वामपन्थले किन दक्षिणपन्थसँग आफ्नो आधार गुमाउँदै छ ? यसले फेरि कसरी आशा जगाउन सक्छ?

वामपन्थ र दक्षिणपन्थबीचको भिन्नताप्रतिको मेरो रुचि कक्षा ११ र १२ मा पढ्दादेखि नै सुरु भएको हो। राजनीतिक चेतना र बुझाइ आकार लिँदै गरेको उमेरमा म समाज र राजनीतिका परस्पर प्रतिस्पर्धी दृष्टिकोणबारे हात लागेसम्मका पुस्तक तथा सामग्रीहरू पढ्ने गर्थें। जात, वर्ग र वंशानुगत विशेषाधिकारमा आधारित श्रेणीबद्ध असमानताहरू लगभग स्वाभाविकजस्तै देखिने समाजमा हुर्किएको हुनाले म वामपन्थतर्फ आकर्षित भएँ। किनभने वामपन्थले अरूले बेवास्ता गर्न वा सहजै स्वीकार गर्न तयार भएका विषयहरूमाथि प्रश्न उठाउँथ्यो। संसार अहिले जस्तो छ, त्यस्तै हुनुपर्छ भन्ने छैन भन्ने यसको सरल मान्यताले संसार बदल्न चाहनेहरूलाई विशेष रूपमा आकर्षित गर्छ।

वामपन्थले अरूले बेवास्ता गर्न वा सहजै स्वीकार गर्न तयार भएका विषयहरूमाथि प्रश्न उठाउँथ्यो। संसार अहिले जस्तो छ, त्यस्तै हुनुपर्छ भन्ने छैन भन्ने यसको सरल मान्यताले संसार बदल्न चाहनेहरूलाई विशेष रूपमा आकर्षित गर्छ।

स्नातक तहमा अध्ययन गर्दाका क्रममा एउटा कम्युनिस्ट सङ्गठनसँगको मेरो आबद्धताले मलाई साहित्य, इतिहास र राजनीतिक दर्शनको एउटा असाधारण संसारसँग परिचित गरायो। मार्क्स र एङ्गेल्ससँगै प्रेमचन्द, मंटो  र राही मासूम रजा मेरो बौद्धिक संसारमा प्रवेश गरे। उनीहरूलाई सँगसँगै पढ्दा शोषण आर्थिक सम्बन्धहरूमा मात्र सीमित हुँदैन, यसले मानिसको चेतना, दैनिक आकाङ्क्षा र सम्मानको भाषालाई समेत कसरी प्रभावित गर्छ भन्ने बुझ्न मद्दत मिल्यो। त्यस प्रारम्भिक बौद्धिक दीक्षाप्रति म आज पनि कृतज्ञ छु। तर बौद्धिक यात्राको सार्थकता त्यतिबेला मात्र रहन्छ, जब त्यसले आफूलाई बौद्धिक कारागारमा सीमित हुन दिँदैन।

त्यसपछि दिल्ली पुगेपछि लोकतान्त्रिक समाजवाद, अम्बेडकरवादी चिन्तन, नारीवादी अध्ययन, सामाजिक लोकतन्त्र र अन्य आलोचनात्मक बौद्धिक परम्परासँगको साक्षात्कारले मेरो बुझाइको दायरा क्रमशः फराकिलो बनाउँदै लग्यो। मैले वामपन्थ कम्युनिस्ट पार्टीहरूको मात्र एकाधिकारको विषय हुन सक्दैन भन्ने बुझ्न थालेँ। राजनीतिक सङ्गठनहरूले कुनै खास वैचारिक परम्पराको प्रतिनिधित्व गर्न सक्छन्, तर ती परम्पराहरूको उत्पत्तिको आधार बनेका नैतिक चेतना र प्रेरणामाथि आफ्नो एकाधिकार दाबी गर्न सक्दैनन्।

जातीय उत्पीडन, वर्गीय शोषण, पितृसत्ता र वंशानुगत असमानताप्रति असहज महसुस गर्ने तथा तिनलाई टिकाइराख्ने संरचनाहरूलाई चुनौती दिन तत्पर रहने जोकोही पनि मैले बुझ्ने गरेको वामपन्थी राजनीतिमा सहभागी हुन्छ। त्यस्तो व्यक्ति कम्युनिस्ट पार्टी, समाजवादी सङ्गठन, अम्बेडकरवादी आन्दोलन, नारीवादी समूहमा सम्बद्ध हुनसक्छ वा कुनै पनि राजनीतिक सङ्गठनमा आबद्ध नहुन पनि सक्छ।

