आफैं विरुद्ध धारिलो तरबार चलाउँदै चीनको कम्युनिस्ट पार्टी

चीनको कम्युनिस्ट पार्टीले भर्खरै आत्मअनुशासनसम्बन्धी व्यापक कार्यक्रम पारित गरेको छ। उक्त दस्तावेजले नै यस्तो कार्यक्रम ल्याउनुको कारण स्पष्ट पारेको छ। पार्टी अहिले चीनभित्र बजार सुधारका क्रममा विकसित भएका पुँजीपति वर्ग र पुँजीवादी सम्बन्धहरूविरुद्ध संघर्ष गरिरहेको छ। अझ महत्त्वपूर्ण कुरा, यो संघर्ष पार्टीको आफ्नै पङ्क्तिभित्र पनि चलिरहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको बैठक सन् २०२६ अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा बसेको थियो। त्यसको पाँचौँ पूर्ण बैठक (प्लेनम) ले ‘पार्टीको पूर्ण तथा कठोर आत्मशासनलाई निरन्तरता दिने’ विषयमा करिब १४ हजार ५०० अंग्रेजी शब्दको प्रस्ताव पारित गर्‍यो। उक्त दस्तावेज नोभेम्बर १ मा सार्वजनिक गरिएको थियो।

सोही बैठकले केन्द्रीय समितिका ३३ जना सदस्यलाई पार्टीबाट निष्कासन गरिएको निर्णयलाई अनुमोदन गर्‍यो। सन् १९७८ यताका कुनै पनि पूर्ण बैठकमा निष्कासित केन्द्रीय समिति सदस्यहरूको यो सबैभन्दा ठूलो सङ्ख्या हो। निष्कासित हुनेहरूमा पोलिटब्युरोका दुई पूर्वसदस्य, पार्टीको अन्तर्राष्ट्रिय विभागका एक पूर्वप्रमुख तथा सूचीको शीर्ष स्थानमा रहेका झाङ यौसिया पनि थिए। झाङ यसै वर्षसम्म जनमुक्ति सेनाका सबैभन्दा उच्च पदस्थ जनरल तथा केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष थिए। त्यस्तै, जनमुक्ति सेनाका पूर्व संयुक्त स्टाफ प्रमुख लिउ झेनली पनि निष्कासनमा परे।

सोही बैठकले केन्द्रीय समितिका ३३ जना सदस्यलाई पार्टीबाट निष्कासन गरिएको निर्णयलाई अनुमोदन गर्‍यो। सन् १९७८ यताका कुनै पनि पूर्ण बैठकमा निष्कासित केन्द्रीय समिति सदस्यहरूको यो सबैभन्दा ठूलो सङ्ख्या हो।

यहाँ विशेष ध्यान दिनुपर्ने व्यक्तिहरू सैन्य अधिकारीहरू हुन्। सन् २०२२ मा केन्द्रीय समितिमा निर्वाचित भएका ४४ जना सैनिक अधिकारीमध्ये अहिले आफ्नो पदमा केवल दुई जना मात्र बाँकी छन्। उनीहरू हुन्—रक्षामन्त्री तोङ जुन र सेनाको भ्रष्टाचारविरोधी निकायका प्रमुख झाङ शेङमिन। यस पूर्ण बैठकमा झाङ शेङमिनलाई पोलिटब्युरो सदस्यमा बढुवा गरिएको छ।

सशस्त्र सेनाको कमान्ड गर्ने केन्द्रीय सैन्य आयोगमा अहिले सि जिनपिङ र झाङ शेङमिन गरी दुई जना मात्र बाँकी छन्। प्रस्तावमा स्पष्ट शब्दमा भनिएको छ, “पार्टी, राज्य र सेनाभित्र लुकेर रहेका गम्भीर जोखिमहरूलाई हटाइएको छ।”

पार्टीका अनुसार के गलत भएको छ?

