अमेरिकामा घरबारविहीनता
मुख्य तस्विर: एआइ सिर्जित
पुँजीको केन्द्रीकरण
त्यसो त अहिले विश्वकै सबैभन्दा ठूला अर्थतन्त्र अमेरिकाको रहेको छ । यो वर्ष सन् २०२६ मा यो करिब ३२६ खर्ब अमेरिकी डलर बरोबरको छ । यो भनेको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको भन्दा करिब डेढ गुणा ठूलो हो । त्यत्रो ठूलो अर्थतन्त्र विश्वमा अरु कुनै देशको नरहेकोले अमेरिकाले विश्वको सबैभन्दा धनी देशको पगरी निर्विवाद रुपमा भिर्दै आएको छ ।
तर अर्थतन्त्र ठूलो हुँदैमा र देश धनी हुँदैमा त्यहाँका अधिकांश जनता गरिबीमुक्त हुन्छन् भन्ने हुँदैन । पुँजीवादी देशमा त त्यो झनै हुँदैन । पुँजीवादी मुलुकको विशेषता नै यो हुन्छ कि त्यहाँ अति थोरै मानिसले छोटो समयावधिभित्र अत्यन्त धेरै सम्पत्ति थुपार्न समर्थ हुन्छन् भने निकै धेरै नागरिकसित चर्को परिश्रमको बाबजुद अत्यन्त कम सम्पत्ति मात्र हुने गर्दछ । यो कुराको ज्वलन्त उदाहरणका लागि अमेरिकी सरकारले हालसालै प्रकाशित गरेका तथ्याङ्कहरू नियाली हेरे पुग्छ ।
पुँजीवादी मुलुकको विशेषता नै यो हुन्छ कि त्यहाँ अति थोरै मानिसले छोटो समयावधिभित्र अत्यन्त धेरै सम्पत्ति थुपार्न समर्थ हुन्छन् भने निकै धेरै नागरिकसित चर्को परिश्रमको बाबजुद अत्यन्त कम सम्पत्ति मात्र हुने गर्दछ ।
अमेरिकामा अहिले एलन मस्कलगायत जम्मा ५ जना सबैभन्दा ठूला खर्बपति धनाढ्यहरूसित त्यत्ति सम्पत्ति केन्द्रित रहेको छ, जति देशको तल्लो ३८ देखि ४० प्रतिशत घर परिवारको सम्पत्ति एकै ठाउँमा मिसाउँदा हुने गर्छ । अझ यो भन्दा पनि उदेकलाग्दो परिदृश्य के देखिन्छ भने संयुक्त राज्य अमेरिकामा अहिले सबैभन्दा धनाढ्य माथिल्ला १ प्रतिशत मानिसहरूसित त्यति ज्यादा सम्पत्ति थुप्रिन पुगेको छ, जति देशभरिका ९० प्रतिशत मानिसहरूको सम्पत्ति एकै ठाउँमा राख्दा हुन्छ । यो त्यो मुलुकमा विद्यमान धनी र गरिबबीचको भयङ्कर ठूलो खाडलको परिचायक हो ।
आजभन्दा ३७ वर्षअघिसम्म पनि त्यस्तो स्थिति आइसकेको थिएन । बरु त्यतिबेला यसको ठीक विपरीत अवस्था विद्यमान थियो । सन् १९८९ मा अमेरिकाका ९० प्रतिशत जनतासित कुल सम्पत्तिको ३९.२ प्रतिशत हिस्सा रहेको थियो भने १ प्रतिशत उपल्ला धनाढ्यहरूसित केवल २२.८ प्रतिशत सम्पति केन्द्रित रहेको थियो । चार दशक भन्दा कम समयमा अमेरिकामा धनी र गरिबका बीचमा कति बिशाल खाडल पैदा भएछ– त्यो यो आँकडाले छर्लङ्ग देखाएको छ ।
