आधा कुरा बुझेर वा कुरै नबुझी विवाद चलाउनेहरु
एआई निर्मित प्रतिकात्मक चित्र
एकजना चिन्तकले एक ठाउँ भनेका छन्- आज विश्वमा वातावरण विनाश गर्नेहरूमध्ये एक हुन्- बेकारका कुरा लेख्ने र छाप्ने व्यक्तिहरू ।
वास्तवमा, यस्तै भइरहेको छ पनि । बेकारका कुराहरू लाखौँ वा हजारौँको संख्यामा छाप्दा जति कागज खर्च हुन्छ, त्यसले गर्दा साँच्चै धेरै रुखहरू, वनस्पतिहरू मासिइरहेछन् । किनकि, कागज त रुख वा वनस्पति कै कच्चा पदार्थबाट बन्छ ।
वातावरण विनाशका कुरालाई एक छिन परै राखौँ ।
बेकारका कुराहरू लेख्ने र छाप्ने कामले गर्दा हाम्रा अमूल्य समय र मानवीय प्रयत्नहरू खेर गइरहेका छन् । एकछिन सचेत मानिसहरूको ध्यान यसतर्फ तान्ने प्रयत्न गरौँ ।
० एउटा पत्रिकाले एक नेताको अन्तर्वार्ता छाप्यो । त्यस अन्तर्वार्ताका विवादास्पद कुराहरूको कारण नेतालाई उनका पार्टी समर्थकहरूले पनि आलोचना गरे, विरोधीहरूले पनि आलोचना गरे । ठूलै हल्लाखल्ला भयो । अखबारहरूका हेड लाइनहरू त्यही विवादका समाचारहरूले भरिए, कार्यकर्ताहरू अन्योल र बिचल्लीमा परे । पार्टीमा चारैतिरबाट फोन आएको आयै भइरह्यो ।
पर्सिपल्ट ती नेताको स्पष्टीकरण अर्को पत्रिकामा आयो- ‘वास्तवमा मैले ती कुराहरू भन्नै खोजेकै होइन, त्यो मेरो विचारै होइन, आशय नै होइन ।’
त्यो हल्लाखल्ला त्यतिकै सामसुम भयो ।
० एक जना बौद्धिक व्यक्तिले अर्को बौद्धिक व्यक्तिको लेखमाथि ठुलो आलोचना गरे । आरोप-प्रत्यारोप चल्यो । त्यसमाथि अरूले पनि टिप्पणी गरे । एउटा अर्कै खाले माहोल खडा भयो । पछि दुई जना लेखकहरूले दुई घण्टा प्रत्यक्ष भेटघाट गरी छलफल गरे । छलफलबाट पत्ता लाग्यो- दुवैको मत त एउटै पो रहेछ । लेखमा व्यक्त कुराहरूलाई ठीक ढङ्गले नकेलाइकन नै धारणा बनाएर उनीहरू प्रतिवाद गर्न थालेका रहेछन् । विवाद त त्यसकारण पो भएको रहेछ ।
कुरा प्रष्ट भयो, विवाद सामसुम भयो ।
० एक जना चर्चित वामपन्थी नेताले अर्को वामपन्थी नेतालाई एउटा प्रस्ताव राखे- केही कुरामा मिलेर संगै काम गरौँ भनेर । तर अर्को वामपन्थी नेताले उनको प्रस्तावमा छुटेका असङ्ख्य बुँदाहरूको उल्लेख गरेर उनको आलोचना गर्दै लिखित जवाफ पठाए । आलोचनामा केही बिल्कुलै अप्रासंगिक गाली-गलौज पनि उनले मिसाएका थिए । त्यो गाली-गलौज पढेर पार्टीका नेता-कार्यकर्ताहरू जम्मै रिसाए । दुई थरि नेता र कार्यकर्ताबीच अनावश्यक तनाव र दूरी बढ्यो ।
पत्रकारहरूको काम यथार्थलाई जस्ताको त्यस्तै बाहिर ल्याउनु हो । त्यो यथार्थप्रति पत्रिकाले पक्ष वा विपक्षमा आफ्नो टिप्पणी दिन सक्छ, तर यथार्थ चाहिँ यथार्थ नै हुनुपर्छ । र, त्यो प्रमाणिक हुनुपर्छ ।