पश्चिमा सञ्चारमाध्यमहरूले यी सबै घटनालाई सत्तासङ्घर्षका रूपमा व्याख्या गरिरहेका छन्—अर्थात् एक नेताले आफ्ना प्रतिद्वन्द्वीहरूलाई पाखा लगाइरहेको छ भन्ने रूपमा। तर तथ्यहरू हेर्दा यस्तो व्याख्या टिक्दैन। पदबाट हटाइएका जनरलहरू सन् २०२२ को त्यही महाधिवेशनमा सि जिनपिङकै नेतृत्वमा नियुक्त भएका थिए, जसले उनलाई तेस्रो कार्यकालका लागि नेतृत्वमा निरन्तरता दिएको थियो। झाङ यौसिया त सीका निकट सहयोगीसमेत थिए, जसलाई सीले अवकाश उमेर नाघिसक्दा पनि पदमा कायम राखेका थिए। यी जनरलहरू नियुक्त गर्ने व्यक्ति सि जिनपिङनै थिए र अहिले उनीहरूलाई निष्कासन गर्ने व्यक्ति पनि सि जिनपिङ  नै हुन्। यसको पछाडि अर्को नै कारण देखिन्छ।

प्रस्तावले त्यसको नाम नै उल्लेख गरेको छ। ‘पार्टी भावना’ र ‘निष्ठा’ जस्ता भाषाभन्दा पर गएर यसले पार्टीभित्रको विकृतिको स्रोतलाई आर्थिक शब्दावलीमा पहिचान गरेको छ। यसले “शासन सञ्चालन, सुधार तथा खुलापन, बजार अर्थतन्त्र र बाह्य वातावरणका चुनौतीहरू” प्रति सचेत गराएको छ। साथै, “सरकारी अधिकारी र व्यापारीहरूबीचको मिलेमतो” तथा “राजनीतिक क्षेत्रमा पुँजीको प्रवेश” सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएको छ। एउटै वाक्यमा यसले सम्पूर्ण समस्यालाई यसरी प्रस्तुत गरेको छ : पार्टीले “व्यावसायिक कारोबारका नियमहरू र पार्टीभित्रको आचरणलाई क्षयीकृत गरिरहेका आश्रित सम्बन्धहरू” को प्रभावलाई प्रतिरोध गर्नुपर्छ। दस्तावेजको बाँकी भागले पैसा कसरी प्रवाह भइरहेको छ भन्ने कुरा खुलाउँछ—अवकाशप्राप्त अधिकारीहरू व्यापारिक बिचौलियाका रूपमा परिचालित हुने माध्यमबाट, अधिकारीहरूका श्रीमती र छोराछोरीमार्फत, क्रिप्टोकरेन्सीको प्रयोगबाट तथा विदेशमा लगेर थन्क्याइएका कोषहरूमार्फत।

भ्रष्टाचारविरोधी अभियान भनेको पुँजीवादी सम्बन्धहरूले आफ्नै पार्टी संयन्त्रलाई भ्रष्ट तुल्याउने प्रक्रियाविरुद्ध पार्टीले चलाएको प्रतिरक्षात्मक सङ्घर्ष हो। पार्टीले यसलाई यी शब्दहरूमा व्याख्या गर्दैन। तर उसले शत्रुको जुन पहिचान गरेको छ, त्यसको वर्णनले यही वास्तविकतातर्फ सङ्केत गर्छ।

यो पुँजीवादी सम्बन्धहरूले व्यवहारमा कसरी काम गरिरहेका छन् भन्ने कुराको वर्णन हो, यद्यपि प्रस्तावले यसलाई त्यस रूपमा व्याख्या गरेको छैन। यसले भ्रष्टाचार र राजनीतिमा पुँजीको प्रवेशजस्ता लक्षणहरूको नाम त लिएको छ, तर त्यसभन्दा अगाडि गएको छैन। यसको वर्गीय व्याख्या भने आफैँले थप्नुपर्ने हुन्छ। सन् १९७८ मा सुरु भएका बजार सुधारहरूले चीनलाई विदेशी पुँजीका लागि खुला गरे र चिनियाँ पुँजीपति वर्गको उदय गराए। अहिले चीनमा अर्बपति पुँजीपतिहरूको सङ्ख्या सयौँमा र साना तथा मझौला निजी व्यवसायका मालिकहरूको सङ्ख्या लाखौँमा पुगेको छ। पुँजीपतिहरू आफ्नो प्रभाव र पहुँच खरिद गरेर नै अघि बढ्छन्। उनीहरूलाई जमिन, अनुमति, ऋण, ठेक्का र संरक्षण चाहिन्छ। यी सबै प्राप्त गर्ने एक मात्र ठाउँ भनेको श्रमिक राज्यका अधिकारीहरू हुन्। भ्रष्टाचार भनेको समाजवादी देशभित्र पुँजीवादी दबाबले लिने राजनीतिक रूप हो। जब कुनै अधिकारीले जग्गाको अनुमति, बढुवा वा सरकारी खरिदसम्बन्धी ठेक्का बिक्री गर्छ, तब उसलाई प्रभावित पार्न प्रयोग हुने पैसा निजी अर्थतन्त्रमा भएको पुँजी सञ्चयबाट आउँछ। भ्रष्टाचारविरोधी अभियान भनेको पुँजीवादी सम्बन्धहरूले आफ्नै पार्टी संयन्त्रलाई भ्रष्ट तुल्याउने प्रक्रियाविरुद्ध पार्टीले चलाएको प्रतिरक्षात्मक सङ्घर्ष हो। पार्टीले यसलाई यी शब्दहरूमा व्याख्या गर्दैन। तर उसले शत्रुको जुन पहिचान गरेको छ, त्यसको वर्णनले यही वास्तविकतातर्फ सङ्केत गर्छ।

