लू शुन डाक्टर होइन, साहित्यकार बन्नुभयो !
लू शुन हाम्रो छिमेकी देश चीनका महान साहित्यकारका रुपमा विश्वप्रसिद्ध नाम हो । सानैदेखि उहाँले चिकित्सा विज्ञान पढेर डाक्टर बनी देश र जनताको सेवा गर्ने सपना बोक्नुभएको थियो, तर अन्त्यमा गएर उहाँ साहित्यकार बन्नुभयो । प्रिय युवा साथीहरु, उहाँले किन त्यसो गर्नुभयो होला, तपाईंहरुलाई थाहा छ ?
लू शुनका पिता लामो समयसम्म बिरामी हुनुभएको थियो । त्यसबेला घरमा पैसा नभएर सानो केटो लू शुनले दिनका दिन कुनै न कुनै घरेलु सामान र लत्ता–कपडा साहू–महाजनकहाँ बन्धकी राख्दै औषधी किनेर ल्याउनु हुन्थ्यो । जतिसुकै उपचार गरेपनि बैद्यले उहाँका पितालाई बचाउन सकेनन् । त्यही बेला उहाँले चिकित्सा विज्ञान पढेर उचित औषधी–उपचार नपाएका आफ्ना पिताजस्ता हजारौं देशवासीहरुको सेवा गर्ने अठोट गर्नुभयो । उहाँकी आमाले परम्पराअनुसार सरकारी जागिर खानका लागि आवश्यक तयारी र अध्ययन गर्न दवाब दिनुभयो, तर आफ्नो अठोट पूरा गर्न अप्रिल १९०४ मा जापान गएर उहाँ सेनडाई मेडिकल कलेजमा भर्ना हुनुभयो ।
तर, दुई वर्ष पनि अध्ययन नगर्दै उहाँको जीवनमा एउटा त्यस्तो महत्वपूर्ण घटना घट्यो, जसले उहाँको जीवनको लक्ष्यलाई नै मोडीदियो । त्यसबेला रुस र जापानबीच युद्ध चलिरहेको हुनाले कलेजमा पनि धेरैजसो युद्धकै फिल्म देखाइन्थ्यो । एक दिन एउटा फिल्ममा केही चिनियाँहरु देखेर उहाँ खुसी हुनुभयो । फिल्ममा एकजना चिनियाँलाई रुसीहरुको जासूस भएको आरोपमा हात बाँधेर मैदानमा उभ्याइएको थियो । जापानी सैनिकहरुको त्यस चिनियाँलाई टाउको काटेर मार्न लागेका थिए, ता कि कुनै पनि चिनियाँले जापानविरुद्ध जासूसी गर्ने हिम्मत गर्न नसकून् । मैदानमा आफ्नै देशवासीको निर्मम हत्या हुनलागेको हेर्नका लागि थुप्रै चिनियाँहरु त्यहाँ घेरा हालेर उभिएका थिए । उनीहरु बलियाबाङ्गा युवाहरु थिए, तर उनीहरुको अनुहार बिल्कुलै भावशून्य देखिन्थ्यो ।
यो डरलाग्दो दृश्य देखेर उहाँ यतिधेरै दुःखित हुनुभयो कि उहाँले चिकित्सा विज्ञानको पढाइ बीचैमा छाड्नु भयो । त्यो घटनापछि उहाँलाई लाग्यो– चिकित्सा विज्ञान पढेर डाक्टर बन्नुको ठूलो महत्व रहेनछ, एउटा पिछडिएको र निर्बल राष्ट्रका मानिसहरुको शरीर जतिसुकै स्वस्थ र बलियो भएपनि त्यसको ठूलो अर्थ रहेनछ, किनकि त्यसलाई दण्ड दिन र दण्ड दिने तमाशा देखाउनका लागि मात्रै उपयोग गरिने रहेछ । त्यस्ता मानिसहरु रोगले गर्दा छटपटिएर मरे भने पनि त्यति दुखद् र पीडादायी हुन सक्दैन । त्यसैले उहाँलाई लाग्यो– सबैभन्दा महत्वपूर्ण कुरा हो ः मानिसहरुको भावना बदल्नु, उनीहरुको सोच–विचार, नीति–आचरण फेर्नु । त्यसको लागि सबैभन्दा उपयोगी माध्यम हो– साहित्य !
साहित्यमार्फत् सोच र व्यवहारमा परिवर्तन ल्याई देश र जनताका लागि लड्नसक्ने मानिसहरु बनाउन उहाँले साहित्यमा हात हाल्नुभयो र नयाँ नयाँ साहित्यिक आन्दोलनहरुको थालनी गर्दै जानुभयो । यसैको फलस्वरुप उहाँ चीनको क्रान्तिका महान् साहित्यकारका रुपमा विश्वप्रसिद्ध हुनुभएको हो ।
नवयुवाबाट
बुद्धजयन्तीको अवसरमा केही प्रेरक प्रसङ्गहरु
एडीसन: पत्रिका बेच्ने हकरदेखि महान वैज्ञानिकसम्म
१५ डलरको त्यो 'सानो' लगानी: जसले एउटा बालकलाई विश्वकै 'न्यायको योद्धा' बनायो
पानीको रंग किन नीलो हुन्छ ?
कागजपत्रले पर्खन सक्छ तर भोकले पर्खन सक्दैन!
ज्ञानका लागि बलिदान
कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार
प्रतिक्रिया