सुमित सरकार : भारतका अनेक इतिहासका इतिहासकार

सम्भवतः म सबैभन्दा बढी यही कुरा सम्झनेछु: बौद्धिक र व्यक्तिगत सादगीबीचको अनौठो एकता। घमण्डबाट अछूतो नरहेको प्राज्ञिक संसारमा उनीभित्र अहङ्कार अति नै कम थियो।

यस्ता शिक्षकहरू हुन्छन् जसका व्याख्यानहरू मानिसले सम्झिरहन्छन्, र यस्ता शिक्षकहरू पनि हुन्छन् जो मानिसको सोच्ने तरिकाकै एक अभिन्न हिस्सा बन्छन्। हामीमध्ये धेरैका लागि सुमित सरकार पछिल्लो श्रेणीका थिए। उनीबाट मैले जो सिकें, त्यसलाई इतिहास आफैंमा के हो भन्ने मेरो बुझाइबाट छुट्ट्याउन गाह्रो छ। दिल्ली विश्वविद्यालयमा एमएका विद्यार्थीका रूपमा म पहिलो पटक उनको कक्षामा प्रवेश गरेको ४० वर्षभन्दा बढी भइसकेको छ, तर उनका व्याख्यानमा मैले बनाएका नोटहरू अझै पनि मसँगै छन्। ती पानाहरू पहेँलो भइसकेका छन्, तर तिनका तर्कहरू पुराना भएका छैनन्। म अहिले पनि ती नोटहरूकै शरणमा पुग्ने गर्छु। उनको निधन आधुनिक भारतका महान् इतिहासकारहरूमध्ये एकको मात्र क्षति होइन, एउटा विशिष्ट बौद्धिक उपस्थितिको अन्त्य जस्तो महसुस भएको छ: जो शान्त, सूक्ष्म, संशयशील, अपार विद्वत्ताले भरिपूर्ण र कुनै पनि प्रकारको आडम्बरबाट पूर्णतः मुक्त थिए।

उनी शरीरले दुब्ला-पात्ला, हेर्दा लगभग कमजोर जस्ता, स्वभावले संकोची थिए र प्रायः कुनै जमघटको छेउमा चुपचाप उभिरहन्थे। तर बौद्धिक रूपमा, उनको उचाइ विराट थियो। त्यो मानिसको सादगी र उनीसँग भएको ऐतिहासिक कल्पनाशीलताको विशालताबीच अनौठो भिन्नता थियो।

सुमित सरकारको निधन आधुनिक भारतका महान् इतिहासकारहरूमध्ये एकको मात्र क्षति होइन, एउटा विशिष्ट बौद्धिक उपस्थितिको अन्त्य जस्तो महसुस भएको छ: जो शान्त, सूक्ष्म, संशयशील, अपार विद्वत्ताले भरिपूर्ण र कुनै पनि प्रकारको आडम्बरबाट पूर्णतः मुक्त थिए।

