उन्मुक्त इरान

अबदेखि पश्चिम एशियामा प्रभुत्वशाली शक्ति अमेरिका वा इजरायल नभई इरान हुनेछ

वर्षौंसम्म इरानले पश्चिम एशियामा यस्तो शक्ति सन्तुलनको सामना गर्यो, जुन उसको प्रतिकूल थियो। यो क्षेत्रमा शत्रुतापूर्ण अमेरिकी महाशक्ति, आणविक हतियारयुक्त एवम् सैन्य रूपमा श्रेष्ठ इजरायल, र अमेरिकासँग रणनीतिक तथा आर्थिक रूपमा जोडिएका महत्त्वपूर्ण स्थानीय पक्षहरू– इजिप्ट, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको वर्चस्व थियो।

आज इरान पूर्ण रूपमा नयाँ परिस्थितिमा छ। यसले महाशक्ति अमेरिका र इजरायलको प्रत्यक्ष सामना गरेको छ, तिनीहरूका अति उन्नत हतियारहरूको प्रहार सहेको छ, र पूर्ण रूपमा सुरक्षित रहन सफल भएको छ। यसको परिणामस्वरूप, इरानले अमेरिकी सहयोगकै बलमा पश्चिम एशिया र फारसी खाडीको शक्ति संरचनालाई पूर्ण रूपमा पुनर्गठन गरेको छ। अबका दिनमा यस क्षेत्रको प्रभावशाली शक्ति इरान हुनेछ, अमेरिका वा इजरायल होइन। छिमेकी मुलुकहरूले यो नयाँ यथार्थअनुसार आफूलाई ढाल्न थालिसकेका छन्। अलि टाढाका शक्तिहरूले पनि त्यसै गर्नेछन्। वर्षौंदेखि विश्वले नियन्त्रित वा घेराबन्दीमा परेको इरानसँग व्यवहार गरिरहेको थियो। अब भने उन्मुक्त इरान कस्तो हुन्छ भन्ने कुरा विश्वले देख्नेछ।

इरानले अमेरिकी सहयोगकै बलमा पश्चिम एशिया र फारसी खाडीको शक्ति संरचनालाई पूर्ण रूपमा पुनर्गठन गरेको छ। अबका दिनमा यस क्षेत्रको प्रभावशाली शक्ति इरान हुनेछ, अमेरिका वा इजरायल होइन।

इरानलाई संयुक्त राज्य अमेरिकासँग कुनै सम्झौताको आवश्यकता छैन। कमजोर र गरिब बनेको इरानले अन्ततः अमेरिकी शक्तिसामु केही न केही सम्झौता गर्नैपर्छ, स्ट्रेट अफ हर्मुज खोल्नुपर्छ र आफ्नो गम्भीर रूपमा क्षतिग्रस्त अर्थतन्त्र सुधार्नेतर्फ लाग्नुपर्छ भन्ने आम अनुमान गलत साबित भएको छ। विगत दुई वर्षमा इस्लामिक गणतन्त्र इरान इतिहासमै सायदै यति कमजोर वा संवेदनशील देखिएको थियो। गत फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आफ्नो ‘अत्यधिक दबाव’ अभियानलाई नवीकरण गरे, जसले इरानको पहिले नै कमजोर अर्थतन्त्रलाई गम्भीर क्षति पुर्‍यायो र अरबौँ डलरको राज्य राजस्व कटौती गरिदियो। त्यसपछि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानी आणविक संरचनाहरू नष्ट गर्न जुन महिनामा १२ दिने युद्ध सुरु गरे। उक्त युद्धले इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍यायो र इजरायली तथा अमेरिकी आक्रमणसामु यो देश कति संवेदनशील छ भन्ने उजागर गरिदियो। त्यसपछि, फेब्रुअरीमा संयुक्त राज्य अमेरिका र इजरायलले पछिल्लो युद्ध सुरु गरे, जसमा शासनका सर्वोच्च नेता र  अधिकांश वरिष्ठ अधिकारीहरूको हत्या गरियो, र त्यसपछि इरानी सैन्य क्षमताहरूमाथि पाँच हप्ताभन्दा बढी समयसम्म निरन्तर आक्रमणहरू जारी राखियो।

विगत दुई वर्षमा इस्लामिक गणतन्त्र इरान इतिहासमै सायदै यति कमजोर वा संवेदनशील देखिएको थियो। गत फेब्रुअरीमा राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आफ्नो ‘अत्यधिक दबाव’ अभियानलाई नवीकरण गरे, जसले इरानको पहिले नै कमजोर अर्थतन्त्रलाई गम्भीर क्षति पुर्‍यायो र अरबौँ डलरको राज्य राजस्व कटौती गरिदियो।