आत्मक्रान्ति

चिनियाँ भाषामा यस सङ्घर्षका लागि प्रस्तावले प्रयोग गरेको शब्द हो—‘ज्वोवो गे मिङ’ (zìwǒ gémìng), जसको शाब्दिक अर्थ ‘आत्मक्रान्ति’ हो। यसको आधिकारिक अंग्रेजी अनुवादमा भने ‘आत्मसुधार’ भनिएको छ, जुन चिनियाँ भाषामा फरक शब्द हो। कार्ल मार्क्सले आफ्नो कृति ‘लुई बोनापार्टको अठारौँ ब्रुमेयर’ मा सर्वहारा क्रान्तिहरूले निरन्तर आफ्नै आलोचना गर्ने, आफूलाई बीचैमा रोक्ने र सम्पन्न भइसकेको ठानिएका उपलब्धिहरूतर्फ पुनः फर्केर नयाँ सुरुवात गर्ने कुरा लेखेका छन्। यस सन्दर्भमा ‘आत्मसुधार’ भन्दा ‘आत्मक्रान्ति’ बढी उपयुक्त र मार्क्सवादी अर्थ बोकेको अनुवाद हो। यद्यपि, मार्क्सले दशकौँसम्म चल्ने समग्र क्रान्तिको आफ्नै मार्ग सच्याउने प्रक्रियाबारे व्याख्या गरेका थिए भने पार्टीको आत्मक्रान्ति भने सत्तारूढ पार्टी स्वयंको आचरण र सङ्गठनात्मक संरचनालाई लक्षित छ। पार्टीको शुद्धीकरणले क्रान्तिलाई सहयोग पुर्‍याउँछ, तर त्यो क्रान्तिको विकल्प हुन सक्दैन। कुनै पार्टीले आफ्ना पङ्क्तिभित्रका सदस्यहरूलाई निष्कासन गर्न र आफ्ना नियमहरू पुनर्लेखन गर्न त सक्छ, तर उसले निष्कासन गरेका अधिकारीहरू जन्माइरहने आर्थिक अवस्थालाई भने यथावत् छाड्न सक्छ।

कार्ल मार्क्सले आफ्नो कृति ‘लुई बोनापार्टको अठारौँ ब्रुमेयर’ मा सर्वहारा क्रान्तिहरूले निरन्तर आफ्नै आलोचना गर्ने, आफूलाई बीचैमा रोक्ने र सम्पन्न भइसकेको ठानिएका उपलब्धिहरूतर्फ पुनः फर्केर नयाँ सुरुवात गर्ने कुरा लेखेका छन्।

पार्टीले यस प्रक्रियालाई ‘तरबार आफैँतिर फर्काउनु’ (Turning the blade inward) भनेको छ। पाँचौँ पूर्ण बैठकपछि केन्द्रीय अनुशासन निरीक्षण आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१२ यता पार्टीका अनुशासनसम्बन्धी निकाय र राज्यको सुपरिवेक्षण प्रणालीले करिब ८० लाख मानिसलाई कारबाही गरिसकेको छ। तीमध्ये ९६३ जना केन्द्रीय समितिको प्रत्यक्ष निगरानीमा रहने स्तरका उच्चपदस्थ अधिकारी थिए। सन् २०२५ मा मात्रै मन्त्रीस्तर वा सोभन्दा माथिका ११५ जना अधिकारीमाथि अनुसन्धान सुरु गरिएको थियो। सि जिनपिङले उक्त पूर्ण बैठकलाई सम्बोधन गर्दै यस प्रस्तावले “आगामी वर्षहरूमा अझ कठोर अनुशासन कायम गर्ने हाम्रो प्रतिबद्धताको बलियो सङ्केत दिएको” बताएका थिए।

