ब्राजिलको निर्वाचन: लुला, बोल्सोनारो र भविष्यका लागि संघर्ष

यो साता ब्राजिलको राष्ट्रपतीय अभियानको सुरुवात भएको छ, जसमा दुई प्रमुख दाबेदार—वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारोले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेका छन्। ब्राजिलको भ्रमण गरेर राजनीतिज्ञ, अधिकारकर्मी, पत्रकार र साधारण नागरिकहरूसँग कुराकानी गरेपछि, ब्राजिलको पछिल्लो इतिहासमा यो सबैभन्दा महत्वपूर्ण राष्ट्रपतीय निर्वाचनमध्ये एक हो भन्ने कुरामा मेरो विश्वास दृढ भएको छ। अक्टोबर ४ को नतिजाले ब्राजिलको भविष्यलाई मात्र होइन, ल्याटिन अमेरिकाको राजनीतिक दिशालाई पनि आकार दिनेछ।

हाल ८० वर्ष पुगेका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेका छन् । ब्राजिलको संविधानले राष्ट्रपतिहरूलाई लगातार दुई कार्यकाल मात्र सेवा गर्न अनुमति दिन्छ, तर कम्तीमा एक कार्यकाल बाहिर बसेपछि उनीहरू फेरी उम्मेदवार बन्न सक्छन्। यसै नियमअनुसार लुला सन् २००३ देखि २०१० सम्म शासन गरेपछि २०२३ मा पुनः सत्तामा फर्केका हुन् ।

चरम दक्षिणपन्थी जाइर बोल्सोनारोको चार वर्षे राष्ट्रपतिकाल पछि, लुलाका समर्थकहरूका अनुसार उनले  बोल्सोनारोको पालामा कमजोर पारिएका धेरै संस्थाहरू र नीतिहरूको पुनर्निर्माण गरेका छन्। उनको सरकारले भुखमरी घटाएको छ, सामाजिक कार्यक्रमहरूको विस्तार गरेको छ, अमेजनका लागि वातावरणीय संरक्षणलाई मजबुत बनाएको छ, र वासिङ्टनको आदेशको अन्धाधुन्ध पालना गर्नुको सट्टा थप स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको छ। ब्राजिलले ग्लोबल साउथमा एक महत्वपूर्ण शक्तिको रूपमा आफ्नो उपस्थिति पुनः स्थापित गरेको छ, जसले बहुध्रुवीय विश्वको वकालत गर्दै अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका देशहरूसँगको सम्बन्धलाई बलियो बनाएको छ।

यद्यपि लुला अझै पनि लोकप्रिय छन् र निर्वाचन जित्ने राम्रो सम्भावना छ, तर सुस्त आर्थिक वृद्धि, अपराधप्रति निरन्तरको चिन्ता र वर्षौंको तीो ध्रुवीकरणपछिको राजनीतिक थकानका कारण धेरै ब्राजिलियनहरू निराश छन्। उनका अति कटु आलोचकहरू भन्छन् कि लुला एक भ्रष्ट वामपन्थी राजनीतिज्ञ हुन् जो धेरै लामो समयदेखि सार्वजनिक जीवनमा टिकिरहेका छन्।

लुलाका वामपन्थी खेमामा पनि आलोचकहरू छन्, जसले उनलाई अति मध्यमार्गी भएको आरोप लगाएका छन्। उनीहरूले चुनावी वाचा पूरा गर्न उनको असमर्थता, उनको प्रशासन कालको कडा आर्थिक मितव्ययिता उपायहरू, निजीकरणलाई बढावा दिने नीतिहरू, र बोल्सोनारोका पालाका केही प्रतिगामी नीतिहरू उल्ट्याउन उनले  देखाएको अनिच्छालाई औँल्याएका छन्। उनीहरूले भूमि सुधारको मामिलामा निकै ढिलो गतिमा काम गरेको तथा शक्तिशाली कृषि व्यवसाय र खनिज इन्धन हितहरूको पक्षपोषण गरेको भन्दै उनको आलोचना गरेका छन्। केहीले त दशकौँ लामो अमेरिकी नाकाबन्दीको मारमा परेको क्युवालाई तेल पठाउनेलगायत ल्याटिन अमेरिकामा अमेरिकी प्रभावलाई चुनौती दिन अझै दृढ कदम चाल्न उनलाई आग्रह गरेका छन्।

