अर्जेन्टिना र इङ्गल्याण्डबीचको खेल 'केवल एक फुटबल म्याच' मात्र होइन
अर्जेन्टिनी फुटबल स्टार डिएगो म्याराडोना, बीचमा, २९ जुन १९८६ मा मेक्सिको सिटीमा फिफा ट्रफी उचाल्दै प्रशंसकहरूको काँधमा बसेका। तस्बिर: एपी
जुलाई १५ मा, यी दुई राष्ट्रिय टोलीहरू एटलान्टामा आमनेसामने हुनेछन्, जसले विश्व फुटबलको सबैभन्दा महत्त्वपूर्ण क्लासिक खेलहरूमध्ये एकलाई पुनर्जीवित गर्नेछ । यसको कारण पूर्णतया खेलकुदको प्रतिस्पर्धा मात्र नभई, यसलाई घेरेर रहेको सैन्य प्रभुत्वको इतिहास पनि हो।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीलाई उनको टोली र इङ्गल्याण्डबीचको आगामी खेलको प्रतीकात्मक महत्त्वबारे सोधिएको थियो। सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने प्रशिक्षकले तनाव कम गर्ने प्रयास गर्दै यसलाई "केवल एक फुटबल म्याच" भएको बताएका थिए।
यद्यपि, अर्जेन्टिनी समर्थकहरूले यसलाई त्यसरी हेरेको देखिँदैन । राष्ट्रिय टोलीका खेलाडीहरूले मात्र होइन, जसले क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई अतिरिक्त समयमा हराएपछि स्टेडियम भरिएका हजारौँ अर्जेन्टिनी समर्थकहरूसँगै गाए र उफ्रिए: "जुन उफ्रिँदैन, ऊ अंग्रेज हो", जबकि उनीहरूलाई थाहा थियो कि उनीहरूको अर्को प्रतिद्वन्द्वी इङ्गल्याण्ड नै हो। धेरैले यसलाई अर्जेन्टिनी समर्थकहरूको विशाल गीत-संगीतको भण्डारमा रहेको अर्को एउटा सामान्य गीत मात्र हो भन्न सक्छन्, तर यो भने विशेष छ।
समग्रमा, यी दुई टोलीहरू विश्वकपमा पाँच पटक आमनेसामने भएका छन्। सन् १९६२ को चिली विश्वकपमा इङ्गल्याण्डले "अल्बिसेलेस्टे" (अर्जेन्टिना) लाई ३-१ ले हराएको थियो। इङ्गल्याण्डमै भएको विश्वकपमा, दक्षिण अमेरिकीहरूद्वारा अनुचित खेलको आरोपका कारण विवादले घेरिएको उक्त खेलमा इङ्गल्याण्डले फेरि जित हासिल गर्यो। त्यसपछि, युरोपेली टोलीले आफ्नो एकमात्र विश्वकप ट्रफी जित्न सफल भयो।
तर, स्कालोनीको भनाइको बाबजुद, यो फुटबलको प्रतिद्वन्द्विता ऐतिहासिक रूपमा माल्भिनास टापुहरू, वा फकल्याण्ड टापुहरूमाथिको क्षेत्रीय र राजनीतिक विवादले ओझेलमा परेको छ, जुन अर्जेन्टिनाको जलक्षेत्रमा र दक्षिण अमेरिकी तटबाट ५०० किलोमिटर टाढा अवस्थित छ।
साम्राज्यवादको विरासत
यद्यपि यी क्षेत्रहरूलाई नियन्त्रणमा राख्ने तत्कालीन औपनिवेशिक शक्ति स्पेनले सन् १५४० मा यस टापु समूह माथि आफ्नो दाबी घोषणा गरेको थियो, तर इङ्गल्याण्डले सन् १५९२ मा जोन डेभिसले यी टापुहरू पत्ता लगाएको र त्यसै बेलादेखि सार्वभौमसत्तामाथि आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ । जबकि ती टापुहरू त्यो मितिभन्दा अघिका धेरै नक्साहरूमा देखिन्छन्, जसलाई अर्जेन्टिनीहरूले यस दाबीलाई खण्डन गर्न प्रयोग गर्ने गर्छन्।