यहाँ सोभियत सङ्घका अन्तिम वर्षहरूसँगको तुलना निकै सान्दर्भिक छ, तर दुवैको दिशा भने ठीक विपरीत छ। समान प्रकारका दबाबहरू, विशेषाधिकारप्राप्त अधिकारीहरूको एउटा तह, राज्यको सम्पत्तिसँग गाँसिँदै गएको अवैध बजार र विश्व बजारको आकर्षण सामना गर्दा मिखाइल गोर्बाचोभको नेतृत्वले पार्टीलाई खुकुलो बनाएर त्यसको जवाफ दिएको थियो। उसले आफ्नै पार्टी क्याडरहरूलाई ‘प्रशासनिक–आदेश प्रणाली’ भन्दै निशाना बनायो, अर्थतन्त्रलाई बजारका लागि र देशलाई साम्राज्यवादका लागि खुला गर्‍यो तथा श्रमिक वर्गलाई सङ्गठित राजनीतिक भूमिकाबाट विमुख बनायो। यो अनुशासन कायम गर्न नसकेको सामान्य असफलता मात्र थिएन। स्वयं नेतृत्व नै पुँजीवाद पुनःस्थापनाको औजार बन्यो। उसले पुँजीवादी दबाबलाई पार्टीको केन्द्रसम्म पुर्‍यायो र त्यसपछि पार्टीको अधिकार प्रयोग गरेर सार्वजनिक सम्पत्तिलाई निजी पुँजीमा रूपान्तरण गर्‍यो। पार्टी संयन्त्रभित्रका विशेषाधिकारप्राप्त तहहरू पनि यसै प्रक्रियामा पुँजीवादको पक्षमा उभिए। अन्ततः सन् १९९१ को अगस्टमा प्रतिक्रान्ति हुँदा १ करोड ६० लाखभन्दा बढी सदस्य रहेको पार्टीले त्यसको प्रतिवादमा एउटा औँलासमेत उठाएन।

चिनियाँ कम्युनिस्ट पार्टीले समस्याको जडका रूपमा ‘प्रणाली’ लाई नभई पुँजीलाई पहिचान गरेको छ। साथै, “युवा, औद्योगिक मजदुर, किसान र बुद्धिजीवीहरू” बाट नयाँ सदस्य भर्ना गर्न निर्देशन दिएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीले सोभियत अनुभवबाट पाठ सिकेको छ। उसले पार्टीको केन्द्रीय नेतृत्वलाई अझ सुदृढ बनाएको छ र त्यसैसँगै केन्द्रीय नेतृत्वलाई पनि फरक दिशातर्फ उन्मुख गराएको छ। उसले समस्याको जडका रूपमा ‘प्रणाली’ लाई नभई पुँजीलाई पहिचान गरेको छ। साथै, “युवा, औद्योगिक मजदुर, किसान र बुद्धिजीवीहरू” बाट नयाँ सदस्य भर्ना गर्न निर्देशन दिएको छ। निजी कम्पनीहरू, डिजिटल प्लेटफर्ममा आधारित कम्पनीहरू र उच्च प्रविधिका स्टार्टअपहरूमा समेत पार्टी सङ्गठनहरू विस्तार गर्न थालेको छ।

अमेरिकी शासक वर्गले यो कुरा बुझेको छ। त्यसैले उसले विगत चार दशकदेखि चीनमा कुनै गोर्बाचोभ उदाउने आशा गर्दै आएको छ। यही कारणले चीनसम्बन्धी अमेरिकी विश्लेषकहरूले त्यहाँ हुने प्रत्येक शुद्धीकरण अभियानलाई निराशाका साथ हेर्ने गरेका छन्। यस दस्तावेजमा सोभियत शैलीको विघटनको कुनै सङ्केत छैन। बरु, घेराबन्दीको दबाब सामना गरिरहेको एउटा श्रमिक राज्यले आफ्नो राजनीतिक संयन्त्रलाई व्यवस्थित र सुदृढ बनाउने प्रयास गरेको देखिन्छ।

