अर्थतन्त्र र राज्यसत्तामा  सुन तस्करको हालीमुहाली ?

नेपालमा सुन तस्करी व्यापक रुपमा भइरहेको छ। यसको परिणाम कति होला भनेर अनुमान गर्नको लागि बेला बेला बरामद भएका सुनका परिणामहरुले केही सहयोग गर्न सक्छ। नेपाल प्रहरीको तथ्यांक अनुसार विगत १० वर्षमा नेपालभित्र ६९९ किलो सुन बरामद भएको छ। यो विमानस्थल र सडक नाका हुँदै भित्रिएको सुनको परिणाम हो। तीमध्ये अधिकांश सुन विमानस्थलबाटै भित्रने गरेको छ। अहिलेको  मूल्यअनुसार उक्त सुनको मूल्य ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढी हुन्छ । (श्रोत कान्तिपुर दैनिक)  नेपालमा पछिल्लो ५-७ दिन यता मात्र करिब अट्ठाइस किलो सुन बरामद भएको छ।

नेपालमा सुन तस्करीको आयाम निक्कै ठूलो छ। नेपालमा जति सुन तस्करी भएर आउँछ, त्यति सुन नेपालमा खपत हुँदैन पनि। यो सुन प्राय: सबै भारततर्फ नै तस्करी हुन्छ। नेपाल ट्रान्जिट मात्र हो।  केही वर्ष अगाडि १९९८ मा भारतीय गुप्तचर निकाय रअले नेपालमा सुन तस्करीसम्बन्धी एउटा रिपोर्ट जारी गरेको थियो। जसअनुसार त्यसबेला नेपाल भित्रिने वार्षिक ९४ टन सुनमध्ये ४ टन सुन नेपालमा खपत हुन्छ र बाकी ९० टन सुन भारत तर्फ निकासी हुन्छ भनेर दावी गरेको थियो।

अहिले त यो मात्रा झन बढेको छ। केही महिना अगाडि छताछुल्ल भएको १०० किलो सुन काण्डले नेपालमा सुन तस्करी कति संगठित रुपमा भइरहेको छ भनेर प्रस्ट पारेको थियो। त्यस बेला सुन तस्करहरुसंग नेपालको रास्ट्र बैंकसंग भएको भन्दा ठुलो खालको सुन गाल्ने मेसिन बरामद भएको थियो। तस्करसंग एउटा देशको रास्ट्र बैंकसंग भएको भन्दा ठूलो सुन गाल्ने मेसिन हुनु भनेको मामुली कुरा होइन। यस्तो लाग्दैछ, नेपालमा सुन तस्करी नियमित रुपमा रुपमा भइरहने काम हो र बेला मौकामा पक्राउ पर्नु र बरामद हुनु नियमित आकस्मिकता मात्र हो। सुन तस्कर गिरोहले नेपालको राज्य संयन्त्रलाई पुरै आफू अनुकुल बनाए जस्तो लाग्दैछ ।

चीन र भारत विश्वका दुई ठुलो सुन खपतकर्ता देशहरु हुन्। चीन पहिलो नम्बरमा आउँछ भने भारत दोश्रो नम्बरमा आउँछ। भारतमा प्रति वर्ष करिब १००० टन सुन खपत हुने  गर्छ। जबकि उसले प्रतिवर्ष ८००-९०० टन सुन मात्र आयात गर्छ। यही अपुग मात्र पूर्ति गर्न भारतमा अरु देशबाट सुन तस्करी हुने गरेको छ। यसको प्रमुख नाका नेपाल बनेको छ। केही महिना अगाडि भारतको सिमानामा रहेका नेपाली बजारहरुमा एउटा अच्चमको घटना देखिएको थियो। सिमावर्ती बजारहरुमा भारुको तुलनामा नेरुको बलियो बनेको थियो। त्यस बेला भारु १ बराबर नेरु ४५ सम्म पुगेको थियो। जबकि लामो समयदेखि १ भारु बराबर १. ६० को स्थिर विनिमय दर कायम छ। यस बीच न नेपालको अर्थतन्त्र बलियो बनेको थियो न त भारतको नै कमजोर बनेको थियो। केही जानकारहरुका अनुसार यसरी भारु र नेरुको विनिमय दरमा अचानक फेरबदल आउनुको कारण नेपालबाट भारत तर्फ भईरहको सुन तस्करी थियो। नेपालबाट भारततर्फ जाने सुनको मूल्य चुकाउन ठुलो परिणाममा नेरु तिर्नुपर्ने थियो। जसको लागि स्थानीय बजारमा भारु संग नेरु साट्दा नेरुको अभाव भएर भारुको मूल्य गिर्न गएको थियो। यसले गर्दा कुन परिणाममा नेपाल बाट भारत तर्फ सुन तस्करी भैरहेको सहजै अनुमान गर्न सकिन्छ।

