विद्यार्थी आन्दोलनको प्रचण्ड जितपछि सर्बिया : संसद्को बन्द बाकसभित्र के छ?
सर्बियामा विद्यार्थी आन्दोलन नोभेम्बर २०२४ मा नोभि सादमा भएको दुःखद घटनापछि सुरु भएको थियो। तर, विश्वका सञ्चारमाध्यमका पहिलो पृष्ठहरूमा यसले विरलै मात्र स्थान पायो। विश्वका विभिन्न भागमा एकैसाथ यति धेरै नाटकीय र दूरगामी महत्त्वका घटनाहरू भइरहेका बेला यस्तो हुनु अस्वाभाविक पनि थिएन। त्यसमाथि, बाल्कन क्षेत्र लामो समयदेखि अन्तर्राष्ट्रिय चासोको केन्द्र रहन छाडिसकेको थियो।
अलेक्जान्दर भुचिचको शासनको एउटा प्रमुख विशेषता बाह्य शक्तिहरूलाई सन्तुष्ट पार्न र उनीहरूलाई आफूप्रति अनुकूल बनाइराख्न सक्ने उनको क्षमता थियो। उनलाई ब्रसेल्समा न्यानो स्वागत गरियो, उनले बेलग्रेडमा जेलेन्स्कीसँग आत्मीयता प्रदर्शन गरे, इजरायल र रुस दुवैसँग आर्थिक तथा सुरक्षा सम्बन्ध विस्तार गरे र ट्रम्प परिवारसँग ऐतिहासिक व्यापारिक सम्झौता हुनै लागेको थियो। उता, चीनका लागि भने यो क्षेत्र मध्य तथा पूर्वी युरोपलाई युरोपेली संघसँग जोड्ने एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको थियो। यस्तो परिस्थितिमा युवा पुस्तामा बढ्दै गएको असन्तुष्टि र देशभित्रको अवस्थाविरुद्ध समाजका व्यापक तप्काहरू क्रमशः संगठित हुँदै गएको प्रक्रियालाई एउटा ‘सार्वभौम राष्ट्रको आन्तरिक मामिला’ का रूपमा लिइयो। कम्तीमा बाहिरबाट हेर्दा अवस्था त्यस्तै देखिन्थ्यो।
युवा पुस्तामा बढ्दै गएको असन्तुष्टि र देशभित्रको अवस्थाविरुद्ध समाजका व्यापक तप्काहरू क्रमशः संगठित हुँदै गएको प्रक्रियालाई एउटा ‘सार्वभौम राष्ट्रको आन्तरिक मामिला’ का रूपमा लिइयो।
विद्यार्थी आन्दोलनलाई भूराजनीतिक रूपमा अभिभावकविहीन आन्दोलनका रूपमा चित्रण गरियो। तर, यस्तो आन्दोलन दुई वर्षसम्म कसरी टिक्न सक्यो भन्ने प्रश्न भने अनुत्तरित नै रह्यो। संगठनात्मक र व्यवस्थापकीय पक्षदेखि सञ्चारमाध्यमको कभरेज, डिजिटल प्लेटफर्म, एल्गोरिदमलगायतका क्षेत्रमा आवश्यक सहयोगबिना यस्तो सम्भव थियो र? भूराजनीतिक गाँठोको परिणामप्रति कसको चासो थियो भन्ने प्रश्न पनि उठ्छ। कतिपयले विभिन्न माध्यमबाट चुपचाप रकम प्रवाह भइरहेको भन्दै ‘पैसाको स्रोत पछ्याउनुपर्छ’ भन्ने सुझाव दिएका छन्। विशेषगरी, नोभि सादको दुर्घटनाका पीडितका लागि न्याय सुनिश्चित गर्नुबाहेक आफूलाई सत्तामा पुग्ने कुनै चासो नरहेको दाबी आन्दोलनले गरिरहेको समयका यसका कार्यशैलीले रङ्गीन क्रान्तिको अनुभव गरेका वा त्यस्ता क्रान्तिलाई नजिकबाट देखेका जोकोहीलाई पनि पहिले कतै देखिसकेको अनुभूति गराउँथ्यो।