यी तथ्याङ्कहरू अमेरिकाका आधिकारिक सरकारी तथ्याङ्क हुन् । अमेरिकाको केन्द्रिय बैँक– फेडेरल रिजर्भ सिस्टमको बोर्ड अफ् गभर्नर्स तथा अमेरिकाकै चर्चित पत्रिका Forbes Realtime Billionairies ले हालै मात्र यसलाई प्रकाशनमा ल्याएको हो ।
अमेरिकामा घरबासविहीनता
हाम्रो यस लेखको यो पटकको उद्देश्य अमेरिकामा विद्यमान घरवासविहीनता बारे प्रकाश पार्नु हो । अब हामी त्यसतिर लागौँ । घरवासविहीनता सम्पत्तिविहीनतासित घनिष्ठ रुपले जोडिएको बिषय भएकाले हामीले सम्पत्तिको खाडलबाट कुराको थालनी गरेका हौँ । यो जगजाहेर छ, जोसित सम्पत्ति र शिक्षा ज्यादा हुन्छ, त्यहाँ घरबासविहीनता सामान्यतः हुने गर्दैन ।
विश्वकै सबैभन्दा धनाढ्य मुलुक अमेरिकामा पनि ७ लाख ४५ हजार ६५२ जना ब्यक्ति घरबासविहीन रहेका छन् । त्यसमध्ये २ लाख ६६ हजार ३२० जना यस्ता नागरिक रहेका छन् जसले नीलो आकासमुनि सडक र गल्लीमा एवं असुरक्षित स्थानमा सुतेर जीवनयापन गर्छन् ।
अमेरिकाको घर तथा शहरी विकास बिभाग(HUD)ले हालसालै मात्र देशभरिको घरबासविहीनताको स्थिति सम्बन्धमा एउटा महत्वपूर्ण प्रतिवेदन प्रकाशित गरेको छ । यो सन् २०२५ को संयुक्त राज्य अमेरिकाको तथ्याङ्क हो । त्यो सरकारी प्रतिवेदन अनुसार विश्वकै सबैभन्दा धनाढ्य मुलुक अमेरिकामा पनि ७ लाख ४५ हजार ६५२ जना ब्यक्ति घरबासविहीन रहेका छन् । त्यसमध्ये २ लाख ६६ हजार ३२० जना यस्ता नागरिक रहेका छन् जसले नीलो आकासमुनि सडक र गल्लीमा एबम् असुरक्षित स्थानमा सुतेर जीवनयापन गर्छन् ।
निरपेक्ष संख्याका हिसाबबाट अमेरिकाका ५० राज्यमध्ये सबैभन्दा धेरै घरबासविहीनहरू क्यालिफोर्निया राज्यमा छन् । त्यहाँ सबैभन्दा बढी अर्थात् १ लाख ८२ हजार मानिस घरबासविहीन छन् जसमध्ये ६३.५ प्रतिशत मानिसहरू सडकमा तथा असुरक्षित स्थललमा रात बिताउँछन् । यी जिउ लुकाउने कुनै ठाउँ नभएका अमेरिकी नागरिक हुन् । हामी अमेरिकाको न्युयोर्कलाई अति विकसित र सम्पन्न राज्यका रुपमा चिन्दछौँ । परन्तु न्युयोर्कको अँध्यारो पाटोमा ध्यान जाने मानिस विश्वमै निकै थोरै पाइन्छन् । त्यो के भने, अमेरिकाको सबैभन्दा धेरै संख्यामा घरबासविहीन नागरिक भएका राज्यमध्ये न्युयोर्क दोस्रोमा आउँछ । त्यहाँ १ लाख ४५ हजार २६० जना ज्यादा नागरिकहरू घरबासविहीन छन् । घरवार केही नभए पनि त्यहाँ राज्यले वा करदाता नागरिकले ठाउँ ठाउँमा अस्थायी आश्रयस्थल भने बनाइ दिएको बताइन्छ जहाँ अधिकांश घरबासविहीनले टाउको लुकाउने स्थान प्राप्त गरेका छन् । धनाढ्य