शेन्जेनको आणविक शिखर सम्मेलन

नोभेम्बर १९ मा चीनका राष्ट्रपति सि जिनपिङले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक बैठक आयोजना गरे। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको अवसरमा उनीहरू चीनको शेन्जेनमा भेटेका थिए। उनीहरूद्वारा जारी गरिएको अन्तिम वक्तव्यमा एउटा अत्यन्तै महत्त्वपूर्ण भनाइ समावेश थियो– ‘आणविक युद्ध जित्न सकिँदैन र यस्तो युद्ध कहिल्यै लडिनु हुँदैन।’ विश्वका सबैभन्दा महत्त्वपूर्ण आणविक हतियारसम्पन्न तीन देशका नेताहरूले व्यक्त गरेको यो भनाइ विशेष अर्थपूर्ण छ। यी तीनमध्ये संयुक्त राज्य अमेरिका मात्र यस्तो देश हो, जसले सन् १९४५ मा हिरोसिमा र नागासाकीका सर्वसाधारण नागरिकमाथि आणविक बम प्रयोग गरेको थियो।

तीन शक्तिराष्ट्रको संयुक्त वक्तव्यले आणविक हतियारको खतरा र निरर्थकताबारे नयाँ सम्झौता गर्ने दिशामा अन्तर्राष्ट्रिय मनोविज्ञान विकसित भइरहेको संकेत गर्छ।

अन्य आणविक हतियारसम्पन्न देशहरू (फ्रान्स, भारत, इजरायल, उत्तर कोरिया, पाकिस्तान र बेलायत) सँग शेन्जेनमा भेला भएका तीन देशको जस्तो विशाल आणविक हतियार भण्डार छैन। यसको अर्थ उनीहरूसँग पूर्णस्तरको आणविक युद्ध लड्न सक्ने क्षमता छैन। तीमध्ये अधिकांशका लागि आणविक हतियार आफ्नो देशलाई अरूबाट हुन सक्ने विनाशबाट जोगाउने प्रतिरोधात्मक साधनका रूपमा रहेका छन्। त्यसैले यी तीन शक्तिराष्ट्रको संयुक्त वक्तव्यले आणविक हतियारको खतरा र निरर्थकताबारे नयाँ सम्झौता गर्ने दिशामा अन्तर्राष्ट्रिय मनोविज्ञान विकसित भइरहेको संकेत गर्छ।

आणविक हतियारको प्रयोगसँग सम्बन्धित पहिलो सन्धि सन् १९५९ डिसेम्बर १ मा हस्ताक्षर गरिएको थियो। यो अन्टार्कटिक सन्धिले अन्टार्कटिक क्षेत्रमा आणविक विस्फोट र रेडियोधर्मी फोहोर विसर्जनमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि सन् १९६३ डिसेम्बर ५ मा सोभियत संघ, संयुक्त राज्य अमेरिका र बेलायतबीच आंशिक आणविक परीक्षण प्रतिबन्ध सन्धि  मा हस्ताक्षर भयो। यस दोस्रो सन्धिले वायुमण्डल, बाह्य अन्तरिक्ष र पानीमुनि गरिने आणविक विस्फोटमा प्रतिबन्ध लगायो, तर भूमिगत आणविक परीक्षणलाई भने अनुमति दिइरह्यो। अन्ततः सन् १९९६ सेप्टेम्बर १० मा सम्पन्न व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धिले भूमिगत परीक्षणमाथि पनि प्रतिबन्ध लगायो। यद्यपि, प्रमुख आणविक शक्तिराष्ट्रहरूले अहिलेसम्म यस सन्धिमा हस्ताक्षर गरेका छैनन्।

धेरै वर्षपछि शेन्जेनमा भएको यो बैठक आणविक युद्धको खतराबारे पुनः स्पष्ट र गम्भीर भाषा प्रयोग गरिएको पहिलो महत्त्वपूर्ण पहल हो। यस पहललाई शान्तिप्रेमी सबै मानिसहरूले अगाडि बढाउनुपर्छ।

