‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान तथा पुरस्कार’ विभिन्न स्रष्टा र विद्यार्थीलाई प्रदान

हास्यव्यङ्ग्य विधामा समर्पित अनलाइन पत्रिका ‘फित्कौली डटकम’ (फित्कौली अनलाइन मिडिया) ले मंसिर ५ गते एक समारोहका बीच विभिन्न स्रष्टा तथा विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ।

वरिष्ठ हास्यव्यङ्ग्यकार प्राध्यापक रामकुमार पाँडेको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा यस वर्षको ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान २०८३’ बाट झापाका हास्यव्यङ्ग्यकार होम सुवेदी, गोविन्द–विजया–फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार हेटौँडाका राजकुमार लामिछाने, फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार गुल्मीका रामप्रसाद पन्थी, मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार मकवानपुरका रमेशमोहन अधिकारी र फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार काठमाडौँका राजेन्द्रप्रसाद अधिकारीलाई प्रदान गरिएको थियो ।

फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार ग्रहण गर्दै राजेन्द्रप्रसाद अधिकारी

सोही अवसरमा ‘फित्कौली–खाइराइड सम्मान तथा पुरस्कार’ बाट तीन जना विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो । खाईराईड हाँस्यव्यङ्ग्य पुरस्कार पाउनेहरुमध्ये प्रथम पुरस्कार (रु २० हजार) सेवन्त आचार्य अमर माध्यामिक विद्यालय, द्वितीय (रु १० हजार) सुविज्ञ राज खरेल डियरवाक स्कूल, तृतीय (रु ५ हजार) उत्सव खरेल कान्ति भैरब गुरुकूल, र स्वीकृती तामाङ काभ्रे इङ्गलिस माध्यामिक विद्यालय रहेका थिए ।

 उक्त कार्यक्रममा फित्कौलीसँगको सहकार्यमा यसोभानु साहित्य सङ्गीत प्रतिष्ठानद्वारा प्रकाशित कृति ‘सम्मार्जन’ र फित्कौली अनलाइन मिडियाद्वारा प्रकाशित ठाकुरप्रसाद अधिकारीको ‘टेढो नजर’ हास्यव्यङ्ग्य कृतिको लोकार्पण समेत गरिएको थियो । कृतिहरुको सामुहिक लोकार्पण हास्यव्यङ्ग्यकारहरू प्रा रामकुमार पाँडे, नरेन्द्रराज पौडेल, नरनाथ लुइँटेल, डा बमबहादुर थापा जिताली, डा. मुकेश चालिसे, डा. खगेन्द्रप्रसाद लुइटेल, नारायण भट्टलगायतले गरेका थिए । 

कार्यक्रम हास्यव्यङ्ग्यकार तथा फित्कौली अनलाइनका सम्पादक सञ्चालक नरनाथ लुइँटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बाङ्गा अक्षर नेपाल, फित्कौली अनलाइन मिडिया र यसोभानु साहित्य सङ्गीत प्रतिष्ठानको सहकार्य रहेको थियो।