शान्तिसम्झौता विरुद्ध बाईबल र हर्कवादी राई?

जब हामीले लेख्यौ- हर्कवादी राईको उफ्रौला राजनीति, तिनका एक आँखे समर्थकले हाम्रो फेसबुकमा जसरी भद्दा टिप्पणी गरेका छन्, रास्वपाका फासीवादी सरकार जस्तै नागरिकको लेख्न पाउने अधिकार खोस्ने गुण्डागिरी प्रकृतिका गैरराजनीतिक प्रतिक्रियाहरुमा सरोकार जरुरी छैन, तर एकाध व्यक्तिले मर्यादापूर्वक जिज्ञासा पनि बोलेका छन्। आन्तरिक फोन मार्फतका ती जिज्ञासा हुन्- होइन पूर्वमन्त्रीजी, यसरी ढुट्टै पारेर लेख्नु पर्ने स्थिति के कारणले उत्पन्न भयो? मर्यादित जिज्ञासा पोख्ने ती मित्रहरुको सवालको जवाफसहित आलोचनात्मक चेत भएका हाम्रा पाठकका निम्ति यो पूरक लेख लेखिएको छ।

राजनीतिको प्रधान कारण त्यही हो, जसले गर्दा कित्ताकाट गरेर लेख्नै पर्यो। अघिल्लो खण्डमा त्यो गुह्य कारण उल्लेख गरिएन। किनभने, व्याख्या जरुरत पर्थ्यो। त्यसो गर्दा लेखको आकार बढ्न जान्थ्यो। अर्को, हर्कवादीका तुलीगाँडे चरित्रवारे जानकार नै थियौं। त्यसर्थ तिनको राजनीतिक- साँस्कृतिक स्तर अझ उजागर होस्, भनेर पनि मूल कारण उल्लेख नगरी नै लेख्यौं। साँच्चै प्रधानमन्त्री बन्न खोज्नेले त चील चिन्तन पो अभिव्यक्त गर्छ, घुर्यानमा कुखुरा झैं भुतभुते खेल्दैन।

हर्कवादी राई शान्तिसम्झौता विरुद्ध हिंसा भड्काउन उद्यत छन्?

राजनीतिका प्रधान कारणमध्ये पहिलो उपर्युक्त प्रश्न नै हो, जो हर्कवादीहरु चारतिर फलाक्ने गरिरहेका हुन्छन्। जसले, २०६३ मंसीर ५ गते विद्रोही नेकपा (माओवादी) तर्फबाट अध्यक्ष प्रचण्ड र सात दलीय सरकारका तर्फबाट प्रमं गिरिजाप्रसाद कोइरालाद्वारा हस्ताक्षेरित विस्तृत शान्तिसम्झौतालाई चुनौति दिन खोज्छ। सडकमा जनसाधारणले बोल्ने कुरालाई मानिसको वाक स्वतन्त्रता भनेर छुट दिन पनि सकिएला। तर, संघीय प्ररिनिधिसभामा एक विपक्षी दलको नेताले नै तत्कालीन नेकपा (माओवादी) नेतृत्वको महान जनयुद्धलाई मान्छे मार्ने कि मान्छे मार्ने भनेर दुष्प्रचार गर्दा कुन पूर्व माओवादी आराम गरेर बस्छ?

जो पूर्व माओवादी आराम गरेर बस्ला, त्यो सुँगुर भन्दा पनि गधा र अझ गधाको लर्खराउदै हिँड्ने बच्चा- पाजी मात्र हुनेछ। कोही त्यस्ता पाजीहरु छन् भने परिणामको जिम्मेवार स्वयं होलान्। परन्तु, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको संस्थागत जग त्यही शान्तिसम्झौता भएको ऐतिहासिक पृष्ठभूमिमा कोही पनि सचेत पूर्व माओवादी चुप लागेर बस्दैन। किनभने, त्यसरी चुप लाग्न मिल्ने कुरा नै होइन।