म सन् १९८५ देखि १९८७ बीचमा उनका विद्यार्थी थिएँ। उनका व्याख्यानहरू मैले पहिले कहिल्यै अनुभव नगरेका किसिमका हुन्थे। उनी अत्यधिक तयारीका साथ कक्षामा आइपुग्थे र शान्तपूर्वक कुरा सुरु गर्दथे। एउटा तर्क आकार लिँदै जान्थ्यो र जब कसैलाई अब विश्वास भयो जस्तो लाग्थ्यो, उनी कुनै विपरीत प्रमाण, क्षेत्रीय भिन्नता, वा अप्ठ्यारो सामाजिक तथ्य अघि सार्दथे। त्यसपछि अर्को। बिस्तारै, हामीले जुन स्पष्ट र सुरक्षित प्रतिज्ञाबाट सुरुवात गरेका थियौं, त्यो हाम्रै अगाडि भङ्ग हुन्थ्यो, जटिल बन्थ्यो र पुनर्संरचित हुन्थ्यो। उनको कक्षामा इतिहास कहिल्यै पनि सूचनाहरूको सङ्ग्रह थिएन। यो त स्पष्ट देखिने कुरालाई अविश्वास गर्न सिक्ने कला थियो। कक्षामा पिन खस्दाको आवाज सुनिने किसिमको सन्नाटा छाउँथ्यो, कोही पनि एउटा वाक्य समेत छुटाउन चाहँदैनथ्यो। ती व्याख्यानहरू पछाडिको पठनको दायरा अद्भूत थियो, तर त्यसलाई कहिल्यै पनि प्रभाव पार्नका लागि प्रदर्शन गरिएन। उनको विद्वत्ता कक्षामा सहज रूपमा प्रवेश गथ्र्यो। एउटा तथ्याङ्क, स्थानीय भाषाको कुनै पाठ, क्षेत्रीय आन्दोलन वा सानो विरोधाभासले पनि अचानक तर्कलाई मोडिदिन सक्थ्यो। उनले हामीलाई अतीतलाई कृत्रिम रूपमा व्यवस्थित बनाउन होइन, बरु त्यसको असामञ्जस्यता र दबिएका सम्भावनाहरूलाई बाहिर ल्याउन सिकाए।

उनको कक्षामा इतिहास कहिल्यै पनि सूचनाहरूको सङ्ग्रह थिएन। यो त स्पष्ट देखिने कुरालाई अविश्वास गर्न सिक्ने कला थियो। कक्षामा पिन खस्दाको आवाज सुनिने किसिमको सन्नाटा छाउँथ्यो, कोही पनि एउटा वाक्य समेत छुटाउन चाहँदैनथ्यो।

त्यो पद्दतिले आधुनिक भारतको अध्ययनलाई पहिले नै रूपान्तरण गरिसकेको थियो। उनको पहिलो ऐतिहासिक ग्रन्थ ‘बङ्गालमा स्वदेशी आन्दोलन’ (The Swadeshi Movement in Bengal) ले अभिलेख र राष्ट्रवादी राजनीतिको अर्थ दुवैलाई व्यापक बनायो। साहित्य, पर्चा, पत्रपत्रिका, सङ्घसंस्था र जनसमूहका कार्यहरू यस्तो कथामा समेटिए, जसलाई प्रायः ठूला सङ्गठन र विशिष्ट नेताहरूमार्फत मात्र प्रस्तुत गरिन्थ्यो। राष्ट्रवादको सामाजिक आधार, सांस्कृतिक भाषा, वहिष्कार र जनपहलसँगको यसको सम्बन्ध जस्ता प्रश्नहरू उनका कार्यका केन्द्रमा रहे। तर, विद्यार्थीहरूका कैयौं पुस्ताका लागि सुमित सरकारको पहिलो परिचय 'मोडर्न इन्डिया, १८८५–१९४७' (Modern India, 1885-1947) मार्फत् भयो। मेरो पुरानो प्रतिलाई रु. २६.५० परेको थियो। हाम्रो कक्षाका लगभग सबैजनासँग त्यो किताब थियो, र त्यसका लगभग प्रत्येक हरफलाई रेखाङ्कित गर्नुपर्छ जस्तो लाग्थ्यो।

राष्ट्रवाद भनेको राष्ट्रिय नेताहरूले भनेका वा सोचेका कुरामा मात्र सीमित रहेन। तिनीहरूको भाषा गाउँ, कारखाना, जनजाति क्षेत्र वा घरभाडा, वन, ज्याला वा आत्मसम्मानको स्थानीय सङ्घर्षमा पुग्दा के भयो भनेर प्रश्न सोध्नुपर्ने भयो। त्यो नै उनको ‘तल्लो तहबाट हेरिने इतिहास’ को शक्ति थियो।