तर, आन्दोलनको यस्तो व्याख्यालाई आन्दोलन वास्तविक जनस्तरबाट स्वतःस्फूर्त रूपमा विकसित भएको राजनीतिक अभियान हो भन्ने ठान्नेहरूले कडा रूपमा अस्वीकार गरे। उनीहरूको तर्कमा, यस आन्दोलनबाट वास्तविक प्रत्यक्ष लोकतन्त्र कस्तो हुन्छ भन्ने कुरा सिक्न सकिन्छ। तर, सुरुमा न्यायको मागमा मात्र सीमित रहेका विद्यार्थी सभाहरू (प्लेनमहरू) पछि भने बदलिँदै गए। सायद भुचिचको अडियलपन र अहंकारले पनि यसमा भूमिका खेल्यो। अन्ततः यसले सत्ताका लागि खुला संघर्षको बाटो खोलिदियो।
आन्दोलनको यस्तो व्याख्यालाई आन्दोलन वास्तविक जनस्तरबाट स्वतःस्फूर्त रूपमा विकसित भएको राजनीतिक अभियान हो भन्ने ठान्नेहरूले कडा रूपमा अस्वीकार गरे। उनीहरूको तर्कमा, यस आन्दोलनबाट वास्तविक प्रत्यक्ष लोकतन्त्र कस्तो हुन्छ भन्ने कुरा सिक्न सकिन्छ। तर, सुरुमा न्यायको मागमा मात्र सीमित रहेका विद्यार्थी सभाहरू (प्लेनमहरू) पछि भने बदलिँदै गए।
अब निर्वाचनको परिणाम स्पष्ट भइसकेको छ, कम्तीमा विजेताका सन्दर्भमा। तर, त्यसबाहेकका सबै कुरा अझै पनि कुहिरोभित्र लुकेका छन्।
यदि मैले अक्टोबर २५ को निर्वाचनअघि आफ्नो सबस्ट्याकमा एउटा छोटो लेख प्रकाशित नगरेको भए, यो विश्लेषण पनि युद्ध सकिएपछि रणमैदानमा पुगेको सेनापतिको टिप्पणीजस्तै सुनिन सक्थ्यो। तथापि, विद्यार्थी सूचीको विजयको ‘सुनामी’, मतदानमा देखिएको विशाल सहभागिता र अत्यन्तै स्पष्ट परिणामले सर्बियाली राजनीतिलाई, विशेषगरी त्यहाँको राजनीतिक संस्कृतिलाई, नजिकबाट र गहिराइमा बुझ्नेहरूलाई समेत आश्चर्यचकित तुल्याएको कुरा स्वीकार गर्नैपर्छ।
कहिलेकाहीँ यस्तो लाग्छ, विजयको उन्मादबाट वास्तविकतामा फर्किंदा त्यसको ह्याङओभरले हिजोसम्म आफूलाई ‘दुष्ट शक्ति’ भन्दै आएको सत्ताविरुद्ध एउटै अखण्ड विपक्षी मोर्चाका रूपमा उभिएका धेरैलाई समेत सताउन थालेको छ। अब के गर्ने? अबको बाटो के हो? कार्यक्रमगत लक्ष्य, रणनीतिक प्राथमिकता र यथार्थले माग गरेका व्यावहारिक समाधानबारे उठ्ने कुनै पनि प्रश्नलाई सहजै पन्छाउन सकिने समय अब सकिएको छ। निर्वाचनसम्म विद्यार्थी सूचीका प्रतिनिधिहरूको एउटै जवाफ हुन्थ्यो—‘त्यसबारे हामी भोलि सोचौँला। अहिले हाम्रो लक्ष्य सत्ता ढाल्नु मात्र हो।’