यी सबैका बाबजुद, इरानी शासन टिकिरह्यो र उसले कुनै पनि कुरामा सम्झौता गरेन। यसको ठीक विपरीत, इरानले अमेरिकाको सबैभन्दा कमजोर कडी अर्थात् इरानका छिमेकी राष्ट्रहरूको संवेदनशीलतालाई उजागर गरिदियो। एक प्रमुख मोड मार्चको मध्यमा आयो, जब इजरायलले इरानको 'साउथ पार्स' ग्याँस क्षेत्रमा आक्रमण गर्यो र इरानले प्रतिशोधस्वरूप विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्याँस संरचना रहेको कतारको 'रास लफान' परिसरमा प्रहार गर्यो। उक्त आक्रमणले के स्पष्ट पार्यो भने, इरानले हवाई युद्धमा संयुक्त राज्य अमेरिकालाई पराजित गर्न नसके तापनि, इरानी मिसाइल र ड्रोनहरूले खाडी क्षेत्रका तेल तथा ग्याँस पूर्वाधारमा यति ठूलो क्षति पुर्‍याउन सक्छन् जसले विश्वलाई नै दीर्घकालीन आर्थिक सङ्कटमा धकेलिदिन सक्छ। खाडी मुलुकहरूले यो कुरा तुरुन्तै बुझे, र ट्रम्पले पनि बुझे। उनले इरानी ऊर्जा लक्ष्यहरूमाथिको आक्रमण रोके, अनिच्छुक इजरायललाई पनि त्यसै गर्न निर्देशन दिए, र इरानबाट एउटै पनि सम्झौता नगराई चाँडै नै यो ठूलो अभियानलाई टुङ्ग्याए। त्यसयता, अनेकौँ धम्कीका बाबजुद ट्रम्पले इरानी ऊर्जा पूर्वाधारविरुद्ध फेरि अर्को प्रहार गर्ने आदेश कहिल्यै दिएका छैनन्।

ट्रम्पले जुनको मध्यमा युद्ध जारी राख्नाले ‘आर्थिक विनाश’ र सम्भवतः ‘मन्दी’ तर्फ लैजानेछ भन्दै आफू राष्ट्रपति हबर्ट हुभर बन्न नचाहेको टिप्पणी गरेपछि यो कुरा स्पष्ट पारेका थिए। त्यसयता ट्रम्पले निकै निराशाजनक ढङ्गले यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छन्।

यति कुरा नै इरान र संयुक्त राज्य अमेरिकाबिचको शक्ति सन्तुलन र प्रभावलाई बदल्न काफी थियो। अप्रिलदेखि गत महिनासम्म ट्रम्पले इरानमाथि फेरि अर्को ठूलो आक्रमण गर्ने धम्की पटक-पटक दिए। हरेक पटक इरानले प्रतिशोधको धम्की दियो, खाडी मुलुकहरूले यसको परिणामबारे चेतावनी दिए, र ट्रम्प पछि हटे। उनको तेस्रो वा चौथो धम्कीसम्म पुग्दा, तेहरानसँग संयुक्त राज्य अमेरिका तनाव थप्दै युद्धको दिशामा अघि बढ्न अब तयार छैन भन्ने निष्कर्षमा पुग्ने पर्याप्त आधार थियो। ट्रम्पले जुनको मध्यमा युद्ध जारी राख्नाले ‘आर्थिक विनाश’ र सम्भवतः ‘मन्दी’ तर्फ लैजानेछ भन्दै आफू राष्ट्रपति हबर्ट हुभर बन्न नचाहेको टिप्पणी गरेपछि यो कुरा स्पष्ट पारेका थिए। त्यसयता ट्रम्पले निकै निराशाजनक ढङ्गले यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका छन्।

अमेरिका र इरानबिच जुन महिनामा कायम भएको सहमति पत्रले यही यथार्थलाई प्रतिबिम्बित गरेको थियो। संयुक्त राज्य अमेरिकाको साख जोगाउन जति सकिन्छ त्यति मिलाएर भाषा प्रयोग गरिए तापनि, त्यो सहमति पत्र स्पष्ट रूपमा इरानकै जित थियो। यसले स्ट्रेट अफ हर्मुज भएर जाने ‘व्यापारिक जहाजहरूको सुरक्षित आवागमन’ को लागि अरू कुनै पनि राष्ट्रले नभई इस्लामिक गणतन्त्र इरानले मात्र ‘प्रबन्ध मिलाउनेछ’ भन्ने घोषणा गर्यो। मध्यस्थकर्ता वा अन्य सहभागीहरूविना ओमानसँगको संवादमा इरानले ‘लागू हुने अन्तर्राष्ट्रिय कानुन र तटीय राज्यहरूको सार्वभौम अधिकारअनुसार’ स्ट्रेटको प्रशासन तय गर्ने भनियो।

सहमति पत्रले युद्धपूर्वको स्थितिमा फर्किन आह्वान गरेन। न त यसले संयुक्त राज्य अमेरिकालाई जलडमरूमध्यको भावी प्रशासनमा कुनै भूमिका वा अधिकार नै दियो। बरु, यसले कमजोर ओमानबाहेक इरानलाई मात्र एकमात्र कर्ताको रूपमा तोक्यो, र ६० दिनपछि अन्य राष्ट्रहरूबाट सुरक्षित आवागमनका लागि शुल्क लिने अधिकारसमेत इरानलाई दियो। यसरी यस सहमति पत्रले मार्च महिनामा संयुक्त राज्य अमेरिकाले भोगेको पराजयलाई संस्थागत गर्यो, जुन समयमा ट्रम्पले यस क्षेत्रका ऊर्जा संरचनाहरूमाथि थप आक्रमणको जोखिम लिन आफू असक्षम रहेको वा नचाहेको कुरा महसुस गरेका थिए।