विस्तृत शान्तिसम्झौतामा तत्कालीन राज्यका तर्फबाट हस्ताक्षेर गर्ने गिरिजाप्रसाद बितेर गए। सात दलमध्येका एक शेरवहादुर देउवा आफै समस्यामा देखिन्छन्। अर्का किनाराका साक्षी खड्गप्रसाद ओलीलाई त्यो सम्झौता किञ्चित मनपरिरहेको पाइँदैन। त्यसैले कुण्ठा पोख्दै उनले आफुले संघीय गणतन्त्र नचाहेको, तर हावाहुरीका कारण स्वीकार्न बाध्ये बनेको जस्ता अभिव्यक्ति दिँदै हिँडेका छन्।

प्रकारान्तरले २०८२ भदौ २४ गते विध्वङ्शका बखत नारायणहिटी दरबार सफा गराउने उद्योग चलेको, त्यहाँ नक्कली राजा ज्ञानेन्द्रलाई पुनर्स्थापित गर्ने र ज्ञानेन्द्र शाहको हातबाट बालेन्द्र साहलाई प्रधानमन्त्रीको सफथ गराउने चर्चा केवल चर्चा मात्र थिएन। धन्न ज्ञानेन्द्रले प्रमुख दलहरुको सहमति खोज्दा दलहरुले सहमति नदिएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहेको स्थिति भयानक छ।

बालेन्द्र साह निकट जिम्मेवारकै सूचना अनुसार त्यसपछि तिनको योजना के थियो? तिनीहरुको प्रतिक्रान्तिकारी योजना थियो- अन्तरिम प्रधानमन्त्रीको पहिलो मन्त्रीपरिषद बैठकले शान्तिसम्झौता खारेज गर्ने, जनयुद्ध लडेका तथा गणतन्त्रवादी एक दर्जन नेतालाई हेग पठाउने, गणतन्त्रवादी नेतामध्यका ६०० जनालाई काराबास  र ३० हजार जनाको राजनीतिक अधिकार खोस्ने। राजनीतिक अधिकार खोस्नेको अर्थ ती ३० हजार जना गणतन्त्रवादी नेताहरुले आजीवन मतदान गर्न र उमेदवार बन्न नपाउने प्रतिक्रान्तिकारी आक्रमण थियो।

परन्तु, राष्ट्रपतिको जुक्ति र क. प्रचण्डको संयोगवश भूमिकाले गैरसंवैधानिक सुशिला कार्की सरकार बने पनि २०८२ फागुनको औपचातिकतावश संवैधानिक दायराभित्रको निर्वाचन हुन सक्यो।

अत: जसले रगत, आँसु र पसिनाको धारा बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो, जसको विचारले अधिकार सम्पन्न ७५३ स्थानीय तह बन्यो, हर्कवादीलाई त्यो स्थानीय तह प्रमुख पद प्रिय, तर गणतन्त्र र ७५३ स्थानीय तह निर्माणका विचारकले लडेको महान जनयुद्ध चाहिँ अप्रिय? त्यस किसिमको कृतघ्न हर्कवादी राई प्रतिक्रान्तिकारी खलपात्र नभएर अरु के हुन सक्छन्?

जहाँसम्म मारामारको कुरा हो, देशमा रक्तपातपूर्ण राजनीतिको कारक को थियो?

घटनाक्रमले प्रष्ट बताउँछ, नेकपा (माओवादी) का तर्फबाट संयुक्त जनमोर्चाले ४० बुँदे माग प्रस्तुत गर्यो। तत्कालीन सरकारले सुन्यो? किञ्चित सुनेन। त्यसकारण २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्नै पर्यो, जसले गर्दा राज्यले राजनीतिक माग सुनुवाई गरोस्। तर, माग सुनुवाईको सट्टा गोर्खाका १३ बर्षीय दीलवहादुर रम्तेललाई मार्ने काम कसले गर्यो? रुकुमका ६ जना खत्रीबन्धुको एउटै चिहान कसले बनायो? युवति भूमिसरा पुनलाई दर्जनौं प्रहरीद्वारा सामुहिक बलात्कार, अन्तमा आँखा निकालेर मार्ने को थियो?