विगत ६७ वर्षको अवधिमा हामीले आणविक हतियारको भयावह अस्तित्वलाई व्यवस्थापन र नियन्त्रण गर्न विभिन्न सन्धि तथा सम्झौताहरूको विस्तार भएको देख्यौँ। प्रारम्भिक दशकहरूमा यस दिशामा उल्लेखनीय प्रगति भयो। तर त्यसपछि आणविक हतियार नियन्त्रणका सम्पूर्ण संयन्त्रहरू नै विघटन हुन थाले। ती संयन्त्रहरूलाई एकपछि अर्को गर्दै योजनाबद्ध रूपमा भत्काइएको छ। धेरै वर्षपछि शेन्जेनमा भएको यो बैठक आणविक युद्धको खतराबारे पुनः स्पष्ट र गम्भीर भाषा प्रयोग गरिएको पहिलो महत्त्वपूर्ण पहल हो। यस पहललाई शान्तिप्रेमी सबै मानिसहरूले अगाडि बढाउनुपर्छ।

आणविक हतियार नियन्त्रणको पतन

सन् २०२६ फेब्रुअरी ५ मा नयाँ रणनीतिक हतियार कटौती सन्धिको म्याद समाप्त भयो। सन् २०१० मा हस्ताक्षर गरिएको र सन् २०२१ मा म्याद थप गरिएको यस सन्धिले अमेरिका र रुसका तैनाथ रणनीतिक आणविक हतियारमाथि सीमा निर्धारण गर्नुका साथै तिनको प्रमाणीकरणका लागि आवश्यक संयन्त्रसमेत व्यवस्था गरेको थियो। आणविक हतियारसम्पन्न राष्ट्रहरूका आणविक हतियार भण्डारलाई नियन्त्रण गर्ने सन्धिहरूमध्ये म्याद समाप्त हुने यो अन्तिम सन्धि हो। अब आणविक हतियार भण्डारको संख्यामा सीमा निर्धारण गर्ने कुनै बाध्यकारी व्यवस्था बाँकी छैन। यस घटनाप्रति प्रतिक्रिया व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, ‘आधा शताब्दीभन्दा लामो समयपछि पहिलोपटक हामी रणनीतिक आणविक हतियार भण्डारमाथि कुनै बाध्यकारी सीमा नभएको विश्वको सामना गरिरहेका छौँ।’

आणविक हतियारसम्बन्धी कुनै पनि सम्झौता अब बाँकी छैन भन्नु भने गलत हुनेछ। आणविक हतियार अप्रसार सन्धि अझै कायम छ। यसका अतिरिक्त अन्य आणविक सन्धि तथा दायित्वहरू पनि अस्तित्वमै छन्। यहाँको विशिष्ट खतरा के हो भने सबैभन्दा ठूलो आणविक हतियार भण्डार भएका दुई देश (अमेरिका र रुस) अब आफ्ना रणनीतिक आणविक शक्तिमाथि सीमा निर्धारण गर्ने कुनै बाध्यकारी द्विपक्षीय व्यवस्थाको अधीनमा छैनन्। संयम अपनाउने आश्वासनले निरीक्षण, सूचनाको आदानप्रदान, सहमत परिभाषा र कार्यान्वयन गर्न सकिने सीमाहरूको स्थान लिन सक्दैन। सरकार परिवर्तन हुँदा वा आपसी सम्बन्ध बिग्रँदा राजनीतिक समझदारीहरू हराउन सक्छन्। त्यसैले शेन्जेन वक्तव्य महत्त्वपूर्ण छ, तर त्यसको वास्तविक महत्त्व यी देशहरूबीच नयाँ सन्धि निर्माण गर्न सकेमा मात्र स्थापित हुनेछ।

गुमेका उपलब्धिहरूको इतिहास चिन्ताजनक छ :