तर, निर्वाचनको केही दिनमै धेरैले तथाकथित ‘सर्बियाली प्रयोग’ को रहस्यमय चरित्रबारे उचित प्रश्न उठाउन थालेका छन्। सन् २०२५ मै यस आन्दोलनको दिशा र यसको सफलताको एकमात्र सम्भावित बाटो के हुन सक्छ भन्ने कुरा बुझ्ने व्यक्तिमध्ये एक थिए—प्रखर चिन्तक तथा प्राध्यापक ब्रान्को मिलानोभिच। उनको विचार थियो, आन्दोलनले आफूलाई गैरराजनीतिक राख्न र राजनीतिकताविरोधी अभ्यासलाई निरन्तरता दिन सकेमा मात्र सफलता हासिल गर्न सक्छ। भुचिचप्रति लामो समयदेखि सञ्चित विशाल आक्रोश नै अतिदक्षिणपन्थी, अतिवामपन्थी र मध्यमार्गी उदारवादीहरूलाई एक ठाउँमा ल्याउने एकमात्र साझा आधार थियो। तर, गैरराजनीतिक हुनु दुईधारे तरबारजस्तै हो।
प्रखर चिन्तक तथा प्राध्यापक ब्रान्को मिलानोभिचको विचार थियो, आन्दोलनले आफूलाई गैरराजनीतिक राख्न र राजनीतिकताविरोधी अभ्यासलाई निरन्तरता दिन सकेमा मात्र सफलता हासिल गर्न सक्छ। भुचिचप्रति लामो समयदेखि सञ्चित विशाल आक्रोश नै अतिदक्षिणपन्थी, अतिवामपन्थी र मध्यमार्गी उदारवादीहरूलाई एक ठाउँमा ल्याउने एकमात्र साझा आधार थियो।
विद्यार्थी सूचीले कुनै स्पष्ट राजनीतिक, अझ भनौँ वैचारिक कार्यक्रम प्रस्तुत गरेको थिएन। बरु, उसले ‘एउटा राम्रो राज्य’ निर्माण गर्ने अस्पष्ट आश्वासनसहित ११ बुँदे चाहनापत्र सार्वजनिक गरेको थियो। आन्दोलनको कुनै एउटा धारले विशेष राजनीतिक धारणा अघि सार्ने प्रयास गर्दा—उदाहरणका लागि, मस्कोसँगको घनिष्ठ सम्बन्ध तोड्ने कुरा उठाउँदा उसले जनसमर्थनका केही प्रतिशत गुमाउने जोखिम मोल्नुपर्थ्यो। युरोपेली संघ र नेटोलाई प्रमुख रणनीतिक लक्ष्यका रूपमा प्रस्तुत गर्दा पनि परिणाम त्यस्तै हुन्थ्यो। आन्दोलनको जुनसुकै धारले जता पाइला चाल्न खोजे पनि त्यहाँ राजनीतिक जोखिमको बारुदी सुरुङ बिछ्याइएको थियो। त्यसैले सबैभन्दा सजिलो बाटो भुचिचविरुद्ध जनमत परिचालन गर्नु र उनको सरकार ढाल्न माग गर्नु नै थियो। र, भुचिचले पनि उदारतापूर्वक त्यसका लागि आवश्यक परिस्थिति सिर्जना गरिदिए।
तर, यहाँ एउटा अझ गम्भीर समस्या छ, जुन सर्बियाको सीमाभन्दा धेरै परसम्म फैलिएको छ। बाल्कन क्षेत्रभरि जबजब मानिसहरूले आफ्नो राजनीतिक तथा सामाजिक व्यवस्थाका आधारहरूमाथि प्रश्न उठाउन थाल्छन्, तब एउटा परिचित भनाइ सुनिन्छ—‘कृपया, दर्शनका कुरा नगरौँ’ वा ‘राजनीतिकरण धेरै भयो।’ राजनीतिलाई फोहोरी खेलका रूपमा, दर्शनलाई अनावश्यक विलासिताका रूपमा र वैचारिक बहसलाई काम सम्पन्न गर्ने बाटोको अवरोधका रूपमा लिने गरिन्छ। तर, मेरो तर्क ठीक यसको विपरीत छ। हाम्रा समाजको समस्या सार्थक राजनीतिको अति हुनु होइन, बरु त्यसको अभाव हुनु हो। हामीकहाँ राजनीतिक दाउपेच, व्यक्तिपूजा र सत्ताका लागि हुने संघर्षको कुनै कमी छैन। तर, हामी कस्तो समाज निर्माण गर्न चाहन्छौँ, राज्यले कसको हितमा काम गर्नुपर्छ र न्याय, समानता, सामाजिक ऐक्यबद्धता तथा सार्वभौमिकता भन्नाले के बुझिन्छ भन्ने विषयमा खुला बहसको अभाव छ।