मानिसहरू तथा निकै अग्ला आलिशान बिल्डिङहरू ज्यादा भएको न्युयोर्कले आफ्नो नाक जेनतेन यसरी जोगाउने कोशिस गरेको छ–गरिबहरूलाई घरबासको स्थायी प्रवन्ध गरेर होइन, उनीहरूलाई अस्थायी रुपमा टाउको लुकाउने आश्रयस्थल बनाई दिएर । सबैभन्दा ज्यादा घरबासविहीन नागरिक रहेको तेश्रो राज्य चाहिँ वाशिङ्गटन हो (जसलाई अमेरिकी राजधानी वाशिङ्गगन डि.सी भनेर बुझिनु हुँदैन; यो वाशिङ्गटन राज्य हो ) । यो राज्यमा ३१ हजार ७२१ जना घरबासविहीनहरू रहेका छन् जसमध्ये आधाभन्दा ज्यादा नागरिकहरू असुरक्षित स्थानमा खुल्ला आकासमुनि सडक र गल्लीमा, कोही त गाडीहरूमा समेत रात काट्न विवश छन् ।
अमेरिकाको सबैभन्दा धेरै संख्यामा घरबासविहीन नागरिक भएका राज्यमध्ये न्युयोर्क दोस्रोमा आउँछ । त्यहाँ १ लाख ४५ हजार २६० जना ज्यादा नागरिकहरू घरबासविहीन छन् ।
५० वटै राज्यको घरवासविहीनको तथ्याङ्क दिँदा लेख धेरै लामो हुन जाला । त्यसैले यहाँ सबैभन्दा धेरै घरबासविहीन भएका दशवटा राज्यहरूको मात्र आँकडा प्रस्तुत गर्ने जमर्को गरौँ ।
सबैभन्दा धेरै घरबासविहीन १० अमेरिकी राज्यहरू
|
क्र.सं. |
राज्य |
घरबासविहीन संख्या |
|
१. |
क्यालिफोर्निया |
१,८१,९३४ |
|
२. |
न्युयोर्क |
१,४५,५६० |
|
३. |
वाशिङ्गटन |
३१,७२१ |
|
४. |
मासाचुसेट्स् |
२८,३११ |
|
५. |
टेक्सास |
२८,०३१ |
|
६. |
फ्लोरिडा |
२७,८८८ |
|
७. |
ओरेगन |
२२,२०२ |
|
८. |
नर्थ क्यारोलिना |
१५,५१२ |
|
९. |
एरिजोना |
१५,२५९ |
|
१०. |
पेनिसेल्भनिया |
१४,८३४ |
तथ्याङ्क स्रोत :
US Department of Housing and Urban Development (HUD)
KFF-Statewise Homelessness Statistics
Urban Institute-Homelessness Data by State
अमेरिकाले विश्वभरि मानवअधिकारको अर्ती दिन्छ परन्तु अमेरिकाका घरबासविहीनहरूको हरिबिजोग के रहेको छ भने चाहे हिउँ परोस् वा पानी परोस्, चाहे आँधी आओस् वा सहनै नसकिने गरी मौसम चिसो होस्, त्यहाँका घरबासविहीनमध्ये एक तिहाइ भन्दा पनि ज्यादा ( ३६ प्रतिशत) बर्षभरि खुल्ला आकासमुनि सडक र गल्लीमा जीवन बिताउन बाध्य छ । हरेक नागरिकले घरबास पाउने हकलाई अमेरिकी सरकारले आधारभूत मानव अधिकार नै ठान्दैन ।