पहिलो। सन् १९७२ मा हस्ताक्षर गरिएको एन्टी-ब्यालिस्टिक मिसाइल (ABM) सन्धिले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमाथि सीमा निर्धारण गरेको थियो। यसले वासिङ्टन र मस्कोबीचको रणनीतिक सम्बन्धलाई स्थिर आधार प्रदान गर्न पनि मद्दत गरेको थियो। अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू. बुसले रुसको अस्थायी कमजोरीको फाइदा उठाउँदै अमेरिकी शक्ति विस्तारका लक्ष्य अघि बढाउने निर्णय गरेपछि अमेरिकाले सन् २००२ जुन १३ मा यस सन्धिबाट हात झिक्यो। क्षेप्यास्त्र प्रतिरक्षाका लागि जति सीमित औचित्य प्रस्तुत गरिएको भए पनि वार्ताद्वारा तय गरिएका नियन्त्रणका व्यवस्थाहरू त्याग्दा प्रतिद्वन्द्वी राष्ट्रहरूलाई ती प्रतिरक्षा प्रणालीलाई निष्प्रभावी पार्ने नयाँ उपाय खोज्न प्रोत्साहन मिल्यो। सामाजिक सम्पत्तिको अपव्ययका रूपमा रहेको सैन्य खर्च अनियन्त्रित रूपमा बढ्न थाल्यो।

दोस्रो। सन् १९८७ मा हस्ताक्षर गरिएको मध्यम दूरीका आणविक शक्तिसम्बन्धी सन्धिले अमेरिका र सोभियत संघका ५०० देखि ५,५०० किलोमिटरसम्म मार हान्न सक्ने स्थलबाट प्रक्षेपण गरिने क्षेप्यास्त्रहरू पूर्ण रूपमा हटाएको थियो। राष्ट्रपति ट्रम्पले रुसमाथि अमेरिकी रणनीतिक लाभलाई थप विस्तार गर्ने निर्णय गरेपछि वासिङ्टनले सन् २०१९ अगस्ट २ मा यस सन्धिबाट हात झिक्यो। वार्ताद्वारा हटाइएको हतियारको एउटा सम्पूर्ण श्रेणी पुनः सैन्य योजनामा फर्कियो। यस बहिर्गमनले रुसलाई थप रणनीतिक दबाबमा पार्‍यो र पूर्वी युक्रेनमा रुसी आक्रमणलाई उक्सायो।

यी सम्झौताहरू भय र राजनीतिक गणनाको उपज थिए। यिनले एउटा महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गरेका थिए– प्रतिद्वन्द्वी राष्ट्रको असुरक्षाको भावना अन्ततः सबैका लागि विनाशकारी विपत्तिमा परिणत हुन सक्छ।

यी दुई उदाहरणहरू हतियार नियन्त्रणका विभिन्न क्षेत्रमा वर्षौँदेखि हुँदै आएको क्षयीकरणको पराकाष्ठा हुन्। तर यी नै त्यस्ता सबैभन्दा महत्त्वपूर्ण सन्धिहरू हुन्, जसलाई अहिले परित्याग गरिएको छ। यसको परिणामस्वरूप विश्व नयाँ हतियार होड, विशेषगरी नयाँ आणविक हतियार होडतर्फ धकेलिएको छ। यी सम्झौताहरू भय र राजनीतिक गणनाको उपज थिए। यिनले एउटा महत्त्वपूर्ण कुरा बुझ्न मद्दत गरेका थिए– प्रतिद्वन्द्वी राष्ट्रको असुरक्षाको भावना अन्ततः सबैका लागि विनाशकारी विपत्तिमा परिणत हुन सक्छ। यस अर्थमा, आपसी मतभेद कायम रहेकै अवस्थामा पनि निरीक्षण र प्रतिबन्धका व्यवस्थाहरूले विश्वास निर्माणका उपायका रूपमा काम गरेका थिए। ती व्यवस्थाहरूको विघटनले विश्वलाई पुनः एउटा खतरनाक अवस्थामा पुर्‍याएको छ, जहाँ राष्ट्रहरू एकअर्काप्रतिको खतरा मूल्याङ्कन, गुप्तचर निकायका अनुमान र दबाबपूर्ण परिस्थितिमा निर्णय लिने नेताहरूको विवेकमा निर्भर हुन थालेका छन्।