माथिबाट हेर्दा एउटा पाठ्यपुस्तक जस्तो देखिने 'मोडर्न इन्डिया' साधारण भने बिलकुलै थिएन। कंग्रेसका प्रस्तावहरू र संवैधानिक वार्ताहरू महत्त्वपूर्ण त थिए नै, तर तिनका साथसाथै किसान, मजदुर, आदिवासी, निम्न-मध्यम वर्गका कार्यकर्ता, जातीय आन्दोलन, क्षेत्रीय सङ्घर्ष र अज्ञात सर्वसाधारणको भिड पनि त्यसमा देखा परे। राष्ट्रवाद भनेको राष्ट्रिय नेताहरूले भनेका वा सोचेका कुरामा मात्र सीमित रहेन। तिनीहरूको भाषा गाउँ, कारखाना, जनजाति क्षेत्र वा घरभाडा, वन, ज्याला वा आत्मसम्मानको स्थानीय सङ्घर्षमा पुग्दा के भयो भनेर प्रश्न सोध्नुपर्ने भयो। त्यो नै उनको ‘तल्लो तहबाट हेरिने इतिहास’ को शक्ति थियो। यो कहिल्यै पनि ‘जनता’ को भावुक प्रशंसा मात्र थिएन। जनराजनीति रूढिवादी र मुक्तिदायी, संकुचित र उदार, पराश्रित र स्वायत्त जे पनि हुन सक्थ्यो। न त उनले नेताहरूको ठाउँमा जनसमूहलाई स्थापित नै गरे। बरु, उनले तिनीहरूबीचको अस्थिर सम्बन्धको अन्वेषण गरे। गान्धीको ठूलो महत्त्व थियो, तर गान्धीले कहिल्यै स्वीकृति नदिने कामहरू गर्दा पनि गान्धीको नाम लिने मानिसहरूको पनि उत्तिकै महत्त्व थियो। नेतृत्वले जनशक्तिलाई गोलबन्द गर्न सक्थ्यो, नियन्त्रण गर्न सक्थ्यो, दिशा मोड्न सक्थ्यो र कहिलेकाहीँ तिनै जनशक्तिबाट पछाडि पनि पर्न सक्थ्यो। इतिहास त्यही सम्बन्धभित्र निहित थियो।

उनको मार्क्सवाद उनका लागि मौलिक थियो, तर कहिल्यै कट्टरपन्थी थिएन। उनले ऐतिहासिक प्रमाणका आधारमा यसका अवधारणाहरूलाई निरन्तर फराकिलो बनाइरहे। वर्गको महत्त्व थियो, तर वर्ग एक्लै कहिल्यै पर्याप्त थिएन। जात, धार्मिक पहिचान, लिङ्ग, सांस्कृतिक अभ्यास र चेतनाका रूपहरूलाई सजिलैसँग ‘उपरीरचना’ (superstructure) को द्वितीयक क्षेत्रमा मात्र सीमित राख्न सकिँदैनथ्यो। उनी केवल आफ्नो अध्ययन-अनुसन्धानमा मात्र होइन, आफ्नो गहिरो बौद्धिक र राजनीतिक प्रतिबद्धतामा पनि एक निष्ठावान् नारीवादी थिए। उनले यस्ता प्रश्नहरूको खोजबिन गर्न सकिने स्थानहरू पहिले नै निर्माण गर्न सुरु गरिसकेका थिए।

उनको मार्क्सवाद उनका लागि मौलिक थियो, तर कहिल्यै कट्टरपन्थी थिएन। उनले ऐतिहासिक प्रमाणका आधारमा यसका अवधारणाहरूलाई निरन्तर फराकिलो बनाइरहे।

