मृत्यु
केथे कोल्भिट्जका कृतिहरूको सङ्गालो प्रकाशनका लागि तयार पार्ने क्रममा, मैले मिस एग्नेस स्मेडलेलाई एउटा भूमिका लेखिदिन अनुरोध गरेँ। उनीहरु दुवै जना राम्रा साथी भएकोले मलाई यो सबैभन्दा उपयुक्त लाग्यो। छिट्टै नै भूमिका तयार भयो, मैले माओ तुनलाई यसको अनुवाद गर्न लगाएँ, र यो अहिले चिनियाँ संस्करणमा प्रकाशित भइसकेको छ। त्यसमा भएको एउटा अनुच्छेद यस प्रकार छ:
यी सबै वर्षहरूमा केथे कोल्भिट्ज– जसले आफूलाई प्रदान गरिएका कुनै पनि उपाधि कहिल्यै प्रयोग गरिनन्, ले असंख्य स्केच, पेन्सिल तथा मसीले बनाइएका चित्र, काठमा कुँदिएका छापचित्र र एचिङहरू सिर्जना गरेकी छन्। उनका यी कृतिहरूको अध्ययन गर्दा दुईवटा प्रमुख विषयवस्तु स्पष्ट रूपमा देखापर्छन्। युवावस्थामा उनको मुख्य विषय विद्रोह थियो भने जीवनको पछिल्लो चरणमा मातृस्नेह, सन्तानलाई जोगाउने मातृत्वजन्य स्वाभाविक प्रवृत्ति, सहारा र मृत्यु उनका प्रमुख विषय बने। उनका सबै कृतिमा पीडा, त्रासदी र उत्पीडितहरूको रक्षा गर्ने उत्कट आकांक्षाको भाव गहिरोसँग व्याप्त छ।
युवावस्थामा उनको मुख्य विषय विद्रोह थियो भने जीवनको पछिल्लो चरणमा मातृस्नेह, सन्तानलाई जोगाउने मातृत्वजन्य स्वाभाविक प्रवृत्ति, सहारा र मृत्यु उनका प्रमुख विषय बने।
एक पटक मैले उनलाई सोधेको थिएँ, ‘तपाईंको पहिलेको विद्रोहको विषयको सट्टा अहिले तपाईं मृत्युको विचारबाट टाढा रहन नसकेजस्तो किन देखिनुहुन्छ?’ उनले वेदनायुक्त स्वरमा उत्तर दिइन्, ‘यो सायद म दिनप्रतिदिन बुढो हुँदै गएकोले हुन सक्छ।’
त्यस बिन्दुमा पुगेर म सोच्न बाध्य भएँ। मेरो अनुमानमा, उनले मृत्युलाई पहिलोपटक आफ्नो विषय बनाएको समय सन् १९१० तिर हुनुपर्छ, जतिबेला उनी ४३ वा ४४ वर्षकी मात्र थिइन्। अहिले म यस विषयमा सोचिरहेको छु, निश्चय नै, आफ्नै उमेरका कारण पनि हो। तर, एक दर्जनजति वर्षअघि, जहाँसम्म मलाई सम्झना छ, मृत्युका बारेमा मलाई यस्तो अनुभूति थिएन। निस्सन्देह, हाम्रो जीवनलाई लामो समयदेखि कुनै महत्त्व नभएको तुच्छ कुराका रूपमा यति सहजै लिइएको छ कि हामी आफैँ पनि यसलाई युरोपेलीहरूले जस्तै गम्भीरताका साथ नलिई हलुका रूपमा लिन्छौँ। चिनियाँहरू मृत्युसँग सबैभन्दा बढी डराउँछन् भनेर केही विदेशीहरू भन्छन् । तर यो सत्य होइन– वास्तवमा, हामीमध्ये धेरैजसो मानिस मृत्युको अर्थलाई स्पष्ट रूपमा नबुझीकनै मर्छौँ।
चिनियाँहरू मृत्युसँग सबैभन्दा बढी डराउँछन् भनेर केही विदेशीहरू भन्छन् । तर यो सत्य होइन– वास्तवमा, हामीमध्ये धेरैजसो मानिस मृत्युको अर्थलाई स्पष्ट रूपमा नबुझीकनै मर्छौँ।