जातीय उत्पीडन, वर्गीय शोषण, पितृसत्ता र वंशानुगत असमानताप्रति असहज महसुस गर्ने तथा तिनलाई टिकाइराख्ने संरचनाहरूलाई चुनौती दिन तत्पर रहने जोकोही पनि मैले बुझ्ने गरेको वामपन्थी राजनीतिमा सहभागी हुन्छ।

केही अवसरमा मैले सिपिएमका दिवङ्गत महासचिव मेरा मित्र सीताराम येचुरी सँग अलि ठट्ट्यौली पाराको एउटा विचार साझा गरेको थिएँ। म उनलाई भन्ने गर्थें—हृदयको राजनीतिमा विश्वास गर्ने जोकोही मूलतः वामपन्थी हो, किनभने हृदय शरीरको बायाँतर्फ हुन्छ। मानव शरीरको बनोटलाई यसरी राजनीतिक अर्थ लगाएकोमा कुनै शरीररचनाविद्ले आपत्ति जनाउन सक्छन्। तर मेरो विचारमा यो रूपकले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। राजनीतिलाई आर्थिक सूचकाङ्क, चुनावी गणित वा सैद्धान्तिक शुद्धतामा मात्र सीमित गर्न सकिँदैन। राजनीतिमा अर्को व्यक्तिको पीडालाई सामूहिक सरोकारको विषयका रूपमा बुझ्ने र आत्मसात् गर्ने क्षमता हुनैपर्छ।

वामपन्थले हृदयको नैतिक संवेदना र मस्तिष्कको विश्लेषणात्मक कठोरतालाई एकसाथ जोड्नुपर्छ। संरचनात्मक रूपान्तरणबिनाको करुणा परोपकारमा सीमित हुन सक्छ भने करुणाबिनाको संरचनात्मक रूपान्तरण अर्को प्रकारको अधिनायकवाद बन्न सक्छ।

असमानता र दक्षिणपन्थ

तर समकालीन राजनीतिमा एउटा चिन्ताजनक विरोधाभास देखिन्छ। विश्वका धेरै भागमा आर्थिक असमानता झन् गहिरिँदै गएको छ, रोजगारी क्रमशः असुरक्षित र अनिश्चित बन्दै गएको छ, सार्वजनिक सेवाहरू अपर्याप्त छन् र सम्पत्ति सीमित व्यक्तिहरूको हातमा केन्द्रित हुँदै गएको छ। वास्तवमा, यिनै परिस्थितिमा समानतामूलक राजनीतिक आन्दोलनहरूले थप शक्ति आर्जन गर्ने अपेक्षा गर्न सकिन्छ।

वामपन्थले हृदयको नैतिक संवेदना र मस्तिष्कको विश्लेषणात्मक कठोरतालाई एकसाथ जोड्नुपर्छ। संरचनात्मक रूपान्तरणबिनाको करुणा परोपकारमा सीमित हुन सक्छ भने करुणाबिनाको संरचनात्मक रूपान्तरण अर्को प्रकारको अधिनायकवाद बन्न सक्छ।

तर यसको ठीक विपरीत, धेरै देशमा दक्षिणपन्थले जनआक्रोश परिचालन गर्ने क्षमता बढी प्रदर्शन गरेको छ। युरोपका केही हिस्साहरू, संयुक्त राज्य अमेरिका र भारतमा राष्ट्रवाद, सांस्कृतिक पहिचान, सभ्यतागत असन्तुष्टि तथा कथित ‘अन्य’ प्रतिको आक्रोशलाई जोड दिने राजनीतिक शक्तिहरू सामाजिक असुरक्षालाई चुनावी समर्थनमा रूपान्तरण गर्न प्रायः बढी सफल देखिएका छन्।

यस्तो किन भइरहेको छ भन्ने कुराको एउटा व्याख्या जटिल समस्याहरूको भावनात्मक रूपमा सहज र सरल उत्तर दिन सक्ने दक्षिणपन्थको क्षमतामा निहित छ। आर्थिक सङ्कटलाई सांस्कृतिक चिन्ताका रूपमा प्रस्तुत गरिन्छ। उदाहरणका लागि, बेरोजगारीलाई बाहिरबाट आएका मानिसहरूले अवसर खोसेको समस्याका रूपमा व्याख्या गरिन्छ। राष्ट्रिय पहिचानमाथि काल्पनिक खतराहरू देखाएर सामाजिक असुरक्षाको व्याख्या गरिन्छ। समकालीन असमानताका मुद्दाहरूलाई गौण देखाउन ऐतिहासिक असन्तुष्टिहरूलाई बारम्बार उछालिन्छ।