शेन्जेनमा तीन नेताहरूले आणविक हतियार कटौती, प्रमाणीकरणसम्बन्धी व्यवस्था वा वार्ताका लागि कुनै समयतालिका घोषणा गरेनन्। तर उनीहरूले एउटा राजनीतिक अवसरको ढोका खोलेका छन्, जसको माध्यमबाट शान्तिको एजेन्डालाई पुनः अघि बढाउन सकिन्छ। यसमा चीनको सहभागिताले एउटा महत्त्वपूर्ण आयाम थपेको छ, किनभने बेइजिङ यी अधिकांश द्विपक्षीय सन्धिहरूको पक्षराष्ट्र थिएन। दीर्घकालीन र टिकाउ ढाँचा निर्माण गर्न वासिङ्टन र मस्कोका साथै बेइजिङका सुरक्षा चासोहरूलाई पनि सम्बोधन गर्न आवश्यक छ। कुनै सम्झौतामा पुग्न नसकेको भन्दै वार्ताको अवसरलाई बेवास्ता गर्ने सुविधा मानवतासँग छैन।

युरोपको अनुपस्थिति

शेन्जेन बैठकमा युरोपको अनुपस्थिति उल्लेखनीय छ। चीनमा भएको बैठकबाट उत्पन्न हुन सक्ने तनाव न्यूनीकरणको प्रक्रियालाई स्वीकार गर्नुको सट्टा युरोपेली नेताहरू बर्लिनमा ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ को बैठकमा भेला भए। ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ भन्ने नाम सन् २०२५ मार्चमा बेलायतका अवकाशप्राप्त राजनीतिज्ञ कियर स्टार्मरले अघि सारेको एउटा मञ्चबाट आएको हो। यसको घोषित उद्देश्य युरोपेली नेताहरूलाई युक्रेनको सैन्य अभियानलाई समर्थन गर्न एकजुट गर्नु थियो।

शेन्जेन बैठकले आपसी संवाद र सहकार्यका माध्यमबाट तनाव न्यूनीकरण गर्ने विषयलाई प्राथमिकता दियो भने बर्लिन बैठकले सैन्य प्रतिबद्धताहरू थप विस्तार गर्ने विषयलाई प्रमुखताका साथ अघि सार्‍यो।

शेन्जेनमा तीन प्रमुख शक्तिराष्ट्रका नेताहरूले आणविक युद्ध र समग्र युद्धको खतराप्रति आफ्नो चिन्ता व्यक्त गरिरहेका बेला बर्लिनमा युरोपेली नेताहरूले सैन्य खर्च वृद्धि, हतियार आपूर्ति र रुसमाथि दबाब अभियान थप तीव्र बनाउने विषयमा छलफल गरे। गठबन्धनका सदस्यहरूले सन् २०२६ मा युक्रेनलाई ७० अर्ब युरो बराबरको सैन्य उपकरण, सहायता र तालिम उपलब्ध गराउने तथा सन् २०२७ मा पनि कम्तीमा त्यति नै सहयोग जारी राख्ने प्रतिबद्धता पुनः दोहोर्‍याए। उनीहरूले रुसमाथि थप कडा आर्थिक दबाब सिर्जना गर्ने प्रस्ताव अघि सारे र युद्धविरामपछि परिचालन गरिने, अमेरिकाको समर्थन प्राप्त युरोपेली नेतृत्वको बहुराष्ट्रिय सैन्य बल गठनबारे पनि छलफल गरे। यी प्रतिबद्धताहरूले द्वन्द्वलाई निरन्तरता दिने भौतिक संरचनालाई थप विस्तार गरे।

शेन्जेन बैठकले आपसी संवाद र सहकार्यका माध्यमबाट तनाव न्यूनीकरण गर्ने विषयलाई प्राथमिकता दियो भने बर्लिन बैठकले सैन्य प्रतिबद्धताहरू थप विस्तार गर्ने विषयलाई प्रमुखताका साथ अघि सार्‍यो। युरोपेली नेताहरूले सैन्य खर्च वृद्धिको कुरा गरिरहँदा उनीहरूकै देशका नागरिकहरू भने युरोपलाई अझ गरिब र असुरक्षित बनाउने मितव्ययिताको नीतिविरुद्ध सडकमा उत्रिएका थिए। यी प्रदर्शनबारे न त सार्वजनिक रूपमा कुनै उल्लेख गरियो, न त उनीहरूको एजेन्डालाई जनताको अत्यन्त न्यून समर्थन रहेको तथ्य नै स्वीकार गरियो। सैन्य खर्च वृद्धि र सामाजिक क्षेत्रमा थप खर्च कटौती गर्ने एजेन्डाको विरोध इटालीमा ६३ प्रतिशत, अस्ट्रियामा ५९ प्रतिशत, जर्मनीमा ५६ प्रतिशत र इस्टोनियामा ५५ प्रतिशत जनतामा रहेको छ।