मृत्युपश्चात् पनि अस्तित्व कायम रहन्छ भन्ने आम विश्वासले मृत्युप्रतिको सहज र बेपरवाह दृष्टिकोणलाई अझ बलियो बनाउँछ। सबैलाई थाहा नै छ, हामी चिनियाँहरू भूतहरूमा (जसलाई पछिल्ला समयमा ‘आत्मा’ वा ‘प्रेतात्मा’ भन्न थालिएको छ) विश्वास गर्छौँ, र भूतहरू हुने भएकाले मृत्युपछि मानिसका रूपमा नरहे पनि कम्तीमा भूतका रूपमा अस्तित्वमा रहन सक्छौँ, जुन केही नहुनुभन्दा त राम्रै हो। तर यो प्रेत-अस्तित्वको अनुमानित अवधि मानिसको सम्पत्ति अनुसार फरक पर्छ जस्तो देखिन्छ। गरिबहरू मरेपछि तिनीहरूका आत्मा अर्को शरीरमा प्रवेश गर्छ भन्ने विश्वास गर्छन्, जुन विचार बौद्ध धर्मबाट आएको हो। हुन त बौद्ध धर्ममा पुनर्जन्म एक जटिल प्रक्रिया हो, यो पटक्कै त्यति सरल छैन, तर गरिबहरू प्रायः अशिक्षित हुन्छन् र उनीहरूलाई यसको वास्तविकताबारे ज्ञान हुँदैन। त्यसैले मृत्युदण्ड पाएका अपराधीहरूलाई फाँसी दिने ठाउँतर्फ लैजाँदा उनीहरू प्रायः कुनै डर देखाउँदैनन्, बरु कराउँदै भन्छन्, ‘अबको बीस वर्षपछि म फेरि हट्टाकट्टा जवान भइसकेको हुनेछु!’
यो प्रेत-अस्तित्वको अनुमानित अवधि मानिसको सम्पत्ति अनुसार फरक पर्छ जस्तो देखिन्छ। गरिबहरू मरेपछि तिनीहरूका आत्मा अर्को शरीरमा प्रवेश गर्छ भन्ने विश्वास गर्छन्, जुन विचार बौद्ध धर्मबाट आएको हो।
त्यसमाथि, जनविश्वास अनुसार भूतले मृत्युको समयमा लगाएको कपडा नै लगाएको हुन्छ; र गरिबहरूसँग राम्रा कपडाहरू नहुने भएकाले भूतका रूपमा आकर्षक वा प्रभावशाली देखिन सक्दैनन्, त्यसैले उनीहरूका लागि नाङ्गै शिशुका रूपमा तुरुन्तै पुनर्जन्म लिनु धेरै राम्रो हुन्छ। के तपाईंले कहिल्यै भर्खरै जन्मिएको शिशुले जोगीको फाटेको लुगा वा पौडी खेल्ने पोसाक लगाएको देख्नुभएको छ? छैन, कहिल्यै छैन। ठिक छ, त्यसोभए त्यो त एउटा नयाँ सुरुआत हो। कसैले आपत्ति जनाउन सक्छ: तपाईं पुनर्जन्ममा विश्वास गर्नुहुन्छ भने, अर्को जन्ममा तपाईंको अवस्था अझ खराब हुन सक्छ वा तपाईं कुनै पशु बन्न सक्नुहुन्छ ! कति डरलाग्दो विचार! तर गरिबहरू त्यसरी सोच्छन् जस्तो लाग्दैन। उनीहरू आफूले कुनै पशु बन्नुपर्ने गरी त्यस्ता भयानक पापहरू नगरेकोमा दृढ विश्वास गर्छन्: उनीहरूसँग त्यस्ता पापहरू गर्नका लागि न त कुनै पद थियो, न शक्ति, न त पैसा नै।