ती हत्या अपराध तकालीन राज्यले गरेका थिए।

साथै, तत्कालीन खरामोबाट प्रमं लोकेन्द्रवहादुर चन्दलाई मागपत्र बुझाइएको हो कि संस्कृत कक्षा खारेज र किरात स्वायत्त गणराज्य  स्थापनार्थ वार्ता आयोजना गरियोस्! माओवादीलाई जस्तै उपेक्षा गरेपछि तीन संस्कृत विद्यालयमा बम विस्फोट कार्वाहीद्वारा पूर्वमा सशस्त्र आन्दोलन उद्घोष गरिएको सत्य हो। उप्रान्त के भयो, टप्परटुइँया हर्कवादीलाई थाहा छ? त्यसपछि मुख्य अभियुक्त करार गर्दै यस पंक्तिकारलाई पक्डन भन्दै सोताङ- कुलुङका भीमसेन राई, भाइ किरातीसहित १५४ जना नागरिकलाई गिरफ्तार गरी सोलुको सल्लेरीमा लगेर मरणाशन्न यातना र झुट्टा मुद्दाको सिकार बनाए।

माओवादी र खरामोका मागवारे सरकारले वार्ता गरेको भए क्रान्तिकारीका तर्फबाट हतियार प्रयोग गर्न मिल्थ्यो? किमार्थ मिल्दैनथ्यो। अत: शान्तिपूर्ण मागलाई तत्कालीन राज्यले जबर्जस्ति हिंसात्मक तुल्याए। घुँडा टेक्न अस्वीकार गरेर दृढप्रतिरोध गरेका वहादुरहरुले त्यसकारण रक्तपातपूर्ण राजनीतिको भीषण संघर्ष लड्नु पर्यो।

उपरोक्त पृष्ठभूमिमा आंशिक समावेशीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको जग महान जनयुद्धले खनिएको हो, घर जनमुक्ति सेनाले निर्माण गरेका हुन्। जसको छाना शान्तिसम्झौताले लगाएको हो। यो हकिकत स्वीकार नगर्नेहरु अग्रगमनकारी नेपाली हुनै सक्दैनन्।

प्रश्न छ, त्यस भीषण प्रतिरोध युद्ध परिस्थितिमा हर्कवादी जस्ता उडन्तेहरु के गर्थे होलान्? तिनमा निहित व्यक्तिवादी महाकाङ्क्षा लम्पट प्रवृत्तिले भन्छ- तिनले एकात्मक सामन्ती राजतन्त्रका पाउमा सिधै घुँडा टेक्थे? तिनीहरुका गैरऐतिहासिक, गैरराजनीतिक तथा आत्मकेन्द्रित रुझानको नतिजा त्यही त हुन्थ्यो।

समाज विज्ञान विपरीत लेम्लेम्मा खुट्टे हर्कवादी?

१. पूर्वी नेपालका आदिवासीहरुमा लेम्लेम्मा नामको एउटा किम्बदन्ती छ। त्यो जहिल्यै पछाडि फर्केको खुट्टाको सहाराले पछिल्तिर हिँड्ने गर्छ रे। ठीक त्यस्तै हर्कवादीहरु जुन विज्ञान विरुद्ध प्रवृत्त छन्, शंका छ, कतै लेम्लेम्माका अवतार पो हुन् कि?

किनभने, विज्ञान छाडेर विज्ञानको उपज प्रविधि मात्र समात्ने हर्कवादीहरु सच्चाई बुझ्न खोज्दैनन्, सायद बुझ्न पनि सक्दैनन् कि मानवजातिको इतिहास कसरी बनेको छ?

आदिम साम्यवाद, जसलाई अग्रजहरु सत्य युग भनेर सम्झन्छन्, त्यहाँदेखि यहाँसम्म अनेक युगका चरणहरु व्यतीत हुँदै आएका छन्। समाज विकासका ती ऐतिहासिक चरणहरु हुन्:

क. अतिरिक्त श्रम चोर मालिकवर्गीय दास युग,

ख. अतिरिक्त कूत चोर जमिनदार वर्गीय सामन्ती युग,

ग. अतिरिक्त मूल्य सिद्धान्तको धन चोर पुँजीवादी युग र

घ. श्रमिकवर्गीय समाजवादी युग।

सम्बद्ध प्रश्न कि राजनीति भनेको के हो ? राजनीति भनेको वस्तुतः राज्यनीति हो। हिंसामाथिको एकाधिकार संस्था राज्यका संयन्त्रहरु निम्न रहेका छन्:

संसद, सरकार, अदालत, सेना, प्रहरी, कर्मचारी प्रशासन र कारागार।

उपर्युक्त सात संयन्त्रको राज्यले के काम गर्छ? नेपालको सन्दर्भमा शुरुमा हत्या र दमन गर्छ, तर दमनको जनप्रतिरोध जारी रहे सम्झौता गर्छ। के २००७, २०४६ र २०६२/६३ मा त्यसै भएको थिएन र?