गठबन्धनको वक्तव्य आफैँमा खासै ठोस विषयवस्तु नभएको सामान्य प्रकृतिको छ। यसले सैन्य खर्च बढाउन र रुसबाट थप सहुलियत प्राप्त गर्नुपर्ने माग त गर्छ, तर युरोपको सुरक्षाका लागि कुनै बृहत् योजना भने प्रस्तुत गर्दैन। यसको सम्पूर्ण एजेन्डा महत्त्वपूर्ण सैन्य क्षमता र कूटनीतिक पहुँचका लागि युरोप अमेरिकामाथि निर्भर रहने अवस्थामाथि आधारित छ। यही कारण बर्लिनको एजेन्डा पूर्णतः अस्थिर र दीर्घकालीन रूपमा टिक्न नसक्ने प्रकृतिको छ।

ब्रिक्स प्लसको एजेन्डा

आणविक हतियार नियन्त्रणका लागि नयाँ वार्ता सुरु गर्ने सम्भावनाले ब्रिक्स प्लसको एजेन्डाका लागि विशेष महत्त्व राख्छ। प्रमुख सैन्य गठबन्धनबाहिर रहेका देशहरूले आफूले न त सुरु गरेको न त नियन्त्रण गर्न सक्ने द्वन्द्वको विनाशकारी परिणाम भोग्नुपर्ने हुन्छ। आणविक खतराको न्यूनीकरणमा उनीहरूको प्रत्यक्ष स्वार्थ जोडिएको छ। त्यसैले यो विषयलाई सबैभन्दा ठूला शक्तिराष्ट्रहरूबीचको सीमित छलफलमा मात्र छाड्नुको सट्टा उनीहरूले वार्ताका लागि दबाब दिनुपर्छ।

वास्तविक परीक्षा के हो भने उनीहरूको कूटनीतिले अन्य देशहरूलाई विकास, व्यापार र स्वतन्त्र परराष्ट्र नीति अघि बढाउन कति बढी अवसर र ठाउँ सिर्जना गर्छ। तनाव घट्दा त्यस्तो अवसरको ढोका खुल्न सक्छ। तर शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार मात्र सुरक्षित गर्ने कुनै व्यवस्थाले त्यसको सम्भावनालाई साँघुरो बनाउनेछ।

 

चीन र रुस शेन्जेन बैठकमा आ–आफ्नो राष्ट्रिय हैसियतमा सहभागी भएका थिए। उनीहरूको सहभागिताले ग्लोबल साउथका तर्फबाट वार्ता गर्ने अधिकार भने दिएको थिएन। वास्तविक परीक्षा के हो भने उनीहरूको कूटनीतिले अन्य देशहरूलाई विकास, व्यापार र स्वतन्त्र परराष्ट्र नीति अघि बढाउन कति बढी अवसर र ठाउँ सिर्जना गर्छ। तनाव घट्दा त्यस्तो अवसरको ढोका खुल्न सक्छ। तर शक्तिशाली राष्ट्रहरूको विशेषाधिकार मात्र सुरक्षित गर्ने कुनै व्यवस्थाले त्यसको सम्भावनालाई साँघुरो बनाउनेछ।

शेन्जेनको महत्त्व यसले पुनः खोलेको सम्भावनामा निहित छ। बाध्यकारी नियन्त्रणका व्यवस्थाहरू समाप्त भएको अवस्थामा तीन आणविक शक्तिराष्ट्रले साझा खतरालाई स्वीकार गरेका छन्। अबको चुनौती उनीहरूको यस स्वीकारोक्तिलाई व्यवहारमा उतार्नु हो– वार्ता, प्रमाणीकरण, सीमा निर्धारण र आणविक हतियार कटौतीमार्फत।