माथिका तीन उदाहरणहरू यथार्थमा घटेका घटनामा आधारित उदाहरणहरू हुन् । यी उदाहरणहरूले नेपालमा विद्यमान एउटा सिङ्गै प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । त्यसैले यहाँ यी उदाहरणका पत्रिका, बौद्धिक व्यक्तिहरू वा नेताहरूको नाम उल्लेख गर्नु जरूरी मानिएन ।
वास्तवमा, पत्रकारहरूको काम यथार्थलाई जस्ताको त्यस्तै बाहिर ल्याउनु हो । त्यो यथार्थप्रति पत्रिकाले पक्ष वा विपक्षमा आफ्नो टिप्पणी दिन सक्छ, तर यथार्थ चाहिँ यथार्थ नै हुनुपर्छ । र, त्यो प्रमाणिक हुनुपर्छ । कुनै नेताले जे बोलेकै होइन, त्यो छापेर जुन विवाद खडा भयो वा खडा हुने गर्छ- त्यो बिल्कुलै बेकारको विवाद हो । यस्ता बेकारका काममा मानवीय श्रम, स्रोत र समय खर्च गर्नु बडो दुखलाग्दो कुरा हो ।
यस्ता दुखलाग्दा कुराहरू यहाँ बारम्बार हुने गरेका छन् । कसैले ‘म चिया मन पराउँछु’ भनेको छ भने उसको चियाप्रतिको रुचिमाथि नै अरू कसैले आलोचना गर्छ भने त्यो ठीकै कुरा हो । तर उक्त चिया मन पराउने व्यक्तिले ‘कफी मन पराउँछु भन्यो’ भनी झुठो रिपोर्टिङ गरेर त्यस झूठो कुरामाथि आलोचना-प्रत्यालोचना गर्नुको के अर्थ हुन्छ ? के यस्ता कुरामा समय खर्च गर्नु समयको बर्बादी मात्र होइन ? यो के सभ्य समाजको लागि सुहाउने कुरा हो ?
कतिपय पत्रकारहरूको ‘सनसनी’ बेच्नका निम्ति यस्ता हावादारी र अनैतिक कामहरू यहाँ निरन्तर गरिरहेका छन् । ‘पर्यवेक्षकहरूले जनाएका छन्’, ‘अनुमान गरिएको छ’, ‘हल्ला चलेको छ’ जस्ता फुँदाहरू जोड्दै उनीहरू घरमै बसीबसी 'कोठे समाचार' बनाएर छाप्छन् र निहित स्वार्थ पूरा गर्छन् ।
जसले जे भन्न खोजेकै छैन, त्यसमाथि ठूला ठूला रामायण, महाभारत जत्रा ठेली नै लेख्नुको पनि के अर्थ रहन्छ ?
आधा कुरा बुझेर वा जे छ, त्योभन्दा फरक कुरा बुझेर ठुला ठुला बहस चलाउने बुद्धिजीवीहरू पनि नेपालमा प्रशस्तै छन् । प्रायः यहाँका आम बहसहरूमा ‘मैले भनेको कुरा उहाँले बुझिदिनु भएन’ भन्ने जस्ता स्पष्टीकरणहरू ज्यादा सुन्न वा पढ्न पाइन्छन् । जसले जे भन्न खोजेको हो, त्यही कुरा बुझेर त्यसमा सहमति वा असहमति राख्नु र विवाद गर्नु राम्रो कुरा हो । तर जसले जे भन्न खोजेकै छैन, त्यसमाथि ठुला ठुला रामायण, महाभारत जत्रा ठेली नै लेख्नुको पनि के अर्थ रहन्छ ?
एउटै मत रहेका मान्छेहरू बुझ्नु र बुझाउनुमा भएका त्रुटिका कारण टाढा हुनु र उनीहरूबीच बाझाबाझ हुनु के राम्रो कुरा हो र ?
अर्को पार्टी नेताले संगै मिलेर काम गरौँ भनी राखेका प्रस्तावका बुँदाहरूमा अरू थप्ने कुरा नगर्नु स्वाभाविकै हो । प्रस्तावित कुराहरूमा संगै काम गर्न आफू सहमत हुनु वा नहुनुको कारण कसैले व्यक्त गर्छ भने त्यो ठीकै कुरा हो । तर स्वाभाविक रूपमा त्यस प्रस्तावमा छुटेका कुराहरूलाई लिएर अत्तो थाप्नुको अर्थ के ?