यी कुनै अमूर्त दार्शनिक प्रश्नहरू होइनन्। बरु, कुनै पनि सार्थक सामाजिक सम्झौता निर्माण गर्ने आधारशिला हुन्। पुराना शासकहरूलाई हटाएपछि यी प्रश्नका उत्तर आफैँ प्रकट हुनेछन् भन्ने ठानेर कुनै आन्दोलनले यिनलाई विजय प्राप्त हुँदासम्म थाती राख्न मिल्दैन। वास्तविक परिवर्तनका लागि समाजलाई विभाजित गर्ने र यसको भविष्य निर्धारण गर्ने आधारभूत मुद्दाहरूमा दार्शनिक विमर्श, नैतिक छनोट र वैचारिक स्पष्टता आवश्यक हुन्छ। साझा शत्रु हुँदैमा साझा राजनीतिक कार्यक्रम बन्दैन। आक्रोशले मानिसहरूलाई सडकमा उतार्न सक्छ, नैतिक आक्रोशले विरोध प्रदर्शनलाई निरन्तरता दिन सक्छ र जवाफदेहिताको साझा मागले सरकार ढाल्न सक्छ। तर, यीमध्ये कुनै पनि कुराले त्यसपछि के हुनुपर्छ भन्ने प्रश्नको आफैँ उत्तर दिँदैन।
यहीँनेर राजनीतिकताविरोधी प्रवृत्तिका सीमाहरू स्पष्ट देखिन थाल्छन्। विशेषगरी, स्थापित राजनीतिक व्यवस्थाको साख गुमाइसकेको सरकारविरुद्ध मानिसहरूलाई एकजुट गर्न यो प्रभावकारी माध्यम हुन सक्छ। तर, यसले मात्रै नयाँ राजनीतिक व्यवस्थाको आधार तयार गर्न सक्दैन। फरक–फरक वैचारिक मान्यता राख्ने मानिसहरू एउटै आन्दोलनमा सहभागी हुनु समस्या होइन। समस्या त्यतिबेला सुरु हुन्छ, जब एकताको नाममा ती भिन्नताहरू लुकाइन्छन्, तिनलाई अप्रासंगिक ठानेर खारेज गरिन्छ वा अनिश्चितकालसम्म छलफलबाट पन्छाइन्छ। आन्दोलनले ती विषयमा बहस गर्न अस्वीकार गर्दैमा वैचारिक भिन्नताहरू हराएर जाँदैनन्। बरु, अर्थतन्त्र, श्रम, सार्वजनिक सेवा, सम्पत्ति, परराष्ट्र नीति, सैन्य गठबन्धन तथा शक्ति र स्रोतसाधनको वितरणसम्बन्धी निर्णय गर्नुपर्ने बेला ती भिन्नताहरू फेरि सतहमा आउँछन्। यदि यी प्रश्नहरू अनुत्तरित नै रहे भने आन्दोलनले राजनीतिक नेतृत्वका अनुहारहरू त बदल्न सक्छ, तर सत्ताका अन्तर्निहित संरचनाहरू भने यथावत् राख्ने जोखिम हुन्छ।
फरक–फरक वैचारिक मान्यता राख्ने मानिसहरू एउटै आन्दोलनमा सहभागी हुनु समस्या होइन। समस्या त्यतिबेला सुरु हुन्छ, जब एकताको नाममा ती भिन्नताहरू लुकाइन्छन्, तिनलाई अप्रासंगिक ठानेर खारेज गरिन्छ वा अनिश्चितकालसम्म छलफलबाट पन्छाइन्छ।