तर पद, शक्ति र पैसा भएका मानिसहरू पनि आफू पशु बन्नुपर्छ भन्ने विश्वास गर्दैनन्। उनीहरू कि त सन्त बन्नका लागि बौद्ध धर्मावलम्बी बन्छन्, या त कन्फ्युसियसका ग्रन्थहरूको अध्ययन र प्राचीन परम्परातर्फ फर्किनुपर्ने वकालत गर्छन्, ताकि कन्फ्युसियसवादी ऋषि बन्न सकून्। जसरी उनीहरू जीवनमा एउटा विशेषाधिकार प्राप्त वर्ग हुने अपेक्षा गर्छन्, त्यसैगरी मृत्युपछि पनि उनीहरू पुनर्जन्मको चक्रबाट मुक्त हुने अपेक्षा गर्छन्।
म अहिले भूत भएको भए, र मानव संसारमा मेरो सेवा गर्ने सन्तानहरू भएको भए, मैले मेरा लेखहरू एक-एक गरी बेच्नुपर्ने थिएन, वा भुक्तानीका लागि बेइसिन पब्लिसिङ हाउससँग माग्नुपर्ने थिएन।
जहाँसम्म थोरै पैसा भएका मानिसहरूको कुरा छ, यद्यपि उनीहरू पनि आफू पुनर्जन्मबाट मुक्त हुनुपर्छ भन्ने विश्वास गर्छन्, तर उनीहरूसँग कुनै ठूला महत्त्वाकाङ्क्षा वा उच्च योजनाहरू नहुने भएकाले उनीहरू शान्त भई पर्खन्छन्। करिब पचास वर्षको उमेरतिर, उनीहरू आफ्नो गाड्ने ठाउँ खोज्छन्, कफिन (लाश राख्ने काठको बाकस) किन्छन्, र परलोकमा बैंक खाता खोल्नका लागि कागजी नोटहरू जलाउँछन्, अनि आफ्ना छोरा-नातिहरूले हरेक वर्ष उनीहरूलाई बलि चढाउनेछन् भन्ने आशा गर्छन्। यो पक्कै पनि पृथ्वीको जीवनभन्दा धेरै आनन्ददायी कुरा हो। म अहिले भूत भएको भए, र मानव संसारमा मेरो सेवा गर्ने सन्तानहरू भएको भए, मैले मेरा लेखहरू एक-एक गरी बेच्नुपर्ने थिएन, वा भुक्तानीका लागि बेइसिन पब्लिसिङ हाउससँग माग्नुपर्ने थिएन। म सजिलैसँग मेरो देवदार वा सल्लाको काठको कफिनमा आरामसँग ढल्किन सक्थेँ, र हरेक चाडपर्व तथा नयाँ वर्षमा मेरो अगाडि मीठो भोज र नोटहरूको थुप्रो राखिन्थ्यो। त्यो पो त जीवन हुन्थ्यो!
हुन त परलोकमा अत्यन्त कडा र न्यायप्रिय शासकहरू पनि छन्, तर उनीहरूले पनि यी भूतहरूका लागि केही छुट दिनेछन् र उनीहरूबाट उपहारहरू स्वीकार गर्नेछन्, बिल्कुलै पृथ्वीका असल हाकिमहरू जस्तै।
सामान्यता भन्नुपर्दा, अति धनी र महान् मानिसहरू, जो परलोकका नियमहरूमा बाँधिएका हुँदैनन्, उनीहरूभन्दा भिन्न, गरिबहरू तुरुन्तै पुनर्जन्म लिन चाहन्छन्, जबकि सम्पन्न वा सुखी मानिसहरू सकेसम्म लामो समयसम्म भूतकै रूपमा रहन चाहन्छन्। सम्पन्न मानिसहरू भूतका रूपमा रहन इच्छुक हुन्छन् किनभने भूतका रूपमा उनीहरूको जीवन (यो सुन्दा विरोधाभासपूर्ण लाग्छ तर यसलाई व्यक्त गर्ने योभन्दा राम्रो तरिका म सोच्न सक्दिनँ) पृथ्वीकै जीवनको निरन्तरता हो र उनीहरू अझै यसबाट अघाएका हुँदैनन्। हुन त परलोकमा अत्यन्त कडा र न्यायप्रिय शासकहरू पनि छन्, तर उनीहरूले पनि यी भूतहरूका लागि केही छुट दिनेछन् र उनीहरूबाट उपहारहरू स्वीकार गर्नेछन्, बिल्कुलै पृथ्वीका असल हाकिमहरू जस्तै।