यो बौद्धिक बेचैनी 'राइटिङ सोसियल हिस्ट्री' (Writing Social History) मा अझ स्पष्ट भयो। यसका निबन्धहरू समृद्ध र जीवन्त सामाजिक इतिहासले के हासिल गर्न सक्छ भन्ने कुराका नमुनाका रूपमा रहेका छन्। घडीको समय र औपनिवेशिक आधुनिकताका अनुशासनहरू, क्लर्कहरूको श्रमको संकुचित संसार, रामकृष्ण परमहंस र विशिष्ट धार्मिक रूपहरूलाई बोधगम्य बनाउने सामाजिक वातावरण, ईश्वरचन्द्र विद्यासागर र सुधारका सीमा तथा सम्भावनाहरू, यी बाहिरबाट हेर्दा भिन्न देखिने विषयहरू नै ठूला सामाजिक रूपान्तरणहरूलाई मानिसहरूले दैनिकीमा कसरी भोगे भन्ने प्रश्न सोध्ने माध्यम बने।

उत्तिकै महत्त्वपूर्ण कुरा आत्म-समीक्षा गर्ने उनको क्षमता थियो। सुमित सरकार 'सबाल्टर्न स्टडिज' (Subaltern Studies) को सुरुवाती परियोजनासँग नजिकबाट जोडिएका थिए । तर पछि कुनै समय किसान र मजदुरहरूको भौतिक इतिहासमा जोडिएको सबाल्टर्न (उत्पीडित/तल्लो वर्ग) अब विचार र प्रस्तुतिमा मात्रै बढी जोड दिएर सामाजिक सम्बन्धहरूबाट टाढा हुँदैछ भन्ने लागेपछि उनी यसका सबैभन्दा तिखा आन्तरिक आलोचक बने। सांस्कृतिक र उत्तर-औपनिवेशिक परिवर्तनहरूले इतिहासकारहरूलाई के सिकाए भन्ने कुरालाई उनले स्वीकार गरे, तर संस्कृति समाजबाट अलग भएर एक्लै तैरिन सक्दैन भन्नेमा पनि उनी दृढ थिए। उनले जसरी राजनीतिक रुढिवादितालाई अविश्वास गर्थे, त्यसैगरी बौद्धिक फेसन वा क्षणिक लहरहरूलाई पनि अविश्वास गर्थे। सम्भवतः कुनै पनि कृतिले 'मोडर्न टाइम्स: इन्डिया १८५०-१९५०' (Modern Times: India 1880s-1950s) ले भन्दा बढी मार्मिक रूपमा यो खुलापनलाई प्रमाणित गर्दैन। तीन दशकपछि 'मोडर्न इन्डिया' लाई केवल परिमार्जन गर्नुको सट्टा, उनले यो नयाँ किताब नै लेखे। उनले इतिहासलेखन मात्र नभई आफ्नो ऐतिहासिक दृष्टिकोण पनि बदलिएको कुरा स्वीकार गरे। उनी जतिको उचाइ भएका कति विद्वान्‌हरुमा यस्तो क्षमता हुन्छ? नयाँ ज्ञान, नयाँ प्रश्न र नयाँ ऐतिहासिक सम्भावनाहरूको अगाडि आफ्नो अघिल्लो काम अपूर्ण बनेको छ भनेर घोषणा गर्नु नै उनको बौद्धिक खुलापनको मापन थियो।

सांस्कृतिक र उत्तर-औपनिवेशिक परिवर्तनहरूले इतिहासकारहरूलाई के सिकाए भन्ने कुरालाई उनले स्वीकार गरे, तर संस्कृति समाजबाट अलग भएर एक्लै तैरिन सक्दैन भन्नेमा पनि उनी दृढ थिए।

स्पष्ट देखिने कुरामा प्रश्न

सुमित सरकारका लागि इतिहास सधैं एउटा अपूरो संवाद नै रह्यो। 'मोडर्न टाइम्स' ले अध्ययनको दायरालाई वातावरण, अर्थतन्त्र, शहर र गाउँ, जातजाति, भाषा र साहित्य, नयाँ मध्यम वर्ग, सामाजिकता, रङ्गमञ्च, सिनेमा, सङ्गीत, नृत्य, खेलकुद र सार्वजनिक संस्कृतिसम्म फैलायो। यसको असाधारण ग्रन्थसूचीले उनको कहिल्यै नसकिने जिज्ञासा र विभिन्न क्षेत्र, विषय र भाषाहरू अध्ययन गर्ने तत्परतालाई उजागर गर्‍यो। स्थानीय भाषाका अभिलेखहरू  उनका लागि कहिल्यै पनि गौण रहेनन्। ती सम्भावनाहरूले भरिपूर्ण थिए।