वैचारिक बहसमा सहभागी हुन अस्वीकार गर्दैमा राजनीति तटस्थ हुँदैन। न त यसले आर्थिक स्वार्थ, प्राविधिक विज्ञहरूको अभिजात वर्ग वा बाह्य शक्तिहरूको प्रभावलाई समाप्त गर्छ। बरु, कुनै आन्दोलनले आफ्नो राजनीतिक गन्तव्य नै स्पष्ट पार्न अस्वीकार गर्दा अरूले त्यसको तर्फबाट त्यो गन्तव्य निर्धारण गरिदिन सक्छन्। यसरी राजनीतिकताविरोधी भाष्य सबैभन्दा महत्त्वपूर्ण प्रश्नहरूबाट पन्छिने माध्यम बन्न सक्छ। ती प्रश्न हुन्—सम्पत्तिको स्वामित्व कसको छ? निर्णय कसले गर्छ? त्यसबाट लाभ कसले उठाउँछ? त्यसको मूल्य कसले चुकाउँछ? र मानिसहरूको जीवनलाई प्रभावित गर्ने निर्णय प्रक्रियाबाट कसका हितहरू बाहिर पारिएका छन्? वामपन्थी दृष्टिकोणबाट हेर्दा, प्रक्रियागत लोकतन्त्र पुनर्स्थापित भएपछि सम्बोधन गरिने यी कुनै गौण विषय होइनन्। बरु, राजनीतिक परिवर्तनको वास्तविक अर्थ के हुनुपर्छ भन्ने प्रश्नका केन्द्रीय विषय हुन्।
युरोपभरि, विशेषगरी फ्रान्समा, युवाहरू दशकौँयता नदेखिएको स्तरमा विरोध प्रदर्शनमा उत्रिरहेका बेला सर्बियाको उदाहरण भने एउटा सानो चमत्कारजस्तै देखिन्छ। अहिंसात्मक माध्यम, लामो पैदल मार्च र हातमा कलम बोकेर हासिल गरिएको विजयले धेरैलाई आश्चर्यचकित तुल्याएको छ। छिमेकी देशहरूमा पनि, विशेषगरी युवाहरूमाझ, यस्तै प्रतिक्रिया देखिएको छ—हामीले सर्बियाका विद्यार्थीहरूबाट केही सिक्न किन सक्दैनौँ? हामी किन मौन छौँ? हामी किन उदासीन छौँ? यसको एकमात्र अपवाद, निश्चय नै, अल्बानिया हो। त्यहाँ छिमेकी देशमा विकसित घटनाक्रमकै कारण विरोध प्रदर्शनले अझ तीव्र रूप लिन सक्छ।
आगामी दिनमा के हुन्छ भन्नेबारे विवेकपूर्ण विश्लेषण गर्न यो सबैभन्दा प्रतिकूल समय हो। राजनीतिकताविरोधी अवस्थाबाट वास्तविक राजनीतितर्फ, विरोध प्रदर्शनबाट कानुन र निर्णय प्रक्रियातर्फ तथा जनपरिचालनबाट संस्थाहरूको सञ्चालन र प्रक्रियागत लोकतन्त्रका संयन्त्रहरूको कार्यान्वयनतर्फ कसरी अघि बढ्ने? दुष्ट शक्तिलाई पराजित गरेको विद्यार्थी आन्दोलनको अझै पनि आदर्शीकृत र रोमाञ्चक चित्रमा विश्वास गर्नेहरूका लागि यथार्थवादी विश्लेषण पचाउन कठिन छ। प्रश्न उठाउने जोकोहीलाई उनीहरू भुचिच समर्थक, नभए त्योभन्दा पनि खराब तत्त्वका रूपमा चित्रित गर्न तयार छन्।

अहिंसात्मक माध्यम, लामो पैदल मार्च र हातमा कलम बोकेर हासिल गरिएको विजयले धेरैलाई आश्चर्यचकित तुल्याएको छ। छिमेकी देशहरूमा पनि, विशेषगरी युवाहरूमाझ, यस्तै प्रतिक्रिया देखिएको छ—हामीले सर्बियाका विद्यार्थीहरूबाट केही सिक्न किन सक्दैनौँ? हामी किन मौन छौँ?