सरकारले संविधानको व्यवस्थालाई कार्यान्वयन गर्नु–नगर्नु छुट्टै कुरा हो, नेपाल जस्तो अति कम विकसित देशले वासको अधिकारलाई नागरिकको मानव अधिकारको रुपमा संविधानमै दर्ज गरेको छ । अमेरिकाभन्दा कम विकसित देश चीनले निरपेक्ष गरिबीको निबारण सँगसँगै घरबासविहीनताको समस्यालाई सन् २०२०मै आधारभूत रुपमा समाधान गरिसकेको दावी गरेको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद् र विश्व बैँकले यो दाबीलाई सत्य ठहर्याउँदै चीनको प्रयासलाई विश्वकै निम्ति उदाहरणीय र ऐतिहासिक भनेर प्रशंसा गरेको छ । यस परिप्रेक्ष्यमा अमेरिकामा अझै बाँकी रहेको घरबासबासविहीनता विश्व महाशक्ति अमेरिकामा विद्यमान निकै ठूलो विरोधाभास हो ।
कुनै राज्यमा जनसंख्या धेरै हुन्छ, कुनैमा थोरै । कुनै राज्य ठूलो हुन्छ कुनै सानो त्यसैले निरपेक्ष रुपमा घरबासविहीनको गणना गर्नु वैज्ञानिक हुँदैन भनेर हिजोआज जनसंख्याविद र समाजशास्त्रीहरूले प्रति लाख वा १० हजार नागरिकमा घरबासविहीन कति छन् भनेर गणना गर्ने नयाँ वैज्ञानिक युक्ति निकालेका छन् । एकैछिन् हामी त्यो मापदण्ड प्रयोग गरेर अमेरिकामा घरबासविहीनताको स्थिति मापन गर्ने कोशिस गरौँ ।
अमेरिकामा गत वर्ष (सन् २०२५मा) प्रति एक लाख जनसंख्यामा ७२८ जना नागरिक घरबासविहीन थिए । यसको तात्पर्य, पोहोर साल संयुक्त राज्य अमेरिकामा प्रति दश हजार जनसंख्यामा लगभग ७३ जनाको आफ्नो कुनै घरबार थिएन ।
गजबको व्यङ्ग्यात्मक यथार्थ त के देखिएको थियो भने अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा नै देशकै सबैभन्दा ज्यादा घरबासविहीनता देखापरेको थियो ।
गणनाको यो वैज्ञानिक विधिबाट तुलनात्मक हिसाब निकाल्दा सम्पूर्ण अमेरिकाभरिमा सबैभन्दा बेसी घरबासविहीन भएको राज्य अग्ला गगनचुम्बी भवनहरूले भरिभराउ न्युयोर्क राज्य नै देखिएको थियो । त्यहाँ प्रति दश हजारमा ७२.८ जना घरबार नभएका नागरिक रहेको फेला परेको थियो । सबैभन्दा धेरै घरबासविहीन रहेको दोश्रो राज्य ओरेगन (प्रति दश हजारमा ६३.७ जना घरबासविहीन) र तेश्रो भर्मोण्ट देखा परेको थियो जहाँ प्रति दश हजारमा ५२.५ जना घरबासविहीन थिए । चौथो र पाँचौँमा क्रमशः हवाइ र क्यालिफोर्निया राज्य थिए ।
गजबको व्यङ्ग्यात्मक यथार्थ त के देखिएको थियो भने अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा नै देशकै सबैभन्दा ज्यादा घरबासविहीनता देखापरेको थियो । त्यहाँ प्रति दशहजार जनसंख्यामा ७४.१ ब्यक्तिको घरबासविहीनता फेला परेको थियो । त्यसमध्ये पनि प्रति दश हजारमा ११.३ जना पानी वा हिउँ पर्दा समेत खुल्ला आकासमुनि अर्थात सडक, गल्ली, पुलमुनि वा गाडीमा आफ्नो जीवन ब्यतीत गर्दथे ।
