दशैं– किताब हैन, समाज पढ्ने कोशिस गरौं !

दशैंमा लगाइने टिका धार्मिक कर्मकाण्ड र संस्कार मात्र होइन। अभिभावकले तपाईंलाई लगाइदिने टिका र जमरा उनीहरुको तपाईंप्रतिको स्नेह, अपनत्व, भरोसा र विश्वासको प्रतिक पनि हो। याद गर्नुहोला यो पटक तपाईंको निधारमा कामिरहेका हातले लगाइदिएका टिका अर्को वर्ष फेरि नलाग्न पनि सक्छ।

अचेल दशैं सुरु हुने बित्तिकै पत्रपत्रिका र अनलाइनहरुमा दशैंमा पढ्नु पर्ने १० किताब, हेर्नु पर्ने १० फिल्म, घुम्नु पर्ने १० ठाउहरु जस्ता सुझाबहरुको बिस्कुन लाग्न थाल्छ। त्यस्तै दशैं लाग्ने बित्तिकै फेसबुकमा मछिन्द्रनाथको भोटो जात्रा जस्तै किताबको खोल प्रदर्शन सुरु हुन्छ। दशैंको खुराक भन्दै कसले बढी किताबको थुप्रो देखाउन सक्यो उसको मान सम्मान त्यति नै बढ्ने गर्छ। यस्तो लाग्छ दशैं भनेको पुस्तक महोत्स हो।

त्यस्तै अर्का थरि व्यक्तिहरु पनि हुन्छन्, दशैं बहिस्कारको डम्फु बजाउनेहरु। उनीहरुको लागि दशैं सबैभन्दा ठूलो वर्ग शत्रु हो इजरायल र हमास जस्तै। जसरी भए पनि दशैंको विरोधमा दिनमा एकाध दर्जन स्ट्याटस ठोक्नु पर्ने। जति बढी दशैंको विरोध गर्न सक्यो, त्यति नै बढी विद्रोही र क्रान्तिकारी साबित भइने भ्रम।

मेरो मतमा चाहिँ दशैं धार्मिक मात्र होन यसका अनेकौं आयामहरु छन्। दशैं धार्मिक मात्र हो, सामाजिक र सांस्कृतिक महत्व पनि छ। दशैंको अवसरमा नेपालीहरुले सबैभन्दा लामो छुट्टि पाउँछन् । यो मौकामा प्राय सबै नेपालीहरु घरमा भेला हुन्छन्। प्राय सबै आफ्नो मूल फर्कन्छन्– चाहे त्यो गाउँ होस् या शहर। यो अवसरमा तपाईंहरुले आफ्ना अभिभाकहरु बुबा, आमा, हजुरबुवा र हजुरआमाहरुको सान्निध्यमा समय बिताउनु हुनेछ। जीवनको अस्ताचलमा रहेका ती अभिभाकहरुको सामिप्यता फेरि अर्को र्ष फेरि नपाउन पनि सक्नु हुनेछ। यो समयमा उनीहरुको साथमा बसेर उनीहरुको जीवनका भोगाइ र अनुभवहरु सकेसम्म सुन्नुहोस्। सक्नुहुन्छ भने रेकर्ड गर्नुहोस्। बुढा मानिसहरु जिउँदा लाइब्रेरीहरु हुन्। सयौ पुस्तकहरु भन्दा बढी ज्ञान एउटा व्यक्तिसंग हुन्छ। एउटा बृद्ध  मर्दा उनीसंगै एउटा सिङ्गै लाइब्रेरी नै जल्छ। कागजी किताबहरु दशैं बाहेकका अरु दिनमा पनि पढ्न सकिन्छ तर यी जीवित लाइब्रेरीसंगको सम्वाद फेरि गर्न पाइएला कि नपाइएला, कुनै टुङ्गो हुँदैन

त्यस्तै दशैंमा लगाइने टिका धार्मिक कर्मकाण्ड र संस्कार मात्र होन। भिभावकले तपाईंलाई लगाइदिने टिका र जमरा उनीहरुको तपाईंप्रतिको स्नेह, अपनत्व, भरोसा र विश्वासको प्रतिक पनि हो। याद गर्नुहोला यो पटक तपाईंको निधारमा कामिरहेका हातले लगाइदिएका टिका अर्को र्ष फेरि नलाग्न पनि सक्छ। जसका चर्का भाषण र उतेजक लेखहरु सुनेर र पढेर तपाई दशैं हिस्कार गर्न खोज्दै हुनुहुन्छ, कतै उनीहरुले आफ्नो कानमा एक मुठा जमरा र निधारमा एक माना अक्षता त लगाउने गरेका छैनन् ? एक पटक खोजी गर्नु होला !

विज्ञानका अरु शाखा जस्तै समाज विज्ञानको कुनै निश्चित प्रयोगशाला हुँदैन। समाज विज्ञानको प्रयोगशाला भनेकै समाज हो। तपाईं दशैंको लामो बिदामा घर बस्दा आफ्नो वरिपरि रहेको समाजको अवलोकन गर्नुहोस्। गाउँघरमा युवाहरु कति छन्? पहिला भन्दा बढी छन् कि कम छन् ? कता छन् ? त्यो हेर्नुहोस्। मानिसहरुको धर्मप्रतिको आस्था बढेको छ कि घटेको छ ? कुन धर्मावम्बीको आस्थाका केन्द्र(मन्दिर, मस्जिद वा चर्च) बढेका छन् कि घटेका छन् जान्ने कोशिस गर्नुहोस्, त्यो सोध्नुहोस कुन राजनीतिक दल वा नेताप्रतिको  आस्था कति छ, त्यो खोज्नुहोस। दशैंको बेला किताबमा घोरिएर बस्नुभन्दा बरु यति कुराको अवलोकन गर्नु भयो भने तपाईंले जुन उत्तर पाउनु हुनेछ त्यो कुनै पत्रपत्रिका वा विद्वानका लेख र अन्तर्वार्ताले दिने जवाफ भन्दा बढी यथार्थपरक हुनेछ।