त्यो खुलापन मेरो व्यक्तिगत जीवनमा पनि धेरै महत्त्वपूर्ण थियो। जब मैले आफ्नो एमफिलका लागि प्रेमचन्द अनि साहित्य र इतिहासबीचको सम्बन्धमा काम गर्न चाहेँ, धेरैले यस विषयलाई पर्याप्त रूपमा ऐतिहासिक मानेका थिएनन्। तर सुमितले कहिल्यै त्यसो ठानेनन्। उनले मलाई स्थानीय भाषा र साहित्यिक क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन दिए। पछि, जब मैले उनको मातहतमा विद्यावारिधि सुरु गरेँ र त्यसपछि एसओएस (SOAS) जानका लागि कमनवेल्थ छात्रवृत्ति पाएँ, उनी मलाई आफूमै सीमित राख्नुको सट्टा निकै खुसी भए। उनका टिप्पणीहरू छोटा हुन सक्थे, तर केही शब्दले नै कुनै तर्कलाई नयाँ मोड दिन सक्थे, छुटिरहेको कुनै तहलाई उजागर गर्न सक्थे वा कुनै परिचित स्रोतलाई अर्कै नजरले हेर्न बाध्य बनाउन सक्थे। विद्यार्थीहरूप्रति उनको उदारता प्रायः कुनै प्रचारविना नै प्रकट हुन्थ्यो। म औपचारिक रूपमा उनको विद्यार्थी हुनुअघिको एउटा घटना सम्झन्छु। मिरान्डा हाउसमा स्नातक तहमा राम्रो अङ्क ल्याए तापनि छात्रावासको शुल्क वृद्धिविरुद्धको विरोध प्रदर्शनमा सहभागी भएका कारण मलाई एमएमा भर्ना हुन कठिन भएको थियो। त्यसवेला विभाग प्रमुख रहेका सुमित सरकारले सो मामला समाधान नभएसम्म तीन दिनका लागि भर्ना प्रक्रिया नै स्थगित गरिदिए र मेरो आवेदनको समर्थन गरे। उनले यस कुराको कहिल्यै धाक लगाएनन्। उनका सिद्धान्तहरू दृढ थिए; तिनको पालना भने शान्त हुन्थ्यो।

कसैले आशा गर्न सक्ने भनेको त उहाँले आत्मसात गरेको बौद्धिक नैतिकताको केही अंश जोगाउनु मात्र थियो: गम्भीरतापूर्वक तयारी गर्नु, व्यापक रूपमा अध्ययन गर्नु, विद्यार्थीहरूलाई कहिल्यै कम मूल्याङ्कन नगर्नु, आफ्नै निश्चितताहरूमा प्रश्न उठाउनु, र सहज तर्कका लागि विषयको जटिलतालाई कहिल्यै बली नदिनु।

वर्षौंपछि, जब म त्यही विभागमा भर्ना भएँ र मैले कुनै समय उनैबाट सिकेको सामाजिक इतिहासको विषय पढाउने जिम्मेवारी पाएँ, तब मलाई आफूभित्र गहिरो अयोग्यता महसुस भयो। जुन कुरालाई मानिसले पूर्ण रूपमा सुमित सरकारसँग जोडेर हेर्छ, त्यसलाई कसैले कसरी पढाउन सक्छ र? मलाई चाँडै नै बोध भयो कि उनको अनुकरण असम्भव थियो। कसैले आशा गर्न सक्ने भनेको त उहाँले आत्मसात गरेको बौद्धिक नैतिकताको केही अंश जोगाउनु मात्र थियो: गम्भीरतापूर्वक तयारी गर्नु, व्यापक रूपमा अध्ययन गर्नु, विद्यार्थीहरूलाई कहिल्यै कम मूल्याङ्कन नगर्नु, आफ्नै निश्चितताहरूमा प्रश्न उठाउनु, र सहज तर्कका लागि विषयको जटिलतालाई कहिल्यै बली नदिनु।

