एमालेले आफ्ना कमीकमजोरीको समीक्षा गर्नुको साटो गत वर्ष भएको जेन–जी विद्रोहलाई दुत्कार्ने र लाञ्छित गर्ने काम निरन्तर गरिरहेको छ। एमालेमा भने युवाहरूले ओलीविरुद्ध विद्रोह गर्ने हिम्मत गर्न सकेनन्। स्वस्थानी कथामा महादेवले सतीदेवीको मृत शरीर काँधमा बोकेर हिँडेझैँ एमाले अहिले ओलीलाई बोकेर हिँडिरहेको छ। भनिन्छ—‘दास’ र ‘लास’ बीच फरक हुन्छ; दासले विद्रोह गर्न सक्छ, तर लासले सक्दैन। नेपाली कांग्रेसका 'स्पार्टाकसहरूले' विद्रोह गरे अनि परिवर्तन ल्याए। तर एमालेमा 'जोम्बीहरू' अझै पनि ओलीकै परिक्रमा र प्रदक्षिणा गरिरहेका छन्। त्यसैले निकट भविष्यमा समेत एमाले पुनर्जीवित हुने कुनै सम्भावना देखिँदैन।
स्वस्थानी कथामा महादेवले सतीदेवीको मृत शरीर काँधमा बोकेर हिँडेझैँ एमाले अहिले ओलीलाई बोकेर हिँडिरहेको छ। भनिन्छ—‘दास’ र ‘लास’ बीच फरक हुन्छ; दासले विद्रोह गर्न सक्छ, तर लासले सक्दैन।
डिकेन्सको अ टेल अफ टु सिटिज ले हामीलाई सम्झाउँछ इतिहासको निर्णायक मोडमा कुनै पनि राजनीतिक शक्ति आफ्नो विगतको गौरवका आधारमा होइन, वर्तमानका चुनौतीलाई सामना गर्ने क्षमता र भविष्यप्रतिको दृष्टिकोणका आधारमा जीवित रहन्छ। जनताको आक्रोशलाई षड्यन्त्र ठानेर अस्वीकार गर्ने, आफ्ना गल्तीबाट पाठ सिक्न नचाहने र नेतृत्वलाई नै पार्टी ठान्ने प्रवृत्तिले कुनै पनि राजनीतिक संगठनलाई पतनतर्फ लैजान्छ। क्रान्तिले पुरानो व्यवस्थाका पर्खालहरू भत्काउन सक्छ, तर नयाँ भविष्य निर्माण गर्न आत्मसमीक्षा, साहस र रूपान्तरणको आवश्यकता पर्छ। नेपाली कांग्रेसले आफ्नो पुनर्जागरणको प्रयासलाई व्यवहारमा कति सफल बनाउँछ र एमालेले आत्मसमीक्षाको बाटो रोज्छ कि रोज्दैन, त्यसको फैसला समय र जनताले गर्नेछन्। तर एउटा कुरा स्पष्ट छ—इतिहासको घडी उल्टो घुम्दैन। जेन–जी विद्रोहले नेपालको राजनीतिलाई एउटा नयाँ युगको सँघारमा पुर्याएको छ। यो समय कसैका लागि पुनर्जन्मको अवसर हो, कसैका लागि आत्मविनाशको चेतावनी। डिकेन्सका शब्दमा भन्नुपर्दा, यो उत्कृष्टतम समय पनि हुन सक्छ, निकृष्टतम समय पनि। प्रश्न यति मात्र हो—कुन राजनीतिक शक्तिले समयको संकेत बुझ्छ र कुन शक्ति आफ्नै विगतको भग्नावशेषमुनि पुरिन्छ?
नेपालमा विद्यालयहरू
अलिबिदा लियो !
सुपरइन्टेलिजेन्सको युग र भविष्यको बदलिँदो संसार
बादशाहको पुनरावृत्ति
गरिबीदेखि विश्व शक्तिको यात्रा: चीनको ७७ वर्षे रूपान्तरण र नेपालको परीक्षा
पत्रकारितामा निजी जीवन सार्वजनिक गर्ने अधिकारको सवाल
नेपाली राजनीतिमा वैदेशिक फन्डिङ र मौन सहकार्यको जालो
प्रतिक्रिया