ब्रिक्स प्लसले निशस्त्रीकरणको विषयलाई आफ्नो व्यावहारिक विकास एजेन्डासँग यसअघि नै जोडिसकेको छ। हतियारको होडमा खर्च हुने स्रोतसाधन सार्वजनिक स्वास्थ्य, आवास, पारिस्थितिक पुनर्स्थापना र उत्पादनमूलक लगानीमा उपयोग गर्न सकिँदैनन्। यसका संस्थाहरूले वित्तीय स्रोतमा पहुँच विस्तार गर्न सक्छन् भने यसका सदस्य राष्ट्रहरूले आणविक शक्तिराष्ट्रहरूलाई आफ्ना जिम्मेवारी पूरा गर्न दबाब दिन सक्छन्। नयाँ विकास बैंकले सदस्य राष्ट्रहरूकै राष्ट्रिय मुद्रामा ऋण प्रवाह गर्ने प्रयास गर्नु देशहरूको आर्थिक विकल्प विस्तार गर्ने एउटा सम्भावित बाटोको उदाहरण हो। चीनमा आयोजना हुने १९औँ ब्रिक्स प्लस शिखर सम्मेलनमा विकास र युद्धबीचको छनोटको प्रश्नमाथि थप छलफल हुने सम्भावना छ।

शेन्जेनको महत्त्व यसले पुनः खोलेको सम्भावनामा निहित छ। बाध्यकारी नियन्त्रणका व्यवस्थाहरू समाप्त भएको अवस्थामा तीन आणविक शक्तिराष्ट्रले साझा खतरालाई स्वीकार गरेका छन्। अबको चुनौती उनीहरूको यस स्वीकारोक्तिलाई व्यवहारमा उतार्नु हो– वार्ता, प्रमाणीकरण, सीमा निर्धारण र आणविक हतियार कटौतीमार्फत। मानवतालाई यस्तो बलियो अन्तर्राष्ट्रिय आन्दोलनको आवश्यकता छ, जसले अबको घोषणा युद्धको तयारीका लागि अर्को बजेट विनियोजन गरिएको होइन, बरु आणविक हतियारहरू नष्ट गरिएको र सम्झौताहरूमा हस्ताक्षर गरिएको होस् भन्ने सुनिश्चित गर्न सकोस्। किनभने कुनै पनि समाजले थेग्न नसक्ने युद्धको तयारीमा लागिरहनु मानवताका लागि स्वीकार्य हुन सक्दैन।

Source: https://globetrotter.media/

 

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्

 

विजय प्रशाद

विजय प्रशाद एक भारतीय इतिहासकार, सम्पादक तथा पत्रकार हुन्। उनी ग्लोबट्रटर (Globetrotter) मा लेखन फेलो तथा प्रमुख संवाददाता हुन्। उनी लेफ्टवर्ड बुक्स (LeftWord Books) का सम्पादक तथा ट्राइकोन्टिनेन्टल: सामाजिक अनुसन्धान संस्थान (Tricontinental: Institute for Social Research) का निर्देशक पनि हुन्। उनले द डार्कर नेशन्स र द पुअरर नेशन्स सहित २० भन्दा बढी पुस्तक लेखेका छन्। उनका पछिल्ला कृतिहरूमा अन क्युबा: ७० वर्षको क्रान्ति र संघर्षमाथि चिन्तन (नोम चोम्स्कीसँग संयुक्त रूपमा), स्ट्रगल मेक्स अस ह्युमन: समाजवादका आन्दोलनहरूबाट सिकाइ, तथा (फेरि नोम चोम्स्कीसँगै) द विथड्रअल: इराक, लिबिया, अफगानिस्तान र अमेरिकी शक्तिको नाजुकता समावेश छन्। चेल्वा र प्रशादको संयुक्त पुस्तक हाउ द इन्टरनेशनल मोनेटरी फन्ड इज सफोकेटिङ अफ्रिका यसै वर्ष इन्कानी बुक्स (Inkani Books) बाट प्रकाशन हुने छ।