अतिक्रान्तिकारी
प्रसिद्ध भारतीय व्यङ्ग्यकार हरिशंकर परसाईका दुई चर्चित ब्यंग्यहरु
दिउँसो यो क्रान्तिकारी मार्क्स, लेनिन, माओका मन्त्रहरू याद गर्छ, राति साथीहरूसँग बसेर रक्सी पिउँछ र क्रान्तिकारी मन्त्र दोहोऱ्याउँछ । फेरि कुखुराको मासु यसरी खान्छ, मानौँ ऊ पूँजीवादलाई चिथोरिरहेछ ।
मेरो एक अतिक्रान्तिकारीसँग भेट भयो । एक बिचरा मामूली क्रान्तिकारी हुन्छ, जो फिल्डमा काम गर्छ । भोकभोकै रहन्छ । सुक्खा रोटी र प्याज झोलामा लिएर हिंड्छ, कुटाई खान्छ, जेल जान्छ । यो एक मामूली क्रान्तिकारी हो ।
एक अतिक्रान्तिकारी चाहिं हुन्छ विशिष्ट। ऊ दिनमा दाह्री 'ट्रिम' गराउँछ, कफी-हाउसमा बसेर कफी पिउँछ, कडा कफी । क्रान्ति एउटा कटमिरो चीज हो । कफीमा चिनी ढीका हालिएको छ भने, ऊ चम्चाले त्यसलाई निकालेर टेबुलमा राखिदिन्छ, जसमाथि झिंगाहरू भन्किन्छन् । चुरोटको ठूटो एष्ट्रेमा हैन, कफीको कपमा राख्छ । चुरोटलाई यसरी रीसले किचिमिची पारेर निभाउँछ, मानौं बुर्जुवाको घाँटी निमोठ्दैछ । दिउँसो यो क्रान्तिकारी मार्क्स, लेनिन, माओका मन्त्रहरू याद गर्छ । राति साथीहरूसँग बसेर रक्सी पिउँछ र क्रान्तिकारी मन्त्र दोहोऱ्याउँछ । फेरि कुखुराको मासु यसरी खान्छ, मानौं, ऊ पूँजीवादलाई चिथोरिरहेछ ।
मेरो जुन क्रान्तिकारीसँग भेट भयो, त्यो भने अर्कै प्रकारको विशिष्ट व्यक्ति थियो । दाह्री निकै मिहिनेतसँग सजाइएको थियो, सुकिलो खालको कुर्ता-पाइजामा । झोला पनि उत्तम । सुनौलो फ्रेमको चश्मा ।
क्रान्तिकारीको स्थानीय मित्रले परिचय दियो- 'उहाँ सी.पी.आई. (एम.एल) का उत्तर प्रदेश सेक्रेटरी हुनुहुन्छ ।' मैले सोधें- 'एम.एल. का त थुप्रै गुटहरू छन् । थुप्रै लाइनहरू छन् । तपाई कुन गुटको हुनुहुन्छ- सत्येन्द्र नारायण सिंहको या खोकान मजुमदारको ? अथवा तपाई नेगीसँग हुनुहुन्छ ? लिन पियाओ लाइन अझै पनि मान्दै हुनुहुन्छ कि-तेङ सियो पिंगको कुनै नयाँ लाइन ? सि.पी.आई. (एम.एल.) को एउटा गुट त सी.आई.ए. ले पनि बनाइराखेको छ । क्रान्तिको यत्रो ठूलो कारोबार भइरहेछ र त्यस कारोबारमा सी.आई.ए. को शेयर नलागेको होस्, यो त असम्भव छ ।'
प्रश्न र रिमार्क मैले एकै पटक गरिहालें । कुराकानीको क्रममा यिनीहरू आए ।
सामाजिक साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको बीचमा साँठगाँठ छ । दुबै मिलेर बाँकी संसारमाथि करूजा गरिरहेका छन् । यिनीहरूका बीचमा हामी अन्तर्विरोध बढाउने छौँ ।
उनको भनाइ थियो- उनको पार्टी यी सबभन्दा अलग्गै छ । सी.पी.आई. (एम.एल) का जति पनि अरु गुटहरू छन्, ती सबै भ्रष्ट विचारधारा अपनाउँछन् । हामी भने मार्क्सवाद-लेनिनवादलाई सही अर्थमा ग्रहण गर्दछौं । त्यसपछि उनले त्यो मन्त्र मुखबाट निकाले र त्यो वक्तव्य दिए, जसबाट हामी राम्ररी नै परिचित छौं- सामाजिक साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको बीचमा साँठगाँठ छ । दुबै मिलेर बाँकी संसारमाथि करूजा गरिरहेका छन् । यिनीहरूका बीचमा हामी अन्तर्विरोध बढाउने छौँ । अफगानिस्तानको मामलामा यही अन्तर्विरोध प्रकट भइरहेको छ । सामाजिक साम्राज्यवाद रूस अफगानिस्तानमाथि कब्जा गर्न चाहन्छ । हामी अमेरिकाको मद्दतले यसको विरोध गरिरहेका छौं । रूसी साम्राज्यवाद नै पहिलो शत्रु हो- इनेमी नम्बर वान ! फिडेल क्यास्त्रो उता रूसी साम्राज्यवादको एजेन्ट हो । यता भियतनामको फामवान डोंग एजेन्ट हो ।
अनि कमरेड, आफ्नो देशको बारेमा पनि त केही सोच्ने गर्नु भएको होला नि ?