सीमाहरू

यो सङ्घर्ष अझै कति टाढासम्म पुग्नुपर्नेछ भन्ने विषयमा प्रस्तावले इमानदारीपूर्वक आफ्नो धारणा राखेको छ। यसमा भनिएको छ, भ्रष्टाचारविरुद्धको सङ्घर्ष “अझै पनि गम्भीर र जटिल अवस्थामा छ” र “भ्रष्टाचारका आधार तथा त्यसलाई जन्म दिने परिस्थितिहरू उन्मूलन गर्ने कार्य अझै चुनौतीपूर्ण छ।” यो इमानदार स्वीकारोक्तिले एउटा यस्तो अन्तर्विरोधतर्फ सङ्केत गर्छ, जसको समाधान भने उक्त प्रस्तावले दिन सकेको छैन।

पार्टीले रोगको स्रोतका रूपमा पुँजीलाई पहिचान गरेको छ, तर त्यसलाई घटाउने कार्यक्रम ल्याउनुको सट्टा पुँजीमाथि निगरानी राख्ने उपाय अघि सारेको छ। निजी कम्पनीभित्र स्थापना गरिएका पार्टी कमिटीहरूको उद्देश्य पुँजीपतिहरूलाई राजनीतिक रूपमा निगरानी गर्नु हो, तर उनीहरूको आर्थिक आधार भने यथावत् राख्नु हो। प्रस्तावले नैतिक शिक्षामा अत्यधिक जोड दिएको छ। यसले ‘चिनियाँ परम्परागत संस्कृतिका उत्कृष्ट पक्ष’, ‘इज्जत र बेइज्जतीको भावना’ जस्ता विषयलाई महत्त्व दिएको छ। तर नैतिकताले कहिल्यै अर्थतन्त्रलाई उछिन्न सकेको छैन। जबसम्म चीनभित्र पुँजीपतिहरूले पुँजी सञ्चय गरिरहन्छन्, तबसम्म पार्टीले खोजी गरिरहेका ‘बाघ’ र ‘झिँगा’ (ठूला तथा साना भ्रष्ट अधिकारी) पुनः जन्मिरहनेछन्। निर्णायक उपायहरू अर्थतन्त्रभित्रै निहित छन्। नयाँ लगानी कहाँ र कुन क्षेत्रमा गर्ने भन्ने निर्णय कसले गर्छ, राज्यको योजना प्रणालीले कि अहिले ठूलो मात्रामा लगानी परिचालन गरिरहेका बैंक तथा रियल इस्टेट विकासकर्ताहरूले? प्रमुख उद्योगहरूमाथि सार्वजनिक स्वामित्वका उद्यमहरूको नियन्त्रण रहने हो कि ती पनि अन्य निजी कम्पनीहरूजस्तै बजारमा प्रतिस्पर्धा गर्ने व्यावसायिक संस्थाका रूपमा सीमित हुने हुन्? अनि, समग्र वर्गका रूपमा श्रमिक वर्गसँग योजना प्रणालीमार्फत के उत्पादन गर्ने र कसका लागि उत्पादन गर्ने भन्ने निर्णय गर्ने सङ्गठित शक्ति रहने हो कि होइन?

यसका मास लाइन (Mass Line) र ‘सरकारमाथि जनताको निगरानी’ सम्बन्धी खण्डहरूमा अन्तिम प्रश्न अर्थात् श्रमिक वर्गको सङ्गठित राजनीतिक भूमिकातर्फ केही सङ्केत गरिएको छ। तर यी नै दस्तावेजका सबैभन्दा कमजोर पक्षहरू हुन्।

तर यो कार्यक्रम उक्त प्रस्तावको हिस्सा होइन। प्रस्तावले विद्यमान समाजवादी बजार अर्थतन्त्रभित्रै रहेर काम गर्छ। यद्यपि, यसका मास लाइन (Mass Line) र ‘सरकारमाथि जनताको निगरानी’ सम्बन्धी खण्डहरूमा अन्तिम प्रश्न अर्थात् श्रमिक वर्गको सङ्गठित राजनीतिक भूमिकातर्फ केही सङ्केत गरिएको छ। तर यी नै दस्तावेजका सबैभन्दा कमजोर पक्षहरू हुन्।

