कस्तो हुन्छ सर्वहारा प्रेम?

ऐक्यबद्धता साझा हितहरुका बारेमा जागरुकता मात्र हैन, यो समूहका सदस्यहरूलाई जोड्ने बौद्धिक र भावनात्मक सम्बन्धमा पनि निर्भर गर्दछ। एकबद्धता र सहकार्यमा आधारित सामाजिक व्यवस्था निर्माणका लागि मानिसहरुमा प्रेम र न्यानो भावनाको क्षमता हुनु अत्यावश्यक छ । यही कारण नै सर्वहारावादी विचारधाराले श्रमजीवी वर्गका प्रत्येक सदस्यलाई वर्गका अन्य सदस्यहरूको पीडा र आवश्यकतालाई सम्बोधन गर्न सक्षम होउन् भनेर शिक्षित र उत्साहित गर्ने प्रयास गर्छ र अरु प्रतिको संवेदनशील बुझाइ र व्यक्तिको सामुहिकतासंगको सम्बन्ध बारे गहिरो चेतना प्रवर्धन गर्ने प्रयत्न गर्दछ।

यी सबै "न्याना भावनाहरु"- संवेदनशिलता, करुणा, सहानुभूति र जवाफदेहिता–  एउटै श्रोत बाट उत्पन्न हुन्छन। ती यौनको संकीर्ण अर्थमा होइन, बरु शब्दको व्यापक अर्थमा प्रेमका पक्षहरु हुन् । प्रेम एक भावना हो जसले एकताबद्द गर्दछ र अन्तत सुव्यवस्थित चरित्रको हुन्छ।

बुर्जुवावर्गलाई यसबारे राम्रो थाहा थियो र स्थायी परिवार सिर्जना गर्ने प्रयासमा बुर्जुवा विचारधाराले "विवाहित प्रेम" लाई नैतिक सदगुणको रुपमा खडा गर्यो। "असल पारिवारिक मानिस" बुर्जुवा वर्गको  नजरमा महत्वपूर्ण र मुल्यवान गुण थियो।

सर्वहारा वर्गले मनोवैज्ञानिक र सामाजिक भूमिकालाई पनि ध्यानमा राख्नुपर्छ जुन प्रेमले व्यापक अर्थमा र लिङ्गहरूबीचको सम्बन्धको अर्थमा, पारिवारिक-विवाह सम्बन्धलाई बलियो बनाउन होइन, बरु सामूहिक एकबद्धताको विकासमा खेल्न सक्छ र खेल्नै पर्छ।