देशको बारेमा के सोच्नु छ र ? भारतीय एकाधिकार पूँजीपतिहरू र रूसी साम्राज्यवादहरूले मिलेर इन्दिरा कांग्रेसको सरकार बनाइदिएका छन् । यो सरकारलाई हतियार-बन्द संघर्षद्वारा ढलाउनु छ । सशस्त्र वर्ग-संघर्ष ।
यी अकाल राहत कार्यहरू के हुन् ?
अनि कमरेड, जो मानिसहरू तिर्खाले मरिरहेका छन्, उनीहरूलाई पानी पिलाउनाले के क्रान्ति पछाडि हट्छ ? त्यसो भए पानी बन्द गरिदिनुबाट के क्रान्ति नजिक आउँछ ?
इन्दिरा गान्धीको छवि राम्रो बनाएर उसको पकड बलियो पार्नको निम्ति हुन् यी कामहरू । ज्योति बसु पनि राहत कार्य सुरु गरेर प्रतिक्रान्तिकारीहरूलाई साथ दिइरहेको छ ।
अनि कमरेड, जो मानिसहरू तिर्खाले मरिरहेका छन्, उनीहरूलाई पानी पिलाउनाले के क्रान्ति पछाडि हट्छ ? त्यसो भए पानी बन्द गरिदिनुबाट के क्रान्ति नजिक आउँछ ? मानिसहरू प्यासले मर्नु के ठीक हुन्छ ?
रिभोल्युसन गर्नु छ भने मान्छे मर्नुको के चिन्ता ?
त्यसो भए कमरेड, यदि पाँच लाख मानिसहरू फोहर पानी पिएर हैजाद्वारा मरे भने के क्रान्ति हुन्छ ? के हैजाको रोगबाट पनि क्रान्ति हुन्छ ?
यी कुराकानीहरू पनि एकै पटक भएनन्, बिस्तारै बिस्तारै हुँदै गए ।
क्रान्तिकारीले कृषिशास्त्रमा एम.एस्सी तीन चार वर्ष अगाडि गरेका थिए । बाबु लोक-कर्म विभागमा अफिसर थिए । रिटायर भएका छन् । उनीसँग डेढ सय एकड जमीन छ । युवा क्रान्तिकारी फार्म चलाउँछन् ।
मैले सोधें- कमरेड, तपाईंको फार्ममा खेत-मजदुरहरू त होलान् नै । उनीहरूलाई तपाई न्यूनतम मजदूरी कति दिनुहुन्छ ?