पछि, १८औँ शताब्दीमा, फ्रान्सेलीहरूले यी टापुहरूलाई आफ्नो कब्जामा लिने प्रयास गरे र त्यहाँ एउटा किल्ला समेत बनाए। यद्यपि, वर्षौँ पछि, फ्रान्सले ती टापुहरू स्पेनको भएको स्वीकार गर्यो, जसले त्यहाँ गभर्नरेट स्थापना गर्यो र पछि त्यहाँका केही अंग्रेजी बसोबासीहरूलाई निष्कासित गर्न सफल भयो, जसले आफ्नो तर्फबाट टापुहरूमाथि कब्जाको दाबी गरेका थिए।
सत्य यो हो कि स्पेनको औपनिवेशिक प्रतिद्वन्द्वी इङ्गल्याण्डले स्पेनबाट व्यापारिक र आर्थिक नियन्त्रण खोस्न र प्रमुख औपनिवेशिक शक्तिको रूपमा आफ्नो उदयलाई निरन्तरता दिन दक्षिण अमेरिकी उपनिवेशहरूमा प्रवेश गर्न खोजेको थियो । जुन स्थान उसले १९औँ शताब्दीमा सुदृढ गर्यो। जब पछि अर्जेन्टिना बनेको क्षेत्रले स्पेनबाट स्वतन्त्रता प्राप्त गर्यो, उसले स्पेनले दाबी गरेका क्षेत्रहरूको नियन्त्रण लियो, जसरी बाँकी दक्षिण अमेरिकाभरि भएको थियो। तर सन् १८३३ मा, संयुक्त अधिराज्यले त्यहाँ तैनाथ अर्जेन्टिनी सैनिक टोलीलाई धपायो र हिंसात्मक रूपमा यस टापु समूहलाई कब्जा गर्यो।
टापुहरूमाथि बेलायती नियन्त्रण सन् १९८२ सम्म स्थिर रह्यो, जब अर्जेन्टिनाको सैन्य तानाशाहीले यस टापु समूहमाथि पुनः नियन्त्रण लिने प्रयास गर्यो (मानवअधिकार उल्लङ्घनको आरोपका कारण गुमेको केही जनसमर्थन पुन: प्राप्त गर्ने प्रयासमा), जसले अप्रिल २ मा फकल्याण्ड युद्धको सुरुवात गरायो। यो युद्ध ७४ दिनसम्म चल्यो र अर्जेन्टिनाको आत्मसमर्पणसँगै समाप्त भयो, जसको परिणामस्वरूप ६४९ अर्जेन्टिनी सैनिक र २५५ बेलायती सैनिकहरूको दुखद मृत्यु भयो।
म्याराडोना विरुद्ध इङ्गल्याण्ड
केही वर्षपछि, अर्जेन्टिनाले पुन: इङ्गल्याण्डको सामना गर्नुपर्यो, तर यस पटक फुटबल मैदानमा । विशेष गरी मेक्सिकोमा भएको १९८६ को विश्वकपको क्वार्टरफाइनलको दौरान ऐतिहासिक एज्टेका स्टेडियममा। सैन्य पराजयको सम्झना र आफ्ना सैनिकहरूविरुद्ध अर्जेन्टिनामा उठाइएका युद्ध अपराधका कथित घटनाहरूले गर्दा त्यहाँ एउटा तनावपूर्ण वातावरण सिर्जना भएको थियो।
अर्जेन्टिनाका प्रसिद्ध डिफेन्डर जोसे लुइस ब्राउन, जसलाई "एल टाटा" उपनामले चिनिन्थ्यो, उनले त्यस समयका टोलीका कप्तान र तत्कालीन विश्वकै उत्कृष्ट खेलाडी – डिएगो आर्मान्डो म्याराडोनालाई स्मरण गर्दै भनेका थिए: "मैदानमा प्रवेश गर्दा उनी छाती फुलाएर र टाउको ठाडो पारेर हिँडिरहेका थिए। उनले एक शब्द पनि बोलेनन्; उनी गम्भीर थिए, केवल इङ्गल्याण्डका खेलाडीहरूलाई एकटकले हेरिरहेका थिए। जब राष्ट्रिय गान समाप्त भयो, तब यो गर्जन सुनियो: अघि बढ, अघि बढ! यी कुकुर्नीका छाउराहरूले हाम्रा केटाहरू, हाम्रा साथीहरू र हाम्रा छिमेकीहरूलाई मारेका छन्। हामी हार्न सक्दैनौँ!'"