उनको विद्वत्ता र नागरिक कर्तव्य एक-अर्काका पूरक थिए। बाबरी मस्जिद भत्काइएपछि 'खाकी सर्ट्स एन्ड स्याफ्रोन फ्ल्याग्स' (Khaki Shorts and Saffron Flags) मा उनको संलग्नताले साम्प्रदायिकताप्रतिको उनको सम्झौताहीन विरोधको उदाहरण प्रस्तुत गर्‍यो। सिङ्गुर र नन्दीग्राम प्रकरणमा उनको अडानले देखाए अनुसार उनी सङ्गठित वामपन्थीहरूको पनि कडा आलोचना गर्न सक्थे। प्रदर्शनहरूमा उनी प्रायः भिडको कुनै कुनामा शान्तपूर्वक उभिएका देखिन्थे, मानौं उनी कसैको नजरमा पर्न चाहँदैनथे। तैपनि सिखविरोधी हिंसापछिका विरोध प्रदर्शनहरू र साम्प्रदायिक गोलबन्दीविरुद्धका आन्दोलनसहित केही अध्यारा क्षणहरूमा उनी त्यहाँ उपस्थित हुन्थे। उनका लागि नैतिक साहसलाई न त ठूलो स्वरको, न त आत्म-प्रदर्शनको नै आवश्यकता पर्थ्यो। सम्भवतः म सबैभन्दा बढी यही कुरा सम्झनेछु: बौद्धिक र व्यक्तिगत सादगीबीचको अनौठो एकता। घमण्डबाट अछूतो नरहेको प्राज्ञिक संसारमा उनीभित्र अहङ्कार अति नै कम थियो।

सिङ्गुर र नन्दीग्राम प्रकरणमा उनको अडानले देखाए अनुसार उनी सङ्गठित वामपन्थीहरूको पनि कडा आलोचना गर्न सक्थे। प्रदर्शनहरूमा उनी प्रायः भिडको कुनै कुनामा शान्तपूर्वक उभिएका देखिन्थे, मानौं उनी कसैको नजरमा पर्न चाहँदैनथे। तैपनि सिखविरोधी हिंसापछिका विरोध प्रदर्शनहरू र साम्प्रदायिक गोलबन्दीविरुद्धका आन्दोलनसहित केही अध्यारा क्षणहरूमा उनी त्यहाँ उपस्थित हुन्थे।

ती चम्किला आँखा, भद्र व्यङ्ग्य र लजालु मुस्कानसँगै तीक्ष्ण निर्णय क्षमता पनि कायम रहन्थ्यो। उनी संसारका जुनसुकै प्रतिष्ठित विश्वविद्यालयको उच्च पदमा आसीन हुन सक्थे। तर उनले तीन दशकसम्म दिल्ली विश्वविद्यालयमै पढाएर लगातार नयाँ पुस्ताका विद्यार्थीहरूलाई ढालिरहने बाटो रोजे।

म विभागमा भर्ना भएपछि मैले कलिला विद्यार्थीहरूलाई सुमित सरकारले निर्माण गर्न मद्दत गरेको आधुनिक भारतीय इतिहासको संसारमा विचरण गरिरहेको देखें। त्यतिवेलासम्म धेरै प्रश्नहरू बदलिसकेका थिए। लिङ्ग, जातजाति, दलित इतिहास, वातावरणीय इतिहास, दृश्य तथा सांस्कृतिक इतिहासले हाम्रो अध्ययनको क्षेत्रलाई रूपान्तरण गरिसकेका थिए। तैपनि यी नयाँ इतिहासहरूका सर्वोत्कृष्ट अंशहरूमा उनले बसालेको बौद्धिक संस्कारको झलक अझै पनि पाइन्थ्यो। यो आख्यानबाट को गायब भएको छ? यदि हामीले हेर्ने दायरा बदल्यौं भने के हुन्छ? नेताहरू र संस्थाहरूका घोषणा पछाडि के लुकेको छ? कुन विरोधाभासलाई हामीले हतार-हतार सुल्झाउन खोज्यौं? सम्भवतः एउटा इतिहासकारले छोडेर जान सक्ने सबैभन्दा गहिरो विरासत नै यही हो– केवल चीरस्थायी व्याख्याहरू मात्र होइन, बरु अरू नयाँ प्रश्नहरू जन्माइरहने प्रश्नहरू।

