जस्तो जीवन, उस्तै तस्वीर: प्रेमचन्दको सादगी

फोटो खिचाउने दिन थियो। मुन्शी प्रेमचन्द आफ्नी पत्नीका साथ स्टुडियो पुगे। साहित्यका यति चर्चित हस्ती, तर पहिरन भने उही साधारण धोती र कुर्ता।

फोटोग्राफरको नजर फोटो खिचाउनका लागि क्यामेरासामु बसेका प्रेमचन्दको जुत्तामा पर्‍यो। जुत्ता अगाडिबाट फाटेको थियो र देब्रे खुट्टाको औँला स्पष्टै देखिइरहेको थियो। फोटोग्राफरले भने, “धोती अलिकति तल सारिदिनुहोस्, जुत्ता छोपिन्छ।”

प्रेमचन्द मुस्कुराए। अनि भने, “जस्तो जीवन छ, तस्वीर पनि त्यस्तै आउनुपर्छ। लुकाएर फोटो खिचाउनुको के अर्थ?” र तस्वीर त्यसरी नै खिचियो। फाटेको जुत्ता त लुकाउन सकिन्थ्यो, तर प्रेमचन्दको व्यक्तित्वलाई लुकाउन सकिँदैनथ्यो।

यो तस्वीर देखेपछि महान् लेखक हरिशंकर परसाईंले एउटा लेख लेखेका थिए। उनले लेखेका थिए, “सोच्नुहोस् त, यदि फोटो खिचाउने बेलामा नै उनको पहिरन यस्तो छ भने, अरू बेला कस्तो हुँदो हो? होइन, यो मानिसको अलग-अलग वेशभूषा हुँदैन। यिनलाई वेशभूषा बदल्ने कला नै आउँदैन। यो जस्तो छ, तस्वीरमा पनि त्यस्तै खिचिन्छ।”

यी त्यस्ता व्यक्ति थिए, जो पहिरनमा देखावटी गर्न रुचाउँदैनथिए । साँच्चै नै उनले भारतका जनताको मर्म बुझेका थिए। उनको यही व्यक्तित्वकै कारण भारतीय साहित्यमा अमर ‘गोदान’ जस्तो महाग्रन्थको सृजना सम्भव भएको हो ।