अमेरिकी छुटहरुले उसले देखाएको आतुरता यति चरम थियो कि इरानीहरूले सम्झौता भए पनि नभए पनि अन्ततः अमेरिका पछि हट्नेछ भन्ने अपेक्षा गर्नु स्वाभाविकै थियो।

पश्चातदृष्टिबाट हेर्दा, इरानका नेताहरूलाई आफूहरूलाई सहमति पत्रको आवश्यकता थियो भन्ने लागेको देखिँदैन। खबरहरूका अनुसार सर्वोच्च नेता मोज्तबा खामेनेईलाई यसमा हस्ताक्षर गर्नका लागि राष्ट्रपति मसुद पेजेस्कियानले मनाउनुपरेको थियो। तेहरानको यो तुलनात्मक उदासीनता बुझ्न सकिने खालको थियो। अमेरिकी छुटहरुले उसले देखाएको आतुरता यति चरम थियो कि इरानीहरूले सम्झौता भए पनि नभए पनि अन्ततः अमेरिका पछि हट्नेछ भन्ने अपेक्षा गर्नु स्वाभाविकै थियो।

अमेरिकी नौसेनाले ओमानतर्फको स्ट्रेटबाट ट्याङ्करहरूलाई पहरा दिएर लैजान थालेपछि इरानी नेताहरूले लगभग तुरुन्तै युद्धविरामलाई भङ्ग गर्न कुनै सङ्कोच मानेनन्। ट्रम्पले स्ट्रेटको नियन्त्रणका सम्बन्धमा आफ्ना वार्ताकारहरूले गरेका सम्झौताहरूको पूर्ण सीमा बुझेका थिए वा थिएनन्, तर इरानी दृष्टिकोणबाट ओमानको बाटो अमेरिकाले गुमाइसकेको कुरालाई पुनः कब्जा गर्ने एउटा प्रयास थियो। केही समयसम्म संयुक्त राज्य अमेरिका र इरानबिच ‘जस्तालाई त्यस्तै’ खालका आक्रमणहरू चलिरहे, जुन जुलाईको मध्यमा अमेरिकी तीव्र आक्रमणहरूसँगै चरम विन्दुमा पुगे। जब यी आक्रमणहरूको कुनै प्रभाव परेन, ट्रम्पले जुलाई १५ मा यदि इरानले वार्ता नगरे संयुक्त राज्य अमेरिकाले ‘उनीहरूका सबै विद्युत् गृहहरू’ र ‘सबै पुलहरू ध्वस्त पारिदिने’ चेतावनी दिए। तर फेरि पनि, कुनै आक्रमण भएन।

इरानमाथि गरिने ठूलो आक्रमणले ताइवानमाथि चिनियाँ कदम वा नेटो  सदस्यविरुद्ध रुसी आक्रमणको सम्भावित अवस्थामा अमेरिकालाई कमजोर बनाएर अन्यत्र अमेरिकी हितहरूलाई जोखिममा पार्ने थियो।

त्यसपछि विश्व र इरानीहरूले यसको एउटा मुख्य कारण थाहा पाए: अमेरिकाका महत्त्वपूर्ण गोलाबारुदको भण्डार खतरनाक रूपमा कम भएको र स्वयम् जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष नै यो स्थितिबाट बाहिर निस्कने सुरक्षित बाटो खोजिरहेका छन् भन्ने खुलाशाले अमेरिकी रणनीतिको भावी दिशाबारे स्पष्ट सङ्केत दियो। इरानमाथि गरिने ठूलो आक्रमणले ताइवानमाथि चिनियाँ कदम वा नेटो  सदस्यविरुद्ध रुसी आक्रमणको सम्भावित अवस्थामा अमेरिकालाई कमजोर बनाएर अन्यत्र अमेरिकी हितहरूलाई जोखिममा पार्ने थियो।

मिसाइलको अभावले इरानी पूर्वाधारमाथि गरिने ठूलो आक्रमणमा निहित खतराहरूलाई पनि बढाउने थियो। अमेरिका आफ्ना धेरै मानवयुक्त विमानहरूलाई इरानी वायु रक्षा प्रणालीको पहुँचभित्र पठाउन बाध्य हुने थियो, र खाडी मुलुकहरू तथा आफ्ना क्षेत्रीय सैन्य अड्डाहरूको रक्षा गर्न उनीहरूसँग निकै कम इन्टरसेप्टरहरू उपलब्ध हुने थिए। क्षेत्रको ऊर्जा पूर्वाधारमाथिको खतरा जस्तै अमेरिकी क्षति हुने जोखिम पनि उच्च हुने थियो। अनि यस्तो आक्रमण यो वर्षको सुरुमा गरिएका पाँच हप्ताभन्दा बढी समयका बमबारीहरूभन्दा बढी प्रभावकारी हुनेछ भन्ने कुराको कुनै ग्यारेन्टी हुने थिएन।

