गाजामा नरसंहारको ताण्डव मच्चाउने इजरायल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै !

 

गाजामा अन्धाधुन्ध आक्रमण गरी निर्दोष बालबालिका र महिलासहित ३२ हजारभन्दा धेरै प्यालेस्टाइनी नागरिकको हत्या गरेपछि अहिले इजरायल अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएको छ।

गाजामा निर्ममतापूर्वक प्रस्तुत नहुन गरिएको आग्रहलाई इजरायलले बेवास्ता गरेपछि उसको सर्वाधिक ठूलो हतियार आपूर्तिकर्ता अमेरिकासँग समेत सम्बन्ध चिसिएको समाचारहरू सार्वजनिक भइरहेका छन्।

हालै संयुक्त राष्ट्रसङ्घले एक प्रस्ताव पारित नै गरेर इजरायललाई नरसंहार रोक्न भनेको छ। राष्ट्रसङ्घको सो प्रस्ताव चीन र रूसले संयुक्त रूपमा स्थायी समितिमा पेश गरेका थिए, जसमा अमेरिकाले कुनै प्रतिक्रिया जनाएन भने अन्य दुई स्थायी सदस्यहरू फ्रान्स र बेलायतले समर्थन गरेका थिए।

इजरायललाई हतियार सहयोग गरेर नरसंहारमा प्रत्यक्ष रूपमा सहभागी भएको आरोप लागेको अमेरिका अब त्यो दाग पखाल्ने प्रयत्नमा छ। हालै सिनेटका ८ सदस्यले राष्ट्रपति जो बाइडेनलाई पत्र नै लेखेर इजरायललाई गर्दै आएको सहयोग र हतियार आपूर्ति रोक्न अनुरोध गरेका थिए।

त्यसो त गएको डिसेम्बरमा नै हिंस्रक नबन्न र सर्वसाधारणको जीवनप्रति संवेदनशील बन्न अमेरिकाले गरेको आग्रहलाई इजरायली विदेशमन्त्रीले ठाडै अस्वीकार गरेका थिए। विदेशमन्त्री इली कोहेनले ‘अन्तर्राष्ट्रिय सहयोगमा वा सहयोग बिना’ नै पनि इजरायलले हमास विरुद्धको युद्ध जारी राख्ने भन्दै अमेरिकी आग्रहको जवाफ दिएका थिए।

त्यसपछि पनि इजरायलप्रति नरम नै देखिएको अमेरिका पछिल्लो समयमा मानवीय सहायताका लागि खाना बोकेर गएका स्वयंसेवकलाई इजरायलले गरेको असहयोग र सहयोगको खाना थाप्न लाइनमा बसेका भोका बालबालिका महिलाहरू माथि इजरायलले गरेको बमवर्षाका कारण अमेरिकालाई समेत अन्तर्राष्ट्रिय रुपमा बदनामी खेप्नु परेपछि क्रुद्ध बनेको बताइन्छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हालै जेरूसेलमलाई हतियार निर्यात रोक्न आदेश दिएका छन्। आठ अमेरिकी सिनेटरहरूले पनि राष्ट्रपति जो बाइडेनलाई देशको मध्यपूर्वी सहयोगीलाई हतियार आपूर्ति बन्द गर्न आग्रहसाथ पत्र पठाएका छन्।

उता फ्रान्सका रक्षामन्त्री सेबास्टियन लेकोर्नुले मंगलबार पेरिसमा पत्रकारहरूलाई भने कि इजरायली फर्मलाई प्रतिरक्षा प्रणाली निर्यात गर्न फ्रान्सले रोक लगाएको छ। त्यहाँका वामपन्थीहरूले फ्रान्सलाई क्यानडाको उदाहरण पछ्याउन र इजरायलमा सबै हतियार निर्यात रोक्न आग्रह गरेपछि फ्रान्सले यस्तो निर्णय गरेको हो।

फ्रान्सका रक्षा मन्त्रीले खोज पत्रकारहरूको गाजामा इजरायली सेनाले प्रयोग गरेको गोला बारुद फ्रान्समा निर्मित रहेको भन्ने आरोपलाई अस्वीकार गरेका थिए। ती पत्रकारहरूले फ्रान्सेली फर्म यूरोलिंक्सले इजरायललाई धातुका टुक्राहरूका रूपमा राइफल कारतूसहरू र मेसिनगनका लागि गोला बारुद बेल्टमा जोड्न प्रयोग गर्ने धातुहरू आपूर्ति गरेको अनुसन्धान वेबसाइटहरूमार्फत खुलासा गरेका थिए।

उनीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मानवीय कार्यहरू विरुद्धको कारबाहीले वाशिंगटनलाई गाजामा सुरक्षित र सजिलै सहायता पुर्‍याउनबाट रोकेकोमा आपत्ति जनाएका छन्। मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि प्यालेस्टाइन क्षेत्रमा इजरायली आक्रमणलाई कम गर्न बाइडेनले आह्वान गरेपछि दुई नेताहरू बिचको सम्बन्धमा तिक्तता पैदा भएको छ।

गाजामा लगातार जमिन र हवाई आक्रमण गरिरहेको इजरायललाई हतियार आपूर्ति बन्द गर्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरिरहेका बेला सो मुलुकलाई कसले कति हतियार आपूर्ति गरेको छ भन्ने एक रिपोर्ट पनि हालै सार्वजनिक भएको छ। सन् २०२३ मा इजरायललाई पठाइएका सबै हतियार र सैन्य उपकरण अमेरिका र जर्मनीले आपूर्ति गरेको अध्ययनले देखाएको हो।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले जारी गरेको तथ्याङ्कअनुसार जेरूसेलमको हतियार आयातको ६९ प्रतिशत अमेरिकी उत्पादकबाट आएको थियो भने ३० प्रतिशत बर्लिनबाट खरिद गरिएको थियो। पश्चिम एसियाको यो मुलुकका लागि तेस्रो शीर्ष हतियार निर्यातकर्ता इटालीले कुल हतियार खरिदको ०.९ प्रतिशत मात्र निर्यात गरेको छ।

सो स्वीडेनी अनुसन्धान संस्थानले फ्रान्समा निर्मित एउटा हेलिकप्टर बाहेक इजरायली वायुसेनाका हालका सबै विमान अमेरिकी निर्मित भएको बताएको छ। ‘सन् २०२३ को अन्त्यमा, अमेरिकाले इजरायललाई द्रुत रूपमा हजारौँ बम र मिसाइलहरू पुर्‍यायो’, रिपोर्टमा उल्लेख गरिएको छ, ‘आपूर्तिको तयारीमा रहेका अमेरिकाबाट ६१ लडाकु विमान र जर्मनीबाट चार पनडुब्बीहरू भने त्यहाँ पुगिसकेका छैनन्।’

रिपोर्टमा दाबी गरिएअनुसार इजरायलले आफ्ना सहयोगीहरूबाट आयात गरेको हतियारले नै हमास र हिजबुल्लाह विरुद्धको सैन्य कारबाही जारी राखेको छ। गत वर्ष अक्टोबरमा हमास लडाकु र इजरायल डिफेन्स फोर्स (आईडीएफ) बिचको युद्ध सुरु भएयता ३२ हजार भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। जसमा अधिकांश महिला र बालबालिकाहरू रहेका छन्।

image source: https://img.rasset.ie