यी आलोचनाहरूको बाबजुद पनि, ब्राजिलका अधिकांश प्रगतिशील आन्दोलनहरू लुलाको पछाडि एकजुट छन्। उनको सरकारसँग जस्तोसुकै असन्तुष्टि भए पनि, उनीहरू अति दक्षिणपन्थीहरूलाई पराजित गर्नुलाई नै पहिलो प्राथमिकता ठान्छन्। ब्राजिलको अति दक्षिणपन्थी शक्ति एक दशक अघिको तुलनामा अझ बलियो, राम्रो संगठित र गहिरो जरा गाडिएको छ भन्ने उनीहरूले बुझेका छन्। लुलाको यो सतर्क दृष्टिकोण राजनीतिक व्यावहारिकतातर्फ मात्र लक्षित नभई हिंसाको माध्यमबाट लोकतान्त्रिक संस्थालाई चुनौती दिन तयार रहेका शक्तिहरूलाई अनावश्यक रूपमा नचिढ्याउने चाहनाबाट प्रेरित छ भन्ने उनीहरूको विश्वास छ।

सन् २०२२ को निर्वाचनमा लुला विजयी भएको कुरालाई राष्ट्रपति जइर बोल्सोनारोको नेतृत्वमा दक्षिणपन्थीहरूले स्वीकार गर्न अस्वीकार गरेपछि यो कुरा स्पष्ट भयो। निर्वाचनलाई उल्ट्याउने उद्देश्यले सन् २०२३ जनवरी ८ का दिन बोल्सोनारोका समर्थकहरूले ब्राजिलको कंग्रेस, सर्वोच्च अदालत र राष्ट्रपतिको भवनमा आक्रमण गरेका थिए। ट्रम्पका समर्थकहरूले गरेको जनवरी ६ को आक्रमणसँग यसका समानताहरू स्पष्ट देखिन्छन्।

तर ब्राजिलमा, बोल्सोनारोलाई यो षड्यन्त्रमा उनको भूमिकाको लागि दोषी ठहर गरिएको छ। उनी अहिले गृहबन्दीमा सजाय काटिरहेका छन् र राष्ट्रपतिको उम्मेदवार बन्न असमर्थ छन्। त्यसैले उनको आन्दोलनको प्रतिनिधित्व उनका ४५ वर्षीय छोरा, सिनेटर फ्लाभियो बोल्सोनारोले गरिरहेका छन्।

फ्लाभियो आफैँ पनि विभिन्न राजनीतिक विवादमा फसेका छन्। आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद्का कर्मचारीहरूको तलबबाट कमिसन असुल गर्ने योजनामा उनको संलग्नता रहेको आरोपले उनको प्रतिष्ठामा दाग लागेको छ। आफ्ना बुबाको राष्ट्रपतिकालको प्रशंसामा बन्ने चलचित्रका लागि जेल परेका बैंकर्सबाट लाखौँ डलर सहयोग मागेको खुलासाले पनि उनको अभियानलाई हल्लाएको छ। पारिवारिक कलहले गर्दा उनको परिवार नै राजनीतिक बोझ बनेको छ। पूर्व प्रथम महिला तथा आफ्नी सौतेनी आमा मिचेल बोल्सोनारोसँगको सार्वजनिक विवादले बोल्सोनारो आन्दोलनभित्रको गहिरो विभाजनलाई छताछुल्ल पारेको छ र महिला मतदाताहरूबीच प्रभाव राख्ने दक्षिणपन्थी शक्तिको साथबाट उनलाई वञ्चित गरेको छ।