तर, यस क्षेत्रमा पर्याप्त अनुभव र स्मृतिसहित परिपक्व मूल्याङ्कन गर्न सक्ने धेरै बुद्धिजीवी तथा अनुभवी व्यक्तिहरू छन्। उदाहरणका लागि, नेनाद चानाक र झार्को पुहोभ्स्कीका भनाइहरू विचारणीय छन्। भुचिचले नराम्रो पराजय भोगेको प्रान्त भोइभोडिनियाका राजनीतिज्ञ तथा अभियन्ता चानाकले एउटा यस्तो तर्क अघि सारेका छन्, जसमा ध्यान दिन आवश्यक छ। उनको भनाइलाई आफ्नै शब्दमा प्रस्तुत गर्दा, विद्यार्थी सूचीको विजयसँगै सर्बियाको बहुदलीय व्यवस्थाको अन्त्य भएको छ र त्यस व्यवस्थालाई पूर्णतः ध्वस्त पारिएको छ। उनले कुनै चिनारीयोग्य नेता, संगठनात्मक संरचना वा कार्यक्रम नभएको उक्त विद्यार्थी सूचीलाई संसद्मा भित्र्याइएको एउटा ‘ब्ल्याक बक्स' को संज्ञा दिएका छन्।
पुहोभ्स्कीले पनि यस्तै स्तरको संशय व्यक्त गरेका छन्। उनका अनुसार, उक्त सूचीमा विद्यार्थीबाहेक सबैथोक छन्। यसका सदस्यहरू कि त पूर्णतः अपरिचित छन्, कि उनीहरूको विगतको परिचय र जीवनीलाई सफाचट पारेर नयाँ रूपमा प्रस्तुत गरिएको छ। त्यसमाथि, अतिदक्षिणपन्थी र अतिवामपन्थीहरूको वैचारिक संयोजन असम्भव छ। मैले यसलाई ‘तेल र पानीको मिश्रण’ भनेको थिएँ। अझ उपयुक्त रूपमा भन्नुपर्दा, यो ‘आगो र पानी’ को मिश्रण हुन सक्छ।
भुचिचले प्रारम्भमै र शान्तिपूर्ण रूपमा पराजय स्वीकार गर्नु सबैका लागि ठूलो आश्चर्यको विषय बन्यो। तर, यसले राहत पनि दियो, किनकि सम्भावित गृहयुद्ध टरेको थियो। मतदान समाप्त हुनुअघि नै भुचिचले परिस्थितिको संकेत बुझिसकेका थिए। त्यसैले उनले आफूलाई सबैभन्दा बुद्धिमानी लागेको राजनीतिक चाल चले। उनले पराजय स्वीकार गरे र आफूलाई संसद्को विपक्षी दलको नेताका रूपमा स्थापित गर्ने बाटो रोजे। सांसदको हैसियतसहित संसद्मा रहने र राजनीतिक परिदृश्यमा आफ्नो उपस्थिति कायम राख्ने उनका लागि यो निकै सहज स्थिति हो। त्यहाँबाट उनले विद्यार्थी सूचीका गल्तीहरू नियाल्दै प्रतीक्षा गर्न सक्छन्। कोसोभोको प्रश्न, युरोपेली संघको दबाब, गहिरिँदो आर्थिक तथा सामाजिक संकट, रुसमाथिका प्रतिबन्ध, युक्रेन युद्धलगायतका समस्यासँग अब अरूले नै जुध्नुपर्ने भएकाले उनलाई राहतसमेत मिलेको हुन सक्छ। तर, अन्ततः उनी पक्राउ परेनन् भने मात्र!