अपर्याप्त ज्याला पाउने समस्यासँग जुधिरहेको व्यक्तिलाई आर्थिक शक्तिको वितरणबारे चिन्तित हुनुभन्दा आफ्नो छिमेकीको धार्मिक पहिचानबारे बढी चिन्ता गर्न प्रेरित गरिन्छ। यसलाई केवल प्रचारबाजीको परिणाम भनेर मात्र बुझ्न मिल्दैन। यसले प्रगतिशील राजनीतिको आफ्नै असफलतालाई पनि प्रतिबिम्बित गर्छ।

धेरैजसो अवस्थामा वामपन्थसँग शोषणको व्याख्या गर्ने परिष्कृत वैचारिक शब्दावली त छ, तर आशा सञ्चार गर्ने पर्याप्त भाषा छैन। उसले सामाजिक संरचनाहरूको विश्लेषण त गरेको छ, तर कतिपय अवस्थामा मानिसका भावना बुझ्न असफल भएको छ।

धेरैजसो अवस्थामा वामपन्थसँग शोषणको व्याख्या गर्ने परिष्कृत वैचारिक शब्दावली त छ, तर आशा सञ्चार गर्ने पर्याप्त भाषा छैन। उसले सामाजिक संरचनाहरूको विश्लेषण त गरेको छ, तर कतिपय अवस्थामा मानिसका भावना बुझ्न असफल भएको छ। भारतका सन्दर्भमा यो चुनौती अझ गम्भीर र तात्कालिक छ। किनभने भारतको संवैधानिक लोकतन्त्र जात, वर्ग, लैङ्गिकता र धार्मिक श्रेणीक्रमबाट गहिरो रूपमा विभाजित समाजको जगमा निर्माण भएको हो। संविधानले समान नागरिकताको प्रत्याभूति त गर्‍यो, तर त्यसलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक सामाजिक र आर्थिक आधारहरू निर्माण गर्ने काम अझै अधुरै छ।

जातले अझै पनि शिक्षा, रोजगारी, आवास, विवाह र सम्मानमा पहुँचलाई प्रभावित गरिरहेको छ। आर्थिक असमानताले जातीय श्रेणीक्रमलाई थप बलियो बनाउँछ भने जातीय विभेदले आर्थिक उन्नतिका अवसरहरूलाई सीमित गर्छ। भारतका युवाहरूको आकाङ्क्षालाई नै हेरौँ। उनीहरूलाई बारम्बार प्राविधिक रूपमा उन्नत विश्व अर्थतन्त्रको हिस्सा बन्ने सपना देख्न प्रोत्साहित गरिन्छ। तर अर्कोतर्फ, लाखौँ युवाले बेरोजगारी, असुरक्षित रोजगारी र आफ्नो पारिवारिक आर्थिक अवस्थाले निर्धारण गर्ने शैक्षिक अवसरहरूको सामना गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरूलाई आशा कसरी दिने? आफ्ना आकाङ्क्षा पूरा गर्न सकिने व्यावहारिक राजनीतिक बाटोहरू देखाउन कसरी मद्दत गर्ने?

सार्वजनिक बहसलाई बारम्बार पहिचान, ऐतिहासिक पीडा र सांस्कृतिक वैमनस्यताका मुद्दाहरूतर्फ मोड्ने गरिन्छ। समकालीन दक्षिणपन्थको सबैभन्दा महत्त्वपूर्ण सफलता नै आर्थिक असुरक्षालाई सांस्कृतिक आक्रोशमा रूपान्तरण गर्न सक्नु हो।