फ्लाभियोले देश भित्र आफ्नो जनसमर्थन विस्तार गर्न संघर्ष गरिरहेका बेला विदेशबाट पनि सहयोगको खोजी गरेका छन्। अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली ब्राजिल आएर उनको पक्षमा चुनावी प्रचार गरेका छन्। डोनाल्ड ट्रम्प र उनका प्रशासनका अधिकारीहरूले फ्लाभियोलाई खुला रूपमा समर्थन गरेका छन्, जसले गर्दा हालै अमेरिका र ब्राजिलबीचको तनाव बढेको छ। लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने नियत देखाएको भन्दै लुला सरकारले अमेरिकी विदेश मन्त्रालयका दुई अधिकारीलाई भिसा दिन अस्वीकार गरेपछि यो तनाव सतहमा आएको थियो। त्यसको प्रतिक्रियास्वरूप ट्रम्प प्रशासनले वासिङ्टनस्थित ब्राजिलका राजदूतावासका राजदूतको अमेरिकी भिसा खारेज गरिदियो। यो घटनाले ब्राजिलको निर्वाचनलाई प्रभावित पार्ने अमेरिकी प्रयासप्रतिको बढ्दो चिन्तालाई दर्साउँछ।

विदेशी प्रभावको सम्भवतः सबैभन्दा अचम्मलाग्दो उदाहरण इजरायलबाट आउँछ। फ्लाभियोले आफ्नो राष्ट्रपतिको आकांक्षा स्वदेशमै ब्राजिलियाली जनतासामु घोषणा गर्नुको साटो, पहिलोपटक इजरायल भ्रमणका क्रममा गरे।  जहाँ उनले लुला माथि एन्टी-सेमिटिज्मको आरोप लगाए र ब्राजिलको दूतावास जेरुसेलम सार्ने प्रतिबद्धता जनाए। बेन्जामिन नेतान्याहुले पछि सार्वजनिक रूपमा उनको समर्थन गरेका थिए।

यस्तो समयमा, जब धेरै दक्षिण अमेरिकी सरकारहरू दक्षिणपन्थी वा अझ अति-दक्षिणपन्थीतर्फ ढल्किएका छन्, सबैको नजर ब्राजिलमाथि छ। यो ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश, यसको सबैभन्दा ठूलो अर्थतन्त्र र ग्लोबल साउथको सबैभन्दा प्रभावशाली आवाजहरूमध्ये एक हो।

जनमत सर्वेक्षणहरूले लुलालाई फ्लाभियोभन्दा सामान्य अग्रतामा देखाएका छन्। तर यदि अक्टोबर ४ को पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५०% भन्दा बढी मत प्राप्त गर्न नसकेमा, निर्वाचन अक्टोबर २५ मा शीर्ष दुई मुख्य प्रतिस्पर्धीहरूबीच दोस्रो चरणको प्रतिस्पर्धामा जानेछ।

Source: https://www.commondreams.org

 

मेडेया बेन्जामिन

मेडेया बेन्जामिन 'ग्लोबल एक्सचेन्ज' (Global Exchange) र 'कोडपिङ्क: वोमन फर पिस' (CODEPINK: Women for Peace) की सह-संस्थापक हुन्। उनी निकोलस जे.एस. डेभिससँग मिलेर लेखिएको पुस्तक 'वार इन युक्रेन: मेकिङ सेन्स अफ अ सेन्सेलेस कन्फ्लिक्ट' (नोभेम्बर २०२२) की सह-लेखिका हुन्। उनका अन्य पुस्तकहरूमा निम्न समावेश छन्: इन्साइड इरान: द रियल हिस्ट्री एन्ड पोलिटिक्स अफ द इस्लामिक रिपब्लिक अफ इरान (२०१८) किंगडम अफ द अनजस्ट: बिहाइन्ड द यु.एस.-साउदी कनेक्सन (२०१६) ड्रोन वारफेयर: किलिंग बाइ रिमोट कन्ट्रोल (२०१३) डोन्ट बी अफ्रेड ग्रिंगो: अ होन्डुरन वोमन स्पिक्स फ्रम द हार्ट (१९८९) जोडी इभान्ससँगको सहकार्यमा: स्टप द नेक्स्ट वार नाउ (२००५)