यद्यपि यो खेल फाइनल थिएन, तैपनि यो फुटबलको लोककथा र इतिहासको एक स्थायी हिस्सा बन्यो। खेलको ५१औँ मिनेटमा, म्याराडोनाले हातले गोल गरे, जसलाई बेलायती खेलाडीहरूको विरोधका बाबजुद रेफ्रीले मान्यता दिए। वर्षौँ पछि, म्याराडोनाले उक्त गोल "भगवानको हात" (Hand of God) ले गरेको बताए, जसले गर्दा यो प्रहार सधैँका लागि ऐतिहासिक बन्यो। जसलाई आजसम्म पनि अधिकांश बेलायती फुटबल प्रशंसकहरू म्याराडोनालाई "धोकेबाज" भनी निन्दा गर्न प्रयोग गर्छन्।
तर त्यसको ठीक चार मिनेटपछि, म्याराडोनाले अकल्पनीय काम गरे: स्तब्ध बनेका र थकित स्वरमा चिच्याइरहेका बेलायती प्रशंसकहरूको आँखा अगाडि, आफ्नो अतुलनीय कौशलताका साथ, ती '१० नम्बर' खेलाडीले मैदानको बीचभागबाट दौडँदै गोलरक्षक पिटर शिल्टन लगायत कैयौँ बेलायती खेलाडीहरूलाई छक्याउँदै एउटा गोल गरे, जसलाई धेरैले "इतिहासकै उत्कृष्ट गोल" भनेका छन्। इङ्गल्याण्डका तर्फबाट ग्यारी लिनेकरले गरेको गोल झण्डै १,००,००० मानिसहरूले प्रत्यक्ष देखेको त्यो जादुको अगाडि फिक्का बन्यो। २–१ मा समाप्त भएको उक्त खेलले म्याराडोनालाई फुटबलको मिथकको रूपमा स्थापित गर्यो र फाइनलमा जर्मनी विरुद्ध अर्जेन्टिनाको जितको मार्ग प्रशस्त गर्यो।
इङ्गल्याण्डमाथिको जितको अनुभूतिलाई स्मरण गर्दै "टाटा" ब्राउनले थपे:
"त्यसबेला मैले कुरा बुझेँ। डिएगो आफ्नो प्रतिशोधमा केन्द्रित व्यक्ति थिए। एक वर्षपछि, फकल्याण्ड युद्धका दिग्गजहरूले भने, 'डिएगोले जे गरे, त्यो हाम्रा लागि प्रतिशोधको सबैभन्दा नजिकको अनुभूति थियो।' उनले आफ्नो जादुद्वारा यसलाई सम्भव तुल्याए।"
अनि यद्यपि धेरै बेलायतीहरू आज पनि अर्जेन्टिनाले छल गरेर खेल जितेको दाबी गर्छन्, तर सत्य यो हो कि अर्जेन्टिनी संस्कृतिले युद्धमैदानमा आफूलाई हराउनेहरूलाई फुटबल मैदानमा हराउने यस उपलब्धिलाई ऐतिहासिक औचित्य पुष्टि गर्ने एक माध्यमका रूपमा अपनाएको छ । अर्थात्, सैन्य असमानताका सामु प्रतिभा र चतुरताको श्रेष्ठता नै हाबी हुन्छ, चाहे त्यो हातको प्रयोग गरेर नै किन नहोस्।
प्रतीकहरूले भरिएको इतिहास
त्यसपछि भएका खेलहरू सन् १९८६ मा मेक्सिकोमा भएको उक्त "लडाइँ" ले छोडेको रहस्यमय प्रभावले घेरिएका थिए। सन् १९९८ मा फ्रान्समा अर्जेन्टिनाले इङ्गल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो, र त्यसको चार वर्षपछि कोरिया र जापानमा भएको विश्वकपमा डेभिड बेकहमको पेनाल्टी गोलको मद्दतले इङ्गल्याण्डले "अल्बिसेलेस्टे" लाई १–० ले हराउँदै बदला लियो।