यो एउटा रक्षात्मक कदम हो। यो गम्भीर र आवश्यक कदम हो, र चीनमा यसलाई कार्यान्वयन गर्ने राजनीतिक अधिकार भएको एकमात्र सङ्गठन कम्युनिस्ट पार्टी नै हो। तर यस कदमबाट मात्रै समस्या समाधान हुन सक्दैन। प्रस्तावमा पार्टीले पतनको खतराबाट बच्न दुईवटा उपाय पहिचान गरेको बताइएको छ—सरकारमाथि जनताको निगरानी र पार्टीको आत्मक्रान्ति। पहिलो उपायको स्रोत पार्टीले माओत्सेतुङको विचारलाई मानेको छ। सन् १९४५ मा येनान आएका एक आगन्तुकसँगको कुराकानीमा माओले जनताको निगरानीले मात्र सरकारलाई शिथिल हुनबाट जोगाउन सक्ने बताएका थिए। दोस्रो उपाय भने सन् २०१२ यताका अनुभवमा आधारित छ। प्रस्तावको लगभग सम्पूर्ण अंश दोस्रो उपाय अर्थात् पार्टीको आत्मक्रान्तिबारे केन्द्रित छ। पहिलो उपायमा भने श्रमिक वर्गको भूमिका जोडिन्छ। किनभने श्रमिक राज्य भनेकै श्रमिक वर्गले राजनीतिक सत्ता प्रयोग गर्ने व्यवस्था हो।

पार्टीले श्रमिक राज्यलाई पुँजीवादको पुनःस्थापनाबाट जोगाउन सक्छ। तर त्यस्तो राज्यभित्र शासन सञ्चालन गर्ने क्षमता श्रमिक वर्गसँग पनि हुनुपर्छ। यी एउटै कार्यका दुई भिन्न पक्ष हुन्।

श्रमिकहरूले आवश्यक पर्दा आफूहरू सङ्घर्षमा उत्रिन तयार रहेको देखाइसकेका छन्। सन् २००९ को जुलाईमा जिलिन प्रान्तीय सरकारले दशौँ हजार श्रमिक कार्यरत सार्वजनिक स्वामित्वको तोङहुआ आइरन एन्ड स्टिल उद्योगलाई निजी स्टिल कम्पनी समूह जियानलोङको जिम्मा लगाउने सहमति गरेको थियो। उक्त निजी समूहले ठूलो सङ्ख्यामा श्रमिक कटौती गर्ने योजना बनाएको थियो। त्यसको विरोधमा श्रमिकहरूले उद्योग कब्जा गरे। त्यस क्रममा जियानलोङले नियुक्त गरेका उद्योगका महाप्रबन्धकको मृत्यु भयो। त्यसै रात प्रान्तीय सरकारले निजीकरणसम्बन्धी सम्झौता रद्द गर्‍यो। उद्योग सार्वजनिक स्वामित्वमै रह्यो।

त्यस्तै, सन् २०२१ यता डेलिभरी राइडरहरू र राइड राइड चालकहरू (एपमार्फत सवारी सेवा उपलब्ध गराउने) चालकहरूले पनि आफ्नो अधिकारका लागि सङ्घर्ष गर्दै आएका छन्। प्लेटफर्म कम्पनीहरूको सफ्टवेयरले निर्धारण गर्ने पारिश्रमिक दरविरुद्ध वर्षौँसम्म काम बन्द र विरोध प्रदर्शन गरेपछि उनीहरूले ट्रेड युनियनमार्फत सामूहिक सम्झौता गर्न सफलता हासिल गरेका छन्। ती सम्झौतामा डेलिभरीका लागि तोकिने समयसीमा, पारिश्रमिक निर्धारण गर्ने सूत्र तथा श्रमिकको काम र आम्दानी निर्धारण गर्ने एल्गोरिदमसमेत सामूहिक वार्ताको विषय बनेका छन्। सन् २०२५ मा मात्रै हस्ताक्षर गरिएका यस्ता सम्झौताले दुई करोडभन्दा बढी प्लेटफर्म श्रमिकलाई समेटेका छन्।

