राज्यको वर्गीय चरित्र, कम्युनिष्ट विचलन र नयाँ शिराबाट क्रान्तिको आवश्यकता

अहिले नेपालको वामपन्थी जगतमा एउटा भाष्य निर्माण भइरहेको छ – वामपन्थी कम्युनिष्टहरुको हविगत अहिलेजस्तो इतिहासमा कहिल्यै भएको छैन र यसलाई पुन: उठाउनका लागि सबै कम्युनिष्ट शक्ति एक हुनुपर्छ । तर यो एकता केका लागि चुनावमा जितेर सरकारमा जानका लागि या क्रान्तिका लागि? स्पष्ट छ उनीहरुको संकेत चुनाव नै हो, क्रान्ति होइन । उनीहरुका लागि क्रान्ति अब आवश्यक छैन ।

यही पुँजीवादी राज्यसत्तालाई ज्युँकात्युँ राखेर सुखी नेपाली अर्थात् आम श्रमिक वर्गले सुख प्राप्त गर्न सक्छन्, सुशासनको अनुभूति र रोजगारी प्राप्त गर्न सक्छन्?

कोहीले 'समृद्ध नेपाल, सुखी नेपाली' को नारा दिएका छन् भने कोहीले 'सुशासन र रोजगारी, समाजवादको तयारी' जस्ता नारा दिएका छन् । के यही पुँजीवादी राज्यसत्तालाई ज्युँकात्युँ राखेर सुखी नेपाली अर्थात् आम श्रमिक वर्गले सुख प्राप्त गर्न सक्छन्, सुशासनको अनुभूति र रोजगारी प्राप्त गर्न सक्छन्? के यही पुँजीवादी राज्यसत्तालाई नै डेन्टपेन्ट गरेर राज्यको तहबाट समाजवादको तयारी गर्न सकिन्छ? के श्रम शोषण गर्ने अर्थसंरचनाको जगमा खडा भएको पुँजीवादी राज्यसत्ता भित्रैबाट समाजवाद आउँछ? यदि सकिन्छ भने त्यो कुन शास्त्र हो? मार्क्सवाद लेनिनवाद त होइन । यस छोटो लेखमा यसबारे केही विवेचना गरिनेछ ।

मानव सभ्यताको विकासक्रमसँगै समाज वर्गमा विभाजित भयो र वर्गभेदको सुरुवात भयो । राज्यसत्ताको उत्पत्ति पनि यही वर्गविभाजनको उपज हो । राज्यको चरित्र सधैँ वर्गीय हुन्छ र राज्यसत्तामा जुन वर्गको हालीमुहाली हुन्छ, त्यही वर्गले आफ्नो अधिनायकत्व चलाइरहेको हुन्छ । पुँजीवादी राज्यसत्ता भन्नुको अर्थ नै पुँजीजीवी वर्गको अधिनायकत्व कायम हुनु हो । शासन प्रणालीको बाहिरी आवरण जस्तोसुकै होस्— चाहे त्यो संसदीय व्यवस्था होस्, राजतन्त्रात्मक होस् वा राष्ट्रपतीय— यदि राज्यको आधारभूत चरित्र पुँजीवादी छ भने त्यहाँ अन्ततः पुँजीजीवी वर्गकै अधिनायकत्व कायम रहन्छ ।

वर्गविभाजित पुँजीवादी समाजमा सबै वर्गको समान हक कायम हुन्छ भन्नु बाघ र मृगलाई एउटै जङ्गलमा थुनेर दुवैलाई बाँच्ने समान अधिकार छ भन्नुजस्तै हो ।

पुँजीवादले नै लोकतन्त्रको अवधारणा अगाडि सारेको हो, तसर्थ यसको मूल धर्म नै पुँजीवादी समाजको रक्षा र विस्तार गर्नु हो । पुँजीवादी लोकतन्त्रको राजनीतिक संरचना देख्दा प्रतिनिधिमूलक लागे पनि यसको भित्री र मुख्य काम निजी पुँजीको रक्षा गर्नु र त्यसै पुँजीमार्फत श्रमजीवी वर्गको श्रम शोषणलाई वैधानिकता दिनु हो । वर्गविभाजित पुँजीवादी समाजमा सबै वर्गको समान हक कायम हुन्छ भन्नु बाघ र मृगलाई एउटै जङ्गलमा थुनेर दुवैलाई बाँच्ने समान अधिकार छ भन्नुजस्तै हो । समाजमा वर्ग कायम रहेसम्म शोषण, अन्याय, दुःख र अत्याचारको अन्त्य असम्भव छ । त्यसैले, वर्गविहीन समाजतर्फको यात्रा नै सम्पूर्ण सामाजिक विभेद र विसङ्गतिको समूल अन्त्य गर्ने एकमात्र उपाय हो । मार्क्सवादको मूल निष्कर्ष र मार्क्सवादलाई पथप्रदर्शक मान्ने सच्चा वामपन्थीहरूको दिशा यही नै हो ।

नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने २००७ सालमा सामन्ती राणाशाहीको अन्त्यसँगै पुँजीवादी क्रान्ति भयो र लोकतन्त्रको स्थापना भयो । त्यसयता नेपालले प्रारम्भिक बहुदलीय व्यवस्था, राजाको प्रत्यक्ष शासन रहेको निर्दलीय पञ्चायती व्यवस्था, २०४६ को जनआन्दोलनपछिको बहुदलीय पुनर्बहाली, दसवर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मका अनेकौँ चरणहरू पार गरिसकेको छ । तर, शासनका रूपहरू फेरिए पनि राज्यको मूल चरित्र भने पुँजीवादी नै रह्यो । यी सबै चरणहरूमा मूलतः पुँजीवादी अर्थतन्त्रकै विकास भयो र पुँजीवादी राज्यसत्ताकै निरन्तरता कायम रह्यो ।