अमेरिकी कदमहरूले वासिङ्टन अहिलेका लागि मात्र नभई भविष्यका लागि पनि इरानभन्दा बढी तनाव वृद्धिसँग डराउँछ भन्ने कुरा स्पष्ट पारिदिएका छन्। यसले तल्लो स्तरको द्वन्द्वमा समेत संयुक्त राज्य अमेरिकाले के गर्न सक्छ भन्ने सीमाहरू तय गरिदिन्छ। इरानविरुद्धको कुनै पनि सैन्य कारबाहीले तनावको यस्तो शृङ्खलामा प्रवेश गर्ने जोखिम बढाउँछ, जसमा अमेरिका अगाडि बढ्न चाहँदैन; त्यसैले ‘जस्तालाई त्यस्तै’ गरिने प्रहारहरू पनि अब अमेरिकी रणनीतिको हिस्सा रहेनन् जस्तो देखिन्छ। राष्ट्रपतिले आफ्ना सल्लाहकारहरूलाई आफू थप आक्रमणको आदेश दिन नचाहेको बताएको खबर छ। इरानीहरूले यसै महिना युएईका कैयौँ जहाजहरूमाथि प्रहार गरेका छन् र त्यस देशमा ब्यालिस्टिक मिसाइलसमेत हानेका छन्, तर संयुक्त राज्य अमेरिकाले जुलाईयता कुनै प्रतिक्रिया दिएको छैन। यो यस्तो तथ्य हो, जसलाई युएई र इरानका अन्य छिमेकीहरूले निश्चित रूपमा ध्यान दिएका छन्।

इरानविरुद्धको कुनै पनि सैन्य कारबाहीले तनावको यस्तो शृङ्खलामा प्रवेश गर्ने जोखिम बढाउँछ, जसमा अमेरिका अगाडि बढ्न चाहँदैन; त्यसैले ‘जस्तालाई त्यस्तै’ गरिने प्रहारहरू पनि अब अमेरिकी रणनीतिको हिस्सा रहेनन् जस्तो देखिन्छ।

अर्को ठूलो युद्ध लड्न अमेरिकामा देखिएको स्पष्ट अनिच्छालाई हेर्दा, कुनै सम्झौताविना पनि जे प्राप्त भइरहेको छ, त्योभन्दा बढी सम्झौताबाट के पाउन सकिन्छ र भनेर इरानका नेताहरूले सोच्नु स्वाभाविकै हो। वरिष्ठ इरानी अधिकारीहरूले अहिले अमेरिकी सेनाको फिर्ती, अमेरिकी नौसेनाको घेराबन्दी र सबै प्रतिबन्धहरूको अन्त्य, इरानको रोक्का राखिएको सम्पत्ति फुकुवा, र युद्धको क्षतिपूर्ति भुक्तानीको माग गरिरहेका छन्। परम्परागत धारणा के छ भने, इरानका नेताहरूलाई यी मागहरू वासिङ्टनका लागि पूर्ण रूपमा अस्वीकार्य छन् भन्ने थाहा छ, र त्यसैले उनीहरू कि त ट्रम्पलाई पराजयको आभास गराउँदै छन्, कि अझ राम्रो सम्झौताको दाउमा छन्, वा आफ्ना मागहरूलाई अतिरञ्जित गरिरहेका छन्। धेरै पर्यवेक्षकहरू अझै पनि स्ट्रेट अफ हर्मुजको नियन्त्रण भनेको संयुक्त राज्य अमेरिकाबाट थप सुविधाहरू लिन वा ट्रम्पलाई पुनः सहमति पत्रमा फर्काउन प्रयोग गरिएको एउटा बार्गेनिङ चिप हो भन्ने ठान्छन्। तर हामी यी सबै कुराहरूभन्दा धेरै अगाडि बढिसकेका छौँ। एक विजेताले आत्मसमर्पणका सर्तहरू तय गर्नबाहेक पुनः वार्ताको टेबलमा फर्किनुपर्ने आवश्यकता हुँदैन।

इरानले अब तिनै सर्तहरू अघि सारेको छ। ती अत्यधिक र अधिकतम माग जस्ता देखिन सक्छन्, तर तेहरानलाई आफूले योभन्दा कम माग्नुपर्ने कुनै कारण छ भन्ने पटक्कै लाग्दैन। इरानले महिनाौँदेखि स्ट्रेट अफ हर्मुजको नियन्त्रणबारे कुनै सम्झौता हुन नसक्ने कुरा स्पष्ट पारिसकेको छ। ट्रम्प प्रशासन र सञ्चारमाध्यमहरूले निरन्तर फैलाइरहेको इरानीहरूले आफ्नो निर्णय लिन सकेका छैनन् र उनीहरू आफ्नो स्थिति बदलिरहन्छन् भन्ने धारणा अर्थहीन छ। अप्रिलमै मोज्तबाले इरानले स्ट्रेट अफ हर्मुजको ‘नयाँ कानुनी ढाँचा र व्यवस्थापन’ लागू गर्नेछ र ‘हजारौँ किलोमिटर टाढाबाट आउने विदेशीहरू’ को खाडीमा ‘त्यसको पानीको पिँधबाहेक’ कुनै स्थान हुने छैन भनी घोषणा गरेका थिए। सन् १६२२ मा स्ट्रेट अफ हर्मुजमा इरानले पोर्चुगललाई पराजित गरेको सम्झना मनाइने दिनमा उनले ‘ईश्वरको इच्छा र शक्तिले फारसी खाडी क्षेत्रको उज्ज्वल भविष्य अमेरिकाविहीन भविष्य हुनेछ’ भनी घोषणा गरेका थिए।