अब कत्तिलाई लाग्न सक्छ नेपालमा अहिले आइरहेको सुनको मुख्य गन्तव्य भारत हो यसले हामीलाई के फरक पार्छ भनेर। तर यसले नेपाललाई दीर्घकालमा नेपाललाई ठुलो घाटा पारिदिन्छ । यसरी नै सुन तस्करी जारी रहने हो भने नेपालको औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र ठूलो हुनेछ। करभन्दा बाहिर रहेको अवैध धन राज्यको लागि धमिरा जस्तै हो।  जसले राज्यलाई भित्रभित्रै धमिरा जस्तै खाइरहेको हुन्छ। त्यस्तै नेपालमा अहिले जुन सुन तस्करी भइरहेको छ त्यसमा तस्करहरुले नेपालको राज्य संयन्त्रलाई खुशी पारेर यो काम गरिरहेको छ। तर केही समयपछि तस्करहरु यति बलियो बन्न सक्नेछ कि उनीहरुले नै सरकारलाई चलाउन थाल्नेछ। तस्करहरुले को सरकारमा जाने र को नजाने भनेर रोज्नेछ। नेपालमा सुन भित्रिने र भारततर्फ जाने मुख्य नाकाहरु कुन चाहिँ तस्कर गिरोहको पकडमा रहने भनेर उनीहरुबीच युद्ध हुन थाल्नेछ। यस्तो अवस्थामा स्थिति राज्यको नियन्त्रण बाहिर पनि जान सक्छ।

अमेरिकामा लागु पदार्थको ठूलो माग छ। लागू पदार्थ उत्पादनको मुख्य केन्द्र दक्षिण अमेरिकाका देशहरु कोलम्बिया र पेरुमा रहेको छ। अमेरिकामा लागु पदार्थ भित्रिने प्रमुख नाका मेक्सिकोमा पर्छ। अमेरिकामा लागु पदार्थ तस्करी गर्ने गिरोहहरुको आपसी द्वन्द्वका कारण दशौं हजार मेक्सिकोका नागरिकहरुले ज्यान गुमाउनु परेको छ। मेक्सिकोका सिनालोवा, जालिसियो न्यु कार्टेल, जेटास र गल्फ जस्ता कार्टेलहरु सक्रिय छन्। नेपालले पनि सुन तस्करीका कारण मेक्सिकोको जस्तो नियति भोग्नु नपर्ला भन्न सकिन्न।

 १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको विमान अपहरण गरेर अफगानिस्तानको कान्दहार लागिएको थियो। यो विमान अपहरणपछि भारतले नेपालमा आफ्नो विमानको सुरक्षा नभएको बहाना बनाउदै आफ्नै सुरक्षाकर्मीले चेकजाँच गर्दै आएको छ। नेपालबाट भारततर्फ सुन तस्करी बढ्दै गयो भने भारत सरकारले त्यसलाई नियन्त्रण गर्न खोज्नेछ। उसले नेपालका विमानस्थल र सिमावर्ती नाकाहरुमा आफ्ना सुरक्षाकर्मी राख्ने माग गरेको खण्डमा हाम्रो राज्यले के जवाफ दिने ?