अर्को, पूरानो राजनीतिक व्यवस्थालाई निषेध गर्दै नयाँ राजनीतिक व्यवस्थाको जन्म हुनुलाई प्रकृति अन्तर्गतकै सामाजिक नियम मानिन्छ। अत: पूरानो व्यवस्थालाई निषेध गरेर नयाँ व्यवस्था हासिल गर्दा कत्ति रक्तपात मच्चियो? हो, त्यो ऐतिहासिक प्रक्रियामा मानिसले मानिसलाई मार्ने र मर्ने घटना कत्ति भए होलान्? हर्कवादीहरु संज्ञान राख्दछन?

संज्ञान राख्ने भए एकात्मक सामन्ती राजतन्त्र विरुद्ध संघात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना आन्दोलन चाहिँ बिना रक्तपात सहजै सम्भव हुन्थ्यो, भनेर हर्कवादीले प्रमाणित गर्न सक्छ? सक्छ भने गरेर देखावोस्। सक्दैन भने महान जनयुद्धको इतिहासमा योद्धाहरुले बगाएको रगतको अवमूल्यन- अपराध बन्द गरोस्।

अन्यथा ती लेम्लेम्मा खुट्टे नै ठहर्छन्। जय विज्ञानको आधुनिक राजनीतिमा त्यस्ता मुर्कुट्टाहरुको स्थान हुँदैन।

२. वाद, विवाद र सम्बादलाई तथ्यका आधारमा सत्य स्थापित गर्ने वैज्ञानिक विधि मानिन्छ। तर, हर्कवादीहरु? उनीहरु आफ्नो संगठनभित्र जेसुकै गरून्, मतलव भएन। जब सार्वजानिक सम्बन्धको प्रसंग आउँछ, नोकरशाही स्वाँठ प्रमाणित छन्, भदौरे राँगा झैं झम्टदै हिँड्छन्। त्यस्ताले समाजविज्ञान भनेको कुन चराको नाम हो, बुझ्न सक्ने कुरै हुँदैन।

वस्तुतः चारवटा गतिलाई विज्ञान मानिन्छ- भौतिक गति, जैविक गति, रासायनिक गति र सामाजिक गति। जसकावीच मानवीय व्यवहारका निमित्त आधुनिक विज्ञानको जरुरत पर्छ। यो कुरा स्वाँठ प्रवृत्तिको खोपडीमा यस जुनीमा सायदै घुस्ला।

अत: हर्कवादी झुण्ड विज्ञान विरोधी ठहर्छन्। शाश्वत यथार्थ कि समाज विज्ञान बोध नगरेको मानिसले राजनीतिक कर्म गरिखाँदैन। त्यसको निष्कर्ष एउटै हुन्छ- हर्कवादीहरु सिघ्र रुपान्तरित होउन्। अन्यथा विचारधारात्मक स्रोतविहीन खहरे खोला शुकेर जाने कुरामा कोही कसैले काँध किन पो थापोस्!

* * *

एक वा दुई आँखाको प्रसंग दार्शनिक दृष्टिकोण सम्बन्धित छ। हर्कवादीलाई पाच्य नभए पनि हाम्रा पाठकहरुलाई स्पष्टता जरुरी लाग्छ। त्यसर्थमा  समग्र देख्ने दुई आँखे हुन्छ भने अंश मात्र देख्ने एक आँखे। अत: द्वन्दवादको नियम विरुद्ध जंगल मात्र देख्ने रुख नदेख्ने र फेरि रुख मात्र देख्ने जंगल नदेख्ने यान्त्रिक दृष्टिकोणलाई जनसाधाणको भाषामा एक आँखे भनिएको हो, प्रष्ट होस्।