इरानले आफूलाई ध्वस्त पार्ने अमेरिकी–इजरायली प्रयासलाई परास्त गर्दै आफ्नो अस्तित्व जोगाएको हो र सम्झौता होइन, प्रतिरोध र अडानले नै विजय दिलाएको हो।

सैन्य आक्रमण र प्रतिबन्ध दुवैबाट जोगिएको इरान अब प्रतिबन्धका अगाडि मात्रै झुक्नेछ भन्ने विचार भ्रमपूर्ण छ। मोज्तबाले इरानको राष्ट्रिय सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गरेका छन् र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजिसी) का अनुभवीहरूलाई माथिल्लो पदहरूमा बहाल गरेका छन्। भूतपूर्व आईआरजिसी  कमाण्डर मोहसेन रेजाईले अहिले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नेतृत्व गरिरहेका छन्, र अन्य कट्टरपन्थी सुरक्षा अधिकारीहरूलाई माथिल्लो दर्जामा पदोन्नति गरिएको छ। युद्धपछि पुनर्गठित भइरहेको शासनसत्ता त्यस्ता व्यक्तिहरूले पुनर्संरचना गरिरहेका छन्, जसलाई विश्वास छ कि इरानले आफूलाई ध्वस्त पार्ने अमेरिकी–इजरायली प्रयासलाई परास्त गर्दै आफ्नो अस्तित्व जोगाएको हो र सम्झौता होइन, प्रतिरोध र अडानले नै विजय दिलाएको हो।

तर यो केवल विजयोत्सव वा अहंकार मात्र होइन। इरानका लागि स्ट्रेटको नियन्त्रण न त कुनै विलासिता हो, न त कुनै बार्गेनिङ चिप नै। भविष्यको कुनै न कुनै मोडमा, सम्झौता होस् वा नहोस्, इजरायल वा संयुक्त राज्य अमेरिकाले फेरि आक्रमण गर्ने प्रबल सम्भावनालाई ध्यानमा राख्दा, यस स्ट्रेटले इरानलाई सबैभन्दा बलियो र निश्चित प्रतिरोध क्षमता  प्रदान गर्दछ। यो दशकौँदेखि अमेरिका-शासित विश्व व्यवस्थाले इरानमाथि लगाएका अनेकौँ जन्जिरहरु फुकाउने र उसलाई बाहिर राख्ने तथा गरिब बनाउने गरी डिजाइन गरिएको क्षेत्रीय एवम् वैश्विक आर्थिक प्रणालीलाई तोड्ने प्रमुख चाबी पनि हो। इरानी सत्ताभित्रका केही तथाकथित उदारवादीहरूले स्ट्रेटलाई बार्गेनिङ चिपका रूपमा हेर्न सक्छन्, तर उनीहरूले यो तर्कमा जित हासिल गर्न सकिरहेका छैनन्, जसका कारणहरू बुझ्न गाह्रो छैन। आईआरजिसीका एक प्रवक्ताले शासनको दृष्टिकोण स्पष्ट रूपमा व्यक्त गरे: ‘हाम्रा लागि स्ट्रेट अफ हर्मुज केवल एउटा आर्थिक जलमार्ग मात्र होइन, बरु यो हाम्रो भू-राजनीतिक र रणनीतिक शक्तिको एक प्रमुख घटक हो।’

भविष्यको कुनै न कुनै मोडमा, सम्झौता होस् वा नहोस्, इजरायल वा संयुक्त राज्य अमेरिकाले फेरि आक्रमण गर्ने प्रबल सम्भावनालाई ध्यानमा राख्दा, यस स्ट्रेटले इरानलाई सबैभन्दा बलियो र निश्चित प्रतिरोध क्षमता  प्रदान गर्दछ। यो दशकौँदेखि अमेरिका-शासित विश्व व्यवस्थाले इरानमाथि लगाएका अनेकौँ जन्जिरहरु फुकाउने र उसलाई बाहिर राख्ने तथा गरिब बनाउने गरी डिजाइन गरिएको क्षेत्रीय एवम् वैश्विक आर्थिक प्रणालीलाई तोड्ने प्रमुख चाबी पनि हो।