त्यसपछि अरू केही मानिसहरू हुन्छन्, जो मृत्युका विषयमा खासै गम्भीर हुँदैनन्। मृत्युको मुखमा पुगिसक्दा पनि उनीहरू त्यसबारे धेरै सोच्दैनन्, र म पनि यस्तै उदासीन मानिसहरूको वर्गमा पर्छु। तीस वर्षअघि मेडिकल विद्यार्थीको रूपमा मैले आत्माको अस्तित्वको प्रश्नमा विचार गरेको थिएँ, तर के निष्कर्ष निकाल्ने भन्ने मलाई थाहा भएन। पछि मैले मृत्यु पीडादायी हुन्छ कि हुँदैन भनेर विचार गरेँ, र फरक-फरक परिस्थितिमा यो फरक हुन्छ भन्ने निष्कर्ष निकालेँ। अनि त्यसपछि मैले यस विषयमा सोच्न छाडिदिएँ र बिर्सिएँ। पछिल्ला दस वर्षहरूमा मैले कहिलेकाहीँ साथीहरूको मृत्युबारे अलिअलि लेखेको छु, तर स्पष्ट रूपमा भन्नुपर्दा मैले मेरो आफ्नै मृत्युबारे कहिल्यै सोचिनँ। पछिल्ला दुई वर्षमा म धेरै बिरामी परेको छु र प्रायः लामो समयसम्म बिरामी रहने गरेको छु, जसले मलाई म बुढो हुँदैछु भन्ने कुराको प्रायः याद दिलाएको छ। अवश्य पनि, अन्य लेखकहरूले उनीहरूको मित्रवत वा अमित्रवत चासोका कारण मलाई यो तथ्यको निरन्तर स्मरण गराइरहेका छन्।
गत वर्षदेखि, जब-जब म बिरामीबाट निको हुँदै आफ्नो बेतको कुर्सीमा ढल्किन्थेँ, म निको भएपछि के गर्ने, कस्ता लेखहरू लेख्ने, कस्ता किताबहरू अनुवाद गर्ने वा प्रकाशित गर्ने भन्नेबारे सोच्ने गर्थेँ। योजनाहरू बनेपछि म निष्कर्ष निकाल्थेँ, ‘ठिकै छ, तर मैले हतार गर्नुपर्छ।’ यो हतारोको भावना, जुन ममा पहिले कहिल्यै थिएन, अवचेतन रूपमा मैले मेरो उमेर सम्झेकाले गर्दा भएको थियो। तर तैपनि मैले कहिल्यै प्रत्यक्ष रूपमा ‘मृत्यु’ को बारेमा सोचेको थिएन।
जब-जब म बिरामीबाट निको हुँदै आफ्नो बेतको कुर्सीमा ढल्किन्थेँ, म निको भएपछि के गर्ने, कस्ता लेखहरू लेख्ने, कस्ता किताबहरू अनुवाद गर्ने वा प्रकाशित गर्ने भन्नेबारे सोच्ने गर्थेँ। योजनाहरू बनेपछि म निष्कर्ष निकाल्थेँ, ‘ठिकै छ, तर मैले हतार गर्नुपर्छ।’
यो वर्ष मेरो गम्भीर बिरामी नपरुन्जेल मैले मृत्युबारे प्रस्टसँग सोच्न सुरु गरेको थिएन। सुरुमा मैले विगतमा जस्तै मेरो बिरामीको उपचार गरेँ र मेरा जापानी डाक्टर, एस माथि भर परेँ। उनी क्षयरोगको विशेषज्ञ नभए पनि एक अनुभवी वृद्ध छन्, जसले मभन्दा पहिले चिकित्साशास्त्र पढेका थिए, मेरो वरिष्ठ हुन्, र मलाई धेरै राम्ररी चिन्छन् – त्यसैले उनी स्पष्ट कुरा गर्छन। अवश्य पनि, डाक्टरले आफ्नो बिरामीलाई जतिसुकै राम्ररी चिने पनि अलिकति सङ्कोचका साथ बोल्छन्, तर कम्तीमा उनले मलाई दुई वा तीन पटक