अमेरिकाका हरेक राष्ट्रपतिले आफ्ना पालामा मानव अधिकारमा ठूला ठूला प्रगति भएको दावी प्रस्तुत गरिरहे पनि अमेरिकी सरकारकै तथ्याङ्कहरूले के देखाउँछन् भने अमेरिकामा सन् २०१३ देखि २०२५ का बीचमा घरबासविहीनतामा २७ प्रतिशतले बृद्धि भइरहेको थियो । अझ खुल्ला आकासमुनि जीवन बिताउनु पर्ने खालको घरबासविहीनता त ३६ प्रतिशतले बढेको थियो ।
विश्वभरि प्रभुत्व जमाउने अमेरिकी सरकारको साम्राज्यवादी महत्वाकांक्षाले गर्दा उसको पुँजीको ठूलो हिस्सा अत्याधुनिक हात हतियारमा र त्यो एजेण्डामा खर्च भइरहेको छ । यही हुनाले गरिबी र घरबासविहीनताको लागि खर्च गर्ने उसको प्राथमिकता र फुर्सद पनि छैन, प्राथमिकता नै नभएपछि पैसा पनि छैन। 󠄍
घरबासविहीनता मूलतः निरपेक्ष गरिबीसित जोडिएको बिषय हो । अमेरिकाको Census Bureau ले सेप्टेम्वर २०२६ मा प्रकाशित गरेको ‘संयुक्त राज्य अमेरिकामा गरिबी’ नामक प्रतिवेदन अनुसार त्यहाँ अहिले १०.२ प्रतिशत मानिसहरू निरपेक्ष गरिबीको रेखामुनि छन् । गरिबीमा पनि गोरा जातिको तुलनामा काला जातिका मानिसहरू दोब्बरभन्दा ज्यादा गरिब छन् । उदाहरणका लागि काला जातिको निरपेक्ष गरिबी दर १८.४ प्रतिशत रहेको छ भने गैर हिस्पानिक गोरा जातिको गरिबी दर ७.६ प्रतिशत मात्र रहेको छ । अमेरिकामा घरबासविहीनता गोरा जातिमा पनि छ तर सबैभन्दा ज्यादा काला र हिस्पानिक जातिमा केन्द्रित देखिन्छ ।
विश्वकै सबैभन्दा धनी अमेरिकी सरकारले खोजे त्यहाँको घरबासविहीनता निवारण वा न्युनतम पार्न नसक्ने कुरा होइन । त्यहीँ नजिकै स्विट्जरलैण्ड, नर्वे, फिनलैण्ड र डेनमार्कले पुँजीवादी मुलुक हुँदाहुँदै घरबासविहीनता न्युनतम बनाएर देखाएका छन् । परन्तु विश्वभरि प्रभुत्व जमाउने अमेरिकी सरकारको साम्राज्यवादी महत्वाकांक्षाले गर्दा उसको पुँजीको ठूलो हिस्सा अत्याधुनिक हात हतियारमा र त्यो एजेण्डामा खर्च भइरहेको छ । यही हुनाले गरिबी र घरबासविहीनताको लागि खर्च गर्ने उसको प्राथमिकता र फुर्सद पनि छैन, प्राथमिकता नै नभएपछि पैसा पनि छैन। 󠄍
६ मंसिर, २०८३ कीर्तिपुर
सेन्जेन घोषणा र नेपाल
रोजा लक्जेम्बर्गको विरासत र समकालीन राजनीतिक रूपान्तरणको प्रश्न
श्रमको सांस्कृतिक अर्थ र सौन्दर्यको जातीय संरचना
आफैं विरुद्ध धारिलो तरबार चलाउँदै चीनको कम्युनिस्ट पार्टी
डलरको शक्ति कहिल्यै तेलबाट आएको थिएन
जब महाशक्तिका सबै विकल्प समाप्त हुन्छन् : इरान युद्धको रणनीतिक पाठ
लु सुनको निबन्ध ‘चिनियाँहरूले आफ्नो आत्मविश्वास गुमाएका छन्?’ र नेपाली सन्दर्भ
प्रतिक्रिया