उत्तर-आधुनिक कवि र कविता

एआइको सहयोगमा तयार चित्र

"उफ् … छिः पुराना सिद्धान्तहरु

यी रितिरिवाज र चालचलनहरु

भत्काइदिन्छु यी मूल्य र मान्यताहरु

टुटाइदिन्छु यी जोडिएका सम्बन्ध र बन्धनहरु

'आइ हेट' अनुभवका श्रृङ्खलाहरु

र 'आइ डोन्ट लाइक' विवेकका आधारस्तम्भहरु

'द्‍याट्स ह्वाइ‚ आइ डिस्लाइक दिज पिपुल'

'आइ रियल्ली हेट एभ्रिथिङ'"

गुजुल्टिएर झ्याङ्गिएको‚ नकोरेको कपाल

आँखामा कालो चस्मा

जिउमा टपक्क टाँसिएको भेष्ट‚ खुला व्हार्लाङ परेको सेतो कमिज

सुराहीको घाँटिजस्तो साँघुरिएको कालो पाइन्ट

र निलो क्यानभास जुत्ता लगाएको युवाले

कलेजको 'फेयरवेल' कार्यक्रममा कविता वाचन गरेपछि

तल बसेका युवाहरुले परररर्ऽऽ ताली बजाए

कविता लेखेकोसम्म हो युवा कविले

त्यो के थियो र किन लेखियो थाहा थिएन कविलाई

कलेजको कार्यक्रममा कविता पढिएको सम्म हो

त्यो किन र केका लागि पढियो मतलब थिएन भीडहरुलाई   

 

हातमा मोबाइल‚ ढाडमा ल्यापटप

कलेजको क्यान्टिन‚ 'क्यूआर कोड' र 'फ्रि वाइफाइ'

'टिचर'ले दिएको 'पावरप्वाइन्टस्' र 'प्रोजेक्ट वर्क्स'

देखावटी परीक्षा र 'डिस्टिङ्सन'मा पास

आँखामा कालो चस्मा र अलमलिएको भविष्य

समग्रमा त्यत्ति थियो कलेजको पढाइ

 

विवादास्पद अभिव्यक्ति दिएर

'भाइरल' बन्न सक्ने खुबि भएका

लचकदार समालोचकले

'फेयरवेल' कार्यक्रमको त्यही मञ्चबाट घोषणा गरे-

"उत्तर-आधुनिकताको प्रतिनिधित्व गर्ने एक सशक्त कविता

र एक उदियमान 'डिसरप्टिभ' युवा कविको जन्म

आज यसै मञ्चबाट भएको छ"

र कलेजले दिएको खाम पट्याएर कोटको गोजीभित्र हाल्दै

कलेजकै भ्यान चढेर बाहिरिए

देशभित्र काम थिएन र छैन

त्यत्तिकै घर फर्कनुको कुनै अर्थ थिएन र छैन

उद्देश्य र भविष्य दुबैको कुनै निश्चित थिएन र छैन

एक उदियमान 'डिसरप्टिभ' युवा कवि

उत्तर-आधुनिकताको प्रतिनिधित्व गर्ने

एक सशक्त कविता सुनाएर कलेजको ठूलो गेटबाट बाहिरियो

चारैतिर विशाल‚ खुल्ला‚ डरलाग्दो

अनि माथितिर धमिलो आकाश देख्यो

'गुगलम्याप' खोल्यो

आफ्नो 'लोकेसन' मात्र भेट्यायो

'डेस्टिनेसन' 'लोकेट' गर्नै सकेन

ऊ उत्तर-आधुनिक समाजभित्र वास्तवमै हरायो

उसको शिक्षा र भविष्य वास्तवमा 'एआई' ले नै खायो

ऊ 'लोकेसन' मै थचक्क बस्यो

त्यहीँबाट कलेजका 'प्रिन्सिपल'

'लेटेस्ट' सेतो 'बिवाइडी' गाडी चढेर बाहिरिए

त्यहीँबाट कलेजका 'डीआई'

'रोयल एनफिल्ड' बाइक चढेर निस्किए

यस्तै हो- पुँजीवाद‚ खुला बजार र असीमित अवसरहरु

यस्तै हो- नवप्रवर्तन‚ आधुनिक प्रविधि र युवाहरुको भविष्य

 

चिन्तित परिवारका कुनै सदस्यले उसलाई

मध्यरातमा 'लोकेसन'बाटै उठाएर घर लगे

एकातिर समाजिक सञ्जाल‚ समाचार

र तथाकथित विश्लेषकहरुले फैलाउने गरेका

'डिप्रेसन' अनि आत्महत्याका भ्रामक जानकारीहरु

अर्कोतिर सीप विनाको शिक्षा‚ रोजगारी विनाको 'ग्रेजुएसन'

र आसाबिनाका भविष्य

 

यतिखेर वास्तवमा हामी खोजिरहेछौं-

अलिकति सीप‚ केही काम

र सुन्दर भविष्यप्रतिका धेरै आसाहरु बाँड्न सक्ने

एक तेजिलो र प्रभावशाली 'मोटिभेसनल स्पिकर' ।

***

२०८३ भाद्र १

डा. राजेन्द्रप्रसाद अधिकारी

निर्माण व्यवस्थापन विज्ञ डा. अधिकारी मूलतः कवि हुन् र साहित्यका अरु विधामा पनि कलम चलाउने गर्छन्। उनी पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य-सचिव एवम् पूर्व अध्यक्ष हुन्।