इरानले महिनाौँदेखि नियन्त्रणका संयन्त्रहरू स्थापना गरिरहेको छ र जहाज मालिकहरू तथा राष्ट्रहरूलाई यो प्रणालीले कसरी काम गर्नेछ भन्नेबारे निर्देशन दिइरहेको छ। यसले 'पर्सियन गल्फ स्ट्रेट अथोरिटी' (फारसी खाडी स्ट्रेट प्राधिकरण) को स्थापना गर्‍यो र लजिस्टिक तथा जलयातायात कम्पनीहरूलाई यसमा दर्ता हुन, अनुमति पत्र लिन, इरानद्वारा तोकिएका मार्गहरू पछ्याउन र इरानले उपलब्ध गराएको बीमा तथा सुरक्षाको लागि शुल्क बुझाउन माग गर्‍यो।

इरानले पैसा उठाउने अधिकार मात्र दाबी गरिरहेको छैन। यसले कसलाई जान दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकारको पनि दाबी गरिरहेको छ। यसले अमेरिका र इजरायल जस्ता आफूले शत्रुतापूर्ण ठानेका सरकारहरूसँग सम्बद्ध जलयानहरूलाई प्रवेशमा रोक लगाउने प्रस्ताव गरेको छ, र आफूविरुद्धका आक्रमणमा सहभागी भएका राष्ट्रहरूसँग क्षतिपूर्तिको माग गरेको छ। इरानले अबदेखि स्ट्रेट भएर गरिने आवतजावत तेहरानले प्रदान गर्न सक्ने, सर्त तोक्न सक्ने, ढिलाइ गर्न सक्ने वा अस्वीकार गर्न सक्ने एउटा विशेष अधिकार हुनेछ भन्ने सिद्धान्त स्थापित गर्दैछ। अन्य राष्ट्रहरूले यो नयाँ व्यवस्थालाई स्वीकार गर्न थालिसकेका छन्। भारत, पाकिस्तान, इराक, टर्की, चीन र अन्य देशहरू यस व्यवस्थाअनुसार सम्झौता गर्न अघि बढेका छन्।

स्ट्रेट अफ हर्मुज माथिको इरानको नियन्त्रण आणविक हतियारभन्दा पनि बढी उपयोगी शक्ति-साधन हो। आणविक हतियारले आक्रमणलाई रोक्न मात्र सक्ला, तर स्ट्रेटको नियन्त्रणले इरानलाई हरेक दिन दर्जनौं  देशहरूमाथि आफ्नो प्रभाव पार्ने क्षमता दिन्छ। यसको बलमा इरानले मित्रहरूलाई पुरस्कृत गर्न, शत्रुहरूलाई सजाय दिन, राजस्व सङ्कलन गर्न, प्रतिबन्धहरू खुकुलो पार्न बाध्य पार्न र इरानी नीतिहरूको विरोध गर्नुअघि सरकारहरूलाई दुई पटक सोच्न बाध्य पार्न सक्छ। उसले यो सब एउटै गोली नचलाईकन गर्न सक्छ, र आवश्यक पर्दा हिंसाको धम्की दिने क्षमतालाई पनि कायमै राख्छ।

स्ट्रेट अफ हर्मुज माथिको इरानको नियन्त्रण आणविक हतियारभन्दा पनि बढी उपयोगी शक्ति-साधन हो। आणविक हतियारले आक्रमणलाई रोक्न मात्र सक्ला, तर स्ट्रेटको नियन्त्रणले इरानलाई हरेक दिन दर्जनौं  देशहरूमाथि आफ्नो प्रभाव पार्ने क्षमता दिन्छ।

दशकौँदेखि इरानलाई अलग्याउन मद्दत गरेको प्रतिबन्धको रणनीति अन्तर्राष्ट्रिय सहयोगमा टिकेको थियो। स्ट्रेटको पहुँचमा निर्भर रहेका राष्ट्रहरू– उदाहरणका लागि जापान र दक्षिण कोरियाले भरपर्दो ऊर्जाूर्तिको पहुँच र अमेरिका-समर्थित प्रतिबन्धहरूमा सहभागितामध्ये एउटालाई रोज्नुपर्नेछ। के उनीहरू आफ्ना आर्थिक हितहरूभन्दा माथि उठेर वासिङ्टन, अझ यो (वर्तमान) वासिङ्टनसँगको ऐक्यबद्धतालाई रोज्लान्? इरानले सिर्जना गरिरहेको यो नयाँ व्यवस्थामा, विश्वव्यापी प्रतिबन्धको प्रणाली दिगो भइरहने सम्भावना देखिँदैन।