‘तैंले किन चौतारीमा मात्रै बसौँ भनिस् ? वा किन कोठामा बसौँ भनिनस् वा होटेलमा बसी किन भनिनस् वा पार्कमा बसौँ भन्ने कुरा किन छुटाइस् ?’ आदि भनेर अनन्त लामो विवाद गर्नु के राम्रो हो ?
‘एक छिन चौतारीमा संगै बसौँ’ भनी कसैले भनेको छ भने चौतारीमा आफू बस्छु वा बस्दिनँ भनी तर्क वा विवाद गर्नु उचित हो । तर ‘तैंले किन चौतारीमा मात्रै बसौँ भनिस् ? वा किन कोठामा बसौँ भनिनस् वा होटेलमा बसी किन भनिनस् वा पार्कमा बसौँ भन्ने कुरा किन छुटाइस् ?’ आदि भनेर अनन्त लामो विवाद गर्नु के राम्रो हो ?
यथार्थमा भन्ने हो भने यस्तो हचुवामा हामीमध्येको पूर्वाग्रह वा हचुवापना जिम्मेवार छन् ।
कुनै व्यक्ति वा पार्टीप्रति ठूलो पूर्वाग्रह आफ्नो मनमा छ । त्यही पूर्वाग्रहका कारण कुनै पत्रकारले कुनै नेतालाई बेकारमा विवादमा मुछ्न खोज्ने, कुनै बौद्धिक व्यक्तिले अर्काको कुरा जानीजानी बटारेर पेश गर्ने वा कुनै वामपन्थी नेताले अर्को वामपन्थीका नेताको संगै काम गर्ने सीमित प्रस्तावहरूमाथि नानाभाँती अत्तो थाप्ने काम यहाँ हुँदै आएका छन् । अर्को वाम पार्टीले भनेको हरेक कुरालाई आँखा चिम्लेर विरोध गर्ने वामपन्थीहरू पनि यहाँ छन् । तथ्य, सत्यसंग हैन, उनीहरूलाई आफ्नो पूर्वाग्रहसंग मात्र मतलब छ । त्यसैले उनीहरू अर्को वामपार्टीलाई विरोध गर्न वर्ग-शत्रु खेमासंग एक हुन समेत पुग्ने गरेका छन् ।
सकेसम्म पूर्वाग्रही भएर काम गर्न नचाहने हामी इमान्दार व्यक्तिहरू कति चाहिं हचुवापनका शिकार भएका छौँ । वादविवाद गर्ने कुनै पनि सवालमा गहिराइमा कुरा बुझेर र प्रमाणिक भएर मात्र लेख्ने, बोल्ने र छलफल गर्ने प्रवृत्ति हामीमा निकै कम छ वा छँदैछैन । त्यो नहुनुका कारण हामी सतही वा बोके कुरामा विवाद चलाएर समय बर्बाद गरिरहेका हुन्छौँ, कागज र मसी उत्तिकै खचिरहेका हुन्छौँ । एवम् अन्ततः 'वातावरण विनाश गर्न' हामी बेकारमा लागि परिरहेका हुन्छौँ ।
अर्को वाम पार्टीले भनेको हरेक कुरालाई आँखा चिम्लेर विरोध गर्ने वामपन्थीहरू पनि यहाँ छन् । तथ्य, सत्यसंग हैन, उनीहरूलाई आफ्नो पूर्वाग्रहसंग मात्र मतलब छ । त्यसैले उनीहरू अर्को वामपार्टीलाई विरोध गर्न वर्ग-शत्रु खेमासंग एक हुन समेत पुग्ने गरेका छन् ।
