पट्टी खोल गान्धारी

यो आदर्शवादले गाँजेको युग हो

अतिशय सकारात्मकताको मन्त्रभित्र

सत्य नकार्न पोख्त बनिरहेका छन्

भिडका भिड खोक्रा मस्तिष्कहरू ।

 

सहस्र रोइरहेको वर्तमानलाई नदेख्न

आँखामा पट्टी बाँधेर शौखिन गान्धारीहरू

पीडालाई रोमाञ्चक बनाउँदै

शानका साथ भनिरहेका छन्-

"सकारात्मक बन, सकारात्मक सोच, सकारात्मक बस!"

 

के वसन्त आएको बेला

फूलहरू प्रभावित नहुन सम्भव छ?

के शिशिरको बेला पतझड नहुन सम्भव छ?

के हसीन परिस्थितिमा आँसु अनिवार्य छ?

के समय रोइरहँदा फगत हाँस्नु नैतिक छ?

 

ओ गान्धारी,

सकारात्मकताको प्रतिफल

कुनै लटरम्म फलेको बोटमुनि

आँखा चिम्लिएर 'आँ ' गरेर धैर्य साध्नु जस्तै

कठिन तर भरपर्दो सूत्र होइन ।

 

त्यहाँ फल कुन बेला झर्छ यो निश्चित हुँदैन,

अपितु एक क्षण झर्छ ,यो सुनिश्चित हुन्छ ।

 

तिमीले भन्ने सकारात्मकतामा

जति नै दिवा-रात्री धैर्य साधे पनि,

सकेजतिको ऊर्जा खन्याएर

हप्तौँ ध्यानमग्न रहे पनि,

अथवा कुनै योगीको शिविरमा

मरुन या मिरिन्डी रङ्गको पोसाक भिरेर

आफूलाई बिर्सिएर उफ्री-उफ्री बेहोसी नाच नाचे पनि,

या होस गुमाएर कुनै 'गुरुको' शरणमा अर्धचेत रहे पनि,

याद गर,

आफ्नै मनलाई दिने क्षणिक शान्तिको अफीम अतिरिक्त

फरक भौतिक परिस्थितिको जालो च्यातेर

सबै ठिक बनाउँदै

कुन शक्ति कुन बेला कसरी आउँछ

यो अनिश्चित हुन्छ !

 

समयौँदेखि आँखामा पट्टी बाँधेर

तिमी कुन अलौकिक दुनियाँलाई पुकारिरहन्छौँ

र बाँडिरहन्छौ निराधार मिथ्या दिलासा ?

 

सुन !

तिमी बाँचिरहेको भौतिक जगतको स्वर सुन !

 

केही रुपियाँको अभावमा

कुनै गर्भवती मातृत्वको , प्रसव पीडाको,

वेदनाको, छट्पटीको साक्षी बस्नुपर्छ सडक ।

यो तिमीले घृणा गर्ने नकारात्मकता हो कि सत्य?

 

एक थान सिलिन्डरको अभाव

किन बनिदिन्छ कारक आत्मदाहको?

यो मिथ्या हो कि सत्य ?

तिम्रो सकारात्मकताको जपले

के समाधान गरिदिन्छ यो कर्कश सत्यको ?

 

गान्धारी !

आदर्शवाद श्रुतिमाधुर्य अवश्य हुन्छ

यद्यपि कहिलेकाहीँ यो बढी भ्रमित हुनसक्छ ।

सत्य जति नै कर्कश भए पनि यथार्थ हुन्छ ।

फगत आदर्शवादको धूप बालेर संसार बदलिँदैन,

संसार बदल्न भौतिक जगत्‌कै

हजारौँ नकारात्मकताहरू नियाल्नुपर्छ,

तिनैसँग दिनहुँ उठ्नुपर्छ, बस्नुपर्छ, भिड्नुपर्छ।

 

आदर्शवाद सिङ्गारिएको सुन्दर विचार हो,

भौतिकवाद जीवनदर्शन !

 

भौतिकवादले भाग्न सिकाउँदैन,

भिड्न सिकाउँछ ।

 

आफ्नै आँखा अघिको भयावह सत्य नियाल

हेर, बोल, भिड

सत्यसँग बेखबर भएर

मिथ्या बाँच्नु आफैंलाई छल्नु हो

 

पट्टी खोल गान्धारी !