इरानले सम्भवतः कम्तीमा दुई वर्षसम्म ऊर्जा प्रवाहमाथि आफ्नो नियन्त्रण कायम राख्नेछ। सबैभन्दा आशावादी प्रक्षेपणहरूले पनि स्ट्रेट अफ हर्मुजलाई छलेर वैकल्पिक पाइपलाइन तथा निर्यात मार्गहरू स्थापना गर्न यति समय लाग्ने सङ्केत गर्छन्। तर यी योजनाहरू कहिल्यै साकार होलान् कि नहोलान् भनेर सोच्नुपर्ने हुन्छ। नयाँ पाइपलाइन, बन्दरगाह र ऊर्जा पूर्वाधारहरू इरानी मिसाइल र ड्रोनका अगाडि पुराना जत्तिकै संवेदनशील हुनेछन्। छिमेकी राष्ट्रहरूले आफ्नो नियन्त्रणबाट उम्किने उपायहरू निर्माण गरिरहँदा इरान चुपचाप बसेर हेरिरहला र? यस्ता मार्गहरू निर्माण र सुरक्षा गर्नुपर्ने साना राज्यहरू इरानको क्रोधको भागीदार बन्नबाट डराउनेछन्, र अमेरिकी सुरक्षा अपर्याप्त साबित भइसकेको छ। इरानले आफ्ना सर्तहरूमा इराकी ट्याङ्करहरूलाई सुरक्षित आवागमनको सुविधा दिएर इराकलाई वैकल्पिक तेल-निर्यात करिडोरहरू निर्माण गर्नबाट पछाडि हटाउने प्रयास सुरु गरिसकेको छ। क्षेत्रीय समायोजन सुरु भइसकेको छ।

कुनै समय अमेरिकी सुरक्षा ग्यारेन्टीमा भर परेका खाडीका शासकहरूले अब आफ्ना संरक्षकलाई नै पराजित गर्न सक्षम साबित भएको शक्तिसँग शान्ति कायम गर्नुपर्छ। पाकिस्तान र टर्कीसँगको रणनीतिक सम्झौताको पक्षमा उभिँदै साउदी अरेबियाले अमेरिका र इजरायल-समर्थित 'अब्राहम सम्झौता' लाई अस्वीकार गर्नुले भावी ढाँचाको सङ्केत गर्छ। अब्राहम सम्झौताले यस क्षेत्रमा इजरायली शक्ति र प्रभावको सुदृढीकरण तथा इरानको थप घेराबन्दीलाई प्रतिनिधित्व गर्थ्यो। 'मक्का सम्झौता' भने पूर्ण रूपमा फरक कुरा हो। न त पाकिस्तानले न त टर्कीले नै इरानलाई ठूलो खतराका रूपमा हेर्छन्; इरान जस्तै पाकिस्तानको पनि चीनसँग घनिष्ठ सम्बन्ध छ; इजरायलले टर्कीलाई इरानपछिको दोस्रो ठूलो क्षेत्रीय खतराका रूपमा हेर्छ। अमेरिकी-इजरायली व्यवस्थाको सट्टा, यो गठबन्धन इरानप्रति कम कडा शत्रुतापूर्ण, इजरायलप्रति कम मैत्रीपूर्ण, र संयुक्त राज्य अमेरिकाबाट बढी स्वतन्त्र हुनेछ। हस्ताक्षरकर्ता राष्ट्रहरूमा अर्को एउटा समानता पनि छ– परमाणु हतियार। पाकिस्तानसँग परमाणु हतियार छन् भने टर्की र साउदी अरब पनि परमाणु हतियार प्राप्त गर्न चाहन्छन्।

यसैबिच, इरान अर्को ठूलो आक्रमणको डरविना आफ्नै आणविक हतियार कार्यक्रम पुनः सुरु गर्न स्वतन्त्र हुनेछ। यो तथ्य आफैँमा क्षेत्रीय सन्तुलनलाई बदल्न पर्याप्त छ। गत वर्ष, इजरायल र संयुक्त राज्य अमेरिकाले इरानको गम्भीर प्रतिशोधको सामना नगरी १२ दिनसम्म इरानका आणविक संरचनाहरूमा बमबारी गरेका थिए। अब भने इरानले निकट भविष्यमा हुन सक्ने जुनसुकै आक्रमणलाई रोक्न स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नियन्त्रण, तथा छिमेकी राज्यहरू र तिनका ऊर्जा पूर्वाधारविरुद्धका धम्कीहरू प्रयोग गर्न हौसला पाएको छ। अमेरिकी मिसाइल र इन्टरसेप्टरहरूको भण्डार पुनः भर्न लामो समय लाग्नेछ, र आउँदा वर्षहरूमा विश्वका अन्य भागहरूमा तिनको आवश्यकता पर्न सक्छ; यसैबिच इरानले रुसी र चिनियाँ सहयोगमा पुनः हतियार भण्डारण गरिरहनेछ, जसले सम्भवतः आजको तुलनामा एक वर्षपछि अमेरिकालाई अझ खराब स्थितिमा पुर्‍याउनेछ।

अब भने इरानले निकट भविष्यमा हुन सक्ने जुनसुकै आक्रमणलाई रोक्न स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नियन्त्रण, तथा छिमेकी राज्यहरू र तिनका ऊर्जा पूर्वाधारविरुद्धका धम्कीहरू प्रयोग गर्न हौसला पाएको छ।