'मलाई याह छैन । हिसाब पिताजीले हेर्ने गर्नु भएको छ ।'
कामरेड, खेत-मजदुरहरूबाट काम चाहिँ तपाई लिनुहुन्छ र मजदूरी दिने काम चाहिँ पिताजीलाई छोडिदिनु हुन्छ । तपाईका पिताजीले न्यूनतम ज्याला दिनु हुन्न होला, यो पक्का छ । तर के तपाई आफ्ना बाबुबाट मजदूरहरूलाई न्यूनतम ज्याला दिलाउनु हुन्न ? त्यसो भए मार्क्सवाद-लेनिनवादको हिसाबले त क्रान्तिको निम्ति सधैं अरुहरुका बाबुहरूका खोज गर्नुपर्ने भयो । आफ्नो बाबुलाई मजदूरहरूको रगत चुस्ने सुविधा दिइन्छ क्रान्तिमा । त्यो रगतको एक हिस्सा क्रान्तिकारी छोरोले पनि पिउँछ र ऊ सर्वहाराहरूको नेतृत्व गर्न अगाडि बढ्छ ।
यी क्रान्तिकारी आफ्नो पार्टीको संगठन वा प्रचारको कामले गर्दा यहाँ आएका थिएनन् । धेरै वर्ष पहिले अमेरिकी सहयोगद्वारा खुलेको कृषि विश्वविद्यालय मार्फत अमेरिकामा "फेलोशिप" प्राप्त गर्ने कोशिस गर्न आएका थिए ।
जवानीमा जसरी राम्रा लुगाहरु, राम्रा जुत्ताहरु, राम्रो टाइको शोख हुने गर्छ, त्यसरी नै सम्पन्न घरहरूका केही युवकहरूलाई क्रान्तिको शोख हुने गर्छ । क्रान्तिकारितालाई उनीहरू एक थप राम्रो सूट, एक थप राम्रो टाई, एक थप राम्रो जुत्ता ठान्दछन् ।
क्रान्तिकारीको यो नयाँ नस्ल नयाँ होइन, पहिले पहिले पनि यो नस्ल थियो । अहिले यो बढेको छ । कैयौँ वर्षदेखि म देखिरहेको छु । यिनीहरू राम्रो जागिर पाउँदा घूस खुवाएर पुलिस रिपोर्ट ठीक गराउँछन् । राम्रो धन्दा जम्यो भने मार्क्सवादको ठाउँमा दुई नम्बरी दर्शनको अध्ययन गर्छन् । जवानीमा जसरी राम्रा लुगाहरु, राम्रा जुत्ताहरु, राम्रो टाइको शोख हुने गर्छ, त्यसरी नै सम्पन्न घरहरूका केही युवकहरूलाई क्रान्तिको शोख हुने गर्छ । क्रान्तिकारितालाई उनीहरू एक थप राम्रो सूट, एक थप राम्रो टाई, एक थप राम्रो जुत्ता ठान्दछन् । यसबाट शोभा बढ्छ । प्रतिष्ठा बढ्छ । क्रान्तिकारिता नयाँ फेशन हो । केही दिन यी क्रान्तिकारीहरू 'हिरो' बनेर उफ्रिन्छन् ।
म केही क्रान्तिकारीहरूलाई चिन्दछु, जसको बाँकी जिन्दगी यो प्रचारलाई पखाल्नमा बित्ने गर्छ कि- उनीहरू कम्युनिष्ट थिए । क्रान्तिकारिता, जसलाई उनीहरूले कुनै समय ढोकामा माला जस्तै गरी सजाएका थिए, अब खुट्टामा काँडा जस्तै गरी बिझ्न थाल्छ । उनीहरू त्यसलाई नष्ट गरिदिन चाहन्छन् । उनीहरू अखबारहरूमा समय-समयमा बयान छाप्ने गर्छन्- कि यो 'दुष्ट प्रचार' हो कि- म कम्युनिष्ट हूँ । म कहिल्यै पनि कम्युनिष्ट थिइनँ । यस्तो उनीहरू जागिरमा सुरक्षा र बढुवाको निम्ति गर्ने गर्छन् ।
