प्राचीन मानव सभ्यतालाई ध्वंश गर्दै सीमा पर्खाल: ६००० वर्ष पुरानो चट्टानी कला खतरामा

अमेरिकाका आदिवासीहरुमाथिको उत्पीडनको ऐतिहासिक कलङ्कलाई फेरि दोहोर्‍याउने सुरसारमा ट्रम्प प्रशासन लागपरेको छ । त्यसका लागि उसले सुरक्षाको नाममा संयुक्त राज्य अमेरिकाको दक्षिणी सिमानामा पर्खाल निर्माणलाई तीव्र गति दिनका लागि अमेरिकी सरकारले ऐतिहासिक तथा वातावरणीय संरक्षणसम्बन्धी दर्जनौं संघीय कानुनहरू निलम्बन गरेको छ। 'बिग बेंड प्रोजेक्ट ५' (Big Bend Project 5) नामक यो विवादास्पद परियोजनाका कारण अमेरिकाको टेक्सस राज्यस्थित ऐतिहासिक लोअर पेकोस क्यान्यनल्यान्ड क्षेत्रमा रहेका हजारौं वर्ष पुराना आदिवासी सांस्कृतिक सम्पदाहरू र ६,००० देखि १०,००० वर्ष पुराना चट्टानी कला (Rock Art) हरूमाथि पूर्ण विनाशको खतरा मंडराएको छ। यसरी अमेरिकी शासक वर्गहरुको उत्पीडक राजनीतिक महत्त्वाकांक्षा र ऐतिहासिक-सांस्कृतिक सम्पदाबीचको संघर्षले फेरि एक पटक गम्भीर मोड लिएको छ।

आन्तरिक सुरक्षा विभाग (Department of Homeland Security - DHS) का सचिव मार्कवेन मुलिनले आपत्कालीन प्रशासनिक अधिकार प्रयोग गर्दै यो कडा कदम चाल्ने घोषणा गरेका हुन्। यस अन्तर्गत 'नेटिभ अमेरिकन ग्रेभ्स प्रोटेक्सन एन्ड रिप्याट्रिएसन एक्ट' (Native American Graves Protection and Repatriation Act), 'आर्कियोलजिकल रिसोर्सेस प्रोटेक्सन एक्ट' (Archaeological Resources Protection Act), 'क्लिन वाटर एक्ट' (Clean Water Act), र 'इन्डेन्जरड स्पिसिज एक्ट' (Endangered Species Act) जस्ता अति संवेदनशील कानुनहरूलाई किनारा लगाइएको छ। कानुनी अड्चन र वातावरणीय-सांस्कृतिक प्रभाव मूल्यांकन (EIA) का अनिवार्य प्रावधानहरूलाई बाइपास गरेपछि अब ठेकेदार कम्पनीहरूलाई त्यस क्षेत्रमा विना रोकटोक विस्फोटक पदार्थ प्रयोग गरी भारी निर्माण कार्य अगाडि बढाउने बाटो खुलेको छ।

टेक्ससको यो दुर्गम र प्राकृतिक रूपले सुन्दर क्षेत्र उत्तर अमेरिकामै सबैभन्दा महत्त्वपूर्ण पुरातात्विक स्थलहरूमध्ये एक मानिन्छ। यहाँका चुनढुंगाका ओडार र गुफाहरूमा हजारौं वर्ष पुरानो मानव वस्तीका अवशेषहरू, आदिवासीहरुको पवित्र ऐतिहासिक धरोहर भित्तेचित्रहरू तथा प्राचीन सिकार प्रविधिका जीवन्त दस्तावेजहरू सुरक्षित छन्। 'शुमला आर्किओलजिकल रिसर्च एन्ड एजुकेसन सेन्टर' की विज्ञान निर्देशक डा. करेन स्टिलम्यानका अनुसार, पर्खाल निर्माणका क्रममा राखिने खम्बा र पूर्वाधारहरूका लागि डाइननामाइट (विस्फोटक पदार्थ) प्रयोग गरिने योजना छ। यसले गर्दा 'पेन्टेड सेल्टर' (Painted Shelter) र 'पान्थर केभ' (Panther Cave) जस्ता विश्वप्रसिद्ध चट्टानी कला केन्द्रहरू सधैंको लागि नष्ट हुन सक्ने खतरा बढेको छ। पान्थर केभमा ३० मिटर लामो विशाल भित्तेचित्र छ भने पेन्टेड सेल्टरमा प्राचीन धनुषवाण र धार्मिक आस्था झल्किने कलाकृतिहरू रहेका छन्।

यो निर्णय बाहिर आएसँगै इतिहासकार, पुरातात्विकविद्, वैज्ञानिक तथा राष्ट्रिय निकुञ्जका पूर्व अधिकारीहरूले कडा आपत्ति जनाएका छन्। बिग बेंड राष्ट्रिय निकुञ्जका पूर्व सुपरिटेन्डेन्टहरूले सचिव मुलिनलाई खुला पत्र लेख्दै यो कदमलाई अमेरिकी इतिहासकै एक अति गम्भीर सांस्कृतिक क्षति भनेका छन्। उनीहरूको तर्कमा यस क्षेत्रमा अवैध आप्रवासनको दर निकै कम छ, र यसरी वातावरणीय तथा सांस्कृतिक पक्षलाई बेवास्ता गरेर उठाइने भौतिक कदमले सीमा सुरक्षा त होला तर मानवताले कहिल्यै फेरि प्राप्त गर्न नसक्ने पुर्खाको धरोहर सधैंका लागि गुम्नेछ।

आधुनिक राजनीतिक र सुरक्षात्मक आवश्यकताहरू पूरा गर्ने नाममा हजारौं वर्ष पुरानो मानव सभ्यता, सांस्कृतिक अवशेष र आदिवासीहरूको पुर्ख्यौली चिहानमाथि डोजर चलाउनु न्यायसङ्गत नभएको विज्ञहरूको ठहर छ। एकतर्फी रूपमा कानुनी दायरा हटाइएपछि स्थानीय समुदाय र अनुसन्धान संस्था 'शुमला' ले यसको विरोधमा राष्ट्रिय स्तरमै हस्ताक्षर अभियान सुरु गरेका छन्। पर्खालको यो कठोर रेखांकनले कला र इतिहासका अनमोल पुस्तकहरू मानिने यी चट्टानी भित्तेचित्रहरूलाई खरानीमा परिणत गर्नेछ। सुरक्षा र सांस्कृतिक सम्पदाको यो द्वन्द्वले अन्ततः मानव जातिको सामूहिक इतिहासमा गहिरो घाउ छोड्ने निश्चितप्रायः छ। साथसाथै त्यसले अमेरिकी शासकवर्गहरुले त्यहाँका रैथाने आदिवासीहरुमाथि गरेको भीषण उत्पीडनलाई नयाँ ढङ्गले पुनरावृत्ति गर्ने पक्का छ ।