हामीमध्ये जो उहाँको कक्षामा बसेका थियौँ, हामीसँग उनको अर्को विरासत पनि छ। हामी अझै पनि सम्झन्छौँ– टिपोटहरूको थुप्रो बोकेर कक्षामा प्रवेश गर्ने त्यो शान्त व्यक्तित्व, बिस्तारै खुल्दै जाने तर्क, निश्चितजस्तो लागिरहेको कुरा अचानक जटिल बनेको त्यो क्षण, र इतिहासले अकस्मात् अर्को ढोका खोलेझैँ भएको त्यो अनुभूति।

आज सुमित सरकारविना आधुनिक भारतीय इतिहास पढाउने कल्पना गर्न गाह्रो छ। उनका किताबहरू हाम्रा अध्ययन सूचीमा रहिरहनेछन्, तिनका पानाका किनाराहरू ती विद्यार्थीहरूका टिपोटले भरिँदै जानेछन्, जो ती पुस्तकहरू लेखिँदा जन्मिएकै थिएनन्। तर हामीमध्ये जो उहाँको कक्षामा बसेका थियौँ, हामीसँग उनको अर्को विरासत पनि छ। हामी अझै पनि सम्झन्छौँ– टिपोटहरूको थुप्रो बोकेर कक्षामा प्रवेश गर्ने त्यो शान्त व्यक्तित्व, बिस्तारै खुल्दै जाने तर्क, निश्चितजस्तो लागिरहेको कुरा अचानक जटिल बनेको त्यो क्षण, र इतिहासले अकस्मात् अर्को ढोका खोलेझैँ भएको त्यो अनुभूति। मैले उनबाटै मेरो इतिहास सिकें। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, उनले हाम्रा कैयौँ पुस्तालाई इतिहासले हामीलाई सिकाउनुपर्ने कुरा सकिइसक्यो भनेर कहिल्यै विश्वास नगर्न सिकाए।

उनको आवाज अब कक्षाकोठामा छैन। तर कुनै स्पष्ट निष्कर्षमा पुग्नुअघिको हरेक हिचकिचाहटमा, अभिलेखहरूतर्फको हरेक फर्काइमा, र इतिहासका मौनताहरूमा सोधिने हरेक प्रश्नमा सुमित सरकारको केही न केही अंश बाँचिरहनेछ। उनबाट इतिहास सिक्ने हामीहरूका लागि, त्यो संवाद कहिल्यै पूर्णतः समाप्त हुनेछैन

Source: https://frontline.thehindu.com/

चारु गुप्ता

चारु गुप्ता दिल्ली विश्वविद्यालयमा आधुनिक भारतीय इतिहासकी वरिष्ठ प्राध्यापक हुनु। उनको अनुसन्धानको मुख्य क्षेत्र औपनिवेशिक उत्तर भारतमा लैङ्गिकता, जात, यौनिकता, चिकित्सा, धार्मिक पहिचान र स्थानीय भाषाका संस्कृतिहरू हुन्। उनको हालै प्रकाशित पुस्तक Hindi Hindu Histories ले दक्षिण एसियाली अध्ययनमा उत्कृष्ट विद्वत्ताका लागि प्रदान गरिने सन् २०२६ को ए.के. कूमारस्वामी पुरस्कार प्राप्त गरेको छ।