प्रस्तावको दोस्रो उपाय अर्थात् पार्टीको आत्मक्रान्तिले ठूलो मात्रामा उपयोग नगरेर बाँकी राखेको शक्ति यही श्रमिक वर्गको सङ्गठित शक्ति हो। यो नै त्यो शक्ति हो जसलाई प्रस्तावको दोस्रो उत्तरले ठूलो मात्रामा जगेडा राखेको छ। कुनै विकासकर्ताबाट घूस खाने अधिकारीलाई माथिल्लो तहबाट पठाइएको अनुगमन टोलीभन्दा पनि, हिसाब-किताब देख्न र उसलाई हटाउन सक्ने कामदारहरूले अझ प्रभावकारी ढङ्गले नियन्त्रण गर्न सक्छन्। अधिकारीहरूको मूल्याङ्कन गर्दा “साधारण जनताको प्रतिक्रिया” लाई आधार बनाउनुपर्ने र “जनताको निगरानी” का माध्यमहरू खुला राख्नुपर्ने प्रस्तावकै मागले पनि यही दिशातर्फ सङ्केत गर्छ। तर अनुशासनसम्बन्धी विषयमा समर्पित पृष्ठहरूको तुलनामा यी विषयलाई दिइएको अत्यन्तै सीमित स्थानले अझै कति काम गर्न बाँकी छ भन्ने स्पष्ट पार्छ।

कुनै विकासकर्ताबाट घूस खाने अधिकारीलाई माथिल्लो तहबाट पठाइएको अनुगमन टोलीभन्दा पनि, हिसाब-किताब देख्न र उसलाई हटाउन सक्ने कामदारहरूले अझ प्रभावकारी ढङ्गले नियन्त्रण गर्न सक्छन्। अधिकारीहरूको मूल्याङ्कन गर्दा “साधारण जनताको प्रतिक्रिया” लाई आधार बनाउनुपर्ने र “जनताको निगरानी” का माध्यमहरू खुला राख्नुपर्ने प्रस्तावकै मागले पनि यही दिशातर्फ सङ्केत गर्छ।

बजार सुधारहरूले खोलेका दुई भिन्न मार्गबीचको सङ्घर्षको अन्तिम टुङ्गो उत्पादन र राज्यसत्तामा कुन वर्गको नियन्त्रण रहन्छ भन्ने कुराले निर्धारण गर्नेछ। र यो त्यस्तो सङ्घर्ष हो, जसमा श्रमिक वर्गले आफ्नै वर्गीय पहिचान र नामबाट लड्नुपर्ने हुन्छ।

युद्धको सन्दर्भ

चीनभित्रका पुँजीपतिहरूले आन्तरिक रूपमा जुन शक्तिलाई दबाब दिइरहेका छन्, त्यही शक्तिमाथि अमेरिकाले बाह्य रूपमा दबाब सिर्जना गरिरहेको छ—त्यो हो श्रमिक वर्गको सत्ता माथिको नियन्त्रण। यी सबै घटनाक्रम शान्तिकालमा भइरहेका छैनन्। प्रस्तावले पनि यसलाई स्पष्ट रूपमा स्वीकार गरेको छ। यसमा भनिएको छ, वर्चस्ववाद र शक्ति राजनीतिले अझ गम्भीर खतरा पैदा गरिरहेका छन् तथा भूराजनीतिक द्वन्द्व र स्थानीय युद्धहरू अन्त्य हुने कुनै सङ्केत देखिएको छैन।  यसै वर्ष इरानविरुद्ध अमेरिकी सरकारले चलाएको युद्धलाई अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र कङ्ग्रेसमा खुलेआम एउटा पूर्वाभ्यासका रूपमा व्याख्या गरिएको थियो। प्रविधिमाथिको नाकाबन्दी, ताइवान प्रान्तलाई हतियार आपूर्ति तथा जापानदेखि फिलिपिन्स हुँदै अमेरिकाको उपनिवेश गुआमसम्म फैलिएको सैन्य अखडाहरूको सञ्जाल, यी सबै गतिविधि सन् २०२६ मा भएका ट्रम्प–सीका दुई शिखर वार्ताका क्रममा पनि निरन्तर जारी रहे र अहिले पनि जारी छन्।