इङ्गल्याण्ड विरुद्धको खेलअघि अर्जेन्टिनी खेलाडीहरूले अचेल एकापसमा के कुरा गरिरहेका छन् भन्ने कुरा हामीले सायद चाँडै थाहा पाउने छैनौँ। तर सत्य यो हो कि, प्रशिक्षक समूहको भनाइको बाबजुद, खेलाडीहरूले आफ्नो मनबाट यस्तो फुटबल प्रतिद्वन्द्वितालाई मेटाउन सक्दैनन् जुन उनीहरूको राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनिसकेको छ।
बेलायती टोलीले यस विश्वकपमा स्मरणीय प्रदर्शन गरेको छ, जसमा जुड बेलिङ्घम र ह्यारी केन जस्ता दुई उत्कृष्ट खेलाडीहरू छन् । जसले समान ६-६ गोल गरेका छन् – भने अर्कोतर्फ महान् लियोनल मेस्सी छन्, जो हाल गोल संख्यामा शीर्ष स्थानमा (फ्रान्सका किलियन एम्बाप्पेसँगै) बराबरीमा छन् र डिफेन्डिङ च्याम्पियन टोलीको नेतृत्व गरिरहेका छन्।
यी दुई टोलीहरू यसअघि कहिल्यै सेमिफाइनलमा भिडेका छैनन्, यद्यपि उनीहरू अन्य कुनै चरणमा भिड्न सक्थे, र जुलाई १५ मा देखिने सम्पूर्ण ऐतिहासिक महत्त्व त्यस खेलमा पनि उत्तिकै रहने थियो। त्यसैले यो "केवल एउटा खेल" होइन। यो त्योभन्दा बढी केही हो – सायद मैदानमा उत्रिने ११ जना अर्जेन्टिनी खेलाडीहरूको साथमा कुदिरहेको विगतको कुनै अदृश्य शक्ति जसले इतिहासलाई ब्युँताउन र "प्रतिशोध" लिन आवश्यक परेमा फेरि "हात" को प्रयोग गर्न पनि पछि पर्ने छैन।
स्रोत: https://breakthroughnews.org
अनुवाद: केदार सिटौला
(यो अनुवाद लेख साभार छाप्नेले अनिवार्य रुपमा मूल लेखको स्रोत, अनुवादकको नाम र दायित्वबोधको हाइपरलिङ्कसहित स्रोत खुलाउनुहोला । –दायित्वबोध)
|
दायित्वबोधको विशेष अनुरोध |
|
वाम वैचारिकीको रक्षा र प्रबर्द्धनका लागि दायित्वबोध अनलाइन निरन्तर रहनु जरुरी छ भन्ने तपाईंलाई लाग्छ ? के दायित्वबोधमा प्रकाशित भइरहेका सामग्रीहरु उपयोगी र पठनीय छन् भन्ने तपाईं ठान्नुहुन्छ ? दायित्वबोधको निरन्तरताको लागि तपाईंको सहयोगले ठूलो अर्थ राख्छ ! |
|
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ? |
|
–सामर्थ्यअनुसारको आर्थिक सहयोग गरेर । –विचारप्रधान लेखरचनाहरु उपलब्ध गराएर । –दायित्वबोधमा छापिएका लेखरचनाहरु शेयर गरेर । दायित्वबोधको फेसबुक पेज, युट्युब, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जाल पेजहरु लाइक–शेयर–सब्स्क्राइब गरेर । |
|
दायित्वबोधलाई आर्थिक सहयोग गर्नका लागि |
सोनम वाङ्चुक, अनशन र संवेदनहीन सरकार
नेटोको ‘प्रेम’ शिखर सम्मेलन पछाडिका आठ विरोधाभासहरू
भू-राजनीतिक भूमरीमा पश्चिम एशिया: हर्मुजको अस्तव्यस्तता र विश्वव्यापी सुरक्षाको …
थामिएको युद्ध पुनः ब्युँतियो: अमेरिका-इरान टकरावले पश्चिम एशियामा निम्त्याएको…
खामेनीको अन्त्येष्टिमार्फत् इरानले दिएको सन्देश
इरान विरुद्धको युद्ध: डुबिरहेको वर्चश्वशाली शक्तिको कथा
पश्चिम एशियाको जटिल भूराजनीति र हर्मूजको बढ्दो तनाव
प्रतिक्रिया