प्लेटफर्ममा आधारित रोजगारीको विस्तारले कामका नयाँ स्वरूपहरू त सिर्जना गरेको छ, तर पुराना रोजगार सम्बन्धमा उपलब्ध हुने सुरक्षा र संरक्षणको प्रत्याभूति भने दिन सकेको छैन। किसानहरू आम्दानी र जलवायु परिस्थितिको अनिश्चिततासँग जुधिरहेका छन्। महिलाहरूले अझै पनि पारिश्रमिक नपाइने श्रमको असमान रूपमा ठूलो बोझ वहन गरिरहेका छन्। सार्वजनिक स्वास्थ्य सेवा र शिक्षामा पहुँच तथा गुणस्तरका दृष्टिले अझै गहिरो असमानता विद्यमान छ। यी सबै नीतिगत असफलताले यस्तो विकास मोडेल उजागर गर्छन्, जहाँ समग्र आर्थिक उपलब्धिले स्वतः सामाजिक सुरक्षा वा मानवीय मर्यादाको प्रत्याभूति गर्दैन। तैपनि सार्वजनिक बहसलाई बारम्बार पहिचान, ऐतिहासिक पीडा र सांस्कृतिक वैमनस्यताका मुद्दाहरूतर्फ मोड्ने गरिन्छ। समकालीन दक्षिणपन्थको सबैभन्दा महत्त्वपूर्ण सफलता नै आर्थिक असुरक्षालाई सांस्कृतिक आक्रोशमा रूपान्तरण गर्न सक्नु हो।

विखण्डन र पुनर्जागरण

यसको समानान्तर रूपमा वामपन्थको असफलता भनेको त्यही असुरक्षालाई निरन्तर लोकतान्त्रिक एकबद्धतामा रूपान्तरण गर्न नसक्नु हो। प्रगतिशील राजनीतिले आफ्नै विखण्डनको पनि समीक्षा गर्नुपर्छ। कम्युनिस्ट, समाजवादी, सामाजिक लोकतन्त्रवादी, अम्बेडकरवादी, नारीवादी, वातावरणीय आन्दोलन र अल्पसङ्ख्यक अधिकारका पक्षधरहरू प्रायः अलग-अलग राजनीतिक क्षेत्रमा क्रियाशील छन्। उनीहरूबीचका मतभिन्नता कतिपय अवस्थामा वास्तविक र आवश्यक पनि छन्। तर सिद्धान्तसम्बन्धी मतभिन्नताले संवैधानिक लोकतन्त्र र सामाजिक न्यायप्रतिको साझा प्रतिबद्धताका आधारमा सहकार्य गर्न बाधा पुर्‍याउनु हुँदैन।

हामीले सामना गरिरहेका विश्वव्यापी चुनौतीहरूले राजनीतिक कल्पनाशीलताको आमूल नवीकरण माग गर्छन्। एआईले कामको भविष्य र प्राविधिक उपलब्धिमाथिको स्वामित्वबारे आधारभूत प्रश्नहरू उठाएको छ। जलवायु परिवर्तनले पर्यावरणीय विनाशलाई आर्थिक वृद्धिको स्वीकार्य मूल्य ठान्ने आर्थिक प्रणालीहरूको अपर्याप्तता उजागर गरेको छ। सम्पत्तिको बढ्दो केन्द्रीकरणले लोकतान्त्रिक समानतालाई खतरामा पारेको छ। यी चुनौतीहरूको सामना बीसौँ शताब्दीका वैचारिक सङ्घर्षप्रतिको पुरानो मोहबाट सम्भव छैन। न त सार्वजनिक नीतिनिर्माणको सम्पूर्ण जिम्मेवारी बजार शक्तिहरूलाई सुम्पेर नै तिनको समाधान गर्न सकिन्छ।

यी चुनौतीहरूले पुनर्वितरणलाई लोकतान्त्रिक स्वतन्त्रता, सामाजिक न्यायलाई पर्यावरणीय जिम्मेवारी र आर्थिक रूपान्तरणलाई मानवीय विविधताको सम्मानसँग जोड्न सक्ने व्यापक वामपन्थी तथा मध्यवामपन्थी राजनीतिको माग गर्छन्। यस्तो राजनीतिले वर्तमानमा के गलत छ भन्नेबारे मात्र होइन, फरक भविष्य कस्तो हुन सक्छ भन्नेबारे पनि बोल्न सक्नुपर्छ। रोजगारी खोजिरहेको युवाले पुँजीवादको आलोचनाभन्दा बढी केही देख्न पाउनुपर्छ। विभेदको सामना गरिरहेको दलित विद्यार्थीले समानताका औपचारिक घोषणाभन्दा बढी केही अनुभूति गर्न पाउनुपर्छ। अनिश्चिततासँग जुधिरहेको किसानले अमूर्त ऐक्यबद्धताभन्दा बढी केही पाउनुपर्छ। उनीहरूलाई विश्वसनीय कार्यक्रम, जनताप्रति उत्तरदायी सङ्गठन र जनताका दैनिक सङ्घर्षप्रति जवाफदेही रहन तत्पर राजनीतिक नेतृत्व चाहिन्छ।