संसदीय निर्वाचनमा होमिएर सरकारमा जाने सबैखाले कम्युनिष्ट पार्टीहरूले यही पुँजीवादी राज्यसंयन्त्रभित्रैबाट आमजनताको समृद्धि सम्भव छ भन्ने भ्रम छरिरहेका छन् । उनीहरूले समाज वर्गविभाजित छ र राज्यको चरित्र वर्गीय हुन्छ भन्ने आधारभूत मार्क्सवादी तथ्यलाई नै ढाकछोप गरिरहेका छन् ।

यस ऐतिहासिक यथार्थका बाबजुद, समाजवाद र साम्यवादको लक्ष्य बोकेका नेपालका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूमा गम्भीर वैचारिक विचलन देखापरेको छ । एकातिर कतिपय शक्तिहरू अझै पनि 'जनवादी क्रान्ति' कै नारा लगाइरहेका छन्, जुन आधारभूत रूपमा पुँजीवादकै अर्को रूप वा निरन्तरता मात्र हो । अर्कोतिर, संसदीय निर्वाचनमा होमिएर सरकारमा जाने सबैखाले कम्युनिष्ट पार्टीहरूले यही पुँजीवादी राज्यसंयन्त्रभित्रैबाट आमजनताको समृद्धि सम्भव छ भन्ने भ्रम छरिरहेका छन् । उनीहरूले समाज वर्गविभाजित छ र राज्यको चरित्र वर्गीय हुन्छ भन्ने आधारभूत मार्क्सवादी तथ्यलाई नै ढाकछोप गरिरहेका छन् ।

आफूहरू सरकारमा पुगेपछि सबै समस्या समाधान हुन्छन् भन्ने गलत भाष्य निर्माण गर्दै उनीहरूले सत्तामा पुग्न पुँजीवादी निर्वाचनका सबै विकृतिहरूलाई अँगाले । पैसा, भौतिक बल, छलछाम, हिंसा र पुँजीजीवी वर्गसँगको अपवित्र साँठगाँठजस्ता हरेक हथकण्डा अपनाएर उनीहरू सत्तामा त पुगे, तर सत्तामा पुगेपछि भ्रष्टाचार, नातावाद र कृपावादबाहेक केही गरेनन् । फलस्वरूप, उनीहरू आमश्रमिक एवं भुईंतहका जनताबाट पूर्ण रूपमा अलग्गिए । २०८२ भदौ २३ र २४ गते विकसित भएको जनआक्रोश र घटनाक्रमको पछाडि कम्युनिष्ट भनिने शक्तिहरूको यही जनविरोधी चरित्र र वैचारिक स्खलन मुख्य कारकका रूपमा रहेको छ ।

कम्युनिष्टको झण्डा बोकेका राजनीतिक दल तथा शक्तिहरूले आफ्नो वर्गीय धरातल र क्रान्तिकारी बाटो बिराएकै कारण जनता उनीहरूविरुद्ध सडकमा उत्रिएका हुन् ।

पछिल्लो समय 'जेन-जी' (Gen-Z) आन्दोलनलाई केवल विदेशी षड्यन्त्रको उपज र वामपन्थीहरूलाई तहसनहस पार्न रचिएको प्रपञ्चका रूपमा व्याख्या गर्ने र त्यसको प्रतिरोधका नाममा पुराना वामपन्थी कम्युनिष्टहरू एक भएर उठ्नुपर्छ भन्ने नयाँ भाष्य निर्माण गर्न खोजिँदै छ । तर, यथार्थ त्यति मात्र होइन । कम्युनिष्टको झण्डा बोकेका राजनीतिक दल तथा शक्तिहरूले आफ्नो वर्गीय धरातल र क्रान्तिकारी बाटो बिराएकै कारण जनता उनीहरूविरुद्ध सडकमा उत्रिएका हुन् । आन्तरिक रूपमा कम्युनिष्टहरूले वामपन्थी चरित्र गुमाएर जनतासँगको सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको असन्तुष्टिमाथि मात्र बाह्य शक्तिहरूले चलखेल गर्ने अवसर पाएका हुन् ।

चुनावी होस् या गैर-चुनावी, दुवै धारका कम्युनिष्टहरूले वर्गीय राजनीति, समाजवाद र साम्यवादको गन्तव्यलाई तिलाञ्जली दिँदा नै आजको यो सङ्कटपूर्ण परिस्थिति सिर्जना भएको हो । तसर्थ, बाटो बिराइसकेका र जनविश्वास गुमाइसकेका तिनै पुराना शक्तिहरूको यान्त्रिक एकता वा गठबन्धनले मात्र वामपन्थी आन्दोलन बलियो हुन सक्दैन । अबको वास्तविक आवश्यकता भनेको विगतका गल्ती र विचलनहरूको निर्मम समीक्षा गर्दै, वर्गीय राजनीतिलाई पुनः केन्द्रमा राखेर नयाँ शिराबाट कम्युनिष्ट क्रान्तिको पुनर्गठन र थालनी गर्नु नै हो ।