हचुवापनाले छलफल, वादविवाद वा प्रस्तुतिको प्राज्ञिक स्तरलाई नकार्दो रहेछ । साँच्चैका प्रबुद्ध, प्राज्ञिक मानिसहरु द्वन्द्वलाई जे छ, त्यही बुझ्ने र त्यसै अनुसार आफ्नो मत बनाउने गर्छन् । समग्रमा कुरा बुझ्ने र उक्त समग्रमा आफ्नो मतैक्यता वा मतभेद के हो, त्यो छुट्ट्याउने गर्छन् । यसपछि, उनीहरू आवेग वा भावावेशमा नडुबीकन आफ्नो भिन्न मत अरूसामू राख्ने गर्दछन् । द्वन्द्वहरूमा यो स्तर कायम हुने हो भने मात्र पनि हाम्रा समाजका धेरै झिना र कृत्रिम विवादहरूको थान्को लाग्न पुग्छ । तब जे विवाद बाँकी रहन्छन्, ती साँच्चिका विवाद मात्र बाँकी रहन्छन्, जसको हल गर्नाले नयाँ बाटो खुल्ने हुन्छ ।
छलफल, वादविवाद वा प्रस्तुतिको पनि वैज्ञानिक विधि र स्तर हुन्छ । प्रामाणिक रूपमा तथ्य पत्ता लगाई त्यसलाई पेश गर्ने र त्यसमा सहमति वा असहमति जनाउने कामलाई यो विधि र स्तरले पछ्याउँछ ।
मानौँ, कुनै वैज्ञानिकहरूबीच उनीहरूका आफ्ना कुनै आविष्कारका बारेमा छलफल भयो भने उनीहरू छलफलको कस्तो विधि अपनाउलान् ? हाम्रो जस्तै पूर्वाग्रहपीडित र हचुवापनामा आधारित विधि ?
बिलकुलै होइन ।
कुनै वैज्ञानिकहरूबीच उनीहरूका आफ्ना कुनै आविष्कारका बारेमा छलफल भयो भने उनीहरू छलफलको कस्तो विधि अपनाउलान् ? हाम्रो जस्तै पूर्वाग्रहपीडित र हचुवापनामा आधारित विधि ?
पहिलो कुरा त, उनीहरू आफ्नो वैज्ञानिक खोजलाई प्रामाणिक बनाउने कोशिश गर्छन् । त्यो प्रामाणिक भएपछि, जब उनीहरू त्यसलाई छलफलमा ल्याउँछन्, उनीहरू त्यस्तो आपसी छलफलमा एकअर्काका मिल्दा निचोडहरूलाई ‘हामी यति कुरामा एकमत छौँ’ भनी सहजै स्वीकार्छन् । जेमा उनीहरू फरक छन्, ती कुरामा मात्र उनीहरू बहस र थप खोज गर्छन् । जुन निचोड निस्केको तरिका उनीहरूलाई चित्त बुझ्दैन, त्यसमा उनीहरू ‘यसमा चाहिँ म प्रक्रियामै असहमति राख्छु’ भनी त्यो निचोडमा पुग्दा प्रयोग भएको प्रक्रिया नै ठीक कि बेठीक भनी खोतलेर केलाउन थाल्छन् । अर्थको अनर्थ लगाएर वा अर्थको अनर्थ बुझेर बेकारमा समय र स्रोत-साधनको खर्च त्यहाँ पटकै गरिन्न ।
हामीले उनीहरूबाट सिक्नु जरूरी छ कि छैन ? सिक्नु जरूरी छ भने, यो सिक्ने चाहिँ कहिले ?
पाठक वा पार्टी कार्यकर्ता वा जनताले पनि पत्रकार, बुद्धिजीवी वा नेताहरू अथवा जो-कोहीबाट पनि प्रस्तुति र वादविवादको सन्दर्भमा यो ‘प्राज्ञिक स्तर’को माग गर्ने कि नगर्ने ? यो प्रश्न हामीतिर तेर्सिएको छ ।
मूल्याङ्कन २०५३, असारबाट
सर्वेक्षणहरु अनुसार, अमेरिकीहरू समाजवादलाई निकै रुचाउँछन्
दुईटै खुट्टा टेकेर हिँड्दै: चिनियाँ आधुनिकीकरणको समाजवाद
‘ट्रान्जेक्सनल’ विश्वव्यवस्था
दुई वर्षभित्र एआईले हरेक क्षेत्रमा मानिसलाई उछिन्ने मस्कको दाबी
आधुनिकीकरणको अर्थ पुँजीवाद होइन
जलवायु न्याय : माग्दैमा पाइएला ?
पितृसत्ताबाट मुक्ति
प्रतिक्रिया