यसका प्रभावहरू पश्चिम एशियाभन्दा धेरै टाढासम्म फैलिनेछन्। एसिया र युरोपमा रहेका अमेरिकी सहयोगीहरूले के देख्न सक्छन् भने, एउटा दोस्रो दर्जाको शक्तिविरुद्धको तुलनात्मक रूपमा छोटो युद्धले क्षेप्यास्त्र प्रतिरक्षाका लागि आवश्यक अमेरिकी हतियारहरूको ठूलो भण्डार रित्याइदिएको छ। उनीहरूले के देख्न सक्छन् भने, संयुक्त राज्य अमेरिकाले आफूले अन्त्य गर्न नसक्ने युद्ध सुरु गर्‍यो, आफ्ना साझेदारहरूलाई प्रतिशोधको जोखिममा पार्यो, र मूल्य धेरै चुकाउनुपर्ने अवस्था आएपछि युद्ध रोक्यो। ताइवानका बारेमा बेइजिङका निष्कर्षहरू र युरोपका बारेमा मस्कोका निष्कर्षहरू के होलान् भनी ठ्याक्कै थाहा पाउन असम्भव हुन सक्छ। तर अमेरिकाका सहयोगीहरूले वासिङ्टनसँग अर्को ठूलो द्वन्द्व धान्नका लागि हतियार, सहनशीलता र राजनीतिक इच्छाशक्ति छ कि छैन भनेर अनिवार्य रूपमा प्रश्न उठाउनेछन्। वास्तवमा, उनीहरूले प्रश्न उठाउन थालिसकेका छन्।

इरानी शासन ढल्न सक्छ भन्ने कुरा अवश्य पनि सम्भव छ। यो भ्रष्ट, दमनकारी, आर्थिक रूपमा अयोग्य छ र आफ्नै जनताद्वारा व्यापक रूपमा घृणित छ। तर युद्धअघि पनि यसमा यी सबै कमजोरीहरू थिए। उससँग जे थिएन, त्यो हो– विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा नाका माथिको नियन्त्रण, बढ्दो राजस्व र प्रभावको सम्भावना, संयुक्त राज्य अमेरिकालाई रोक्न सक्ने प्रमाणित क्षमता, र एउटा असम्भव विजयको प्रतिष्ठा।

विश्वको ठूलो हिस्साले ध्वस्त हुनेछ भन्ने ठानेको संकटबाट जोगिएको र त्यसपछि विश्वकै प्रभुत्वशाली शक्तिलाई पछि हट्न बाध्य बनाएको यस्तो शासनसत्ता कम्तीमा केही समयका लागि अझ सुदृढ भएर उदाउने सम्भावना छ। यस्तो सफलताले आत्मविश्वास, र सम्भवतः अत्यधिक आत्मविश्वास जन्माउने गर्छ। तर यसले इरानका नेताहरूलाई कम महत्त्वाकाङ्क्षी वा यो चमत्कारिक विजय दिलाउने आस्थाप्रति कम प्रतिबद्ध बनाउने सम्भावना भने छैन। भर्खरै, वरिष्ठ इरानी अधिकारीहरूले सार्वजनिक रूपमा ‘पूर्ण रूपमा आक्रामक’ रणनीति अपनाउनेबारे कुरा गर्न थालेका छन्, र इरानले अमेरिकी सैन्य अड्डाहरू रहेका युरोपेली देशहरूलाई समेत आफ्ना लक्ष्यहरूमा समावेश गर्ने योजना बनाएका विवरणहरू बाहिर आएका छन्। द न्युयोर्क टाइम्समा ‘कसले पहिले आँखा झिम्काउनेछ?’ भनी सोधिएका समाचारहरू देख्दा अनौठो लाग्छ, जबकि इरानीहरूले अहिलेसम्म एक पटक पनि आँखा झिम्काएका छैनन् भने ट्रम्प प्रशासनले आँखा झिम्काउनेबाहेक केही गरेको छैन।

विश्वले इरानले आणविक हतियार प्राप्त गरेमा के गर्ला भनेर चिन्ता गर्दै दशकौँ बिताएको थियो । अब भने उसले योभन्दा पनि गम्भीर परिणाम निम्त्याउन सक्ने  कुराको चिन्ता गर्नुपर्छ: एउटा यस्तो इरान जसले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ, जसलाई अब अमेरिकी आक्रमणको डर छैन, र जसले फारसी खाडीको पहुँचलाई नियन्त्रण गर्छ।

अमेरिकालाई नौसैनिक घेराबन्दी हटाउन बाध्य पार्न इरानले फेरि युद्ध सुरु गर्न पनि सक्छ। तनाव चर्किने विषयमा अमेरिकी प्रशासनले देखाइसकेको भयलाई  हेर्दा यस्तो आशा निराधार भने होइन। विश्वले इरानले आणविक हतियार प्राप्त गरेमा के गर्ला भनेर चिन्ता गर्दै दशकौँ बिताएको थियो । अब भने उसले योभन्दा पनि गम्भीर परिणाम निम्त्याउन सक्ने  कुराको चिन्ता गर्नुपर्छ: एउटा यस्तो इरान जसले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ, जसलाई अब अमेरिकी आक्रमणको डर छैन, र जसले फारसी खाडीको पहुँचलाई नियन्त्रण गर्छ। केवल आणविक हतियारले मात्र इरानलाई यस्तो प्रकारको शक्ति कहिल्यै दिन सक्ने थिएन। इरानविरुद्ध अमेरिका र इजरायलले लडेको असफल युद्धले भने उसलाई यो शक्ति प्रदान गरेको छ।

स्रोत: https://www.theatlantic.com/