हर्कवादी राईको इशाई तथा कम्युनिस्ट विरोध पृष्ठभूमि

खोटाङ जिल्ला केपिलासगडी, फेदी बजार नजिक चोखाने नामको गाउँ छ। त्यो गाउँ पूरै इशाईकृत रहेछ। त्यही गाउँमा जन्मेर हुर्केका रहेछन्, हर्कवादी राई।

२०५८ मा जब कांग्रेसी प्रस्ताव र एमाले समर्थनमा शाहीसेना परिचालनसहित संकटकाल थोपरियो, कसैको आपराधिक योजनामा चोखानेका युवाहरुले माओवादी विरुद्ध प्रतिकार समिति खडा गरेछन्। त्यस समितिले गाउँ छिमेकमा उद्दण्डता प्रदर्शन गर्न थाल्यो। जनमुक्ति सेनाले त्यहाँ कमरेड अडिगलाई खटाएछ। पुग्दा प्रतिकार समितिले जनमुक्ति सेनाको टोलीमाथि नै आक्रमण गरे। प्रतिरक्षार्थ कमरेड अडिगको टोलीले भाटे कार्वाही चलाए। उप्रान्त केही युवा माओवादीतिर लागे भने अरु गाउँ छोडेर भागेछन्। सम्भवतः भाटा खाएर भाग्नेमध्येका एक हर्कवादी राई हुन्?

भित्रभित्रै असन्तुष्ट गाउँले जनतालाई क्रान्तिको महत्व बुझाउन कमरेड मादेन (मोहन सिप्तुङ्खा किराती) चोखाने पुगे। उनले नै त्यस स्थानीय झमेलाको सही व्यवस्थापन गरेका हुन्।

त्यसरी धरान झरेका हर्कवादीले माओवादी नाममा चन्दा अशुली गर्दा फेरि कान समातेर उठ्बस सजाय व्यहोरेको समाचार पत्रकार जनक ऋषिराईले बारम्बार लेख्ने गरेका छन्। त्यस समय धरान माओवादीको नेता रहेका कमरेड प्रवेशले त्यसवारे अझ प्रष्टतासाथ बताइरहेकै सुनिन्छ।

उपरोक्त पृष्ठभूमिका हर्कवादी राई शुरुमा माओवादी विरोधी बनेछन्, जसलाई अन्यथा मानिहाल्न मिल्दैन। किनभने, माओवादी आन्दोलनले जनदिशा प्रयोग भनेकै थियो। त्यसर्थ जनताले विरोध गर्न चाहे माओवादीको विरोध गर्न स्वत: पाउने हुन्थ्यो। तर, साम्राज्यवाद र सामन्तवादलाई सहयोग पुर्याउने गरी चाहिँ होइन।

परन्तु, प्रतिनिधिसभामा विपक्षी दलका नेता हर्कवादी राई जब शान्तिसम्झौता विरुद्ध नै अभिव्यक्ति दिएर हिँड्छन्, त्यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था र संविधान विरुद्धको गतिविधि मात्र होइन, नेपाललाई युक्रेन बनाउन उद्यत साम्राज्यवादको सेवा प्रत्येक्ष ठहर्छ। देशभक्तिपूर्ण गणतन्त्रका निम्ति जीवनको राजिनामा लेखेर लडेका योद्धाले त्यस्तो गतिविधिलाई सहन गर्न मिल्दैन।

इशाईको प्रश्नमा सुगौली सन्धिदेखि एसपीपीका कर्तुतसम्मले देशभक्त नेपालीहरु पश्चिमा साम्राज्यवादद्वारा हदैसम्म आक्रान्त छन्। नेपालीले प्यालेस्टाईनको दुर्दशा भोग्नु पर्ने हो कि भन्ने जोखिम मोलेर बाँच्न अभिशप्त छन्। त्यसकारण अघिल्लो खण्डमै हामीले लेखेका छौं- पश्चिमा परमेश्वर खारेज तथा नेपाली परमेश्वर खडा गर, आदिवासीको साँस्कृतिक परम्परामाथि शैतानी हमला बन्द गर!