सेनाको उच्च कमान्डमा गरिएको शुद्धीकरणलाई पनि यही सन्दर्भमा बुझ्नुपर्छ। श्रमिक राज्यमा पार्टी र सशस्त्र सेनाबीचको सम्बन्ध निर्णायक हुन्छ। किनभने भविष्यमा कुनै संकट उत्पन्न भएमा देशभित्रको पुँजीवादी प्रवृत्ति र विदेशका साम्राज्यवादी शक्तिहरूको भेट हुने सम्भावित स्थान सेना नै हो।

यस वर्ष झाङ यौसिया र लिउ झेनलीमाथि भने राजनीतिक प्रकृतिका आरोप लगाइए। उनीहरूमाथि पार्टीप्रति बेइमानी, गुटबन्दी र सशस्त्र सेनामाथि पार्टीको नेतृत्वलाई कमजोर बनाएको आरोप लगाइएको छ। निजी क्षेत्रको पैसा सेनाको सर्वोच्च कमान्डसम्म पुगेको थियो वा थिएन भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएका कुनै पनि दस्तावेजबाट पुष्टि भएको छैन। तर एउटा कुरा भने स्पष्ट छ  पार्टीले सेनाको उच्च कमान्डलाई अविश्वसनीय ठहर गरेको छ।

सेनाको मुखपत्रले झाङ यौसियामाथि सेनामाथि पार्टीको निरपेक्ष नेतृत्वलाई कमजोर पारेको आरोप लगाएको थियो। सेनाको उच्च नेतृत्वबाट गरिएको निष्कासनको यो सम्पूर्ण शृङ्खलामा लगाइएका आरोपहरू सन् २०२३ देखि सुरु भएका थिए। सुरुमा रकेट फोर्स र सैन्य उपकरण विभागमा भएको खरिदसम्बन्धी भ्रष्टाचारका आरोपमा रक्षामन्त्री तथा आणविक क्षेप्यास्त्र बलका कमान्डरहरू पदबाट हटाइए। यस वर्ष झाङ यौसिया र लिउ झेनलीमाथि भने राजनीतिक प्रकृतिका आरोप लगाइए। उनीहरूमाथि पार्टीप्रति बेइमानी, गुटबन्दी र सशस्त्र सेनामाथि पार्टीको नेतृत्वलाई कमजोर बनाएको आरोप लगाइएको छ। निजी क्षेत्रको पैसा सेनाको सर्वोच्च कमान्डसम्म पुगेको थियो वा थिएन भन्ने कुरा अहिलेसम्म सार्वजनिक गरिएका कुनै पनि दस्तावेजबाट पुष्टि भएको छैन। तर एउटा कुरा भने स्पष्ट छ  पार्टीले सेनाको उच्च कमान्डलाई अविश्वसनीय ठहर गरेको छ। सशस्त्र बलमाथिको राजनीतिक नियन्त्रण पुनः स्थापित गर्नु पार्टीका लागि अनिवार्य आवश्यकता हो। तर यही समय सबैभन्दा बढी जोखिमको घडी पनि हो। पेन्टागनका रणनीतिक योजनाकारहरूले यी निष्कासन सूचीहरूलाई कुनै पनि कम्युनिस्टले जत्तिकै सूक्ष्मताका साथ अध्ययन गरिरहेका छन्।

पार्टीले अघि बढाएको कदमको गम्भीरता यही हो। अमेरिकाले युद्धको तयारीलाई तीव्र बनाइरहेको समयमा पार्टीले आफ्नै सैन्य नेतृत्वको उच्च तहमा व्यापक शुद्धीकरण गर्ने निर्णय गरेको छ। किनभने उसले सैन्य कमान्डलाई अविश्वसनीय र अमेरिकी युद्ध अभियानको खतरालाई वास्तविक ठानेको छ। प्रस्तावको प्रारम्भिक खण्डमा पार्टीको दीर्घकालीन शासन र “चीनले उपभोग गरिरहेको दिगो शान्ति” का कारण शान्तिकालमै सम्भावित खतराहरूबाट जोगिन “सधैँ तयार रहनु” अझ बढी आवश्यक भएको उल्लेख छ। चिनियाँ कम्युनिस्ट पार्टीका लागि वास्तवमा शान्तिको कुनै समय छैन। आफ्नै पङ्क्तिभित्र उसले लडिरहेको सङ्घर्ष पनि बाहिरबाट उसविरुद्ध चलिरहेको विश्वव्यापी वर्गयुद्धकै एउटा मोर्चा हो।

Source: https://www.struggle-la-lucha.org/

 

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्