मतदान समाप्त हुनुअघि नै भुचिचले परिस्थितिको संकेत बुझिसकेका थिए। त्यसैले उनले आफूलाई सबैभन्दा बुद्धिमानी लागेको राजनीतिक चाल चले। उनले पराजय स्वीकार गरे र आफूलाई संसद्को विपक्षी दलको नेताका रूपमा स्थापित गर्ने बाटो रोजे।
म यो लेख लेखिरहँदा संसद्मा अत्यधिक बहुमत हासिल गरेको नयाँ राजनीतिक शक्तिका नेताहरू को हुनेछन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। अहिले सर्बियाको संसद्मा मुख्यतः दुई राजनीतिक शक्तिको वर्चस्व छ भने केही अल्पसङ्ख्यक प्रतिनिधिहरूका लागि सुनिश्चित सिटहरू छन्। आजको संसद्ले उन्नाइसौँ शताब्दीका समाजवादी नेता स्वेतोजार मार्कोभिचको समयदेखि विभाजित हुँदै आएको सर्बियाको प्रतिबिम्ब प्रस्तुत गर्छ। आपसी वैमनस्यले ग्रस्त समाजको अवस्था पनि त्यस्तै छ। निर्वाचनमा विजय शान्तिपूर्ण रह्यो, तर गहिरो विभाजन र घृणाको आगो सतहमुनि अझै बलिरहेको छ। यसलाई नियन्त्रणमा राख्न सजिलो हुने छैन। वामपन्थीहरूका लागि सायद सबैभन्दा निराशाजनक संकेत के हो भने, भावी प्रधानमन्त्रीका रूपमा बैंकिङ क्षेत्रसँग सम्बन्धित एक व्यक्तिको नाम चर्चामा ल्याइएको छ। आगामी दिनमा अरू आश्चर्यजनक घटनाहरू पनि देखिन सक्छन्। यसै वर्षको अन्त्यसम्ममा नयाँ राष्ट्रपति पनि निर्वाचित गर्नुपर्नेछ। बिस्तारै ‘ब्ल्याक बक्स' मञ्चमा खुल्दै जानेछ र विद्यार्थी आन्दोलनलाई प्रदान गरिएको निर्दोष तथा संघर्षशील छविभित्र लुकेका पात्रहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनेछन्। अहिले त आफूलाई वयस्क मानिसहरूले समेत ‘हामी विद्यार्थी सूचीका मानिसहरू’ भनेर चिनाउन थालेको सुन्दा अनौठो लाग्छ।
वामपन्थीहरूका लागि सायद सबैभन्दा निराशाजनक संकेत के हो भने, भावी प्रधानमन्त्रीका रूपमा बैंकिङ क्षेत्रसँग सम्बन्धित एक व्यक्तिको नाम चर्चामा ल्याइएको छ। आगामी दिनमा अरू आश्चर्यजनक घटनाहरू पनि देखिन सक्छन्।
यस अवस्थामा आगामी घटनाक्रमबारे पूर्ण पूर्वानुमान गर्न कठिन छ। तर, एउटा कुरा भने स्पष्ट छ—अझै निराशाहरू आउन बाँकी छन्। कुनै एउटा पक्षका लागि, अर्का पक्षका लागि वा सम्भवतः सबैका लागि। विद्यार्थी सूची र आन्दोलनले फरक–फरक राजनीतिक मान्यता तथा अपेक्षा भएका मानिसहरूलाई एउटै ठाउँमा ल्याएको थियो। त्यसमध्ये राजनीतिक प्रतिनिधित्व वा निर्णय प्रक्रियामा आफ्नो भूमिका स्थापित गर्नसमेत नसकेका विद्यार्थीहरू पनि थिए। यस अर्थमा विजयी विद्यार्थी सूची आफैँ विभाजित सर्बियाको एउटा सानो प्रतिरूप हो। अब प्रश्न उठ्छ—यसका सदस्यहरूले यो विविधतालाई देशको भविष्यबारे वास्तविक लोकतान्त्रिक बहसमा रूपान्तरण गर्न सक्छन् कि सक्दैनन्? अथवा, एकताको नाराभित्र ती भिन्नताहरूलाई लुकाएर राख्नेछन्? यदि उनीहरू यसो गर्न असफल भए भने, यो ‘ब्ल्याक बक्स' ले मानिसहरूको जीवनलाई आकार दिने सामाजिक तथा आर्थिक सम्बन्धहरूमा कुनै परिवर्तन नगरी राजनीतिक पात्रहरू मात्र परिवर्तन गर्ने सम्भावना रहन्छ।
अहिलेसम्म स्पष्ट हुन नसकेको कुरा के हो भने प्रयोगशालाको प्राविधिक को हो, प्रयोगशाला कसले निर्माण गरेको हो र कुन उद्देश्यका लागि निर्माण गरिएको हो? तर, सत्य के हो भने तथाकथित पश्चिमी बाल्कन क्षेत्रमा यस्ता प्रयोगहरू नयाँ होइनन्, न त ती प्रयोग पकाउने ‘भान्सेहरू’ नै नयाँ हुन्।
Source: https://globetrotter.media/
अनुवाद एवं प्रस्तुति: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
प्रतिक्रिया