चेतावनी दिए, यद्यपि मैले कहिल्यै ध्यान दिइनँ र कसैलाई भनिनँ पनि। सायद यो कुरा लामो समयसम्म लम्बिएकाले र मेरो पछिल्लो समस्या निकै गम्भीर भएकाले, केही साथीहरूले मेरो जानकारीबिनै मलाई देखाउनका लागि एक अमेरिकी डाक्टर डीलाई बोलाउने व्यवस्था गरे। उनी साङ्घाईमा क्षयरोगका एकमात्र पश्चिमी विशेषज्ञ हुनु। मेरो जाँचपछि, उनले मेरो विशिष्ट चिनियाँ रोगप्रतिरोधी क्षमताको प्रशंसा गरे, तर साथसाथै मेरो अन्त्य नजिकै छ भनी घोषणा पनि गरे, र यदि म युरोपेली भएको भए पाँच वर्षअघि नै चिहानमा पुगिसक्ने थिएँ भने । यो फैसलाले मेरा कोमल मन भएका साथीहरूलाई रुवायो। मैले उनलाई मेरो लागि औषधि लेखिदिन आग्रह गरिनँ, किनभने उनले पश्चिममा अध्ययन गरेका हुनाले पाँच वर्षअघि नै मरिसकेको बिरामीलाई कसरी औषधि लेख्ने भन्ने कुरा उनले पक्कै सिकेका नहोलान् भन्ने मलाई लाग्यो। तर डाक्टर डी को निदान वास्तवमा अत्यन्त सटीक थियो। पछि मैले मेरो छातीको एक्स-रे गराएँ, जसले उनको निष्कर्षलाई धेरै हदसम्म पुष्टि गर्यो।
मेरो जाँचपछि, उनले मेरो विशिष्ट चिनियाँ रोगप्रतिरोधी क्षमताको प्रशंसा गरे, तर साथसाथै मेरो अन्त्य नजिकै छ भनी घोषणा पनि गरे, र यदि म युरोपेली भएको भए पाँच वर्षअघि नै चिहानमा पुगिसक्ने थिएँ भने ।
यद्यपि मैले उनको घोषणामा धेरै ध्यान त दिइनँ, तर यसले मलाई अलिकति प्रभावित भने पारेको छ। म आफ्नो पूरै समय उत्तानो परेर बिताउँछु, बोल्न वा पढ्नका लागि ऊर्जा छैन र पत्रपत्रिका समात्ने तागत पनि छैन। मेरो हृदय अझै ‘पुरानो कुवा जत्तिकै शान्त’ भैनसकेकाले म सोच्न बाध्य छु, र कहिलेकाहीँ मृत्युको बारेमा पनि सोच्ने गर्छु। तर ‘बीस वर्षपछि म फेरि एउटा बलियो तन्नेरी भएर आउनेछु’ भनेर सोच्नु वा देवदारको कफिनभित्र आफ्नो बसाइ कसरी लम्ब्याउने भनेर विचार गर्नुको सट्टा, मेरो मन मृत्युअघिका केही मसिना कुराहरूतिर मोडिन्छ। मानिसहरू भूत बन्छन् भन्ने कुरामा म विश्वास गर्दिनँ भन्ने कुरामा म अहिले आएर मात्र पूर्ण रूपमा पक्का भएको छु। मलाई इच्छापत्र लेख्ने विचार आयो, र मैले सोचेँ: यदि म विशाल सम्पत्ति भएको कुनै ठूलो सम्भ्रान्त व्यक्ति भएको भए, मेरा छोराहरू, ज्वाइँहरू र अरूहरूले मलाई धेरै पहिले नै इच्छापत्र लेख्न बाध्य पारिसक्ने थिए, जबकि मलाई कसैले यसबारे केही भनेको छैन। तैपनि, मैले एउटा इच्छापत्र छाडिदिनु नै उपयुक्त होला। मैले मेरो परिवारका लागि केही कुराहरू सोचेको जस्तो लाग्छ, जसमध्ये यी थिए:
१. अन्त्येष्टिका लागि कसैबाट एक पैसा पनि नलिनू। पुराना साथीहरूका हकमा भने यो लागू हुँदैन
२. सबै काम छिट्टै सक्नू, मलाई गाडिदिनू र कुरा टुंग्याइदिनू।
३. मेरो सम्झनामा कुनै स्मरण वा शोक सभा केही पनि नगर्नू।
४. मलाई बिर्सनु र आफ्नो जीवन जिउनू – यदि त्यसो गरेनौ भने, तिमीहरू अझ ठूला मूर्ख ठहरिनेछौ।
५. जब बच्चा ठूलो हुन्छ, उसमा कुनै विशेष प्रतिभा छैन भने जीवनयापनका लागि कुनै सानोतिनो काम गर्न दिनू। कुनै पनि हालतमा नाम मात्रको लेखक वा कलाकार बन्न नदिनू।
६. अरू मानिसहरूले गरेका वाचाहरूलाई गम्भीरतापूर्वक नलिनू।
७. अरूलाई चोट पुर्याउने तर बदला लिनु हुँदैन र सहनशीलता अपनाउनुपर्छ भनेर वकालत गर्ने मानिसहरूसँग कुनै सरोकार नराख्नू।
मलाई इच्छापत्र लेख्ने विचार आयो, र मैले सोचेँ: म विशाल सम्पत्ति भएको कुनै ठूलो सम्भ्रान्त व्यक्ति भएको भए, मेरा छोराहरू, ज्वाइँहरू र अरूहरूले मलाई धेरै पहिले नै इच्छापत्र लेख्न बाध्य पारिसक्ने थिए, जबकि मलाई कसैले यसबारे केही भनेको छैन।
त्यहाँ अरू कुराहरू पनि थिए, तर मैले ती बिर्सिसकेको छु। मलाई यो पनि याद छ कि ज्वरो आएको बेला मलाई कसरी सम्झना भयो कि जब कुनै युरोपेली मरिरहेको हुन्छ, त्यहाँ प्रायः एक प्रकारको समारोह हुन्छ जसमा उसले अरूसँग क्षमा माग्छ र अरूलाई क्षमा दिन्छ। अब मेरा धेरै शत्रुहरू छन्, र यदि कुनै आधुनिक विचार भएका व्यक्तिले मलाई यसबारे मेरो दृष्टिकोण सोधे भने मेरो उत्तर के हुनुपर्छ? केही सोचविचारपछि मैले निर्णय गरेँ: उनीहरूले मलाई घृणा गरिरहून्। म पनि उनीहरूमध्ये कसैलाई क्षमा दिने छैन।
तथापि, त्यस्तो कुनै समारोह भएन, र मैले इच्छापत्र पनि तयार पारिनँ। म केवल चुपचाप त्यहाँ ढल्किरहेँ, कहिलेकाहीँ एउटा अझ गम्भीर विचारले मलाई छोयो: मर्नु भनेको यही हो भने, यो वास्तवमै पीडादायी रहेनछ। निश्चय नै, अन्तिम क्षणमा अवस्था यस्तै नहुन पनि सक्छ; तर जे होस्, जीवनमा यो केवल एकपटक मात्र हुने कुरा हो, त्यसैले म यसलाई सहन सक्छु... तर पछि भने अवस्थामा सुधार आयो। अनि अहिले म सोचिरहेछु कि के यो वास्तवमै मर्नुअघिको अवस्था थियो: साँच्चिकै मरिरहेको मानिसको दिमागमा यस्ता विचारहरू नआउन पनि सक्छन्। यो कस्तो हुनेछ, त्यो भने मलाई अझै थाहा छैन।
सेप्टेम्बर ५, १९३६
स्रोत: सेलेक्टेड वर्क्स अफ लु शुन, खण्ड ४
अनुवाद: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । उचित तरिकाले स्रोत नखुलाइकन प्रकाशित गरिएमा बौद्धिक चोरी मानिनेछ ।–दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
प्रतिक्रिया