यी चुनौतीहरूले पुनर्वितरणलाई लोकतान्त्रिक स्वतन्त्रता, सामाजिक न्यायलाई पर्यावरणीय जिम्मेवारी र आर्थिक रूपान्तरणलाई मानवीय विविधताको सम्मानसँग जोड्न सक्ने व्यापक वामपन्थी तथा मध्यवामपन्थी राजनीतिको माग गर्छन्।

प्रगतिशील राजनीतिले आशा जगाउने आफ्नो क्षमता पुनः प्राप्त गर्नुपर्छ। भयले चुनावी बहुमत सिर्जना गर्न सक्छ र आक्रोशले शक्तिशाली राजनीतिक पहिचान निर्माण गर्न सक्छ, तर यी दुवैले न्यायपूर्ण समाजको दिगो आधार प्रदान गर्न सक्दैनन्। आशा केवल आकर्षक नाराका रूपमा सीमित रहनु हुँदैन। यो सार्वजनिक विद्यालय, अस्पताल, सुरक्षित रोजगारी, सामाजिक संरक्षण, लोकतान्त्रिक संस्था र पारस्परिक सम्मानका सम्बन्धहरूमा प्रत्यक्ष देखिनुपर्छ।

वामपन्थको भविष्य समानतालाई साझा राजनीतिक आकाङ्क्षा बनाउन सक्ने क्षमतामा निर्भर गर्छ। अर्को संसार सम्भव छ र त्यसको निर्माण हामी सबै मिलेर गर्न सक्छौँ भन्ने विश्वास जनतामा जगाउनु नै यसको मूल दायित्व हो।

मेरो बौद्धिक यात्रा असमान समाजको प्रभावकारी आलोचना वामपन्थले प्रस्तुत गर्छ भन्ने विश्वासबाट सुरु भएको थियो। दशकौँको अध्ययन, अध्यापन र सार्वजनिक जीवनसँगको संलग्नताले त्यो विश्वासलाई कमजोर बनाएको छैन, बरु यसको अर्थ र दायरा अझ फराकिलो बनाएको छ। अब को वामपन्थी हो भन्ने प्रश्नको निरूपण पार्टी सदस्यता वा वैचारिक प्रमाणपत्रका आधारमा गर्न सकिन्छ भन्ने मलाई लाग्दैन। यसको सट्टा सोध्नुपर्ने उपयुक्त प्रश्न हो—अन्यायको सामना गर्नुपर्दा व्यक्तिले के गर्छ? के उसले अन्यायलाई जायज ठहर्‍याउँछ, त्यसप्रति उदासीन रहन्छ वा त्यसलाई परास्त गर्न सङ्घर्ष गरिरहेकाहरूसँग हातेमालो गर्छ? सायद यहीँनेर येचुरीसँगको मेरो पुरानो संवाद नयाँ अर्थ र सान्दर्भिकतासहित फेरि फर्केर आउँछ। हृदयले राजनीतिक विचारधाराको भरपर्दो नक्सा उपलब्ध नगराउन सक्छ, तर आफ्नो हृदय गुमाएको राजनीतिले जतिसुकै परिष्कृत सैद्धान्तिक शब्दावली प्रयोग गरे पनि उसले केही आधारभूत र अनिवार्य कुरा गुमाइसकेको हुन सक्छ।

वामपन्थको भविष्य समानतालाई साझा राजनीतिक आकाङ्क्षा बनाउन सक्ने क्षमतामा निर्भर गर्छ। अर्को संसार सम्भव छ र त्यसको निर्माण हामी सबै मिलेर गर्न सक्छौँ भन्ने विश्वास जनतामा जगाउनु नै यसको मूल दायित्व हो।

Source: https://frontline.thehindu.com

अनुवाद एवं प्रस्तुति: केदार सिटौला

(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)

 दायित्वबोधको विशेष अनुरोध

वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ?

के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ?

दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ !

तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
यस लिङ्कमा थिच्नुहोस्

मनोज कुमार झा

मनोज कुमार झा भारतको राष्ट्रिय जनता दल (राजद) का तर्फबाट राज्यसभाका सांसद हुन्।