एउटा विश्वविद्यालय छ, जसको बारेमा प्रचार हुने गरेको छ- त्यहाँ वामपन्थीहरू भरिएका छन् । त्यहाँ खुबै आन्दोलनहरू हुने गर्छन् । भनिन्छ, त्यहाँ उद्योगपतिहरू पनि थुप्रै छन् । धेरै पोस्टरहरू टाँसिन्छन् । प्रचार साहित्य वितरण गरिन्छन् । बहसहरू हुन्छन् ।
मैले एक वरिष्ठ अध्यापकलाई भनें- 'तपाईको विश्वविद्यालय त वामपन्थीको गढ नै हो । वामपन्थी दलहरूलाई तपाईको विश्वविद्यालयबाट निकै नै कार्यकर्ताहरू प्राप्त हुने गर्छन् होला ।'

‘वामपन्थी भनिने यो विश्वविद्यालय वास्तवमा सम्पन्नहरूको हो । राम्रो खान्छन्, पिउँछन्, लगाउँछन्, बहस ऐयासी गर्छन् । नाराहरू त यिनीहरूका लागि मनोरञ्जन हुन् । क्रान्तिकारिता थप एक बोतल स्कच हो । यिनीहरूमध्ये जो खास क्रान्तिकारी हुन्छन्, उनीहरू फेलोशिप लिएर अमेरिका जान्छन् अथवा कुनै बहुराष्ट्रिय कम्पनीमा जान्छन् ।'
उनले भने- 'हो यहाँ सी.पी.आई., सी.पी.आई. (एम) का पनि ज्यादा छन् । अति उग्रवादी वामपन्थीहरू पनि छन् तर वामपन्थी दलहरूलाई ज्यादै थोरै कार्यकर्ता प्राप्त हुन्छन् । अधिकांश केटाहरू उच्च वर्गका छन्, सम्पन्न घरहरूका छन् । वामपन्थी भनिने यो विश्वविद्यालय वास्तवमा सम्पन्नहरूको हो । राम्रो खान्छन्, पिउँछन्, लगाउँछन्, बहस ऐयासी गर्छन् । नाराहरू त यिनीहरूका लागि मनोरञ्जन हुन् । क्रान्तिकारिता थप एक बोतल स्कच हो । यिनीहरूमध्ये जो खास क्रान्तिकारी हुन्छन्, उनीहरू फेलोशिप लिएर अमेरिका जान्छन् अथवा कुनै बहुराष्ट्रिय कम्पनीमा जान्छन् ।'
वामपन्थी रूप धारण गरेर क्रान्तिकारिताको नाटक गर्नु नै यी युवकहरूको भाउ बढ्छ बजारमा । उनीहरू आफ्नो खरिददारलाई चिन्दछन् । उसलाई यिनीहरू मालको 'क्वालिटी' देखाउँछन् । क्रान्तिकारिताको पानीमा जुन माछाहरू ज्यादा उफ्रिन्छन् र उफ्रिन्छन्, तिनलाई अमेरिकी बकुल्लाले त्यति नै फुर्तिसाथ पक्रिन्छ ।
काशीनाथ सिंहको एउटा साह्रै राम्रो कथा छ- यस्तै झूठो क्रान्तिकारी सम्बन्धी ।
कारमा झट्का लाग्छ । उसकी पत्नी सहाराको निम्ति काँधमा हात राख्छे । क्रान्तिकारी ती हातहरूलाई पन्छाएर भन्छ- यो काँध बन्दुकको उपयोग निम्ति हो, स्त्रीको हात राख्नको निम्ति हैन ।