किन पनि भने त्यही चोखाने गाउँका अर्का दलाल राईले किराती समुदायलाई साम्राज्यवादी हत्याराका पूर्खा भनिने कथित अब्राहमसंग जोडेर पुस्तक समेत लेखेका छन्। जुन सतप्रतिशत गलत मात्र होइन, निन्दनीय अपराधकृत्य हो।

लोकतान्त्रिक गणतन्त्र स्थापना आन्दोलनका हामीहरु धर्मनिरपेक्षतावादी हौं। जसरी माओवादीका ४० सुत्रमध्ये एउटा माग धर्मनिरपेक्ष राज्यको थियो, ठीक त्यसरी नै खरामोले संस्कृत कक्षा खारेज, किरात गणराज्य र धर्मनिरपेक्षताको माग राख्दै २०५४ साउन ७ गते बम विस्फोट कार्वाही गरेको हो। तर, त्यसको अर्थ नेपालीको सार्वभौम सम्प्रभूता तथा राष्ट्रिय सामुदायिक जनजीवनमा खेलवाडको छुट होइन।

अत: मानिसहरु इच्छाएको धर्म मान्न स्वतन्त्र छन्। तर, नेपालको सार्वभौनिकता र जनताको सामुदायिक जीवनमा कसैले आँच पुर्याउने धृष्टता गर्छ भने देशभक्त समाजवादीलाई त्यो सह्य हुँदैन।

निष्कर्ष

एकाध व्यक्ति उठाएर समुदायलाई दबाउने घोर प्रतिक्रियावादी राजनीति, न्यायपूर्ण पहिचानको संघीयतालाई जातीय राज्य माग भनेर ठाडै दुत्कार्ने तथा मजदुर-किसान श्रमिकवर्गीय सत्ता विरोधी श्रम अभियान एक भुलभुलैया हुन सक्ने आशङ्का धेरैको छ। किनभने, प्रतिपक्ष दलको नेता हुँदा नै शान्तिसम्झौता विरोधमा खुलेआम बोल्ने हर्कवादी राई सत्ता पक्षमा पुगे भने के गर्दा रहेछ्न्? संघीय लोकतान्त्रिक गणतन्त्रसहित कम्युनिस्ट विरोधी तिनको मार्गचित्र स्पष्ट भइरहेको छैन र?

फेरि प्रकृति, सँस्कृति र प्रविधिको नारा कागजमा लेख्ने, तर अन्तर्वस्तुमा बाईबल जपाउँदै हाम्रा महान सभ्यतामाथि शत्रुतापूर्ण हमला गर्ने सामाजिक अपराधलाई कुन देशभक्त नेपालीले छुट दिन मिल्छ? किमार्थ मिल्दैन। अत:  दल सदस्यलाई बलजफ्ति इशाईकृत गराउने हर्कवादी झुण्डका अपराध विरुद्ध ओखलढुंगा समेतका सज्जनहरुले जसरी विद्रोह बोले, ठीक त्यसरी नै जान अन्जान त्यस दलको सदस्य बन्न पुगेका देश तथा मौलिक संस्कृतिप्रेमीले विद्रोह गर्न एकदम् जरुरी भइसकेको छ।

अन्त्यमा, सर्वहारा वर्गका अन्तर्राष्ट्रिय गुरू माओ त्सेतुङले एक प्रसंगमा भनेका छन्- बदमासलाई समातेर गाला फुट्नेगरी एक हातले चड्कन हान्ने र अर्को हातले सुम्सुम्याउने गर्नुपर्छ।

वैचारिक- राजनीतिक ढंगले गाला फुट्नेगरी चड्कन हर्कवादीलाई हानेका छौं। सकारात्मक रुपान्तरण भएमा यो हात गाला सुम्सुम्याउन अवश्य पनि तयार छ। तर, मुख्यतः नेपाल पढ्ने सिद्धान्त प्रतिकुल समुदायको राजकीय पहिचान र शान्तिसम्झौता विरुद्ध हठ यथावत नै राख्दछन् भने त्यसबाट उत्पन्न परिणामको जिम्मेवार हर्कवादी राई स्वयं हुनेछन्, हामी होइन।

गोपाल किराती

पूर्वमन्त्री किराती नेपाली कम्युनिस्ट पार्टी, केन्द्रीय कार्य संयोजन समितिका सदस्य हुन्।