'क्रान्तिकारी कामरेड साथीहरूसँग बसेर गुरिल्ला युद्धको योजनाहरू बनाउँछ । फिडेल क्यास्त्रो, चे ग्वेभारा, माओ, हो चि मिन्हको नाम जप्छ । यस्तैमा कामरेडको बिहे गराइन्छ र उ बिहे गर्छ । कारमा आफ्नो दुलहीलाई लिएर आइरहेको हुन्छ । त्यतिखेर पनि ऊ सोच चाहिँ क्रान्तिकै गरिरहेको हुन्छ । नारी उसको निम्ति अर्थहीन हो । उसले क्रान्तिलाई वरण गरेको छ । यत्तिकैमा बाटोमा पहाड भेटिन्छ । ऊ भन्छ- गुरिल्ला युद्धको निम्ति यो ठाउँ राम्रो छ । कारमा झट्का लाग्छ । उसकी पत्नी सहाराको निम्ति काँधमा हात राख्छे । क्रान्तिकारी ती हातहरूलाई पन्छाएर भन्छ- यो काँध बन्दुकको उपयोग निम्ति हो, स्त्रीको हात राख्नको निम्ति हैन ।
यसपछि यो क्रान्तिकारी आफ्नो चोर सामन्तवादी ससुराबाट आफ्नो राजनैतिक प्रभावको उपयोग गरेर भाइलाई जागिर दिलाउँछ । बहिनीको घरबाट पनि लाभ लिन्छ । सम्झौताहरू प्रस्तुत गर्छ । फाइदाहरू उठाउँछ । हाँ- हु गर्छ । तर उसले आफ्नो 'क्रान्तिको ढाँचा' भने कायमै राखेको छ ।
एक पटक ऊ बहिनीको घर जान्छ । त्यो घर पनि सामन्ती परिवार नै हो । त्यहाँ कसैले भनिदिन्छ- साना मालिक पनि क्रान्तिकारी हुन् । राति आँगनमा ऊ र उसको बहिनीको देवर सुतिरहेका हुन्छन् । क्रान्तिकारी उक्त युवकसँग क्रान्तिको कुरा गरिरहेको हुन्छ । वर्ग युद्धको योजनामाथि चर्चा गरिरहेको हुन्छ । गुरिल्ला युद्धको रणनीति तय गरिरहेको हुन्छ- ज्यादै नै रात परिसकेको हुन्छ, तब त्यो केटो झर्किंदै बोल्छ- "भाइ साहेब ! अब ज्यादा बोर नगर्नुस् । तपाई पनि सुत्नुस् र मलाई पनि सुत्न दिनुस् ।"

संसद् र मन्त्रीको जुँगा
संसद्को कारवाहीलाई लिएर पटक पटक यो कुरा उठाइने गरिन्छ कि प्रतिदिन संसद्को निम्ति कति खर्च हुने गर्छ ? प्रतिमिनेट कति रुपियाँ लाग्छ ? हरेक प्रश्नमाथि कति खर्च लाग्छ ?
यी प्रश्नहरू आफै बेइमानीपूर्ण छन् । संसद् कसैसंग पनि पैसा माग्न जाँदैन । यो त आफैँ बजेट पास गर्छ । जसले बजेट पास गर्छ, उसलाई जति चाहे पनि खर्च गर्ने हक छ ।
संसद्को महँगो समय कसरी मज्जाले बिलसक्छ, म यसको एक उदाहरण दिइरहेको छु ।
सदनमा कानेखुसी भयो र एक जना जनसंघी सदस्यले संसद्को कारवाही रोक्दै भने- 'अध्यक्ष महोदय, नन्दाजीको जुँगा आज छैन । हामी जान्न चाहन्छौँ कि उहाँको जुँगालाई के भयो ?
एक दिन गुलजारीलाल नन्दा (रेलमन्त्री) जब सदनमा पसे, सदस्यहरूले देखे- उनको जुँगा सफाचट छ । नन्दाजीको गठिलो शरीरमा जुँगा खुब सुहाउँछ । यसले गर्दा उनी रेल मन्त्री भएर पनि सुरक्षा मन्त्री जस्ता लाग्छन् ।
सदनमा कानेखुसी भयो र एक जना जनसंघी सदस्यले संसद्को कारवाही रोक्दै भने- 'अध्यक्ष महोदय, नन्दाजीको जुँगा आज छैन । हामी जान्न चाहन्छौँ कि उहाँको जुँगालाई के भयो ? के उहाँले आफैँ जुँगा खोर्नु भयो या अरु कसैले खौरिदियो ?'
अर्का जनसंघी- 'यो साधारण घटना होइन । यो मन्त्रीमण्डलमा नन्दाजीको मात्र जुँगा थियो ।'
सत्ता-कांग्रेसी- 'यो कुरा गलत छ । जगजीवनरामको पनि जुँगा छ ।'
जनसंघी- 'हामी जगजीवनरामको जुँगालाई जुँगा मान्दैनौँ ।'
सत्ता कांग्रेसी- 'तिमीहरूले मान्नु पर्छ । हामी हाम्रा अध्यक्षको जुँगालाई जुँगा नै नमान्ने साम्प्रदायिक प्रतिक्रियावादीहरूको यस धाँधलीलाई चल्न दिँदैनौँ । हामी हरेक मोर्चाहरूमा प्रतिक्रियावादीहरूसँग मुकाबला गर्न तयार छौँ, चाहे त्यो जुँगाको मोर्चा नै किन नहोस् ।'
जनसंघी- 'यो मामला साधारण छैन । नन्दाजी साधारण मन्त्री हुनुहुन्न । हाम्रो गोरक्षा आन्दोलनको समयमा उहाँ नै गृहमन्त्री हुनुहुन्थ्यो । फेरि उहाँ दुई पटक दुई प्रधानमन्त्रीहरूका बीचका दिनहरूमा प्रधानमन्त्री रहनु भयो । उहाँको जुँगा देशको जुँगा हो । साथै, भारतीय संस्कृतिमा जुँगा उत्तम पुरुषको मानिन्छ ।'
द्रमुक सदस्य- 'यो कुरो गलत हो । राम र कृष्णका जुँगाहरू थिएनन् । कुनै पनि फोटो उठाएर हेर्नुहोस् । यहाँ उत्तर भारतको यो साम्राज्यवाद चल्न पाउने छैन ।'
हामीलाई पक्का जानकारी छ कि- कम्युनिष्टहरूको दबाबमा आएर नन्दाजीले जुँगा साफ पार्नु भएको हो ।
संगठन-कांग्रेसी- 'अविभाजित कांग्रेस गएको भए र हामी त्यसमा भएको भए हामी यस्तो हुन दिन्नथ्यौँ । यो त अनुशासनहीनताको हदै भयो कि- दलको कार्यकारिणीमा निर्णय नहुँदै कुनै मन्त्रीले जुँगा खौरोस् । हामीलाई पक्का जानकारी छ कि- कम्युनिष्टहरूको दबाबमा आएर नन्दाजीले जुँगा साफ पार्नु भएको हो । हाम्रो पार्टीको एक सदस्यले आज बिहानै भूपेश गुप्तालाई नन्दाजीको जुँगामा छुरा चलाउँदै गरेको देखे ।'
साम्यवादी- 'यो कुरा गलत हो । हामी यो सरकारलाई फगत कार्यक्रमको आधारमा समर्थन दिन्छौँ र उक्त कार्यक्रममा नन्दाजीको जुँगाको उल्लेख छैन । न हाम्रो कांग्रेसको जुँगाको हिफाजत गर्नु हो, न त्यसलाई काट्नु नै । यो सारा षड्यन्त्र सी.आई.ए. को हो । जबदेखि दिल्ली प्रशासन जनसंघको हातमा आएको छ, तबदेखि नै राजधानीमा थुप्रै सी.आई.ए.का एजेण्ट हुन पुगेका छन् । यसकारण भूपेश गुप्त कलकत्तामा दाह्री काट्छन् र हामी भने केरलामा ।'
प्रसोपा सदस्य- 'हामी पनि यो मामलामा केही बोल्ने थियौँ, तर यतिखेर हाम्रो सत्ता-कांग्रेससँग सम्झौता वार्ता चलिरहेको छ ।'
संसोपा सदस्य- 'तिमीहरू त इन्दिराका खुट्टाका जुत्ता हौ ।'
'के यो साँचो हो कि नन्दाजीको जुँगा त्यो मुगलसरायवाला साधुले खौरिदिएको हो, जसलाई भ्रष्टाचार रोक्ने काममा लगाई राखिएको छ ?
प्रसोपा सदस्य- 'शट् अप् !'
भाक्रा सदस्य- 'के यो साँचो हो कि नन्दाजीको जुँगा त्यो मुगलसरायवाला साधुले खौरिदिएको हो, जसलाई भ्रष्टाचार रोक्ने काममा लगाई राखिएको छ ? यदि यो कुरा साँचो हो भने त यो चिन्ताको विषय हो । जो साधु रेलमन्त्रीको जुँगा काट्छ, उसले त इञ्जिन पनि गायब गर्नसक्छ ।'
मार्क्सवादी-'संशोधनवादीहरूसँग सम्झौता गछौँ भने जुँगाहरू त बाँकी रहँदैनन् नै । जुन दिन केरलामा यिनीहरूको मोर्चा बनेको थियो, त्यही दिन हामीले भविष्यवाणी गरिदिएका थियौँ कि- एक दिन नन्दाजीको जुँगा खत्तम हुनेछ ।'
अध्यक्षले अब नन्दाजीतर्फ हेरे ।
नन्दाजी उठ्नु भयो र उहाँले वक्तव्य दिनुभयो- 'म केवल यति जान्दछु कि- बिहान मैले दाह्री काटें, नुहाएँ र खाएर लोकसभामा आएँ । जुँगा छ या छैन, यो पनि म भन्न सक्दिनँ । सरकारले यसको जाँच गर्नेछ ।'
म एउटा जाँच समिति गठन गर्दैछु भनिरहेको छु, जसले यो जाँच गर्नेछ कि- पहिले मेरो जुँगा थियो कि थिएन । यदि थियो भने अब छ कि छैन ? यदि छैन भने, किन छैन ?'
धेरै सदस्यहरू- 'तथ्य के हो जान्ने हक सदनलाई छ ।'
नन्दा- 'त्यसैले त म एउटा जाँच समिति गठन गर्दैछु भनिरहेको छु, जसले यो जाँच गर्नेछ कि- पहिले मेरो जुँगा थियो कि थिएन । यदि थियो भने अब छ कि छैन ? यदि छैन भने, किन छैन ?'
धेरै सदस्यहरू- 'कमिटीले जाँच गरुञ्जेल त जुँगा फेरि बढ्नेछ । अहिले नै सदनमा यसको फैसला हुनुपर्दछ ।'
अब प्रधानमन्त्रीले हस्तक्षेप गरे- 'जब उहाँ जाँच कमिटी गठन गरिरहेको कुरा भन्दै हुनुहुन्छ, तब त सदस्यहरूले सन्तुष्ट हुनुपर्दछ । सरकार कुनै तथ्यमाथि पनि पर्दा हाल्न चाहँदैन ।'
एक सदस्य- 'यसको न्यायिक जाँच हुनुपर्छ ।'
प्रधानमन्त्री- 'ठीक छ, न्यायिक जाँच हुनेछ । न्यायाधीश खोसला अहिले फुर्सदमा छैनन् । उनले नेताजीको मृत्युको जाँच सकून्, त्यसपछि नन्दाजीको जुँगाको मामला उनलाई सुम्पिइनेछ ।'
एक संसोपा सदस्य- धिक्कार छ ! यो 'राष्ट्रिय शरम'को सरकार हो । इन्दिरा गान्धीको मन्त्रीमण्डलमा सामेल हुनेहरूको कुनै खैर छैन । इन्दिरा हटाउ, देश बचाउ !'
अर्को संसोपा सदस्य- 'हैन, पुनामा नारा बदलिएको छ ।- 'इन्दिरा हराऊ, देश बचाऊ ।'
पहिलो संसोपा सदस्य- 'चुप लाग् ए राजनारायणको बच्चा !'
दोश्रो संसोपा सदस्य- " तैं चुप लांग जोशीको रखौटी ।"
पहिलो संसोपा सदस्य- 'थू- थू !'
दोश्रो संसोपा सदस्य - 'थू- थू !'
अध्यक्ष- 'माननीय सदस्यहरू सदन छोड्नुस् !'
'म आदेश दिन्छु, दुवै सदस्यहरू सदनबाट बाहिर जानुस्, यो के तमाशा हो ?
दुबै- 'हामी निस्कँदैनौँ । हामी सीटमुनि घुस्छौँ । हामी कुर्सीको खुट्टामा टाँसिन्छौँ ।'
अध्यक्ष- 'म आदेश दिन्छु, दुवै सदस्यहरू सदनबाट बाहिर जानुस्, यो के तमाशा हो ? जब म स्पीकर बनेको छु, मेरो दिमाग यति बिग्रियो कि- म पत्नीको प्रेमपूर्ण कुरा सुन्दा पनि 'अर्डर अर्डर' भनेर चिच्याउँछु ।'
अध्यक्ष मार्शललाई आदेश दिन्छन् ।
दुवै संसोपा सदस्य सीटमुनि घुस्दछन् । मार्शलले उनीहरूलाई उचालेर बाहिर लैजान बीस मिनेट लाग्छ । पूरा महागठबन्धनले वाकआउट गर्छ ।
सदनको एक घण्टा खतम हुन्छ ।

मूल्यांकन मासिक,२०५२ असोज
प्रतिक्रिया